युरोपका युवतीहरु

- युयुत्सु आर. डी. शर्मा

डेनहाग्, नोरदेन्डेका

साँघुरा गल्लीहरुमा

देख्नेछौ तिमी जताततै

मात्र ती झ्याले पुतलीहरु

हिन्दुका चौरासी हजार देवीदेवताका

मूर्तिहरुझैँ वाराणसी वा काठमाडौँका गल्लीहरुमा

(विन्डो डलहरु, नेदरल्यान्डस्)

पहिलोचोटि युरोप जाँदा डच कविहरुले मलाई आम्स्ट्रडमको डाउनटाउनमा रहेको क्लब एनएलमा ‘इरोटिक कविता साँझ’मा निम्त्याए । त्यहाँका भूतपूर्व राष्ट्रकविसमेत एक दर्जन चर्चित कविको भव्य उपस्थितिमा मैले आफ्नो ‘खोला’ शीर्षक कवितापाठ गर्ने योजना बनाएँ । संयोग के भने केही वर्षअघि नेपालमै छापिँदा काठमाडौँमा उत्तेजक विम्बवाला ‘बोल्ड’ कविता भनियो यसलाई ।

सुरुमै मेरो पालो आयो । कवितापाठ सुरू गरेको के थिएँ, अँध्यारो कुनाबाट स्टेजतिर एक श्वेत युवती नाच्दै आइरहेको देखेँ ।

तिम्रो सङ्गमर्मरी काँध

र, मेरो चौडा छातीको बीचमा

गर्जिरहेछ एउटा खोला

आँसु, आँसु, आँसु

तिम्रो गुलियो मुख

र, मेरो सुगन्धित जिब्रोको बीचमा

एउटा रात फिलिंगाहरुले

टल्काइरहेको त्यो न्यानो नरम छाला ।

कवितालाई दिएको जस्तो लाग्ने मद्दिम संगीत वास्तवमा तिनै युवतीको नृत्यका लागि पो रहेछ । मैले कविता पढ्दा उनले एकएक गरी आफ्ना सम्पूर्ण वस्त्र उतारिदिइन् । कविता सकिने बेलामा निर्वस्त्र भइसकेकी थिइन् । श्रोताहरुले ताली बजाए । मलाई त्यो आफ्नो कविताको सम्मानमा बजेजस्तो लाग्यो । तर, त्यो ‘एप्लोज’ पनि नितान्त उनका लागि पो रहेछ । मलाई पूर्वी युरोपियन युवतीको एकदम नग्न शरीरका अगाडि विम्बहरुको कुनै तागत नरहेजस्तो प्रतीत भयो ।

कार्यक्रम सकिएपछि कवि मित्रहरुसित मैले नैतिक आधारमा यस्ता कुराको भत्र्सना गरेँ । तर, तिनीहरुले यसलाई नितान्त सहज भावले एकै स्वरमा नकारे, ‘यो एकदमै ठीक छ । उनी आफ्ना लुगा फुकाल्न स्वतन्त्र छिन् । यो कार्य तर्कपूर्ण र उपयुक्त छ किनभने आफ्नो सुन्दर शरीर देखाएर राम्रो पैसा कमाइरहेकी छन्, नत्र कुनै अध्याँरो चिसो कुनामा बसेर दैहिक श्रम गर्नुपथ्र्यो । ‘के उनले यो सब पैसा कमाउने उद्देश्यले गरिरहेकी होइनन् त ?’ मैले सोधेँ । मेरो प्रश्न कसैले सुनेन । बरू रेस्टुराँको धूवाँ र कोलाहलमा हराएर गयो ।

युरोप प्रवेश गर्नेबित्तिकै यस्ता दृश्यले तपाईंलाई आक्रोशित पार्न सक्छ । खास गरी मिडियामा स्त्रीप्रति भइरहेको हिंसाले । यो कुनै अतिशयोक्तिजस्तो लाग्ला तर एसियाली महाद्वीपमा मैले स्त्री देहको यस्तो अर्थहीन प्रयोग देखेको छैन । फ्र्यांकर्फट जाँदाजाँदै सेन्ट्रल ट्रेन स्टेसनको होर्डिङमा एक अर्धनग्न नारीको तस्बिर देखेँ । उनको अनुहारमा एउटा असमञ्जस र कुतूहल थियो । मात्र ब्रा र पेन्टी लगाएर बेडरूममा उभिएकी युवतीलाई असामान्य देखिएको थियो । उनी आफ्ना लुगा खोजिरहेकी छन् वा कुनै एलर्जीले गर्दा लुगा फुकालेर कुनै ठिटोअगाडि उभिएकी छन् ।

त्यो होर्डिङको क्याप्सन अनुवादका लागि मेरी जर्मन मित्र ज्युडिथलाई अनुरोध गरेँ । खासमा त्यो मेट्रोका लागि राखिएको विज्ञापन रहेछ । मेट्रोले ब्वाईफ्रे न्डलाई कति छिटो पुर्‍याइदिएको थियो भने उनी लुगासमेत लगाउन भ्याउँदिनन् र भन्छिन्, ‘अहो ! कति छिटो आइपुगेको तिमी ?’

प्रत्येक दिन युरोपका अधिकांश पत्रिकामा यसरी नै नग्न स्त्रीको तस्बिर सानसित राखिएको हुन्छ र यसको सबैले व्यग्र प्रतीक्षा गरिरहेका हुन्छन् । हेगमा एउटा रेस्टुराँमा त्यस्तै एउटा पोस्टर देखेँ । जसमा एउटा युवतीको स्तनका बीचमा ब्रेकफास्टको प्लेट राखिएको क्लोजअप थियो र तल लेखिएको थियो- ब्रेकफास्ट : युरो २० मात्र ।

यति हुँदाहुँदै पनि युरोपका महिलाहरु वैचारिक स्तरमा अघि बढेका छन् । जबकि, एसियाली महाद्वीपका महिला राज्यका लागि एपेन्डिक्सजस्तो मात्र छन् । तिनीहरुसित न त समान नागरिक अधिकार छ, न पुरूषहरुसितको बराबरी साझेदारी । संवैधानिक समानताका हिसाबले हेर्दा त पैत्रिक हैकममा हुर्केका बार्बीडलहरुजस्तै देखिन्छन् । युरोपका नारीको दाँजोमा तिनीहरु नितान्त टाढा, नदीको अर्को किनारामा उभिएजस्तो लाग्छ ।

त्यसो त समान नागरिक अधिकार र पृथक् पहिचान पाएका युरोपेली नारी पनि सुखद स्थितिमा छैनन् । पुरूषहरूसित बराबरी गरिने प्रयासमा तिनीहरु पिल्सिएका छन् । राम्रो जागिर पाउनका लागि सबै राम्रा देखिने र ४० नाघेपछि हेला हुने स्थितिबाट त्रस्त तिनीहरु यातनापूर्ण जीवन बिताउन बाध्य छन् ।

मर्दहरुकै हाराहारी बन्ने प्रयासमा तिनीहरुले धेरै कुरा गुमाएका छन् । उदाहरणका लागि, मैले युरोपमा जति चेन स्मोकिङ महिला कहीँ भेटिनँ । मिडिया, फेमिनिस्ट सौन्दर्यशास्त्र र समाजबाटै तिनीहरु यस किसिमको अप्ठ्यारो किनारातिर धकेलिन्छन् । युरोपभरि मैले अनेक विज्ञापनमा चुरोटको धूवाँ उडाइरहेका आइमाईको कार्यलाई नितान्त क्रान्तिकारी र स्वतन्त्रता पाउने अधिकारको उपयोग गरिरहेको जस्तो देखाइएको पाएँ । ठीक विपरीत, एसियाली महाद्वीपमा विशेष रूपले मध्यमवर्गमा स्त्रीहरुकै हैकम चल्छ र उनको इच्छाविरूद्ध एउटा पात पनि हल्लिँदैन ।

प्राय: युरोपेली महिलाको चित्रण स्टेरियोटाइपभन्दा बढी केही छैन । श्वेत स्त्रीको पपुलर विम्ब हाम्रो समाजमा कामुक, स्वतन्त्र र यौन सन्दर्भमा उन्मुक्त मानिन्छ । दक्षिण एसियामा तिनीहरु केतन मेहेताकोे माया मेमसाब मात्र छन् । गुस्ताव फ्लुवर्टको ‘मैडम बोभारी’को मुम्बैया फिल्मांकनका लागि उनले छानेको यो शब्द त्यस मिथको प्रयोग गर्छ, जुन हाम्रो महाद्वीपमा शताब्दीऔँदेखि व्याप्त छ ।

साँच्चै भन्ने हो भने मेमसाबको मिथ दोष र बदलाको भावनाले भरिएको छ । किनभने, सबै श्वेत स्त्रीहरु कामुक र सजिलोसित पाउन सकिने हुँदैनन् । यो मिथ एसियाली उपनिवेशवादबाट सिर्जित छ, खास गरी बि्रटिस साम्राज्यवादको उपज । सर्वव्याप्त सत्य के भने शासककी स्त्रीलाई सबैभन्दा नराम्रो गालीले अपमानित गरिन्छ । घीनलाग्दो आमा, बहिनी र छोरीसमेत गालीले सुशोभित हुन्छन् ।

त्यस मिथका आधारमा कवि, लेखक र लोकपरम्परामा श्वेत स्त्रीको छवि सुन्दर, सेक्सी तर नैतिकताले पतनोन्मुख देखाइन्छ । यस अर्थमा प्रत्येक युरो पियन स्त्री भ्रष्ट छन् तर हाम्रा स्त्री सबैजसो दोषहरुले भरिएका भए पनि राम्रा, लजालु र कुमारी देवीजस्तै पवित्र ।

वास्तवमा शिक्षा र आधुनिक दृष्टिकोण अनि उन्मुक्त सोचको अभावमा एसियाली स्त्री सोझा, आदर्श तर शोषणमुखी देखिन्छन् । युरोपियन स्त्रीको दाँजोमा पाप, कलंक, दमन र शोषणको चक्रव्यूहमा फसेका पुतलीजस्ता देखिन्छन् । पारम्परिक हिन्दु संस्कृति स्त्रीलाई कि त देवी ठान्छ कि घीनलाग्दो बजारू वस्तु ।

एसियाली महाद्वीपका नारीलाई सेक्स र स्वतन्त्रताबाट वञ्चित गरेर हामीले रिसले भरिएको लजालु तर घरायसी घेरामा खुम्चिएका ‘निरंकुश डल’मा परिणत गरिदिएका छौँ । पुरूषहरु तिनीहरुकै सनक र विलक्षणताबाट सञ्चालित छन् । नारी शक्तिको यसभन्दा ठूलो उपहास अरू केही हुन सक्दैन ।

र, जताततै

मानिससित हिँडिरहेका सेता कुकुरहरु

मानौँ, कठ्याङ्गि्रएका बास्नाहरुसँगै

हिँडिरहेका छन् सिक्रीले बाँधिएका एक्ला साँझहरु

र कहिलेकाहीँ थानी मन्दिरमा बस्ने देवता

तर्सेर तिनका तागत

र तेजस्वी प्रताप देखी

म ढोगिदिन्छु देवतालाई झैँ

ती झ्याले पुतलीहरुलाई पनि ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु