मृत्युको ओछ्यान

- काङमाङ नरेश

प्रियसी,
म कस्तो गएको थिएँ युद्धमा
त्यस्तै र्फिर्कएको छु युद्धबाट ?

तिम्रो
गोलीजस्तो शिरफुल
तारजस्तो हारी
आगोजस्तो आँखा
ग्रिनेडजस्तो नाक
बमजस्तो कुर्कुच्चा
बन्दुकजस्तो हात
ट्राइपोडजस्तो खुट्टा
माइनजस्तो शरीर
तिमीमाथि बस्दिनँ
कसम ! बस्न दिन्नँ

आवाज आउँदा झस्किन्छु
गोली खोज्छु सिरानीमा
सपनीमा ब्युँझन्छु
हेल्मेट छाम्छु टाउकोमा
छेउछाउ साथी हेर्छु
एक्लै हुन्छु ओछ्यानमा

अफ्गानबाट फर्किएपछि
निंद्रा लाग्दैन मलाई
तिम्रो प्रेमले सजिएको
यो सुन्दर कोठामा ।

२५ नोभेम्बर २०११ ब्रुनाई

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 पौष, 2073

लेखकका अन्य रचनाहरु