नौटङ्की

- दिव्य गिरी

डम्डम्...डम्डम्...डम्डम्...
डमरू बजाउँदै भीडको बीच उभिएको चटके
भीडको माझ
रातो रुमालले छोपेर राखेको गोल्टिन
र, गोल्टिनभित्र दस रुपैयाँको नोठ
सबैको आकर्षणको केन्द्रविन्दु – गोल्टिन !
उत्सुकता फैलिएको भीडको आँखाहरु
कौतुहलता उर्लिएको भीडको अनुहारहरू ।

डम्डम्...डम्डम्...डम्डम्...
वरिपरि भीडतर्फ हेर्दै चटके भन्छ —
म यौटा चटक देखाउँछु
तपाईंहरू हेर्र्दै जानुस्...
गोल्टिनभित्रको दस रुपैयाँको नोठलाई
म सय रुपैयाँको नोठ बनाई दिन्छु ।

भुईँको गोल्टिनमा एकत्रीत भीडका आँखाहरू
चटकेको अनुहारतिर आकर्षित भीडका अनुहारहरू
बेलाबेलामा चटके गोल्टिनको माथिमाथि घुमाएर डमरु बजाउँछ
र बढ्दै गएको भीड देखेर दङ्ग पर्छ
चटकेको कुरा सुनेर मख्ख पर्छ भीड
उत्तेजित र उत्साहित भीडलाई
निकै हतारो छ –
चटकेले कहिले बनाउला दसलाई सय ।

डम्डम्...डम्डम्...डम्डम्...
यो पटक निकै जोडले बज्छ डमरू
तर चटके भन्छ–
यो दसको नोठलाई सयको बनाउँदै गरूँला
पहिले मेरो यौटा अमूल्य कुरा सुन्नोस्
तपाईँहरू मध्ये कोही
अमलपित्त, कमलपित्त, गानो–गोला, अल्सर
आदि कुनै पनि रोगबाट पिडीत हुनुहुन्छ भने

मसँग सबै रोगको अचूक औषधी छ
यसको नाम हो–सर्वरोग निवारण चक्की
साँझ–बिहान यसको सेवन गर्नुस्
तपाईंको रोग छुमन्तर !

हो,
यस्तै चटकेहरूले हामीलाई पनि
दसकौंदेखि भनिरहेछन्
तिमीहरूको गरिबी हामी छुमन्तर गरिदिन्छौं
यस्तै नौटङ्की देखाउनेहरू
धेरैधेरै वर्षदेखि
गरिबको रगत पसिना चुसिरहेछन्
हरेक बिहान तिनीहरू रित्तो भुँडी लिएर
सिंहदरबारभित्र छिर्छन्
र हरेक साँझ झुसिलो डकारसहित
सिंहदरबारबाट बाहिरिन्छन्
विडम्बना !
तिनीहरू आज पर्यन्त पनि अघाएका छ्रैनन्
जसरी चटकेले दसको नोठलाई कहिले सयको नोठ बनाएन
त्यसरी नै तिनीहरूले पनि
गरिबको आँसु कहिले पुछेनन् ।

हरेक दिन टुँडिखेलमा चटके
दसको नोठ सय बनाउने चटक देखाउँछ
हरेक दिन सिंहदरबारमा नौटङ्कीवालाहरू
गरिबी हटाउने नाटक मञ्चन गरिरहन्छन् !
तर त्यतिबेला तिनीहरूको अनुहार
अरु घिनलाग्दो देखिन्छ
जतिबेला तिनीहरू टी.भी.क्यामरा अगाडि
दाँत देखाउँदै ङिच्च हाँसिरहेका देखिन्छन्् ।

टिकाथली, ललितपुर

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु