पहाडको झरनामा निथ्रुक्क डीआर शर्मा

- राजेन्द्र पहाडी

डिल्लीराम शर्मा उर्फ डीआर शर्मा पर्वत जिल्लाको साहित्यिक गतिविधिमा अक्सर सुनिइरहने नाम हो । जिल्लाको आरथर डाँडाखर्क–९ मा विसं. २०२३ सालमा पिता भवानीप्रसाद शर्मा र माता रञ्जतादेवी शर्माको कोखबाट जन्मिएका शर्मा जिल्लामा क्रियाशील सर्वाधिक पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमको सचिव पदमा रहेर नेपाली बाङ्मयको सेवामा तल्लीन छन् । लामो समय शिक्षण पेशामा रहेका यिनले पछिल्लो समयमा आफ्नै व्यवसाय सञ्चालन गर्दै साहित्य सिर्जना र समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गराइरहेको देखिन्छ । कथा, लघुकथा, कविता र मुक्तक लेखनमा रुची राख्ने स्रष्टा शर्माले पहिलोपटक आफ्नो गजल सञ्चयन ‘पहाडको झरना’ पुस्तकाकाररुपमा बाहिर ल्याएका छन् ।

विविध विषय प्रसङ्गमा रचना गरिएका जम्माजम्मी ९१ वटा गजलहरु सङ्ग्रहित यस सञ्चयनले पाठकलाई जीवनका विभिन्न पाटापक्षहरुको रोचक, घोचक र मार्मिक ढंगले रसास्वादन गराउँछ । स्रष्टा डीआर शर्माले यस गजल सङ्ग्रहमा मानव जीवनका पेचिला सवालहरुलाई काव्यात्मकता दिएका छन् । उनका गजलका शेरहरुमा अतुल सम्भावनाका बुलबुल देख्न पाइन्छ भने दुःख, पिर, व्यथा, पीडा, दर्द र आर्तनादका गुम्फनहरुसँग परिचित हुन पाइन्छ । सञ्चयनभित्रका अधिकांश गजलहरुले मानव जीवन दर्शनको सामयिक आलोकलाई प्रकटिकृत गरेकाछन् । सत्य, निष्ठा, इमान, जमान र वैभवका पक्षमा यिनका गजलले हार्दिक वकालत गरेकाछन् । गजलहरुमा उज्यालोको खोजीलाई इमान्दारिपूर्वक उठाइएको छ भने अन्धकारको विपक्षमा निर्भिक आवाज बुलन्द गरिएको छ । गजलहरु सिनित्त बगेका छन् । सामान्य र बोलीचालीका शब्दहरु प्रयुक्त भएकाले गजललाई सामान्यभन्दा सामान्य पाठकले पनि सहजै बोध गर्न सक्ने सहजता छ ।

सरल शब्द चयन, मिठासपूर्ण सन्देश प्रवाह, मनग्राही विषय प्रक्षेपण र सरस प्रस्तुती गजल सञ्चयनको खास परिचय बनेको छ । गजलहरुमा स्रष्टा डीआर शर्मा नेता–अभिनेता, शासक–शासित, मालिक–नोकर, शहरबासी–ग्रामबासी, प्रेमी–प्रेमिका आफै बनेकाछन् र जीवनलाई जीवनजस्तो तथा देशलाई देशजस्तो बनाउन सतत् आव्हान गरेकाछन् । आफ्ना गजलहरुमार्फत सर्जकले समाज सुधारका कुरादेखि राजनैतिक शुद्दीकरणकासम्मका कुरा उजागर गरेकाछन् । प्रणय, माया, प्रेम, मिलन, बिछोडलगायत मात्र उनका गजलका सरोकारका विषय होइनन्, बरु उनी राष्ट्र, राष्ट्रियता, जनजिविका, सहअस्तित्व, स्वतन्त्रता, भ्रष्टाचार, महङ्गी, बेरोजगारी, वेथिति, कुरीति, अनियमितता, अन्याय, बेइमानी, धुत्र्याइँ आदीसम्मका विषयवस्तुमा विस्तारित भएकाछन् । सर्जक शर्मा धौलागिरि शिखरको काखमा पर्वत जिल्लाबासी हुनुमा गर्भ गर्छन् यसरी– ‘‘ धौलागिरि हिमालमुनि प्रितीको गीत गाउँछौं हामी, शान्ति बोकी प्रभातमा घरदैलो आउँछौं हामी’’, ‘‘पूर्व सेतो मोदीखोला पश्चिम काली बगेको छ, भिरपाखा हरियाली पर्वतमै रमाउँछौं हामी’’ ।

डीआर शर्माका गजलमा प्रकृतिका कुरा छन् अनि संस्कृतिका कुरा पनि छन् । सुन्दर, सुरम्य प्रकृतिको बखानमा यिनी जति मोहित भएर लागेकाछन् साँस्कृतिक सन्दर्भ तथा सवाललाई पनि यिनले उत्तिकै महत्वकासाथ प्रष्फुटन गराएकाछन् । आञ्चलिकताको बान्कीलाई पनि यिनले आफ्ना गजलमार्फत टपक्क टिप्न प्रयास गरेकाछन् । पहाड, झरना, रनबन, खोलानाला, शिखर, लेकबेसीको बयानमा यिनी आल्लादित भएको महशुष हुन्छ यिनका गजलका हरफहरु पढ्दै जाँदा । यिनी प्रकृति र आञ्चलिकतामा कति प्रेमिल छन् भन्ने तथ्य उनको गजलका पदबाट थाहा लागिहाल्छ, ‘‘वर्षे झरी हिउँ ओत्ने सगरमाथा छाता मेरो, भोकमरीलाई सराप दिने अन्नपूर्ण दाता मेरो’’, ‘‘नीलगिरि, धौलागिरि, माछापुछ्रे, कञ्चनजङ्गा, सेतो हिउँको थुप्रो हैन डलर फल्ने खाता मेरो’’ ।

आफ्नो जन्मभूमिका प्रतिको दायित्वलाई आफ्ना सिर्जनामार्फत सम्झन यिनी कत्तिपनि पछि परेका छैनन् । हँुदाहँुदा गजलकार शर्मा आफ्ना विमतिहरुलाई निर्धक्क गजलमार्फत प्रस्तुत गर्न पछि पर्दैनन् । सकारात्मक दृष्टिविन्दु राखेर गजल लेख्ने आफ्नो परिचयको बाबजुत यिनले थाहै नपाई बदलाको भावनालाई छताछुल्ल बनाउँछन् तिनै गजलमार्फत । ‘‘पहाडको झरनाबीच तिमीले नुहाएको, कहाँ भुल्छु जीवनमा मलाई रुवाएको’’ जस्ता अभिव्यक्तिले स्रष्टाको मनमा आक्रोस र प्रतिशोधको भावना कहिँ न कहिँ लुकेर रहेको रहस्य खुलस्त हुन्छ । उनले अरुको कुभलो गर्नेको नराम्रो भएर केही नबिग्रने निश्कर्ष निकाल्दै गजलमा भन्छन्– ‘‘खराब सोच राख्नेहरु मर्दा पनि हुन्छ, बीउ नलाग्ने फलहरु झर्दा पनि हुन्छ’’ । अर्काको नोक्सानीको लागि जे पनि गर्न तयार हुने मतिहीनहरुको क्षतीका लागि उनको कामना झट्ट हेर्दा ‘अति’ जस्तो लागेपनि स्वाभाविक नै महशुष हुन्छ । खराब ब्यवहार र कुसंस्कारका विरुद्ध शाब्दिक व्यङ्ग्यबाण प्रहार गर्न यिनी माहिर देखिन्छन् ।

स्रष्टा शर्मा माया–प्रेममा घात प्रतिघातको शख्त विरुद्धमा छन् । ‘‘फलको आशा हराई गयो कोपिला नै झरेपछि, कस्लाई आफ्नो भनूँ मैले तिमी बसाइँ सरेपछि’’, ‘‘कति ठाउँमा बहस गरुँ कति दिऊँ तर्कहरु, प्रतिवादी भै हिँड्दैछु तिम्ले मुद्दा दरेपछि’’ जस्ता मार्मिक शेरहरुले उनको नाराजगीपनलाई छताछुल्ल बनाएको देखिन्छ । उनी अझै थप्छन्– ‘‘बिमार थिएँ जति बेला जुस लिएर आयौ तिमी, निको भएँ हृदयमा तुस लिएर आयौ तिमी’’, बिर्सु बिर्सी साध्य छैन सम्झे मुटुु दुःखी दिन्छ, सधैं आँशु झार्ने कस्तो खुशी लिएर आयौ तिमी’’ । वास्तवमा मानव चोलामा यसभन्दा माथिको वेइमानी र विषादको हद अरु के नै होला र ? तर उनी आशावादी पनि देखिन्छन् केही शेरहरुमा । आफ्ना मायालुहरुलाई उनी खुलेआम आव्हान गर्दछन्– ‘‘लुकिछिपी लाको माया नभन्दिनुहोला हजुर, बिछोड् कतै भयो भने यो मन कति रोला हजुर’’ । मायापिरतीमा अरुको डर मान्ने यिनको चाला अलिक नाटकीय भने अवश्य लाग्छ तर प्रेमको दिगोपनाका लागि यिनको याचना सान्दर्भिक नै झल्किन्छ ।

राजनैतिक नेताहरुको छलकपट तथा फट्याइँ पाराको पनि गजलकार शर्माले उछितो काड्न भ्याएकाछन् आफ्ना गजलमार्फत । उनी भन्छन्– ‘‘औंसीको यो कालो रातमा केलाई गर्छौ जूनको कुरा, मनभित्र बमबारुद बाहिर मङ्गलधुनको कुरा’’, कुरा गर्छन् मञ्चबाट सिङ्गापुर र युरोपको, नयाँ नेपाल भन्नु मात्रै रैछ तानतुनको कुरा’’ । यतिमात्र होइन निहित स्वार्थ सिद्ध गर्नका लागि देशको अस्मितामाथि नै खेलवाड गरेकाप्रति उनको गम्भिर आपत्ती छ र त भन्छन्– ‘‘कोशी गण्डक, सुगौली र टनकपुर आउँदासम्म, हाम्रो हात तलै प¥यो अधिकारमा चुक्यो आज’’, ‘‘अनेक राज्य बनाईकन भागवण्डा गर्ने अरे, हामी सबै नेपाली हौँ भन्ने नारा लुक्यो आज’’ । राजनीति क्षेत्रको चरम बदमासीलाई उनले हदैसम्मको नाराजगी व्यक्त गरेकाछन् । कथित नेताहरुले गरेको कामका प्रति उनको असहमती छ र भन्छन्– ‘‘पुरानै हो खुकुरी त नयाँ रैछ दाप मात्रै, राणाकालीन लेटरप्याडमा नयाँ रैछ छाप मात्रै’’, नयाँ नेपाल बन्छ भन्थ्यौं गणतन्त्र ल्याएपछि, हामी अझै कङ्गाल भयौं तिम्रो फलिफाप मात्रै’’ ।

देशमा हावी भएको राजनैतिक विकृति र विसङ्गतिका विरुद्धमा डीआर शर्माको कलम दर्विलो ढंगले अघि बढेको देखिन्छ । खासगरी राजनैतिक नेता भनाउँदाहरुले जनताको नाम भजाएर आफ्नो मात्रै दुनो सोझाउने गरेको कुरा उनलाई कत्ति पनि चित्त परेको छैन । त्यसैले उनले आफ्ना गजलहरुमार्फत नेताहरुको नकारात्मक भूमिकाको उछितो काढेकाछन् । उनी खुलस्त प्रहार गर्दै भन्छन्– ‘‘लुट्ने लाइसेन्स पाउनेले देश ज्यादै लुटेका छन्, लुट्न कतै नपाउनेले पार्टीबाटै फुटेका छन्’’, ‘‘टाउकोमा कफन बँधाई बुद्धु बनाई जनतालाई, देश बनाउन हैन हजुर कुर्सी पाउन जुटेका छन्’’ । वर्तमानको राजनैतिक सन्दर्भ हेर्दा सर्जकले उल्लेख गरेका विषय असान्दर्भिक लाग्दैनन् । फोहोरी राजनीतिका प्रति यिनले अभिव्यक्त गरेका विचारहरु आम मानिसहरुका प्रतिनिधि स्वरहरु हुन् भन्न हिच्किचाउनु पर्ने हुँदैन ।

मानवसुलभ आनीबानी, व्यवहार र संवेदनालाई पनि उनले आफ्ना गजलमा अटाएका छन् । ‘‘अरुलाई होच्याएर बोल्दा मन दुख्दो रहेछ, पराइको लास भएनि पोल्दा मन दुख्दो रहेछ’’ औसत मानिसको मर्मलाई उनले यसरी आफ्नो सिर्जनामार्फत अभिव्यक्त गरेकाछन् । शान्ति, अमनचयन, सद्भाव, सहयोग र सहकार्यका पक्षमा पनि यिनी खुलस्त आफ्ना भावना राख्न प्रफुल्लित महशुष गर्दछन् । ‘‘भैगो अरु शान्तिसँग बाँच्न पाए हुन्छ, चाहिँदैन मीठो गुन्द्रुक ढिँडो खाए हुन्छ’’ यो गजलकार शर्माको प्रतिबद्धता हो । स्रष्टा शर्मा समाजमा व्याप्त वेरोजगारी र गरिबीका विषयलाई पनि आफ्नो रचनाको स्रोत बनाउन माहिर छन् । उनी लेख्छन्– ‘‘बेरोजगार भई सहर झरेँ काम भेटिएन, आफ्नो पसिनाको उचित दाम भेटिएन’’ ‘‘कति भेटेँ अस्मिता नै लुटिएका चेलीहरु, रै’छन् धेरै रावणहरु राम भेटिएन’’ ।

कतिपय गजलका शेरहरुमा स्रष्टा शर्मा अलिक फरक हिसाबले फुलेल मखलेल भएर प्रेमका भावनाहरु पोखेको अवस्थामा भेटिन्छन् । एक ठाउँमा यिनले ‘‘ठूलाठूला आँखाहरु ओठमा रातो लाली देखेँ, बादलजस्तो केशराशी सिउँदो भने खाली देखेँ’’ भन्छन् भने अर्को स्थानमा आफूलाई भावगम्भिर अवस्थामा ‘‘हात समाई तिमीसँग डुल्ने घुम्ने रहर मेरो, बीच बाटोमा बिछोडिए मर्छु भन्ने ठहर मेरो’’ भन्दै निराशा प्रकट गर्दछन् । फगत उनी प्रेमका कुरामा मात्रै हाराएका छैनन् । बरु उनले देशप्रेमका चोटिला भावहरु समेत सम्प्रेषण गर्न भ्याएकाछन् । उनी गजलका शेरमार्फत दावी गर्छन्– ‘‘दिल खोलेर मेरो हिमाल हाँस्न पाउनुपर्छ, बिना रोकटोक सधैँ डाँफे नाच्न पाउनुपर्छ’’, ‘‘युगौँयुग करोडौँ यी नेपालीको घरमा, चन्द्रसूर्य अङ्कित झण्डा टाँस्न पाउनुपर्छ’’ ।

जीवनका प्रति आशावादी हुँदा हुँदै पनि कहिँकतै स्रष्टा शर्मा निराशा र हताशाका विषयलाई पनि आफ्ना गजलमा स्थान दिन पुगेका छन् । जीवनलाई सभ्य, भव्य, आदर्श र सम्पन्न बनाउने चाहनामा तुषारापात भएपछि उनले जीवनका बारेमा निराशाजनक अभिव्यक्तिहरु संयोजन गरी प्रस्तुत गरेकाछन् । उनी भन्छन्– ‘‘मक्किएर भत्किएको पाली भयो जिन्दगानी, चोइटिएर झुण्डिएको डाली भयो जिन्दगानी’’, ‘‘हरियाली ल्याउँछु भनी खनजोट गर्दागर्दै, दुई ढुङ्गामा अड्किएको फाली भयो जिन्दगानी’’ । अतिशय असफलता, धक्का र अप्राप्तिका बीचबाट उनले दुई बारको भनिएको जीवनका प्रति नै सघन प्रश्न तेर्साएकाछन्– ‘‘वाध्यता र विवशताको साह्रै गह्रौं भारी बोकी, लड्खडाउँदै हिँड्नृु पर्ने जीवन भन्नु यस्तै हो कि’’ । यसरी शर्माका गजलहरुले आम मानिसहरुका भावनाहरुलाई यो वा अर्को ढंगले उठान गर्ने प्रयास गरेकाछन् ।

डीआर शर्मा आफ्ना गजलहरुमा केवल निरासा र नकारात्मक विषयमात्र उजागर गर्ने नभै नवपुस्ताका लागि सकारात्मक दिशामा अघि बढ्न सुझाव दिनका लागि पनि उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएको पाइन्छ । उनले निसन्देह जीवनमा बहुआयामिक शक्तिपुञ्ज देखेकाछन् । उमङ्गित, रोमाञ्चित, वैभवयुक्त र सदाशिवमय जीवनको सपना उनले पनि बुनेकाछन् आफ्ना गजलहरु भित्र । उनले पाठकहरुमार्फत सादर आव्हान गर्दै भन्छन्– ‘‘पासाङ बनी जिन्दगीका पाइला तिमी चाल्न सिक, बुद्ध बनी मनको मैलो रिसराग फाल्न सिक’’, ‘‘पत्थर मात्र हैन जीवन मुर्ति त्यसलाई बनाई हेर, सुन बन्छ खारिएर जीवनलाई गाल्न सिक’’ । स–साना बालबालिकालाई सम्बोधन गर्दै उनी गजलमार्फत बोल्छन्– ‘‘यो देशका कर्णधार मेरा बाबुनानी, चल्न सिक पुर्खाहरुको इज्जतलाई धानी’’ । यसरी स्रष्टा शर्मा आफूलाई जिम्मेवार बनाउँदै आशावादको खेती गर्न पनि लागिपरेकाछन् आफ्ना सिर्जनाहरुमार्फत । उनले अघि भन्छन्– ‘‘जीवनलाई हार हैन विजयको ज्योति बनाऊ, पत्थर कोइला हैन जीवन सुन हिरा मोती बनाऊ’’ । राष्ट्र, राष्ट्रियता र सहिदप्रतिको उनको सम्मान पनि सम्झन लायकको देखिन्छ गजलहरुमा । सरोकारवालाहरुसँग उनको माग छ कि– ‘‘सहिदका रगतको मुल्य हामीले तिर्नुपर्छ, गरिब र दुःखीयाका अब दिन फिर्नुपर्छ’’ ।

स्रष्टा शर्माले आफ्ना गजलहरुमा सामाजिक रुढिवादी सोचाइ, पराम्परावादी मूल्य मान्यता र गलत संस्कारहरुका बिरुद्ध पनि आफ्नो आवाजलाई मुखरित गरेको पाइन्छ । यदि समाजको समुचित विकासलाई बढावा दिने हो भने हामीले अन्धविश्वासी सोच, चिन्तन र व्यवहारमा सामयिक परिवर्तन ल्याउनुपर्छ भन्ने उनको सोचाइ रहेको छ । आफ्ना गजलमा उनी आफ्ना धारणाहरु यसरी प्रस्तुत गर्दछन्– ‘‘जातजाति छुवाछुत अनर्थका रुढीहरु, रगत रातो आउँछ आखिर जस्को अङ्ग काटे पनि’’, ‘‘बिहानीलाई बिर्सिएर भो नगरौं रातका कुरा, समानता नारा हाम्रो गर्नुहुन्न जातका कुरा’’ । मूलतः समृद्ध, शान्त, खुशहालीमा आधारित मानव जीवनका पक्षमा नै स्रष्टा शर्माका गजलहरु मुखरित छन् । उनले आफ्ना गजलमा जन्मदिने आमालाई पनि सम्झिएका छन् । हेरौं उनका केही गजल शेरहरु– ‘‘प्राण भन्दा बढी माया गर्थिन मेरी आमा, काँध चढाई ठूलो नदि तर्थिन मेरी आमा’’, ‘‘आपत विपत पर्दा मनमा राप ताप हुँदा, जूनको जस्तो शितलता छर्थिन मेरी आमा’’ ।

गजलकार डीआर शर्मा आफ्नो पहिलो गजल कृतिबाटै शक्तिशाली गजलकर्मीका रुपमा उदाएको कुरा प्रष्ट छ । उनले आफ्ना गजलमार्फत उठान गरेका जति पनि विषयबस्तुहरु छन् ति सबै आम नागरिकले दैनन्दिन जीवनमा अनुभूूत गरेका विषयवस्तुहरु नै हुन्, जसले गर्दा पाठकले गजल पढ्दा आफ्नै जीवनको कहानी पढेको अनुभव गर्न पुग्दछ । कृतिको नामबाटै यसभित्रका गजलहरु पहाडको झरनाजस्तै स्वच्छ छन्, निर्मल छन्, सबैका लागि शितलता प्रदान गर्ने तागत सहितका छन् जसमा गजलकार शर्मा मात्र होइन पाठक पनि वेप्रवाह निथु्रक्क भिज्न सक्छन् । पाठकले सर्जकको सिर्जनाभित्र आफूलाई भेटाउन सक्यो भने त्यो साँच्चिकै महत्वको विषय हो । वास्तवमा एउटा सर्जकका लागि पाठकलाई आफ्नो सिर्जनाभित्र अढाएर राख्न सक्नुजस्तो महत्वको विषय नै के होला र । यो मामिलामा गजलकार शर्मा सफल देखिएकाछन् । यिनका गजलमा जति विविधता छ, त्यति नै पाठकले फरक–फरक कोणबाट आनन्दानुभुती गर्ने अवसर प्राप्त गर्दछ । पहिलो प्रकाशन भएकाले शर्माको प्रस्तुत गजल सञ्चयनमा देखिएका कमी कमजोरी र खट्केका कुराहरु आउँदा रचना र प्रकाशनहरुमा सच्चिएर आउनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । स्रष्टा शर्माको लेखनयात्रा अनवरत अघि बढ्दै जाओस् हार्दिक शुभकामना प्रकट गरौं यतिखेर । जदौ ।

कृतिकार ः डीआर शर्मा
कृति ः पहाडको झरना
विधा ः गजल
प्रकाशक ः पर्वत साहित्य सङ्गम, कुश्मा
मूल्य ः ११५
पृष्ठ ः ६+९१
प्रकाशन वर्ष ः २०६७

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु