आमिलको एक फन्को

- अरुणबहादुर खत्री “नदी”

समकालीन निबन्ध, नियात्रा, र संस्मरणलेखनमा समेत स्थापित भइसकेका क्रियाशील स्रष्टा युवराज नयाँघरेको “आमिल” नामक निबन्धसङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ३८ वटा निबन्धहरु रहेका छन् । उनको पहिलो संयुक्त निबन्धसङ्ग्रह २०५४ सालमा प्रकाशित भएपछि मुहुर्तको निबन्धसङ्ग्रह र मखुण्डाको मन निबन्धसङ्ग्रह २०५५ सालमा, काठमाडौंलाई कोर्रा निबन्धसङ्ग्रह २०५८ सालमा, नीलडाम निबन्धसङ्ग्रह २०६१ सालमा, अनाम पहाडमा फनफनी निबन्धसङ्ग्रह २०६२ सालमा, एक हातको ताली निबन्धसङ्ग्रह २०६५ सालमा, स्वाहा निबन्धसङ्ग्रह २०६८ सालमा र हरियो राहदानी निबन्धसङ्ग्रह २०६९ सालमा निस्केको थियो । लामो समयदेखि साहित्यिक लेखनमा सक्रिय रहेका साहित्यप्रेमीहरु माझ चर्चामा आएका युवराज नयाँघरे नेपाली साहित्यका पाठकमाझ परिचित लेखक हुन् । बौद्धिकता र एकोहोरो प्रस्तुतिले निबन्ध पाठकहरुको दृष्टिमा बोझिलो विषय मानिन्छ । तर सामयिकता, फरक शैली, रोचक प्रस्तुति र ससाना कलात्मक वाक्यहरुको संयोजनले निबन्ध पठनीय पनि हुन्छ भन्ने कुरालाई निबन्धकार युवराज नयाँघरेले साबित गरिदिएका छन् । नयाँघरेको २०६५ सालमा प्रकाशित निबन्धसङ्ग्रह एकहातको तालीले मदन पुरस्कार पाउन सकेको थियो ।
यस सङ्ग्रहका सबै निबन्धहरु नयाँघरेका भावनात्मक उत्कृष्टताका नमूना हुन् । यस सङ्ग्रहभित्रका निबन्धहरु सरल भाषामा लेखिएका छन् । नयाँघरेका निबन्धमा सरल र शुद्ध नेपाली भाषाको सहज, सरस र स्वाभाविक प्रयोग गरिएको छ । युवराज नयाँघरे कसैको पछि लाग्दैनन् र पनि अनाकर्षित छैनन् । जिज्ञासु र सचेत छन् सबैको प्रति । उनका निबन्धहरु निकै सरल छन् । भाषामा सरलता र प्रस्तुतिमा रोचकताको कारण नयाँघरेको निबन्धहरु पढ्दा कुनै बेला पनि असजिलो महसुस हुँदैन । निबन्धको लेखनक्षेत्रमा स्थापित हुन पुगेका नयाँघरे निरन्तर निबन्ध, नियात्रा सिर्जनामा एकछत्र आफ्नो लेखनकलाको वर्चस्व राख्दै नवीनता तिर उन्मुख छन् । नयाँ भाव, नयाँ भाषा, नयाँ शैली र नयाँ समाजको परिकल्पनामा उनले आफूलाई क्रमबद्ध रुपमा साधनारत तुल्याएको कुरा उनले लेखेका निबन्ध र नियात्राको चर्चा ख्याति र सामाजिक स्वीकृतिलाई मान्दछौं । उनका निबन्ध पढिरहदा पाठकहरुले नयाँघरेका अनुभूतिहरुलाई आफ्ना अनुभूतिसँग एकाकार गर्न सक्छन् र निबन्धले उठाएको विषय र सन्दर्भलाई सहज रुपमा बुझ्न सक्छन् । आमिल छोटा, छरिता र सजिला सत्य घटनामा आधारित निबन्धहरुको सङ्ग्रह हो । यसभित्र हामीले बाँचिरहेको यही समय र यही समयमा भइरहेका घटना–परिघटनाहरु छन् । यस सङ्ग्रहभित्रको हत्केलाको अक्षर शीर्षकको पहिलो निबन्धमा निबन्धको पात्र दिलमायाले फोनमा लामो सास फेरी कृष्णकला त्यसपछि उसले मेरो पासपोर्ट माग्यो । मैले पनि खुरुक्क दिएँ । कारमा हालेर मलाई एउटा गाउँ जस्तो ठाउँमा पु¥यायो भनिएको छ ।
फिरमानेलाई फिरीफिरी शीर्षकको निबन्धमा युवतीले सानो कागजमा केही टिपी अनि भनी फिरी भिसाका लागि मात्र पन्ध्र हजार दिनु पर्ने भयो फिरमानेले नयाँ नयाँ नोट गनेर दियो । छिटो छिटो नोट छुट्याउँदा दुर्ई वटा त चिप्लेर भुइँमै खसे भनिएको छ । हरिगोविन्दको गफ शीर्षकको निबन्धमा हरिगोविन्दले हतार हतार गरी आफूलाई लम्कायो । ऊ पाँच पाइला अगाडि पुग्यो र फेरि हाँस्यो भनिएको छ । यार्लिङकोे सपना शीर्षकको निबन्धभित्र मेरो घर वरिपरि रुखबिरुवा धेरै छन् । तिनमा फूल धेरै लाग्छ रसिला फल झन् धेरै लाग्ने गर्छन् । त्यहाँ त मौरी पालन पो गर्नुपर्ला नयाँघरेले लेखेका छन् । बुहारी आए नौला शीर्षकको निबन्धमा प्रेमलालले युवतीलाई इण्डोनेशियाको कपडापसलमा भेटेको बारेमा लेखिएको छ । नरिभानको कुदाकुद शीर्षकको निबन्धभित्र नरिभानले ओभरटाइम काम गरे पनि ऊ शनिबार कुनै पनि काम गर्दैन आफ्नो लागि भनिएको छ । युवराज नयाँघरे भविष्यको अज्ञात समयतिर भन्दा विगतका परिदृष्यहरुलाई नै चित्रमय बनाउँछन् । जसको स्वरुपले प्रस्तुत कृतिको मान्यतालाई ठाउँठाउँमा उजागर गर्दछ, जसलाई यस कृतिको प्रमुख विशेषताकै रुपमा लिनुपर्दछ । नयाँघरेभित्र रहेको अथाह ज्ञानभण्डार, जीवनको अनुभूति र भोगाइ तथा उकाली ओराली छाम्न, छुन अनि हेर्न प्रस्तुत कृतिले पाठकलाई मनग्गै सघाउँछ । विषयवस्तु, भावप्रवाह र शैलीकौ विविधता उनको रचनामा देखा परेको छ । अनौपचारिक लाग्ने शैलीमा जीवनवादी मार्मिक सन्दर्भहरुले गर्दा आमिल निबन्ध सङ्ग्रहको तौल गरुङ्गो भएको छ ।
नयाँघरेले यो सस्ंमरणात्मक निबन्धहरुमा आफू लगायत अनेक व्यक्ति र तिनका परिस्थितिहरुको मार्मिक संयोजन गरेका छन् । यिनले लेखेका निबन्धमा भाषा र भावको सुन्दर नृत्य छ । उनी छोटा छोटा वाक्य तथा वाक्यांश मार्फत जीवनका सन्दर्भलाई कोट्याउने, काव्यात्मक बिम्बको झलक दिने शब्दहरुको संयोजन गर्ने तथा पाठकलाई ताल्ने खालको कलात्मक वाक्य प्रयोग गरी निबन्धकौ प्रारम्भ गर्छन् । राहदानीको तस्बीर शीर्षकको निबन्धमा पासपोर्टको फोटो हेरेर निकै वाल्ल प¥यो बिर्खबहादुर भनिएको छ । आमिल नयाँघरेद्वारा नवीन गद्यमा बैदेशिक रोजगार बिघटित सामाजिक संस्कृति र अन्यौलपूर्ण समकालिन नेपाली युवा जीवनशैलीको सुक्ष्म शल्यक्रिया गरिएको कोमल गै¥ह आख्यानमुलक कृति हो । नयाँघरेले यस सङ्ग्रहभित्रका निबन्धहरु हृदयको आदेशमा र मनको आग्रहमा कोरेका छन् । निबन्धहरुमा उनी आफ्नो चिन्तन एवं जीवनदर्शनलाई अभिव्यक्ति दिन निकै आतुर देखिएका छन् तर त्यसका लागि गहु्रङ्गा–गहु्रङ्गा प्रसंगमा छिर्न भन्दा पनि सामान्य सन्दर्भहरुलाई नै आफ्नो बिचार ओछ्याउने आधार रोज्न रुचि देखाएका छन् उनले । यसले गर्दा असम्प्रेष्यताको समस्याबाट मुक्त छन् उनका यी सबै निबन्धहरु । भुइँचालो भुइँचालो शीर्षकको निबन्धभित्र आँखाभरी आँसु पार्दै खेमलाल चौधरी आइपुग्यो उसले बाटैमा सुनेको थियो राजबिराज त माटैमा मिल्यो रे भनिएको छ । यस कृतिभित्र रहेको खोई नाम शीर्षकको अन्तिम निबन्धभित्र नेपाली चोकमा भेटिएका बाबुराम, रामनरेश, शिवप्रसाद र भैरवानाथ क्वार्टरतिर फर्किरहेका थिए । उनीहरु एकै समूहमा नौ वर्षअघि यता छिरेका हुन् भनिएको छ ।
भाषामा रफ्तार छ नयाँघरेको । सहानुभूतिले भिजेको यो निबन्धसङ्ग्रहमा भने निबन्धकार नयाँघरे डुलेको देखिन्छ । यस निबन्धसङ्ग्रहभित्रका विषयवस्तु र तथ्यले नेपाली समाजको एउटा स्केच दिन्छ, जसमाथि समाजशास्त्रीहरु आ–आफ्नो विश्लेषणको गाढा रंग भर्न सक्छन् । समाजशास्त्रीय अध्ययनले हजारौं वर्ष पूरानो समाज र पात्रसँग पनि संवाद गर्न सक्छ, तथ्यलाई टेकेर ।
अन्त्यमा पाठकहरुले यो निबन्धसङ्ग्रह पढ्न नछुटोस् भनि शुभकामना दिन चाहन्छु । यो निबन्धसङ्ग्रह मैलै एकहप्ता लगाएर नरोकिएर पढी सिध्याएँ । अन्य पाठकले पनि यसै गरी पढ्ने कामना गर्दछु । १९२ पृष्ठको यस कृतिको प्रकाशक रोजगार मिडिया प्रा.लि. हो र मूल्यः रु.३५०।– राखिएको छ ।

सामाखुसी मार्ग, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु