पराजित यशोधरा

- पर्वत भट्टराई

कपिलवस्तुको शाक्य राजदरबार । बैभव र सम्बृद्धिको प्रतिक कपिलवस्तुको राजधानीमा अवस्थित दरबार । शिशु सूर्यझैं तेजस्वी सिद्धार्थ । शान्तिको आलोकमा चम्किएका पापसून्य आँखा भएका, सिंहझैं गति भएका र शुक्लपक्षको चन्द्रमाझै शितल किरण भएका राजकुमार सिद्धार्थ ।

लक्ष्मी र अप्सराझैं सुन्दर, लज्जा र विनयले सम्पन्न, स्थिर शील स्वभाव र पतिव्रता चरित्रकी यशोधरा । कुनै उपवनमा फुलेको सुगन्धित फूलझै फक्रिए जस्ती यशोधरा । शरीरबाट सुगन्धित र मादक वास्ना निस्केझै धपक्कै बलेकी यशोधरा ।

तर अफसोच ।

सिद्धार्थ र यशोधरा पतिपत्नीका रुपमा एकै छतको भब्य राजदरबारभित्र अलग–अलग धु्रवमा उभिएका थिए । एकातिर यशोधरा थिईन् लक्ष्मी, पार्वती, घृताची र मेनकाजस्तै अपूर्व सुन्दरीको रुपमा भने अर्कोतिर सिद्धार्थ थिए ज्ञानको ज्योति खोज्न ब्याकुल र आतुर एक तपस्वीको रुपमा । सम्यक ज्ञान र जीवन दर्शनको खोजी र यौवनको मदपाल्वित चान्चल्यको उपयोग गर्ने अलग–अलग उद्देश्यले ती दुई मानव प्राणी एकअर्काको हात थामेर उभिएका थिए ।

नियतिको यस बेमेल गठबन्धनले ती दुबैलाई विचारको उत्तरी र दक्षिणी ध्रुबमा उभ्याएर एउटा क्रुर ठट्योली गरिरहेको थियो ।

समुद्रको ज्वारभाटाभन्दा निकै शक्तिशाली यौवनोन्माद्को युद्धलाई सिद्धार्थ पराजित गर्न चाहन्थे र ज्ञानको सिमान्त शक्तिलाई पहिल्याएर संसारबाट दुःख निवृत्तीको उपाय निकाल्न चाहन्थे ।

यशोधरा मनमनै सोच्दथिन् ‘‘के भएको छ पतिदेव राजकुमारलाई, जो एक्लै गहिरो सोचमा निमग्न रहन्छन् ’’ । एकदिन अकस्मात् जस्तै उनले सिद्धार्थलाई सोधिन् ‘‘ राजकुमार मबाट कुनै भूल भएको छ कि वा मबाट यथोचित सद्व्यवहार भएको छैन र यसरी मौसुफ एकान्त मन पराइ बक्सिन्छ ’’ ?

यो एक विकराल प्रश्नले सिद्धार्थलाई भित्रैदेखि विचलित बनायो । तथापि उनलाई आश्वास्त पार्दै सिद्धार्थले भने ‘‘कल्याणी, तिमीबाट कुनै भुल भएको छैन । तिमी आफैमा महान् सुन्दरी छौं । शील, ब्यवहार, यौवन र शरीरले तिमी सर्वश्रेष्ठ छ्यौ । तिमीप्रति मेरो कुनै गुनासो छैन । किञ्चित शील, ब्यवहार, यौवन, शरीर र सम्पूर्ण जीवन सबै अनित्य हुन्छन् । अनित्य बाहेक जगत्का सबै वस्तु, घटना र विचारहरु अनित्य नै हुन्छन् । आयु सकिंदै जाँदा यौवन नाश हुन्छ, रोगले शरीर नाश हुन्छ, मरणले जीवन नाश हुन्छ, अधिक चान्चल्यले सुख नाश हुन्छ र अनावश्यक उत्तेजनाले शीलको नाश हुन्छ ’’ ।

यति भनेर सिद्धार्थ चूप रहन्छन् । यशोधरा अकस्मात् लाडिएर आफ्नो सौन्दर्यको गर्व गर्दै मद्मत्त स्त्रीझैं आफ्नो केराको गुभोको रङ्गजस्तो शरीरले सिद्धार्थलाई थिच्दैै उनीमाथि लपेटिन्छिन् । यशोधराको कञ्चन र निर्मल शरीरमा विद्युतको कठोर तरङ्ग फैलिन्छ । उनी आफूलाई अंगालो हालेर च्याप्न राजकुमारलाइ अनुग्रह गर्छिन् । तर सिद्धार्थले अत्यन्त आहत् भएर किञ्चित कडा शब्दमा भने ‘‘कल्याणी π यो तिम्रो अनर्गल व्यवहार पापमय छ । एउटा क्षणिक सुःखले अनेकौं दुःखहरुको द्वार खोल्दछ । तिम्रो यो उन्माद पापबाट प्रेरित छ सौभाग्वती ’’ ।

यशोधराको शरीरमा फैलिएको यौवनरुपी विद्युतको कठोर तरङ्गमा बरफझैं पोखिन्छन् सिद्धार्थका बचनहरु । उनी शिथिल हुन पुग्छिन् । एका विहानै फुलेको नीलकमलको फूलझै आभायुक्त उनको शरीर किञ्चित आभा रहित भएर एकपलमै दिनको टन्टलापुर घामले पोलेर ओइलाए जस्तै भयो ।

सिद्धार्थ — यसोधराको खोपीभित्र सजाइएका पुष्प, हिरा, मोति र अनेक रत्नहरु एकाएक अन्धकारमय देखिन थाल्यो यसोधरालाई । उनको उत्तप्त र आवेगपूर्ण तरङ्गले भरिएको शरीर एकाएक मृत्युमा चुर्लुम्म डुब्दै उत्रदै गरेको लाशझै भयो ।

एउटा युद्ध ती दुई पति पत्नीका बीच अकस्मात् जस्तै शुरु भएको थियो । शारीरिक अनुभवजन्य र मानसिक आस्थाबीचको युद्ध, भोगाई र चिन्तनबीचको युद्ध, इन्द्रियजन्य भोग र बुद्धिजन्य बैचारिक निष्कर्षबीचको युद्ध । बिना कुनै भौतिक हतियारबाट शुरु भएको यो युद्धमा सिद्धार्थसँग मानव जीवनमा परिवर्तन ल्याउन चालिने वैचारिक निष्कर्षको हतियार थियो भने यशोधरासँग पनि इन्द्रिय सुखानुभूतिको माधुर्यताको अनमोल हतियार थियो ।

एउटै युद्धमा परस्पर विरोधी सेनापति भएर खडा भए दम्पति सिद्धार्थ र यशोधरा । विचार, आस्था र परिवर्तनशीलता सिद्धार्थका शस्त्र थिए भने शारीरिक सुख, इन्द्रियभोग र विपरीत लिङ्गी सहभोगको उत्कट तरङ्गरुपी महान् आनन्द यशोधराका शस्त्र थिए । यशोधरा सोच्दथिन् कि ‘‘ के शारीरिक समागममा पाप निहित छ’’ ? यो प्रश्नको उत्तर चाहन्थिन् तिनी । हुरी बतासझैं अदृष्य आवेगमा तर नम्र र शालीन स्वरमा तिनले आफ्ना पतिसँग प्रश्न गरीन् । ‘‘ पतिदेव के शारीरिक समागमको सुखमा नै सबै पापहरु निहित छन्’’ ? अत्यन्त नम्र भावमा पर्यन्तु सम्झाउने र चेतावनी मिश्रित श्वरमा सिद्धार्थले भने ‘‘ पति पत्नीका बीचको शारीरिक समागम सन्तान प्राप्तिका हेतु पापमय र अनिष्टकारक छैन तर आनन्द प्राप्तिका हेतु गरिएको शरीरिक समागम अत्यन्तः पापमय र दुःखदायी हुन्छ । हे प्रिये ‘‘ शास्त्रले यौनलाई बर्जित गरेको छैन’’ तर आनन्द प्राप्तिलाई भने दोषमय मानेको छ ’’ । कल्याणी यति ज्ञान, बुद्धि, विवेक र विज्ञान रहित नारीको नीकट रहनुभन्दा एक पुरुषको निम्ति विषालु सर्प वा सशस्त्र शत्रुको नीकट रहनु राम्रो हुन्छ । किनकी उठिरहेकी, हिंडिरहेकी, बसिरहेकी, सुतिरहेकी वा चित्रमै कोरिएकी भए पनि एउटी स्त्रीले हरेक अवस्थामा कुनै पनि पुरुषको पाँचै इन्द्रिय रुपी घोडा र मनरुपी सारथीलाई समेत हरण गर्दछे । जसरी कि मत्स्यगन्धाले परासर ऋषिलाई, जङ्घाले मन्थाल गौत्तमलाई, घृताचीले विश्वामित्रलाई र अप्सराहरुले देवताहरुलाई आफ्नो बसमा पारी तप र ज्ञानबाट च्यूत गराएका थिए । उनले अझै भन्दै गए ‘‘ विषयभोग अनित्य र दोषकारक हुन्छ ’’ । जसरी हावाको सामीप्य पाएको अग्नीलाई काठ–दाउरा आदिदेखि तृप्ति हुँदैन त्यसैगरी कामको इच्छा गर्ने पुरुष वा नारीलाई विषयदेखि तृप्ति हुँदैन । ‘‘सहर्ष नदीहरुबाट बग्ने जलप्रवाहले समुद्रलाई तृप्ति नभएझै कामाशक्त मनुष्यलाई कामको उपभोगले कहिल्यै तृप्ति हुँदैन ।’’

पुनः कठोर तर शालीन शब्दमा सिद्धार्थले आफ्नो भनाइ थपे ‘‘ हे कल्याणी, देवताहरुले सूवर्ण वर्षा गरेपनि, सबै द्वीप र समुद्र विजय गरे पनि र इन्द्रको आधा आशन प्राप्तिपछि पनि मान्धाताको विषयभोगको प्यास मेटिएको थिएन ।’’

सिद्धार्थका सम्पूर्ण वचनबाणद्वारा तिनको हृदय छिया–छिया भएर सौन्दर्यको सम्पूर्ण चमक क्षणभरमै लुप्त प्रायः भयो । एउटी नारीप्रति लक्षित गरी सिद्धार्थले अन्त्यमा भनेको बचनले तिनको रीसको आवेग अत्यन्त बढे पनि सम्यम्तापूर्वक सहने चेष्टा गरीन् । तर उनको शरीर आवेगजन्य प्रवाहले काँपीरहेको थियो ।

यी दुई पति–पत्निका बीचको यो युद्धले दिन रात तिनीहरुको मानसिकतामा एउटा मार्मिक तनाव उत्पन्न गराइरहन्थ्यो । यशोधराको लागि सम्पूर्ण जीवन नै कष्टमय र गुरुकुलमा असफल छात्रझै भौतारिइ रहेको महसुस हुन्थ्यो । उनी आफ्नो शरीर तत्वको ज्ञान र त्यसबाट उत्सर्जित हुने यौवनोचित सुखको कल्पना र यौनको उत्तप्तताले विक्षिप्तजस्तै हुन्थिन् । दर्पण अगाडि उभिएर आफ्नो शरीर सुमसुम्याउथिन् र उनलाई आफ्नै शरीरको उष्णताले पोल्दथ्यो । त्यो भब्य र वैभव सम्पन्न दरबारमा उनलाई जंगली एकान्त महसुश हुन्थ्यो । त्यस्तो एकान्त जहाँ मनको स्थिरता हराउँछ र आफ्नै गति र चालपनि अनौठो र पराइझै लाग्दछ । आफैंदेखि आफैं पराइझैं भएर उनको अमूल्य समय बितिरहेको थियो ।
उता सिद्धार्थ वनविहारमा जाँदा र फर्कदाका अनौठा र दुःखदायक दृष्यहरुले आफ्नो मन मतिष्कमा परेको गहनतम् मनोवैज्ञानिक उथलपुथलले घेरिएर बसेका थिए । रोग, बुढ्यौली र मृत्यु सम्बन्धी दृष्यले उनको मनोवेगमा तीव्र प्रतिक्रिया मच्चिरहेको थियो । जन्म र मरणको कारण र दुःख निरोधका मार्गहरुको खोजीमा सिद्धार्थको दिमाग सधैं भौतारिइ रहन्थ्यो । यौवनोचित शारीरिक सुख र पत्नीसँगको समागमको विराट आनन्द उनलाई तुच्छ र दोषमय लाग्दथ्यो ।
यशोधराको अपरिमित सुन्दरता, तिनको शरीरबाट चम्कने सौन्दर्यको तेज, चन्दनको वासना मिश्रित श्वास र केराको गुभोजस्तो देखिने तिनको शरीर आदि सिद्धार्थको लागि केवल असल र स्वस्थ मांसपीण्डमात्र थिए । यद्यपि सिद्धार्थ स्वयम्लाई यौनजन्य शारीरिक सुखको अनुभव नभएको होइन । विवाहको केही वर्षमै राहुल जन्मिसकेका थिए । सिद्धार्थ – यशोधराको शारीरिक समागम दुवैका लागि नयाँ र अपरिचित थिएन् । तर त्यो आफैमा एक अनिवार्य र महान् कार्यप्रति ती दुईको आधारभूत अवधारणा भिन्ना भिन्नै खालको थियो । सिद्धार्थ सोच्दथे कि यो कार्यको परिणाम दोषमय र दुःखदायी छ । यशोधरा सोच्दथिन् कि यो कार्य अनिवार्य र विराट सुखकारक छ ।

यसै विन्दुमा आएर ती दुवै विभाजित हुन्थ्ये । यो विभाजनले यशोधरालाई प्रागः इतिहासको त्यो मोडमा उभ्याइदिन्थ्यो जहाँ मत्स्यगन्धा, जङ्घा र घृताचीहरु उभिएका थिए । जसले परासर, मन्थाल गौत्तम र विश्वामित्रहरुलाई दशकौं वर्षको तपस्याबाट च्यूत गराई क्षणिक भएपनि विराट शारीरिक सुख दिलाएर नारीहरुको असली रुप देखाउन सफल भएका थिए । तर यशोधराजस्ती महान् सुन्दरी युवतीले सिद्धार्थलाई उनको तपस्वी बन्ने मार्गबाट रोक्नेछिन् भन्ने शाक्य शुद्धोधनको विचारमा सिद्धार्थको प्रतिवद्धताले पानी फेरी दिएको थियो । यशोधरामा निहित विराट सौन्दर्य र कामुकताको पराकाष्ठाले सिद्धार्थलाई विचलित बनाउन नसक्नाले शाक्य शुद्धोधन, यशोधरा र कपिलबस्तु दरबार चिन्तामग्न थियो ।

बैशाख शुक्ल पूर्णिमाको एक रात सिद्धार्थले पत्नी यशोधरा, छोरा राहुल र कपिलबस्तु दरबारलाईृ त्यागेर सम्यक् ज्ञानको खोजीमा महान् यात्रा आरम्भ गरेपछि यो युद्धमा यशोधराले सधैंको लागि पराजय ब्यहोर्नु प¥यो । तर के उनको शारीरिक विषयभोगको उत्कट चाहना पनि पराजित भएको थियो होला त ! सिद्धार्थझै अरु कुनै महान् तपश्वी अर्को बैशाख शुक्ल पूर्णिमाको रात अर्को एक तपस्याको लागि किन महलबाट ननिस्कने भन्ने विचार यशोधराको दिमागमा धेरै पछिसम्म खेलिरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु