एक कट्ठा जमिन र तीन तोला सुन

- यादव अधिकारी

भो छोड अब बुद्घको अभिनय गर्न
हिंसाका पर्याय तिमी
समयले पोल खोली सकेको छ ।
डोकोले छोपेका सेता परेवाहरु
पखेटा फिँजाएर स्वाच्छन्द उडिसके
तिम्रा झुटलाई पत्याउन
विश्वासले उल्टो पाइला कहाँ चाल्छ र ?

तिम्रो बर्बर खलनायकीमा
मन मष्तिस्कका चोटहरु
विर्सनै पो कस्ले सक्छ र ?
रगतको खोलामा तौरिरहेका सेता चादरहरु
समयलाई कैद गर्ने तिम्रो दुश्साहसका अहंहरु
बन्दुकको उन्मादमा निस्केका काला रसायनहरु
हाम्रो विश्वासको पहाडलाई कहाँ गाल्छ र ?

र अझै पनि एक अनुन्तरित प्रश्न
लुटेका बैँकहरु, भुटेका शिक्षक र कर्मचारीहरु
खलियानको धानहरु, छिमेकमा बेचेका तिम्रा अभिमानहरु
राज्यबाट लुटेका धनहरु, सिउँदो पुछेका तनहरु
क्यान्टोनमेन्टका चेकहरु, सुमार्गीका भरथेगहरु
तिम्रा सन्तानका विलासी जीवन शैलीहरु, आफन्तलाई बाढ्ने थैलीहरु
साँच्चै एक कट्ठा जमिन र तीन तोला सुनकै अवयव हुन्
वा अरु कुनै अदृश्य रत्यौलीहरु ??

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 8 पौष, 2073

लेखकका अन्य रचनाहरु