एहिमे विश्वविद्यालय

- प्रभा बराल

आज एहिमे विश्वविद्यालय पुगेर श्रीमान्जीको प्रोफेसरसँग भेट गर्न र विश्वविद्यालय निरीक्षण गर्ने नूतन अभीप्साको आतुरतामा थिएँ । भेटघाटको सबै बन्दोबस्त उहाँले बिहानै मिलाउनु भएको थियो । बिहान एघार बजेतिर खाना खाइवरि विश्वविद्यालय जाने तयारीमा थियौ । श्रीमान्जीलाई छात्रवृत्ति दिइएको ठाउँ, यही माध्यमबाट हामी सबै यहाँ आएका छौँ । यस्तो अवसर जुटाइदिने ती उदार मनहरूमा त कोटिकोटि नमन गर्नै पर्छ । कोठाबाट विश्वविद्यालय आउँदै गर्दा मनमा अटाई नअटाई कुराहरू खेलीरहेका थिए । दश मिनेटको दुरीमा अवस्थित थियो विश्वविद्यालय । हाम्रो देशको भन्दा त कयौँ गुना फरक होला यहाँको विश्वविद्यालय । नयाँ ठाउँका नयाँ मान्छे । कस्ता छन् कुन्नि... ?
हातभरि नेपाली उपहारका पोको बोकेर हामी एहिमे विश्वविद्यालयको उत्तरी ढोकाबाट प्रवेश ग–यौ । ढोकाबाट छिर्नेबित्तिकै देखियो ठूलो हल । तर यो हल जिमखाना रहेछ । करातेँ, बक्सिङ र तेक्वान्दो खेलका पोशाक लगाएका खेलाडी पनि देखिए । शारीरिक कसरतका विभिन्न मेसिनहरू पनि परैबाट देखिए । वरिपरिको वातावरण निकै लोभलाग्दो थियो । बोन्साइ आकारका रूखहरू प्रशस्त थिए । भर्खर बढारेर राखिएको जस्तो बाटोको छेउछेउका क्यारीमा पूmलहरू ढकमक्क पूmलेर वातावरणलाई शोभायमान बनाएका थिए । केही रूखहरूका पातहरू राता थिए । ठाउँ ठाउँमा भेन्डिङ (पेय पदार्थहरू कोक, फ्यान्टा, चिया, कफी, बियर जे खान मन लाग्छ त्यही सिक्का छिराएर निकाल्न मिल्ने मेसिन) मेसिनहरू थिए ।
जाँदा बाटोमा पर्ने यी दृश्यहरूलाई बडो मग्नतापूर्वक हेर्दै हामी उहाँको अनुसन्धान कक्ष रहेको भवन नजिक पुग्यौ । माथि पाचौँ तलामा पुग्नु पर्ने रहेछ । लिफ्टको सहारा लियौ । सर्वप्रथम प्रोफेसर रिउचि याताबेसँग हामीले भेट गर्नका लागि ढोका ढकढकायौ । श्रीमान्जीको विद्यावारिधिको उहाँ शोधगुरु हुनुहुन्थ्यो । हामीलाई हँसिलो मुस्कानसहित प्रोफेसर रिउचि यातावेकी सेक्रेटरी नाकाजिमा सानले स्वागत गरिन् र भित्र कोठामा बसाइन् । जापानमा ‘सान’ भनेको हाम्रो नेपालमा नामका पछाडि ‘जी’ लगाएर बोलेजस्तै रहेछ र हरेकका नाम वा थरका पछाडि सान लगाउँदा रहेछन् । साठी वर्षको उमेर पुगेका यातावे सेन्से (शिक्षक)ले चिम्सा आँखा झिमझिम पार्दै हामीलाई, ‘जापानमा स्वागत छ’ भने ।
‘आरामै आउनुभयो ? यात्रामा केही कष्ट त भएन ?’ भनेर चासो देखाए । उनीहरू अङ्ग्रेजीमा बोल्न त्यति इच्छा राख्दैनथे । फेरि अफिसमा के धेरै कुरा गर्नु भनेर होला पछि फेरि भेटघाट गरौला भन्ने कुरा भयो । मैले नेपालको संस्कृति र पहिचान झल्कने काठको हस्तकलाको सामान र केही खानेकुरा उपहार लगिदिएकी थिएँ । त्यो सामग्री हस्तान्तरण गरेँ । मैले प्रेमपूर्वक टक्रयाएको उपहार खुसीसाथ स्वीकार गरे ।
नेपाली नागरिक भइकन पनि एहिमे विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक डा. नेत्रप्रकाश भण्डारीलाई भेट्न उहाँको कोठामा गयौ । हार्दिकतापूर्ण उहाँको व्यवहारमा हामी एकछिनसम्म रमायौँ । उहाँले पनि हाम्रो यात्रा र जापानको हाम्रो बसाइको अवधि आदिबारे सोधपुछ गर्नुभयो । पछि उहाँको अपार्टमेन्टमा छिट्टै भेट्ने कुरा गरेर उहाँसँग पनि बिदा भयौ । श्रीमान्जीको कम्प्युटरै कम्प्युटरको भण्डारजस्तो अनुसन्धान कक्ष, अन्य नेपाली साथीका अनुसन्धान कक्ष र अन्य जापानी साथी सबैसँग परिचय ग–यौ । जाँदा कोठैपिच्छे आगन्तुकले चकलेटको प्याकेट लिदैँ जानु पर्ने रहेछ । सबैसँग भेटघाट गरेर खुसी भई हामी विश्वविद्यालयका बाँकी स्थलहरू चमेना गृह, पुस्तकालय, बगँैचा, सेमिनार हलहरू आदि हेर्न निस्कियौँ ।
निकै विशाल थियो, विश्वविद्यालय परिसर । युवावस्थाका जापानी विद्यार्थी हाँस्दै, रमाउँदै भित्र–बाहिर गरिरहेका थिए । उन्मुक्त हाँसो, रमाइलो बेला । मैले पनि आपूmले पढेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुर सम्झिन पुगेँ । हाम्रो विश्वविद्यालय पनि कम्ती रमाइलो थिएन । झन् सिरानमा ठूलो घडी राखेर बनाइएको नयाँ भवनमा हाम्रै पालादेखि पढ्न सुरु गरिएको थियो । नाम चलेका नेपाली लेखकहरूले पढाउनु हुन्थ्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी पढ्न आउने यो थलो कम्ती ज्ञानगुनले भरिएको थिएन । ऋण खोजेर, अनेक दुःख काटेर पढ्न आएको कुरा गर्थे कति साथीहरू । मलाई पनि उनीहरूका कुरा सुनेर पढ्ने प्रेरणा आउँथ्यो । अनेक दुःख काटेर त मान्छेले यसरी पढेका छन् भने झन् मेरो त श्रीमान्को अधिकृतको जागिर छ । आम्दानीको दरो स्रोत छ । किन पढ्न अल्छी गर्ने भन्ने लाग्थ्यो । अनि यही प्रेरणाले पनि नियमित विश्वविद्यालय जान लागेँ । यसभन्दा पहिलाका तहमा प्रथम श्रेणी ल्याउन धौँ धौँ आउने मेरो पढाइ एकैचोटी स्नातकोत्तरमा गएपछि धेरै राम्रो हुन पुग्यो । मैले प्रथम श्रेणीमा एम.ए पास गरेँ । २०५९ सालमा एम.ए पास गरेपछि शिक्षण पेसामा लागेको पनि आज नौ, दश वर्ष भइसक्यो ।
‘मामु ! हजुर त कता हो ?’ भनेर छोरी खोज्न आउँदा पो झसङ्ग भएँ । म त एहिमेको भवन हेरेको हे–यै भइछु । उनीहरू त पर पुगीसकेछन् । ‘हाम्रो क्यान्टिन हेरौँ न त एक छिन ।’ उहाँले भन्नुभयो । ‘अहिले लन्च टाइम भएकोले खाजाहरू पाक्दैन । कफी, बिस्कुट लिन सकिन्छ ।’
‘भर्खर त खाना खाएर आाएको केही खान पर्दैन ।’ मैले भनेँ । एकछिन त क्यान्टिनमा बसौँ भनेर जाँदै थियौ । एउटी सुनौलो केशधारी, गालामा हलुका चाउरी आउन लागेपनि सुहाउँदिलो शृङ्गारले गाला छोप्न खोजेकी गोरी महिलासँग हाम्रो भेट भयो । श्रीमान्जीले हाम्रो परिचय उहाँसँग गराउनुभयो । एहिमे विश्वविद्यालयकै अमेरिकन प्रोफेसर रुथ भर्जिन रहिछिन् । कुहिरा आँखामा अनौठो चमक ल्याउँदै उनले हामीसँग परिचयको हात बढाइन् । ‘मेरा परिवार हिजो मात्र नेपालबाट जापान घुम्न आएका ।’ उहाँले भन्नुभयो ।
मेरो छोराको गाला मुसार्दै उनले, ‘ओ नाइस’ भनिन् ।
मेरो श्रीमान्ले कता भन्न बिसिन्छु झै गरी, अंग्रेजी भाषामा भन्नुभयो । ‘अँ साँच्ची तिमीले मेरो कोठामा जे जति सामानहरू देख्यौ नि ती सबै उहाँकै देन हुन् बुझ्यौ ?’
अनुहार सकेसम्म उज्यालो बनाएर खुसीले मुस्कुराउँदै मैले रुथ भर्जिनतिर फर्किएर ‘थयाङ्क यु सो मच म्याम फर योर कन्ट्रिव्युसन’ भनेँ ।
‘ओके इट्स माई प्लेजर्स’ मुसुक्क मुस्काएर उनले आँखा नचाउँदै भनिन् । उनका आँखामा यतिबेला सन्तुष्टिको महासागर उर्लिरहेको महसुस हामीले पनि गर्न सक्थ्यौ । कयौँ गुना टाढाकी अपरिचित नारीले आफ्नो उदारताको प्रशंसा गरिदिएकोमा उनको मुहारभरि खुसीको प्वाँख फरफराइरहेको थियो । अनारदाना सेता दाँतका लहर खोल्दै उनले हामीलाई, ‘नाइस टु मिट यु, इन्जोए इन जापान’ भन्दै हात हल्लाएर त्यहाँबाट उठिन् । उनको हाउभाउ र व्यक्त्विले मलाई अति नै प्रभावित पा–यो । बाहिरबाट हेर्दा अनुहार हेरेर को कस्तो के थाहा हुन्छ र भित्र भने दिलकी कति उदार उनी ...। उनकै बारेमा एकछिनसम्म हामीले कुराकानी गरिरहयौ । छोराछोरी क्यामेरा लिएर विश्वविद्यालय वरिपरिका दृश्य कैद गर्दै थिए । म भने रुथ भर्जिनसँगसँगै समाजसेवाका विविध पाटाहरूमा डुब्न पुगेँ ।
प्रायः मान्छेहरू भन्ने गर्छन ।
मलाई समाजसेवामा रुचि छ ।
म केही सामाजिक काम गर्न चाहन्छु । समाजसेवी हुन चाहन्छु र समाजसेवाका लागि यी–यी कामहरू पनि गरेँ । हुन त मानिस सदैव नाम र प्रशंसाको भोको रहन्छ । समाजसेवाको लक्ष्य लिएर आफूलाई चम्काउने उसको उद्देश्य हुन्छ र उसले गरेको कार्य वास्तविक समाजसेवा हो वा होइन भन्ने कुरा छुट्ट्याउन मुस्किल पर्छ तर समाजमा वास्तवमै फलको आशा नराखीकन विशुद्ध रूपमा समाजसेवा गर्ने व्यक्तिहरू पनि प्रशस्तै भेटिन्छन् । मानिसले कहिले पनि गरिब गुरुवालाई दान गरेको कुरा भन्नु हुँदैन त्यसबाट फल मिल्दैन भन्छन् तर हामी अरूलाई देखाउनका लागि प्रचारमुखी बन्छौ । तर रुथ भर्जिनको समाजसेवाको यो तरिका देख्दा म अत्यन्त प्रभावित भएँ ।
समाजका हरेक मान्छे स्वार्थी, लोलुप र नैतिकहीन मात्र हुने हो भने यो समाजमा बसिसक्नु हुने थिएन होला । हरेक कुरालाई प्रकृतिले नै सन्तुलन राख्न मदत गर्छ भने झैँ समाजमा पापीहरू मात्र नभई धर्मात्मा पनि बस्ने गर्नाले यो समाजको अस्तित्व रहेको होला । बेलाबखत यस्ता महान् आत्मा भएका मान्छे समाजमा आइरहन्छन् । आफ्नो देश काल र परिस्थितिअनुसार यस्ता मान्छेको कार्यशैली भने फरक–फरक हुन सक्छ ।
फ्लोरेन्स नाइटिङगेलले आफ्नो स्वार्थका लागि समाज सेवा गरेकी थिइनन् । उनी वास्तवमै मानवसेवामा समर्पित थिइन्, विशुद्ध रूपमा उनको आत्मा बिरामीहरूको सेवामा जुटेको थियो र उनी कहिल्यै नअस्ताउने विश्वकी महान् छोरी बनिन् र समग्र नारी जातिको शिरलाई उँचो पारिन् । आज नर्सिङ्ग जगत्मा उनी जस्तै बन्न कयौँ चेलीहरू लागिपरेका छन् । आज ‘मदर टेरेसा’ को समाजसेवी भावनालाई पनि उत्तिकै सम्मान गरिन्छ । उनले असहाय बालबालिकाहरूप्रति देखाएको उनको कार्य पनि उत्तिकै उदाहरणीय छ । नेपालमा पनि अनुराधा कोइराला, दिलशोभा श्रेष्ठ, पुष्पा बस्नेत आदिले गरेको कार्य पनि उत्तिकै प्रशंसनीय छ ।
अनुराधा, पुष्पा र दिलशोभाले फलको आशा नराखी निष्काम कर्मयोग गरिरहेका छन् । उनीहरूको यही निष्काम कर्मयोगी भावनाले अनुराधा कोइराला र पुष्पा बस्नेतलाई त क्रमशः सन् २०१० र सन् २०१२ को सि.एन. एन. हिरोको उपाधि समेत मिलिसकेको छ तर उनीहरूले यो उपाधि पाउँला र काम गरौँला भनेर कहिल्यै गरेका थिएनन् । काम गर्दै जाँदा यो अनायासै उनीहरूलाई प्राप्त भएको थियो ।
त्यसै गरी कसैले सहारा नदिएका, बूढेसकालमा हेलाको पात्र बनेर बाँच्न निरुपाय बनेका कयौँ बूढाबूढी तथा द्वन्द्वपीडित बालबालिकालाई जिम्मा लिएर दिलशोभाले अरूलाई असम्भव लाग्ने काम एक्लै गरेर देखाइदिएकी छिन् । उनको यो महानताको चर्चा, परिचर्चा पनि स्वदेश तथा विदेशमा नेपालीहरू बीच राम्रैसँग फैलिइसकेको छ । अब उनले पनि कुनै पनि दिन सि.एन.एन हिरोको उपाधि पाउन धेरै समय कुर्नुपर्ने छैन भन्ने मलाई लाग्छ ।
यसरी निस्वार्थ रूपमा समाजसेवा गर्ने एक थरि वर्ग हाम्रो समाजमा छन् जसको कार्यले ‘मानवता’ भन्ने शब्दलाई जीवन्त राखेको छ र निराश मनोदशातर्फ मात्र उन्मुख हुन लागेको यो समाजलाई उनीहरूको कार्यले नयाँ जोश र जाँगर प्रदान गरेको छ, । ऊर्जा थपिदिएको छ । समाजमा खराब मात्र छैनन्, असल मान्छे पनि छन् भन्ने सन्देश दिएको छ, । साँच्चै नै उनीहरूको कार्यले हामीलाई पनि केही गर्ने प्रेरणा दिएको छ र समाजका लागि केही गर्नुपर्छ भन्ने सिकाएको छ ।
‘मामु ! उता हेर्नुस त ?’ छोरीले भनी
एउटा न एउटा चकचक नगरी बस्न नसक्ने छोरो भेन्डिङ मेसिन देखेपछि अनौठो मानेर सिक्का छिराउँदै क्यान जुसका बोटल झारिरहेको थियो । उसको मुहारमा मैले ‘जानेँ’ भन्ने विजयी भाव चम्किरहेको थियो ।
ल यो हजुरलाई भनी एउटा बोटल मेरा अगाडि राखिदयो । म भने हाम्रो देशका नीति निर्माताहरूलाई सम्झिरहेकी थिएँ । व्यक्तिगत स्वार्थ छाडी देश निर्माणको जिम्मा लिएर बसेका नेताज्यूहरूलाई देशप्रेमको निस्वार्थ भावना आइदिए प्राकृतिक रूपमा यति सुन्दर देश भौतिक रूपमा पनि कति सुन्दर हुन्थ्यो होला । सत्ता लिप्सा र कुर्सीको तानातानमा लगाउने श्रम र समय जनताको भलाइको निम्ति खर्चिने हो भने यो देशमा कति आशाका ढोकाहरू खुल्थे होलान् । तीस लाखभन्दा बढी युवा रोजगारको सिलसिलामा विदेश भौतारिन बाध्य कयौँ नेपाली युवाहरूको मनमा आशाको सञ्चार हुन्थ्यो होला । तर झन्झन् देशले निकास लिनुपर्नेमा पछि परिरहेको अनुभूति मात्र हुन्छ ।
देशको ढुकुटी रित्याएर कति विदेश भ्रमण गर्छन् तर त्यहाँको विकास, अनुशासन र मिहिनेतलाई अपनाउन सधैँ चुक्ने गर्छन् । धिक्कार छ हाम्रा नेताहरूलाई ! जसले आज देशमा गरिबीको रेखा बढाएका छन् । साम्प्रदायिक दंगा फैलाएका छन्, । जातीय उथलपुथल मच्चाएका छन् । यस्ता क्षणहरूबाट हाम्रो देश गुज्रदै हिँडिरहेको छ । हेरौँ यो देश कहिले विकासको चरम सीमामा पुग्ने हो सायद अझै कयौँ वर्ष त सम्भावना देखिँदैन । आशा गरौँ, त्यस्तो कुनै युगपुरुष वा युगनारी आउँलान् र सारा समस्यालाई चिरेर नयाँ ज्योति बाल्लान् ।
‘मामु ! खानुस न ? हजुर त के के सोचेर बस्नु हुन्छ ’ छोराले भन्यो ।
‘ल ल खाएँ ।’ भन्दै मैले बोटल उठाएँ ।
नेपालबाट जापान आइपुग्दा श्रीमानजी बस्ने अपार्टमेन्ट कस्तो छ, । कसरी बस्नु भएको छ, । एकजना मात्रै कसरी बस्नु भएको होला । विद्यार्थी मान्छे । साथी लिएर बस्न पनि एउटै अपार्टमेन्टमा मिल्दैन भन्नुहुन्थ्यो । नेपालबाट जाँदा पच्चीस केजी सामानबाहेक केही लैजानु भएको थिएन भन्ने कुरा मनमा खेलिरहेको थियो । भन्न त उहाँले फोनवार्तामा सम्पूर्ण सामानहरूको व्यवस्था भएको छ, चिन्ता मान्नु पर्दैन । यहाँ विश्वविद्यालयकै व्यवस्थापनबाट सम्पूर्ण सामान पाइँदो रहेछ भन्नुभएको थियो तर कसरी पाइन्छ भन्ने कुरा खुलदुली लागिरहेको थियो ।
जब उहाँको अपार्टमेन्टभित्र छिरे, कोठाभरि भौतिक सुखसुविधाका सामानहरू सजिएका थिए । बयालीस इन्चको रंगीन एल.सि.डी., वासिङ मेसिन, दराज, ड्रेसिङ टेबुल, पङ्खा, हिटर, माइक्रो ओभन फ्रिज, भ्याकुम क्लिनर सम्पूर्ण सामानहरू टनाटन थिए र ती सामानले एउटा वैभवशाली जीवनको परिचय दिइरहेका थिए ।
जापान जस्तो महङ्गो देशमा यति धेरै इलेक्ट्रोनिक सामान जोड्न त लाखौँको कुरा थियो, तीन वर्षको लागि आउने विद्यार्थी भए पनि जीवनयापनको लागि यी सामान किन्नै पर्ने बाध्यता पनि थियो । किनकि लुगा धुने परम्परागत चलन नै थिएन । बजारमा सरफ बाहेक लुगा धुने साबुनसमेत भेटिदैन रे । फेरि हातले धोएका चिसा लुगा सुकाउने ठाउँ पनि रहेनछ । वासिङ मेसिन त न्यूनतम आवश्यकताभित्रै पर्दथ्यो । ठाउँ ठाउँमा यति केजी लुगा बराबर यति येनको सिक्का छिराएपछि लुगा धुन पाइने भन्ने पनि व्यवस्था हुने रहेछ । घरका बाहिरपट्टि कसै कसैले यस्तो सुविधा पनि दिदाँ रहेछन् । तर आफूसँग भएजस्तो कहाँ हुन्छ र ? रुथ भर्जिनका बारेमा श्रीमान्जीबाट अझ धेरै जानकारी लिन चाहेँ ।
अमेरिकन रुथ भर्जिन एहिमे विश्वविद्यालयमा अंग्रेजी अध्यापकका रूपमा जब नियुक्त भइन् । तब जापान पढ्न आउने विदेशी विद्यार्थीको समस्यालाई ख्याल राखेर यो कार्यमा हात बढाएकी रहिछन् । यस कार्यले वरिपरि उनको प्रसिद्धिता छाउँदै गयो । विश्वविद्यालय परिवारसँगै विदेशी विद्यार्थीहरूका बीच पनि उनी लोकप्रिय हुँदै गइछन् ।
छोटो समयको लागि आफ्नो देश छाडेर आउने विद्यार्थीको कल्याणको लागि उनलाई केही नौलो कार्य गर्न मन लागेछ त्यही अनुरूप सुरुमा उनले सहरभन्दा अलि टाढाको आफ्नो जग्गामा एउटा सामान राख्ने घर बनाइछन् र एक कर्मचारी नियुक्त गरी अत्यन्त न्यून शूल्कमा यातायात खर्च मात्र लिई एउटा परिवारका लागि चाहिने भौतिक सरसामानको जोहो गरिछिन् र विश्वविद्यालयमा पढाइ सकिएपछि घर हिँड्ने विद्यार्थीले पनि आफ्ना सामान त्यही स्टोरमा राखेर स्टोर गर्दा गर्दा त्यहाँ एउटा राम्रो समाजसेवी संस्था नै खडा भएछ र जापानको एहिमे विश्वविद्यालय पढ्ने विद्यार्थीलाई त्यो सेवा वरदान नै सावित भएको रहेछ तर यस्तो सुविधा अरू विश्वविद्यालयमा कहीँ नभएको कुरा पनि थाहा भयो । कसैले दया राखेर सुरुमा अलिकति मात्रै लगानी गरिदिँदा पनि कसैका लागि कति ठूलो सुविधा हुने रहेछ भन्ने लाग्यो फेरि अपार्टमेन्ट खाली गर्दा सबै सामान व्यवस्था गरेर जानु पर्ने नियममा रुथ सेन्सको यो कदमले सबै अन्तर्राष्ट्रिय विद्यार्थीलाई सजिलो बनाएको देखियो ।
आफ्नो देशबाट प्लेनमा आउँदा बीस, पच्चीस के.जी. भन्दा बढी सामान ल्याउन नमिल्ने स्थितिमा सम्पूर्ण कुरा आफू बसेको ठाउँमा किन्नु अनिवार्य थियो । त्यसका लागि विद्यार्थीलाई अनावश्यक आर्थिक भार पनि थपिन्थ्यो । अरूले प्रयोग गरेको सामान आफूलाई चित्त नबुझे खर्च गरेर नयाँ किन्न पनि सकिन्थ्यो । सिरक, डसना, तन्ना, कप प्लेटजस्ता सानातिना कुरा किने पनि फ्रिज, दराज, वासिङ मेसिन, माइक्रो ओभन, म्याट्रिस, राइसकुकुर तथा अन्य इलेक्ट्रिक सामान सित्तैमा पाउनु आश्चर्यजनक नै थियो ।
समाजमा आफ्नो नाम राख्नका लागि हरेक मान्छे केही न केही नयाँ काम गर्नका लागि सोचमग्न रहन्छ । रुथ भर्जिनले पनि विदेशी विद्यार्थीका लागि जुन नयाँ काम गरिन् वास्तवमै त्यो प्रशंसायोग्य काम थियो । उनको यो पवित्र कार्यका लागि मुरीमुरी धन्यवाद वर्षाइरह्यो मेरो अन्तरहृदयबाट पनि ।
चारैतिर विश्वविद्यालय परिसर घुमेपछि हामी विस्तार विस्तार हिँडेर अर्पाटमेन्टमै फर्कियौ । दसैँ नजिकिएकोले नेपालको कोसेली स्वरूप खसीको मासुको कवाफ, सेलरोटी, अनरसा, अर्सा र अन्य मिष्ठान बोकेर लगेकी थिएँ । हामी तीन जनाको भारी बलियो गरी बोकेर गएका थियौ । सबै नेपाली साथीलाई खान आउने निम्ता गरेकी थिएँ । अब केही छिनमा उनीहरू आउने भएकाले तयारीका लागि कोठामा फर्किएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु