म लाहुरेको लाहोर यात्रा !

- विजय चालिसे

“विजय सर, यसपालि साफ्मा सम्मेलनमा तपाईं पनि जानुपर्छ है, मैले नाम पठाएको छु ।” साफ्मा नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ पत्रकार गोपाल थपलियाको फोन सुनेपिछि नै म लाहोर भ्रमणको मीठो कल्पनामा हराउन थालिसकेको थिएँ ।

मेरो वीरता र यायावरी जीवनवृत्तिसँग गाँसिएको नाउँ थियो लाहोर ! त्यसैले यो मेरालागि अपरिचित थिएन । म नेपालीको यायावरी लाहुरे वृत्तिसँग धेरै लामो समयदेखि जोडिँदै आएको लाहोरप्रतिको मेरो आकर्षण नितान्त स्वाभाविक थियो । त्यसैले त्यही लाहोर पुग्ने प्रस्तावले मेरा अगाडि अप्रत्याशित खुसी र सुन्दर अवसर ल्याएको थियो ।

त्यो प्रस्तावसँगै महाकवि मिल्टनले महान् मुगल साम्राज्यका रूपमा महिमामण्डित गरेका एउटा लाहोरसम्बन्धी कवितांश सम्झना भएथ्यो मलाई ! विश्वविख्यात् अङ्ग्रेज कवि जोन मिल्टनले लाहोरको कलात्मक सौन्दर्यबाट मोहित भएर लेखेका थिए रे त्यो कविता । मिल्टनको त्यो प्रिय लाहोर नगरीमा आयोजना हुने साउथ एसियन फ्री मिडिया एसोसिएसन (साफ्मा) को चौथो सम्मेलनमा आफू पनि नेपाल च्याप्टरको प्रतिनिधिमण्डका सदस्यका रूपमा सहभागी हुन पाउने खबरले मेरो यायावरी मन साँच्चिकै फुरुङ्ग थियो । दक्षिण एसियाली पत्रकारहरूको साझा मन्च साफ्माको त्यो सम्मेलन २०६१ मङ्सिर ५ गते अर्थात् इस्वी सन् २००४ को नोभेम्बर २० देखि पाकिस्तानको ऐतिहासिक नगर लाहोरमा हुँदै थियो । दक्षिण एसियाली सहयोग सङ्गठनका सदस्य राष्ट्रमा कार्यरत पत्रकारहरूको यो संस्थाको मुख्य कार्यालय पाकिस्तानमा थियो ।

हो, म नेपाली लाहुरेको वैदेशिक रोजगारी अर्थात कमाइका लागि विदेश जाने पहिलो थलो यही लाहोर थियो । यही लाहोर शहरले नै मलाई मेरो वीरतासँग साटिएको “लाहुरे” को विशेषण प्रदान गरेको थियो ! तसर्थ त्यही लाहोर थियो मेरो यायावरीको प्रारम्भिक थलो र कथित डायोस्पोराको सम्भवतः पहिलो बिन्दु ।

मेरो ज्ञानक्षेत्रमा केटकेटी छँदै गाउँका लाहुरे बाको परिचयसँग गाँसिएर आइपुगेको थियो यो लाहोर । लाहुरे शब्दको उद्गम लाहोर शहरका बारेमा तिनै लाहुरे बाले बताएका थिए धेरै कुरा । दोस्रो विश्वयुद्धका बेला राणाहरुको अङ्ग्रेज रिझाउने नीतिबामेजिम नै ती क्षेत्रबहादुर थापा अङ्ग्रेजका सिपाहीँ बनेर त्यही लाहोरमा तालिमे बनेका थिए । उनीजस्ता नेपाली वीरलाई त्यही लाहोरले पाइन लगाएर इस्पाते खुकुरीजस्तै धारिलो बनायो र होमिदियो बर्माको रनमा । बर्माका विकट ठाउँमा अङ्ग्रेजका दुश्मन जापानीलाई पानी पियाएर बहादुरी कमाउँदै नेपाल फर्केका उनी क्षेत्रबहादुर थापाबाट रूपान्तरित भएका थिए रे ‘लाहुरे कान्छा’ मा । लाहोरले नै दिएको थियो उनलाई त्यो लाहुरेको उपाधि । हज पुगर फर्केका हाजी भएजस्तै लाहोर पुगेर आएका उनको नयाँ परिचय थियो ‘लाहुरे’ को !

त्यसैले लाहुरे बाको कुरा सुनेर केटाकेटीदेखि नै मेरो मनको कुनै कुनामा नमेटिने गरी बसेको थियो लाहोरको आकर्षण । त, आजसम्म नगएको त्यो बाल्यआकर्षणको प्रसिद्ध ऐतिहासिक शहर लाहोर घुम्न पाउने कुराले मभित्रको यायावरी मन लोभिनु स्वाभाविक थियो । विदेशका नाउँमा सात समुद्रपार युरोपको बेलायत र एसियाको जापान बाहेक छिमेकका दक्षिण र उत्तरी छिमेकी भारत तथा चीन घुम्ने अवसर पाए पनि पाकिस्तान भने जाने मौका मिलेको थिएन । पूर्वको पेरिस, पन्जावको मोती, मुगलको बगैँचा, पाकिस्तानको सांस्कृतिक नगरी, दाताकी नगरी (हजरत अली हुजुरीको शहर), पाकिस्तानको मुटु, बगैँचाको शहरजस्ता सहस्र उपनामधारी पाकिस्तानको पञ्जाव प्रान्तको त्यो ऐतिहासिक राजधानी लाहोर मेरा लागि स्वप्न नगरी सरह नै थियो । रावी नदीको किनारामा अवस्थित कराँचीपछिको दोस्रो ठूलो पाकिस्तानी शहर लाहोर ऐतिहासिक रूपले आजको दक्षिण एसियाली सभ्यताको सांस्कृतिक केन्द्रकै रूपमा परिचित थियो । ११ औं शताब्दीदेखि पछिसम्म नै लगभग हजार वर्ष पन्जावको परम्परागत राजधानी रहेको लाहोर विभाजनपूर्व नयाँ दिल्लीदेखि पेसावरसम्म नै महत्वपूर्ण भारतीय संस्कृतिको केन्द्र रह्यो । यति महत्वपूर्ण स्थान राख्ने छिमेकी पाकिस्तान लोकतान्त्रिक अभ्यासमा भने कमजोर मानिन्थ्यो । पटक पटकको सैनिक शासन र एक्काइसौं शताब्दीको आजको युगमा समेत सरियतजस्ता महिला बिरोधी परम्परागत कानुनका कारण विश्वका प्रजातन्त्रवादीहरूका आँखामा आलोच्य थियो पाकिस्तान र त्यसको लाहोर ! त्यसरी एकातिर प्राचीन एसियाली सभ्यताकै झोलुङ्गो लाहोर र आजको पाकिस्तानी बन्द समाजको अनुदार संस्कृतिको अन्तर्विरोधमा बाँचेको लाहोर त्यहाँको समाजलाई भ्याएसम्म आफैंले देख्न र अनुभव गर्न पाउने यो अवसरबाट म केही मात्रामा रोमाञ्चित समेत थिएँ ।

त, यसरी सुरु भयो म लाहुरेको लाहोर यात्रा ! पाकिस्तानी दूतावास इदको छुट्टीमा लामो समय विदा बसेकोले पनि प्रवेषाज्ञा पाउन केही समस्या प¥यो । लाहोर उड्ने अघिल्लो दिन मात्र दूतावास खुलेपछि प्रवेषाज्ञाका लागि हामीलाई बोलाइएको थियो । एकअर्काप्रति सँधैं शङ्कालु भारत र पाकिस्तानको आपसी समस्याले विभिन्न कुरामा प्रभाव पार्ने गरेको छ । यहाँ पनि त्यस्तै भयो । त्यही कारण सबैले भिसाको फाराम भरेर बुझाएपछि पनि दूतावासका तर्फबाट आलटाल भइरह्यो । आलटालको कारण बन्न पुगेछन् प्रतिनिधिमण्डलमा नाउँ परेका भारतीय टेलिभिजन नेपाल–वनका प्रतिनिधि । पाकिस्तानी राजदूत भारतीय सञ्चार माध्यमका प्रतिनिधिलाई बिनाअन्तर्वार्ता प्रवेषाज्ञा दिन चाहँदैनथे । साफ्मा नेपाल च्याप्टरका अध्यक्ष गोपाल थपलियाको तर्क थियो यस अगाडिजस्तै सम्मेलन प्रतिनिधिका हैसियतमा जाने सबैलाई बिनाअन्तार्वार्ता भिसा उपलब्ध गराइनुपर्छ । बल्ल–बल्ल साफ्मा नेपालको अडान पूरा भयो, सबैको पासपोर्टमा भिसा लाग्यो । भिसा लाग्दा भने राति अबेर भैसकेकोले हवाई टिकट लिन र विदेशी मुद्रा सटही गर्न समय नै पाइएन ।

भिसा ढिला पाइएको कारण असिनपसिन हुनुपरेको थियो भोलिपल्ट । मङ्सिर ४ गते– ढिलोमा अपराह्न १.३० मा त्रिभुवन विमानस्थल पुग्नुछ । उता न हातमा टिकट पर्नसकेको छ, न त गोजी खर्चकै जोहोका लागि आवश्यक सटही नै गर्न भ्याइएको छ । त्यसमाथि अफिसमा विदा छाड्नु बाँकी नै छ । त्यही दुई–तीन घण्टाभित्र यी सबै काम भ्याउनुपर्छ । त्यसैले मन आत्तिनु स्वाभाविक थियो । अनामनगरको साफ्मा कार्यलयबाट आफ्नो नाउँको टिकट लिएर हतार–हतार डलर सटही गर्नासाथ त्यहाँबाट सोझै लाग्यौं त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थल तर्फ । २.३० मा काठमाडौं छाड्ने भनेको इन्डियन एयरलाइनको विमानले एक घन्टापछि मात्रै रनवे छाड्यो । त्यसपछि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिटमा झन्डै २ घन्टा बिताएपछि लाहोर उडेका हामी लगभग ४० मिनेटको उडानपछि लाहोरको अल्लामा इक्वाल अन्तर्राष्ट्रिय विमानस्थल उत्रियौं । पाकिस्तानका दार्शनिक कवि अल्लामा मुहम्मद इकवालको नाउँमा अघिल्लो साल मात्रै निर्माण भएको थियो यो विमानस्थल । नाम सुनेपछि लाग्यो– मेरो देशले पनि देशका महान् साहित्यकार, कलाकार, संस्कृृतिकर्मीजस्ता राष्ट्रलाई योगदान दिने सपुतहरूका नाउँमा यस्तै राष्ट्रिय संरचनाहरूको नाउँ राख्ने उदारता देखाउन सके ! तर मेरो नयाँ नेपालले पनि रङ्गशालादेखि प्रज्ञाप्रतिष्ठानसम्म, विश्वविद्यालयदेखि अस्पतालसम्मका नाउँलाई तिनका नाउँमा सम्मानित बनाउन सकेन ! के राजनीतिक नेताहरूले मात्रै पाउनु पर्ने हो र यस्ता सम्मान ? हुन त साहित्यकार–कलाकारहरूकै नाउँ खोज्दा पनि जनताको मनमा भन्दा पार्टीका सूचीमा टासिएकाहरू नै अगाडि आउने त होलान् नि !

विमानस्थलमा फेरि केहीबेर बिलम्ब भयो । त्यो बिलम्बको कारण बन्यो रक्सीको एउटा बोतल । रक्सी निषेधित पाकिस्तानमा हामै्र टोलीकी एकजना सदस्य पत्रकारले काठमाडौेंखि नै एउटा ह्विस्कीको बोतल बोकेकीे रहिछन् । उनले सोचेकी थिइन होला– आफ्नो देशमा औषधिपसलदेखि तरकारीपसलसम्म निर्बाध किन्न पाउने रक्सी पाकिस्तानमा त्यो पनि विदेशी पत्रकारलाई लैजान कसले पो रोक्ला र ! तर सबै ठाउँमा नेपालकै जस्तो बेथिति किन हुन्थो र ? जति तर्कविकर्त गर्दा पनि टसमस भएन त्यो भन्सार अधिकृत ! पाकिस्तानभित्रै किन्न नपाइने रक्सी विदेशबाट लान किन दिन्थ्यो उसले ! केही नलागेर फर्कँदा फिर्ता पाउने गरी त्यहीँ जम्मा नगरी छुटकारा पाइनन्, यही गलफत्तीमा केही बेर अलमलिनुप¥यो विमानस्थलमैं !

विमानस्थलबाट हामी दुई समूहमा बाँडिँयौं । साप्mमा नेपाल च्याप्टरका पदाधिकारी र पत्र प्रस्तोताहरू एउटा मिनीबसमा सम्मेलन आयोजनास्थल होटेल आभारी जान हिँडे । अर्को मिनीबस हामीलाई लिएर होलि डे इन होटलतर्फ लाग्यो ! यो पछिल्लो समूहमा परेका थियौंं– गोकर्ण बिष्ट, विष्णु निष्ठुरी, केशव खनाल, म र अर्को एकजना (अहिले नाम बिर्सेँ) ! गोपाल थपलिया, गोकुल बास्कोटा, शम्भु श्रेष्ठ, बविता बस्नेत, बन्दना राणा, निर्मला शर्मा, शौभाग्यजंग शाह, शोभा गौतम आदि साफ्मा पदाधिकारी अघिल्लो समूहमा थिए ।

व्यवस्थापन कमजोरै थियो क्यार, त्यतिबेलासम्म कार्यक्रमको सूची (आइटनरी) समेत उपलब्ध गराइएको थिएन । त्यसैले सोचेको थिएँ, आज होटेलमैं खानपिनपछि आराम गरिन्छ होला । तर होटेल पुगेर नुहाइधुवाइ समेत गर्न भ्याएका थिएनौं, आभारी होटल लैजान एक जना आयोजक प्रतिनिध आइपुगे । उनैबाट थाहा भयो– आजको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज पाकिस्तानी शिक्षा, संस्कृति तथा खेलकुदमन्त्री मोहम्मद अली दुरानीले त्यही आभारी होटमा आयोजना गरेका रहेछन् ।

आभारी होटेलको त्यो रात्रिभोजस्थलमा पुग्दा लाग्थ्यो, मुगल साम्राज्यको नवाबी रवाफ अझै सकिएको छैन शायद् ! पटक–पटकको सैनिक शासन र महिलाबिरोधी सरियत कानुनका कारण पाकिस्तानी शासन प्रजातन्त्र र महिलाप्रतिको व्यवहारका लागि निकै आलोच्य थियो । विशेषतः भारतीय सञ्चारमाध्यमप्रति धेरै निर्भर हाम्रो मानसमा पाकिस्तान बिरोधी प्रभाव नै बढी रहन गएको देखिन्छ । त्यसैले पहिलोपल्ट त्यहाँ पुग्नेमध्ये हामी धेरैको मनमा पाकिस्तान र लाहोरको बिम्बचित्र त्यति उज्लालो खालको पक्कै थिएन । त्यसैले लागेका थियो– शिरदेखि पउसम्म बुर्कामा छोपिएर हीनताबोधले दबिएका महिला आकृति देखिएलान सरियत कानुन पीडत पाकिस्तानी लाहोरमा ! सुरक्षको कडा फलामे घेरामा साँच्चि नै यातनाजन्य होला सैनिक शासनको कथित प्रजातान्त्रिक पाकिस्तान लाहोरमा । लाहोर प्रवेशदेखिकै अवस्था भने मेरो सोचाइसँग कतै मेल खाँदैनथ्यो । आभारीभित्रको दृश्य त झन उन्मुक्त थियो, खुला । हुन त विकसित शहरका ठूला होटेल संस्कृति शासक वर्गकै आडभरोस र संरक्षणमा चल्ने गर्छन् । त्यसैले यो ठाउँमा सैनिक शासन र सरियतको उपस्थिति खोज्नु नै मुर्खता थियो शायद् । यसको अर्थ सबैतिर यस्तै देखिन्छ भन्ने पक्कै होइन । म आफैंँसँग तर्क गर्दै थिएँ ।

जे होस् त्यो रात्रिभोज कक्षभित्रको वातावरणमा खुलापन थियो । सबै महिला समेत कुनै पश्चिमा महिलाभन्दा फरक लाग्दैनथे– व्यवहार, खानपिन र बोलीचालीमा केही भिन्नता देखिँदैनथ्यो । मनमनै सोचेको थिएँ– यहाँ पनि त होलान् श्रेणी–श्रेणीका नागरिक । यी पक्कै पनि पाकिस्तानी मुसलमान समाजका विशेष वर्गका होलान ! जुन वर्गले शासक, धनीमानी उद्योगी–व्यापारी, सौन्दर्य व्यापारी अर्थात् सो–विजका स्वप्नजीवीजस्ता सबैकुरा किनबेच गर्न सक्ने शक्ति र सामथ्र्य प्रतिनिधित्व गर्दछ । अर्का विचरा श्रमजीवी वर्गलाई रातदिन रगतपसिना एक गरेर पनि परिवारका लागि एक छाक खाना र एक धरो कपडा जुटाउन हम्मेहम्मे छ । त्यसैले यी पाँचतारे जीवनशैलीका सीमित महिलासँग आमपकिस्तानी महिलाको तुलना हुनसक्तैनथ्यो । यिनलाई न सरियतजस्ता मुस्लिम कानुनले छुन्थ्यो, न अभाव र उत्पीडनको रापले नै पोल्थ्यो । त्यो सम्भान्त वर्ग तिनै श्रमजीवीलाईसत्ता–शासनले धर्म र सम्प्रदायका नाउँमा लडाउँछ र आफू निर्बाध राज गर्छ । सरियत र सैनिक शासन सके तिनका लागि मात्रै थियो होला । यो म नेपालीको मात्र नभएर सबैको सत्य थियो शायद । लाहोरको पनि त्योभन्दा अलग्गै सत्य अर्को के पो होला र ?

हो, अन्य खुला समाजका भन्दा यिनका पोशाक शालीन थिए । अधिकांश कुर्ता–सलवार र केही जिन्स पाइन्टमा गलावाल भेस्ट ! आममुस्लिम महिलामा देखिने बुर्काको यहाँ कुनै अस्तित्व थिएन । चुरोट च्यापिरहेका अधिकांश सलसलाउँदा गोरा नरम–आकर्षक नारी औलाहरू र तिनै चुरोट चुसिरहेका रसिला गुलाफी ओठमा उन्मुक्त हाँसोका फोहरा छुटिरहेका हुन्थे ! जे होस त्यो दृश्य मेरालागि रोचक र आश्चर्यजनक दुबै थिए । यो अबस्थामा पाकिस्तानी मीठा–मीठा गजलहरू सुन्दै लिइएको स्वादिष्ट खानाको स्वाद बिर्सनै नसकिने सम्झना बनेकोछ मेरो जीवनमा !

साफ्मा सम्मेलनको औपचारिक उद्घाटन भोलिपल्ट मङ्सिर ५ गते थियो । समयबोधमा हामी दक्षिण एसियाली, सबै उस्तै नै त हौं ! कडा सुरक्षा व्यवस्थामा निर्धारित समयभन्दा निकै ढिलो सुरु भयो उद्घाटन समारोह । प्रमुख अतिथि थिए पाकिस्तानी राष्ट्रपति पर्वेज मुसर्रफ । कार्यक्रमस्थलभित्र क्यामरा समेत लान दिइएन । कार्यक्रम पनि लगभग सार्कका प्राय फोरमहरूमा देखिने भन्दा फरक थिएन– सबैकुरा भारत–पाक सम्बन्धको प्रभावबाट श्रापग्रस्त । तिनै कुराको सङ्केत र दक्षिण एसियाकै ठुल्दाइ बन्ने भारतीय मानसिकताविपरित अभिव्यक्ति निस्केको सुनिन्थ्यो, सैनिक शासकबाट नागरिक शासकमा परिवर्तित मुसर्रफको उद्घाटन भाषणमा । छिमेकीहरूप्रतिको भारतीय परपीडक भावनाको पीडाबोधको अनुभव पनि गर्न सकिन्थ्यो उनको संबोधनमा । सम्बोधनको निचोड थियो, “दक्षिण एसियामा मेलमिलाप (रिकन्सिलिएसन) का लागि मूलतः भारत र पाकिस्तानबीचको सम्बन्ध सुध्रिनुपर्छ, अनि यसका लागि आमसञ्चारले सकारात्मक भूमिका खेल्नु पर्छ । यही मान्यतामा विश्वास निर्माणका प्रयत्न सुरुभएको छ ।” उनको थप भनाइ थियो– “भारतीय प्रेसले आफूलाई सधैं गलत रूपमा प्रस्तुत गर्ने गरेको छ । मैले भारत–पाकिस्तान सम्बन्धको विषयमा समस्याको मात्र पहिचान गर्ने गरेको छु । यो कुरा स्पष्ट हुँदा हुँदै पनि भारतीय प्रेस भने मैले एकपक्षीय समाधान दिएको भनेर सधैं एकोहोरो प्रचार गरिरहन्छ । समस्या वा इसु अगाडि छ, र यो समस्याको समाधानबिना दक्षिण एसियामा मेलमिलाप हुन सक्दैन । त्यसैले यसका लागि भारत, पाकिस्तान र कास्मिरी जनता सँगै बस्नुपर्छ । त्यसरी बसेर सबैको कुरा सुन्ने हो भने वार्ताद्वारा समाधान ननिस्किने कुरै छैन । समाधानका लागि पाकिस्तान आफ्नो कुनै पनि अडानबाट पछि हट्न सक्छ, भारतबाट पनि यसमा पहल हुनुपर्छ ।”

साफ्मा पाकिस्तान च्याप्टरका अध्यक्ष एम. जियाउद्दिन, सार्क क्षेत्रीय महासचिव इम्तियाज हुसेन, साफ्मा बङ्गलादेश च्याप्टरका अध्यक्ष रियाउज्जिन अहमदको सम्बोधनसँगै उद्घाटन सत्र सकियो । के.के. कत्यालको अध्यक्षतामा भएको चियापछि छलफलको “रिकसन्सिलिएसन इन द सबकन्टिनेन्ट” अर्थात् उपमहाद्वीपमा मेलमिलाप विषयमा केन्द्रित रह्यो । डेली टाइम्स र फ्राइडे टाइम्सका सम्पादक निजाम सेठीको आधारपत्र र डा. सी. राजामोहन (भारत), श्रीकृष्ण बोयल (श्रीलंका), इक्वाल शोभन चौधरी (बंगलादेश), डा. मोहम्मद वसिम (पाकिस्ता), गोकुल पोखरेल (नेपाल), का सोही अवधारणामा आधारित राष्ट्रिय प्रतिवेदनमाथि गम्भीर छलफल भए । तर अधिकांश छलफल फेरि पनि भारत–पाकिस्तान दुई पक्षकै समस्याका सेरोफेरोबाहिर जान सकिरहेको अनुभव हुँदैनथ्यो !

चिया खाने बेला टेबिलमा राखेको ब्याग एकाएक गायब भयो । वरिपरिका सबैलाई सोधें, कतै फेला परेन । सम्मेलनमा दिइएका प्रकाशन र जानकारीमूलक सामग्रीका साथै अरु केही आवश्यक सामग्री थिए ब्यागमा । मेरा लागि तीभन्दा महत्वपूर्ण थियो घरबाट हिँडेदेखि यात्रामा टिपिएका सूचना र अनुभूतिहरू घसमेटिएका डायरी । मुसर्रफले सम्बोधन गरिरहँदा निकै लामो नोट्स लिएको थिएँ । त्यही देखेर पाकिस्तानी सेक्युरिटी वा गुप्तचरले त लगेन ? पछि केशव खनालको तर्क थियो यो । मलाई पनि कतै केशवजीकै तर्क पो ठीक थियो कि भन्ने लाग्यो, नत्र त्यत्रो खोजी हुँदा कसरी फेला नपर्दो हो ! जे होस्, अत्यन्त महत्वपूर्ण टिपोट र सामग्रीहरू चोरिए, त्यही नै मेरालागि अप्रिय घटना थियो ।

दोस्रो सत्र इर्साद हक्वानीको अध्यक्षतामा दिलिप पड्गाँवकर र अहमद रसिदको मोडरेसन र ¥यापोर्टिङबाट सुरु भयो । वल्र्ड एडिटर फोरमका महानिर्देशक बर्टान्ड पेक्विरी, आइएफजेका अध्यक्ष क्रिस्टोफर वारेन, एफआईडिएजका डा. एन क्रिस्टिनेका साथै अलजजिराका प्रतिनिधि वाद्धा खानफ र वालस्ट्रिट जर्नलका राजनीतिक सम्वाददाता जहिद हुसेनका विचार तथा अनुभवहरू निकै रोचक थिए । यो सत्रको प्रमुख विषय थियो– इन्डिपेन्डेन्स अफ मिडिया आफ्टर ९।११ अर्थात् सेप्टेम्बर ११ (अमेरिकी जुम्ल्याहा मिनार र पेन्टागनस्थित रक्षमन्त्रलयमाथि भएको आत्मघाती विमान आक्रमण) पछिको सञ्चार स्वतन्त्रता ! यो सत्रको छलफलमा पनि भारत र पाकिस्तानी पत्रकारका बीच चर्कै विवाद चल्यो । दिनभर निकै थाकिएकोले पाकिस्तानी प्रधानमन्त्री शौकत अजिजको आतिथ्यमा दिइएको रात्रिभोजमा पनि जान सकिएन त्यो साँझ ।

लाहोर प्रवेशको तेस्रो दिन, विहानको कौला (ब्रेकफास्ट) पछि मात्र सङ्क्षिप्त दर्शनको अवसर जुटाएथ्यौं हामीले लाहेर दर्शनका लागि । तर आइतवार परेकाले बजार सबै बन्द भएको हुँदा खासै घुमाइ भएन ! बाबा (रमेश विकल) ले हिँड्ने बेलामा उर्दूका केही किताब ल्याउन भन्नुभएको थियो । खोज्दा सडक पेटीमा बेच्न राखिएकामध्ये किश्नचन्दर र मन्टोका दुईवटा पुस्तक भेटिए, त्यही किनेँ पाकिस्तानी रु ४० मा !

फर्कँदा कार्यक्रम सुरु भैसकेको थियो । यो सत्रको विषय थियो, मिडिया रिकन्सिलिएसन इन साउथ एसिया अन्डर रिजनल पर्सपेक्टिभ । भारतकी रिता मन्चन्दानी, पाकिस्तानका हरिश खरे, बंगलादेशका खालेद अहमदलगायत नेपालबाट युवराज घिमिरेको पत्रमा आधारित थियो यो सत्र । तर घिमिरे नआएकाले उनको पेपर पढेकी थिइन् बन्दना राणाले । स्वाभाविक रूपमा इम्तियाजका प्रतिवेदनमाथि चर्को बहस र विवाद भयो । साफ्मा महासचिवको राष्ट्रिय च्याप्टरहरूमा हुने हस्तक्षेपका सम्बन्धमा गम्भीर प्रश्न उठे, राष्ट्रिय समितिको स्वतन्त्रता र स्वायत्तताको प्रश्न उठे । राष्ट्रिय समितिले पठाएका प्रतिनिधिमण्डलका नाउँमा समेत महासचिव इम्तियाजले चलखेल गरेर आफूूखुसी नाउँ थप्ने–काट्ने गरेर कन्फर्मेशन पठाउने कुराको डटेरै विरोध भयो ।

साफ्मा लाहोर घोषणापत्रको मस्यौदा तयार गर्ने जिम्मेवारी वरिष्ठ पत्रकार तथा नेपाली प्रतिनिधि गोकुल पोखरेललाई दिइएको थियो । पोखरेलद्वारा प्रस्तुत भारत–पाकिस्तानबीचको आणविक प्रतिस्पद्र्धासम्बन्धी बुँदामा प्रयुक्त भाषा कमजोर भयो, दुबै देशको आणविक हतियार नियन्त्रण र निरीक्षण अन्तर्राष्ट्रिय समितिबाट हुनुपर्छ भन्ने कुरा स्पष्टसँग राख्नु पर्छ भन्ने कुरा आयो भारत र पाकिस्तानबाहेकका अरु प्रतिनिधिबाट । तर कन्सेन्ससको बहानामा यति महत्वपूर्ण प्रस्तावलाई भने ठाडै पन्छियो । उता पर्यवेक्षक मात्र रहेकी फ्रान्सेली डोनर संस्थाकी डा.आन क्रिस हब्बार्डले अघि सारेकी मानवअधिकार सम्बन्धी संशोधन प्रस्ताव मुखबाट निस्कन नपाउँदै समावेस गरियो घोषणपत्रमा ।

हामी बसेको कन्टिनेन्टल ग्रुपको होली डे इन होटेल विमानस्थलबाट मोटरमा २० मिनेट जतिको दूरीमा थियो । लाहोरका प्रसिद्ध एलिङ्टन र कपर रोडको दक्षिण–पश्चिमी सङ्गममा थियो यो होटल । आफू बसेको कोठाको झ्यालबाहिर भव्य–भव्य भवनहरू देखिन्थे । तिनैमध्येको एउटामा राखिएको साइनबोर्ड यहीँबाट देखिन्थ्यो– इक्वाल एकेडेमी । त्यो साइनबोर्डले हामीलाई लाहोर दर्शनका लागि लोभ्याइरहेको थियो । तर सम्मेलनका कारण लाहोर आइपुगेको तेस्रो दिनसम्म पनि त्यो सम्भव हुनपाएको थिएन ।

लाहोर पुगेको चौथो दिन बल्ल लाहोरका दर्शनीय ठाउँहरू घुम्ने मौका मिल्यो । विहानको कौलापछि हामी होटल आभारीबाट लाग्यौं लाहोर जु, चेरिङक्रस, मस्जिदे शोहदा, ड्राइफुडको प्रख्यात बजार बिडेन रोड र विद्युतीय सामानका लागि नाम चलेको बजारहरू हेर्दै केही दर्शनीय स्थलको अवलोकनमा । लाहोर किल्ला (लाहोर फोर्ट) वा गुरुद्वारा र विशाल मस्जिद जुन हेर्दा पनि हेरिरहुँजस्तो ! पुराना वास्तुकला र पूरातात्विक भवन–संरचना, व्यस्त बजार, आधुनिक सपिङ मलका साथै मनमोहक बगैंचाहरूको अनेकौं अचम्मलाग्दा सङ्गम लाग्थ्यो लाहोर । हाम्रै उपत्यकाका शहरजस्तै, आफैंमा एउटा जीवन्त सङ्ग्रहालय ! हाम्री पथप्रदर्शक इर्षा साथमा भएकीले घुमे–पुगेजतिका मात्र नभएर लाहोरको समग्र जानकारी लिन सहयोग पुगेको थियो हामी जिज्ञासुलाई । पर्यटकका आँखा अनेकौं सुन्दर पार्क र बागबगैंचा, वास्तुकलाका दृष्टिले आकर्षक पुराना ऐतिहासिक भवन, स्मारक, मस्जिद, द्वार र स्तम्भहरूबाट पटक्कै हट्न मान्दैन थे । हाम्रो अबस्था पनि त्यो भन्दा फरक थिएन ।

कुनै पनि शहरको समृद्धि र नागरिक सभ्यताको परिचय त्यहाँका पुरातात्विक तथा कलात्मक संरचना र सुन्दर वागबगैंचाहरूले दिन्छन् । ऐतिहासिक कलात्मक संरचनाका दृष्टिले हामी पनि कम छैनौं, विश्वप्रसिद्ध छौं ! तर शहरी पार्क वा बगैंचाका नाउँमा फुङ्ग उडेका रत्नपार्क (अहिले के भनिन्छ, थाहा छैन !), टुडिँखेल र सैनिकमन्च मात्र देखेको यो नेपालीका आँखामा लाहोरका शालिमार वाग, लरेन्स गार्डेन, इक्वाल पार्क, हजुरी बाग, नासिर वाग, मोची बाग, मोडल पार्क र रेसकोर्स पार्कजस्ता मनै लोभ्याउने वाटिकाहरू मजैसँग मोहनी लाउन सफल थिए । यसरी यी बागबगैँचा देखेर एकातिर मोहित थियौं हामी, अर्कातिर आफ्नो देशको राजधानी शहर सम्झेर मनमनै लज्जित पनि !

सन् १८१३ मा महाराजा रञ्जित सिंहले बनाएका हजुरी बागका चार कुनामा चारवटा महत्वपूर्ण पुरातात्विक भवनहरू सगौरव उभिइरहेका देखिन्थे । पूर्वपट्टिको लाहोर किल्लाको आकषर्णबाट मुक्त हुन नपाउँदै पश्चिमी कुनाको बादशाही मस्कले आमन्त्रित गरिरहेथ्यो । उत्तर र दक्ष्(िणी कुनाको रञ्जित समाधि र रोशनी गेटका आकर्षण आफैंमा विलक्षण लाग्थे । अफगानिस्तानका शाह सुजालाई हराएर केहीनुर हिरा हात पारेको खुसियालीमा रञ्जित सिंहले निर्माण गराएका रोशनी वागको अनुपम सौन्दर्यले हतपति बाहिरिन दिँदैनथ्यो । पथप्रदर्शक इर्षा भन्दै थिइन– यहाँ हरेक आइतबार स्थानीय गायक–कविहरू भेला हुन्छन् र प्रसिद्ध पन्जावी सुफी कविका हिरराँझाका साथै अरू पनि धेरै परम्परागत कविता–गीतहरू गाउने गर्दछन् । मानिसको घुइँचो लाग्छ ती गीत सुन्न।

झन के कम हुनथ्यो र सालिमार बाग ! असी एकड जमिनमा फैलिएको छ शाहजहाँले पारिवारिक मनोरन्जनका लागि बनाएका यो बगँैचा । यस्ता अरु पनि अनेकौं बाग–बगैंचाले भरिएको देखिन्थ्यो लाहोर शहर– नसिर वाग, मोची वाग, वाइल्ड लाइफ पार्क, जल्लो पार्क, मोडल टाउन पार्क, रेसकोर्स पार्क कति हो कति ! ती पार्क र बगैंचा फूल, बोटबिरुवा र हरियालीका दृष्टिप्रिय स्थल मात्र थिएनन्, त्यहाँका नागरिक र सरकारका सौन्दर्य पारखको ज्वलन्त उदाहरण पनि थिए ! हामी सबैका आँखा ती मनोरम सुन्दर बाग बगैंचाका सौन्दर्यपानमा रमिरहेका थिए, मन आफ्नै वञ्जर बन्दै गएको सिमेन्टीको जङ्गलमा रूपान्तरित हुँदै गएको राजधानी शहर काठमाडौंमा !

मुगल वास्तुकलाको समृद्ध शहर लाहोर आकर्षक ऐतिहासिक भव्य संरचनाहरूका दृटिले बाग–बगौँचाभन्दा झन के कम हुन्थे ! आफैंमा मुगल वास्तुकलाको उत्कृष्ट नमुना जहाँगिरको मुसोलियम उनकै इच्छा बमोजिम बनाएकी थिइन् रे तिनकी बेगमले । इक्वाल पार्कस्थित स्वतन्त्रतास्तम्भ मिनार–ए–पाकिस्तान त्यसरी नै आकाश छुँला झैं गर्वोन्नत उभिएर हामीलाई हेरिरहेको थियो । भारत–पाकिस्तान विभाजनको कथा सुनाइरहेको त्यो स्मृतिस्तम्भ जिन्ना नेतृत्वको मुस्लिम लिगले सन् १९४० मा भारतबाट पाकिस्तान छुट्याउने निर्णयको घोषणा गरिएकै ठाउँमा त्यसैको सम्झनामा ठड्याइएको थियो ।

पर्खालको शहर अर्थात् वाल्ड सिटीका नाउँले चिनिने लाहोरको अर्को आकर्षण थियो मुगलकालीन कलाकरिता र वास्तुकलाका ज्वलन्त नमुना लाहोर किल्ला र त्यसको प्रवेशद्वार ! अधिकांश किल्ला र किल्लाका पर्खालहरू अहिले स्मृतिशेष मात्र छन् । तर जति जोगाइएका छन् ती पनि कम छैनन् । लाहोरलाई घेरेर बनाइएको पुराना किल्ला त्यतिबेला मुगल शासकहरूको शीतकालीन आवासका रूपमा प्रयोग हुन्थे रे । शिख शासनकालमा जीर्ण हुँदै गएको किल्लाको कलात्मक मूल्य अङ्ग्रेजले लाहोर अधीनस्थ गरेपछि केही मात्रामा पुनःनिर्माण गरेका रहेछन् । युनेस्को विश्व सम्पदा सूचीमा रहेको लाहोर किल्लाका अनेकौं आकर्षण अझै पनि हामीलाई विस्मित तुल्याइरहेका थिए । ती आकर्षणमध्ये दिवान–ए–आम (जनताको अदालत), दिवान–ए–खास (भारदारहरूको कक्ष), जहाँगिरको शयनकक्षघघघ (जसमा सङ्ग्रहालय पनि सञ्चालित छ), शाही हमाम (शाही स्नानगृह) र शाहजहाँका निवास क्षेत्रका सुन्दर आवासखण्डका साथै शिशमहल (ऐना घर) र नौलखा महल पर्यटकका प्रमुख आकर्षण बनिरहेका देखिन्थे ।

हाम्री गाइड इर्सा भन्दै थिइन्– संस्कृत साहित्यका अनुसार सीतापुत्र लवले निर्माण गराएका थिए रे यो शहर– लवपुरी ! कालान्तरमा त्यही लवपुरी अपभ्रंश भएर लाहोर भनिनथाल्यो । अनि लवकै जुम्ल्याहा भाइ कुशले अहिलेको कसुर स्थापना गरेका हुन् रे । अहिले पनि लवका नाउँमा खाली मन्दिहरू राखिएका रहेछन् लाहोर किल्लामा । यिनलाई लव कै अपभ्रंश ‘लोह’ वा ‘लोह–अवार’ वा लोहको किल्ला भनिँदो रहेछ ।

१८ औं शताब्दीको शिख शासन कालको सम्झनामा हजुरी बागको उत्तरी कुनामा बनाइएको रन्जित सिंहको समाधिस्थल र एउटा सानो सङ्ग्रहालय पनि कम आकर्षक थिएनन् । मुगल सम्राट औरङ्गजेवले बनाउन लगाएका आलमगिरी मस्जिद भनिने बादशाही मस्कले लामो समय संसारकै सबैभन्दा लामो मस्कका रूपमा आपूmलाई चिनाइरह्यो रे ! यसलाई बाह्र ढोका भएकोले बाह्रदरी पनि भनिँदो रहेछ । त्यसका भुइँमा विछ्याइएका राता ढुङ्गा भारतबाट ल्याएका थिए रे । यो मस्कमा ८० वटा ससाना कोठाहरू रहेछन् । उत्तम नमुना मानिँदोरहेछ यसमा गरिएको ध्वनिबिस्तार प्रणालीे ।

इर्षाका अनुसार विश्वका सबैभन्दा ठूलामध्ये एक मानिने यो प्राङ्गण (कोर्टयार्ड) मा एकै पटक साठी हजार मानिस बसेर नमाज पढ्दै प्रार्थना गर्न सक्छन् रे ! यही मस्जिदमा सम्पन्न भएको रहेछ सन् १९७४को दोस्रो इस्लामिक विश्व सम्मेलन । मस्जिदको बाहिरी खण्डमा कुरान सङ्ग्रहालय देखिन्थ्यो । सन् १९७७ मा सुरु भई दस वर्षमा निर्माण पूरा भएको यो सङ्ग्रहालयमा कपडामा लेखिएका ६० खण्ड कुरानहरू प्रदर्शनमा राखिएका छन् रे ! कुरान साधारण मसीले नभएर ८० प्रतिशत सुन र २० प्रतिशत चाँदी मिसाइएको मुलम्बाले सुन्दर अक्षरमा लेखिएका छन् भन्थिन इर्सा । तर हामीले हेर्न पाएनौं । सङ्ग्रहालय हेर्न विदेशीका लागि २०० पाकिस्तानी रुपैयाँ शुल्क लाग्दोरहेछ । इर्षाले निःशुल्क प्रवेशकालागि ठूलै कसरत गरेर पनि सफल हुन सकिनन् । त्यत्रो रकम तिरेर सङ्ग्रहालय हेर्न धेरै सहभागी तयार भएनन्, छुट्टिएर जाने कुरा पनि भएन । त्यसरी ढोकैबाटै फर्कनु परेको थियो !

मुगलकालीन बास्तुकलाका यी विशिष्टता, आकर्षण र विशालतालाई शहरको भित्री भागमा जताततै देखिने साना मस्जिद र दरबारहरूले पनि प्रष्ट्याइरहेका थिए । तीमध्ये भर्खरै जिर्णोद्वार गरिएको आसिफ जहाँ हवेली झनै आकर्ष देखिन्थ्यो । लाहोरका संरक्षक सन्त हजरत दाता गन्ज बख्सको मस्जिद दाता दर्बार वरिपरि असङ्ख्य मानिसहरू प्रार्थना गरिरहेका थिए । लहरै बसेर भीख मागिरहेका र निःशुल्क दान भान्छामा खाइरहेकाको लाम निकै लामो थियो ।

लाहोर किल्लामा निर्मित ऐतिहासिक प्रवेशद्वार लाहोरको अर्को आकर्षण थियो ! मुगल कालमा लाहोरको पुरानो शहर नौ मिटर अग्लो पर्खालले घेरिएको थियो रे । पर्खालका वरिपरि अकबरी गेट, भाटी गेट, दिल्ली गेट, काश्मिरी गेट, लोहारी गेट, मस्ती गेट, मोची गेट, मोरी गेट, रोशनी गेट, शाहालमी गेट, शैर्नावाला गेट, तक्सिला गेट र याक्की गेट आदि नामका १३ वटा विशाल कलात्मक प्रवेशद्वार थिए रे ! अंग्रेज शासनमा लाहोर किल्लालाई कमजोर तुल्याउने उद्देश्यले ती द्वारहरू भत्काइएछन् । भत्काइनुबाट जोगिएछ, मात्र रोशनी गेट ! पछि केही ढोकाहरूको जीर्णोद्वार गरिएछ, र केहीको पुनःनिर्माण ! अहिले पाँचवटा अस्तित्वमा रहेछन् ।

इर्सा भन्दै थिइन्– “यी मध्ये उः त्यो रोयल मस्क र सिटाडेलको बीचमा रहेको रोशनी गेटअगाडिका आकर्षक मार्गलाई शाहीमहल्ला भनिन्छ ।”

लाहोरको प्रमुख प्रवेशद्वार मानिने प्रकाशद्वार वा रोशनी गेटका वरिपरि थरि–थरिका खानेकुरा बेच्ने पसलहरु देखिन्थे । ती खाना पूरै पाकिस्तानमा प्रसिद्ध छन् रे । लाहोरको त झन कुरै भएन । यो ढोकाबाट वादशाही मस्क र लाहोर किल्ला दुबै नजिकै देखिन्थे । साँझको अँधेरोमा रोशनी गेटबाट निस्केको प्रकाशले पूरै क्षेत्र झकिझकाउ देखिन्छ रे ! त्यसरी नै लाहोर किल्लाको विपरीत दिशामा रहेको मस्जिदी द्वारलाई आनन्दको ढोका भनिन्छ भन्थिन इर्षा । दाता दर्बार अर्थात् सुफी सन्त अली हजवेरीको समाधिस्थल रहेको अर्को भाटी गेटमा हरेक विहीबार साँझ नात अर्थात कव्वाली गायन हुदो रहेछ । पाकिस्तानी प्राचीन शास्त्रीय सङ्गीत, गजल र कव्वालीको जन्मघर पनि त हो लाहोर !

त्यसपछिको हाम्रो अर्को गन्तव्य थियो मालरोड । आफ्ना छेउछाउ पाकिस्तानकै सबैभन्दा ठूलो म्युजियम र अनेकौं ग्यालरीहरूलाई संरक्षण दिइरहेको थियो मालरोडले । आर्ट म्युजियममा परिणत गरिएको टुलिन्टन मार्केट, बाप्सी सिद्धवाको आत्मकथापरक उपन्यास शीर्षकबाट नाम राखिएको भनिने क्रो इटर्स ग्यालरी मालरोडको मुटुमै थिए । ब्रिटिस राजका समय सन् १८६४ मा मुगल–गोथिक शैलीमा निर्मित लाहोर म्युजियम पाकिस्तान भर नै प्रसिद्ध थियो । सङ्ग्रहालय धातुका विशिष्ट बुद्धमूर्ति, गान्धार कालीन कलात्मक उर्दू पाण्डुलिपि र बुनाइ कटाइका साथै पत्थरकलाहरूका बहुमूल्य सङ्ग्रह सजाइएका थिए । सार्क क्षेत्रकै बहुसंस्कृति तथा बहुराष्ट्रिय इतिहासका अत्यन्तै दुर्लभ तथा बहुमूल्य सामग्रीहरू प्रदर्शित छन् रे यहाँ । गान्धारकालीन दुर्लभ बुद्ध कला, इस्लामिक कलाकृति, दुर्लभ तथा प्राचीन हस्तलिपिका पाण्डुलिपिहरू, युद्धआयुध वा हतियार, पोशाक र गहना यसका प्रमुख आकर्षण थिए । अर्को उल्लेख्य सङ्ग्रहालय थियो निजी स्तरमा स्थापित भाटी गेटभित्रको फकिरखाँ म्युजियम । निकै ठूलो यो सङ्ग्रहालयमा पाकिस्तानमा पुराना र नयाँ वरिष्ठ कलाकारहरूका विभिन्न पुराना पेन्टिङ, विभिन्न भाषाका मौलिक पाण्डुलिपि र दक्षिणपूर्वी एसिया तथा भारत–पाकिस्तानका बहुमूल्य कलाकृतिहरु सङ्ग्रहित रहेछन् । त्यसरी नै सन् १९५० मा स्थापित मुल्तान रोडस्थित पुन्च हाउसमा रहेको मुगल म्युजियम पाकिस्तानको आर्थिक स्रोत र त्यसको उपयोग, उद्योग तथा वाणिज्य क्षेत्रमा पाकिस्तानले प्राप्त गरेको सफलता बुझ्नका लागि अवलोकन गर्नै पर्ने अर्को महत्वपूर्ण सङ्ग्रहालय थियो । यसका प्रमुख आकर्षण संगीतका विभिन्न वाद्ययन्त्र, मुल्तान र भवालपुरमा उँटको छालाबाट बनाइएको टेबल ल्याम्प, पाकिस्तानका सबै महत्वपूर्ण शहरमा बुनिएका कपास, रेसम र ऊनको मिश्रणद्वारा निर्मित एम्ब्रोइडरी गरिएका कपडा बुनाइ आदिका कलात्मक नमुना थिए ।

लाहोरलाई दातानगर पनि भनिन्थ्यो सुफी सन्त दाताको नाउँमा । इरानबाट आएका ती सुफी सन्तलाई सुरुमा लाहोरबासीले चोर ठानेर खानसमेत दिएनन् रे ! अरु पाहुना वा लाहोरमा आउने जो कोहीलाई पनि खानपिन गराएर स्वागतसत्कार गर्ने त्यतिबेलाका लाहोरबासी चोरलाई भने पानीसमेत दिँदैनथे रे । तर पछि उनको परोपकार र धार्मिक रूप देखेपछि उनीहरूले पश्चाताप समेत गरेका थिएरे ।

जिन्ना बागमा दिउँसोको खाना खाएपछि होटल फर्कियौं हामी । त्यो दिवा भोज लाहोरका मेयर अर्थात् निजाम मियाँ अमिर महमुदले दिएका थिए । दिवा भोज आयोजना गरिएको वागे जिन्हा अत्यन्त व्यवस्थित सुन्दर बगैंचा थियो ! मध्य शहरबीच एक–डेढ किलोमिटरको दूरीमा रहेका यस्ता सानाठूला बगँैचाहरू जताततै देखिन्थे । त्यो देख्दा बारंबार आफ्नो देशको याद आउँथ्यो । आहा…. हामी कहाँ पनि यस्तै भए !

साँझ नुनदेखि सुनसम्म जे खोजे पनि पाइनस्टेडियम फेयर मार्केट घुम्दै बित्यो ! त्यहाँ हाम्रो जस्तो सबै विदेशी उत्पादन होइन, सबै पाकिस्तानका आफ्नै थिए । तब न आत्मनिर्भर छ उनीहरूको अर्थतन्त्र । सबैले केही न केही किन्यौं, नेपाल लैजाने चिनो । फर्कँदा पाकिस्तानी सूचना सचिव शाही इमामले दिएका साङंगीतिक रात्रि भोजमा वसन्त वाग पुग्न हतार भैसकेको थियो । हतार–हतार पसियो वसन्त वाग लैजान तयार भएर बसेको मिनीबसभित्र । होटेलभन्दा ४–५ किलोमिटर परको सुन्दर वगैँचामा मधुर सङ्गीत सुन्दै रात्रिभोजको आनन्द, अर्कै अनुभव, अर्कै अनुभूति ! यो लाहोरको अन्तिम रात थियो हाम्रो ।

साथीहरूले नेपाली बानी देखाइहाले अन्तिम रात ! मजा गर्ने मुडमा आएछन् उनीहरू । नभन्दै मजैसँग जमेछन् पिउने कार्यक्रममा । सार्वजनिक ठाउँमा मद्यपान वर्जित भए पनि साथीहरूका लागि व्यवस्था नहुने कुरै भएन पाँच तारे होटलमा । देवेन्द्र गौतमले भोलिपल्ट सुनाएअनुसार त्यो रमाइलो हाहूमा बदलिएछ, र अति नै हल्ला भएपछि हाटेलका सुरक्षाकर्मीले हस्तक्षेप गरेर सबैलाई आ–आफ्ना कोठामा पठाएछन् ।

लहोर भ्रमणपछि लाग्यो, छिमेकीका नाउँमा मात्र भारतीय कला, संस्कृति र सहज आवागमनबाट प्रभावित हामीले भारत बाहेकका अरु सार्क मुलुक र उत्तरी छिमेकी चिनका संस्कृति, जनजीवन र आर्थिक विकासका बारेमा धेरै जान्न बाँकी रहेछ । आफ्ना कला, साहित्य र संस्कृतिका बारेमा छिमेकीहरूलाई बुझाउनु त झनै बाँकी छ । यो बाँकीको क्रममा विदाइको ‘सलाम–वालेकुम’ भन्दै विदा लिएको थिएँ मैले कला–सस्कृतिको अत्यन्त सम्पन्न पाकिस्तानी प्राचीन शहर लाहोरसँग !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु