भाषामा भाँडभैलो: शब्दकोशको चिरफार

- प्रा. डा. देवीप्रसाद गौतम

हेमाङ्गराज अधिकारी, हेमनाथ पौडेल, बद्रीविशाल भट्टराई र जीवेन्द्रदेव गिरीद्वारा सम्पादित नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोश २०७२ (संक्षेपमा हेहेबजी शब्दकोश) मा नेपालीमा प्रयोग भइआएको संयुक्त वर्ण क्तको अन्त्येष्टि भइसकेको उद् घोष गरिएको रहेछ । नेपाली लेख्यपरम्परामा पहिलेदेखि प्रयोग भइआएका र अहिले पनि सबै पुस्ताका प्रयोक्ताहरूले प्रयोग गरिआएका संयुक्त वर्ण क्तसँग जोडेर लेख्ने गरिएका सबै नेपाली शब्दलाई हेहेबजी शब्दकोशले तिलाञ्जली किन दिएछ ? मनमा जिज्ञासा उत्पन्न भयो । हेहेबजीका १३५५ पृष्ठभरि चहारेँ तर संयुक्त वर्ण क्तको कतै नामोनिसान पाइएन । बित्याँस प¥यो, ए यहाँ पनि पो सिद्धयाइसकेछन् त भनी टाउको समातेँ । मलाई निकै भाउन्न भयो । भक्ति थापाको याद आयो । भानुभक्त आचार्यको भक्तमाला सम्झेँ । नाटककार बालकृष्ण समको नाटक भक्त भानुभक्तको सम्झना भयो । प्रह्लाद भक्ति कथा पनि सम्झें । शक्तिवल्लभ अर्यालको नामसँगै विभिन्न शक्तिपीठहरूको स्मृतिबिम्ब अगाडि आयो । क्त त सिद्धिएको छैन, जीवन्त नै छ, कसरी यस हेहेबजीले मृत्युको प्रमाणपत्र दिएर आर्यघाट पठायो ह‘ ?म रनभुल्लमा परे‘ । मेरा आँखा तिरमिराए । भक्तपुरे मीठो दही र पशुपतिमा दर्शनका लागि लाम लाग्ने गरेका भक्तजनहरूको झझल्को आइरह्यो । सबैतिर क्त अझै जीवितै छ । मेरो स्मृति ताजै छ । म अलि आश्वस्त भएँ । अनायास म भक्त हुँ यो देशको भन्ने गीतको अंश गुनगुनाउन पो पुगेँछु । क्त यहाँ पनि त जीवितै छ नि । म यतिसारो नआत्तिनु पर्ने । सम्झनाका अन्य तरेलीहरू आई नै रहे ।
२०७१ सालसम्म नेपाली बृहत् शब्दकोश (नेबृश) मा छमछम नाचिरहेका तर २०७२ सालमा भने यस हेहेबजीमा दिवङ्गत घोषणा गरिएका क्तसहितको लेखनसित जोडिएका केही शब्दहरू यस प्रकार छन् ः
भक्त, भक्तपुर, भक्तपुरे दही, भक्तवत्सल, भक्तालु, भक्ति, भक्तिनी, भक्तिमान्, भक्तिमार्ग, भक्तिमाला, भक्तिभाव, आशक्त, आशक्ति, शब्दशक्ति, अर्थशक्ति, शक्तिभण्डार, त्रिशक्ति (प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति), शक्तिपूजा, शक्तिपूजक, शक्तिपीठ शाक्तधर्म, अनुरक्त, विरक्त, रक्तचाप, रक्तअल्पता, रक्तकोष, रक्तसञ्चार, रक्तदान, रक्तपात, रक्तपिपासु, रक्तवर्ण, रक्तविकार, रक्तसम्बन्ध, रक्तस्राव, रक्ताम्मे, रक्तिम, रक्तोपचार, व्यक्त, व्यक्तता, व्यक्ति, अभिव्यक्ति, अभिव्यक्त, व्यक्तिगत, व्यक्तिवृत्त, व्यक्तिचित्र, व्यक्तित्व, व्यक्तिविकास, व्यक्तिपूजा, व्यक्तिप्रधान, व्यक्तिभाषा, वैयक्तिक, निर्वैयक्तिक, अवैयक्तिक, व्यक्तिवाद, व्यक्तिवादी, अव्यक्त, व्यक्तीकरण, पङ्क्ति आदि ।
मेरो स्मृतिबिम्बमा झैं पाठकहरूका सम्झनामा पनि यो क्त अहिलेसम्म जीवन्त नै होला । सम्झनामा यी शब्दहरू नाचिरहेकै होलान् । पाठकहरू संयुक्त वर्ण क्तसित आएका माथि दिइएका शब्द र यस प्रकृतिका अन्य शब्दहरू अब आइन्दा तपाईंहरूको स्मृतिबिम्बमा मात्र सीमित हुनेछन् नि ख्याल गर्नुहोला । यिनीहरूलाई यस रूपमा अब प्रयोग गर्न पाउनुहुने छैन । मान्नुहोस् कि नमान्नुहोस्, यस रूपमा अब यी शब्द जीवित छैनन् । हेहेबजीले यी र यस्ता शब्दलाई चिलिमच्वाँट पारिसकेको छ । जीवितै ठानेर प्रयोग गर्नुभयो भने फसादमा पर्नुहोला । तपाईंको लेखाइ अशुद्ध हुनेछ र यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने त भड्खालोमा नै पर्न पनि बेर छैन । सजग हुनु मनासिब होला ।
बालमैत्री बनाउन भक्ति र शक्ति दुवैलाई बिदा दिइएको अरे । साना नानीहरूलाई पहिले भक् ति र शक् ति लेख्न सिकाउने, ४, ५ कक्षामा पुगेपछि भक्ति र शक्ति पनि सिकाइदिने गरेको भए भइजाने । आजसम्म क्त र क् त दुवै विकल्प दिइँदै आएकोमा क्तका लागि बन्देज लगाइएछ, निषेध गरिएछ, कोशमा प्रतिबन्ध नै पो लगाइएछ । भक्ति र शक्ति लेख्दा चाहिँ अगाडि इकार र त्यसपछि क् तथा त् गर्ने (भक् ति, शक् ति) अनि द्विलाई चाहिँ यसभन्दा विपरीत द् तथा वका बिचमा लुसुक्क इकार ल्याएर घुसाउने भक् ति, शक् ति जस्तो दुई वटा संयुक्त व्यजनसँगै रहेर अद्वितीय नलेख्ने, अद् वितीय लेख्ने कस्तो वैज्ञानिक पद्धति हो यो, कस्तो प्रविधिमैत्री हो यो ?
ए, क्तलाई त डाँडो कटाएछन् । अरू के के गरे कुन्नि ? द्धलाई के गरे ? द्यलाई के गरे ? जिज्ञासा उत्पन्न भयो । बुद् ध र बौद् धिकलाई मूल प्रवृष्टिमा दिइएको रहेछ र विकल्पमा बुद्ध र बौद्धिकलाई पनि दिइएको रहेछ । काटेका छैनौंं, राखेका पनि छौं त भन्नुप¥यो । अचाक्ली भयो भन्लान् भनेर विकल्पका रूपमा एक ठाउँमा राखेको होला । कोशभित्रका सयौं ठाउँमा प्रयोग हुने सबै पेटबोलीमा भने द्धलाई सफाचट गरी द् धलाई विराजमान गराइएको रहेछ । खोजी पस्दा एक ठाउँमा विकल्पका रूपमा दिइएको बुद्ध र बौद्धिकका सट्टा (यिनलाई मूल प्रविष्टिमा मात्र दिइएको, अन्यत्र सबैतिर चाहिँ द् ध नै लेखिएको) द् ध कायम गराउनका लागि पाठकलाई बलजफ्ती त्यतैतिर बाध्य रूपमा प्रेरित गराउने साजिसपूर्ण रणनीति अँगालिएको रहेछ । कोशका सबै ठाउँमा, सबै पेटबोलीमा द् ध मात्र दिनुको तात्पर्य स्पष्ट बोध हुन्छ । हेहेबजीका ९२० र ९३० जम्मा दुई पृष्ठबाट मात्र जस्ताको तस्तै उतार गरिएका निम्नलिखित पद तथा पदावलीहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ ः
बुद् ध, बुद् धिमान्, बौद् धधर्मका प्रवर्तक, गौतम बुद् ध, बुद् ध बन्ने काम, बुद् धपद, बुद् धले चलाएको, बौद् धधर्म, बुद् धको माहात्म्य, बुद् धागम, बुद् धले चलाएको धर्म, बुद् धिको चलाखी, बुद् धिले भ्याउने, बौद् धिक काम, बुद् धिको काम, बुद् धिको प्रमुखता, बुद् धि वा बौद् धिक स्तर, बुद् धि र बल, बौद् धिक शक्ति, बुद् धिको बल, बुद् धिचाल, बुद् धिमान् कहलाउन, बुद् धिमान्, बुद् धिमान्मा रहने गुण, बुद् धि मान्ने, बुद् धि बहलाउने काम, बुद् धि कम भएको, बुद् धि भएको, बुद् ध वा बुद् धि सम्बन्धी बौद् धिक, बुद् ध धर्मको अनुयायी, बुद् धले चलाएको धर्म, बुद् धधर्म, बौद् धमार्गीहरूको तीर्थस्थल, बौद् ध धर्म ग्रहण गरी, बुद् धले चलाएको मत, बौद् ध सम्प्रदाय, बुद् धिबाठ हुने बुद् धि सम्बन्धी, बुद् धिको, बुद् धिद्वारा बौद् िधक हुनाको भाव ।
बुद्धमा जस्तै विद्यामा पनि यही रणनीति अँगालिएको रहेछ । सुरुमा विकल्पका रूपमा विद् यासँगै विद्याको पनि प्रविष्टि दिइएको रहेछ र त्यसपछिका पेटबोलीमा चाहिँ द्धका सट्टा द् ध लेखिएजस्तै गरी सबैतिर द्य लेख्दै नलेखी द् य नै द् य गरिएको रहेछ । प्रविष्टिमा छँदैछ भन्नु मात्र कोशभरि जहाँजहाँ द्य आउँछ सबैको मुण्डन गरी द् य गरिएको रहेछ । कम्प्युटरकोे सर्च एन्ड रिप्लेस कमान्डको मज्जाले प्रयोग गरिएछ, खोजीखोजी, छानीछानी र ताकीताकी द्य र द्धमाथि तीर हानिएछ र एक ठाउँबाहेक द्य तथा द्धलाई पूरै धुस्न्याइएछ । अघिल्लो संस्करणसम्म क्त विकल्पका रूपमा थियो, यस पटक हेहेबजीले माथि दिइएअनुसार त्यसको रामधुलाइ ग¥यो । अहिले द्ध तथा द्य एकाध मूल प्रविष्टिसित विकल्पका रूपमा लेपासिएर, चाउरीपरेको अनुहार लगाएर यसो जेनतेन बाँचेका छन् । तिनलाई यहाँ धुस्न्याइएको मात्रै हो, अहिले पूरै धुल्याइहालेकोे भने छैन । क्तलाई जस्तै गरी तिनलाई अर्को संस्करणमा धुल्याइने अघोषित योजना । यसपछिको संस्करणमा द्व, द्य, द्धको पालो । अब आयो निदुली तेरो काल । सोच्दासोच्दै टक्क अडिएँ । चिटचिट पसिना पो आएछ । ओहो क्तलाई मात्र होइन, द्व, द्य, द्धलाई पनि चिलिमच्वाँट बनाउने योजना रहेछ । एकाध शब्दमा मात्र भएकाले एकदुई पृष्ठका यसो कान बटार्दा मात्रै पनि भइहाल्छ । एकदुई ठाउँमा थाहै नपाई यसो फ्लुड लगाइदि‘दा पनि मामिला तमाम, धेरै कसरत नै गर्नु नपर्ने । सारै विरोध भयो भने ए छुटेछ भनेर उम्कन पनि पाइने भइहाल्यो । देखाजाला । कस्तो योजनाबद्ध रणनीति ।
हेहेबजीले आमाको कोखबाट होइन, यान्त्रिक कोखबाट टेस्टट्युब बेबी जन्माएको पनि रहेछ । आफ्नै कोखमा जन्मिएका सन्तति पनि सन्तति नै हुन् र सरोगेसी प्रक्रियाबाट जन्मेका सन्तति पनि सन्तति नै हुन् । हामीकहाँ त्यति प्रचलनमा नभए पनि टेस्टट्युब बेबी पनि आफ्ना सन्तति नै हुन् । प्रविधिको जमाना हो मान्नै प¥यो । नमुनाका रूपमा हेहेबजी शब्दकोशका केवल चार वटा पेज (६३६ देखि ६४० मात्र) बाट जस्ताको तस्तै टिपोट गर्दा पनि यति धेरै टेस्टट्युब बेबीका रूपमा यस्ता शब्द प्राप्त भए ः
द् यावापृथिवी, द् यु, द् युति, द् युत, द् युतभोगी, द् यो, द् योत, द् याोतक, द् योतन, द् योति, द् यौ, द् यौडा, द् यौता, द् वन्द् व, द् यौता, द् यौर्ती, द् यौतीर्थ, द् यौनिगालो, द् यौपितृ, द् यौरानी, द् यौराली, द् यौसी, द् वन्द् व, द् वय, द् वर्थ, द् यर्थक, द् वयार्थ, द् वादश, द् वापर, द् वार, द् वारका, द् वारपाल, द् वार पालक, द् वार रक्षक, द् वारा, द् वारिका, द् वारे, द् वि, द् विज, द् विजन्मा, द् विजाति, द् वितीय, द् वित्व, द् विदल, द् विधा, द् विधातु, द् विप, द् विपक्षीय, द् वीपथ, द् विपद, द् विपाद, द् विबाहु, द् विभाषी, द् विभुज, खद् विमुखी, द् विरागम, द् विरुक्त, द् विरुढा, द् विवचन, द् विविध, द् विविधा, द् विबिन्दु, द् विशिर, द् विशीर्ष, द् विसदनात्मक, द् विस्वर, द् वीप, द् वेष, द् वैगुणिक, द् वैत, द् वैध, द् वैपायन, द् वैप्य, द् वैमातुर, द् वैराज्य, द् व्यर्थ, द् व्यर्थक, द् व्याक्षायण, द् व्योष्ठ्य ।
हेहेबजीले यिनलाई नवजात टेस्टट्युब बेबी मानेको रहेछ । पढ्न नै गाह्रो । हेर्न नै गाह्रो । केको सरल र सहज हुनु नि । आँखा नै तिरमिराउने । कनीकुथी छिचोल्न त छिचोलेँ निकैबेर लगाएर । त्यसपछि एक ग्लास पानी खाएँ । पाठकहरू, तपाईंहरूलाई त्यस्तो लागेन माथिको सूची हेर्दा ? चार वटा पानामा यति धेरै बुख्याँचा देखेपछि १३५५ पेजको हेहेबजी शब्दकोशमा कति बुख्याँचा होलान् भनी एकछिन घोरिएँ । यसमा बुख्याँचाहरूले राम्ररी गुँड नै बनाइसकेको, साम्राज्य नै चलाइएको लख काटेँ । म अवाक् भएँ । सुनेको थिएँ बालमैत्रीको कुरा । बालकहरूलाई कार्टुन निकै मन पर्छ । यी टेस्टट्युब बेबी नभई कृत्रिम रूपमा बनाइएका, जन्माइएका कार्टुन शब्दचित्र हुन् । बुख्याँचा हुन् । बालबालिकालाई बुख्याँचा पनि मन पर्छ । यस अर्थमा बालमैत्री हो नत्र अरू त केको बालमैत्री हुनु नि । लेख्य र कथ्यको नजिक भन्ने डङ्का पिटेको थाहा पाएको थिएँ, कता छ कुन्नि त्यो नजिकपन मेलोेसेसो नै पाउन सकिन । प्रविधिमैत्री पनि कसरी भन्नु खै ? तीनपल्ट किबोर्ड चलाउँदा द्वन्द्व टाइप हुनेमा पाँचपल्ट चलाउँदा मात्रै द् वन्द् व बन्दो रहेछ । सबै बुख्याँचाले किबोर्डको आवृत्ति बढाए । आयाम पनि निकै लिने । पेज पनि बढ्ने । केको नवजात शिशु नि, बुख्याँचा नै बुख्याँचा । नयाँ रे । नयाँ लेखनपद्धति रे । सिँगारेर नयाँ बनाइएको रहेछ । बुख्याचालाई सिँगार्नै पर्छ नत्र तिनले कसरी टेस्टट्युब बेबीको भ्रमात्मक आस्वाद दिन सक्छन् ? समयको माग रे । यस्ता स्पन्दनहीन बुख्याँचाको माग गर्ने कस्तो समय आएछ खै । म बिलखबन्दमा परेँ । नयाँ, वैज्ञानिक, सरल, बालमैत्री, शिक्षणअनुकूल, प्रविधिमैत्री, अग्रगामी केके सुनेको केके । सरसरती कोशका अरू पाना पनि पल्ल्टाएँ । जताततै बुख्याँचा, ङिच्च हासिरहेका बुख्याँचा, यता पनि उता पनि, तल पनि माथि पनि । बुख्याँचा नै बुख्याँचा । दिग्दार लाग्यो ।
यसको सुरुआत कहाँ, कहिले र कसरी भयो ? जिज्ञासाको विषय थियो । कोशहरू पल्टाएँ । प्रज्ञाप्रतिष्ठानबाट २०७० मा निकालिएको साहित्यकार कलाकार परिचय कोश हेरें । त्यसमा पनि यस्तो छैन ।२०७१ मा प्रकाशित प्रज्ञा नेपाली व्याकरण पल्टाएँ । यसमा प्रचलनअनुसार नै पदवियोग गरिएको छ, संयुक्त वर्णटुक्र्याइएको छैन, संयुक्त क्रिया अलग्याइएको छैन, लिपिविन्यास बिगारिएको छैन । प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोशको पहिलेको संस्करण, २०७० मा निकालिएको साहित्यकार कलाकार परिचय कोश र प्रज्ञा नेपाली व्याकरणको वर्णविन्यास र लेख्यप्रचलन सबैमा यो स्थिति छैन । २०७० मा निकालिएको साहित्यकार कलाकार परिचय कोश र २०७१ मा प्रकाशित प्रज्ञा नेपाली व्याकरणले निर्धारण गरेको मानक भाषिक रूपभन्दा भिन्न यस हेहेबजीमा यस्तो वर्णविन्यास र लेख्य रूपको प्रयोग कसरी भयो ?
कोशहरू पल्ठाउँदै जाँदा मेलोमेसो फेला पर्दै गयो । बुख्याँचाकरणको प्रारम्भिक सुरुआत त बद्रीविशाल भट्टराई र हेमाङ्गराज अधिकारीद्वारा सम्पादित विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित प्रयोगात्मक नेपाली शब्दकोश २०७० पो रहेछ । २०७० को संस्करणमा क्तलाई बिदा दिइएको रहेछ, द्य तथा द्धलाई चुस्स एकाध शब्दमा राखिएको रहेछ । हरूलाई ह्रस्व बनाउने, पदवियोग गर्ने, संयुक्त अक्षर टुक्य्राउने, ह्रस्वदीर्घमा फेरबदल गर्ने जस्ता कृत्यहरू सबै यही प्रयोगात्मक शब्दकोशको २०७० संस्करणमा सम्पन्न भएका रहेछन् । बुख्याँचाहरूको जायजन्म त यही शुभ मुहूर्तमा भइसकेको पो रहेछ । त्यतैबाट यस हेहेबजीमा उघाउँदै खन्याउँदै गरिएको मात्रै रहेछ । यता पनि आफू उता पनि आफू । आफ्नो हात जगन्नाथ । उघाउन, खन्याउन गाह्रो भएन ।
यसो किन भयो ? प्रयोगात्मक नेपाली शब्दकोश र त्यस समयमा चल्तीमा रहेको प्रज्ञाको नेपाली बृहत् शब्दकोश भिन्नभिन्न रूपमा देखापरेपछि प्रयोगात्मक नेपाली शब्दकोशको विक्रीवितरण ठप्प जस्तै भएछ । यसपछि प्रयोगात्मक नेपाली शब्दकोशसितको मिलानका लागि २०७२ मा हेहेबजी शब्दकोशमा बुख्याँचालाई भित्र्याइएछ, संयुक्त वर्णलाई ठुन्क्याइएछ, हरूलाई हरू बनाइएछ र प्रयोगात्मक नेपाली शब्दकोशमा रहेको फूलको प्रविष्टिलाई समेत यसमा चाहिँ झिरिप्प पारिसकेपछि प्रयोगात्मक नेपाली शब्दकोशभन्दा पनि यो हेहेबजी शब्दकोश अझ विद्रूप र कुरूप बन्न गएछ । प्रज्ञाबाट प्रकाशित हेहेबजी शब्दकोशकै वर्णविन्यास भएपछि, त्यसमा भन्दा कम गल्ती भएपछि, शब्दसख्या पनि बढी, पृष्ठसख्या पनि बढी भएपछि पाठकहरू निजी प्रकाशनका प्रयोगात्मक नेपाली शब्दकोशतिर जाने सहज वातावरण सृजना हुने रहेछ । हेहेबजी शब्दकोशका चार जना सम्पादकमध्येका दुई जना सम्पादक नै निजी प्रकाशनबाट प्रकाशित यस प्रयोगात्मक नेपाली शब्दकोशका लेखक तथा सम्पादक भएकाले यो तारतम्य अर्थपूर्णसमेत हुने नै भयो । हेहेबजीले यसो गर्नुको ऐतिहासिक शृंखला यही रहेछ । यसको कडी यही रहेछ । प्रज्ञाबाट २०७० मा निस्किएको कोशमा यस्तो छनक नहुनु, प्रज्ञाबाट नै २०७१ मा निस्किएको प्रज्ञा नेपाली व्याकरणमा यसको गन्ध पनि नहुनु तर उनै सम्पादकको निजी कोशमा प्रकाशित भएअनुसार २०७२ मा चाहिँ सबै त्यही कपी र पेस्ट जस्तै हुनुको तात्पर्य अरू केही होइन भन्ने कुरा छर्लंग छ ।
हेमाङ्गजीले २०६८ सालमा प्रकाशित प्रायोगिक नेपाली व्याकरणमा नै महत्वपूर्ण शब्दलाई समेत दुई ठुन्का पार्नुभएको हो । उहाँको निजी दृष्टिकोणमा आधारित लेखन भएकाले उहाँको हात समात्न कोही आएको थिएन । कसैले रोकेको थिएन । तर राज्यका आधिकारिक निकायलाई माध्यम बनाएर यसो गर्नु चाहिँ हुँदैनथ्यो । मुख्य कुरा यही हो । आफ्ना निजी मान्यतालाई थाती राखेर प्रज्ञाप्रतिष्ठानकोे राष्ट्रिय दायित्वको ख्याल गर्नुपर्दथ्यो । बाँदरका हातमा नरिवल भयो । प्रज्ञाले राष्ट्रिय दायित्व भुल्यो, सांस्कृतिक अराजकतालाई निम्त्यायो र भाषिक विखण्डन ल्यायो । यसले साझा र समन्वयकारी आफ्नो भूमिका गुमायो, तिगडम, छलछाम र घोप्लाबाजी ग¥यो । समग्रतामा गैरप्राज्ञिक काम ग¥यो ।
बिक्रीवितरण बन्द गर्नुपर्ने र उक्त संस्करणलाई रद्द गरी पुरानो कोशलाई पुनर्मुद्रण गर्नुपर्ने सुझावसहितको चर्को विरोध भएपछि प्रज्ञाले आफूले गरेका निर्णयहरूमा कुनै छुटफुट छ कि वा ती निर्णयको विचलन भएको छ कि भनेर डा.चूडामणि बन्धुको सयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिले दूधको साक्षी बिरालो नबनी वास्तविकताको खोजी गरेमा पाउने तथ्य यही हो । यस हेहेबजी शब्दकोशको ६३६ देखि ६४० सम्मका चार वटा पेजमा पदवियोग गरिएका, संयुक्त वर्ण टुक्र्याइएका, संयुक्त क्रिया अलग्याइएका, लिपिविन्यास बिगारिएका र ह्रस्व र दीर्घसम्बन्धी केही बटारबुटुर गरिएका संख्या १५४ भेटिए । चार पेजमा यति त्रुटि छन् भने १३५५ पृष्ठको यस हेहेबजीमा यस्ता विचलन कति होलान् ? आँ गरेपछि अलङ्कार बुझिन्छ । अरू धेरै भनिरहनु नपर्ला । भन्नै पर्दा चाहिँ दाबासाथ के भन्न सकिन्छ भने अघिल्ला संस्करणमा भन्दा यस हेहेबजीमा कम्तीमा पनि दश हजार ठाउ“मा रातो मसी लाग्न सक्ने देखिन्छ (हार्दैै नहार्ने बाजीका लागि पो दश हजार भनिएको नि, वास्तविकतामा यो संख्या पन्ध्र हजार नाघ्न सक्छ) ।
प्रज्ञा नेपाली व्याकरण र साहित्यकार कलाकार परिचय कोशको स्वामित्व लिने प्रज्ञाप्रतिष्ठानले तिनले स्थापित गरेको मानकभन्दा पूरै भिन्न दसौं हजार जति गल्ती भएको यस हेहेबजी शब्दकोशको स्वामित्व लिन सक्ने कुरै आएन । हेहेबजी कोशको तयारीमा प्रज्ञाका दुई जना प्राज्ञको मात्र संलग्नता भएबाट र लहरो तान्दा पहरो नै गर्जने गरी कृत्यहरूको चाङ लाग्दै गएबाट कमलादीमा अहिले औंसीको रात छ । यति बढी वैयक्तिक जञ्जाल, स्वार्थ, तिगडम र छक्कापञ्जासहित आएको हुँदा यो कोश शैक्षणिक निकायमा सन्दर्भका रूपमा रहन सक्दैन र प्रयोग गरिनु पनि हुँदैन । संयुक्त व्यञ्जन क्तको अन्त्येष्टि गर्ने अनि द्य, द्ध तथा द्वलाई तम्तयार रहन निर्देशन दिने, यति अथाह गल्ती भएको यो हेहेबजी शब्दकोशसित प्रज्ञाप्रतिष्ठानले सती जान खोज्नु पनि उपयुक्त होइन । यस्तो धृष्टता नहोला । भित्रभित्रै उकुसमुकुस र छटपटाहट पनि उत्तिकै हुँदो हो । एउटा बिराउने शाखा पिराउने । विज्ञहरूको त्रिसदस्यीय टोलीले पु्रुफ हेर्ने काम मात्र नगरी यसले स्थापना गरेको विसङ्गतिमाथि प्राज्ञिक मूल्याङ्कनसमेत गर्नु जरुरी छ । यसो नभएमा यस कोशले नेपाली भाषामा ल्याएको भाँडभैलो र अराजकताको उत्खनन अवश्य नै शृङ्खलाबद्ध रूपमा हुँदै जानेछ । हेहेबजीको तत्काल खारेजीसहित प्रज्ञाप्रतिष्ठानकोे गैरप्राज्ञिक यात्राको स्थगन हुनु जरुरी छ ।

(लेखक मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्र्रिय सञ्जालका सल्लाहकार तथा नेपाली केन्द्रीय विभागका प्रमुख हुन् )

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु