डाह्लको ‘आइडिया बुक’

- कृष्ण बजगाईं

मोटरवेमा तीव्र बेगमा हुँइकेका कारहरूले मलाई पछि छाड्दै गए । बेलायतमा समर होलिडे सुरु भइसक्यो । चर्को घाममा समुद्रमा रमाउने र लामो छुट्टी मनाउन हिँडेका कारका ताँती अघि–पछि उत्तिकै छन् । उसै पनि घाम लागेको दिन बेलायतीलाई चाडपर्व आएझैँ हुन्छ । त्यस उखरमाउलो गर्मीको दिनमा समुद्रतिर नलागेर उपन्यासकार, कथाकार, कवि तथा संसारप्रसिद्ध बाल साहित्य लेखक रोआल्ड डाह्लको निवासतिर जाने मौका मिलेको छ ।

मोटरवे छाडेर दुई लेनको बाटोमा जान नाभिगेटरले निर्देशन दियो । सानो बाटोमा प्रवेश गरेपछि कारको गति कम गर्नुपर्छ, नगरे जरिवानापत्र घरमै आइपुग्छ । अलिक साँघुरो बाटोमा अगाडि बढ्दै जाँदा दायाँबायाँ पातला वस्ती देखिए ।

लेखकले भाषा, शिल्प र शैली बनाउने मात्र हैन नयाँ शब्द पनि बनाउन सक्दा रहेछन् भन्ने कुरा डाह्लको निवास घुमेपछि थाहा भयो । उनले अंग्रेजी साहित्यमा २८३ वटा नयाँ शब्द बनाएका रहेछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटापछि नेपाली साहित्यका लेखकहरूले कतिवटा नयाँ शब्द बनाए होलान् ?

बेलाबेलामा दायाँबायाँ सुन्दर गाउँमा दृष्टि लगाउँदै दौडँदै छन् मेरा आँखा । आहा कति सुन्दर गाउँ ! बेलायती गाउँको सुन्दरतामा मुग्ध भएँ । जताततै हरियाली, सफा र टायलका छाना भएका चटक्क परेका साना घरहरू । वास्तवमा गाउँको अग्र्यानिक सुन्दरतालाई सहरको कस्मेटिक सौन्दर्यले छेउटुप्पो भेट्दैन ।

‘गाउँ ईश्वरले बनाए, सहर मानिसले बनाए ।’ गाउँ र प्रकृतिबारे कविता लेखनमा प्रसिद्धी कमाएका बेलायती कवि विलियम काउपरले एउटा कवितामा माथिको पंक्ति लेखेका हुन् । ईश्वरमा विश्वास गरे वा नगरे पनि प्रकृतिको विविधता र सुन्दरता गाउँमा मात्र देखिन्छ । करिब २० मिनेटसम्म गाउँको सुन्दतामा रमाएका आँखा बजारक्षेत्रमा प्रवेश गरेलगत्तै बिझाएजस्तै भयो । केहीछिनमै नाभिगेटरले गन्तव्य आइपुगेको जानकारी दियो । सडकछेउ तोकिएको ठाउँमा कार पार्क गरेँ ।

मूलसडकसँगै जोडिएको डाह्लको निवास परैबाट देखियो । दुईतले सेतो घरको भित्तामा विभिन्न कार्टुन चित्र बनाइएको थियो । मैले थाहा पाइहालेँ ती चित्र उनका बाल साहित्यका कृतिमा बनेका फिल्मका पात्रहरूका थिए । चर्चित लेखकको निवासतिर पाइला सर्दै जाँदा मन रोमाञ्चित हुँदै गयो । डाह्लको सयौँ जन्मजयन्तीको विशेष अवसरमा भ्रमण गर्ने संयोग जुरेको छ । विशेषरूपमा सिँगारिएको उनको निवासको मूलद्वारभित्र प्रवेश गरेपछि त्यहाँको चहलपहल देखियो ।

बेलायतमा सित्तैँमा हेर्न पाउने भनेको माथिको आकाशमात्रै हो । भित्र जान टिकट काट्नैप¥यो । काउन्टरमा पुग्दा अचाक्ली भीड देखियो । खासगरी त्यहाँ भएको सोभनियर सपमा सामान किन्नेले भीड बढाएका थिए । लाइनमा बसेर पालो पर्खनुभन्दा एकछिन सोभनियर सप हेर्ने विचार आयो । त्यहाँ लेखकको चित्र तथा उनकै साहित्यिक कृतिमा बनेको फिल्मका विभिन्न पात्रको चित्र अंकित टीसर्ट, झोला, मग, पेन्सिल, इरेजर, कापी र लेखकका पुस्तकजस्ता वस्तु बिक्रीमा थिए । आगन्तुकले ती सामग्री किनिरहेको दृश्यले मेरो मन ढक्क फुल्यो, यस्तै कुराले त स्रष्टालाई अमर राख्छ ! यही त हो नि लेखक सेलिब्रिटी हुनु भनेको । त्यहाँबाट सम्झनास्वरूप कुनै एउटा चिनो लिएर जानुपर्ला भन्ने सोँच बनाएँ ।

यी लेखकका बारेमा मलाई केही जानकारी पहिले नै थियो । धेरै कुरा म्युजियमको रूपमा विकास गरिएको उनकै निवासमा पुगेर लिनुपर्ला भनेर त्यता हान्निएको थिएँ । त्यसमा पनि उनको जन्म शताब्दी मनाउँदै गरेको विशेष समय थियो । सय वर्षमा लेखकलाई विशेष सम्झनुको अर्थ उनको बारेमा धेरैभन्दा धेरै जानकारी प्रकाशमा ल्याउनु र योगदानको स्मरण गर्नु हो । हुन त लेखक आफ्नै सिर्जनाका कारण युगौँसम्म बाँच्छ ।

१३ सेप्टेम्बर १९१६ मा बेलायतको कार्डिफमा जन्मेका डाह्ल सैनिक थिए । दोस्रो विश्वयुद्धमा फाइटर प्लेनको पाइलट भएर युद्धमा होमिए । युद्धमा जर्मनीका लडाकु जहाजलाई खसालेका थिए । तर, समय सधैँ एकनास चल्दैन । केही समयपछि नै लिबियाको मरुभूमिमा उनले चलाइराखेको फाइटर प्लेन खस्यो ।

त्यहाँ उनी कुनै आक्रमणमा परेका थिएनन्, प्राविधिक कारणले घटना भएको थियो । त्यस घटनाबाट बल्लतल्ल बाँचेका उनले पछाडि दुईवटा हिपमा स्टिल लगाउनुप¥यो । मेरुदण्डमा छ वटा अपरेसन गरेपछि उभिन सक्ने भए । त्यही दुर्घटनाबाट उनको सैनिक जीवन समाप्त भयो । र, साहित्यिक जीवन सुरु भयो ।
हिँडडुल गर्न सक्ने भएपछि अमेरिकामा बेलायती दूतावासको एयर अट्याचे (डिप्लोम्याट) भएर गए । पदको नाम जे भए पनि उनले त्यहाँ जासुसी काम गरे । तर, आफूलाई जासुस भनेको उनलाई पटक्कै मन पर्दैनथ्यो । अमेरिका पुगेको दोस्रो वर्षपछि उनले लेख्न सुरु गरे । पछि उनलाई बाल साहित्यले ख्याति दिलायो ।

युद्धमा मार्न र मर्न हिँडेको एउटा सिपाही जसलाई साहसी, कठोर अनि कठोर मन भएको व्यक्ति भनेर चिनिन्छ । त्यस्ता व्यक्तिले कसरी बाल मनोविज्ञान बुझेर कोमल कथा लेखे होलान् भन्ने मलाई लागिरहेको थियो । तर, बाल साहित्यचाहिहँ उनी बाबु भएपछि मात्र लेख्न सुरु गरेका रहेछन् । संसारमा बालक त्यसमा पनि आफ्नै सन्तानका अगाडि कठोर व्यक्ति पनि पग्लिँदा रहेछन् भन्ने लाग्यो ।
भीड छिचोल्दै मेरो पाइला म्युजियमको पहिलो कक्षमा पुगिसकेका थिए । कक्षको भित्ता उनको जीवनको महŒवपूर्ण र दुर्लभ तस्बिरले सिँगारिएका थिए । संसार प्रसिद्ध अमेरिकी लेखक अर्नेस्ट हेमिङ्वेसँग उनको पूर्णकदको निकै आकर्षक तस्बिर थियो । हेमिङ्वे उनका खुब मिल्ने साथी थिए । डाह्लले आफ्नो साहित्य लेखनमा हेमिङ्वेले गरेको सहयोग र प्रेरणाको तारिफ गरेका छन् । त्यस कक्षको एउटा कुनामा फाइटर प्लेनको दुरुस्त मोडल थियो । उनको सैनिक जीवनको स्मरण गर्दै राखिएको त्यो प्लेनछेउमा बसेर फोटो खिच्नेहरूको लर्को नै थियो । मैले पनि एकछिन पालो पर्खेर फोटो खिचाएँ ।

अर्को कक्ष झन् विशेष थियो । त्यहाँ उनको लेखनका बारेमा जानकारी दिने सामग्री थिए । उनले लेख्न प्रयोग गरेको कुर्सी, पेन्सिल, डायरीलगायत लेख्नको लागि बनाइएको एउटा छाप्रोको मोडल थियो । वास्तविकरूपमा उनले लेख्नकै लागि होचो र सानो छाप्रो घरपछाडिको बगैँचामा बनाएका थिए । त्यसको केही भाग ल्याएर म्युजियममा राखिएको थियो । त्यति सम्पन्न व्यक्तिले लेख्नका लागि किन छाप्रो बनाए होलान् भनेर मनमा उत्सुकता बढिरह्यो ।

अचेल नेपालमा केही लेखक लेख्नकै लागि घर छाडेर रिसोर्ट र होटलमा जाने चलन चलेको छ । बेलायतका प्रख्यात लेखक डाह्ल भने होटल र रिसोर्टमा हैन त्यस्ता छाप्रोमा बसेर साहित्य सिर्जना गर्ने गरेको थाहा पाउँदा अचम्मै लाग्यो । संसार प्रसिद्ध लेखक तथा नाटककार जर्ज बर्नाड सा पनि बगैँचामा बनाएको घुम्ती छाप्रोमा बसेर लेख्ने गर्थे । यस्तो लाग्छ, त्यस्ता साँघुरा छाप्राले लेखकलाई वास्तविक संसारमा पु¥याउँछ ! त्यहाँबाटै लेखकले सायद रचनात्मक विचार र ऊर्जा पाउँछन् । त्यस कक्षमा एउटा विशेषखालको कुर्सी थियो । लेख्ने बेलामा उनले प्रयोग गर्ने गरेको त्यो कुर्सी उनकी आमाले उपहार दिएको रहेछ । अलग्गै टेबलचाहिँ थिएन । त्यही कुर्सीको हातमाथि ठिक्कको प्लाइउडको टुक्रा राखेर टेबुलको रूप दिइएको थियो । लेख्ने बेलामा उनलाई कुर्सीको अगाडि टिनको बाकस चाहिँदो रहेछ । त्यसैमाथि खुट्टा राखेर लेख्दा रहेछन् । चिसो नहोस भनेर स्लिपिङ ब्यागभित्र खुट्टा घुसार्दा रहेछन् । लेखिरहेका बेला उनलाई आवश्यक पर्ने सामान वरिपरि हातले टिपेर लिन भ्याउने ठाउँमा राख्दा रहेछन् । अति आवश्यक नहुन्जेल उठेर नजाने र कसैसँग सम्पर्क नगर्दा रहेछन् । त्यस्तो कष्टकर लेखन किन रोजेका होलान् उनले ? मनमा उठेको यो जिज्ञासा भने शान्त पार्न मैले सकिनँ ।

अर्को कक्षमा उनकैबारेमा जानकारी दिने भिडियो देखाइँदै रहेछ । त्यहाँ छोटो डकुमेन्ट्री हेरेँ । अमेरिकामा डिप्लोम्याट भएर गएपछि उनले उतै घरजम गरेका थिए । तर, अमेरिका बसाइ उनलाई नफापेजस्तै भयो । कार दुर्घटनामा परेको उनको छोराको केही समयपछि निधन भयो । त्यो पीडा भुल्न नपाउँदै श्रीमतीलाई स्ट्रोक भएर पक्षघात भयो । त्यसपछि भने उनले अमेरिका छाड्ने निर्णय गरे । लन्डनभन्दा ६५ किलोमिटर टाढा शान्त गाउँ ‘ग्रेट मिस्सिन्डन’मा घर किने । त्यहाँ ३६ वर्षसम्म बसे । २३ नोभेम्बर १९९० मा ७४ वर्षको उमेरमा उनले संसार त्यागे । उनलाई मनपर्ने वस्तु एचबी पेन्सिल, चक्लेट, रेड वाइन र बिजुलीबाट चल्ने काठ काट्ने हाते आरासँगै उनलाई समाधिस्थ गरियो । काठ काट्ने आरा किन समाधिस्थलमा राखिएको होला भनेर बुझ्न सकिनँ ।

उनको लेखनशैली अरुका भन्दा पृथक लाग्छ । कथाका प्लट र त्यसका लागि आएका विचारलाई एउटा अलग्गै मोटो कापीमा टिपेर राख्थे । त्यसलाई उनले ‘आइडिया बुक’ भनेका छन् । लेखनको कच्चा पदार्थ अर्थात् उनको आइडिया बुकलाई प्रदर्शनीमा राखिएकाले हेर्ने सौभाग्य मिल्यो ।

उनले एकपटक भनेका थिए– ‘मनमा आएका विचारलाई तुरुन्त टिपेर राख्छु, यसो गर्दा बिर्सन्न । नत्र ती विचार र कथाका प्लट सपनाजस्तै हराएर जान्छन् ।’ लेखनको त्यो तरिका मलाई निकै मन प¥यो । उनले भनेजस्तै मेरा पनि कतिपय सपना हराएर गएका छन् । उनको सिको गर्दै मैले पनि अबदेखि छुट्टै ‘आइडिया बुक’ बनाउने निर्णयमा पुगेको छु । आइडिया बुकबाट खेस्रा कथा निकालेर पहेँलो कागजमा पेन्सिलले लेखेर त्यसलाई अन्तिम रूप दिँदा रहेछन् डाह्ल । अनि सेक्रेटरीलाई टाइप गर्न लगाएर प्रिन्ट निकालेपछि फेरि एकपटक सम्पादन गर्दा रहेछन् । सम्पादन, सम्पादन र फेरि सम्पादन ! उनको लेखनशैली । तब न कालजयी रचना सिर्जना हुन्छ । यही हो हामी नेपाली लेखकले नसिकी नहुने कुरा !
बच्चालाई असल हुन सिकाउने पे्ररणादायी कथा लेखे पनि स्कुल पढ्दा डाह्ल उटपट्याङखालका विद्यार्थी थिए । उनले बाल्यकालका आफ्ना छुल्याईं र फट्याँईलाई पनि कतिपय कथामा उतारेका छन् । कथाका कैयौँ पात्र वास्तविक जिन्दगीकै हुन् भनेर उनले अन्तर्वार्ताहरूमा भनेका छन् । लेखकले भाषा, शिल्प र शैली बनाउने मात्र हैन नयाँ शब्द पनि बनाउन सक्दा रहेछन् भन्ने कुरा उनको निवास घुमेपछि थाहा भयो । उनले अंग्रेजी साहित्यमा २८३ वटा नयाँ शब्द बनाएका रहेछन् । पहिलो पटक आफ्ना बाल साहित्यका पुस्तकहरूमा लेखेका शब्द पछि अंग्रेजी शब्दकोशमा भित्रिए । अहो ! लेखक हुनुको अर्थ शब्दका मायावी जाल बुन्नुमात्र होइन, नयाँनयाँ शब्दहरूको आविष्कार गर्नु पनि रहेछ भन्ने ज्ञान मलाई भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटापछि नेपाली साहित्यका लेखकहरूले कतिवटा नयाँ शब्द बनाए होलान् ? यो खुल्दुलीले मनमा अझै पनि डेरा जमाइरहेको छ ।

लेखनको प्रसिद्धीले अग्लो बनेका उनको शारीरिक उचाई पनि कम लोभ लाग्दो थिएन । उनी ६ फुट ६ इन्चका थिए । फोटोग्राफीमा उनको विशेष रूचि थियो । घरबाहिर जाँदा प्रायः क्यामेरा बोक्थे । उचाई र वाककलाका कारण कैयौँ महिला उनीसँग हुरुक्क हुन्थे भनिन्छ । खासगरी अमेरिकाका सम्भ्रान्त र उच्च ओहदाका महिलासँग उनको बढी हिमचिम थियो । तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टकी पत्नीसँग उनको कुशल सम्बन्ध थियो । बिनारोकटोक ह्वाइट हाउसमा उनी आउजाउ गर्थे ।

उनले १७ वटा बाल साहित्यका पुस्तक लेखे । त्यसमध्ये ७ वटा कृतिमा चलचित्र बन्यो । जेम्स बोन्ड फिल्मका लागि भनेर अलग्गै कथा पनि लेखे ।

यस्ता संसार प्रसिद्ध लेखकका कोठाका सबै वस्तु हेर्नु, पढ्नु र स्पर्श गर्नुलाई मैले जीवनको ठूलो मौका मानेको छु । म्युजियममा बस्ने मन हुँदाहुँदै म बाहिर निस्केँ । कार स्टार्ट गरेर विस्तारै अगाडि बढाएँ । महाकवि देवकोटा, आदिकवि भानुभक्त, नाटककार बालकृष्ण समलगायतका हाम्रा लेखकका निवासलाई पनि यसरी नै संरक्षण गरेर राख्न किन सकिँदैन भन्ने प्रश्नले दिमाग हल्लाउन थाल्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु