नेपाली बृहत् शब्दकोश (२०७२) को खारेजी किन ?

- डा.लक्ष्मणप्रसाद गौतम

शब्दकोश सामान्य र विशिष्ट वा प्रयोजनपरक गरी मूलतः दुई किसिमका हुन्छन् । कुनै पनि देशको राष्ट्रभाषाको एकभाषिक कोश हुन्छ र यस्तो कोशलाई सामान्य शब्दकोश भनिन्छ । सामान्य शब्दकोश सबैका लागि हुन्छ भने विशिष्ट वा प्रयोजनपरक शब्दकोश सम्बद्ध विषय क्षेत्रकाहरूका लागि हुन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ लगायतका शब्दकोश यस्तै सामान्य शब्दकोश हुन् । सामान्य शब्दकोश त्यस भाषाका आम प्रयोक्ताहरूको साझा हुने भएकाले त्यस भाषामा प्रचलित सबै किसिमका शब्दको प्रविष्टि त्यस्ता कोशमा हुन्छ र हुनुपर्छ ।
नेपाली भाषाका सबै प्रयोक्ताका लागि मानक र आधिकारिक शब्दकोश भनेको नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ नै हो । अन्य धेरै शब्दकोशहरू प्रकाशित भए पनि भाषासाहित्यको एकमात्र सरकारी आधिकारिक निकाय नेपाल प्रज्ञा–प्रतिष्ठान मानिएकाले यस प्रतिष्ठानबाट प्रकाशित शब्दकोश सर्वस्वीकार्य, निर्विवाद र प्रामाणिक हुनुपर्छ । २०५८ सम्मका शब्दकोशहरूमा कुनै विवाद थिएन । २०७२ मा ‘नेपाली बृहत् शब्दकोश’ लाई भत्काउने व्रmम सुरु भयो । ‘भक्तपुर’ जोड्ने ‘ललित पुर’ छुट्याउनेजस्ता अतार्किक खेल, श्रुतिसमभिन्नार्थक शब्दलाई ह्रस्व लेख्ने खेल र संयुक्त क्रियालाई छुट्याउने जस्ता खेल त्यहीँबाट प्रारम्भ भए । ‘प्रयोगात्मक नेपाली शब्दकोश’ (२०७०) अनि २०७२ को ‘नेपाली बृहत् शब्दकोश’ मा आइपुग्दा नेपाली भाषाको मानक लेख्यरूपलाई भत्काएर वर्णविन्यास तहसनहस पारेर, व्यञ्जन वर्णको जथाभावी खुट्टा काटेर, आधारहीन रूपमा वर्णगणना गरी पदयोग पदवियोग गरेर र धेरै शब्दहरूलाई मूल प्रविष्टिबाटै हटाएर शब्दकोशलाई विद्रूप बनाउने काम भयो ।
‘नेपाली बृहत् शब्दकोश’ (२०७२) लाई कहाँकहाँ के कसरी विद्रूप बनाइएको छ भनेर उदाहरण खोज्ने हो भने हजारौँ भेटिन्छन् । प्रथमतः लेख्य मानक रूपलाई भत्काएर व्यञ्जनवर्णको खुट्टा काट्ने प्रवृत्तिले एकातिर देवनागरी लिपिको सौन्दर्य नै समाप्त पारेको छ भने अर्कातिर उच्चारणगत सरलताका लागि त्यसो गरिएको भनिए पनि झनै जटिलता थपिएको छ र कतिपय शब्दमा व्यञ्जनवर्णको उच्चारण नै हुन नसक्ने स्थिति देखिन्छ । उदाहरणका लागि केही शब्दहरू अगाडि सार्नु उपयुक्त हुन्छ । जस्तो कि द्वित्व शब्दलाई द् वित्व, द्वन्द्व शब्दलाई द् वन्द् व, द्विवचन शब्दलाई द् विवचन, द्विविध द् विविध, विद्वान् शब्दलाई वि द्वान्, विद्वज्जन शब्दलाई विद् वज्जन, विद्वद्वृत्ति शब्दलाई विद् वद् वृत्ति गरिएको छ । त्यस्तै विद्युत् शब्दलाई विद् युत्समेत गरिएको छ । यदि उच्चारणकै कुरा गर्ने हो भने यी शब्दमध्ये विद्वद्वृत्तिको उच्चारण विद्वद्वृत्ति नभएर बिद्.बद्.वृत्ति., विद्वज्जनको उच्चारण विद्वज्जन नभएर बिद्.बद्.जन र विद् युत्को उच्चारण विद्युत् नभएर बिद्.युत् हुने स्थिति स्पष्ट छ । जब कि विद् युत्मा वि उपसर्ग हो र द्युत् धातु हो; तसर्थ विसँग द्को कुनै साइनो छैन ।
अझ आश्चर्यजनक कुरा के छ भने उही शब्दकोशमा द्विपद र द्विपाद शब्दको लिपिचिन्ह एकैरूपको छ भने द्विपथ शब्दलाई द् विपथ गरिएको छ । यसबाट सर्वसाधारण पाठकले के बुझ्ने ? द्विपाद र द् विपथको भिन्नताको आधार के ? यी एउटै प्रकृतिका शब्द हुन् । ‘त्त’ संयुक्त वर्णको प्रयोगमा पनि त्यस्तै बेथिति छ ः
पित्त–दाहिने फोक्सो वा कलेजाका बिचमा दाहिने पट्टि रहने र खाएको कुरा पचाउन सहयोग गर्ने तीतो र पहेँलो पदार्थ,
पित्त– लेदो पदार्थ थिथिएर वा निचोरिएर अलिकति बाहिर निस्कने किसिमले ।
प्राणीका शरीरभित्रको पित्त बुझाउनका लागि ‘पित्त’ र लेदो पदार्थ थिचिएर बाहिर निस्कनुलाई ‘पित्त’ लेख्नु पर्ने भयो ? पित्ताशय शुद्ध मानियो तर पित्ते शुद्ध मानिएन र पित्ते शुद्ध मानियो ? यस्ता अराजक स्थितिका उदाहरण असङ्ख्य छन् । कोशविज्ञानको सामान्य सिद्धान्तअनुसार पनि प्रविष्टिगत, व्याकरणगत र अर्थनिर्धारण प्रक्रियामा एकरूपता हुनुपर्छ । ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) मा सो कोशका २०५८ संस्करणहरूमा भएका एकरूपतालाई पनि छिन्नभिन्न पारिएको छ । ‘द’ वर्णको सबै ठाउँमा खुट्टा काट्नु र ‘त’ वर्णको कतिपय ठाउँमा खुट्टा काट्नु कुनै नियमसङ्गत कुरा होइन । यसरी खुट्टा काटिएपछि विद्वान् विद् वान् हुने भए, उद्योग उद् योग हुने भयो, द्वन्द्व द् वन्द् व हुने भयो, द्वितीय द् वितीय हुने भयो आदिआदि । यस्ता अनगिन्ती उदाहरण छन् । सरलताका नाममा गरिएको यस परिवर्तनले उच्चारण गर्ने नसकिने र लेख्नसमेत अत्यन्त जटिल हुने स्थिति देखिएको छ । य र वसँग जोडिएका लिपिचिन्हलाई मूलप्रविष्टिमा वैकल्पिक रूपमा राखिए पनि शब्दको अर्थ र अन्य सन्दर्भमा कम्प्युटरका भाषामा ‘रिप्लेसअल’ गरेर शब्दकोशभरि नै ‘द्’को खुट्टा काटिएको छ । मूल प्रविष्टिमा वैकल्पिक रूपमा संयुक्त व्यञ्जन वर्ण राख्नु र भित्र सबै ठाउँमा हटाउनु संयुक्त व्यञ्जन वर्णको अस्तित्व नै नामेट पार्ने र रोमनकरण गर्ने पूर्वसङ्केत हो भन्ने कुरा स्पष्ट छ ।
‘नेपाली बृहत् शब्दकोश’ (२०७२) मा पदयोग पदवियोगमा पनि अराजकता छ । वृक्षरेखा पदयोग छ, वृक्षरोपण पदवियोग छ, कीर्तिपुर जोडिएको छ, विराटनगर छुट्याइएको छ । हायलकायल जोडिएको छ, हार गुुहार छुट्याइएको छ । कुनै पनि अवस्थामा टुक्रयाउन नमिल्ने विद्यावारिधि र विश्वविद्यालयजस्ता शब्दलाई विद्या वारिधि र विश्व विद्यालय बनाएर कुरूप पारिएको छ । एकैप्रकृति शब्दमा पनि अराजकता छ एकचोटि, कालीरह, जन्मतिथि, रसक्रीडा, समसामयिक जस्ता शब्द जोडिएको छ र त्यस्तै प्रकृतिका एक ताली, काली दह, जन्म दिन, रस केली सम कालीनजस्ता शब्द छुट्याएर लेखिएको छ । यस्ता स्थिति हजारौँ छन् । यो भन्दा हास्यांस्पद कुरा अरू के हुन्छ ? समस्त शब्दको मूल पहिचान र स्वरूप नै पदयोग गरेर लेखिनु वा एउटै डिकोमा लेखिनु हो तर समस्त शब्दलाई पनि चारओटा वर्णलाई जोड्ने र त्यहाँभन्दा बढी छुट्याउनेजस्ता कहीँ नभएका असङ्गत र अतार्किक नियमको सिकार बनाएर आम प्रयोक्ताले प्रयोग गर्ने शब्दकोशलाई तहसनहस बनाइएको छ । ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) को यो दुरवस्था देख्दा नेपाली भाषालाई मातृभाषा र कर्मभाषा वा सम्पर्कको भाषा बनाउनेहरूको नेपाली भाषाप्रतिको आस्थामा गम्भीर चोट पुगेको छ । कुनै नामयोगी जोड्ने र कुनै छुट्याउने अतार्किक नियम पनि यसैमा छ । फुल–फूल, जून–जुन, पूरा–पुराजस्ता श्रुतिसम भिन्नार्थक शब्दलाई अर्थ नै ध्वस्त हुने गरी ह्रस्व मात्र गरिएको छ र दीर्घरूपलाई मूल प्रविष्टिबाट नै हटाइएको छ । अर्थलेखन, व्याख्या र उदाहरणमा आएका संयुक्त क्रियालाई पनि पदवियोग गरिएको छ । यसरी शब्दकोशलाई बिगारेर विद्रूप बनाइएका हजारौँ उदाहरण सामान्य पाठकले पनि छुट्याउन सक्छ ।
अझ गजबको बिजात्रा त ‘नेपाली शब्दकोश समिति’ (नवौँ संस्करण) तेस्रो पानामा देख्न सकिन्छ । त्यही एउटै पृष्ठमा पनि गङ्गाप्रसाद पदयोग गरिएको छ भने हेमाङ्ग राज, दिनेश राज र जीवेन्द्र देव पदवियोग गरिएको छ । बहुवचन बुझाउने ‘हरू’ लाई जहाँसुकै ह्रस्व मानिने ह्रस्व हरु बनाइएको छ । नेपाली भाषाको आधिकारिक र प्रामाणिक मानिने ‘नेपाली बृहत् शब्दकोश’ २०७२ को नवौँ संस्करणमा आइपुग्दा आमप्रयोक्ताबाट अस्वीकृत र अप्रामाणिक किन हुनपुग्यो ? यसका कारण ‘ओपन सेक्रेट’ जस्तै छन् । यसका लागि २०७२ भन्दा पूर्ववर्ती नेपाली शब्दकोशका सापेक्षमा यसलाई हेर्नुपर्ने हुन्छ । बालचन्द्र शर्मा, हर्षनाथ भट्टराई, नरेन्द्र चापागाईँ, वसन्तकुमार शर्मा नेपाल, हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराई (२०६१ को पहिलो संस्करण), प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ (२०५८) र यसपूर्वका संस्करणहरूका साथै अन्य कतिपय कोशकारहरूका कोशहरूमा यो बेथिति छैन । २०७२ को ‘नेपाली बृहत् शब्दकोश’ मा नै यो अराजकता र बेथिति किन ?
शब्दकोशमा बेथितिको प्रारम्भ हेमाङ्गराज अधिकारी र बद्रविशाल भट्टराईको ‘प्रयोगात्मक नेपाली शब्दकोश’ (२०७०) देखि भएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ २०७२ मा आइपुग्दा व्यक्तिगत निर्णयलाई सरकारी पदको दुरुपयोग गरी लादिएको कुरा स्पष्टै छ । निजी प्रकाशनबाट प्रकाशित उहाँहरूको उक्त शब्दकोशमा आफ्ना वैयक्तिक र निजी मान्यता प्रयोग गर्न उहाँहरूलाई स्वतन्त्रता छ तर सार्वजनिक संस्थामा सार्वजनिक पद धारणा गरेर बसिसकेपछि त्यस्ता ठाउँहरूमा वैयक्तिक वा आफ्ना निजी मान्यता जबर्जस्ती लाद्नु हुँदैन । प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ को नवौँ संस्करण (२०७२) को कोश संशोधन समितिमा हेमाङ्गराज अधिकारी, जीवेन्द्रदेव गिरी, बद्रविशाल भट्टराई र हेमनाथ पौडेल हुनुहुन्छ र उहाँहरूले ‘प्रयोगात्मक नेपाली शब्दकोश’
(२०७०) मा प्रयोग गरेका मान्यतालाई प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) मा लागु गर्नुभएको छ । यसरी वैयक्तिक मान्यतालाई सार्वजनिक संस्थामा बसेर लाद्ने प्रयास गर्नु अत्यन्त दुःखलाग्दो कुरा हो । सार्वजनिक संस्थाको शब्दकोशमा स्थापित, मानक र सर्वस्वीकार्य मान्यता हुनुपर्छ । स्थापित, मानक र नैसर्गिक रूपमा गतिशील भाषालाई यी शब्दकोशका माध्यमबाट जुन भत्काउने कार्य गरिएको छ; त्यो आपत्तिजनक कुरा हो । अझ आश्चर्यजनक कुरा के छ भने निजी प्रकाशनबाट प्रकाशित ‘प्रयोगात्मक नेपाली शब्दकोश’ (२०७०) मा चाहिँ कतिपय शब्दका लेख्यरूपलाई भत्काइएको छैन र खुट्टा काटिएको छैन । यस शब्दकोशमा द्विवचन, विद्वद्वृत्तिजस्ता कतिपय शब्दहरू यथावत् छन् तर तिनै शब्दलाई ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) भत्काइएको छ र द् विवचन, विद् वद् वृत्ति बनाइएको छ । यदि यी शब्दकोश परिमार्जन नभए विद्यार्थीहरूले अब यी शब्दको उच्चारण दबिबचन् र बिद् बद् बृत्ति गर्नेछन् । त्यस्ता दुर्दिन नआउन् भन्ने कामना गरौँ । यस्ता स्थितिहरू भएपछि कसरी भयो शुद्धउच्चारण ? कसरी भयो शुद्ध लेखन ? कसरी आयो भाषामा सरलता ?
विद्यार्थीले विद्यालय शुद्ध लेख्न नजानेर विध्यालय लेखे त्यसैले वि द्यालय गरिएको हो भन्ने उहाँहरूको तर्क उपहास्यात्मक छ । त्यसो हो भने तल्लो तहका विद्यार्थी (कतिपय त माथिल्लो तहका पनि) हलन्त उच्चारण हुने र हलन्तै लेखिने ठाउँमा पनि खुट्टा काट्ने कुरामा सचेत नभएर ‘गरिन्’ का ठाउँमा ‘गरिन’ लेख्छन् । यस्तो स्थितिमा अब विद्यार्थीले विद्यालय लेख्नुपर्ने ठाउँमा विदयालय लेख्ने भयो । विद्यार्थीलाई शुद्ध लेख्न र उच्चारण गर्न प्रेरित गर्ने कि वर्णहरूलाई र विशेषतः संयुक्त व्यञ्जन वर्णलाई छिन्नभिन्न बनाएर ध्वस्त पार्ने ? सायद यी प्रश्नको उत्तर भनिरहनु पर्दैन ।
नेपाली भाषा नेपाली मातृभाषा हुनेहरूको मात्र भाषा होइन; नेपाली पढ्ने पढाउनेको मात्र भाषा होइन; यो त मातृभाषा नेपाली नहुने र देशविदेशमा रहेका तमाम नेपाली जातिको भाषा हो र यस्तो भाषाको आधिकारिक शब्दकोश नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ नै भएकाले यो मानक र सर्वस्वीकार्य हुनु अपरिहार्य छ । यही नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ र नेपालमा बोलिने नेपाली, मैथिली, अवधी, भोजपुरी, मारवाडी, मगर, बज्जिका, नेपाल भाषा (नेवारी) आदि धेरै भाषाहरू देवनागरी लिपिमा नै लेखिन्छन् । ती भाषामा प्रयोग हुने र नेपालीमा प्रयोग हुने अधिकांश शब्द समान छन् । भोटबर्मेली भाषापरिवारभित्रका नेपालमा बोलिने कतिपय भाषाका शब्द र नेपाली भाषाका शब्द पनि समान छन् । ती भाषाभाषीले पनि नेपाली शब्दकोश नै प्रयोग गर्छन् । यस्तो स्थितिमा नेपालका मैथिलभाषीले विद्यापति नलेखेर विद्यापति लेख्लान् ? कुनै मैथिलभाषी विद्यापति लेख्न तयार हुँदैन । देवनागरी लिपिमा लेखिने नेपालका अन्य मातृभाषा र भाषिकामा समेत लेख्यरूपमा एकरूपता हुनु आवश्यक छ । यस अर्थमा ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) मा अराजकता सृजना गर्नु र त्यसलाई विद्रूप बनाउनु भनेको नेपालमा बोलिने अन्य भाषाहरूप्रतिको समेत अपमान हो ।
नेपाली भाषामा देखिएको अराजकता र ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) मा गरिएको विद्रूपताको समाधान के त ? समाधान कहिले ? भनेर आम प्रयोक्ताले प्रश्न गरिरहेका छन् । एकातिर उक्त कोशका मान्यतालाई जबर्जस्ती लादिएका ठाउँमा बाहेक अरू कहीँ कतैबाट स्वीकार नगरिएको स्थिति छ र त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयले समेत पूर्णतः स्वीकार नगरेको अवस्था छ भने अर्कातिर अन्य प्रकाशन संस्थाहरू, साहित्यिक र साहित्येतर लेखकहरू, राष्ट्रिय दैनिक तथा अन्य किसिमका पत्रिका एवम् आमप्रयोक्ताले समेत स्वीकार नगरेको स्थिति छ । अतः गल्ती भन्ने कुरा मान्छेबाट नै हुन्छ । यस्तो स्थितिमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आत्मलोचना गरी गल्ती स्वीकार गर्नु नै बुद्धिमानी हुनेछ । ‘नेपाली बृहत् शब्दकोश’ (२०७२) को बिक्रीवितरण तत्काल बन्द गरी उक्त कोशको २०५८ को संस्करणलाई पुनर्मुद्रण गरेर विक्री वितरण गर्नु प्रज्ञा–प्रतिष्ठान र नेपाली भाषाका आम प्रयोक्ताको प्राज्ञिक भाषिक स्वास्थ्यका लागि हितकर हुनेछ । नेपाली भाषाका आम प्रयोक्ताहरूको मानक आधार ‘नेपाली बृहत शब्दकोश’ (२०७२) खारेजी नगरे वा यसको विद्रूपीकरण तत्काल नसच्याइए, इतिहासले माफ दिने छैन ।

(लेखक मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका महासचिव हुन् । )

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु