सपनाहरुको लिलामी कविता

- जय प्रकाश विवश

मालदाई सपनाहरुको आज मलामी बनाइएका छौ तिमी
तिम्रा सारा कदमहरु खुट्टा तान्ने प्रवृतिको शिकार भएका छन्।।
तिमीले देखेका सारा सपना चकनाचुर पारिएकाछन्
तिमीले खनेका बाटाहरु खण्डहर बनाइएका छन्,
सम्बृद्धिका नाराहरु अचेल घन्किन्नन् यँहा।।
बरु
अचेल यँहा स्कुलहरु सुनसान छन्
कलेजहरुमा सन्नाटा छाएको छ
सडकहरु मसानघाट बनेका छन्
बजारमा भ्रम बिक्छ बेस्सरी
लाशको व्यापार भएको छ,
डलर खेती गर्ने ज्युँदाहरु बेचिएका छन्
दिनदहाडै चेलीहरु लुटिएका छन्,
समानताका नाममा गरीबहरु लुटिएका छन् ।।
अनि
समानताका नाममा फेरि घन्किएका छन हरेक टोल
अन्तरे र जन्तरेको समानता
साइली र माइलीको समानता
यो जात र उ जातको
यो भाषा र उ भाषाको
यो टोल र उ टोलको
यो गल्ली र उ गल्लीको ।।

तिमीले सोचेको जस्तो संसार हुने भएन्
मालदाई तिम्रा सपनाहरु बलात्कृत छन्
हरेक पलमा बेचिएका मानव आत्माको चित्कार छ यँहा
हरेक पलमा लुटिएका द्रौपदीहरुको चित्कार छ यँहा ।।
बस्
तिमीले सोचेभन्दा ठीक उल्टो छ हरेक कुरा यँहा ।।
अव मानवता पनि खतरामा छ
लिलामीको दरखास्त खुल्दैछ चाँडै
नाराका लयहरु फरक हुँदै जाँदैछन्
फेरि समानताका नाममा
सत्विचार, सत्कर्म र सत्मार्गहरु
उही लोकसेवा पढाइका लागि बुद्धबाणीमा सीमित हुँदैछन् ।।
त्यसैले समय फेरियो रे।।
रोगीहरु अस्पताल हेरेर निको भइजान्छन्
शिक्षालय देखेर विद्यार्थीहरु साक्षर भइजान्छन्
अड्डा देखेरै नागरिक सेवा पाइहाल्छन्
छुमन्तर हुन्छ सबैमा भन्नेमा विश्वस्त बन्नुछ सबै ।।
काल हेरी पाइला चाल्नु पर्छ रे
फेरिएको संसारले हरेक कुरा फेरेकोछ,
त्यसैले
मादल अनुसार नै नाच्नुपर्छ
समय अनुसार नै बाँच्नुपर्छ ।।
शहर फैलँदोछ, मौलाइरहेछ संस्कृति
विश्व तिम्रो भो, तिमी विश्वको
त्यसैले मालदाई अव तिम्रा सपना सपना रहेनन्
हरेक मान्छेका आफ्नै सपना भएपछि
लाखाँैका करोडौँ सपना छन्,
तिनलाई विपना बनाउन लाग्नुछ कम्मर कसेर ।।
मालदाई तिम्रा बचेराहरु खसेर मरे या मृत्यु कुरिरहेछन्
ओल्लोघर पल्लोघरमा पानी वारावार छ,
भातृत्व पनि मृतप्रायः छ
आँफैआफैँमा बेमेल छ,
आफ्नै डम्फु छन्, आफ्नै ताल छन्
त्यसैले मालदाई तिम्रा सपनाहरु वेवारिसे भए,
भोलि नगरपालिकाले काञ्जीहाउसमा बन्दी बनाउन सक्छ।।

आँखिभुई ८, संखुवासभा, हाल तेह्रथुम

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 8 पौष, 2073

लेखकका अन्य रचनाहरु