सङ्कटग्रस्त नेपाली भाषाको अस्तित्व जोगाऔँ

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

‘भाषा हो सभ्यता हाम्रो, सारा उदय उन्नति
जीत वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’
-बालकृष्ण सम
१. विषयपरिचय
भाषा हरेक जाति र राष्ट्रको पहिचान हो । भाषाबाटै विविध संस्वृmतिको अभिव्यक्ति हुने र भाषाभित्र अनेक संस्वृmति समेटिने हुँदा यसलाई महासंस्वृmतिका रूपमा लिइन्छ । दैनिक सामाजिक व्यवहारमा विचारको आदानप्रदान भाषाकै माध्यमबाट हुने हुँदा भाषाविना मानिसका सामाजिक व्यवहार एवं व्रिmयाकलाप सञ्चालन हुँदैनन् । मानवद्वारा दैनन्दिन प्रयोग गरिने भाषा मानवजीवनको अनिवार्य एवं अपरिहार्य वस्तु हो ।
एक हजार वर्ष पार गरिसकेको नेपाली भाषामा उहिलेदेखि अहिलेसम्म थुप्रै व्याकरण र कोशको निर्माणका साथै प्रशस्तै साहित्यिक कृतिहरूको सिर्जना भइसकेको र यसले मानक स्वरूपसमेत ग्रहण गरिसकेको हुँदा यो एउटा विकसित र सम्पन्न भाषा हो ।
यतिखेर नेपाली भाषाको लेख्य मानक प्रयोग वा वर्णविन्यासलाई केही व्यक्ति र निकायबाट प्रायोजित रूपले अस्तव्यस्त पारी नेपाली भाषाको अस्तित्वलाई नै सङ्कटग्रस्त तुल्याइएको छ । घोषणापत्र र परिपत्रका रूपमा देखापरेका दुई खाले दृष्टिकोणमध्ये पहिलो पश्चगमनतर्फ उन्मुख छ भने दोस्रो अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्फ उन्मुख छ । यहाँ एउटा अतिवादले अर्काे अतिवाद जन्माएको देखिन्छ । यसप्रकारका पश्चगामी र अराजक गतिविधिले नेपाली भाषालाई विकासतर्फ नभई विनाशतर्फ धकेल्न खोजेको छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पु¥याउँछन् । यी दुईमध्ये घोषणापत्र वैयक्तिक प्रकृतिको भएकाले त्यसले भाषिक प्रयोक्तालाई खासै असर पार्दैन र पारेको पनि छैन । घोषणापत्रमा पनि चन्द्रगढी घोषणापत्रजति अराजक ललितपुर घोषणापत्र छैन । यसका पश्चगमनतर्फ उन्मुख हुन खोज्ने कतिपय सन्दर्भलाई सामान्य संशोधन गरी समेटेर लान सकिए पनि परिपत्र सरकारी आदेशका रूपमा जबर्जस्ती ढङ्गबाट आएको हुँदा त्यो आपत्तिजनक भएकाले परिपत्रवादीका अराजकता स्वीकार गर्न सकिन्न । भाषालाई विकृत तुल्याउन हरिया मट्याङ्ग्राले विशेष भूमिका खेलेको भन्ने चर्चा पनि सुनिन्छ । यदि यो सत्य हो भने योभन्दा निन्दनीय र आपराधिक कुरा अरू केही पनि हुनसक्दैन ।
खासमा भाषा घोषणापत्र वा परिपत्रका माध्यमबाट लागु गरिने वस्तु होइन । लामो समयदेखि प्रचलित नेपाली भाषाको वर्णविन्यासले लगभग मानक रूप लिइसकेको अवस्थामा अहिले आएर एक्कासि के भयो र विना आधार परिवर्तनका नाममा अराजकता पैmलाउनु प¥यो ? यसतर्फ नेपाली भाषाप्रेमी सबै सचेष्ट रहनु आवश्यक छ ।
२. विषयविस्तार ः बल्झाइएका समस्या
नेपालीमा पछिल्लो समयमा पदको समेत दुरुपयोग गरी बल्झाइएका समस्या संयुक्त वर्णको प्रयोग, पदयोग र पदवियोग, ह्रस्व–दीर्घको प्रयोग, ‘श, ष, स’ को प्रयोग तथा चन्द्रबिन्दु, शिरबिन्दु र पञ्चम वर्णको प्रयोग मुख्य रहेकाले यिनबारे तल सङ्क्षिप्त चर्चा गरिन्छ ।
(१) संयुक्त वर्णको प्रयोग
नेपाली वर्णमालामा रहेका वर्णहरू खुट्टो काटेर आधा गरिने र लेखाइबाटै आधा गरिने गरी दुई प्रकारका छन् । तिनमा ‘ङ, छ, ट, ठ, ड, ढ, ह’ खुट्टो काटेर आधा गरिन्छ भने बाँकी लेखाइबाटै आधा गरिन्छ ।
नेपाली भाषा देवनागरी लिपिमा लेखिने भाषा हो । नेपालीबाहेक संस्कृत, हिन्दी, भोजपुरी, मैथिलीलगायत थुप्रै भाषाका साथै नेपालमा बोलिने कतिपय भाषा पनि यस लिपिमा लेखिन्छ । निकै लामो इतिहास भएको यस लिपिको छुट्टै वर्णमाला छ र यसका संयुक्त वर्ण पनि छन् ।
नेपाली भाषामा द्द, द्ध, द्म, द्य, द्व, क्त, त्त, श्र, क्ष, त्र, ज्ञ आदि संयुक्त वर्ण प्रचलित छन् । यी संयुक्त व्यञ्जन नेपाली भाषाका मात्र नभएर देवनागरी लिपिकै विशेषता हुन् । यतिखेर केही व्यक्तिले नेपालीका यी संयुक्त वर्णलाई जथाभावी बिगारेर नेपाली भाषालाई कुरूप तुल्याएका छन्, जस्तै—
प्रचलित रूप बिगारिएको रूप
विद्या विद् या
द्वन्द्व द् व न्द् व
बुद्ध बुद् ध
शुद्ध शुद् ध
उद्देश्य उद् देश्य
पद्म पद् म
हात्ती हा त्ती आदि ।
खुट्टा काटेर बिगारिएका संयुक्त वर्णमध्ये पनि दस“ग जोडिएका संयुक्त वर्णमा चरम अराजकता निम्त्याई लेख्न र पढ्नसमेत नसकिने स्थितिमा पु¥याइएको छ । द् वय (द्वय), द् विविधा (द्विविधा), द् वितीय (द्वितीय), द् वैवार्षिक (द्वैवार्षिक), विद् या (विद्या), विद् युत् (विद्युत्), बुद् धि (बुद्धि), विद् वान् (विद्वान्) आदि लेखन र पठन दुवैमा कति असहज छ ? उच्चारणअनुरूप लेख्नुपर्छ भन्नेलाई यी शब्दको उच्चारण कसरी हुन्छ भन्ने त थाहा हुनुपर्ने हो । यी संयुक्त वर्ण नेपालीका मात्र नभएकाले अब मैथिलीका महाकवि विद्यापतिलाई कसरी लेख्ने नि ?
बुध् धातुबाट निर्मित बुद्ध (बुध्+क्त) तथा शुध् धातुबाट निर्मित शुद्ध (शुध्+क्त) जस्ता बहुप्रचलित तत्सम शब्दलाई बुद्ध र शुद्ध लेखी विकृत तुल्याइएको छ । तत्सम शब्द वि+द्युत्लाई विद्युत् गर्न मिल्छ ? यी शब्दमा प्रयुक्त संयुक्त वर्णलाई खुट्टा काटेरै प्रयोग गर्दा पनि यिनको उच्चारण यसरी नि हुन्छ त ? त्यति पनि जानकारी नराख्नेले यस्तोे काम व्यक्तिगत स्वार्थविना गरेको होइन भन्ने स्पष्टै देखिन्छ ।
नेपालीका ‘श्र, क्ष, त्र, ज्ञ’ पनि संयुक्त व्यञ्जन नै हुन् । अब ‘श्री, शिक्षा, छात्र, ज्ञानी’ जस्ता शब्दचाहि“ कसरी लेख्नु भनी परिपत्र गराउने नि ?
यस सन्दर्भमा कतिपय व्यक्तिले नेपाली भाषालाई कम्प्युटरअनुरूप ढाल्नुपर्छ र त्यसो गर्नाका लागि यसो गरिएको हो भन्ने गरेको पनि पाइन्छ । आधुनिक प्रविधिका रूपमा आएको कम्प्युटरको प्रयोग नेपाली भाषामा अवश्य गर्नुपर्छ तर कम्प्युटरअनुसार भाषा नभएर भाषाअनुसार कम्प्युटर सञ्चालन गर्नुपर्छ । कम्प्युटरअनुरूप नै भाषालाई ढाल्ने हो भने पनि कम्प्युटरमा सहज उपलब्ध द्व, द्य जस्ता संयुक्त वर्णलाई जथाभावी बिगारेर द् व, द् य गरी द् वन्द् व, विद् या लेखेर प्रविधिको प्रयोगका नाममा लामो परम्पराबाट विकसित देवनागरी लिपिमा प्रचलित यसप्रकारका संयुक्त वर्णलाई जथाभावी टुक्य्राएर बिगारी भाँडभैलो मच्चाउने छुट कसैलाई पनि छैन । यसमा ‘हामीले विकल्प दिएका छौ“’ भन्ने गरेको सुनिन्छ । यसो भन्नेहरूलाई त्यसो गर्ने र भन्ने अधिकार कहाँबाट प्राप्त भयो ?
संयुक्त वर्णलाई बिगार्ने कामको थालनी विशेषतः चन्द्रगढी घोषणापत्र (२०६६) बाट गरियो भने नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी (२०६७) तथा शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) बाट निरन्तरता दि“दै नेपाली बृहत् शब्दकोश (२०७२) मा जबर्जस्ती प्रविष्टि दिने काम गरियो ।
चन्द्रगढी घोषणापत्र तयारी समिति, नेपाली भाषा सङ्गोष्ठी गोष्ठीको निर्णय समिति, मन्त्रालयबाट जारी गरिएको परिपत्र निर्माण कार्यदलका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको भाषा विभागको प्रमुखमा उही व्यक्ति रहेको र चन्द्रगढी घोषणापत्रको प्रस्तोताका रूपमा रहेका व्यक्ति नै हाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव रहेको हुँदा नेपालीको संयुक्त व्यञ्जनलाई पहिलेदेखि नै प्रायोजित रूपमा खुट्टा काटेर बिगार्ने संस्थागत षड्यन्त्र भएको स्पष्ट हुन्छ ।
(२) पदयोग र पदवियोग
शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर बेग्लाबेग्लै डिकामा लेख्नुलाई पदवियोग भनिन्छ । यो नेपाली भाषाको महत्वपूर्ण विशेषता हो । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी स्पष्ट नियम र प्रचलन हुँदाहुँदै कतिपयद्वारा अगि सारिएको वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न । प्रयोगबाटै स्थापित भएका यी नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन वा थपघटसमेत गर्न सकिन्छ तर कतै कसैबाट जबर्जस्ती लाद्ने प्रयत्न भने गर्नु हुन्न ।
नेपालीमा पदयोग र पदवियोगसम्बन्धी अनावश्यक सन्दर्भ भित्र्याउने कार्यको थालनी चन्द्रगढी घोषणापत्र (२०६६) र अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) बाट गरियो भने नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी (२०६७), केही व्यक्तिबाट तयार पारिएको सबैको नेपाली (२०६७), शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) तथा नेपाली बृहत् शब्दकोश (२०७२) बाट निरन्तरता दिने काम गरियो ।
नेपालीमा प्रसाद, बहादुर, कुमार, नारायण, नाथ, राज, देव, मान, कान्त, लाल, काजी, दास, कुमारी, देवी, माया आदिलाई मध्यवर्ती नाम भन्ने गरिएको पाइए पनि अङ्ग्रेजी आदि भाषामा जस्तो यी छुट्टै मध्यवर्ती नाम होइनन् । नेपालीमा यस्ता शब्द लिङ्गभेदकका रूपमा पनि रहेका छन् । कसैको नाम ‘राम’ छ तर त्यसमा ‘राज’ पनि आएमा त्यो नाम ‘राम’ मात्र नभएर ‘रामराज’ हुन्छ । खासमा त्यो एउटै नाम हो मध्यवर्ती नाम होइन । यी उच्चारणको एक झोकामा उच्चरित हुने सिङ्गा नाम हुन् । नेपालीमा अङ्ग्रेजी आदि भाषामा जस्तो मध्यवर्ती नाम हुन्नन् । यसर्थ यस्ता शब्दलाई छुट्ट्याउनु उपयुक्त हुँदैन । यस्ता नामलाई छुट्ट्याउँदा अर्थमा पूरै भिन्नता आउँछ, जस्तै—
रामप्रसाद खाएर गयो । राम प्रसाद खाएर गयो ।
रामकुमार छ । राम कुमार छ ।
रामबहादुर छ । राम बहादुर छ ।
रामराज गर्छ । राम राज गर्छ ।
रामलाल बुझक्कड छ । राम लाल बुझक्कड छ ।
रामदास हो । राम दास हो ।
रामराज भण्डारी आयो । राम राजभण्डारी आयो ।
रामसिंह गयो । राम सिंह गयो ।
सीताकुमारी हो । सीता कुमारी हो ।
सीतादेवी हो । सीता देवी हो ।
माथिका वाक्यमा पदयोग र पदवियोग गर्दा पूरै अर्थगत भिन्नता भएको कुरा स्पष्ट छैन र ?
नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हुँदाहुँदै ‘दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेख्ने’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दस“ग जोडेर लेख्ने’ ‘व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने’ तथा ‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने’ भन्नु औचित्यहीन कुरा हो ।
पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त–व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले सरलीकरण नभई झन् बढी जटिलता र गन्जागोलको स्थिति पैदा गर्छ । यसर्थ दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्ट्याउने भन्ने कुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ । लिपि, वर्ण र अक्षर गनेर जोड्ने वा छुट्ट्याउने भन्नेजस्ता अव्यावहारिक, अवैज्ञानिक र निरर्थक कुरा गरेर भाषालाई थप बोझिलो बनाउनु हुन्न । यसरी नियम बनाउने व्यक्तिसमेत लिपि, वर्ण र अक्षर संरचनाका बारेमा स्पष्ट नभएको देखिन्छ ।
अक्षर गनेर योग वा वियोग गर्ने नाममा ‘दिदीभाइ’, ‘पतिपत्नी’, ‘रामराज’, ‘जयदेव’, ‘रामपुर’, ‘कीर्तिपुर’, ‘सोमबार’ जोड्ने अनि ‘दिदी बहिनी’, ‘लोग्ने स्वास्नी’, ‘भरत राज’ ‘जीवेन्द्र देव’, ‘भरत पुर’, ‘ललित पुर’, ‘आइत बार’ छुट्ट्याउने भन्ने कुरा कति लज्जाजनक छ । काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, तातोपानीजस्ता रूढ भइसकेका स्थानवाची नाम शब्द जोडेर लेखिन्छ, छुट्ट्याउन मिल्दैन । यस्ता शब्दलाई छुट्ट्याउनु भनेको अत्यन्त मिलेका लोग्नेस्वास्नीलाई अनेक तिगडम गरेर सम्बन्ध विच्छेद गराउनुजस्तै हो ।
सबै किसिमका असमापिका र समापिका क्रियाका संयुक्त रूपलाई छुट्ट्याएर अलग डिकोमा ह्रस्व वा दीर्घ लेख्ने भनी ‘भइ÷भई रहन्छ’, ‘भनि÷भनी सक्छ’, ‘देखि÷देखी हाल्यो’, ‘गरि÷गरी सकि÷सकी हाल्यो’, ‘भनि÷भनी सक्न लाग्यो’, ‘भनि÷भनी दि÷दी हाल्नु हुन्छ’, ‘लेखि÷लेखी सकि÷सकी हाल्छ’, ‘गरि÷गरी दिइ÷दिई छ’, ‘ल्याइ÷ल्याई सकेकोे’ जस्ता शब्दलाई छुट्ट्याएर भाषालाई विरूप तुल्याउनु हुन्न । यसरी छुट्ट्याएर लेख्दा भाषा विरूप मात्र नभई कतिपय शब्दका अर्थमा समेत फरक पर्छ, जस्तै— ‘गाडी दिए हुन्छ’, ‘गाली दिए पुग्छ’, ‘चिनी दिए पुग्छ’ ‘झारी दिए हुन्छ’, ‘फाली दिए पुग्छ’, ‘फुली दिए हुन्छ’, ‘मानी दिए पुग्छ’, ‘सारी दिए हुन्छ’ आदि । यसर्थ संयुक्त व्रिmयालाई छुट्ट्याएर दीर्घ लेख्न मिल्दैन जोडेर ह्रस्व लेख्नुपर्छ ।
यसरी अनावश्यक रूपमा छुट्ट्याउनाको अभिप्राय के ? छुट्ट्याएर लेख्नुपर्छ भनी नियम बताउनेले नै एकै पृष्ठमा भएको आफ्नो नाम पनि एक ठाउँमा छुट्ट्याउने र अर्काे ठाउँमा जोड्ने गरेको तथा ‘बद्री विशाल’ छुट्ट्याएको, ‘रमेशकुमार’ जोडेको अनि ‘पदवियोग’ र ‘वर्णविन्यास’ शब्दसमेत छुट्ट्याउने र जोड्ने दुवै गरेको पाइन्छ । नियम बताइएको लेखनमा समेत यस्तो भद्रगोलको स्थिति देखिएकाले यो सबै जानेर नभई अन्य कुनै ढङ्गबाट प्रायोजित रूपमा सञ्चालित भएर गरिएको भन्ने स्पष्टै देखिन्छ ।
पदयोग र पदवियोगले अर्थबोधमा समस्या पर्दैन, सङ्कथनको तहमा सन्दर्भ प्रभावशाली हुँदा यसको अर्थ खोज्न कुनै समस्या पर्दैन’ भन्ने भनाइ पनि तर्कपूर्ण छैन । सबैतिर पूर्वापर सम्बन्ध र सङ्कथनका आधारमा मात्र अर्थ खोज्ने काम ह“ुदैन, शब्द–वाक्य हुँदै सङ्कथनमा पुगिने हुँदा सङ्कथनभन्दा तल्ला एकाइ पनि अर्थपूर्ण हुन्छन् भन्ने कुरा बताउनु नपर्ला ।
यसको तात्पर्य पदवियोग गर्नै हुन्न सबै पदयोग गरेरै लेख्नुपर्छ भन्ने होइन । समयको आवश्यताअनुसार कतिपय नियम संशोधन र परिमार्जन पनि गर्न सकिन्छ तर पदवियोगका नाममा ‘विश्वविद्यालय, न्यायपालिका, कार्यपालिका, नगरपालिका, भाषाविज्ञान’ जस्ता सिङ्गा तत्सम शब्दलाई समेत छुट्ट्याउने कार्य कदापि स्वीकार्य हुन्न । ‘विश्वविद्यालय’ अङ्ग्रेजी युनिभर्सिटीको नेपाली रूपान्तरण भएकाले यसलाई छुट्ट्याउनु पर्छ भन्ने कुरा चरम हास्यास्पद छ । यस्तै भए पहिले युनिभर्सिटी छुट्ट्याउनु पर्ला नि ।
नेपाल प्रज्ञा प्रतिष्ठानकोे नेपाली भाषा सङ्गोष्ठी २०६७ को निर्णयअनुरूप गरिएको भन्ने व्यक्ति ‘हेमाङ्गराज’ र ‘जीवेन्द्रदेव’ ले सोही निर्णयमा उल्लिखित व्यक्तिवाचक नाम प्रचलनअनुसार नै जोडेर लेख्ने भन्ने कुरालाई किन लागु नगरेको त ? त्यही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहेका दुईजना राजमध्ये ‘दिनेशराज’ जोड्ने अनि ‘हेमाङ्ग राज’ छुट्ट्याउने कुनचाहि“ नियममा पर्छ ?
भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भिœयाएर अनि द्वित्वलाई पनि सार्थक र निरर्थक भनी छुट्ट्याएर पृथक् नियम बनाई भाषालाई झन् जटिलतातर्फ धकेल्नु हुन्न । भाषालाई नियम बढाएरभन्दा घटाएर सरलीकरण गर्दै लानुपर्छ ।
रूढ अर्थ धारण गरिसकेका एकार्थवाची शब्द जतिसुकै लामा भए पनि छुट्ट्याउन मिल्दैन । हिन्दीमा विभक्ति आदि छुट्ट्याइको पाइए पनि नेपालीमा त्यसो गर्नु हुन्न । हरेक भाषाको आआफ्नै प्रचलन, परम्परा र नियम हुन्छ ।
नेपालीमा पदयोग र पदवियोगमा केही समस्या छन् । पदयोगका नाममा संस्वृmतभैm“ लम्बेतान जोड्ने र हिन्दीभैm“ विभक्तिसमेत छुट्ट्याउने होइन । शिष्ट परम्परा, प्रचलन, सन्दर्भ, प्रसङ्ग आदिलाई हेरेर यसको व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दागर्दै पनि अक्षर वा वर्ण गनेर पदयोग वा पदवियोग गर्ने कुराचाहि“ उपयुक्त हुन्न । यस्ता झिनामसिना कुरामा पनि विवाद गरेर भाषाको विकास हुँदैन । परिपत्र वा घोषणापत्र जारी गर्नतिर लागेमा समस्या समाधानको सट्टा झन् बल्झिन्छ ।
(३) ह्रस्व–दीर्घको प्रयोग
नेपालीमा ह्रस्वदीर्घका बारेमा त्यति धेरै समस्या नहुँदानहुँदै पनि कतिपय कुरालाई जबर्जस्ती समस्याका रूपमा ल्याइएको देखिन्छ । तीमध्ये कतिपय परिवर्तन गर्नसकिने भए पनि कतिपय परिवर्तन गर्न नसकिने खालका छन् ।
नेपालीमा ह्रस्वदीर्घसम्बन्धी अनावश्यक सन्दर्भ भित्र्याउने कार्यको थालनी चन्द्रगढी घोषणापत्र (२०६६) बाट गरियो भने नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी (२०६७), केही व्यक्तिबाट तयार पारिएको सबैको नेपाली (२०६७), शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) तथा नेपाली बृहत् शब्दकोश (२०७२) बाट निरन्तरता दिने काम गरियो ।
‘तीन, बीस, तीस’ जस्ता’ सङ्ख्याबोधक शब्दका सुरुको इकार तथा ‘तेईस, बत्तीस, चालीस’ जस्ता सङ्ख्याबोधक शब्दका बीचको इकार प्राज्ञिक छलफलका आधारमा ह्रस्व लेख्न सकिन्छ तर दीर्घ लेख्दाका हानि पुष्टि गर्नुपर्छ । यिनमा ‘प्रहरीले सातजना चोर समात्यो र भोलिपल्ट तिनलाई छोडिदियो’ वाक्यमा रहेको ‘तिन’ शब्दले के अर्थ बुझाउँछ भन्नेतर्फ सचेत हुनु आवश्यक छ ।
यसैगरी अर्थभेदक नहुने शब्द ‘ठीक’, ‘बीच’, ‘रूख’, ‘हरू’ दीर्घ लेख्ने प्रचलन भए पनि प्राज्ञिक छलफलका आधारमा यिनलाई ह्रस्व लेख्न सकिन्छ तर दीर्घ लेख्दाका हानि पुष्टि गर्नुपर्छ ।
नेपालीमा ह्रस्व–दीर्घका आधारमा कतिपय शब्दमा अर्थ भिन्न रहेको अवस्था पनि देखिन्छ । यस्तो अवस्था उस्तै सुनिने तर अर्थ फरक हुने श्रुतिसमभिन्नार्थक शब्दमा पाइन्छ, जस्तै—
मनोज खालि गाग्रो हेरिरहन्छ । मनोज खाली गाग्रो हेरिरहन्छ ।
ती दुवै मनुष्य जाति हुन् । ती दुवै मनुष्य जाती हुन् ।
त्यो पुरा खाएर जा । त्यो पूरा खाएर जा ।
मलाई फुल मन पर्छ । मलाई फूल मन पर्छ ।
खालि÷खाली, चिर÷चीर, जाति÷जाती, जुन÷जून, तिर ÷तीर, दिन÷ दीन, पट्टि÷पट्टी, पारि÷पारी, पालि÷पाली, पुरा÷पूरा, फुल÷फूल, फेरि÷फेरी, यति÷यती, सीता÷सिता, हानि÷हानीजस्ता विशिष्ट अर्थ धारण गरिसकेका शब्द अनेकार्थी नभएर श्रुतिसमभिन्नार्थक शब्द भएकाले यिनलाई अपवाद न्यूनीकरण गर्ने वा एकरूपता कायम गर्ने नाममा चलाउन मिल्दैन । कतिपय अपवाद पनि भाषिक विशिष्टता हुने गर्छन् र यस्ता शब्दलाई नेपाली भाषाको विशिष्ट प्रयोग वा विशेषताकै रूपमा लिएर त्यसैअनुरूप प्रयोग गर्नु उपयुक्त हुन्छ ।
संस्वृmतजस्तो कठोर नियम भएको भाषामा पनि अर्थ भिन्न नहुने ‘औषधि÷औषधी’ जस्ता कतिपय शब्दमा समेत ह्रस्व–दीर्घको वैकल्पिक प्रयोग पाइन्छ भने नेपालीमा अर्थभेदक हुने शब्दलाई ह्रस्व वा दीर्घ कुनै एक मात्र लेख्न मिल्दैन ।
(४) ‘श, ष, स’ को प्रयोग
नेपालीमा श, ष, स प्रयोगका आधारमा अर्थ भिन्न रहेको अवस्था पनि देखिन्छ । यस्तो अवस्था विशेषतः श्रुतिसमभिन्नार्थक शब्दमा पाइन्छ, जस्तै—
त्यो कुरा कोशबाट पत्ता लाग्छ ।
त्यो कुरा कोषबाट पत्ता लाग्छ ।
त्यो कुरा कोसबाट पत्ता लाग्छ ।
अ“ध्यारोमा दिशा छुट्ट्याउन कठिन हुन्छ ।
अ“ध्यारोमा दिसा छुट्ट्याउन कठिन हुन्छ ।
तिमीहरू सब बोकेर जाओ ।
तिमीहरू शव बोकेर जाओ ।
माथिका वाक्यमा गाढा कालो गरिएका शब्दहरू श्रुतिसमभिन्नार्थक शब्द हुन् र यिनले उस्तै वाक्यमा पनि भिन्न अर्थ दिएका छन् । नेपालीमा यसप्रकारका केही शब्दहरू छन् । नेपालीमा प्रचलित केही श्रुतिसमभिन्नार्थक शब्द र तिनको अर्थ तल दिइन्छ ः
केश — कपाल केस — मुद्दा, बाकस
कोश÷ष — ढुकुटी, भण्डार कोस — दुई माइलको दूरी
दिशा — पूर्वपश्चिम आदि दिशा दिसा — गुहु, विष्ठा
पाश — जाल, पासो पास — निर, नजिक
यश — कीर्ति यस — यो
विष — जहर बीस — २० को सङ्ख्या
शव — लास सब — सम्पूर्ण
शाला — बस्ने वा काम गर्ने ठाउँ साला — श्रीमतीको भाइ
शाह — ठकुरीको थर साह — तेली आदिको थर
शीत — ओस सित — स“ग
शूर — वीर, पराव्रmमी सुर — विचार, आँट, होस
सङ्कर — अन्तर्मिश्रण, अलङ्कारको शङ्कर — शिव
एउटा प्रकार
यस्ता शब्द नेपाली भाषाको सौन्दर्य, विशिष्ट प्रयोग वा विशेषताकै रूपमा रहेकाले एकरूपता कायम गर्ने नाममा यसप्रकारका श्रुतिसमभिन्नार्थक शब्दलाई जथाभावी परिवर्तन नगरी यही रूपमै प्रयोग गर्नुपर्छ ।
नेपालीमा उच्चारणका आधारमा‘स’ को निर्धारण गरिनुपर्छ भन्ने कुरा पनि उपयुक्त देखिन्न । ‘श, ष, स’ तीनवटैको उच्चारण ‘स’ नै भए पनि ‘दिशा’ र‘दिसा’,‘शाह’ र ‘साह’ का अर्थ नै भिन्न भएकाले यसलाई कायमै राख्नु पर्छ तर ‘शेर्पा’, ‘शेरचन’ र ‘जोशी’ ले अर्थमा कुनै भिन्नता नल्याउने हुँदा तिनलाई ‘सेर्पा’,‘सेरचन’ र ‘जोसी’ गर्न वा प्राज्ञिक छलफलबाट उही रूपमा छोड्न सकिन्छ । एउटै डिकमा लेखिएका ‘शेक्सपियर’ र ‘सेक्सपियर’ शब्दमा अर्थ भिन्नता हुन्न । ‘सेक्सपियर’ लाई दुईवटा शब्दका रूपमा छुट्टै डिकमा लेख्दा मात्र अर्थ भिन्न हुन्छ । अलिअलि जानेको अङ्ग्रेजीका भिन्न उच्चारण हुने शब्दलाई उतैको उच्चारणअनुसार लेख्नुपर्छ भनिए पनि संसारका विभिन्न भाषाबाट आएका शब्दलाई त्यहीँको उच्चारणअनुरूप लेख्न नसकिने हुँदा त्यसलाई नेपाली उच्चारणअनुसार नलेखी धरै छैन । उताको ठीक उच्चारण यताका कतिले जानेका छन् र त्यसका लागि नेपाली वर्ण छ कि छैन भन्ने कुरा पनि त्यत्तिकै विचारणीय छ । यसर्थ अङ्ग्रेजीप्रतिको अति मोह देखाएर यस्ता सानातिना कुरामा बखेडा झिकी नेपाली भाषाप्रति वितृष्णा पैmलाउने प्रयत्न गर्नु हुन्न ।
‘शहीद’ लाई ‘सहिद’ लेख्दा सहिदप्रति अपमान गरिएको ठानिनु उपयुक्त होइन । शब्दमा प्रयुक्त वर्णबाट मानअपमान भन्ने कुरै आउँदैन । सांस्कृतिक महŒव बोकेका ठानिने यस्ता शब्दलाई वैकल्पिक प्रयोग गर्न पनि सकिन्छ ।
‘क, ट, ठ, ड, ढ, ण, प’ वर्णका अगि ‘ष’ लेखिन्छ भन्दैमा तत्सम शब्दका सादृश्यमा आगन्तुक शब्द ‘कम्युनिष्ट, प्लाष्टिक, रेष्टुरेण्ट’ लेख्नु उपयुक्त हुन्न ।
(५) चन्द्रबिन्दु, शिरबिन्दु र पञ्चम वर्णको प्रयोग
चन्द्रबिन्दु, शिरबिन्दु र पञ्चम वर्णको प्रयोगसम्बन्धी संस्वृmतका नियम नेपालीमा जस्ताको तस्तै लागु हुने स्थिति देखि“दैन । चन्द्रबिन्दु, शिरबिन्दु र पञ्चम वर्णलाई वैकल्पिक रूपमा प्रयोग गर्ने भन्ने कुरा पनि कतिपय सन्दर्भमा उपयुक्त हुँदैन र यस्तो प्रयोगले अर्थ नै भिन्न हुने स्थिति पनि देखिन्छ । वैकल्पिक प्रयोगका नाममा‘ङ्, ञ्, ण्, न्, म्’ का सट्टा सबैतिर शिरबिन्दु वा चन्द्रबिन्दु लगाउनुपर्छ भन्ने तर्क पटक्कै उपयुक्त होइन, यसमा प्रयोगगत सन्दर्भ केलाउनु पर्छ ।‘अंक÷अङ्वm’ जस्ता केही शब्दमा अर्थ फरक पर्दैन भन्दैमा सबैतिर यो नियम लागु गर्न सकिन्न । कतिपय शब्दमा प्रयुक्त शिरबिन्दु र चन्द्रबिन्दु कुन पञ्चम वर्णका लागि प्रयोग भएको भन्ने स्पष्ट हुँदैन, जस्तै— नांलो, कांलो, छांदा । ‘यी शब्दमा प्रयुक्त शिरबिन्दुका आधारमा नाङ्लो वा नाम्लो, कान्लो वा काम्लो तथा छान्दा वा छाम्दा के बुझ्ने ? यसर्थ यस्ता शब्दमा उच्चारणअनुरूपकै पञ्चम वर्ण आवश्यक पर्छ ।‘नाङ्लो÷नाम्लो’ जस्ता अर्थभेदक शब्दमा शिरबिन्दु नभई पञ्चम वर्णकै प्रयोग गर्नुपर्छ । ‘काँग्रेस’ र ‘कांग्रेस’ लेख्ने गरेको देखिए पनि उच्चारणअनुरूप ‘काङ्ग्रेस हुन्छ । यस्तै गरी गांचा (गाम्चा), चंचा (चम्चा), कंफट्टा (कन्फट्टा), भांजी (भान्जी), चिंटा (चिम्टा), संझना (सम्झना) आदिमा शिरबिन्दुको प्रयोग त्रुटिपूर्ण मात्र नभएर निरर्थकसमेत हुन्छ । यसर्थ पञ्चम वर्णको सट्टा शिरबिन्दु वा चन्द्रबिन्दु प्रयोग गर्दा सजिलो हुन्छ भन्दैमा जथाभावी प्रयोग गर्नु हुन्न । नेपाली भाषा धेरैजसो पञ्चम वर्णकै प्रयोगतर्फ उन्मुख भइसकेको देखिन्छ ।
डिकमाथि मात्रा लाग्ने वा इकार, एकार, ऐकार, ओकार र औकारमा चन्द्रबिन्दु लगाउने प्रचलन भए पनि सजिलोका लागि शिरबिन्दु पनि लगाउन सकिन्छ, जस्तै—
सुरु — औँला—औंला, खोँच—खोंच, गै“डा—गैंडा, भैँसी—भैंसी आदि ।
बीच — गरिँदा—गरिंदा, गरौँला—गरौंला, सुतौँला—सुतौंला आदि ।
अन्त्य — उठेँ—उठें, गरेँ—गरें, तपाईँ—तपाईं, सुतेँ—सुतें आदि ।
संस्वृmतजस्तो कठोर नियम भएको भाषामा पनि ‘संक्षिप्त÷सङ्क्षिप्त, संक्षेप÷सङ्क्षेप’ जस्ता कतिपय शब्दमा शिरबिन्दु र पञ्चम वर्णको वैकल्पिक प्रयोग पाइन्छ भने नेपालीमा पनि अर्थभेदक नहुने कतिपय शब्दमा वैकल्पिक प्रयोग गर्न सकिन्छ तर यसमा एकरूपता कायम गर्नुपर्छ ।
३. निष्कर्ष ः समस्याको समाधान
नेपाली भाषा पठनपाठन वा कक्षाकोठामा मात्र सीमित नरही राष्ट्रभाषा, साझा भाषा, सम्पर्क भाषा, माध्यम भाषा, सरकारी कामकाजका साथै आम पत्रकारिताको भाषासमेत भएको र यो राष्ट्रको सीमा पार गरेर अन्तर्राष्ट्रियकरण पनि भइसकेकाले यसको व्यापक प्रयोगलाई ध्यानमा राखेर यससम्बन्धी नियम बनाउनुपर्छ । अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा पैmलाउने काम गर्नु हुन्न । नेपाली भाषा उच्चारणका आधारमा अर्थभेदक नहुने भाषा भएकाले उच्चारणकै आधारमा यसका सबै नियम बनाउन सकिन्न, लोकव्यवहार वा प्रयोगलाई पनि हेर्नुपर्छ ।
भाषा भनेको संस्वृmतिको सबैभन्दा महत्वपूर्ण र अभिन्न अङ्ग भएकाले भाषामाथिको आक्रमण भनेको सोभैm संस्वृmतिमाथिको आक्रमण हो । नेपाली भाषा नेपाल राष्ट्रको मात्र नभएर विश्वभर छरिएर रहेका सिङ्गो नेपाली जातिको सांस्वृmतिक पहिचान बनिसकेको नेपाली भाषालाई चौतर्फी आक्रमण गरी थिल्थिल्याएर कमजोर तुल्याउने प्रयत्न भइरहेका बेला नेपाली भाषाकै विद्वान् भन्न–भनाउन रुचाउने र नेपाली भाषाकै खेतीबाट गुजारा चलाइरहेकाहरूले समेत नेपाली भाषालाई कमजोर तुल्याउनेवृत्तिलाई नै मलजल गर्नु तथा राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भाँचकु“च र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त होइन । व्यक्तिविशेषको स्वार्थपूर्तिका लागि भाषामाथि अनावश्यक चलखेल गरी यसलाई बिगार्ने प्रयत्न गर्नु भनेको आमा बेचेर सानीमा भित्र्याउने कार्य गर्नुजस्तै हो ।
शिष्ट परम्परालाई पूरै निषेध गरेर कतै कसैबाट आफूलाई भाषाको आधिकारिक ठेकेदार ठानी एकाधिकारवादी र निषेधकारीवृत्तिको अनुसरण गरिएमा त्यसले अशिष्ट परम्परा जन्माउँछ र त्यो सिङ्गो भाषाका लागि प्रत्युत्पादक हुन्छ । परम्परामाथि प्रहार गर्दै जाने हो भने त्यस वृत्तिले निरन्तरता पाउँछ र परम्पराको अस्तित्व सदैव सङ्कटग्रस्त हुन्छ । व्यक्तिगत रूपमा कसैलाई यस्तो ‘लेख्नसकिने’ भन्ने प्रस्ताव राख्नसक्छ तर ‘यस्तै लेख्नुपर्छ’ भनी आदेशात्मक परिपत्र गर्न मिल्दैन ।
भाषाको आधुनिकीकरण र मानकीकरणका नाममा प्रयोक्तालाई पूरै बेवास्ता गरी जबर्जस्ती रूपमा जे पायो त्यही नियम लादिएमा त्यो निरर्थक हुन्छ र अन्ततः लेखनमा अराजकता आई नेपाली भाषाको अस्तित्व नै सङ्कटमा पर्छ । नेपाली भाषामा यतिखेर यस्तो लक्षण देखापर्न थालिसकेकाले भाषाको माया गर्नेहरूले यसतर्फ सोच्नु जरुरी छ ।
नेपाली भाषाको लेख्य मानक प्रयोगलाई विगत केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेकोप्रति आपत्तिजनक जनाउँदै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा हालसालै जारी गरिएको विज्ञप्ति पनि यसतर्फकै अग्रसरता हो । साथै प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, मानक नेपाली भाषा अभियान २०७३ तथा उनकै अध्यक्षतामा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको गठन गरी अवधारणापत्र जारी गरिनु यसतर्फकै थप अग्रसरता हो ।
केही व्यक्तिले पदीय दुरुपयोग गरी भाषाको लेख्यरूपलाई विकृत तुल्याउन गरेका दुष्कार्य र जबर्जस्ती लादिएको नियमलाई आमसञ्चार, पत्रकारिता, स्रष्टाहरू, प्रकाशन संस्था, भाषाका आम प्रयोक्ता कसैले पनि स्वीकार नगरेकाले अब तिनीहरूले सार्वजनिक रूपमा माफी मागेर आफ्ना गल्तीलाई सच्च्याउने, अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज गर्ने, पहिले परिपत्र गर्ने शिक्षामन्त्रीले नै गल्ती स्वीकार गरिसकेकाले शिक्षा मन्त्रालयबाट २०६७ सालमा जारी गरिएको परिपत्र अर्काे परिपत्रबाटै बदर गर्ने, केही व्यक्तिबाट तयार पारिएको सबैको नेपाली (२०६७) तथा नेपाली बृहत् शब्दकोश (२०७२) लाई खारेज गर्ने काम गरिएमा अहिले नेपाली भाषा बल्झाइएका समस्याको समाधान हुन्छ अन्यथा नेपाली भाषाको अस्तित्व समाप्त हुनसक्ने हुँदा यसको अस्तित्व बचाउनाका लागि जस्तोसुकै कदम चाल्नुपर्ने स्थिति आउन सक्छ । यस्तो स्थिति नआओस् भन्ने अपेक्षा गरिन्छ ।
भाषा जननी भएकाले यसमाथि राजनीति नगरौँ र यसलाई प्रतिष्ठा सङ्घर्षको विषय नबनाई यसपूर्व जानेर वा नजानेर गरेका गल्तीलाई सच्च्याएर नेपाली भाषाको अस्तित्व जोगाऔँ ।

(लेखक मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल अध्यक्ष हुन् ।)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 1 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु