मेरो दीर्घप्रतीक्षित दार्जिलिङ यात्रा

- पुण्य खरेल

“दार्जिलिङ सहर झिली–र–मिली बिजुली बत्तीले ...” केटाकेटीमा सुरुसुरुमै गीत गाउन सिक्तैको गीतको एउटा गेडो । यो गीतको गेडाले बाल मस्तिष्कमै दार्जिलिङको एउटा झिलिमिलीको, एउटा झल्लरी–मल्लरीको स्वप्नील आकृति खिचिदिएको थियो । पहाडी दुर्गम ठाउँको एउटा गाउँमा, विकासका पछ्यौराहरूबाट धेरै पर बाँचेको मेरो मनलाई कहिलेकाहीं हिउँदमा दार्जिलिङ गई ढाकरमा नून–मट्टीतेल लिएर आउने गाउँले दाजुहरूले गरेको दार्जिलिङको वर्णनले झन् अर्कै व्यक्त गर्नै नसकिने तृष्णा हालिदिन्थे । स्कुलमा पढ्दापढ्दै हाम्रो प्राइमर स्कुल, हाई स्कुलमा रूपान्तरित पनि भयो । हाई स्कुलमा पढाउने ‘हेडसर’ दार्जिलिङबाट ल्याइयो । ती हेडसर अर्थात् सुभाष गुरुङको राम्रो गोरो अनुहार, चेश्मा, निधारमाथिको सनक्क कोरेर यस्सो अगाडि ल्याई भाँचेर पछाडि लगेको चिल्लो मिलेको कपाल, कहिल्यै नमैलिने सेतो सर्ट्, सुहाउँदो पेन्ट, कोट, मेरा लागि दार्जिलिङका नमूनाहरू थिए । कति राम्रा सेता टलक्क टल्किने दाँत ! “दार्जिलिङ सहर झिली–र–मिली ...” मलाई दार्जिलिङ हेर्ने लालसा दिनरात बढिरहेथ्यो ।
पछिपछि त कुनैकुनै लेखहरूमा ‘पहाडकी रानी’ भनेर दार्जिलिङलाई सम्बोधन गरिएको पनि पढ्थें । दार्जिलिङको सुन्दरताको बखानले मेरो दार्जिलिङ देख्ने लालसालाई जगाइ दिए झैं हुन्थ्यो । म पढ्दै–बढ्दै गएँ । राजधानी काठमाडौं धेरैपल्ट पुगें । वर्ष–दुई वर्ष बसें पनि । दार्जिलिङको एउटा अतृप्त तृष्णा, पढ्न बाँकी रहेको मनपर्दो पुस्तकको एउटा चर्चित पाठजस्तो कायमै रह्यो । समय र परिस्थितिले पहाडको त्यो दुर्गम गाउँको वासिन्दा म बसाइँ सरेर काँकरभिट्टा आई बसोवास गरेको पनि बीसौं वर्ष भैसकेथ्यो । दार्जिलिङको सुन्दर अनुहार आँखाले हेर्ने भोक मनमा अव्यक्त रूपमा छँदैछ । आवश्यक पर्दा एकै दिनमा पुगेर आउन सकिने दार्जिलिङ अझै अतृप्त लालसाको पन्नाभित्र थुनिई रहेको छ । किन गइँदैन ? किन गइएको छैन ? मलाई कहिलेकाहीं सरम लाग्छ, त्यहीं म पुगेको छुुइन तर मलाई त्यहाँ पुग्न सारै इच्छा छ भन्नुपर्दा । केले रोकेको छ छ, केले छेकेको छ छ !
तर ढिलो होस् भलो होस् भने झैं भयो । नेपाली प्रगतिवादी साहित्यका शीर्ष व्यक्तित्व मोदनाथ प्रश्रित, दिदी कविता पौडेल तथा संस्कृतिकर्मी विदुर चालिसेका साथ चार जना भएर दार्जिलिङको यात्रा गर्ने मङ्गल संयोग पर्यो । यो पचपन्न सालको पुषको कुरा हो । राष्ट्रिय जनसांस्कृतिक मञ्चको बाह्रौं वार्षिक दिवसको उपलक्ष्यमा १९ गते धरानमा एउटा विचार गोष्ठी तथा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना थियो । ‘राष्ट्रियता र जनवादका निम्ति हाम्रो संस्कृति, जाति, वर्ग र संस्कृतिका समस्या र मुक्तिको सवाल’ भन्ने विषयमा डा.गणेश गुरुङको कार्यपत्र प्रस्तुति, टिप्पणी आदि भएथे । कवि गोष्ठी भएथ्यो र साँझ धरान नगरपालिकाको गाडीले हामीलाई काँकरभिट्टा ल्याइदिएथ्यो । त्यसैले त्यस साँझ प्रश्रितज्यू, कविता दिदी र विदुरज्यू हामी हाम्रो घरमै बसेथ्यौं ।
साँझ हाम्रो घरमा प्रश्रितज्यू, कविता दिदी तथा विदुरज्यूका साथ श्रीमती मैया तथा घरका सम्पूर्ण परिवारको परिचय भयो । ‘गौंथली गुँड’का वारेमा मैयाले अलिअलि कुरा उठाइन् । प्रश्रितज्यूले राम्ररी उत्तर गर्नुभयो । पारिवारिक परिचय र गफगाफ पछि सुत्यौं ।
भोलिपल्ट विहान चडाकी गरेर ६.०० बजे नै सुरु भएथ्यो हाम्रो यात्रा । मेरो मन आफूले बालककालदेखि बनाएको दार्जिलिङको झिलिमिलीको नक्सा र बिभिन्न समय–सन्दर्भमा सुने–पढेका दार्जिलिङ वारेका सुन्दरताको बखानले बनाएको नक्सासँग आज यथार्थ नक्सा खप्टाएर जाँच्ने तुलबुलमा थियो । कति बेला सिलिगुडी पुगेर दार्जिलिङ जाने गाडीमा चढी ओर्तिर आएर दार्जिलिङ मोडबाट दार्जिलिङतिर लाग्ने भनेर मेरो मन तुलबुलाइ रहेको थियो । सधैं त्यस दार्जिलिङ मोडमा पुग्दा मेरा आँखा उँभो दार्जिलिङतिर अक्कासिन्थे । दार्जिलिङलाई देख्न खोज्थे, हिस्सिन्थे । फनक्क गाडीद्वारा बटारिएर कि त मालागुडीहुँदै सिलगढी लगिन्थे कि त यता माटीघडातिर ल्याइन्थे गाडीभित्रै गुट्मुट्याएर । त्यो दार्जिलिङ मोडको तेञ्जिङको प्रतिमा हेर्दा “सगरमाथा चढ्दा सात पल्ट हिस्सिए पनि आठौं पल्टमा त तिमी सफल भएथ्यौ, तर मेरा आँखा दार्जिलिङ देख्न किन अनेक पल्ट हिस्सिँदै छन् हँ ?” भनेरसोध्न मन लाग्थ्यो तर उनको जस्तो ज्याद्रो प्रयास नै गर्न नपाएकाले म चूपचाप थान्कोमा बस्थें ।
हामी आठ बजेतिर त सिलगढी पुगिसकेथ्यौं । हामीले दार्जिलिङ जाने जीपगाडीसँग सोधपुछ गर्यौं जक्सनमा ओर्लिएर । ‘अगाडिको सिट अघि नै बिक्री भैसके’ भनिएका जीप भेटिए दुई–तीन वटा । तीनोटैमा पछाडि र बीचमा मात्र सिट बाँकी । चिया–सिया खायौं त्यहीं आसपासमा र गाडीको भाडासाडाको गन्थन पनि टुङ्ग्यायौं । एउटा जीपको बीचको सिटमा बस्यौं चारै जना । पौने दस बजेतिर यात्रा सुरु भयो ।
दार्जिलिङ मोडबाट उत्तर लाग्यो हाम्रो जीप । दाहिनेपट्टि मुन्तिर रेलको लिख पनि हामीसँगै होडबाजी गरेझैं गरेर हाम्रो बाटोतिर तन्किरह्यो । मैले दार्जिलिङ जाने रेलको कुरा पढेको हुँ, भारतीय फिल्महरूमा हेरेको हुँ । त्यही फिल्ममा हेरेका दृश्यहरू पनि रुजु गर्नु थियो मलाई आज । हानेको तीर जस्तो बेगिएको हाम्रो जीपगाडी दस बजे नै सुकुनाको भित्तामा पुग्यो । त्यहाँ तीन–चार वटा डिब्बा गाँसेर एउटा रेल छक्छक्–छक्छक् हुस्हुस् गर्दै आउँदै देखें मैले ।
“रेलमा जाँदा पनि हुन्थ्यो नि !” मैले साथीहरूसँग प्रश्न राखें ।
“रेल अहिले जाँदैन । बाटो बन्द छ ।” ड्राइभरले फ्याट्टै भने । ड्राइभरले त्यसरी फ्याट्टै उत्तर दिँदा ‘बा यात्रुहरू रेलतिर लाग्छन् र आफ्नो गाडी खाली हुन्छ कि ?’ भन्ने ठानेको होला भन्ने शङ्का पनि गर्न सकिन्थ्यो तर रेलमा चढेर जाँदा यो दुई घण्टाको यात्रालाई सात–आठ घण्टा लाग्ने चाहिं सुनिएकै हो ।
“यो रेल कता गएर आएको हो त ?” मैले फेरि सोधें ।
“बाटो मरम्मतमा जाने र फर्किने हो । त्यसमा यात्रु थिएनन् नि !” प्रष्टीकरण दिए ड्राइभरले नै ।
हाम्रो गाडी उकालो फन्का मार्न थाल्यो । रङटङ, चुनाभट्टी हुँदै सवा दस बजेतिर तीनधारे (तीनधारिया) पुर्यायो ।
“जस्ताको तस्तै रहेछ है ! पन्ध्र–बीस वर्ष भयो म आएको । केही बद्लेको रहेनछ ।” प्रश्रितज्यूले भन्नुभयो ।
“पहाडको यात्रा कति रमाइलो नि !” विदुरज्यूले वारिपारि हेर्दै, ती हरियाली, ती डाँडाखोला–खोल्सा नियाल्दै भन्नुभयो । आफू आएको अघिको बाटो हेर्नु र अब जाने बाटो नियाल्न खोज्नु हाम्रो स्वभावै थियो ।
तीनधारे काटेको पाँच–सात मिनटमा घैयाबारी कुदाउँदै हामीलाई पगलाझोडा पुर्यायो गाडीले । पगलाझोडा पुग्दापुग्दै त्यहाँ भर्खरै गएको पहिरोले मच्चाएको तमासा हेर्यौं हामीले । गाडीको बाटो त दुःखसुख गड्याङ–गुडुङ् गर्दै, गल्ढ्याङ–गुल्ढुङ गर्दै पार हुने बनाएको रहेछ तर रेलको लिखको नामोनिशान थिएन । ड्राइभरले रेल सेवा बन्द छ भनेको कुराका धेरै वटा सबुद हामीले देखिसके थ्यौं ।
त्यो विकट र त्यति भिरालो पहाडमा निकालेको त्यो बाटो र त्यो रेलको लिखको यथार्थ भूगोल देख्ता मलाई धेरै चुकचुक लाग्यो । यहाँभन्दा तलदेखिको त्यो क्यैनक्यैको पाखोमा कति सुन्दर र चिटिक्कका घरहरू बनाएर मानिसहरू बसेका ! सबले चियाका बुटाहरू सह्यारेका । मलाई लाग्दैथ्यो– “अहो ! यी चियाका बुटाहरू त सूनका फुल पार्ने कुखुरीहरू रहेछन् कि के ? यी सूनका फुल पार्ने कुखुरी हाम्रामा लग्दा हाम्रो माटोमा पनि त फुल पार्दा हुन् नि !” मनमा अनेक कुरा खेलिरहे पनि गाडी कुदिरहेकै थियो । उकालोमा गाडी बेस्कन कराउँथ्यो । उकालो चढ्न मुश्किल परेकोजस्तो गथ्र्यो र आफू तल पथ्र्यो । म केटाकेटीमा बाख्रा हेर्न जाँदा साधु जेठाबाको छोरो ‘भ्वाने’सँग लाप्पा खेलेको सम्झन्थें । डाडागाउँ बडाबाबु उल्क्याएर उसलाई र मलाई लाप्पा खेल्न भिडाउनु हुन्थ्यो । ऊ र म सुर्रिएर भिड्थ्यौं । घरि ऊ पछाथ्र्यो, ऊ ममाथि पथ्र्यो, घरि म पछार्थें, म उमाथि पर्थें ।
गाडीभित्र हामी अलि–अलि बोल्थ्यौं नत्र त म बाहिर पर–परसम्म आँखा डुलाउनमै मस्त हुन्थें । त्यो पगलाझोडा पुर्याउँदा मेरो विवेक सकसमा परिरहेको थियो । आफू गएको बाटो अब कता जान्छ ? कता निस्कन्छ ? त्यो बुझ्न विवेकको त्यो तन्तु व्यस्त थियो तर कुनै भेउ पाइरहेको थिएन । विकट ठाडो पहरो मात्र थियो आँखाका सामुन्ने । मेरो आँखामा ‘महानदी’ लेखिएको एउटा टिनको पातो देखापर्यो । सामुन्ने सानो खोल्सी थियो र दाहिने त...ल अलिक ठुलो खोलो होलाजस्तो थियो । ‘सिलगडी प्रवेशको छेउको ‘महानदी’ ? यही त्यहाँ पुग्दो रहेछ ... !’ मेरो अवचेतन मनले भन्यो । मेरा आँखाले सिलगडी ठम्याउन कोसिस गरे । ‘कता जिली कता गाँठी !’ भयो । चारआलीबाट इलाम जाँदा कुटी डाँडा पुगेपछि आफू आएको बाटोका बुधवारे, बर्ने, चारआली इत्यादि हेर्न खोज्ने मेरा आँखा सधैं हिस्सिन्थे, त्यस्तै भयो यहाँ पनि मलाई । अहँ !ऽ तल ... पर ... कता–कति के–के देखे पनि मैले सिलगडी–फिलगडी ठम्याइन । मेरो विवेकको सकस चालु थियो । उसले कुनै भेउ पाउँदा–नपाउँदै फिर्लिक्कै हाम्रो गाडी त कर्सियाङ् बजारमा पो फुत्त निस्कियो । हाम्रो जिब्रोले यस बजारलाई ‘खार्साङ’ बजार भन्थ्यो । प्रश्रितज्यूले यहीं खाना खाने प्रस्ताव राख्नुभयो । ११.३० बजिसकेको थियो । सधैं नौ–साडे नौ बजेतिर खाना खाने मलाई त ‘आँसी खाउँ कि मासी खाउँ ? भान्सा खाउँ कि भान्से खाउँ !’ भैसकेकै थियो ।
गाडी ड्राइभरसँग सल्लाह गरेर हामी खानाको निम्ति होटेलको खोजीमा लाग्यौं । ‘प्रश्रितज्यू कस्तो होटेलमा जाउँ भन्नुहुन्छ ?’ मेरो मनमा एउटा त्रास थियो । उहाँ त मन्त्री पनि भएको, देश–विदेश पनि चाहारेको मान्छे । सारो दामी होटेलमा जाउँ भन्नुभयो भने मेरो त बजेट फेल हुन्छ । पैसा त त्यही चार–पाँच सय मात्र त हो बोकेको । तैपनि यही एक–दुई छाक कसो नटारिएला ! भन्ने लाग्याथ्यो, तर जब हामी होटेलमा पस्थ्यौं र कुरा सुरु गथ्र्यौं, प्रश्रितज्यू एउटा प्रश्न गर्नुहुन्थ्यो– “तरकारीमा हरियो सागसब्जी छ ? गेडागुडी छ ?” यदि सकारात्मक उत्तर आयो भने र सरसफाइ ठिकै जस्तो देखियो भने भयो । यस्तैमा हामीले बीस रूपैयाँ छाकको खाना खायौं जब कि नेपालमा अहिले गाडीको बाटोमा त्यतिको खाना चालीस–पचास रूपैयाँ पर्दथ्यो । प्रश्रितज्यूका सादापनले नजानिंदो पाराले मलाई थप प्रेरित गरिरहेथ्यो । खानापछि उहाँले– “म यहाँ एक जना मेरा मित्र ‘डाक्टर गोकुल’सँग सम्पर्क गरेर आउँछु । तपाईंहरू गाडीमा पर्खंदै गर्नुहोस् !” भनेर निस्कुनभयो । कविता दिदीले हामीलाई चुइँगम दिनुभयो– “यसले दाँत सफा गर्छ अरे ! दाँतमा अल्झेका कुरालाई यसले आफूमा टाँसेर लैजान्छ अरे !” कुरा त त्यति विश्वास लागेन, तर पनि सित्तैमा अलकत्रा पाए पनि खाने झैं आफूले समातेर मुखमा हालियो ।
हाम्रो गाडीले खार्साङबाट फेरि यात्रा समात्यो । टुङ, सोनादा हुँदै १.०० बजेतिर हामी घुम पुग्यौं । हिन्दी फिल्ममा दोहोर्याई–दोहोर्याई देखेको यो ठाऊँ आमाले सेल पकाउँदा हात घुमाएको झैं रेलले पूरा एक फन्को मार्ने ठाउँ, घुम्ने ठाउँ रहेछ यो घुम । जोरबङ्ला समेत भनिने यही ठाउँबाट दार्जिलिङको प्रख्यात उदाउँदो घाम हेर्ने स्थान टाइगर हिल जाने बाटो तथा जलपहाड जाने बाटो छुट्टिंदो रहेछ । मेरो त ध्याउन्ना दार्जिलिङको मात्रै थियो । गाडी धमाधम दौडिरह्यो र पाँच मिनटभित्रमा बतासे भन्ने ठाउँमा हाम्रो गाडी निस्कियो । “दाजिलिङ सहर झिली–र–मिली ...” मेरा आँखाअगाडि आँखाभरि उभियो । म कता हेर्नु, के हेर्नुमा परें । प्रश्रितज्यूले बायाँपट्टि तल सङ्केत गर्दै ‘रक गार्डेन’ अर्थात् दर्शनीय ढुङ्गे बगैंचाको अवस्थिति देखाउनुभयो । त्यतै–कतै लुकेर बसेको बजारको सङ्केत गर्दै बिजनबारी पनि त्यहीं पर्ने कुरा सुनाउनुभयो ।
विजनवारीको कुरा गर्नेबित्तिकै मेरो मनमा माङ्जाबुङ काका, आखेरबोटे काकाको सम्झना आयो । प्रत्येक हिउँदमा तीनदेखि चारपल्ट बिजनबारीबाट नूनका बोरा, मट्टीतेलका टिन पुर्याउनु हुन्थ्यो । एकपल्ट त उनको छोरो, मेरो साथी, दुर्गेलाई पनि लानु भएछ नून बोक्न । दुर्गेको डँडेल्नुका छाला उक्किएको हेरेर म तर्सिएथें । मलाई देवीथाने निरौला बाबु–छोराको दुःखद अन्त्यको कथा सम्झना आउँदा त रौं नै ठाडा–ठाडा हुन्छन् । बर्खाभरिका लागि नून–तेल लिन गएका विचरा बाबु–छोरा फालेलुङमा हिउँले छोपिएर तोक्मा लगाएको ढाकरसँग उभिएको–उभिएकै अररिएका अरे ! फालेलुङको डाँडो पार गर्नु भनेको पुनर्जीवन पाउनुजतिकै थियो । एकातिर त्यही छिमेकमा एउटा देशको त्यस्तो पहरोबाट समेत सडक निकालेर मोटर गाडी कुद्ने, अर्कातिर नून र मट्टीतेलका लागि बाबु–छोरै फालेलुङमा बितेर परिवार नै बिचल्लीमा । मलाई मेरो देशको रक्षा गर्ने पशुपतिनाथप्रति त्यस्सै वितृष्णा उब्जियो । विजनबारीका कुराले मेरा आँखा पश्चिमपट्टिको डाँडो नियाल्नेमा पनि पुर्यायो । मेरा छिमेकी निरौला काका र दाजुलाई खाने त्यो क्रूर फालेलुङ डाँडो त्यही हो कि ? भनेर त्यस्सै मेरा मनमा क्रोध पलायो ।
मनमा कुरा खेलिरहेथे, गाडी त दार्जिलिङको बजारबिच गाडी रोकिने ठाउँमा उँभिसकेको पो ! कविता दिदी झोला समेटेर ओर्लिसक्नुभएको रहेछ । म त टोलाएको पो रहेंछु ।
“खरेलजी ! आइपुगियो !” प्रश्रितज्यूले मलाई सजग गराउनुभयो ।
गाडीबाट ओर्लिएर अलिक पर्तिर बजार लाइनभित्र पसेर हेरेको त बाफ रे ! यो पसल मासु, त्यो पसल मासु । राँगा हो या गोरु हो ? दार्जिलिङमा गोरुको मासु खानुपर्छ भन्ने सुनिन्थ्यो । साँच्चै पहिलो बनी नै मासुको पर्यो । सैयौं गोरु एकै दिन खाइँदा रहेछन् झैं म त चकित भएँछु । मासु नै मासु । कविता दिदी त नाक छोपेर अझ अब अरु हेर्यौं भने त पानीझोलामा वाकवाकी गर्ने बेला हुन्छ भने झैं । मलाई पनि त्यो मासुको भवसागर पार गरेर जान पाए पनि हुने झैं लाग्यो । प्रश्रितज्यूले एउटा घरको पछाडिपट्टि लगेर माथिल्लो तला, फेरि माथिल्लो तला गर्दै चार–पाँच तला उक्लिएपछि एक जना मानिसलाई कोनि कसको नाम लिएर सोध्नुभयो । के जवाफ पाउनुभयो कोनि ! उहाँको अनुहार उज्यालो हुन पाएन । झोला बोकेको–बोकेकै त्यहाँबाट वरण्डातिर निकाल्नुभयो र भित्ताभित्तै मास्तिर सडकमा पो निकाल्नुभयो । म सम्झँदै थिएँ अब चार–पाँच तला फेरि ओर्लिनु पर्छ तर परेन । बजारमा मान्छेहरूको कुँडुलो त सम्झन लायक नै रहेछ । हाम्रा ती हेडसर सुभाष गुरुङ जस्ता मान्छेहरू हेर्न खोज्ने मेरा आँखाले त्यस्तै नभए पनि सफा–सफै जस्ता देखिने अनेकन सुन्दर अनुहारका मान्छेहरूको भीड हेरे ।
प्रश्रितज्यूले त्यतात्यतै माथि चौरस्ता लानुभयो । कविता दिदीलाई– “घोडा कुदाउने हो ?” सोध्नुभयो । हामी कसैले पनि घोडा कुदाउने रहर गरेनौं । त्यस चौरस्तामा उभिएर उहाँले दार्जिलिङको सेरोफेरोको वर्णन गर्नुभयो । तेञ्जिङ नोर्के पार्क देखाउनुभयो । भानुभक्तको प्रतिमा, उतापट्टि कालिम्पोङ (कालेबुङ) जानेबाटो इत्यादि । त्यसपछि “अब जाउँ बोटानिकल गार्डेन !” भनेर ओराल्न थाल्नुभयो । अघि गाडीबाट ओर्लिएको ठाउँबाट तलतिर ओराल्नुभयो र अनेक रुख, फलफूलका बोटहरू, बनभोज खाने ठाउँ हुँदै हिडाउनुभयो । त्यहाँ हरितघर पनि बनाइएका रहेछन् । बिभिन्न फलफूलका विरुवाको नर्सरी पनि देखाउनु भयो, अनि फर्कने क्रममा हामी लाग्यौं । पुसको बेला आएका हुँदा बिहान त हामीलाई चिसोले अररिन्छौं भन्ने पनि डर थियो, तर दिन खुलेको भएर अहिलेसम्म त्यो पीडाचाहिं हामीले बेहोर्नु परेन । वरिपरि देखिने धुपीका बोटहरूले हामीलाई भनेजस्तो लाग्यो– “आज माफ भयो । फेरिफेरि यो बेला आएछौ भने अहँ ऽऽ ...”
हाम्रो टोलीको जान्ने–बुझ्ने भनेको प्रश्रितज्यू नै हो । त्यतिबेला पो उहाँले भन्नुभयो– “खार्साङको साथी घरमा हुनुहुन्नथ्यो । भरे भेटिएला कि ? यहाँ दार्जिलिङका साहित्यिक मित्रहरूसँग पनि भेट भएन । दुबै जना कलकत्ता जानुभएको रहेछ । हाम्रो बसाइ अब खार्साङ पुगेर नै होला । तै ती डाक्टर गोकुल अहिले साँझ फेला पर्लान् कि !”
दार्जिलिङलाई यत्ति एक झल्को हेरेर, पहाडकी रानीको सुन्दरतालाई साँच्चै ‘ब्यूटी इज टु सी बट नट टु टच’ भनेझैं स्पर्शसम्म नगरी फर्कनेमा पर्यौं । प्रश्रितज्यू र कविता दिदीले केही–केही दुई–एक सयका सजावटका चिनोहरू बोक्नुभयो । मैले त अहँ ऽऽ मलाई ती चिनोहरूको रहरभन्दा पनि यत्रो उमेरसम्म बोकेको त्यो कौतुहल, त्यो तृष्णाले उचित तृप्ति पाइसकेको छैनजस्तो, साँच्चैको त्यो झिलिमिलीको दार्जिलिङ हेरेकै छैनजस्तो भैरहेको थियो । हेडसर, सुभाष गुरुङजस्ता सुकिला, राम्रा मान्छेहरू खोइ त ? त्यस्तो राम्रो चेस्मा लगाउने, त्यसरी कपाल कोरेर पछाडि फर्काउने ती सुभाष गुरुङ सर खोइ ? नेपाली साहित्यका धुरन्धर सुधपाहरूको कर्मस्थल खोइ त ? उनका सन्तान खोइ त ? इन्द्रबहादुर राईको दार्जिलिङ खोइ ? बिन्ध्या सुब्बा, रामलाल अधिकारी खोइ ? लख्खीदेवी सुन्दास खोइ ? भोलि घरपुगेर दार्जिलिङको बखानमा म उन्मुक्त रूपमा के सुनाउँला त ? अहँ ऽ मेरो मनमा कुनै उत्तर पलाएको थिएन । मैले ठानेको त्यो स्वर्गीय, मनोरम, मनमोहक दार्जिलिङ हेर्न अझै बाँकी छ कि झैं छँदै थियो, तर प्रश्रितज्यूले– “यस्तै हो अब टाइगर हिल, जलपहाड, रक गार्डेन, इत्यादि हेर्ने हो भने आज या भोलि एक दिन अपर्याप्त हुन्छ, नत्र त यस्तै हो” भन्नुभएपछि हामीलाई चित्त बुझाउन कर लाग्यो ।
मलाई आदरणीय गुरु चूडामणि रेग्मीको “आश्चर्यमय दार्जिलिङ यात्रा” सम्झना भयो । उहाँले पनि झापा बसाइ सरेको ३२ वर्षपछि दार्जिलिङको यात्रा गर्नुभएको रहेछ र त्यो पनि त्यही चार घण्टाको मात्र । कसरी उहाँको र मेरो लागि दार्जिलिङ यात्रा उस्तैउस्तै परेको हो ? “लगभग चार घण्टे दार्जिलिङ बसाइमा दार्जिलिङका सबै रमणीय दृश्य हेर्न पाइन । दार्जिलिङका ऐतिहासिक व्यक्तित्वहरू सूधपाको योगदान गहिरिएर छाम्न पाइन । इन्द्रबहादुर राईको स्थानीय ज्योति नै हेर्न भ्याइन ।” यो चूडामणि गुरुको भनाइ हो कि मेरो हो म दोधारमा परेको छु ।
करिब चार तीस–पाँच तिर हामी फर्कने गाडीमा बस्यौं । फेरि अघिका दृश्यहरू, अघिको बाटो रुजू गर्दै हाम्रो गाडी फर्कियो । हामीले त्यस दिनको बसाइ खार्साङ बनाउने निधो गर्यौं । खार्साङ बजारको ‘होटेल श्याम एण्ड रेस्टुरेन्ट’का दुई वटा कोठा हाम्रा लागि बुकिङ भए ।
आजको बसाइलाई एक विद्वानसँगको बसाइ, अझ वैचारिक रूपमा आफूसँग ठ्याक्कै मिल्ने प्रगतिवादीसँगको बसाइ भएकाले सदुपयोग गर्ने उद्देश्य थियो मेरो मनमा । साँझ उहाँ डाक्टरमित्र गोकुलसँग भेटघाट गर्न निस्कनुभयो । एक–डेड घण्टापछि फर्कनुभयो । भेट भएन छ । खाना खान जाने फर्किने गर्यौं । दिनभरिको यात्रा र दार्जिलिङको उकालो–ओरालोको हिंडाइले लखतरान पारेकै थियो । मैले जे भए पनि मेरो मनमा विगतदेखि रहँदै आएका केही अनुत्तरित प्रश्नहरू प्रश्रितज्यूसँग राखें–
“प्रश्रितज्यू ! अहिले हामी धेरै जनामा बिभिन्न विषयमा प्रष्ट धारणा छैन । भानुभक्तलाई, पृथ्वीनारायण शाहलाई, नेपाली साहित्यका प्रशिद्ध पुरुषहरू बालकृष्ण सम, लेखनाथ, देवकोटा आदिलाई, संगीतका क्षेत्रमा नारायण गोपाल, मिरा राणा, तारादेवीलाई ... हामीले उचित मूल्याङ्कन गरेर आफ्नो पाङ्क्तिलाई प्रष्ट दृष्टिकोण प्रक्षेपण गर्नु पर्दैन ? कोही त्यसैको आलोचना गर्दैछन्, कोही त्यसैको जयजयकार गर्दैछन् ...”
उहाँले मेरा प्रश्न बुझ्नुभएछ । ती प्रश्नहरू विदुरजीलाई पनि सान्दर्भिक लागेछ । विदुरजी र म उत्तरको जिज्ञासामा थियौं । कविता दिदीचाहिं चाँडै कुराकानी सिद्धिए आराम गर्न पाइन्थ्यो, भन्ने ध्याउन्नामा हुनुहुन्थ्यो । यसैबीच प्रश्रितज्यूले उत्तर सुरु गर्नुभयो– “... निरपेक्ष रूपमा राम्रो र नराम्रो भनेर कसैलाई भन्नुहुन्न । मूल्याङ्कनका तीन–चार मापदण्ड हुन जरुरि छ–
क) समयसापेक्षता ख) उसको नियत वा मनसाय
ग) घोषित उद्देश्य घ) परिणाम ।
मोटामोटी यिनै कुराको तराजुमा सम्बन्धित व्यक्ति–व्यक्तित्वलाई जोख्नुपर्छ । उदाहरणको रूपमा पृथ्वीनारायण शाहलाई नै लिउँ– त्यो समय के थियो ? इतिहासमा कविलाबाट सामन्तवादको विकास हुनु तथा टुक्रा–टुक्राबाट एकताबद्ध राष्ट्र बन्नु पनि प्रगतिवादी सोच हो । तर अहिले भुटान, सिक्किम, बङ्गाल, नेपाल, भारत, श्रीलङ्का आदि मुलुक मिलाएर बलियो राष्ट्र बनाउने कुरा साम्राज्यवाद हुन्छ । पृथ्वीनारायण शाहको नियत त ठुलोे देशको सम्राट हुने, काठमाडौंजस्तो सुन्दर ठाउँमा राजधानी बनाउने थियो । नियत त नेपाली जनतालाई समृद्ध पार्ने र सुरक्षित बनाउने होइन, तर परिणाम चाहिं असुरक्षित र बार–बार आक्रमण तथा विजय वा पराजयको घात–प्रतिघात बेहोरिरहेका जनताको हितमा पनि भयो, त्यसकारण पृथ्वीनारायण शाह नेपाली जनताका निमित्त वरद पुरुष भए ।
यसरी नै हेर्ने हो साहित्यकारहरूलाई पनि । पृथ्वीनारायण शाहले भूगोलको एकीकरण गरे, तर भाषागत एकीकरण, सांस्कृतिक एकीकरणको जटिल र महत्त्वपूर्ण कार्य त भानुभक्तले गरे । अर्कातिर संस्कृतमा मात्र लेखिने गरेको साहित्य–लेखनको परम्परामा क्रान्ति गरे । नेपाली भाषामा पनि लोकप्रिय काव्य सृजना गर्न सकिन्छ भनेर देखाइदिए । त्यसकारण भानुभक्त निर्विवाद रूपमा सम्पूर्ण नेपालीका वन्दनीय रहे, तर पनि हामीले चाहिं भानुभक्तलाई भगवान बनाउने होइन, उनीमाथि अन्याय नहुने गरी उनको गुण–दोषको विवेचना गर्नुपर्छ । नितान्त रूपमा भानुभक्त गोपालप्रसाद रिमाल हुन सक्तैनथे । त्यति बेलाको युगको सीमा तथा प्राप्त औसरहरूको समिचिन विश्लेषण गरेर मूल्याङ्कन हुनुपर्छ ।
सिद्धिचरणका सुरुका कविता प्रगतिशील थिए । उनको कालमा प्रगतिवादी साहित्य र राजनीतिको विकास पनि भयो तर २०१७पछि उनी प्रतिक्रियावादी भएकाले समग्रमा उनलाई जनताका इमान्दार कवि भन्न सकिंदैन । युद्धप्रसाद मिश्र जीवनपर्यन्त जनताप्रति इमान्दार भएर बाँचिरहे ।
बालकृष्ण सम त कदाचित प्रगतिशील होइनन्, तथापि नेपाली साहित्यलाई समृद्ध पार्न उनको अतुलनीय योगदान छ, त्यस कुराको कदर र सम्मान त गर्नैपर्छ ।
“नारायण गोपाल, अरुणा लामाहरू वारे नि त ?” बिचैमा प्याच्च बोल्न पुगें म ।
“उनीहरूप्रति मेरो मनमा त धेरै सम्मान छ” उहाँले उत्तर गर्न थाल्नुभयो– “उनीहरूले नेपाली भाषाका गीतलाई लोकप्रिय बनाए । गीत र भजनका क्षेत्रमा हिन्दीले किचिराखेको परिवेशमा नेपाली गीतको उठान गरे उनीहरूले नै । यी दुई जनाले त छाडा गीत पनि गाएनन् । भक्ति गीत पनि खुलेर गाएनन् । यति भैकन पनि पलायनका गीत गाएकाले, क्रान्तिकारी गीत नगाएकाले उनीहरूलाई त्यो उच्च आसनमा राख्न हामीलाई अफ्ठेरो लाग्छ । उनीहरूकै प्रेरणा, साधना र गायनबाट नेपाली संगीतको स्तर पनि उठ्यो ।”
मैले उहाँलाई अर्को प्रश्न पनि सोध्नपुगें– “प्रश्रितज्यू, तपाईं राजनीतिक क्षेत्रमा गएकाले नेपाली प्रगतिवादी साहित्यिक तथा सांस्कृतिक क्षेत्रलाई ठुलो हानि पुगेको छ भनेर हामीलाई दुःख छ । के भन्नुहुन्छ ?”
थकाइ र रात पनि निकै गएकाले उहाँले उत्तरलाई छोटो बनाउनु भयो– “कुनै कार्यकारी अधिकार नभएको तर नेपालको लागि नितान्त नयाँ संसदीय प्रणालीलाई स्थापित गराउन प्रयत्न गर्दा गलत अर्थ लाग्नु त बिडम्बना नै भन्नुपर्छ, तर सामन्तवादी यस समाजमा सब सम्भ्रान्त प्रशासकहरूमा आफू निहुरेर जाँदा–जाँदा हैरान भएको सम्झँदा भने नगएकै भए राम्रो हुन्थ्यो कि ? जस्तो पनि लाग्छ ।”
सायद अलिक कुरा हुन्थे हुनन्, अलिक छलफल हुन्थे हुनन्, तर कविता दिदीको “आराम गरौं !”को भाव र ढल्किंदो रातले हामीलाई, हाम्रो छलफललाई अवरोध पुर्यायो ।
बिहान हामी योजनामुताबिक खार्साङ टीभी टावर हेर्न तथा सुवास घिसिङको अगुवाइमा निर्मित सुन्दर पार्कको अवलोकनमा निस्कियौं । त्यो थुम्कीको टाकुरामा अवस्थित बिचमा हेमानको चम्किंदो खुकुरी गाडेर बनाइएको सहदि पार्क देखेर मलाई सहिदहरूको नक्सा अंकित बिशाल ढुङ्गो बिचमा राखेर बनाइएको हेटौंडाको सहिद पार्कको सम्झना भयो । चियाका बुटाहरू, यता पूर्व दक्षिणपट्टि तलसम्म एक दमै भिरालो भिर, तारेभिरकै सम्झना गराउने । पहाडको बनोट धेरैतिर उस्तैउस्तै हुने । मलाई आफ्नै गाउँमा भएको जस्तो पनि लाग्यो । पूवपट्टि अलिक तल ओर्लेर अनि फेरि उकालो लाग्नुपर्ने खार्साङ बजार । टललल टल्कने घरहरूको बिस्कुन, पूर्वको भित्ताभरि हेरिरहूँ जस्तो, तर फर्कनु थियो आज अब छिट्टै । त्यहाँबाट डेरातिर फर्कंदा बिदुरजी र म प्रश्रितज्यूका अन्य उपयोगी कुराहरू सुनिरह्यौं । उहाँ भन्दै हुनुहुन्थ्यो– “जे भए पनि देवकोटाभन्दा ठुलो भानुभक्त नै हुन्, त्रिभुवनभन्दा ठुलो पृथ्वीनारायण शाह नै हुन्, मदन भण्डारीभन्दा ठुलो पुष्पलाल नै हुन् । हामीले पुष्पलालका अग्लाअग्ला सालिक बनाएर उनका योगदानहरूको चर्चा चलाउनु पर्छ । मदनको उचाइ पुष्पलालको भन्दा माथि देखाइनु दूरदृष्टि हुँदैन ।
डा.गोकुललाई नभेट्ताको प्रश्रितज्यूको बिस्मात् मैले उहाँको मलिन अनुहारबाट नापें । उहाँले चिठ्ठी लेखेर छाड्नुभयो । ९.३० बजेतिर हामी पङ्खाबारीको असाध्यै भिरालो बाटो मारुतीमा ढुन्मुनिंदै ओर्लियौं ।
भारतको एकताकाको वर्षे राजधानी, पहाडकी रानी तथा त्यो सुन्दर सहर लगभग ३÷४ घण्टामात्र हेरेर फर्कें म । मलाई आज चूडामणि गुरु एक जना मेरो जस्तै गरी दार्जिलिङ हेर्ने साथी भएको बोध भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 पौष, 2073

लेखकका अन्य रचनाहरु