पूँजीवादी

- राजेन्द्र पराजुली

खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो। दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू।

खगेन्द्रका नयाँ साथीलाई उसले सपना देख्नु-नदेख्नुसँग सरोकार छैन। उनीहरू आफैँले कहिलेदेखि सपना देख्न छाडे, त्यो नै थाहा छैन। त्यसैले उनीहरूलाई आफ्नो सपनाको हत्या होस्, ती च्यातियून, कुल्चियून कुनै चासो छैन। उनीहरू सपना देख्दैनन्, सपनासँग प्रेम गर्दैनन्।

सपनालाई प्रेम नगर्नेहरूको पङ्क्तिमै उभिन पुगेको छ केही वर्षदेखि खगेन्द्र पनि। सपना नदेख्ने जति सबै पूँजीवादी हुन् भन्ने मान्यता छ खगेन्द्रका साथीहरूको।

तर, खगेन्द्र भने आफूले सपना देख्न नछाडेको दाबी गर्छ र तिनको मूल्याङ्कन बेग्लै ढङ्गले गर्छ। ऊ आफ्ना सप्तरङ्गी सपना साकार भएको र उसका नजिकका साथीहरूले सपना देख्नै नजानेको ठान्छ। “कहिल्यै पूरा नहुने सपना देख्नु बुद्धिमानी हो र!” यसै भन्यो एकदिन खगेन्द्रले झ्ण्डै आधा दशकपछि रामसाहुको भट्टीमा गएर।

रामसाहुको भट्टीलाई खगेन्द्र र उसका साथीहरू उसबेला पुस्तकालय भन्थे। भट्टीलाई पुस्तकालय भन्नुको कारण छ। त्यहीँ बसेर उनीहरू साम्यवादबारे ठूल्ठूला बहस गर्थे, यदाकदा निष्कर्षमा पुग्थे। वामपन्थी लेखक-साहित्यकारबाहेक अरूका पुस्तक वा विचार पढ्नै नहुने धारणा राख्ने उनीहरूले त्यही भट्टीमा संसारका थुप्रै प्रगतिशील लेखकका शैली र तिनले उठाएका विषयबारे चर्चा-परिचर्चा गरेका थिए। झिनामसिना वा जीवन जिउने सन्दर्भमा कहिल्यै उपयोग नहुने विषयमा उनीहरू घन्टौं विवाद गरिरहन्थे। उत्तर-आधुनिकता, धार्मिकता, सामाजिकता जस्ता विषयले प्रायः स्थान पाउँथे, व्यापक आलोचनासहित।

उत्तर-आधुनिकता मार्क्सवाद विरोधी विचार भएको उनीहरूको ठहर थियो। धर्म उनीहरूको परिभाषामा पनि अफिम थियो। बहसका केही विषयमा मतैक्य हुन्थे। उनीहरू पूँजीवादको घोर विरोध र बहुराष्ट्रिय कम्पनीका उत्पादन बहिष्कारलाई मूल धर्म मान्थे। हल्का पेय, बियर तथा अन्य आयातीत रक्सीजन्य पदार्थहरू बहिष्कार गर्दथे। दैनिक प्रयोगमा आउने विभिन्न वस्तुको खरिदमा पनि सचेत रहन्थे।

रामसाहुले खगेन्द्र र उसका साथीहरूलाई आफू सुत्ने कोठामा राख्थ्यो। खगेन्द्र कैयन् पटक मातेर रामसाहुकै 'छ्यानमा सुतेको थियो।

तीन पटक एसएलसी अनुत्तीर्ण भएर पढ्न छाडेको काठमाडौं झ्ोछेंको रामसाहु खगेन्द्र र उसका साथीहरूलाई सम्मान गर्थ्यो, चिन्तक मान्थ्यो र भ्याएसम्म उनीहरूका कुरा सुन्थ्यो। होटलको तलपट्टि बसेर रक्सी खानेहरूले हल्ला गर्दा माथि ठूला मान्छेहरू छलफल गरिराछन् भन्थ्यो। पञ्चायतकाल र बहुदल प्राप्तिको केही वर्षसम्म पनि आममान्छेहरू माथि र ठूला मान्छेसँग त्रस्त थिए। दरबारिया, सेना-प्रहरी वा प्रशासनका मान्छेहरू होलान् भन्ने सोच्थे र चुप लाग्थे। रक्सीको रमरममा दुई-चार फोहोर शब्द निकालेर हल्ला गर्न नपाउँदा भित्रभित्रै कुँडिन्थे।

लामो अन्तरालपछि खगेन्द्र आएको देखेर रामसाहु छक्क पर्‍यो। पाँच वर्षपछि उसले रामसाहुको भट्टी सम्झ्ेको थियो।

“कोदाको ल्याउँक कि चामलको?” रामसाहुले सोध्यो। खगेन्द्र तत्काल केही बोलेन।

आफैँ लिएर आएको ब्ल्याक लेबल देखाउँदै छोटो मौनतापछि उसले भन्यो, “ती खाने दिन गए। स्वास्थ्य, इज्जत र ठूला मान्छेहरूसँग नजिक पुग्न पनि यस्तो खानुपर्छ। आऊ तिमी पनि एकाध पेग खाएर तृप्त होऊ रामदाइ!” खगेन्द्रको प्रस्तावको प्रत्युत्तरमा रामसाहुले नाक खुम्च्यायो। हातमा लिएको कोदाको रक्सी स्वाट्ट पार्‍यो र साँधेको भटमासका दुई-चार गेडा मुखमा क्वाप्प हाल्यो। उसका आँखा अन्य ग्राहकतिर डुल्न थाले।

खगेन्द्रले ढोका र झयालका हरिया पर्दा हेर्‍यो। टेबुल, मेच नियाल्दै माथि उक्लेर 'छ्यानको तन्ना र भुईंको चकटी पनि हेर्‍यो। “कस्तो गन्हाएको, फेर्नुपर्दैन?” भन्ने उसको टिप्पणीप्रति रामसाहुले केही नबोली मनमनै भन्यो, हिजो यही 'छ्यानमा कैयन् रात बिताउने, आजचाहिँ फोहोर! खगेन्द्र र उसका साथीहरू आउँदा सँगै बसेर गफ सुन्ने रामसाहु त्यस दिन एकपल्ट पनि त्यता गएन। के चाहियो भनी सोध्न श्रीमतीलाई पठायो। यस्तो लाग्छ, सपना नदेख्नेहरूको विपक्षमा छ रामसाहु पनि।

रामसाहुले पनि केही निजी सपना साँचेको छ र ती सपना अब खगेन्द्रका साथीहरूबाट मात्रै पूरा हुन्छ भन्ने विश्वास पालेको छ। आफ्नो होटलको स्तरोन्नति, दुई छोरीको शिक्षा जस्ता सामान्य सपना मात्र थिए रामसाहुका। उसले खगेन्द्र र उसका साथीहरूसँग आफ्ना सपनाहरूको चर्चा गरेको पनि हो। उनीहरूले ती सपना साकार पारिदिने आश्वासन दिएका पनि हुन्। लामो समयसम्म सपना पूरा नहुँदा पनि उसले मेरो पालो कहिले आउँछ? भनेर सोधेको छैन, आशा मारेको पनि छैन।

एक दिन रामसाहुको भट्टीमा दुई जना बेग्लै खालका ग्राहक आए। पहिरन र गाडी देख्दै रामसाहुले ती आफ्ना ग्राहक होइनन् भन्ने ठान्यो। तिनको गाडी भट्टी अगाडिको गल्लीमा बटुवालाई असहज पार्दै बल्लतल्ल अटाएको थियो। तिनलाई स्वागत गर्न रामसाहु पटक्कै इच्छुक थिएन।

“यी वामपन्थीहरूले देश खत्तमै पारे, खुल्ला बजार अर्थतन्त्र जस्तो सर्वत्र रुचाइएको व्यवस्थाको विरोध गर्नेलाई के भन्नु र खै!” एउटा बोल्यो।

“गरिब, दुःखी र अभावमा बाँच्न बाध्य नेपालीको सांस्कृतिक, धार्मिक, जातीय, राजनीतिक कमजोरीमाथि यिनले व्यापार गरे”, अर्कोले भन्यो।

“व्यापार होइन साथी, भावनात्मक शोषण गरे। सपना बाँडे, कहिल्यै पूरा नहुने। सामाजिक विद्वेष रोपे। थाहा छैन यो कतिसम्म झ्ाङ्गिने हो...!” पहिलो वाक्य अझ् लम्बिँदै थियो, रामसाहुले तिनलाई रोक्यो। रोक्दारोक्दै तिनले मार्क्स, लेनिन, मा'लगायत विश्वका कम्युनिस्ट नेता र नेपालकै केही वामपन्थी नेतालाई गाली गर्न भ्याइसकेका थिए।
लामो समयदेखि खगेन्द्र र उसका साथीहरूबाट प्रशंसा सुन्दै आएका व्यक्तिहरूको विरोध सुनिरहन रामसाहुलाई पटक्कै मन लागेन। उसलाई ती दुईले आफ्नो सपनाको पनि हत्या गरेको महसुस भयो। उसले प्याच्च भन्यो, “सपना नदेख्ने पूँजीवादीहरूलाई मेरो होटलमा ठाउँ छैन।”

खगेन्द्रका साथीहरूले अझै सपना देख्न छाडेका छैनन्― वर्गहीन समाजको, समानताको, सबैले खान-लाउन र उपचार गर्न पाउने दिनको र सबैको हातमा कामको सपना। सपना देख्नुसँगै उनीहरू हप्ताको कम्तीमा दुई पटक त्यहाँ पुग्छन्। रामसाहुले आफ्नै घरमा तयार पारेको रक्सी खाएपछि उनीहरूको गफ बढी दार्शनिक र साम्यवादी हुँदै जान्छ। अचेल उनीहरू खगेन्द्रलाई सपना बेच्ने मान्छे र सपनाको हत्यारा पनि भन्छन्। सपना, आमा र मन बेच्नु उस्तैउस्तै लाग्छ उनीहरूलाई।

आफूले भोट दिएको अथवा रुचाएको दल अन्य दलहरूसँग मिलीजुली सरकारमा गएको उनीहरूलाई पटक्कै मन परेको छैन। पहिलो पटक त्यो दल सरकारमा सहभागी भएकै बेला खगेन्द्रले सञ्चारमन्त्रीको सल्लाहकार पद पाएको थियो। खगेन्द्र त्यहीबेलादेखि पथभ्रष्ट भएको, सपनाको व्यापारी बनेको र आफूहरूको सङ्गतबाट टाढिएको उनीहरूको भनाइ छ।

“खगेन्द्र अब पूरै पूँजीवादी भइसक्यो” साथी-१ ले कुनै दिन रामसाहुको भट्टीमा भन्यो।

“ऊ प्रतिक्रियावादी र बहुराष्ट्रिय कम्पनीहरूको मतियार भइसक्यो”, साथी-२ बोल्यो।

“अब हामीबीच कित्ताकाट हुनुपर्छ। ऊ बेग्लै कित्ताको मान्छे हो, पूँजीवादी कित्ताको”, साथी-३ ले रामसाहुको नमिलेको भुँडीतिर हेर्दै भन्यो।

त्यस दिन उनीहरूले खगेन्द्र पूँजीवादको भासमा फँसेको निष्कर्ष निकालेका थिए।

गफको विषय वा तर्क-वितर्क राम्ररी नबुझ्े पनि रामसाहुलाई यी मान्छेहरूप्रति गज्जबको लगाव छ। उनीहरू भट्टीमा आएपछि रामसाहु तलपट्टिको टेबुल हेर्ने जिम्मा श्रीमतीलाई दिन्छ र आफू भर्‍याङ चढेर माथि लाग्छ। कहिलेकाहीँ कुरा सुन्दै रक्सी खान्छ, निरन्तर चुरोट तान्छ। खगेन्द्र र साथीहरूबीच मतैक्य नहुँदा रामसाहुले रक्सी थपिदिएर तनावलाई सहज बनाइदिन्थ्यो। साथीहरूसँग विभाजन आउनुअघि नै खगेन्द्रले रामसाहुको भट्टीमा जान कम गर्न थालिसकेको थियो। रामसाहुको रक्सी खाइरहँदा पनि ऊ ह्विस्कीको प्रशंसा गाउँथ्यो। अब यस्तो फोहोर भट्टीमा होइन, राम्रो-सफा रेस्टुराँमा जानुपर्छ भन्थ्यो।

क्रमशः ऊ रामसाहुको होटलमा जान छाड्यो।

खगेन्द्र रामसाहुकोमा जान चटक्कै छाडेपछि साथीहरूले भन्न थाले, “पूँजीवादी संस्कृतिमा पल्केर साम्यवादबाट विमुख भएको हो खगेन्द्र।” त्यसबेलासम्म उनीहरूले रुचाएको दलका बहुमत मान्छेहरू खगेन्द्रकै पथमा हिँड्न थालिसकेका थिए।

कुनै एक दिन।
रामसाहुको भट्टीमा खगेन्द्र र उसका पुराना साथीहरू एकैपटक पुगे। खगेन्द्रले ब्ल्याक लेबल बोकेको थियो, साथीहरू सदाझै रित्तोहात थिए।

दुवै पक्षको आँखा केही सेकेन्ड जुध्यो। रामसाहु अपलक हेरिरहेको थियो।

दुवै पक्षका पाइला क्रमशः रामसाहुको 'छ्यान कोठाको भर्‍याङतर्फ लागे।

रामसाहुले खगेन्द्रको बाटो रोक्दै भन्यो, “खगेन्द्र दाइ (रामसाहु आफूभन्दा कम उमेर भएकालाई पनि दाइ नै भन्थ्यो) तपाईं यहीँको टेबुलमा खानोस्। मेरो कोठा अब उहाँहरूका लागि मात्र खुल्ला छ।”

रामसाहुको भनाइबाट खगेन्द्रलाई ठूलो चोट पुग्यो, उसका साथीहरू भने आनन्दित भए।

खगेन्द्रलाई रोकिँदा उनीहरू आफ्नो एउटा सपना साकार भएको महसुस गर्दैथिए।

भर्‍याङ उक्लँदै एकै स्वरमा बोले, “साले पूँजीवादी!”

उनीहरू रामसाहुको कोठामा पुग्ने बित्तिक्कै त्यहाँको थोत्रो टेलिभिजनमा आफूलाई साम्यवादी भन्ने सत्तासीन दलका अर्थमन्त्रीको भाषण आयो, “पूँजीवादले हामी साम्यवादीलाई पनि प्रतिस्पर्धा नै प्रगतिको उत्तम मार्ग हो भन्ने पाठ सिकाएको छ। हामीले प्रतिस्पर्धालाई आफ्नो वर्गशत्रु मानेकैले यो मुलुक यति पछाडि परेको हो।”

खगेन्द्रका साथीहरू अवाक् भए। सबै जनाले फुसफुस माटो खसिरहेको मक्किएको दलिनतिर हेरिरहे। माटो नखसोस् भनेर टाँसिएको प्लास्टिक थोत्रिएर चाल्नो जस्तो भइसकेको र चकटी, सिरानीको खोल, झयाल-ढोकाका पर्दा, तन्ना सबै मैला थिए, जुन आजैमात्र उनीहरूले देखे। र, त्यसलाई राम्ररी धोएर सफा-चम्किलो पार्नु आवश्यक ठाने।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 8 पौष, 2073

लेखकका अन्य रचनाहरु