पुरुष

- युवा बराल ‘अनन्त’

समय कति छिटो परिवर्तित छ । कति छिटो परिवर्तन भइरहन्छ यो माइक्रोसफ्टीय दुनिया पनि । मान्छे मान्छेसित अप्डेट नभइरहे कुनैदिन यो ‘कम्युनिकेसन् ग्याप’ले ठूलो शुन्यता ओगट्नसक्ने सम्भावना प्रबल देखिन्छ । हुन पनि एउटा मान्छे अर्को मान्छेको निम्ति त्यतिकै महत्वपूर्ण हुन्छ जति जुनलाई घाम ।

मनभित्र एउटा झिनो डर बसिराखेकै छ । उनीलाई नभेटेको पनि निकै भयो । न बाहिरतिर उज्यालोमा, न भित्र अँध्यारोमा नै देख्न सकेको छु । यही असन्तोषले चिमोटिरहेछ हरपल । कहीं यो दुरत्वले कतै ठूलै ठाँउ नओगटोस ।

मालतीले पनि त्यति चासो देखाएकी छैन हिज-आज । पहिलातिर दिनहुँ भेट्थे उनीहरु । दिनहुँ देखिइन्थ्यौं हामी । टाड़ैबाट मुस्कानको मीठो अभिवादन पस्किन्थें म उनको अघि, उस्तै उज्यालो सौहार्द्रता स्वीकार्दै खुला मुस्काउँथिन उनी । म रमाउँथें एकतमासले ।

आँखाको अंघालोभरि म उनलाई बाँधेर कल्पनाको चुम्बन खान्थें, मेरी मालतीले छ्नक पनि पाउँदिन थिई। आँखाबाट नै म आफ्नो तिर्सना मेटाउँथें । मेरी मालती र उनी कुन्नि कुन मोढ़मा साथी बन्न पुगे थाहा छैन । आज आएर परोक्षमा उनी मालतीको भन्दा मेरोमात्र असल साथी बन्नपुगेकी छिन् । म उनको प्रगाढ़ सामिप्यको र निश्छल हाँसोको बानिमा परिसकेकोछु। मालतीलाई थाहा छैन ती गोप्य कुरा । मेरो चोर प्रवृतिको न निलिमालाई नै कतै सुइँको छ।

प्रत्येक दिनको दुईदेखि तीनबजेतिर उनी आउँछिन हाम्रो घरमा । हाम्रो टुकुटुकु हिंड़ने छोरो उनको आहटले नै रमाउँछ । उनी सँधै एउटा न एउटा मिठाई या त खेलाउने कुरा बोकेर आउन भुल्दिनन् । उ पनि बानी परिसकेकोछ उनको, म जस्तै तर नि:स्वार्थी । म अन्गिनत स्वार्थसरी पर्खन्छु उनलाई । मालती पनि खुशी हुन्छिन् उनको आगमनले, त्योभन्दा कैयौं गुणा बेसी म । त्यसै खिल्खिलाएर हाँस्छ्न् दुवै अनि म रमाउँछु एकतमासले ।

आएपछि उनी नजानु नि जस्तो लाग्छ, तर उनी पाँचबजेभित्रमा फर्किएर आफ्नो घर जान्छिन् । उनको पनि एउटा सानो घर संसार छ, प्राथमिक पाठशाला जाँदैगरेका दुई नन्दहरु छ्न्, बृध्दा सासु छिन् । नजिकैको सरकारी कार्यलयमा नोकरी गर्ने पति छन् । उनका थुप्रै जिम्मेवारीहरु छन् जसलाई उनले निर्वाह गर्नैपर्छ ।

उनको त्यो मोहनी आवाज, सौम्य अनुहार, चिटिक्क परेको केशराशी, सपक्क मिलेको आँखेभौं, पातलो ओंठ्मा गुलाबी लिपिस्टिक अनि गहुँगोरो मुहारको हँसिलो मुस्कान । उनले पहिरेको सबै पहिरनले कस्तो सुहाएको झैं लाग्छ तर व्यक्त गर्दिन म कसैलाई पनि । उनको रुप हेरेर म एकलै गद्गद हुन्छु, रोमाञ्चित बन्छु । मेरो आकर्षण किन हो उनमा यसरी एकोहोरो तरहले बस्यो थाहा छैन तर म उनलाई प्रगाढ़ मन पराउँछु ।

म जान्दछु यो पाप होइन तर पूण्य पनि यो कधापि होइन । काखमा खेलिरहेको सानो बबुरोलाई हेर्छु अनि स्वयंलाई त्यसको पवित्रतासित दाँज्छु । हामी दुवैलाई चाहिनुपर्ने मालती हो तर पनि हामी किन सन्तुष्ट छैनौं उदेखि ? किन हामी उ भएर पनि दोश्रो स्त्रीको अपार चाह राख्छौं ? मोह (?) तर हाम्रो अलग-अलग हुनसक्छ । कुन्नि उ किन खुशी हुन्छ थाहा छैन न मलाई स्वयं खुशी हुनुको कारण यही नै हो भनेर ज्ञात छ ।

मालती फुर्सदको क्षण उनको त्यहाँ गएर बिताउँछे । बेलुकी सुत्ने बेलामा त्यहाँ उनीहरुमाझ भएको कुराकानी वृतान्त सुनाउँछे । म मज्जा मानेर सुन्छु ती नारी मनका सरल र संग्ला कुराहरु । कति निष्कपट, कति निश्छल हुन्छन् यी नारीहरु ।साधारण कुरादेखि लिएर भन्न नमिल्ने कुराहरु पनि आदान-प्रदान हुँदोरहेछ, म छक्कै पर्छु । मालतीको माध्यमबाट म उनका स्वच्छ मनका कुराहरु सुनिरहेको हुन्छु झन झन उत्सुक बन्दै। ‘छि: छाड़ा! त्यस्तो कुरागर्नु लाज लाग्दैन ?’ भन्न मन लाग्छ। तर म चुप-चाप ती मीठा रमाइला चञ्चल कुराहरु सुनिरहन्छु । अनि त्यही लहड़मा मालतीको शिथिल शरीरलाई उनको त्यो कल्पनाभरिको मनमोहक एवं उत्तेजक जीउ-डालमा रुपान्तरित गरी घण्टौं सुम्सुम्याई रहन्छु अनि निर्बांध उपभोग गरिरहन्छु । कस्तो अभिप्राय मेरो कुन्नि !

आज आइतबार, सधैं झैं म आफ्नो घरको झ्यालबाट बाहिरको रमणीय दृश्यहरु नियालिरहेको थिएँ । अकस्मात मेरो नजर उनको घरको खुला झ्यालमा पर्छ । त्यो झ्यालको पारदर्शि पर्दाबाट कोठाभित्रको चिज-बिज उति स्पष्ट्संग देखिन्न थियो । अरुबेला त्यो पर्दा पुरा झ्यालै ढाकेर झुण्ड्याइएको हुन्थ्यो । आज के सुर चलेर हो, त्यो पर्दा आधा भाग खुल्लै राखिएको छ । बाहिरको स्वच्छ हावा भित्र पसोस भन्न खातिर हुनसक्छ या भित्रको प्रदुषित हावा बाहिर निष्कासित होस भन्ने उद्देश्यमा हुनसक्छ ।

यही अन्तरालमा भित्र झल्याक-झुलुक कुनै आकृति चल्मलाउँछ । आँखाको चक्षुमा त्यो अस्पष्ट आकृतितिर घुमाउँछु । तरंग हुन्छु म ; अकस्मात…; ओहो …! भर्खरै नुहाईसकेर उनी तौलियाले कपाल बेह्रेर टाउकोमा डल्लोपारि अर्को सेतो कपड़ाले आफ्ना नग्न शरीरमा तप्किएको पानी पुछ्दै रहिछिन् । हतपत भित्रिन्छु र आफ्नो झ्यालको पर्दा सपक्क झार्छु । सकेसम्म आफुलाई छल्ने कोशिस गर्छु ।

तर कस्तो रहर ! अनर्गल ! आफ्नो वसदेखि बाहिर ! फेरि त्यो दृश्य चिहाउने प्रगाढ़ इच्छा जाग्छ । पर्दाको चेपबाट बिस्तारै आँखाको क्यामेरा छिराएर सुस्तरी निहार्छु . उनी त निश्चिन्त उही हालमा ऐना अघि उभिएर सर्वाङ्ग निहार्नमा र आफ्नो सुन्दर रुपको अवलोकन गर्नमा अस्तव्यस्त रहिछिन्।

आहा! कति सुन्दर ! कति पूर्ण प्राकृतिक ! कति मनमोहक ! ती निर्वस्त्र जीउका सेता सुड़ौल अंगहरु ! कस्ती लबस्तरी उनी ! बाहिरबाट कसैले देख्छ भन्ने आशंका पनि नलागेको !!

जुन वस्तुलाई म यतिञ्जेल कल्पनालेमात्र देखिरहन्थें, त्यो चिजलाई ऐले म आँखाभरि, मनभरि, विपनाभरि यसरी छामिरहेछु, पिइरहेछु, भोगिरहेछु । सधैं बन्द रहने त्यो झ्याल, त्यो भेन्टिलेसन, त्यो पारदर्शि पर्दा सबै एकैसाथ खुल्ला छ आज । अचम्भ लागिरहेछ । आज नै मलाई पनि बाहिरतिर हेर्ने जमर्को चल्नु, कस्तो अपूर्व संयोग ! धन्य यो मेरो झ्यालको पर्दाको पारदर्शिता, जहाँबाट म त्यो उर्वशीको अपार सुन्दरता निहारिरहेछु । वाह ! त्यो झ्याल !! जसको त्यो उद्दाङ्गोपनाले मलाई धित् मर्नेगरि चक्षु-प्यास मेट्ने सौभाग्य मिलिरहेको छ । यतिबेला उनी अर्को सुक्खा कपड़ाद्वारा आफ्नो शरीरको माथिल्लो अंग पुछ्दैछिन् । पुन: उही सम्पूर्ण नग्नता । निर्मल प्रकृति !!!

अब बिस्तारै ढाकिंदैछ त्यो शरीर । कुनै वैगुनी रंगको पातलो कपड़ाले । छोपिंदैछ त्यो दृष्य । म जो अव्यक्त उत्तेजनाको त्यो चरमोत्कर्षमा पुगेको थिएँ हूँ , शनै शनै शान्त बन्दैछु । सम्हालिंदैछु ।

कस्तो असन्तुष्टि ! आगो जस्तो !!

कहाँ तिर्खा- कहाँ पानी (?)

अकस्मात उताको पर्दा डम्म ढाकिन्छ । म हुत्तिएर भित्रिन्छु। कसैले देख्यो मलाई? तत्कालै झस्किन्छु । अहँ ! मेरो बबुरो बाहेक अरु कोहि थिएन त्यहाँ । म विस्तारै वास्तविक्तामा झर्छु ।

बबुरो खेलिरहेछ बिछौनामा, आफ्नै धुनमा । टुलटुल मलाई हेर्छ, त्यो अबोध हेराईमा कुन्नि कस्तो उपहास देख्छु। बोल्ने हो भने पनि के के भनेर मलाई गिज्याउँदो हो या मेरो पोल उसको आमा सामु वृतान्त सुनाउँदो हो। म विश्वस्त छु, उ बोल्दैन, उबाट मेरो कर्तुतको उजागर संभव छैन । म स्वच्छन्द छु, कि म एकलै छु, मालती घरमा छैनन् ।

मीठो चिज खाए पश्चात मुखमा धेरैबेर स्वाद बसे झैं आँखाभरि ती रमाइला दृश्यहरु छिल्बिलाइरहेका के थिए, …उता बाहिर दैलो ढकढकिन्छ,… यता छोरो सुकसुकाउँछ । मालती नै आएको हुनुपर्छ; म छोरोलाई दुई हातले उचालेकै अवस्थामा सँधै झैं दैलो खोलेर फनक्क भित्र फर्कन्छु, बाहिरको आगन्तुकको पर्वाहै नगरी । दुई पाइला अघि बड़दै बाहिरबाट छ्न् छन् आवाज आउँछ-“ मे आई कम इन ?”

म झसंगै हुन्छु । झट्ट फर्किएर हेर्छु त… निलिमा ! दैलोको ठेली मै मेरो जवाबको प्रतिक्षामा उभिइरहेकी रहेछिन् । ‘ म भित्र आउन सक्छु?’ पुन: औपचारिक्ता निर्वाह गर्दै उनी एकाएक भित्र पसेर आउँछिन् । ‘दिदी हुनु हुन्न?’ अर्को प्रश्न थपिन्छ । म अवाक उभिइरहन्छु उनको त्यो अप्रत्यासित रुप निहार्दै । बलैले आवाज प्रस्फुटित भएथ्यो मेरो कण्ठबाट- ‘ अरे, ह्वाइ नट, प्लीज कम इन, मालती बजार गएकी छिन्’।

भर्खरै मैले उनलाई जुन अवस्थामा देखेको थिएँ अनि यति छिटो उनी साधारण श्रृङ्गार र त्यही वैगुनी पहिरनमा यहाँ आउनु कस्तो अत्यासलाग्दो स्थिति ! ‘मालती घरमा छैन जान्दा-जान्दै पनि, उनी किन झन झन नजिकिएर आउँदैछिन्?’ को प्रश्न सङ्गसङ्गै त्यो अपत्यारिलो संयोग पनि सृजित छ । म अवाक, नानी बोकि बोकि छेवैको पलंगमा बस्न पुग्छु । उनी झन के कम, नानीलाई जिस्क्याउने निहुँमा मेरो दाहिने पट्टिको सपाट ठाँउमा आएर बस्दै –‘ नानु के खाने ! चकलेट कि बिस्कुट ?’ भन्दै नानीको गालामा चपक्क चुम्बन खान मेरै काखमाथि घोप्टिन्छिन् । नानी रमाउँछ एक प्रकारले ।

यसो गर्ने उपक्रममा उनको भिजेको केशराशिले मेरो छात्तीदेखि मुन्तिरको भाग डम्म ढाकिन्छ अनि उनको नरम हत्केलाले मेरो फिलालाई सुस्तरि स्पर्श गर्छ । मलाई हुनसम्मको अप्ठेरो अनुभव भएकोहुन्छ साथै बन्छु अल्हादित पनि । भर्खरै शान्त बनेको मनस्थिति पुनः खल्बलिन्छ एकतमासले । शरीरका सबै सम्वेदनशील अंगहरु यतिबेला सचेत बनेर जुर्मुराइउठेकाछन् । म विचलित बन्छु अनि रोमाञ्चित पनि । उनको हातको त्यो तप्त स्पर्शबाट मेरो शरीरमा एककिसिमको विध्युतीय तरंग संचारित भएको छ । अञ्जानवश हुनसक्छ त्यो सामिप्य तर मलाई त यो साथ एकदमै अलौकिक लागिरहेछ । स्वर्गिक आनन्द झैं यो अद्भुत अनि अपूर्व छ ।

हामी बिचको त्यो क्षणिक सामिप्यको अवधिमा मैले उनको नारीशुलभ प्राकृतिक आकर्षणले भरपूर त्यो अमुक आग्रह अनुभुत गरिसकेकोछु । मालतीको भन्दा पृथक उनको त्यो शारिरिक वासनाले मलाई लालायित बनाइसकेको छ । चिसो नपुछिएको कपालबाट आएको त्यो महंगो सेम्पोको गन्धलाई पनि जित्ने तेजिलो उनको वाफिलो जीउको गन्धले मलाई उनीपट्टि लगातार आकृष्ट गराईराखेको अनुभव छ। मेरो यतिञ्जेल बाँधिएको मन र शरीर दुवै किन हो यतिबेला नचाहँदा नचाहँदै पनि उनीतिर शनै शनै खिंचिन्दै जाँदैछ । अर्को मनले यो सत्य स्वीकार गर्न मान्दैन । उ पर पर पन्छिन खोज्छ, उनी अझ नजिक नजिक टाँसिएर आउँछिन् । काखको नानी उनीसित निष्पाप इत्रिरहेछ । उनी उसलाई निर्मोह सहलाईरहेछिन् । म किंकर्तव्यविमूड़ उनको त्यो उन्मुक्त चञ्चलताको पराकाष्ठालाई मापिरहेछु । उनको कालो गहिरो आँखाबाट म उनको अव्यक्त चाहना विचारिरहेछु । क्षण-क्षणको अन्तरालमा म उनलाई घरि स्वप्नपरी, घरि बेहुली झैं पूर्ण श्रृङ्गारले सुसज्जित सुन्दरी अनि घरि एउटी साधारण निष्कपट सुशील नारी देख्छु । कस्तो पापी हेराई यी युगल आँखाको पनि … छि…! कि यो कलंकि मनको उद्वेलन हो या प्रगाढ़ चाहनाको भयावह संवेग …! स्वयंलाई नियन्त्रणमा राख्ने कोशिश जारि रहिरहन्छ । मेरो व्यक्तित्व …क्षणमा नौनी जस्तो क्षणमै ढुङ्गा जस्तो ।

आत्माग्लानिले नै हुनसक्छ यतिबेला मेरो अनुहारमा रक्ताम्मे लालिमा चड़ेको छ । मलाई लाज त नहुनु पर्ने हो। म यस्तो स्थितिमा पनि तर अवाक छु । आवाज कतै ऐठन परेर थिचिएको जस्तो छ । अव्यक्त भावहरु छात्ती मै गाँठो परेको स्थिति छ । एउटा कुनै इन्द्रिय छ, जो सजग छ, जसले उनको हरेक क्रियाकलापलाई सचेतताकासाथ प्रत्युत्तर दिने आँट जुटाउँछ र तत्काल जवाब दिन साहस भने गर्नसक्दैन । त्यही सचेत शक्तिको अटल विश्वास अनि भरोशामा मैले उनको त्यो प्रचण्ड ताप सहने घृष्टता गरेकोछु ।

उनको उन्मुक्त हाँसोले मेरो हृदय खिल्खिलाएको छ । आँखा, कान, नाक अनि त्वचा आदिको तिर्खा मेटिएको तृप्तिमा म हर्ष विभोर छु । अझ कुनै इन्द्रियको अपूर्णता र अतृप्तिको आभाश छ, जसलाई मैले बेस्मारि दबाएर राखेको छु । उनी मेरो अत्याधिक समीपमा छिन् तर उनीबाट म असाध्यै टाड़ा अनुभवमा छु । त्यो ध्रुवसत्यले म क्षत-विक्षत छु । उनी आउनु मेरो निम्ति अत्याधिक हर्कको कुरा होइन, मलाई ज्ञात छ । उनीबाट म छोइनु, उत्तेजित होइनु, उनको कुनै जाली उद्देश्य या चाहना कद्धापि होइन, म जान्दछु । तर पनि म उनको उपस्थितिमा किन यति रोमाञ्चित छु, अस्तव्यस्त छु, मलाई केही केही आभास छैन ।

बाहिर कोई आएको आहट सुनिन्छ, म त्रस्त बनेर नानीसंगै जुरुक्क उठ्छु । मानो मैले ठूलो गल्ति गरिराखेको छु जसबाट यथासम्भव जोगिने प्रयाशमा छु । दैलो, कतिबेला मैले ढप्काएँछु, ऐले हेर्दा छक्कै पर्दैछु । उँभो आउने सिंढ़िमा ठक ठक सेण्डलको आवाज लगातार चड़िरहेछ, म अत्तालिरहेछु । उनी पनि कुन्नि कुन संत्राशले हो उठेर अलग्गिन्दै , सरासर दैलो छेउ गइ उभिन्छिन् र दैलोको छिड़किनि लाउँछिन् । वास्तवमै दैलो ढकढकिन्छ । “मालती होला !!!” कण्ठबाट एकाएक अस्पष्ट स्वर प्रस्फुटित हुन्छ । बन्द दैलो बाहिरबाट घँचेटेको जस्तो लाग्छ अनि संग संगै “ सुरज दा! सुरज दा! दैलो खोल्नोस त छिटो, याँ हात गलिसक्यो झोलाले !” को आवाज आउँछ । “ ल हौ ल, के साह्रो अत्तालिएको हौ मिया-बिबी भेटिन, एकछिन बजारमै अलमलिन कस्तो नजानेको ! याँ सुरज सरसंग मलाई कस्तो मज्जा आउँदैथियो!!” छ्ड़के भावको मर्माहत शब्दले जिस्क्याउँदै दैलो खोल्छिन् उनी । उनीहरु त्यस्तै जिस्किन्छन् मलाई लिएर । मलाई कुन्नि किन मज्जा लागेर आउँछ त्यस्तो गलबाजी ।

घरभित्र पस्दै “ तिमी निलिमा! कैले आयौ ?” अनि दैलो बन्द गर्दै “के गर्दै थियौ मेरो सुरजसंग?” भनेर सोझै टोकेकी थिइ उनीलाई । यतिबेला मालतीको बोलीमा आडम्बरी लवज देखिएता पनि उसको अनुहारको हाव-भावमा भने त्यो कृतिमता पक्कै थिएन । “ बन्द कोठाभित्र दुई जवान स्त्री-पुरुष के गर्छन्, तिमीलाई किन भन्नु ?” चोटमाथि नुन-चुकको काम गर्दैथ्यो निलिमाको त्यो द्वेर्थी वाक्यले । म उनेरको सम्वाद सुनेर पनि नसुनेको अभिनय गर्दै नानीलाई सुताउने प्रयाश गर्दैछु । दुवै, एका-अर्कालाई यस्तै तीखा वाक्यहरुले कटाक्ष हान्दै भित्र किचनतिर सौदा खन्याउन जान्छन् । म चुप-चाप पछाड़िबाट त्यो स्थितिलाई सहजै सम्हाल्न सक्ने नारीमनको त्यो सहनशिलतालाई मालतीको भावभंगीमा निहार्छु ।

बेलुकी ओछ्यानमा घुस्रिन्दै गर्दा मालतीले यति रोष पोखाएकी थिई “ तपाईंहरु दैलो थुनेर चैं के गर्नुहुँदैथ्यो, भन्नु होस त? अनि त्यो नक्कचरी चैं म घरमा नभा’को बेला याँ आउने के काम थ्यो?”

मैले पनि ओठे जवाब फर्काएको थिएँ, हपार्दै “म के जान्नु, उसैलाई बोलाएर सोधन, दैलो पनि उसैले बन गरेकी थिई क्याहो, म त नानी सुताउँदै थें, तिमी आउँदै गरेको थाहा पाएर तिमलाई गिज्याएको होला । बोल्ने बेलामा चैं जिस्किन्दै बस्छौ, ऐले निहुँ खोज्छौ ? “

कोठाको बत्ती निभिसकेकोले मैले मालतीको त्यो झरिलो रापिएको अनुहार स्पष्टसंग देख्नै सकिन । कस्तो जलन थियो त्यो छात्तीभित्र, कुन सम्झौताको पानीले छ्यापछुप निभाइन् त्यो उग्र चाप, त्यो झरिलो भुभ्रो कहाँ छुपाइन् मैले छनकसम्म पाइन । रातको शुन्यतामा हामी यसरी आ-आफ्नो अड़ानको सिह्रानीमाथि भिन्न भिन्न विचारको मन्थन गर्दै एउटै ओछ्यानमा ओल्टे-कोल्टे परिरहेछौ , न उनलाई थाहा छ, न मलाई नै ।

रात निकै छिप्पिएपछि उनको उता फर्किएको रुष्ठ जीउमा सार्थक प्रतिक्रियाको याचना सहित अधिकारले छोइएको मेरो हात दिक्क भावमा पर-परै पञ्छाइएपछि कुन्निकस्तो क्षोभले घिस्याएर अथाह गहिराईमा तान्दै लगेको आभास भयो मलाई। मोहभ्रमित मेरो चाह अझ शिथिल बनिसकेकोले थप प्रयाश गरिरहिन । कतिबेला भुसुक्कै निदाएँ बिहान अबेर भैसक्दा मात्रै खुलेको थियो आँखा ।

O

बिहानको नौ बजेको छ । मालती अफिस गइसकेकीछिन । अब म पूर्णतया स्वतन्त्र भएको छु । विगत मेरो निम्ति बिर्सन नसकेको सपना जस्तो अलि अलि स्मरणमा छ । काम गर्ने काली केटी भागेर हिंड़ेकीले म दश पन्ध्र दिनको आवस्यक छुट्टिमा छु, नानी स्याहार्नको निम्ति । अर्को केटी नपाउञ्जेल पालो पालो छुट्टि बस्ने योजना छ हाम्रो । तसर्थ म घरमा छु ।

म ऐले फेरि झ्यालको पारदर्शि पर्दा मुसार्दै छु । दुई पर्दाको माझबाट आँखाको ज्योति छिर्ने सानो ठाँउ बनाउने कोशिश गर्दैछु, यत्नले । निकै लामो प्रयाशपछि उपयुक्त एउटा आँखिझ्याल बनिएको छ, जहाँबाट सोझै उतापट्टिको झ्याल प्रत्यक्ष देख्न सक्छु म ।

निलिमा नोकरी गर्दिनन् । उनी घरबाट बाहिर जान्नन्, भनेपछि मलाई पूर्ण विश्वास छ, त्यो झ्यालबाट आज पनि ती मनोरम छ्टाको दृश्यावलोकन हुनेनैछ । छिटो छिटो छोरोलाई कोक्रोमा हालेर बेस्मारि हल्लाउँछु । यसो गर्नुमा मेरो अव्यक्त स्वार्थ छ । सुत्दैन उ, बरु चनाखो भएर यता उता हेरिबस्छ । कन्सिरि तात्तिएर आउँछ, संयम राख्छु । मलाई भने हतार छ । एकटक लगाएर बिरालोले शिकार रुँगे जसरी त्यो आँखिझ्यालबाट चिहाउनु छ उतापट्टि । छोरो सुत्नु मेरो निम्ति अति नै सुगम हुनेछ । मेरो कोठाको चकमन्नताले निलिमाको मनस्थितिमा स्वच्छ्न्दताको वातावरणको श्रृजना हुनेछ अनि उनी हिंज झैं निष्फिक्रि, खुला झ्यालभित्रको बन्द कोठामा एकलै आफ्नो नाङ्गो शरीरको सुन्दरता ऐनामा निहार्ने छिन्, यताबाट म उनीलाई !

निरन्तर प्रयासपछि सुताउन सफल बनें म मेरो प्यारो बबुरोलाई । त्यो सुत्यो ; मेरो अर्को अध्याय शुरु । कुनै खेल प्रेमी आफ्नो प्रिय खेल हेर्न व्याकुल बने झैं म आतुर छु त्यो सानो आँखिझ्यालबाट उता चिहाउन । ती दुई पारदर्शी पर्दा माझबाट निकै परिश्रमले बनिएको त्यो आँखिझ्याल ! त्यसको त्यो क्षुद्र आयतन मेरो निम्ति सर्वस्व छ यतिखेर । मेरो मन, मश्तिष्क, शरीर अनि इन्द्रियहरु सबै व्याकुल छन् । मालती घरमा छैनन्, नानी निदाएको छ त समय यथोचित छ म जान्दछु । मुटुको धड़कन बड़दैछ्। आफ्नो वशमा छैन स्वासको तीव्रता पनि । विस्तारै झ्यालतिर बड़छु । जो बनिएको शुक्ष्म छिद्र छ त्यो मेरो संसार अवलोकन गर्ने नेत्रद्वय बराबर छ । ध्यानमग्न भई त्यो आँखिझ्यालबाट हेर्छु पल्लोपट्टि।

ओहो ! तर आज भने उतापट्टिको झ्याल त डम्मै ढाकिएको छ, उही पारदर्शि पर्दाले जुन हिंजो सर्वांग खुला थियो । खोलिन्छ्… अब खोलिन्छ…को आशै आशमा घण्टौं कुरिरहें, निर्निमेष उता हेरिरहें । हेरिरहें ।

अहँ… खोल्दै खोलिएन त्यो पर्दा, मन्द हावाको झोंकालेसम्म हानेन त्यसलाई । किञ्चित हल्लिएन पनि त्यो । न भित्र कसैको चहल पहलको आभास दियो त्यसले । तर पनि कस्तो मोह यो ? पल्केको छु म । त्यस्तो मनोरम दृष्यावलोकन गुमाउन कहाँ चाहन्छ र कसैले पनि ! तसर्थ, आज पनि उही प्रकृतिको सुन्दर प्रतिरुप देख्छु कि आशै-आशमा हेरिरहन्छु, हेरिरहन्छु, हेरी नै रहन्छु म; ………।

त्यतिबेलासम्म ………; भित्र किचनमा ग्यासमाथि बसाइएको नानीको गिलो भात डड़ेर खरानी बनिसक्दासम्म… कालो धुवाँले सारा घर ढाकिसक्दासम्म… भातसंगै भाँड़ा पनि औधि जलेर मुनिको भाग बिलाएर भूईंभरि चुहिसक्दासम्म …म हेरिरहेकै हुँदोरहेछु………। एकाग्र …। एक्लो…। नितान्त एकचित्त … … म चिहाइरहेकै हुँदोरहेछु… !!

एकैचोटि बाहिर जोड़ जोड़ले दैलो ढकढकिन्छ… म झस्संगै झस्किन्छु… अत्तालिएर उठ्छु । छिटो छिटो त्यो सानो आँखिझ्याल एउटा हातले खल्बल्याएर नचिनिंदो बनाई दौड़ेर दैलो छेउ आइपुग्छु । अझै दैलो उस्तै घच्घचिरहेछ । हड़बड़ाउँदै छिड़किनि आग्लोबाट खुस्काउँछु । दैलो ह्वात्तै ठेलिएर खुल्छ । दैलो खुल्नसाथ मलाई नै ठेलठाल पारेर निलिमा भित्रिन्छिन् अनि सोझै कोक्रोमा निदाइरहेको बबुरोलाई काँधमा बोकेर मेरो छेउ आइपुग्छिन् । रूँदै गरेको नानी मेरो हातमा फ्यात्त फालिराखेर हत्तारिंदै किचनभित्र पस्छिन् अनि कुन्नि के गरिराखेर चेतावनी चिच्याउँदै बाहिर आउँछिन् …” आज चैं तपाईंलाई मालती दिदीले मार्नुहुन्छ, सुरज सर…! कस्तो बेहोशी मान्छे तपाईं !! ग्यासमा के बसाउनु भा’को थ्यो? घरभरि धुवाँ भरिएर बाहिर मुस्लो निस्किसक्दा पनि मस्त घरभित्रै निर्धक्क बसिरहन सक्ने कस्तो लापर्वाह मान्छे तपाईं ? … हेर्नोस त घरको हालत!! कसो…??”

अझै के के झरिलो बर्बराउँदै थिइन् निलिमा, मैले ध्यानै दिइन त्यता । म त आँखाको प्यासी जिब्रोले उनको त्यो सौम्य मुहार छिटो छिटो वेपर्वाह चाटिरहेको थिएँ… । अनवरत प्रतिक्षाको उष्ण रापले जलेको हृदयलाई शान्त गराउन उनको गाला, ओंठ, गला, छात्ती, कम्मर, फिला, पाईंताला अनि औंलाहरु मनको ओंठले बेवास्ता चुमिरहेको थिएँ … ।

त्यो अनियन्त्रित उन्मत्तताले प्रभावित बौलाहापनको आवेशमा स्वयंबाट कुनै अपराधिक घटना घट्न नपावोस, यति सतर्कता राख्दै, झिनो सचेतनाको नरम हत्केलाले अवचेतनताको अनर्गल उन्मादलाई सुस्तरी सुस्तरी थुमथुम्याउँदै थिएँ । आगो जो दन्केको अवस्थाबाट शनै शनै निभ्दै गयो । शान्त…शान्त…शान्त … !


घरभित्र रुमलिएको धमिलो धूँवा दैलोको खुला आयतनबाट मुस्लोको मुस्लो बाहिर निष्काशित हुँदैरहेछ, मैले निकैबेरपछि मात्र चाल पाएँ… ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु