अपमानमा जातियतावादी दृष्टिकोण

- दीपक सुवेदी

अमर न्यौपानेको सेतो धरतीले जातीय अपमानको आरोप बेहोरी रहेकाबेला किताब घरले हङ्कङमा रहेका नेपाली स्रष्टा देश सुब्बाद्वारा लिखित अपमान उपन्यास बजारमा ल्याएको छ जसमा आदिवासी जनजाति, उत्पीडित, दलित, पिछडावर्गको ब्राम्हणबाद प्रति आक्रोश व्यक्त गरिएको छ । एक सय ५४ पृष्ठमा विस्तारित उपन्यासको कथालाई जम्मा २३ खण्डमा छुट्याइएको छ । उपन्यासका खण्डहरूको नाम दिनाका साथै खण्ड समाप्तिको सङ्केत छन । लामा छोटा गरी जम्मा दुई सय ६५ अनुच्छेदमा संरचित छ ।
आयामका दृष्टिले सानो उपन्यास भएपनि उपन्यासमा जनजातिहरूका पीडा समस्यालाई पात्रका माध्यमबाट आवाज उठाउने उद्देश्य राखिएकाले पात्रहरू स्वाभाविक रूपमा प्रस्तुत गरिएका छन् । लिवाङ, थुलुङ, घनश्याम र लक्ष्मी उपन्यासका प्रमुख पात्र हुन् भने गणेश, इजम, मुकुली, शाक्य खेमराज केशवशरण सहायक पात्र हुन् ।
उपन्यासको प्रमुख पात्र लिवाङ, एउटा शिक्षित जनजाति युवक हुनाका साथै अन्याय विरुद्ध विद्रोह गर्ने साहस पनि उसमा छ । प्रजातान्त्रिक मुलुकमा जातीय, भाषिक, धार्मिक, लैङ्गिक भेदभाव विरुद्ध, जनजातिका आवाज उठाउने जोसिलो युवक पनि हो लिवाङ । उसले स्नातक सम्मको अध्ययन पश्चात जागिरका लागि धेरै ठाउँमा अन्तर्वार्तामा सहभागी भई चित्त बुझ्दो अन्तर्वार्ता भए पनि पढाइमा उसैसँग मद्दत माग्ने साथीहरूको नाम निस्कँदा उसमा धर्म, वर्ण, प्रति क्रान्तिकारी चेतना विकास भएको पाइन्छ । ऊ उसले सोझो र स्वच्छ हृदय भएको पुरुष पात्रका रूपमा देखिए पनि अन्त्यमा जनजातिहरूका अधिकारका लागि लड्ने योद्धा भएर देखिएको छ । उसले हिन्दू र अहिन्दूका नाममा शोषक वर्गले जनजातिहरूलाई दमन गरेकाले जनजातिहरू समान अधिकारबाट बञ्चित हुनुपरेकामा चिन्ता व्यक्त गरेको छ । उसले हरेक क्षेत्रमा जनजातिले पक्षपाती व्यवहार सहनुपरेको पीडा व्यक्त गर्ने खुल्ला स्वभाव देखाएको छ ।
ब्राह्मण क्षेत्रीलाई उपल्लो जातको भनेर देश विकास नभएको हुँदा सम्पूर्ण जनजातिहरूले राज्यका हरेक निकायमा जनजातिलाई ब्राह्मणछेत्री सरह अधिकार दिनुपर्ने धारणा उसले व्यक्त गरेको छ । लिवाङ मनुस्मृतिको गहकिलो अध्ययन गरी त्यसका विकृतिप्रति तीव्र विरोध जनाउने पात्र देखिएको छ । उसले संविधानका धारा उपधाराहरूको समेत अध्ययनविश्लेषण गर्ने गरेको देखिन्छ । ऊ वामपन्थी पार्टीको सक्रिय कार्यकर्ता हुनका साथै पशुपतिका तत्कालीन पूजारीको भण्डाफोरको प्रसङ्ग समेत व्यक्त गरिएको छ ।
लक्ष्मीलाई उपन्यासकी प्रमुख नारी पात्रका रूपमा उभ्याइएके छ । उसमा नारी सुलभ हुनाका साथै अन्याय र अत्याचारका विरुद्ध विद्रोह गर्ने हिम्मत पनि छ । आफ्नो पतिबाट दाइजो नल्याएकोमा अपहेलना गरेपछि माइतमा बस्दै आएकी छे । साथीहरूसँगको घुलमिलले उसलाई समाजमा हुने गरेको विकृित विसङ्गतिका विरुद्ध लड्ने साहस प्राप्त भएको देखिन्छ । उसले ब्राह्मणकी छोरी भएर पनि विद्रोह गरेकी छे । महिला बेचबिखनमा संलग्न रहेका आफ्ना पतिलाई त्यागेर घनश्याम, जो दलित छ, उससँग विवाह गर्ने निर्णय समेत उसले गरेकी छे । उसले नारीहरूमाथि भेदभाव, जातीय असमानता जस्ता कुराले समाजमा भेदभाव बढेकाले त्यस्ताको विरुद्ध संघर्ष गर्दा घनश्यामको हत्या भएको हेर्न बाध्य भएकी छे । उपन्यासमा लक्ष्मी जातीय असमानता, नारीमाथि हुने दमन, शोषण र भेदभावका विरुद्ध सङ्घर्ष गर्ने पात्रका रूपमा आएकी छे ।
घनश्याम दलित, गरिब परिवारमा जन्मिई हुर्किएको पुरुष पात्र हो । परिवारको सबैभन्दा जेठो छोरो हो । तत्कालीन व्यवस्थाप्रति उसको असन्तुष्टि रहेको देखिन्छ । जातीय, छुवाछुत जस्ता भेदभावका विरुद्ध लड्ने योद्धा समेत देखिएको छ । निरन्तर संघर्ष गर्ने दलित वर्गको प्रतिनिधि पात्र पनि हो । उसले लक्ष्मीलाई स्वीकार गरेर साहसी कार्य गरेको देखिन्छ । विवाहलाई संयोगको मिलन र परिबन्दले बाँच्नुपर्ने बताउँछ । जातीय भेदभाव जस्ता कुरालाई वास्ता नगर्ने प्रवृत्ति उसमा पाइन्छ ।
उपन्यासको मुख्य कार्यस्थल नेपालको पूर्वाञ्चलको धरानको परिवेश रहेको देखिन्छ । धरानका अतिरिक्त उपन्यासमा काठमाडौं, पशुपतिपारिको मूलपानी गाउँको स्थानीय परिवेशको पनि उल्लेख भएको छ । समयका दृष्टिले यो उपन्यास लामो समयको परिवेश यसले समेटेको देखिन्छ । परापूर्वकालदेखि आदिवासी जनजातिहरूमाथि हुने गरेका अन्याय, अत्याचार, शोषण, दमन जस्ता विषयवस्तु यस उपन्यासमा रहेको पाइन्छ । नेपालको शासन व्यवस्था खास गरी २०४६ सालपछिको जनजातिहरूको अवस्था र राज्यका हरेक अङ्गमा तिनीहरूको सहभागिता तथा नेपालका जनजातिहरूले भोग्नुपरेका पीडालाई परिवेशका रूपमा चित्रण गरिएको छ ।
समग्रमा अपमान उपन्यास पर्यावरणका दृष्टिले अलि फितलो देखिन्छ । सर्वसम्पन्न शोषक वर्ग र सर्वहारा श्रमजीवी वर्गप्रतिको अथवा आर्य र अनार्य बीचको द्वन्द्वनै यस उपन्यासको उल्लेख्य परिवेश हो भन्न सकिन्छ । यहाँ लिवाङले जहाँ गएपनि जात र धर्मका विरुद्ध आवाज उठाएको छ । लिवाङलाई जनजातिहरूले आ–आफ्नो भाषा धर्म संस्कृतिको अस्मितामा आँच आउन नदिन सबैलाई वातावरणको सिर्जना गरेको देखिन्छ । अन्त्यमा त्यस्ता विरुद्ध विद्रोह गरी नाराबाजी समेत गरेको दृश्य अङ्कित छ ।
उपन्यासका पात्रहरूले आ–आफ्नो विश्लेषण र अनुभूति आफैं व्यक्त गरेकाले तृतीय पुरुष दृष्टिबिन्दु अन्तर्गत बाह्य सर्वदर्शी दृष्टिबिन्दु यस कृतिमा रहेको देखिन्छ ।
अपमान उपन्यासको सारतत्व जाति भनेका सबै एक हुन् भन्ने हो । जुन जातिको रगत भएपनि रगत रातै हुने र जाति र धर्मका आधारमा कसैले कसैको थिचोमिचो गर्नु नहुने विचार यस कृतिमा पाउन सकिन्छ । विशेष गरी युवावर्गलाई राज्यले वेवास्ता गरेका अवस्थामा भविष्यको निर्धारण गर्ने युवाले धैर्य र साहसका साथ परिवर्तन गर्न सक्छ भन्ने विचार व्यक्त भएको छ । जनजातिहरूलाई सम्मानका तहमा राखी अनावश्यक लाग्छना लगाएमा ऊ त्यो सहन सक्दैन भन्ने विचार पनि प्रकट भएको पाइन्छ । नारी पीडित र निम्न वर्गका मानिसलाई अपमान जनक व्यवहार समाजमा हुने गरेका र त्यस्ता व्यवहारप्रति महिलाले समेत प्रतिकार गर्नुपर्ने विचार लक्ष्मीबाट प्रकटिएको छ । लिवाङले आफ्नो क्रोधलाई शान्त पार्न पुस्तक जलाउन पुगेको छ । प्रजातन्त्र र सामन्तवाद कहिले पनि मेल खान सक्दैन । यसैकारण हिन्दू संविधानमा जनजातिका मानिसहरूले अपहेलित महसुस गरिरहेका छन् । हिन्दू धर्मको विकल्पमा किराँत, इसाइ, मुस्लिम, बौद्ध इत्यादि विभिन्न धर्ममा प्रवेश गरिरहेका छन् । यस वाक्यले समाजमा हरेक जातजाति, भाषा धर्म, संस्कृति हुन्छन् तर एउटै मात्र जातको सामन्ती सोचका कारण मानिसले वैकल्पिक नीति अपनाउने कुराको निर्धारण गरेको छ ।
जातीयताका आधारमा समाजमा जनजाति, दलित, पीडितहरूलाई समाजले तिरस्कृत गरेर जातीय हिंसा भड्किए सम्पूर्ण नेपालीहरूको अस्तित्व नरहने भएकाले जनजातिहरू पनि देश, समाजका नागरिक भएको हुनाले राज्यका सम्पूर्ण अङ्गमा समान व्यवहार, व्यक्ति स्वतन्त्रता, आफ्नो धर्म, संस्कृति भाषाको खोजी गर्नुपर्छ भन्नु नै अपमान उपन्यास मूल तत्व हो ।
उपन्यासकार देश सुब्बाले अपमान उपन्यासमा सरल भाषाको प्रयोग गरेका छन् । यस उपन्यासमा कतिपय ठाउँमा विचलनयुक्त पदक्रमका साथै बोलचालकै भाषाको प्रयोग भएको छ । यस उपन्यासमा बढी वर्णनात्मकता हुनका साथै केही ठाउँमा अलङ्कारको प्रयोग पनि गरिएको पाइन्छ । ‘काम गर्ने हनुमान जस पाउने ढेडु’ जस्ता उखानहरू प्रयोग भएका छन् । यसमा कतिपय कुराको वर्णन बिम्ब र प्रतीकद्वारा नगरेर सोझै गरेको पाइन्छ ।
सुब्बाले अंग्रेजी लिम्बू हिन्दी आदि शब्दहरूको प्रयोग गरेका छन् । यसै क्रममा पेन्सन, अंग्रेज, बब्बिड, जोनअङ्ग्रजी, माङहिम, मुन्धुम, चेसोक, तगेरा, चेमाङ लोसार तथा मागी जस्ता लिम्बू शब्दहरूको प्रयोग भएको पाइन्छ । ‘कालो माकुराको विषालु जालोभन्दा बाहुनवादको जालो’ तीतेमाछा उभौली सिजनमा हुल बाँधेर उकालो हिँडेझैं सभापोखरीजस्ता आमा सधैं गम्भीर र उदास घनाढ्य मारवाडी जस्तै जिउ तन्काउँदै सुतिरहेको जस्ता बिम्बहरूको प्रयोग उपन्यासमा प्रयोग भएको पाइएको छ ।
यस उपन्यासको शैली परम्परा रूपको वर्णनात्मकता रहनुका साथै सरल रूपमा व्यक्तिएको छ । वर्णनमा चित्रात्मकता त्यति नपाइए पनि क्लिष्टता यस उपन्यासमा पाइँदैन । यसरी रागात्मकता सम्बन्धको सरल रूपमा वर्णन गर्दै कथ्यको प्रस्तुतिमा दुर्वोध्यता नभएको र शैलीपक्ष सुबोध रहेको पाइन्छ ।
उपन्यास वर्ण, लिङ्ग, भाषा, धर्म, संस्कृतिका नाममा पीडित आदिवासी, जनजाति, दलित तथा उत्पीडित पीडा र समस्यामा केन्द्रित रहेको छ । मानिसको इच्छा स्वतन्त्र भएर बाँच्न र आफूले पाउने अधिकारको खोजी गर्न सबैले पाउनुपर्छ, कसैले कसैको भाषा, धर्म, संस्कृति हस्तक्षेप गर्नुहुँदैन भन्ने अर्थ यस उपन्यासले दिएको छ । यस उपन्यासमा हरेक क्षेत्रको समस्याप्रति उब्जिएको शङ्काले चरम रूप संविधानका विभिन्न धारा उपधाराको ठाडो उलङ्घन हुनु, कृष्णप्रसादले नेपालमा आदिवासी छैनन् भन्नु, लक्ष्मी जस्ती महिलालाई दाइजो नल्याउँदा पिट्नु जस्ता घटना र कार्यहरूले आदिवासी जनजातिहरूको व्यापक अपमान भएको निष्कर्ष यस उपन्यासको रहेको छ । मूलत ः लिवाङले जताततै आदिवासी जनजातिहरूको अपमान भएको महसुस गरेको हुनाले यस उपन्यासको शीर्षक अभिधात्मक रहेको देखिन्छ । उपन्यासमा पुरानै कथानक र शैलीका साथै जातिकेन्द्रित बढी रहेकाले एकपटक पढेका पाठकले दोहो¥याएर पढ्न गाह्रो मान्न सक्ने अवस्था देखिन्छ ।
गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 पौष, 2073

लेखकका अन्य रचनाहरु