नियात्रा र नगेन्द्रका नियात्रा

- नवीन पौड्याल

मानिसले विभिन्न प्रकारले ज्ञान हासिल गर्दछ। यस्ता विभिन्न किसिममध्ये यात्रा पनि एउटा हो। यात्राबाट मान्छेले अनेक ज्ञान हासिल गर्दछ। यो ज्ञानको अजस्र स्रोत हो। मान्छेको स्वभाव नै यात्रातर्फ उन्मुख हुन्छ। मान्छे स्वभावले नै घुमक्कड हुन्छ। भ्रमणशीलता मान्छेको नैसर्गिक प्रवृत्ति हो। माऩ्छेले आफ्नो यात्राको शुरूआत आदिमकालमा आफु ओडारबाट निस्किएदेखि नै गरेको हो। मान्छे घुम्दै घुम्दै संसारभरि आफ्नो आधिपत्य जमाइसकेर अब अन्तरीक्ष यात्रातिर पनि लम्किसकेको छ।
१. परिभाषा
साहित्यका विभिन्न विधामध्ये निबन्ध विधा एउटा प्रमुख विधाका रूपमा रहेको छ। निबन्धभित्र पनि अनेक उपविधाहरू रहेका हुन्छन्। त्यस्ता उपविधाहरूमा प्रवन्ध, लेख, जीवनी, आत्मजीवनी, संस्मरण, यात्रा संस्मरण, रूबन्ध आदिका रूपमा भेद गरिएको पाइन्छ। यसमध्ये यात्रासित सम्बन्धित संस्मरण नै यात्रासंस्मरण हो। नेपाली साहित्यमा यस उपविधालाई यात्रावृतान्त, यात्रावृत्त, यात्राविवरण, यात्रानिबन्ध, भ्रमणवृतान्त, यात्रासाहित्य, भ्रमणसाहित्य, नियात्रा आदि अनेक नाम प्रचलित छन्। हिन्दी साहित्यमा पनि यात्रासाहित्य, यात्रावृतान्त, यात्रानिबन्ध, यात्रासंस्मरण आदि प्रयुक्त भएका छन्। अङ्ग्रेजी साहित्यमा पनि ट्राभल लिटरेचर, ट्राभल एकाउन्ट, ट्रेभल मेमोर्सका साथै ट्राभल र मोनोलोग शब्दहहरूको योगबाट ट्राभलग शब्द प्रचलित देखिन्छ। अँग्रेजीमा यात्रा विवरणलाई जनाउने अन्य केही शब्दावलीहरूमा आउटडोर लिटरेचर, एक्लोरेसनमा, एडभेन्चरस लिटरेचर, माउन्टेन लिचरेचर ट्राभल गाइड बुक जस्ता शब्दहरू पनि प्रयुक्त छन्। हिन्दीको नियात्राकार राहुल सांकृत्यायनले घुमक्कडी साहित्य पनि भनेका छन्। यसरी नै नेपालीमा पनि निबन्ध र यात्राको योगबाट नियात्रा शब्द निर्मित भएको छ। नियात्रा साहित्यिक विधाविशेषबोधक निबन्ध शब्दबाट नि उपसर्ग झिकी यात्रा शब्दमा लगाएर यात्रानिबन्धको अर्थमा नवनिर्माण गरिएको शब्द हो। निजात्मक अनुभूति निबन्ध तत्वको रूपमा आएजस्तै नियात्रामा पनि निजात्मक अनुभूतिको उपस्थिति रहनु आवश्यक हुन्छ। यस अर्थबाट हेर्दा सबै यात्रावर्णन रचना नियात्रा होइनन् र मानवीय संवेदनायुक्त आत्मपरक शैलीका यात्रावर्णन नियात्रा हुन् भन्ने बुझिन्छ।
बालकृष्ण पोखरेलले निबन्धको वर्गीकरण गर्ने क्रममा दुईवटा वर्गीकरण गरेका छन् – प्रबन्ध र जमर्का। प्रबन्धका विभिन्न उपभेदमध्ये यात्रा विवरण (Travel Account) लाई राखेका छन् भने जमर्को (निजात्मक) का चारवटा भेदमध्ये नियात्रालाई एउटा अर्कै उपभेदका रूपमा राखेका छन्। यस हिसाबले हेर्दा बालकृष्ण पोखरेलले यात्रा-विवरण र नियात्रालाई अलगअलग अर्थ र उपविधाका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार यात्रा गर्दा सामान्य विवरण यात्रा विवरण हो भने त्यही यात्रा विवरण गर्दा लेखकले निजी रङ्गमा रंगाएर साहित्यिक अभिव्यक्ति दिँदा नियात्राको जन्म हुन्छ। यात्रा विवरण वा भ्रमण संस्मरणमा आधारित भएरै नियात्रा लेखिन्छ। यसको सत्य विषयवस्तुले नै यसलाई कथा हुनुबाट जोगाएर नियात्राको रूप लिन्छ। हिन्दी साहित्यमा पनि यात्रासाहित्य शब्द बढी उपयुक्त हुन्छ। यसका दशवटा श्रेष्ठ कृतिहरूमा दत्तात्रेय बालकृष्ण काका कालेलकरको 'यात्रा का आनन्द', राहुल सांकृत्यायन 'किन्नर देश में', अज्ञेयको 'अरे यायावर रहेगा याद', फणीश्वरनाथ रेणूको 'ऋणजल धनजल', मोहन राकेशको 'आखिरी चट्टान तक', निर्मल वरमाको 'चींडो पर चाँदनी', कृष्णनाथको 'स्पीति में वारिश', राम कुमारको 'युरोप के स्केच', कृष्णा सोवतीको 'बुद्ध का कमण्डल लद्दाख' र अमृतलाल बेगडको 'तीरे तीरे नर्मदा' हुन्।
बालकृष्ण पोखरेलको यात्रा साहित्यसम्बन्धी दुई किसिमका वर्गीकरणलाई अघि बढाउँदै यात्रा वर्णन र नियात्रा गरी दुई वटा वर्गीकरण गरेका छन्। यात्रावर्णन, यात्राविवरण, यात्रावृतान्त र यात्रासंस्मरणमा यात्राका विषयवस्तु र घटनाक्रमहरूको उपस्थिति भए पनि निजात्मक अनुभव र अनुभूतिका प्रसङ्गहरू कि हुँदै हुँदैनन् कि ज्यादै कम हुन्छन्। तर घटनाक्रमसँगसँगै लेखका अनुभव, अनुभूति र विचारहरूको मनोरम प्रस्तुतिका शीप र शैलीको त्यो रचना यात्रावर्णन, यात्राविवरण वा यात्रासंस्मरण हो। यही नियात्रा हो भन्ने निर्धारण गर्छ। नेपाली बृहत् शब्दकोशमा नियात्राको अर्थ दुईवटा दिइएको छ- १. यात्रा निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप। २. यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध। यसबाट नियात्रा निबन्धकै उपविधाका रूपमा देखाइएको बुझिन्छ। यो नियात्रा शब्द नेपालीमा मात्र प्रयोग देखिन्छ। यसको सैद्धान्तिक रूपमा न्वारान गर्ने बालकृष्ण पोखरेल हुन्। उनले वि. सं २०२५ मा प्रकाशित तारानाथ शर्माको बेलायततिर बरालिँदा पुस्तकको भूमिकामा सर्वप्रथम यस शब्दको प्रयोग गरेका गरेका थिए। त्यसपछि वि. सं. २०४० मा बृहत् नेपाली शब्दकोशमा यस शब्दले प्रविष्टि पायो। त्यसपछि भने नेपालीमा यही शब्दले मान्यता व्यापकता पायो र यो शब्द सामान्य उपविधाको रूपमा चलनचल्तीमा आयो।
नियात्रा शब्दको व्युत्पत्ति यात्रा निबन्धबाट भएको हो। निबन्ध शब्दबाट नि उपसर्ग झिकी य़ात्रा शब्द लगाएर यात्रानिबन्धको अर्थमा नवनिर्माण गरिएको शब्द हो। निबन्धमा झैं यसमा पनि निजात्मक अनुभूतिको उपस्थिति रहनु आवश्यक हुन्छ। यात्रा विवरण दिँदैजाँदा आफ्ना रागात्मक अनुभूति र संवेदनालाई समेत अभिव्यक्ति दिदैँ आत्मपरक शैलीमा चमत्कारितासहित लेखिने नियात्रा हो। 'कुनै सृजनशील यात्रीले यात्राका क्रममा देखे-भोगेका विविध परिदृश्य, घटना प्रसङ्ग र सङ्गालेका अनुभवलाई निजात्मक रङ्गले रंगाएर भावना र कल्पनाको यथोचित समन्वयका साथ मनोहारी शैलीमा आत्मपरक ढङ्गबाट लिपिबद्ध गरेको यथार्थपरक गद्यकृति नै नियात्रासाहित्य हो।' यात्रा विवरण जति सबै नियात्रा हुँदैन। निरस तवरले वस्तुनिष्ठ वर्णनबाट साहित्यिकता नआए नियात्रा हुँदैन। बालकृष्ण पोखरेलले यात्रासाहित्यलाई यात्रा विवरण र नियात्रा गरी दुई भेद गरेका छन्। उनका अनुसार सत्यको निस्तो वर्णन छ भने लेख मात्र हुन्छ औ रमरमको आनन्दबाट मुछिएको चाँहि नियात्रा हुन्छ। नियात्रालाई उद्देश्य जे भए पनि गौण हुनुपर्छ। यात्रालेख पशुपतिको जात्रा हो भने नियात्रा चाँहि सिद्राको व्यापार हो। यात्राकारको स्वयंको उपस्थिति, य़ात्राकारको निजात्मक अनुभूति, रोचकता, चित्रात्मकता, यात्राको पश्चकालिक प्रस्तुति अनुभूतिका साथै आत्मीयता, स्वच्छन्दता, अनोपचारिकता, कल्पनाप्रवणता. हार्दिकता र भावनाको उच्छलन जस्ता गुणको समन्विति यसको निबन्धात्मक स्वरूपसित सम्बन्धित भावात्मक पक्ष हो भने यात्राका क्रममा लेखक यात्रीसित सम्बन्धित हुन आउने स्थलहरू, व्यक्तिहरू, विविध दृश्यावली र घटना-प्रसङ्ग अनुभवात्मक पक्ष हुन्। आदि यसका स्वरूप र विशेषता हुन्। नियात्रासित संस्मरणको पनि सहसम्बन्ध हुन्छ। यद्यपि आफ्नो बाल्यकालको सम्झना वा कसैसितको सम्झनामा लेखिने संस्मरण र यात्रामा देखिएको र अनुभूत गरिएको सम्झनामा लेखिएको नियात्रा हो। यसर्थ, यात्रासित सम्बन्धित संस्मरण मात्र नियात्रा हो। नियात्रा साहित्यलाई पनि क. वर्णनात्मक-विवरणात्मक ख. आख्यानात्मकता, ग. पत्रात्मक, घ. दैनिकी लेखन, ङ. संस्मरणात्मकता, च. निबन्धात्मक गरी छवटा उपभेद गर्न सकिने ठाउँ छ।
३. नियात्रा- निबन्ध कि अन्य विधा?-
नियात्रालाई विधा खुट्याउने क्रममा दुईवटा मत देखा पर्छन्- पहिलो मतमा यो निबन्ध विधाअन्तर्गत पर्दछ। अर्को मतमा यसलाई स्वतञ्त्र विधाका रूपमा मानिन्छ। नियात्रा शब्दको नि उपसर्गलाई निबन्ध माने पनि निजात्मकता माने पनि केही अध्येताहरूले यसलाई निबन्ध विधाभित्र नराखी अन्य विधाका रूपमा उभ्याएका छन्। अघिल्लो मतका केही पक्षधरमा बालकृष्ण पोखरेल, डा लक्ष्मणप्रसाद गौतम, राजेन्द्र सुवेदी, बालकृष्ण पोखरेल, तारानाथ शर्मा आदि हुन्। डा बासुदेव त्रिपाठीका अनुसार स्वयम् आफ्नै अनुभवमा आत्मकथा, दैनिकी, संस्मरण र यात्रावृतान्त आधारित हुन्छन् र यी विधामा केन्द्रविन्दु स्वयम् नै हुन्छ। यति हुँदाहुँदै पनि आत्मकथा र दैनिकी मूलतः स्वयम्‌मा केन्द्रित रहन्छन् भने संस्मरण र यात्रावृतान्त चाँहि विन्दुमा आफु रहँदारहँदै पनि वर्ण्य विषयका मूलमा अर्कै व्यक्ति वा वस्तु तथा विषयलाई अँगाल्दै आत्मपरकताबाट प्रशस्त फैलिई वस्तुपरकतातिर जान सक्छ। उनका अनुसार अन्यविधाको यात्रासाहित्य आख्यानात्मकतामा पर्दछ। डा. घनश्याम नेपालले नियात्रालाई एक स्वतञ्त्र उपविधाका रूपमा मानेका छन्। यस्तै गरी निर्मोही व्यासले पनि यसलाई एक स्वतञ्त्र विधा वा नव अन्यविधाका रूपमा लिएका छन्। निबन्धचाँहि यात्रासाहित्यको पूर्वज विधा हो। निर्मोही व्यासका विचारअनुसारको निबन्ध र यात्रा साहित्यका बिच मुख्य भिन्नता यसरी देखाउन सकिन्छ-
निबन्ध-------------------- नियात्रा
१. मूलतः स्थितिशील लेखन-------- पूर्णतः गतिशील लेखन
२. संस्मरणतत्त्व अनुभूतिका रूपमा मात्र (वैकल्पिक)----------संस्मरणतत्त्व अनिवार्य रूपमा
३. स्वकेन्द्री लेखन-----------------आत्मपरक हुँदाहुँदै परकेन्द्री लेखन
४. स्वच्छता, कल्पनाप्रवणता, चिन्तनगतता, रागात्ममकता ----स्थानीयता, तथ्यात्मकता, विवरणात्मकता, गतिशीलता, निजात्मकता, चित्रात्मकता।
५. वैचारिकताको प्राधान्य-----विवरणात्मकता, सूचनात्मकता।

समग्रमा नियात्राका लक्षण, विशेषता र स्वरूपलाई यसरी केलाउन सकिन्छ-
१. नियात्रामा यात्रावृतान्तका स्मृतिबिम्बहरूको प्रयोग र त्यस्ता स्मृतिबिम्बहरूलाई कल्पनाको रङ्गले रङ्गाइएको हुन्छ।
२. नियात्रामा लेखकीय स्वको आत्मप्रकटीकरण हुन्छ र यसमा वैयक्तिकताको समेत प्रशस्त उपयोग हुन्छ।
३. वर्णनको मनोहारिता,रोचकता र कुतूहलता हुन्छ।
४. यो प्रथम पुरूष दृष्टिकोणमा नै लेखिन्छ।
५. यसमा कोरा वृतान्त वा वर्णनात्मकता हुनुहुँदैन।
६. सूचनात्मकता, निजात्मकता र चिन्तनशीलता हुन्छ।
७. नियात्रामा लेखकले उसको गद्यमा काव्यिकता ल्याउनु पर्छ।
८. लेखकले यात्रा वर्णन गर्दा आफुलाई कवि, दार्शनिक, अन्वेषक आदिको रूपमा समाहार गर्नुपर्छ।
भ्रमण साहित्य भन्दैमा जम्मै नियात्रा हुँदैनन्। नियात्रामा आत्मीयता, हार्दिकता, रागात्मकता, कल्पनाप्रवणता, चित्रात्मकता र रमणीयता आदि गुणको अनिवार्य रूपमा समन्वित हुनुपर्छ। अतः नियात्रा यात्राकालीन दैनिक टिपोट र संस्मरणको रागात्मक लेखन हो। यसमा स्थानविशेषको सामाजिक, सांस्कृतिक, रीतिरिवाज, इतिहास, भूगोल, प्राकृतिक सौन्दर्य, स्थानीय इतिवृत्त आदि झल्काइएको हुन्छ। भ्रमण गरिएको ठाउँको सामान्य विवरण भए यात्रानिबन्ध, यात्राविवरण, यात्रावृतान्त हुन्छ भने यात्रावर्णनमा लेखकले आफ्ना अनुभव र अनुभूतिलाई कलात्मक ढङ्गले प्रस्तुत गरेमा त्यो नियात्रा कहलाउँछ। अर्थात् विशिष्ट किसिमको भए मात्र नियात्रा हुन्छ। लेखकले सोझो तरिकाले कहिले हिँडियो, एक्लै कि अरू कसैसँग डुलियो, केमा चडेर गइयो, कहाँ बसियो, के खाइयो, कहिले फर्किइयो आदिजस्ता कुरा मात्र वर्णन गरियो भने नियात्रा हुँदैन। विषयवस्तुका साथसाथै भावना पनि हुनुपर्छ। नियात्रा पढ्दा पाठक पनि बनोस् घुमक्कड र अभिन्न मित्र अनि लेखकसँग हिँडिरहोस् यात्राको आनन्द लिँदै र साथमा ज्ञान बटुल्दै। यस यात्रा संस्मरणसित सम्बन्धित अन्य शब्दहरू पनि प्रयुक्त छन्। तीर्थाटन, देशाटन, पर्यटन, भ्रमण आदि पनि प्रयुक्त छन्। कोही तीर्थको उद्देश्य लिएर घुंम्ने तीर्थाटन, कोही सामान्य रूपमा देश-विदेश भ्रमण गर्नु देशाटन हुन्छ। पर्यटन भनेको कुनै एउटा ठाउँको कुनै आकर्षणले देश-विदेशका मानिसहरू घुम्ने काम गर्नु हो। विद्यार्थीहरूको कुनै सर्वेक्षण र अन्वेषणात्मक उद्देश्य लिएर घुम्ने गरेको पनि देखिन्छ। यस्तोमा शैक्षिक भ्रमण हुन्छ। पैदलै हिँडेर कुनै दुरी तय गर्नु पदयात्रा हो। कुनै राजनयिक व्यक्तिले विदेशतिर गएर अन्य देशका राजनयिक व्यक्तिहरूसित सम्पर्क गर्ने उद्देश्य लिएको छ भने कुटनैतिक यात्रा आदि पनि प्रयुक्त हुन्छन्। कोही मानिस आफ्नो शौकका रूपमा मात्र पनि यात्रा गर्छन्। यसर्थ, धार्मिक यात्रा, स्वदेश यात्रा, विदेश यात्रा, कुटनैतिक यात्रा, तीर्थ यात्रा आदिसित सम्बन्धित सबै खाले लेखन यात्रा संस्मरण हुन्।
२. नेपाली साहित्यमा नियात्रा –
नेपाली साहित्यमा नियात्रा साहित्य निकै विकसित बनेको छ। आजभन्दा लगभग ५०० वर्ष अघिको 'राजा गगनीराजको यात्रा' देखि आजसम्ममा नेपाली .यात्रासाहित्यले धेरै घुम्ती, मोड- उपमोड पार गर्दै विकसित हुँदैआएको देखिन्छ। यदि हामीमाझबाट घु्म्न जानेमध्ये दश प्रतिशत व्यक्तिहरूले आफुले गरेको यात्रा वर्णन लिखित रूपमा प्रकाशित गरे भने पनि नेपाली नियात्रा अझ निकै विकसित हुने थियो। यद्यपि नेपाली नियात्रा साहित्य त्यति अविकसित र कमजोर भने अवश्य छैन, विकसित र सम्पन्न छ। सं १९१०मा प्रकाशित जङ्गबहादुरको बेलायत यात्रा नेपाली यात्रासाहित्यको कोसे-ढुङ्गो सावित भएको छ भने शेरसिँह राना, लैनसिंह बाङ्देल, तारानाथ शर्मा, केदारमणि आदी, प्रकाश ए राज, घनश्याम राजकर्णिकार, सलोन कार्थक, जय छाङ्छा आदि नेपाली नियात्रा साहित्यका विशिष्ट साधक हुन्।
नेपाली नियात्रा साहित्यको कालविभाजन गर्ने क्रममा प्रमोद प्रधानले तीन चरणमा विभाजन गरेका छन्-
क) प्रारम्भिक वा पहिलो चरण (वि सं १९१० भन्दाअघिसम्म)
ख) विकाससशील वा दोस्रो चरण (वि सं १९१०- वि सं २००९ सम्म)
ग) आधुनिक वा तेस्रो चरण (वि सं २०१० देखि यता)
यसमा रहेको प्रथम चरणमा यस्तो साहित्य त्यति नदेखिएको भए तापनि राजा गगनीराजको यात्रालाई मूल आधार मानिएको छ। यसका लेखक करवीर रावल थिए र यसको रचनाकाल सं १५५० हो। यस कृतिको खोजिपत्ता लगाउने पूर्णप्रकाश यात्री हुन्। यस चरणमा नियात्रा साहित्यको पृष्ठभूमि मानिन्छ। वि सं १९१० को जङगबहादुरको बेलायत यात्रादेखि दोस्रो चरण मानिन्छ। यस चरणका नियात्रा कृतिहरूमा राजकीय कामका लागि शासकहरूले यात्रा गर्ने गरेका र यात्रा प्रसङ्गसँग सम्बन्धित विषय र अनुभवलाई यात्रा दलका कर्मचारीहरूलाई लेखाउने गरेको पाइन्छ। शासकहरूबाहेक विदेशी सेनामा काम गर्न गएका र तीर्थयात्राका क्रममा भएका भ्रमणहरूका आधारमा लेखिएका केही कृति देखा परेका छन्। यस चरणका केही नियात्रापरक कृतिहरूमा जङगबहादुरको बेलायत यात्रा (सं १९१०), चिरञ्जीवी पौड्यालको आफ्नु कथा, रणसूर लिम्बूको बर्माको सम्झना, राममणि आदीको यात्रासंस्मरण, पतञ्जली गजुरेलको तीर्थावली, शेरसिंह रानाको मेरो लण्डन राजतिलक यात्रा इत्यादि। यस कालमा अनेक कृति र लेख नियात्रा साहित्यको रूपमा देखा परेका छन्। यस चरणमा नै नेपाली नियात्रा साहित्य लेखनका क्रममा धेरै विकास गरेको, साहित्यिक मूल्यवत्ता ग्रहण गरेको, सौन्दर्ययुक्त लेखन र लेखकको भावावेग र अनुभूतिका कारण पनि उल्लेखनीय हुनपुगेको छ। तेस्रो चरणको शुरूवात् वि सं २०१० को लैनसिंह बाङदेलले प्रगतिमा धारावहिक रूपमा प्रकाशित युरोप भ्रमणको वृतान्तबाट भएको हो। तिनै लेखहरूको संकलन युरोपको चिठी (वि सं २०१४) हो। स्पेनको सम्झना र रोमको एउटा फूल प्यारिसको एउटा काँडा उनका उत्कृष्ठ यात्रा संस्मरणसाहित्य हुन्। यस चरणमा धेरै भ्रमणपरक लेख र लेखकहरू देखा परेका छन्। नेपाली नियात्रा साहित्यलाई उत्कर्षमा पुर्‍याउने श्रेय तारानाथ शर्मालाई जान्छ। उनको बेलायततिर बरालिँदा (वि सं २०२६) पुस्तकले मदन पुरस्कार सम्म पाएको हो। उनीबाहेक केदारमणि आ. दी, यादव खरेल, रमेश विकल, मञ्जुल, घनश्याम राजकर्णिकार, गंगा उप्रेती, गोविन्द वर्तमान, जय छाङछा, पूर्णप्रकाश यात्री, युवराज नयाँघरे, विजय चालिसे, इशान गौतम बुलु मुकारूङ, प्रतीक ढकाल, निर्मोही व्यास, मधुवन पौडेल, शैलेन्द्र साकार, डा साफल्य अमात्य, गोरखबहादुर सिंह, मोहन चापागाईँ, तेजप्रकाश श्रेष्ठ, भीष्म उप्रेती, रोशन थापा नीरव, हरि थापा, तुलसीहरि कोइराला, प्रकाश सायमी, रामप्रसाद पन्त, मणि लोहनी, कृश्णराज खनाल, राजेश लामिछाने, कुलचन्द्र वाग्ले, केदार भट्टराई, श्रीओम श्रेष्ठ रोदन, कुमारप्रसाद कोइराला, गोरखबहादुर सिंह, सुलोचना मानन्धर, डा मथुरा केसी, शारदा अधिकारी, अकिञ्चन शर्मा आदि अनेकौं नाम आउँदछन्। यस चरणमा नियात्रा साहित्यले पूर्ण विकास गरेको छ।
केदारमणि आदीलाई नेपाली यात्रासाहित्यका शिरोमणि मानिन्छ। उनका जम्मा सोह्रवटा नियात्राका ग्रन्थ प्रकाशित छन्। उनका स्वदेश र विदेश भ्रमणलाई पुस्तकाकार रूप दिएर नेपाली यात्रा संस्मरण साहित्यलाई निकै सम्पन्न तुल्याएका छन्। यसैगरी नेपाली साहित्यमा यात्राको विवरण काव्यात्मक रूपमा पनि नपाइने होइऩ। जस्तै खेमनाथ शर्मा पौडेलको अध्ययन भ्रमण (२०५२), कृष्णप्रसाद ज्ञवालीको मानस-सरोवरका छालहरू (२०५५), प्रह्लाद पोखरेलको गोसाईंकुण्ड (२०५६) रमेश खकुरेलको खासा ह्लासा(२०५८), विष्णुगोपाल रिसालको अमेरिकालाई हेर्दा (२०६२), गणेशकुमार पौडेलको बङ्लादेशको सफर(२०५७, गद्यकवितामा), पं. शिवराज बराल – काशीयात्रा आदि हुन्। यद्यपि यस्ता पद्यमा लेखिएका यात्रासाहित्यलाई नियात्रा मान्न सकिन्न। (प्रमोद प्रधान : पृष्ठ २०६६) नेपाली साहित्यमा केही विशिष्ट नियात्रापरक कृतिहरूमा तारानाथ शर्माको बेलायततिर बरालिँदा (२०२६), देवीचन्द्र श्रेष्ठको काठमाडौंबाहिर (२०२८) र हुम्ला बोल्छ मानसरोवरमा (२०३७), जनकलाल शर्माको कौतुकमय डोल्पो (२०३१), सात सूर्य एक फन्को, कुमार घिसिङको दुनघाटी-नालापानी, योगी नरहरिनाथको हाम्रो देश दर्शन (२०३२), सूर्यबहादुर सेनको देशदर्शन (२०३३), यादव खरेलको समुद्रपारि, सलोन कार्थकका विदेशतिर रिङदै जाँदा, पदयात्रा गाउँको फन्को विदेशको, विश्व-एउटा पल्लो गाउँ, जय छाङछाको चाँप गुराँसको मुन्तिर, पूर्णप्रकाश नेपाल यात्रीका सेतीको नालीबेली, जगदीश घिमिरे थ्याङबुचे यात्रा, एम बी प्रधानको मनका लहर र रहरहरू (सन् २०१०), गोविन्द गिरी प्रेरणाको फेरो (२०५३) आदि मुख्य हुन्।
३. सन्दर्भ नगेन्द्रका निबन्ध- नेपाली साहित्यमा एकजना विद्वान लेखकका रूपमा नगेन्द्र शर्माको नाम पनि देख्न पाइन्छ। उनी एक गहन अध्येता हुन्। उनको अध्ययनको फाँट साहित्य, राजनितीशास्त्र, समाजशास्त्र, धर्मशास्त्र, दर्शनशास्त्र सबै देखिन्छ। यसकारण उनका निबन्ध ज्ञानवर्धक, तार्किक, विश्लेषणात्मक किसिमका हुन्छन्। उनले निबन्धमा आफ्नो गहन अध्ययन, प्रतिभा, ज्ञान र अनुभवको धारले तर्क र विश्लेषणले पाठकको वौद्धिक खुराक लाभ हुँदछ। उनी आफ्नो अध्ययनको सारवस्तु र ज्ञानलाई आफ्ना पाठकहरूलाई निबन्धका माध्यमबाट बाँड्ने काम गर्छन्। उनको लेखकीय मूल्याङ्कनस्वरूप सिलगडीबाट मुक्ति प्रसाद उपाध्यायको सम्पादनमा चौरासीको नगेन्द्र प्रकाशित भइसकेको छ। यद्यपि प्रस्तुत भूमिकामा उनको नियात्रागत प्रवृत्ति र रूपरेखाको मात्र चर्चा गरिन्छ।
४. नगेन्द्रका नियात्राभित्र नियात्रापरक लेख समावेश रहेका छन्। विशेष गरी आफु शाही नेपाल वायु सेवा निगम, गोरखापत्र संस्थान आदिजस्ता सरकारी निकायका अध्यक्ष बनेका बेला आफुले घुम्ने अवसरलाई लिखित रूपमा उतारेका छन्। उनमा साहित्यिक स्वभाव र प्रवृत्ति भएकाले आफ्नो भ्रमणपरक लेखमा साहित्यिक रसको चासनीमा डुबाएका छन्। यी प्रत्येकमा लेखकीय इमानदारिता, सत्यता, सूचनात्मकता, ज्ञानवर्धकता, सरलता जस्ता गुण पाइन्छ। अझ विशेष गरी उनले प्रायः लेखमा संसारका विभिन्न ठाउँमा गोर्खालीहरूको बसोबासो, उनीहरूको रहनसहस, सामाजिक, राजनैतिक स्थिति आदिको जतिसक्दो लेखाजोखा गरेका छन्। ती गोर्खालीहरू त्यस ठाउँ वा शहरमा कसरी आए के कस्तो स्थितिमा बसेका छन् राम्ररी केलाएका छन्। थाइल्याण्डमा संस्कृत र पाली भाषाको प्रभाव, त्यहाँका कतिपय ठाउँ र शहरको नामकरणमा संस्कृतको प्रभाव, त्यहाँ गोर्खाली मानिसको स्थिति आदि बारेमा प्रकाश पारिएको छ। त्यसैगरी सिङ्गापुरको भौगोलिक, राजनैतिक, सामाजिक, आर्थिक स्थितिबारे टिपोट गर्दै त्यहाँ पनि गोर्खाली मानिसहरूसँग भेट गरी उनीहरूको स्थिति बुझेको देखिन्छ। यस पुस्तकमा थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, फिलिपिन्स, हङ्कङ, पेरिस, लण्डन, तेहरान, बेलग्रेड, बोस्टन, सिओल, टोक्यो, बेइजीङ, नानजिन, ग्यान्दोङ, दिल्ली, मैसूर, गोवा, मुम्बई, टोरोन्टो, न्यु योर्क आदि शहर भ्रमण गरेको वृतान्त पाइन्छ।
५. लेखकले आफुले घुमेका शहरतिर केही न केही तीता मिठा अनुभव हासिल गरेका छन्। कतै आफु हराएर परिवारमा सुर्ता परेको अवस्था, कतै ती ती ठाउँका विशिष्ट कवि लेखकबारे जानकारी हासिल गर्नु, कतै आफुलाई मन परेको चिज किन्नु खोज्दा त्यसको मूल्य आफ्नोमा भएको भन्दा बढी हुनु, युगोस्लोभाकियाका राष्ट्रपति र उनकी श्रीमतीले दिएको कोसेली चिन्ह, त्यो कोसेलीमा आफुले दिउँसो किन्न नसकेको छालाको ब्याग नै पाउँदाको हर्षको अनुभव, दक्षिण कोरियाले द्रुत गतिमा विकास गरेको तथ्य, सामाजिक सांस्कृतिक तहमा जापानी र कोरियाली मानिसहरूको तुलना, चीनको आर्थिक उन्नतिको कारण केलाउने प्रयासको अध्ययन गरिएको छ। शर्माले आफ्नो प्राय लेखमा नै आफुले गरेको विदेश यात्राको उपयोगिता गरी पाठकलाई लाभान्वित तुल्याएका छन्।
६. शर्माका लेखमा साहित्यिक रसको चासनीमा डुबाइएको पाइन्छ। आफुले घुमेको स्थानको बाहिरी र स्थूल पक्षको मात्र वर्णन नगरी त्यहाँ जनजीवन, मानसिकता र देशकै समग्र मनोभावको सूक्ष्म निरीक्षण गरी आफ्नो मनोरागसमेतको अभिव्यञ्जना गरिएको पाइन्छ। उनले पाठकलाई पनि आफुसँगसँगै लगेर गएझै रागात्मक, आत्मीयता, पाठकसित एकालापीय ढाँचामा प्रस्तुत गरेका छन्। यात्राका अनुभतिको प्रस्तुतिकरण, जानकारी र संस्मरणको सम्मिश्रण, सूक्ष्म निरीक्षणबाट पाएको ज्ञानको अभिव्यक्ति आदि जस्ता कुरा नै उनको नियात्रा लेखनगत उपलब्धी हो। यसमा बढी फूल बुट्टा भरिरहनु पर्दैन। किताबभित्रका लेखहरूले नै भन्ने कुरा भनेको छ।

सन्दर्भः
निर्मोही व्यास, नियात्रा साहित्यको सैद्धान्तिक परिचय, वैजयन्ती, स्वदेश य़ात्रा अङ्क, अङ्क ६, २०६७, पृष्ठ ७०।
ओमी शर्मा, नियात्रासाहित्य यात्रावृतान्त र यात्रासंस्मरण, वैजयन्ती अङ्क-६, २०६७, पृष्ठ 69.
बृहद् नेपाली शब्दकोश, काठमाडौं, नेप्रप्र, २०६८
बालकृष्ण पोखरेल, यी नियात्राबारे, बेलायततिर बरालिँदा, तानासर्मा,(भूमिका), पृष्ठ ख)
निर्मोही व्यास, नियात्रा-साहित्यको सैद्धान्तिक परिचय, वैजयन्ती, अङ्क ७, वर्ष १, २०६७, असार-साउन, पृष्ठ ७२)
बालकृष्ण पोखरेल, पूर्ववत्, पृष्ठ घ)
ओमी शर्मा, नियात्रासाहित्य- यात्रावृतान्त र यात्रासंस्मरण, वैजयन्ती, वर्ष १ अङ्क ६), पृष्ठ 69
निर्मोही व्यास, यात्रा साहित्यको विधागत स्वरूप र विशेषता, रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड), काठमाडौं, रत्न पुस्तक भण्डार, २०६८, पृष्ठ ४१३।
निर्मोही व्यास, पूर्ववत्, पृष्ठ ४१२-४१३।
बासुदेव त्रिपाठी, साहित्य-सिद्धान्त, शोध तथा सृजनविधि, काठमाडौं, पाठ्य सामग्री पसल, २०६६, पृष्ठ २०३)।
डा घनश्याम नेपाल, नेपाली साहित्यिको परिचात्मक इतिहास, सिलगडी: एकता बुक हाउस प्रा लि.२००९, पृष्ट २६०
निर्मोही व्यास, यात्रासाहित्यको विधागत स्वरूप र विशेषता, रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक), पृष्ठ ४१२.
जयनारायण लुइँटेल, निबन्धनिकुञ्ज, गुवाहाटी, अनुराग प्रकाशन, २०११, पृष्ठ ३५।

प्रमोद प्रधान, नेपाली निबन्धको इतिहास, काठमाडौं, रत्न पुस्तक भण्डार,२०६६, पृष्ठ २१८
जयनारायण लुइँटेल, पूर्ववत्, पृष्ठ ३५।
प्रमोद प्रधान, नेपाली निबन्धको इतिहास, काठमाडौं, रत्न पुस्तक भण्डार,२०६६, पृष्ठ २२०।

प्रमोद प्रधान, पूर्ववत्, पृष्ठ २१९।

पेदोङ सरकारी कलेज,
जिल्ला दार्जिलिङ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु