सुरुङ्गामा यथार्थ यात्रा: घुम्टीखोली समारोह

- कृष्ण सुवेदी निराकार

तीजको अघिल्लो दिन अर्थात दरखाने दिन थियो त्यो दिन । २०६६ भदौ ६ गते शनिवारको दिन । मौसम धाम्म–धुम्म थियो । विहानी पखको उज्यालो फस्टाउँदै थियो । वादलको घेरालाई चिर्दै सूर्यको किरणले पृथ्वी चिहाँउदै थियो, कतै आपतित–कतै परावर्तित किरणहरु छर्दै ।
त्यो दिन नारीहरुको पवित्र पर्व तीजको अघिल्लो दिन दरखाने दिन मात्र थिएन, यो वर्ष–जुही साहित्यिक सद्भाव कार्यक्रमको नवौं कार्यक्रम सम्पन्न भएको दिन थियो । झापा, मोरङ्ग, सुनसरी र इलाम समेतको उपस्थिति भएको ‘यथार्थ यात्रा घुम्टीखोली समारोह’ नाम दिइएको विशेष नौलो समारोह पनि सम्पन्न भएको थियो त्यो दिन ।
विशेष रुपमा भन्नुपर्दा नेपाली साहित्यिक फाँटमा लामो समयदेखि कलम चलाउँदै आधा दर्जन भन्दा बढी विभिन्न विधाका कृति पस्कँदै नीयमित आफ्नो लेखनी कार्यलाई झण्डै ७७ वर्षको उमेरमा पनि त्यक्तिनै जोश र जांगर भर्दै कलम चलाउने वयोवृद्ध श्रष्टा डा. हृषीकेश उपाध्याय कार्यक्रमको प्रमुख अतिथिका रुपमा अर्थात ‘बुढोपाको’ विशेषणबाट विभुषित हुनु भएको थियो । कार्यक्रम अगाडी बढाउन जुहीका नायक, यथार्थ यात्राका सम्पादक भाषाविद् चूडामणि रेग्मीज्यूले कार्यक्रमको उद्देश्य, औचित्य माथी प्रकाश पार्दै कार्यक्रमको अध्यक्षता गर्न कनकाई धाम कोटीहोमका अध्यक्ष कोमल प्रसाईंलाई आसनग्रहण गराउँदै अन्य आसनग्रहण एवं सबै कार्यक्रम हाँकेर लैजान सञ्चालकका रुपमा हामी दुईभाइ सुरुङ्गाका सूर्य अधिकारी र चन्द्रगढीको म कृष्ण सुवेदी ‘निराकार’लाई जिम्मा दिनुभयो ।
सर्व प्रथम मेरा मित्र सूर्य अधिकारीले कार्यक्रमको थालनी गर्नुभयो । अनौपचारिक कविगोष्ठी र चियापान पश्चात आरम्भ भएको यो औपचारिक कार्यक्रममा अन्य अतिथिहरुको आसनग्रहण कार्य पूरा भयो । कार्यक्रमको ‘थालनी’ र ‘विसौनी’ लेखिएको आकर्षक नाङ्लोको ‘थालनी’ तर्फको अक्षर दर्शक दीर्घामा वस्नुभएका सम्पूर्ण साहित्यकारहरु तर्फ देखाउँदै विशेष पाहुना पञ्चायती व्यवस्थाका विरुद्ध लड्दै आउनु भएका, पटक–पटक प्रतिनिधि सभाका सांसद हुनुभएका प्रखर नेता स्व. द्रोणाचार्य क्षेत्री कि श्रीमती वेदकी आचार्यज्यूले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भयो । त्यसपछिको पालो थियो – ‘बुढोपाको’ व्यक्तित्वको चयन । उद्घोषक मित्र सूर्य अधिकारीले ‘बुढोपाको’को परिचय गराउने जिम्मा मलाईनै दिनुभयो । मैले ‘बुढोपाको’ व्यक्तित्व डा. हृषीकेश उपाध्यायको संक्षिप्त परिचय र आसनग्रहण गराएपछि वाहाँलाई कार्यक्रमका अध्यक्ष कोमल प्रसाईंले सुरीलो, चिल्लो टेक्ने लौरो उपहार दिनु भएको थियो । त्यो क्षण अचम्मित बन्यो एकछिन । कोही हाँसे, कोही भावुक भए ! चूडामणि गुरु नयाँ ढंगबाट कार्यक्रम गर्नु हुन्छ, कार्यक्रममा मीठास भर्ने वाहाँमा राम्रो कला छ, भन्दै श्रोतादीर्घाबाट गुन–गुन आवाज आएको मेरो कानमा प¥यो, कानेखुसी गरेको पनि मेरो आँखाले हे¥यो । वास्तवमै भन्नु पर्दा–त्यो क्षण साँच्चै भावुक बन्न पुग्यो, डा. हृषीकेश उपाध्याय पनि भावुक हुनु भएको थियो । गहभरी वाहाँका आँखामा आँशु टल्पिएको देखें मैले । खै ! के–के सोचीरहनु भएको थियो डा. उपाध्याय त्यसबेला ।
डा. हृषीकेश उपाध्याय ज्यू सँग म २०४० सालदेखि परिचित छु । जव म २०३९ सालमा झापा आएँ, मेची क्याम्पसमा आई.कम. प्रथम वर्षमा भएँ । मेरो बसाइ चन्द्रगढी–१ मा मेरा दिदी–भिनाजुको घरमा थियो । गुरु चूडामणि रेग्मीको घरपनि त्यहीं नजिकै थियो । वाहाँसँग २०३९ सालमै परिचय भएको थियो भने डाक्टर साहेवलाई मैले देख्दा र चिन्दा एक असल एवं कुशल चिकित्सकका रुपमा चिनें । राजनैतिक व्यक्तित्वका रुपमा चिनें । विस्तारै–विस्तारै वाहाँका रचना र विचारहरु विभिन्न पत्र–पत्रिकाहरुमा पढ्न थालेपछि वाहाँ त सफल साहित्यकार पो हुनुहँुदो रहेछ भन्ने पनि चिनें । ‘व्यक्ति एक व्यक्तित्व अनेक’का रुपमा मैले डाक्टर साहेवलाई चिनेको छु आजसम्म पनि । म जन्मेकै साल–२०२० सालमै झापाबाटै ‘बगैंचा’ नामक कृति कविता संग्रह प्रकाशित गरीसक्नु भएको रहेछ डा. उपाध्यायले ।
त्यसदिनको कार्यक्रम अघिबढीरहेको थियो, बुढोपाको व्यक्तित्वबाटै पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन सम्पन्न भयो । उद्घाटन मन्तव्य दिंदै बुढोपाको व्यक्तित्व डा. हृषीकेश उपाध्यायज्यूले आफूलाई लौरोको सट्टा कलम उपहार दिएको भए अझ राम्रो हुने थियो भन्ने विचार राख्दै ‘यो लौरो कलमको प्रतिको हो !’ भन्दै जुही परिवारले गरेको सम्मान प्रति कृतज्ञता व्यक्त गर्नु भयो । यस अघिनै कार्यक्रममा उपस्थित सबै पाहुनाहरुमा न्यानो स्वागत मन्तव्य सह–आयोजक संस्था कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाका अध्यक्ष बुद्धदेव ‘सारस्वत’ले राख्नु भएको थियो भने ‘शिवोऽहम्’ कविता सस्वर वाचन गर्नु भएको थियो कवि देवीचरण भण्डारी र खगेन्द्रा खुसी द्वयले । कार्यक्रमको सुरुमा–आसनग्रहण पछि ज्ञात–अज्ञात साहित्यिक सहिदहरु एवं २०६६ भाद्र ४ गते यस संसारबाट विदा लिनुभएका झापाली माटोलाई कर्मभूमी बनाउँदै साहित्यिक फाँटमा गहन योगदान दिनुभएका वरिष्ठ साहित्यकार भवानी घिमिरेको दुःखद निधन प्रति पनि एक मिनट मौन धारण सहित श्रद्धाञ्जली व्यक्त गरियो ।
कार्यक्रम अघि बढाउने क्रममा वाँकी जिम्मा मेरै काँधमा सुम्पँदै मित्र सूर्य अधिकारी विदा हुनुभयो । मैले क्रमशः कार्यक्रम अगाडी बढाउन थालें । जुही साहित्यिक सद्भाव यात्राको नवौं कार्यक्रम ‘घुम्टीखोली समारोह’को घुम्टो खोल्ने वेला भयो । कत्तिले त घुम्टीखोली को अर्थ नबुझेर कानेखुसी पनि गर्दै थिए । के भन्न खोजिएको हो भनेर चासो पनि व्यक्त गर्दै थिए एक–आपसमा । झर्रो नेपाली भाषाका गुरु चूडामणि रेग्मीले यो नाम छनोट गर्नु भएको थियो । यो ‘घुम्टीखोली’ शब्द राम्रो रचना मीठो नेपालीका लेखक प्रसिद्ध भाषाविद् कृष्णप्रसाद पराजुलीले ‘विमोचन’को साटो ‘घुम्टीखोली’ भन्ने शब्दको चलन चलाएकाले सोही शब्द राम्रो लागेर गुरु चूडामणि रेग्मीले पनि यहाँ यसपटक जुराउनु भयो । ‘यथार्थ यात्रा–२०६६’ नामक पुस्तक लोकार्पण कार्यक्रममा ‘यथार्थ यात्रा’ पुस्तकलाई रंगीन कागजले ढाकीएको थियो, त्यही घुम्टो खोल्ने कार्यक्रमलाईनै ‘घुम्टीखोली’ नाम दिइएको थियो । यसरी उक्त पुस्तकको लोकार्पण बुढोपाको व्यक्तित्व डा. हृषीकेश उपाध्यायले घुम्टी खोलेर गर्नु भयो ।
समय आफ्नै गतिमा दौडीरहेको थियो । विहानको १०ः१५ बजिसकेको थियो । त्यसपछि अर्को आकर्षक कार्यक्रम सुरुभयो, नेपाली भाषा–साहित्यको जगेर्ना गर्दै २०५९ सालदेखि आफ्ना विविध कार्यक्रमहरु प्रशारण गर्दै आएको विर्तामोड स्थित लोकप्रीय रेडियो प्रशारण कञ्चनजंघा एफ.एम.लाई सम्मान गर्ने कार्यक्रम । २०५९ साल असार १ गतेदेखि आफ्नो प्रशारण आरम्भगरी २०५९ साल असोज २१ गतेदेखि विधिवत प्रशारण गर्दै आइरहेको छ ऐले कञ्चनजंघा एफ.एम. । एक हज्जार वार्ड क्षमतामा विस्तार भएको उक्त एफ.एम.ले विहान ४ः३० बजेदेखि राती ११ बजेसम्म आफ्ना नीयमित कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ । जम्मा प्रशारित कार्यक्रमहरु मध्ये १४% मात्र मनोरञ्जन क्षेत्रमा छ भने बाँकी ८६% कार्यक्रम सामूदायिक क्षेत्रमा – जनहितमा आधारित कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जिल्ला भित्र होस् वा बाहिर विशेष घटनाहरुका वारेमा तुरुन्त सूचना प्रवाह गर्ने, सम्बन्धित घटना क्षेत्रबाटै प्रत्यक्ष प्रशारण गरी जनतालाई सुसोचित गर्ने जस्ता यस एफ.एम.को प्रशंसनीय कार्यको हामीले खुलेर प्रशंसा गर्नैपर्छ । अझ भन्नु पर्दा २०६२–२०६३ सालको लोकतान्त्रिक जन आन्दोलनमा २०६३ वैसाख ६ गते चन्द्रगढीमा भएको विशाल आमसभाको दर्दनाक घटनाको क्रममा प्रहरी, प्रशासनको अमानवीय दमन भै रहेको वेला ठूलो जोखिम उठाएर कञ्चनजंघा एफ.एम.का प्रवन्ध निर्देशक चन्द्र भण्डारी, समाचार वाचक केशव भट्टराई र अन्य मित्रहरु, प्राविधिक मित्रहरुको योगदानको उच्च मूल्याङ्कन गर्नै पर्छ । तर खै ! साना–तिना संघ संस्थाहरु बाहेक अरु कस्ले गर्छ र त्यस्तो मूल्याङ्कन ! राजनितिक दलहरु झगडा र भागवण्डामै सँधै लुछातानी गर्छन् । सरकारमा बस्नेहरु ‘भोज र मोज’मै सँधै व्यस्त छन् ।...............।
ए, म त एकछिन अन्तैतिर पो वहकिएछु । त्यो दिन कोटीहोममा कञ्चनजंघा एफ.एम.लाई विशेष रुपमा नौलो ढंगबाट सम्मान कार्यक्रम सम्पन्न गरियो । कञ्चनजंघा एफ.एम.का प्रवन्ध निर्देशक, झापाका जुझारु युवानेता, सफल पत्रकार एवं असल व्यक्तित्व चन्द्र भण्डारी स्वयं उपस्थित भएर कार्यक्रमको गरिमा बढाउनु भएको थियो भने अन्य व्यक्तित्वहरुमा समवेदना कार्यक्रमका सञ्चालक मेरा आदरणीय गुरु शिरो सान्दाइ, प्रखर स्वरका धनी, समाचार वाचक केशव भट्टराई, हाँस्यव्यङ्ग्य कलाकार पिनाकी कोइराला, साहित्यको रसास्वादन गराउने कवि लीला अनमोल, कोकिल कण्ठकी धनी–छन्दको तरङ्गकी सञ्चालिका खगेन्द्रा ‘खुसी’ समेत उपस्थित हुनुहुन्थ्यो । श्रोताहरुको माग अनुसार प्रत्येकले आ–आफ्नो क्षेत्रको कार्यक्रमको नमुना प्रस्तुत गर्नुभयो । शिरो सान्दाइले प्रस्तुत गर्नु भएको समवेदना कार्यक्रमको नमुना साँच्चिनै रेडियोमा सुने जस्तै लाग्थ्यो । स्व. भवानी घिमिरेको बारेमा प्रशारित ‘कञ्चनजंघा एफ.एम. परिसरमा प्राप्त समवेदनाका खवरहरु’ भन्दै झण्डै २५ मिनट जति समय स्व. भवानी घिमिरेको साहित्यिक योगदानका बारेमा बताउनु भयो । समाचार वाचक केशव भट्टराइले त्यहीं–तुरुन्तै–त्यसै ठाउँमा–त्यसै कार्यक्रमको समाचार तयार गरी ‘यथार्थ यात्रा कृति घुम्टीखोली समारोह सम्पन्न’ समेतको भाषा मिलाएर ठ्याक्कै दुरुस्तै विना विद्युतीय उपकरण समाचार वाचन गर्नुभयो । त्यसपछि हाँस्यव्यङ्ग्य कलाकार पिनाकी कोइरालाले बुढी आमैको स्वर अनुकरण गर्दै हालै विर्तामोडमा गएको (भदौ ४ गतेको) बाढीले गरेको क्षतिका बारेमा मीठो शैलीमा वढ्दो महङ्गी र खोला मिच्नेहरुलाई व्यङ्ग्य सहित प्रस्तुत गर्नु भयो । कवि लीला अनमोलले हाम्रो साहित्य कार्यक्रम एफ.एम.मा प्रशारण हुने शैलीमा प्रस्तुत गर्दै एउटा कविता समेत वाचन गर्नु भएको थियो । अन्तमा–छन्दको तरंगकी सञ्चालिका खगेन्द्रा ‘खुसी’ले पनि एफ.एम.मा आफूले प्रशारण गर्ने नमुना प्रस्तुत गर्दै मीठो स्वरमा कविता लय वाचन गर्नु भयो ।
सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै गुरुआमा वेदकुमारी रेग्मीले सबैलाई टीका लगाइदिनु भयो, फूलका गुच्छाहरु दिंदै स्वागत गर्नुभयो । सभाका ‘बुढोपाको’ व्यीक्तत्व डा. हृषीकेश उपाध्यायले सम्मान–पत्र प्रदान गर्नुभयो भने उक्त सम्मान–पत्र इटहरीका साहित्यकार, पत्रकार कृष्ण अधिकारीले वाचन गर्नुभएको थियो । सम्मानित हुने प्रत्येक अतिथिलाई ‘यथार्थ यात्रा’ पुस्तक सम्पादक चूडामणि रेग्मीले उपहार स्वरुप प्रदान गनुभयो । तीजको दरखाने दिन परेकाले तीजको ‘दर’ भन्दै गुरु चूडामणि रेग्मीकी माइली बुहारी अमिता रेग्मीले ‘दर’ प्रदान गर्नु भयो । सम्मान कार्यक्रम भरी श्रोतादीर्घाबाट ताली गुञ्जीरहेको थियो, कार्यक्रमले रौनकता छाइरहेको थियो । सम्मानको अन्तमा कञ्चनजंघा एफ.एम.का प्रवन्ध निर्देशक चन्द्र भण्डारीज्यूले मीठो सारगर्भित मन्तव्य सहित सम्मान दिने संस्था जुही परिवार र सह आयोजक कोटीहोम परिवार एवं कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गालाई धन्यवाद एवं आभार व्यक्त गर्दै नेपाली भाषा–साहित्यको विकास, संरक्षण एवं सम्वर्धनमा कञ्चनजंघा एफ.एम. अझै शसक्त रुपमा अघिबढ्ने कुराको प्रतिवद्धता व्यक्त गर्दै विदा हुनुभयो ।
हातमा घडी हुनेहरुले आ–आफ्ना नाडीमा घडी हेर्दै थिए । नहुनेहरुले समय सोधीरहेका थिए एक अर्कासँग । तीजको दरखाने दिन चेलीवेटीहरु घर–घरमा पाहुना भएर मीठो दरखान आएकाले होला सबैलाई हतारो थियो घर जान । सबैलाई घरको याद आएको हुनुपर्छ । जे भएपनि हाम्रो कार्यक्रमले करीव ११बजेतिर झण्डै ८०% जति कार्यक्रमको विट मारिसकेको थियो । अब केवल पुस्तकको समीक्षा र अतिथिहरुको मन्तव्य मात्रै बाँकी थियो ।
समीक्षा आरम्भ भयो, मन्तव्य पनि वीच–वीचमा रह्यो । समीक्षाको क्रममा पुस्तक भित्रका कविता विधाका बारेमा प्रा. कमल गुरागाईंले समिक्षा प्रस्तुत गर्नुभयो । निवन्ध विधामा बारेमा व्यङ्ग्यकार कोमल प्र.पोखरेलले आफ्नो विचार राख्नुभयो । समालोचना विधाभित्र समालोचक अनिरुद्र तिमसिनाले आफ्नो विचार पस्कनु भयो । हाँस्यव्यङ्ग्य विधातर्फ हाँस्यव्यङ्ग्यकार चूडामणि वशिष्ठले समीक्षा गर्नुभयो । सुरुङ्गाका कवि–साहित्यकारहरुका बारेमा प्रा.गंगाप्रसाद अधिकारीले मन्तव्य राख्नु भयो भने अन्य मन्तव्य दिनुहुनेहरुमा सुसेली साहित्यिक प्रतिष्ठान काकरभिट्टाका अध्यक्ष पुण्यप्रसाद खरेल, प्रलेस केन्द्रीय पार्शद भवानी क्षेत्री, कथाकार सरोज ओली लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रमको बीच–बीचमा कविता–कवि केशव आचार्य, कवि मुनाराज शेर्मा, रोहिणीविलाश लुइटेल, बन्दनकुमार मुण्डा, डम्बर घिमिरे लगायतले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै “कोटिहोममा यस्तो अपूर्व साहित्यिक सद्भाव कार्यक्रम आयोजना गर्ने सौभाग्य पाएकोमा हामी आभारी छौँ” भन्दै सभाध्यक्ष कोमल प्रसाईंले कार्यक्रम समापन हुन लागेको जानकारी गराउनु भएको थियो भने सद्भाव यात्राको विसाउनीको सङ्केत नाङ्लोमा अंकित ‘विसाउनी’ शब्द देखाउँदै अर्कि विशेष पाहुना झापाका सहिद कवि डि. कौडिण्यकी श्रीमती यमुना आचार्यले यात्रा विसाउनु भयो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई मीठो खानाको व्यवस्था कनकाईधाम कोटीहोम सुरुङ्गा परिवारबाटै व्यवस्था गरिएको थियो भने खाजाको सौजन्यता सुरुङ्गा निवासी त्रिलोचन चिमरियाले गर्नु भएको थियो ।
समग्रमा कार्यक्रमको मूल्याङ्कन सुन्दा र गर्दा कोहेड कलेज विर्तामोडका प्राचार्य कमल गुरागाईंले गाडी सौजन्यता गर्नुभई आफैं स्वागतमा बस्नु भएको क्षण अविस्मरणीय रह्यो । सुरुङ्गा वासी कवि–साहित्यकारहरु एवं कोटीहोम परिवारले व्यवस्थापन पक्षमा पु¥याएको सहयोग विर्सनै नसकिने थियो । काकरभिट्टाका साहित्यकार विजय खरेलकी श्रीमती पार्वती खरेलले बाटामा गाडीभित्र बाड्नुभएको बदाम भुजियाको स्वाद अझै जिब्रोबाट झरेको छैन ।
कार्यक्रममा धेरै तिरबाटको उपस्थितिलाई आयोजकको सफलता मान्नै पर्छ । विराटनगरबाट कवि बलराम पोखरेल, इटहरीबाट कवि–साहित्यकार कृष्णविनोद लम्साल, पत्रकार कृष्ण अधिकारी, इनरुवाबाट साहित्यकार कालीप्रसाद सुवेदी, मधेसाबाट कवि, समालोचक, कलाकार उपेन्द्र पागल, ईलामबाट कवि डि.वि. ईलामेको उपस्थितिले कार्यक्रमलाई गरिमामय बनाएको थियो । त्यसैगरी अन्य झापाली श्रष्ठाहरुमा–अधिवक्ता लीलाप्रसाद सापकोटा, साहित्यकार राधिका राया, कृष्णा क्षेत्री, तारा विविध, लक्ष्मी पौडेल, घनेन्द्र शर्मा, शालिक भट्टराई ‘अन्तरे’, खीलप्रसाद सिवाकोटी, विरही अधिकारी, भुवन सुब्बा खरेल, विजय खरेल, पार्वती खरेल, तेराख, तृष्णा आचार्य, अमृतलाल श्रेष्ठ, कृष्णप्रसाद उप्रेती, गोविन्द घिमिरे, सोमराज अभय, पुण्य बराल, भुवन आदिम, हेम अधिकारी, रुद्र निरौला, छविलाल खतिवडा, केशव पौडेल, राजेन्द्र प्रसाईं, प्रेम प्रभात, डिल्लीराज नेपाल, गोपाल संग्रौला, राजेन्द्र संग्रौला, गंगाराम ढुंगेल लगायत धेरै साहित्यकारहरुको उपस्थितिले कार्यक्रमको संख्यात्मक एवं गुणात्मक उपस्थिति हुन पुग्यो ।
जुही साहित्यिक सद्भाव कार्यक्रमको नवौं यात्रा यसरी सम्पन्न भयो र सुरुङ्गाबाट पूर्वतर्पmका सबै यात्राका सहभागी यात्रीहरुलाई घर–घरमा पु¥याएर प्रा. कमल गुरागाईंज्यूले जुही परिवारमा थप गुण लगाउनु भएको छ । सुरुङ्गा क्षेत्रका साहित्यकार, कनकाई माईधार स्थित कोटीहोम परिवारले साहित्यिक क्षेत्रमा गरेको यो सहयोग अर्को उदाहरणीय कार्यभएको छ । व्यस्त समयमा प्रत्येक साहित्यकारहरुले आ–आफ्नो उपस्थिति जनाउनु, जुही परिवारले बेला–बेलामा यस्ता सद्भाव कार्यक्रम–समारोह आयोजना गराएर सबैलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने चौतारी बनाईदिनु र परिचयको नविकरण गर्ने अवसर दिनु चानचुने कुरा होइन जस्तो लाग्छ मलाई । फेरी–फेरी पनि यस्ता कार्यक्रमहरु सधैँ भै रहोस् र, म पनि –
सद्भाव यात्रामा जान पाउँ,
देश पनि हेर्न पाउँ,
मुख पनि फेर्न पाउँ,
ठूला–बडाको सङ्गत गर्दै,
सबैसँग बोल्न पाउँ,
मौका मिले माईकबाट,
मनका कुरा खोल्न पाउँ !

जदौ !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 पौष, 2073

लेखकका अन्य रचनाहरु