माई ! म अहिले जन्मन चाहन्नँ

- राजेन्द्र पराजुली

प्यारी माई,

म अहिले ६ महिनाको भएँ।

तिम्रो पेटको आकार क्रमशः विस्तारित हुँदै होला। म तिम्रो पेटको संसारबाट आफू जन्मने स्थानको सम्पूर्ण परिघटना हेरिरहेको छु। मेरा कानले सुन्न थालेका छन्। फोक्सो अलिअलि काम गर्न थालिसकेको छ। मलाई पृथ्वीमा उभिएर हिँड्न मद्दत गर्ने मेरुदण्डले आकार लिएको छ माई। म देख्नसक्ने भएको छु।

तिमी पेटभरि खान नपाए पनि मोटी देखिएकी हौली। तिमी मोटो देखिनुको कारण म नै हुँ। तिम्लाई स्वास फेर्न कठिनाइ पर्दै गएको होला। वान्ता गर्दा कतिपय बेलामा त पानीमात्रै आउँदो हो, पेटमा केही परेको भए पो!

के मैले यही अवस्थामा पृथ्वीमा आउनु उचित हुन्छ माई? हामी गरिबको मुक्तिका नाममा सत्तासँग लड्दालड्दै मेरा बाबु मरे। तिमी अहिले एक्ली छौ माई। म गर्भे टुहुरो भएको छु। तिम्रो पेटमा मेरो भु्रण प्रवेश गरेपछि नै बाबुले यो संसार छाडे। के मैले जन्मेर पनि फेरि मेरा बाबुजस्तै आफ्नो गरिबी र जातीय छुवाछुतबाट मुक्तिका निम्ति लड्नुपर्छ माई? के म जन्मँदै आफ्नै देशमा दोस्रो दर्जाको नागरिक भएर जन्मनुपर्छ? मलाई एउटा मान्छे भएर जन्मने अधिकार पनि छैन? मलाई मेरै देशको राजधानीले मधेसी भनेर हेपिरहन्छ? अछुत भनेर मेरै समाजले छिछी–दुरदुर गरिरहन्छ माई?

देशमा गणतन्त्र आइसकेको छ। लोकतन्त्र छ, सबैले बोल्न पाएका छन्। प्रदेश निर्माण हुँदैछ। मेरो मधेस स्वतन्त्र हुँदैछ। आत्मनिर्णयको अधिकार दिइँँदैछ। तर त्यसले तिम्रो चिसो चुल्होलाई तातो पारिदिँदैन माई। चुल्हो तताउन तिमीले साहुको खेतबारीमा काम गर्नैपर्छ। अर्काको खेतखलियानमा मुसा खोजिरहनुपर्छ। जमिन भत्काएको भनी गाली खाइरहनुपर्छ। जमिनदार जसलाई तिमी मालिक भन्छ्यौ, त्यसको घरको सारा काम गरिदिनैपर्छ। कुनै पनि अधिकारले तिम्रो पेटको भोक मेट्नेवाला छैन माई। यति थाहा हुँदाहुँदै पनि फेरि किन लड्नु अधिकारको लडाईं? अब म चाहन्नँ माई त्यस्तो लडाईं लड्न। मेरो लडाईं कसैको सत्तामा पुग्ने भर्याधङ बन्छ भने किन म आफूलाई बलिदान गरूँ माई? मेरो रगतले त्यो नेताको सत्तामा पुग्ने बाटो किन फराकिलो र चम्किलो पारूँ?

देशमा त अहिले परिवर्तन आइसकेको छ। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनिसकेको छ, होइन र माई? संविधानसभाले संविधान जारी गरिसकेको छ। लोकतन्त्रले सबै जातजाति, वर्ग, लिंग र क्षेत्रको अधिकार सुरक्षित गरिसकेको बताइएको छ। तर म एउटा गरिब— मधेसको। म एउटा तल्लो जात …मुसहर’ यो मधेसको! मुसा खाने जात! यसै भन्छन् हामीलाई सबैले। के मान्छे भएर बाँच्न पाउने मेरो अधिकार अझै सुरक्षित भएको छैन? मान्छेले खाने खाद्यान्न हामीले कहिले खान पाउने? अझै कति पुस्ता आफ्नो अस्तित्व स्थापनाका निम्त लड्नुपर्ने हो! त्यसो हो भने म किन जन्मूँ माई? भो म चाहन्नँ जन्मन माई।

म जन्मँदा मेरो वर्ण कालो हुनेछ। किनकि तिमी काली छौ माई, अनि मेरा बाबु पनि त कालै थिए होला। अचेल त तिमी जेठको धुपमा खेतमा काम गर्दागर्दा थप काली भइसकेकी छौ। दुई जिउकी हुँदा आवश्यक पर्ने पोषणयुक्त खानेकुरा र आरामको अभावले २५ वर्षमै तिमी ५५ वर्षकी जस्ती भइसकेकी छौ। तिम्रा गाला चाउरी परेका छन्। आँखाको मुन्तिर निलो घेरा लागिसकेको छ। यस्ती माईको कोखमा १० महिना बसेर निस्कने मेरो छाला कसरी गोरो होला र! यही कारण नै मैले जमिनदार र उच्च जातको भनिएका मान्छेको घरभित्र प्रवेश नपाउने अवस्था हुनसक्छ। जातीय पर्दा त छँदैछ।

मेरा बाबुलाई गरिबीबाट मुक्तिको लागि भनेर सत्ताविरुद्ध लड्न लगाउने नेता झनै रुढिवादीले ग्रस्त छ माई। उसले केही हजार भोटका निम्ति यो नाराको साथ लिएको हो। ऊ आफूलाई समाजका सबैले …मालिक’ भनून् भन्ने चाहन्छ। ऊ कसरी मालिक भयो? त्यो नेता हामी तराईवासी र पहाडेलाई लडाएर आफू फाइदा लिन चाहन्छ। त्यसकारण पनि समाजमा सधैं सद्भाव भड्किरहोस् भनेर अनेक वितण्डा मच्चाउँछ त्यसले। विखण्डनको बीउ रोप्न चाहन्छ त्यो नेता।

मेरो बाबुले माटो भरिएको टाला बोकेर तिमीलाई पालिरहेको थियो। ऊ गाउँमा सबैभन्दा सिपालु थियो माटोको काम गर्न र टाला बोक्न। आफ्नो इमानदारीमा बाँचिरहेको थियो। सोझो र गरिब मुसहर मेरो बाबु। त्यही नेताले हत्या गर्योआ मेरो बाबुको राजनीतिका नाममा! अझै कति लामो समय गरिबी र जातीय भेदभावका नाममा राजनीति चलिरहने हो मेरो मधेसमा? खेतमा काम गर्दागर्दै नेताको गुलियो गफ पत्याएर टाला फ्याल्दै आन्दोलनमा गए मेरा बाबु। र, मारिए पुलिसको गोलीद्वारा।

एकपटक त्यो नेता आएर तिम्लाई केही हजार पैसा दिएर गएपछि फर्किएर पनि आएको छैन। त्यसले मेरा बाबुलाई सहिद घोषणा गराउने र सरकारद्वारा आर्थिक सहयोग दिलाउने आश्वासन पनि तिमीलाई दिएको थियो। तर अहिले त्यो बेपत्ता छ। अब त त्यो नेताले तिमीलाई चिन्दा पनि चिन्दैन माई। ऊ त अब अर्को सोझो मधेसी दलितको खोजीमा लागेको छ, जसले सजिलै उसका निम्ति प्राण आहुति दिन सकोस्! आन्दोलनका नाममा जतिजति मान्छे मर्छन्, उतिउति त्यसको राजनीति बलियो बन्दै जान्छ। सोझा मधेसीको मृत्यु उसका निम्ति सत्तासँग लेनदेनको दह्रो हतियार बन्छ।

ऊ गरिब जनताको नाममा राजनीति गरिरहेको छ। उसका राजधानीमा तीन वटा महल छन् भन्ने तिमीले पनि सुनेकै होला। हाम्रो गाउँमा त उसको बीसौं बिगाहा जमिन छ। तर तिम्रो नाममा आजका मितिसम्म एक धुर जमिन पनि छैन माई। हामी कसरी यत्ति गरिब भयौं माई? त्यो नेता कसरी मालिक भयो माई?

उसका छोराछोरी कोही पनि मधेसमा बस्दैनन्। मधेस त तिनको पिकनिक गर्ने स्थल हो। जाडो छल्न कहिलेकाहीँ आउँछन्। हाम्रो फोटो खिच्छन् तिनका महँगा मोबाइलले। तर नजिक पर्नै दिँदैनन् हामीलाई। नाकमुख छोप्छन् हामी नजिक पर्दा तिनले। …गन्हायो, अलि पर जा’ भन्छन्। आन्दोलनका बखत त तिनले मधेसमा छड्के आँखा पनि लाउँदैनन्। राजधानी वा छिमेकी देशका सहरमा बस्छन्। उतै पढेका हुन् तिनले। पारितिरका नेतासँग पनि त्यो नेताको बाक्लै उठबस छ। हरेक निर्वाचनमा उसलाई उताकै सहयोग बढी हुने गरेको छ। रोटीबेटीको सम्बन्ध त हुने नै भयो। उसले आफ्ना सन्तानको बिहाबारी पनि पारितिरै गरिदिएको छ। वारि त ऊ राजनीतिक मनोरन्जन गर्न मन पराउँछ। यता वारिको उसलाई पटक्कै विश्वास छैन। विश्वास छ त केवल हामी गरिबका नाममा गर्ने व्यापारको मात्रै! हाम्रो भोट नपाउन्जेलमात्रै ऊ हामीलाई विश्वास गर्छ।

त्यो नेता गरिब, तल्लो जातका मधेसीलाई भर्या्ङ बनाएर सत्ताको बुइँगलमा चढेको छ माई। हामी गरिब, दलित आफ्नो दैनिक छाक टार्न पनि सधैैं धौधौमै छौं। अस्ति भर्खर तिमी खलियानमा झरेखसेको धान र मुसा खोज्न जाँदा नपाएर भोकै बसेको मैले कहाँ बिर्सेको छु र माई! त्यस दिन यहाँ मलाई पनि निकै भोक लागेको थियो। तिमीले केही खान पाउँदा नै मेरो पनि पेट भरिने हो। त्यो भोकको साम्राज्यमा म किन जन्म लिऊँ माई?

तिमी मलाई सुनिरहेकी छ्यौ माई? कि आफ्नो अत्यन्तै ठूलो हुँदै गएको पेट सुम्सुम्याउँदै म जन्मने दिनको प्रतीक्षा मात्रै गरिरहेकी छ्यौ? माई! म तिम्रो जन्म–जन्मान्तरको भोक कसरी मेट्न सकूँला? तिमीलाई कसरी सुखी राख्न सकूँला? मलाई तिमी आफ्नो दुःखहर्ता नठान माई। मेरो जन्मले तिमीलाई थप दुःखी बनाउन सक्छ। मसँग त्यति धेरै अपेक्षा नगर माई। म कसरी पूरा गर्न सकूँला माई तिम्रो आकांक्षा? तिम्रो भोकको आयतन म कसरी घटाउन सकूँला?



प्यारी माई,

म अहिले १० महिनाको भएँ।

माई अहिले तिमी काम गर्न त परै जाओस्, हिँड्न पनि नसक्ने भएकी हौली। सुत्न पनि गाह्रो भएको होला। कम्मर कति दुख्दो होला। शरीरका विभिन्न भाग सुन्निएका होलान्। बेलाबेलामा बेहोस हुने अवस्था पनि आयो होला। पाइला सार्दासाथ स्वाँस्वाँ हुँदो होला!

म त पूरापूर मानव भइसकेको छु यहाँ माई। मेरा सम्पूर्ण अंग दुरुस्त भइसकेका छन्। म पृथ्वीमा आउन शारीरिक रूपले तयार छु माई अब।

अब मैले एउटा कठोर निर्णय लिनैपर्छ माई। पृथ्वीमा आउने कि नआउने भन्ने! मलाई तिम्रो मद्दतको सख्त जरुरत छ माई। म पृथ्वीमा आउने वा नआउने भन्ने अन्तिम निर्णय गर्ने तिमी नै हौ। मेरो ब्रह्मा तिमी नै हो। मेरो इच्छाले मात्रै यो सम्भव छैन। तर म तिमीलाई अनुरोधचाहिँ गर्न सक्छु। मेरो इच्छाविपरीत मलाई पृथ्वीमा नलैजाऊ भनेर! अनागरिक भएर सारा जीवन गुजार्नुपर्ने देशमा म कसरी जन्मलिऊँ माई! तिमीले त नागरिकता नै पाएकी छैनौ आजसम्म। म कसरी पाऊँला नागरिकता? कहाँ, कसरी, कोसँग माग्ने नागरिकता भन्ने नै तिमीलाई थाहा भएन! सायद नागरिकता तिम्रा लागि कहिल्यै आवश्यक भएन! तिमीलाई राज्यसत्ताले …नागरिकतविहीन नागरिक’ बनाइरह्यो माई।

मलाई आगो पटक्कै मन पर्दैन माई। आफ्नै घरमा आगो लगाएर निस्केको खरानी तापेर म जीवन गुजार्न सक्दिनँ माई। त्यो आगोले मेरो पेटको भोक मेटिने पनि छैन। के मेरो धर्तीमा प्रतिशोधको आगो अझै निभेको छैन माई? मेरो मधेसले अझै राजधानीसँग लडिरहेको छ? राजधानी मेरो मधेसलाई सुन्न अझै तयार छैन? कि राजधानी मेरो भाषा बु‰दैन माई?

आन्दोलनमा प्रहरी मारिएको घटनाको प्रतिशोधमा अझै मेरो घर (छाप्रो) खानतलासी हुँदैछ माई? सरकार किन मौन छ? किन बोल्दैन राष्ट्रपति? किन बोल्दैन प्रधानमन्त्री? कि त्यो राजधानीको मात्र सरकार हो? त्यो नेता, जसले मेरा बाबुलाई मर्न उक्सायो, के गर्दैछ अहिले? कि त्यसले राजधानीसँग सम्झौता गरिसक्यो? मेरो गरिबी र जातलाई त्यसले फेरि कुनै पनि दिन मन्त्री पदसँग साट्न सक्छ माई। त्यो हरामी छ। त्यो गद्दार हो माई। धोकेबाज हो त्यो। तिमी त्यसको पछि कहिल्यै नलाग्नु है माई! त्यसले तिम्लाई पनि गोलीको सिकार बनाइदिन सक्छ। अर्थहीन सहिद बनाइदिन सक्छ! त्यो नेता मधेसमा आगो सल्काएर आफू राजधानीको शीतल ताप्न सिपालु छ।

त्यसले आफ्नो छोरोको बिहा तीनपटक गरिदिइसक्यो। दाइजो नपुगेको भन्दै त्यसले दुई वटी बुहारीको हत्या गरिसकेको छ। त्यो देशको कानुनभन्दा माथि छ। त्यसलाई कानुनले छुँदैन। दुई वटी बुहारीको हत्या गरिसक्दा पनि त्यसलाई कुनै सजाय भएको छैन। त्यसलाई राजधानीले पनि सुरक्षा दिएको छ।

अवस्था यदि यथावत् छ भने मलाई दया गरी जन्म नदेऊ माई। बिन्ती छ माई, म त्यो संसारमा आउन चाहन्नँ। मलाई बन्दुक र बमको आवाज पटक्कै मन पर्दैन माई। कर्फ्युमा म निसास्सिन्छु। निषेधाज्ञाले मलाई स्वास फेर्न गाह्रो गरिदिन्छ। मान्छेले मान्छेलाई मारेको, दाजुभाइबीच अविश्वास चुलिएको र कित्ताकाट भएको म हेर्नै सक्दिनँ। आन्दोलन, जुलुस, बन्द–हड्ताल, चक्काजाम, हत्या–हिंसा केही पनि मन पर्दैन मलाई। के त्यस्तै छ मेरो देशको अवस्था माई? त्यसो हो भने म कुनै अर्कै समयमा तिम्रो कोखमा आउने छु माई। म आफू जन्मने यो उपयुक्त समय होइन भन्ने निष्कर्षमा पुगेको छु माई।

बाँकी जिम्मा तिम्रै।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु