बाउआमाको बिहे

- नम्रता गुरागाईं

हप्ताभरीको टाइमकार्ड बुझाउन के पसेकी मात्र थिएं – हेर्न एउटा बिहेको पार्टीमा भर्जिनिया जानुपर्ने कपाल कस्तो बनाउने कस्तो कन्फयुज भइराखेकी छु, एउटा मलाइ सुहाउने छानिदेन भन्दै लिसाले हेयर स्टाइलका लिस्टहरु भएको कम्प्युटरको स्क्रिन मतिर तेस्र्याइ । एकछिन हेरें ति लिस्टहरुलाइ र निकै जान्ने पल्टेर माथि जुरो बनाएको देखाएर यो बनाए हुन्न..? भनिदिएं । त्यो त कति सजिलो... कति चोटी बनाइसकें मैले, यो पल्ट नयां बनाउन मन लागेर पो सोधेकी त..? त्यसोभए पार्लर जा न त, उनिहरुले तंलाइ सुहाउने बनाइदिइहाल्छन नि... भनिदिएं । अं... कति महंगो हुन्छ पार्लरमा ...? म एकचोटी गएकी कति तिरें गेस गर त....? मैले यतिकै ५० डलर...? भनिदिएं । उसले तुरुन्तै १०० डलर तिरें नी.. अरुपनि एक दुइटा काम थियो, त्यसपछि त म यु टयुब हेरेर आफै बनाउन थालें भन्दै उसले आफनै लामो कपाल खेलाइरही । हेयर स्टाइलहरु हेर्दै घरी उ आफनो कपाललाइ माथि लान्छे त घरी तल झार्छे, घरी जुरो बनाउछे त घरी फुकाउछे ।

मेरा आंखापनि लिसालाइ छानीदिने निहुंले ति स्टाइलहरुमा गइराखे । भित्रि मनले थुक्क तं कहिल्यै सबैकुरा मिलाएर हिडन जानिनस गोज्यांग्री भनेर मलाइ गाली गर्यो । हुनपनि हो लिसाले जस्तो ल्पान गरे पो सबै कुरा गर्न भ्याइन्छ । राम्रो हुन त सबैलाइ मन लाग्छ नी हैन र ? तर पार्टीमा जाने बेलामा सारी खोज्यो । बल्लबल्ल मन परेको सारी भेटियो भने त्यसको ब्लाउज नमिलेर कत्रो टेन्सन । ट्राइ गरेर फाल्दा फाल्दा बल्लबल्ल एउटालाइ मिल्ने बनाएर हतार हतार लाउंछु । सारी त लाएं अब त्यसलाइ मिल्ने चुरा, ब्याग र चप्पल भेटिएलान त..? ठ्याक्कै मिल्ने नभेटिएन के भो त...आजलाइ भइहाल्छ नि, अर्को पार्टीमा चाहिं मिलाएर लाउंछु भन्दै हिडछु । अर्को नयां पार्टी त आइहाल्छ, आफनो गती भने उस्तै । अझ अफिसको मिटिङ्गमा बस्दा आधा नङ्गपालिस भएका हातका नङ्ग देखिन्छन कि भन्ने कत्रो जगजगी । अरुचाहिं आफनो छुटटीलाइ शरिर राम्रो बनाउन प्रयोग गर्छन र अफिस जांदा चिटिक्क परेर आएका देखिन्छन् । आफूचाहि लगाएको नङ्गपालिससम्म आधा पारेर पुग्छु । के म नङ्गपालिसम्म लाउन भ्याउदिन त छुटटीमा...? मैले एकछिन आफनै हेलचेक्राइलाइ मर्नेगरी गाली गरें ।
लिसाचाहिं कुनै छानीदेली कि भनेर मलाइ हेर्दिरहिछ म भने कपालका स्टाइलहरु हेर्न निहुंमा काहां पुगेछु काहां । यसले मलाइ सुहाउंला त...?सांच्चै भन् त..भनेपछि पो म झसंग भएं । निकै गहिरिएर हेरेजस्तो गरेर तुरुन्तै सुहांउंछ....मलाइ बिश्वास गर । राम्रा मान्छेलाइ जे ले पनि सुहाइहाल्छ नि, भन्दै थोरै हावापनि हालें लिसालाइ । उ झन खुशीले गमक्कै फुली । उसको कोठामा बसेको धेरैबेर भएकोले म जानलाइ हतारिएं । ए... पख त ...म दुइ दिन आउंदिन, तंलाइ केही चाहिएको छ भने भनिहाल् भनी । उत्तरमा छैन.... आएर कुरा गरौला भनेर म उसको कोठाबाट बाहिरिएं ।
लिसाले भनेको दुइदिन मपनि आफनै काममा ब्यस्त भएंछु । दुइ तिनवटा बिभागको एकैचोटीको कामको अनुरोधले मैले टाउको उठाउने समय पाइन । तिमध्ये पुलिस बिभागको एउटा । उनिहरुको काम जहिलेपनि पहिला र चांडोभन्दा चांडो सकेर पठाउनु पर्ने हुन्छ । म त्यसैमा ब्यस्त भएं । पुलिस बिभागको अनुरोध पुलिस इनिस्पेक्टरहरुको कामको एरिया बिभाजन रहेछ । हेर्दा अप्ठयारो नलागेको नक्शाले नराम्ररी समय खायो । सानु कुरा नमिल्दा हाकिमको प्रेशर आफैलाइ बढेजस्तो भयो । बल्लबल्ल मिलाएर पठाइदिएं । दुइदिन पत्तै नपाइ बितेछन ।
दुइदिनपछि फेरी मैले लिसालाइ संझिएं । अब त पार्टीबाट फर्किहोली । पार्टीमा कसैले तंलाइ यो
स्टाइलले सुहाएन भनेका रहेछन भने चाहिं के भन्ने होला भनेर संझिदैथिएं । उ मेरो कोठामा टुप्लुकै आइपुगी ।
म फर्किसकें नी....मैले तैले भनेकैजस्तो कपालको स्टाइल बनाएं । सबैले राम्रो भयो भने...यी हेर त.... भनेर फोटो देखाइ ।
अरुलेपनि राम्रो भनेको सुनेर मपनि ढुक्क भएं । मेरा अांखा हतार हतार फोटोमा गए । सेतो ड्रेसमा त्यो कपालको जुरो लिसालाइ सांच्चै सुहाएको रहेछ । देखिस मैले भनेको होइन...? भन्दै नाक फुलाएं मैले । उसले त झन घिरौला जत्रै पारेर फुर्सदमा मेरो कोठामा आइज ल म अरु फोटो देखाउछु भन्दै हिंडी । उ हिंडेपछि म आफनै काममा लागें । लन्च टाइममा कोठामा छेस भने खुत्रुक्क इमेल खसालेको उसले तुरुन्तै छु, आइज भनेर रिप्लाइ गरेकिले म जुरुक्क उठें ।
कोठामा पस्नासाथ फेसबुकमा लग इन गरेर बिहाको फोटाहरु देखाइ । डोलो अनुहारकी काली काली अल्गी लिसालाइ सेतो ड्रेसले सांच्चै सुहाएको रहेछ । मानौ त्यो बिहेकी बेहुली त लिसा नै हो । एकछिन लिसाको ठाउंमा आफू उभिएको कल्पना गरें । मलाइपनि पो सुहाएछ त्यो डे्रसले त । फोटो हेर्दाहेर्दै लिसाको जस्तै ड्र्रेस पो किन्ने भएं एकैछिनमा । उ फोटोमा भएका मान्छेहरु चिनाउदै गइ — यो मेरो फियान्से (विहे गर्नलाइ मनपराएको मान्छे), यो अर्कोचाहिं उसको भाइ हो, उसकै बिहेमा गएकि नी म... ।
भाइले त बिहे गरिसकेछ त दाजुले कहिले गर्छ रे नि....? मैले हास्दै लिसातिर प्रश्न फालें । अं...कसैले फालेको बिवाह पेटीचाहिं समातिसक्यो उसले(वेडिंङ्ग बेल्ट– बिबाहयोग्य केटाले कसैले माथि फालेको बेल्ट भेट्टायो भने आंफैले म अब बिबाहयोग्य भएं भन्ने चलन र त्यो बेल्ट भेट्टाउनेले एकवर्ष भित्रमा बिबाह गर्नुपर्छ भन्ने अमेरिकी बिश्वास) । मलाइपनि केटीहरुले माथि फालेको फुलको गुच्छा समात्न जा भन्दै थिए तर म त गइन । म त सक्दिन यत्रो मंहगो बिहे गर्न, लिसाले हास्दै उत्तर फर्काइ ।
मेरा आंखा फेरी फोटैतिर गए । अर्को फोटो नवबिबाहित जोडीको रहेछ । नयां जोडीको फोटो देखाउदै यिनिहरुले धेरै पैसा खर्च गरे बिहाका लागि । कस्तो महंगो होटल । म त यत्रो खर्च गरेर अहिल्यैदेखि लोनमा फस्दिन । मेरो जागिरले भ्याउंछ त यति महंगो बिहे गर्न...?भन्दै लिसाले अलिकति चिन्ता मसंग बांडी । तेरो फियान्सेले गरिहाल्ला के भनेकि मात्र थिएं, अं.... कहां उसले मात्र गर्नु नी....? मैलेपनि खर्च गर्नुपर्छ । ठुलो खर्च हुंदा धेरै समय लाग्छ तिर्नलाइ भनेर अलिकति भविष्यको चिन्तापनि गरी ।
लिसाले साना केटाकेटी नाचेको भिडियोपनि लिन भ्याएकी रहिछ । भिडियोमा मैले उसकी छोरीलाइ खोजें । कहिलेकाहिं अफिसमा उसले छोरीलाइ ल्याएको दिन मलाइ भेटाउन ल्याउथी र मैलेपनि राम्ररी चिनेकी थिएं लिसाकी छोरीलाइ । फोटोमा नदेखेर खोइ त छोरी भन्दा ल्याइन.... उसलाइ आमासंग छोडेर गएकी थिएं । पार्टीमा केही कुरा उनिहरुले भनेजस्तो भएन भने पार्टी नै बरबाद पार्छन बच्चाहरुले कहां लानु...? बच्चाहरुको बिचमा ५,६ वर्षको एउटा केटो जीउ छाडेर नाच्दैरहेछ । ए...यो सानो केटो चिनिनस होला हगी...? उ ति ग्रुम(बेहुला) र ब्राइड(बेहुली) त्यसैका बाउआमा हुन । फुर्सदमा बिहा गरेका रे उनिहरुले । त्यही भएर बाउआमाको बिहेमा धेरै खुशी भएर नाचेको रे ।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु