चरीचुच्चे रेलमा

- कृष्ण बजगाईं

फेरी चरीचुच्चे रेलमा लन्डनबाट ब्रसेल्ससम्मको यात्रा हुने भयो ! चरीचुच्चे रेलमा जर्मनीदेखि बेल्जियम, बेल्जियमबाट कैयौं पटक लन्डन र पेरिस ओहरदोहर गरेको छु । चरीचुच्चे रेलमा मैले मात्र होइन मेरा कथाका पात्रहरुले पनि यात्रा गरेका छन् । उसो त ‘चरीचुच्चे रेल’ नामक मेरो बालकथासंग्रह नै जन्मी सक्यो ।
लन्डनको सेंट पानक्रस अन्तर्राष्ट्रिय ट्रेन स्टेशनबाट युरोस्टार ट्रेन चढेर बेल्जियममा हुने युरोप स्तरिय नेपाली भाषा साहित्य सम्मेलनमा सहभागीताको लागि हो ट्रेन यात्रा । अरु ट्रेन भन्दा छिटो चल्ने हाइस्पीड ट्रेनको मुख अलिक चुच्चो हुने भएकोले चरीचुच्चे रेल भनेर जर्मनीका नेपालीहरुले राखेको नाम हो । त्यो नामलाई मैले बेल्जियम, फ्रान्स र बेलायतमा चलाएँ, मेरा लेख, निबन्ध र कथाहरुमा छपाएँ ।
यात्रामा चिनेका कोही साथी छैनन्, म एक्लै छु । ट्रेन चढ्नु अगि सम्झना स्वरुप ट्रेनको छेउमा उभिएर फोटो खिच्ने विचार आयो । कसलाई अनुरोध गरौं भनेर हेर्दै थिएँ । कोही भएनन् भने ‘सेल्फि’ लिनु पर्ला ।
ट्रेन चढ्न आएका हरेक जनालाई हतारमा देख्छु । कोही हातमा टिकट च्यापेर काँधमा ब्याग झुण्ड्याएका त कोही सकि नसकी सुटकेश घिसार्दै लामा फड्को मार्दै छन् । के साह्रो हतार यताका मानिसहरुलाई ? सुरुमा युरोप आउँदा मलाई पनि यस्तै लाग्दथ्यो । यता बसेको सत्र वर्ष लाग्यो, अहिले म आफै हतार र धपेडी जीवनको गाडी दौडाईरहेको छु ।
‘माफ गर्नु होला, हाम्रो फोटो खिचीदिन सक्नु हुन्छ ?’ नारी आवाज आए तिर पुलुक्क हेरेँ । तीन जना ब्रिटिश युवतीहरु थिए मेरो दायाँ पट्टी । ती मध्येकि सबै भन्दा राम्री सुनकेसरीको आवाज सुमधुर धुन बनेर मेरो कानमा ठोकिएको रहेछ । बाइस चौबिस वर्षका ती सुन्दरीहरुका केही सुन्दर फोटा खिचिदिएँ र क्यामरा फिर्ता दिएँ । मलाई धन्यवाद भने ।
मैले सोध्नै नभ्याई तपाई पनि फोटो खिच्ने हो भनेर उही सुनकेसरीले सोधी । ढुंगा खोज्दा देउता मिले जस्तो, हत्तनपत्त मेरो आइफोन थमाएँ । उसलले पाँच छ वटा फोटो खिची । धन्यवाद भनेर ट्रेनभित्र पसेँ ।
टिकटमा लेखिएको सिट नम्बर खोज्दै अगि बढेँ । झ्याल छेउको सिट रहेछ गएर बसेँ । संयोग कस्तो पर्यो भने अगि मेरो फोटो खिच्ने सुन्दरीको सिट त मेरै छेउको रहेछ !
मलाई सहयात्रीको रुपमा पाउँदा उसलाई पनि अचम्मै भयो क्यारे । ‘हाइ’ भनी ।
मैले पनि हाइ भनेपछि मुस्कान आदानप्रदान गर्यौं । उसका दुइ जना साथी भने ठीक अगाडिको सिटमा बसे ।
आज यही सुन्दरीसँग गफिदै लन्डनदेखि ब्रसेल्ससम्मको दुइ घण्टाको रेल यात्रा रमाइलो पार्नु पर्ला भन्ने सोच्दै थिएँ । उसले ब्यागबाट ल्यापटप निकालेर ‘अन’ गरी । मैले मेरो मोबाइलमा फेसबुक लगअन गरेँ । ‘चरीचुच्चे रेलबाट ब्रसेल्स जाँदै’ भनेर स्टाटस लेखे र अगि खिचेको फोटो पोस्ट गरेँ । एकछिनपछि रेल विस्तारै अगाडि बढ्यो ।
उसँग बोल्ने बहाना बनाउँ भन्छु ल्यापटपमा कुनै प्रोजेक्टको पेपरमा घोरिरहेको देखेँ । पटक पटक उ तिर हेर्दछु उ पनि म तिर हेरेर मुसुक्क हाँस्छे मात्र । हाँसे पनि उसको मुस्कानमा कृत्रिमता देख्दछु । कुनै हिसाब नमिलेर असिन पसिन भएको लेखापाल जस्तो तनाबमा देख्छु । उ ल्यापटपमै घोप्टी रहन्छे । सायद कुनै पेपर प्रेजेन्टेशनको अन्तिम तयारी गरिरहेकी थिइ । बोलाएर उसको काममा बाधा पुर्याउनु उचित ठानिन । त्यसो गर्दा असभ्य देखिने डर । उसले ‘ग्रिन सिगनल’ नदिएसम्म अगाडि बढ्नु खतरा हुने ठानँे ।
त्यसपछि यात्राको साथी फेसबुक हुने निश्चित भयो । युरोस्टार रेल छेउमा उभिएको त्यो फोटोमा लाईक र कमेन्टको वर्षा हुन थालेको थियो । संसारभर रहेका मेरा फेसबुकका मित्रहरुले शुभेच्छा र जिज्ञाशा राख्नु भयो । सकेसम्म सबैका जवाफ दिँदै गएँ ।
धेरै पटक यही रुटको रेलयात्रामा निस्केको छु । तिनै कुराको पुनरावृत्ति हुन्छन् । झ्याल बाहिर खासै नजर लगाईन । घरी फेसबुक त घरी समाचारका साइट चहार्दै गएँ ।
मोबाईल फोनमा नेटवर्क हराएपछि पो थाहा पाएँ ट्रेन त समुद्र मुनि दौडदै छ । बेलायत र फ्रान्सको पचास किलोमिटर समुद्र मुनिको यात्रा करिब बीस मिनेटमा पार गरेर ट्रेनले फ्रान्सको धर्ति टेक्यो । फेरी फेसबुकको चौतारीमा हाजिर हुन पुगेँ ।
चितवनका साहित्यकार तथा पूर्व क्याम्पस प्रमुख एल. बि. क्षेत्रीले ‘तपाईं कहाँ आइपुग्नु भो, म बेल्जियम हिँजो आएँ’ भनेर लेख्नु भयो ।
‘स्वागत छ, म अबको दुइ घण्टामा आइपुग्छु’ भनेर जवाफ लेखेँ ।
नेदरलेण्डका कवि हरि पौडेल भोलि ल्युवेनमा भेटौंले भनेर लेख्नु भयो ।
बेल्जियमका सौरव कारन्जित, दुर्गा सुवेदी र विमल गिरी आदिले बेल्जियममा स्वागत भनेर लेखे । अमेरिकाकी मञ्जु निरौला, विश्वराज अधिकारी, मलेशियाका नितेश गौतम, जीवन देवान गाउँले, अष्ट्रेलियाकि दिपना प्याकुरेल, आशिका दहाल, भारतका राजनारायण प्रधान, अफ्रिकाका इन्द्रदेव राई, प्रविण धिताल, शिसेल्सका गणेश खड्का, हंगकंगका देवराज राई, जर्मनीका राजेन्द्र बजगाई, इजरायलकी इन्दिरा सुवेदी अधिकारी, नेपालका नरेन्द्रराज प्रसाई, परशु प्रधान, राजेन्द्र बिमल, प्रा. डा. के आर खम्बू, प्रा.डा. खेमनाथ दाहाल, रामकुमार पण्डित, बेलायतका डा. कृष्ण उपाध्याय, गोपी सापकोटा, शशी थापासुब्बा, लारा, मुकेश राई आदिले शुभेच्छा प्रकट गरे । अहो ! प्रविधीले विश्वलाई कति सानो बनायो ? साहित्यिक यात्रामा निस्केको परदेशीलाई एकै छिनमा संसारभरबाट बधाई र शुभेच्छा प्राप्त भयो । शब्दको शक्ति कति धेरै हुँदो रहेछ ! प्रेममय शब्दका गुच्छाले मन आल्हादित बन्यो । तनभरी त्यसै खुशीका लहरहरु दौडिरहे ।
ट्रेनको गति विस्तारै कम हुन थाल्यो । यसो झ्याल बाहिर हेरेको त ब्रसेल्स पो पुग्न लागिएछ । सुनकेशरीले ल्यापटप बन्द गरी । म अझै फेसबुकमै थिएँ । मलाई पुलुकक हेरी । मैले पनि उसलाई मुस्कानबाटै जवाफ दिएँ । उसले खिचेको मेरो फोटो फेसबुकमा देखेपछि मलाई जिस्काउँदै भनि–‘फोटो मन पर्यो कि क्या हो अगि देखि फोटोमात्रै नै हेरेको देख्छु ।’
त्यो केटीको शाब्दिक चातुर्यार्इं हो कि म हुस्सु ? के त्यसले मेरो क्रियाकलाप मलाई छलेर हेरिरहेकी थिइ त? केही अनुमान लगाउन सकिन ।
‘तिमीले खिचेको फोटो मलाई मात्र मन परेको हैन संसारभरका चारसय भन्दा बढी जनालाई मन परेछ ।’ मैले पनि फुर्ति लगाएँ ।
‘लायर ।’ मस्किदै भनी ।
मेरो कुरा नपत्याएपछि लु हेर भनेर मेरो आइफोन उसैको हातैमा थमाई दिएँ ।
‘ओ माइ गड् ! आर यु सेलब्रिटी ?’ उसको मुखबाट अनायस शब्द निस्के ।
मलाई सेलब्रिटी शब्द सुनेर लाज लाग्यो ।
‘नो नो, जस्ट फेसबुक आडिक्ट’ भनेर उम्किएँ ।
ऊ फेरी मुसुक्क हाँसी । यसरी घाइते बनाउने गरी हाँस्नु नै थियो भने यात्राभरी किन ल्यापटपसँग प्रेम गरेकी त ? मनमनै उसँग निहुँ खोज्दै थिएँ ।
चरिचुच्चे रेल ब्रसेल्सको मिडी स्टेशनमा रोकिसकेको थियो ।
ट्रेन भित्रका सबैलाई उत्रन हतार थियो । मैले ह्याण्ड ब्याग काँधमा झुण्ड्याएर उसँग बिदा मागेँ । उसले हात हल्लाएर बाइ भने । कुनै चिज छुटे जस्तो भैरह्यो । ब्याग बन्द थियो, गोजी छामे सबै दुरुस्त थिए । केही नछुट्नु पर्ने । सायद उसैको वैंशालु मुस्कान छुटेको थियो होला ।
त्यहाँबाट लोकल ट्रेनमा ल्युवेन जानु थियो । टिकट काटेर चढेँ । बेल्जियममा रहँदा सयौं पटक ओहरदोहर गरेको बाटो । ठीक चार वर्षपछि फेरी लोकल ट्रेनको यात्रामा छु । केही परिवर्तन छैन, झ्यालबाट उस्तै देखिए वरपरका घर, बाटा र खेतका फराकिला फाँटहरु ।
ल्युवेनको ट्रेन स्टेशनमा पुग्दा दर्के झरी परिरहेको थियो । त्यस्तो झरीलाई त नेपालमा असारे झरी भन्छन् । नेपालको सम्झना दिलाउने झरी पर्दा भदौं महिना चल्दै थियो ।
ट्रेनबाट उत्रन लागेको कुरा मित्र दीपकज्योति पौडललाई खबर गरिसको थिएँ फोनबाट । केही समयपछि मित्र दीपेन्द्र केसी र दीपकज्योति गाडी लिउर आउनु भयो मलाई लिन । चार वर्षपछि दीपक र दीपेन्द्रजीसँग पुनर्मिलन भयो । खुशी साटासाट गर्यौं । गफियौं गाडीमै ।
दीपेन्द्रजीले गाडी चलाएको करिव पाँच मिनेट भएको थियो होला । ब्रसेल्सबाट ल्युवेन टुप्लुकक आइपुगेका अर्का मित्र विमल गिरीको फोन आयो । उहाँलाई लिन आधा बाटोबाटै फेरी ट्रेन स्टेशन फर्किनु पर्यो । उहाँलाई चढाएपछि दीपेन्द्रजीले गाडी हुँइक्याउनु भयो सिता सापकोटाको अर्पाटमेन्टतिर ।
त्यहाँ पुग्दा नेपालबाट आएका अतिथी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, एल बी क्षेत्री, पत्रकार शेखर अधिकारी, गीतकार तथा कवि रमेश अधिकारी, इन्द्रनारायण ‘बिकल्प’ अमेरिकाबाट होमनाथ सुवेदी र उ उहाँकी पत्नी, पदम बिश्वकर्मा लगायत बेल्जियमका अन्य मित्रहरु हुनुहुन्थ्यो
त्यत्रा पाहुनाको लागि सिताजीले खानाका विभिन्न स्वादिष्ट परिकार तयार पार्नु भएको रहेछ । अन्तिममा पुगेको म मात्र खान बाँकी थिएँ । रेष्टुरेण्टको खानालाई मात खुवाउने स्वादिष्ट नेपाली खाना थियो । बेल्जियन खानाको रेष्टुरेण्ट चलाउने श्रीमान्को खानालाई तपाईंले जित्नु हुने रहेछ भनेर घोषणा गरिदिएँ । सीताजी मुस्कुराउनु भयो ।
झरीले पुरै थकाई मारिसकेको थिएन । सिमसिमे पानी अझै परिरहे पनि बेला बेलामा घामले चिहाउँदै थियो । बिहानैदेखि कोठामा बसेका साहित्यकारहरु साहित्यका बारेमा गफिदै गरे पनि उकुसमुकुस भइरहेको थियो ।
अझै कति बस्नु कोठामा ? घाम पानी घाम पानी स्यालको बिहे भन्दछन् । जन्ती भएर हामी सबै बाहिर निस्कियौं ।
बाटामा श्रीओम र सरुभक्तसँग नेपालको साहित्यको बारेमा जानकारी लिएर आफूलाई अपडेट गरेँ । करिब पैंतालिस मिनेट बेल्जियमको प्राचिन सहर ल्युवेनको गल्ली गल्ली चहार्दै ट्रेन स्टेशन ठीक अगाडिको बियर बारमा पुग्यौं ।
बेल्जियमले संसारभर बियरको राजधानी भनेर ख्याति कमाएको छ । चारसय भन्दा बढी प्रकारका बियर उत्रपादन हुन्छन् बेल्जियममा । बेल्जियममा घुम्न आउनेले बियर नपिइ गए उसको यात्रा अधुरो हुन्छ भन्ने ठान्दछन् बेल्जियनहरु । अधुरो यात्रा त गर्नु भएन नि ! हामीले पनि यात्रा पुरा गर्ने विचार गयौं । आआफ्ना रुची अनुसारका ह्वाइट, डार्क, ब्लोन्ड विभिन्न रंग र स्वादका बेल्जियन बियर तन्काएर उठ्यौं ।
ल्याम्प पोस्टले चहकिलो उज्यालो फालिरहेको थियो । हल्का चिसो थियो मौसम । सडक पेटीमा गफिदै अगाडि बढ्यौं रात्री भोजनको लागि ।
साहित्यमा कहिले काहीँ कलम चलाउनु हुन्छ इन्द्र क्षेत्री ‘पकवान’ । उहाँको रेष्टुरेष्टमा खानाको ब्यवस्था थियो । हामी पुगेको केही समयपछि बेलायतबाट आइपुग्नु भयो साहित्यकार सुमल गुरुङ र कृष्ण थापा क्षेत्री ।
खाना पश्चात वासस्थान तर्फ यात्रा तह हुने भयो । प्रा. लुइँटेल र म रुम पार्टनर भयौं । मित्र महेन्द्र पन्तको घरमा हाम्रो मुकाम थियो । मित्र माधव सापकोटाले त्यहाँसम्म गाडीमा छाडी दिनु भयो ।
महेन्द्रजी, उहाँकी पत्नी राधा र छोरा सन्तोष हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ । उहाँहरुसँग एकछिन भलाकुसारी गर्यौं । हामीले कहिल्यै नचाखेको पानको पातबाट बनेको ह्वीस्कीले स्वागत गर्नु भयो । ह्वीस्कीसँग गफको कक्टेल बनाएर एकछिन रमायौं । आधारात भइसकेको थियो, त्यसपछि सुत्ने कोठा तिर लाग्यौं । प्रा. लुइँटेल र म भने निकै अबेरसम्म गफमै अल्झि रह्यौं ।
नेपाली भाषा साहित्यको युरोप स्तरिय सम्मेलन सुरु हुनु भन्दा अलिक अगाडि कार्यक्रम स्थलमा म र प्रा. लुइँटेल पुग्यौं । हलमा हामी पुग्दा जर्मनीबाट एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, नेदरलेण्डबाट हरि पौडेल, पोर्चुगलबाट मोहन आचार्य ‘जलाद’, बाबुराम भुषाल ‘शिल’ आई पुग्नु भएको रहेछ ।
कार्यक्रम सुरु भयो । मन्तब्य र कविता वाचन भए । मलाई अचम्म र खुशी लाग्यो, बेल्जियम छाडेर चार वर्ष अगाडि बेलायत बसाई सरेपछि निक्कै नयाँ कविहरुको जन्म भएछ । उतिखेर साहित्यिक कार्यक्रममा श्रोता भएर आउनेहरुले राम्रा राम्रा कविता सुनाएपछि म दंग परेँ ।
नौ वर्ष अगाडि बेल्जियमको धर्तिमा मेरो अध्यक्षतामा पहिलो पटक साहित्यिक संस्था स्थापना गरेको थिएँ । त्यति बेला अन्तर्राष्ट्रिय साहित्य समाज गठन गर्दा साहित्यमा कलम चलाउनेहरु फेला परेनन् । मेरो बैठक कोठामा महाकवि देवकोटा जयन्ती मनाउँदै तीन जना साहित्यमा रुची राख्नेहरु जम्मा भएर स्थापना गरेको संस्थाले गोष्ठी, प्रकाशन, अन्तत्र्रिmया गर्दै साहित्यिक जमात बढाउँदै लगेको थियो । त्यसको नौ वर्षपछि त नेपालबाट सातजना अतिथिहरु बोलाएर भब्य कार्यक्रम नै गरेर संसारभरका नेपाली साहित्य प्रेमीहरुको ध्यान आकृष्ट गर्न सफल भयो । डायोस्पोरा साहित्यको इतिहासमा यो सम्मेलन यो कोशे ढुंगा बनेर रहने भयो ।
भोलि पल्ट दिउँसो डायोस्पोरा साहित्यको बारेमा कार्यपत्र प्रस्तुत, टिप्पणी र युरोप घोषणापत्र जारी गर्ने कार्यक्रम थियो । बिहान अचानक श्रीओमजीको सरप्राइज्ड कल आयो । सिताजीले नेतृत्व गरेर समय मिल्ने जतिलाई ल्युवेनको रमणीय पार्कमा लैजानु भयो । जीवा, सरुभक्त, श्रीओम, म, मोहन, एल.बी, प्रा. लुइँटेल लगायत पन्ध्र जना थियौं ।
त्यो दिन नेपालमा लघुकथा समाज स्थापना भएको दिन थियो । उक्त दिनलाई समाजले लघुकथा दिवसको रुपमा मनाउदै आएको छ । संयोग कस्तो पर्यो भने लघुकथा समाजको स्थापनाकाल देखिको अध्यक्ष श्रीओमजी र स्थापना कालदेखिको लघुकथा समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक म कृष्ण बजगाईं सँगै थियौं ।
सरुभक्तको प्रमुख आतिथ्य र समाजको अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा लघुकथा दिवस मनाउँदै थियौं । मैले कार्यक्रम संचालन गरेँ । लघुकथा वाचन र लघुकथाको बारेमा केही चर्चा गर्यौं । विदेशी भूमिमा प्रकृतिको खुल्ला काखमा हामीले नेपाली लघुकथाका बारेमा बोल्यौं । लघुकथाको इतिहासमा यसरी विदेशमा गरिएको त्यो पहिलो कार्यक्रम थियो ।
कार्यक्रमभर ठेगान नहुने युरोपको मौसमले साथ दियो । वरपरका चिरविरे चराहरुले संगीत दिए । कार्यक्रम रोचक रुपमा चलिरहेको भए पनि समयका कारणले छोट्याउनु पर्यो । कार्यक्रमका सभापति श्रीओमले समारोह समापन गर्नु भयो । त्यसपछि हामी उठ्यौं ।
कार्यक्रम स्थल नजिकको ठूलो पोखरीको छेउ गफिदै अगाडि बढ्दै जाँदा एकछिन रोकियौं । पोखरीलाई पृष्ठभागमा पारेर सम्झनाको लागि सामूहिक फोटो लियौं । शान्त पानीमा एकछिन आआफ्ना दपर्ण हेर्यौ । किनारामा झोक्राइरहेका सेता बकुल्ला भुर्र उडेँ । सायद बकुल्लाले विदेशी भाषा नबुझेकाले तर्सिएका होलान् । हामी विस्तारै पार्कबाट बाहिरियौं ।
दोस्रो दिनको कार्यक्रम निर्धारित समयमा सुरु भयो । कार्यक्रममा प्रा. लुइँटेलको डायोस्पोरा सम्बन्धी गहन कार्यपत्र र अन्य केही कार्यपत्र प्रस्तुत भए । तिनमाथि घनिभूत छलफल र टिकाटिप्पणी भए । छ बुँदे सम्मेलनको घोषणापत्र जारी गरेर कार्यक्रम समाप्त गर्दा साँझको छ बजेको थियो ।
तुरुन्त जर्मनी जाने भन्दै सरुभक्त, श्रीओम र जीवाजीले विदा मागेर निस्कनु भयो । अन्य साथीहरुसँग दीपेन्द्रजीको अपार्टमेन्टमा रात्री भोजन गरेर हाम्रो वासस्थान तिर लाग्यौं ।
पन्त दम्पत्ती हाम्रो प्रतिक्षामा हुनुहुन्थ्यो । निक्कै बेर गफियौं ।
पन्त दम्पत्तीसँग छुटेपछि प्रा. लुइँटेल र मैले निक्कै अबरसम्म साहित्यका बारेमा चिन्तन मनन् गर्यौं । भोलि मैले बेलायत फर्कनु थियो । प्रा. लुइँटेल लगायत अन्य पाहुनाहरुको नेदरलेण्ड जाने कार्यक्रम थियो । प्रा. लुइँटेलले युरोपसँगै घुमौं भनेर खुब् जोड गर्नु भयो । मेरो फर्कनै पर्ने बाध्यता थिए । त्यति बेला मेरो घरमा मर्मत संभार र रंगरोगनका लागि मिस्त्री लगाएको थिएँ । काम लथालिंग छाडेर साहित्य त्यो पनि आफूले स्थापना गरेको संस्थाको कार्यक्रम भनेर बाध्यतावश आएको थिएँ ।
बिहानको खाजा खाएपछि महेन्द्रजीले मलाई ट्रेन स्टेशनसम्म उहाँको गाडिमा छाडि दिनु भयो ।
बेल्जियमका साथीहरुले आयोजना गरेको भब्य साहित्यिक कार्यक्रम, उहाँहरुको आतिथ्यता, महेन्द्रजीको विशेष मेजमानी, बेल्जियको प्रेम र संझनाका कोशेलीहरु मनभरी बोकेर ब्रसेल्स जाने लोकल ट्रेन चढेँ ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु