भाषामा भाँडभैलोको कारक: नेपाली बृहत् शब्दकोश (२०७२)

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

संसारका जुनसुकै विकसित भाषाको एकभाषी मानक शब्दकोश हुन्छ । भाषा शिक्षण–प्रशिक्षणका लागि शब्दको उच्चारण र तिनको प्रयोगसमेत समाविष्ट गरी प्रयोगात्मक शब्दकोश पनि निर्माण गर्नसकिन्छ तर यी दुईका प्रकृति फरक हुन्छन् । एक हजार वर्षभन्दा लामो इतिहास भएको र एउटा विकसित भाषाका रूपमा रहेको नेपाली भाषामा एकभाषी कोश निर्माणको परम्परा पनि लामै छ । हालसम्म निर्मित नेपालीका एकभाषी कोषहरूमा नेपाली बगलीकोश (१९९८), सङ्क्षिप्त नेपाली शब्दकोश (२००७), नेपाली शब्दकोश (२०१९), बृहत् नेपाली शब्दकोष (२०२३), नेपाली सङ्क्षिप्त कोश (२०४०), नेपाली बृहत् शब्दकोश (२०४०, २०५८) आदि उल्लेख्य छन् । समयक्रममा व्यक्ति वा संस्थाबाट निर्मित यी विभिन्न कोशमा खासै विवाद रहेको देखिन्न ।
नेपाली भाषाको मानक शब्दकोश नेपाली बृहत् शब्दकोशलाई संशोधन–परिमार्जनका नाममा २०७२ को संस्करणमा तहसनहस पारेर नेपाली भाषाको चीरहरण गरिएको छ । यसले नेपाली भाषाकै अस्तित्व सङ्कटग्रस्त तुल्याएको हुँदा यो चौतर्फी आलोचित र अत्यन्तै विवादित बन्नपुगेको छ । मानक नेपाली भाषा अभियानका साथै आम नेपाली भाषाप्रेमीहरूबाट यस कोशको खारेजीको माग गरिसकेको कुरा सर्वविदितै छ । चौतर्फी आलोचना हुनथालेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको प्रतिनिधि मण्डलसँग यस कोशमा गल्ती भएको स्वीकार गर्ने र विज्ञप्तिमार्पmत नेपाली वर्णविन्यास अधिगोष्ठी (२०५७) र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी (२०६७) को निर्णयका आधारमा यो कोश संशोधन–परिमार्जन गरेको भनी दोहोरो चरित्र देखाउने गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित अधिगोष्ठी र सङ्गोष्ठीमा गरिएको भनिएका निर्णयका आधारमा यो कोश संशोधन–परिमार्जन नभएको तथ्य निर्णयकै बुँदाका क्रममा तल प्रस्तुत गरिन्छ ः
नेपाली वर्णविन्यास अधिगोष्ठी (२०५७) को ‘अधिगोष्ठीको निष्कर्ष’ शीर्षकमा बहुमान्य मत भनी छवटा बुँदामा र त्यसको लगत्तैपछि ‘केही थप कुरा’ उपशीर्षकमा तीनवटा बुँदामा प्रस्तुत गरिएको छ । यसका मुख्य कुरा त्यहीँका बुँदाका क्रममा तल दिइन्छ ः
१. ‘विभक्ति र नामयोगीलाई जोड्ने वा नजोड्ने भन्ने सन्दर्भमा अरू विशेष अध्ययनको आवश्यकता छ, यसबारे तत्काल टुङ्गो लगाउन मिल्दैन । तसर्थ यसलाई अहिले प्रस्तावित विषयकै रूपमा मानेर हाललाई प्रचलित रीतिअनुसार सम्बद्ध शब्दहरूमा नामयोगी र विभक्तिहरूलाई जोडेरै लेख्नु उचित छ ।’
२. ‘... वारिस, बालुवा आदि शब्दहरूका लागि तलथोप्ली व को प्रयोग गर्नु उचित छ ।’
५. ‘... क्षतिपूरक दीर्घीकरण शिष्ट नेपाली परम्परा हो तापनि उच्चारणमा ह्रस्व नै पाइएकोले ह्रस्व नै लेख्नु उपयुक्त छ’ भनी तितो, मिठो, बुढो, फुल, दुध आदि उदाहरण दिइएको छ भने यसैको ‘केही थप कुरा’ को (क) ‘क्षतिपूरक–दीर्घीभवनको आधार’ मा यी शब्दलाई दीर्घ दिइएको छ । एउटै अधिगोष्ठीको निष्कर्षमा यसरी दुई खाले प्रस्तुति हुनाको तात्पर्य यो अनिर्णित रहेको स्पष्ट हुन्छ ।
नेपाली वर्णविन्यास अधिगोष्ठी (२०५७) का यी निर्णयलाई नेपाली बृहत् शब्दकोश (२०७२) मा कतै पनि पालना गरिएको छैन ।
नेपाली भाषा सङ्गोष्ठी (२०६७) का निर्णयहरू चारवटा बुँदा र केही उपबुँदामा प्रस्तुत गरिएको छ । यसका मुख्य कुरा त्यहीँका बुँदाका क्रममा तल दिइन्छ ः
१. आगन्तुक शब्दको वर्णविन्यास, वर्णमाला र लिपिसित सम्बन्धित निर्णयहरू
(ख) ‘...व्यक्ति, जाति, धर्म, थर, भाषा आदिका सन्दर्भमा भने प्रचलनलाई नै मानक रूप स्वीकार गर्ने, जस्तै ः खम्बू, कोयू, हायू, लिम्बू, हिन्दू, ज्ञवाली, क्षेत्री, शाह, राणा, शेर्पा, थारू, सायमि आदि ।’
नेपाली बृहत् शब्दकोश (२०७२) मा कोयू, सायमि प्रविष्टि छैन अरू उकार ह्रस्व गरिएको छ । यो कुन निर्णयअनुसार गरिएको हो ?
(घ) ‘संयुक्त वर्णहरूलाई यथासम्भव हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने ... संयुक्त व्यञ्जनको प्रयोग पनि गर्न सकिने... ।’
यस शब्दकोशमा मूल प्रविष्टिमा मात्र नभई सर्वत्र संयुक्त व्यञ्जनको खुट्टो काटिएको छ । प्रोत्साहित गर्ने भन्नाको तात्पर्य सर्वत्र बिगार्ने भन्ने हुन्छ ?
२. ह्रस्वदीर्घसित सम्बन्धित निर्णयहरू
(क) ‘सङ्ख्यावाचक शब्दको आदि र मध्यमा ह्रस्व लेख्ने (यसमा व्यञ्जनसित मिश्रित इकार दीर्घ लेखिनु पर्छ भन्ने फरक मत पनि देखिएको) ।’
(ख) ‘क्षतिपूर्ति दीर्घीभवन भनी दीर्घ लेखिने शब्दहरू तद्भव नियमअनुसार ह्रस्व लेख्ने, जस्तै ः ठुलो, पुरा, रुख, दुध, बिच, ठिक, तितो, मिठो, फुल आदि । (यसमा दीर्घ लेखिनु पर्छ भन्ने फरक मत पनि देखिएको) ।’
(ज) ‘संयुक्त क्रियामा छुट्टाछुट्टै आउने सबै इकारान्त रूप दीर्घ लेख्ने (यसमा ह्रस्व लेख्नु पर्छ भन्ने फरक मत देखिएको) ।’
निर्णयमा यसरी फरक मत देखिएको भनी उल्लेख गरिनाले यो कुनै निर्णय नभएको स्पष्ट हुन्छ । यसरी निर्णय नभई विवादमा रहेका कुरालाई यस शब्दकोशमा मनगढन्ते पाराले जथाभावी प्रयोग गरिएको छ । ‘फुल’ जस्ता श्रुतिसमभिन्नार्थक शब्दलाई ह्रस्व गर्ने स्पष्ट निर्णय २०५७ र २०६७ दुवैमा भएको छैन तर यस शब्दकोशमा दीर्घलाई प्रविष्टिबाटै हटाएर ह्रस्व मात्र दिइएको छ । यसो गर्ने अधिकार कसले दियो ?
३. पदयोग र पदवियोग सम्बन्धी निर्णयहरू
(क) ‘समस्त शब्दका हकमा परम्परागत रूपमा कायम प्रचलनलाई यथावत् राख्ने र त्यस सम्बन्धमा कतिपय शैक्षिक तथा प्राज्ञिक निकाय र लेखकहरूले प्रचलनमा ल्याएका नवीन मतलाई पनि सरोकारवाला प्राज्ञिक निकाय मार्फत सार्वजनिक छलफलमा लैजाने । त्यस क्रममा विश्वविद्यालयका नेपाली विषय समिति, नेपाली भाषा शिक्षा विषय समिति, उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशन आदि नेपाली भाषामा लेखिएका सामग्रीको प्रकाशनमा संलग्न संस्था एवम् आमसञ्चार माध्यमहरूसँग व्यापक विमर्श गरी अन्तिम निर्णयमा पुग्ने ।’
निर्णयमा पदयोग र पदवियोगसम्बन्धी यति स्पष्ट उल्लेख हुँदाहुँदै यस शब्दकोशमा दुईदुई लिपिचिह्नबाट बनेका शब्द (सोमवार, बुधवार, रामपुर आदि) लाई पदयोग गर्ने र त्यसभन्दा बढी लिपिचिह्नबाट बनेका (आइत वार, मङ्गल वार, जनक पुर, विराट नगर, विश्व विद्यालय आदि) एकार्थवाची शब्दलाई पदवियोग गरिएको छ । यो कुन नियमअन्तर्गत गरिएको हो ? ‘आइतबार, सोमबार’ मा ‘ब’ लेखिँदै आएकामा कुन आधारमा ‘व’ लेखिएको हो ? यसमा पनि एकरूपता छैन । मानक शब्दकोशलाई मनगढन्ते पाराले यसरी जे पायो त्यही गर्न मिल्छ ?
(ख) ‘सँग, सित, तर्पm, तिर जस्ता विभक्तिवत् नामयोगी बाहेक अन्य नामयोगी (जस्तै ः बमोजिम, अनुसार आदि) छुट्ट्याएर लेख्ने । (नामयोगी जोड्ने कुरामा फरक मत देखिएको) ।’ यस विषयमा नेपाली भाषा अधिगोष्ठी (२०५७) मा‘...प्रचलित रीतिअनुसार सम्बद्ध शब्दहरूमा नामयोगी र विभक्तिहरूलाई जोडेरै लेख्नु उचित छ’ भन्ने स्पष्ट उल्लेख भएको र २०६७ को सङ्गोष्ठीमा नामयोगीबारे स्पष्ट निर्णय नभई फरक मत देखिएको हुँदा यस शब्दकोशमा २०५७ को निर्णयलाई लत्याएर पदयोग वा पदवियोग गर्ने काम कुन आधारमा गरिएको हो ? पछिल्लो निर्णयमा फरक मत आएकाले अगिल्लो निर्णयअनुसार पदयोग गर्नुपर्ने होइन र ?
(ग)‘सबै संयुक्त क्रियालाई छुट्ट्याएर लेख्ने । (यसमा जोडेर पनि लेख्नुपर्छ भन्ने फरक मत देखिएको) ।’ यसरी फरक मत देखिएपछि यसलाई निर्णयका रूपमा मानक शब्दकोशमा प्रयोग गर्न मिल्छ ?
(च)‘व्यक्तिवाचक नाम प्रचलनअनुसार नै लेख्ने, जस्तै ः लक्ष्मीप्रसाद, मानबहादुर, सूर्यविक्रम आदि’ भन्ने स्पष्ट निर्णय भएका कुरालाई समेत यस शब्दकोशमा छुट्ट्याएर प्रस्तुत गरिएको छ । यसरी जे मन लाग्यो त्यहीे गर्ने अधिकार कसले दियो ?
४. नेपाली भाषाको एकरूपता, मानकीकरण तथा स्तरीकरणका लागि भएका निर्णयहरूको कार्यान्वयनका सम्बन्धमा
(क)‘... कोश र व्याकरण निर्माण गर्न सरोकारवाला निकायका प्रतिनिधि, पेसाकर्मी र विज्ञहरूको परामर्शमा ... सम्पन्न गर्ने ।’
(ग)‘छलफलका क्रममा आएका मतमतान्तरहरूबारे प्राज्ञिक अन्तक्र्रियाहरूबाट निष्कर्षमा पुग्ने ।’
यी दुवै काम कहिले सम्पन्न गरी यस शब्दकोशमा प्रयोग गरिएको हो ? यो कुनै व्यक्तिविशेषका नियमलाई लाद्ने शब्दकोश त होइन ।
यी दुवै गोष्ठीमा निर्णय त के कुरा कतै चर्चा नै नभएको‘हरू’ लाई यस शब्दकोशमा सर्वत्र ह्रस्व गरेर‘हरु’ लेखिएको छ । यो के गर्न खोजिएको हो ?
यसरी हेर्दा नेपाली वर्णविन्यास अधिगोष्ठी (२०५७) र नेपाली भाषा सङ्गोष्ठी २०६७ का निर्णयहरू अधिकांशतः विवादमै अल्झिएका देखिन्छन् । यसर्थ नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित अधिगोष्ठी र सङ्गोष्ठीमा गरिएको भनिएका निर्णयका आधारमा नेपाली बृहत् शब्दकोश (२०७२) संशोधन–परिमार्जन नभएको तथ्य स्पष्ट हुन्छ । यस्तो स्थिति हुँदाहुँदै तिनलाई यस शब्दकोशमा जबर्जस्ती प्रयोग गर्ने छुट कसले दियो ?
संगोष्ठीको निर्णयका सबैजसो बुँदामा फरक मत देखिएको र ती मतमतान्तरबारे प्राज्ञिक अन्तक्र्रियाहरूबाट निष्कर्षमा पुग्ने भन्ने कुरा निर्णयकै बुँदामा उल्लेख हुँदाहुँदै यसको बेवास्ता गर्ने तथा हुँदै नभएका निर्णयलाई कोशमा प्रविष्टि दिने र कतिपय शब्दलाई हटाउने दुष्कार्य गरी नेपाली भाषामाथि खेलबाड गर्ने अधिकार नेपाल प्रज्ञा प्रतिष्ठानलाई कहा“बाट प्राप्त भयो ? नेपाली बृहत् शब्दकोश (२०७२) कुनै निर्णयमा आधारित नभई जथाभावी रूपमा अस्तव्यस्त पारिएको कुरा यति स्पष्ट हुँदाहुँदै २०५७ र २०६७ को निर्णयअनुसार यसको संशोधन–परिमार्जन गरिएको भनी आम प्रयोक्तालाई झुक्याउने ढङ्गबाट विज्ञप्ति निकालेर अरूका तथ्यपूर्ण अभिव्यक्तिलाई अनर्गल प्रचार भनी दुष्प्रचार गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सुहाउँछ ?
माथिका सबै सन्दर्भलाई हेर्दा नेपाली बृहत् शब्दकोश (२०७२) ले नेपाली भाषाको मानक स्वरूपलाई नै खल्बल्याएर अस्तव्यस्त तुल्याएको र यो नै नेपाली भाषामा भाँडभैलोको सर्वप्रमुख कारक भएको हुँदा यसलाई तत्काल खारेज गरी २०५८ को नेपाली बृहत् शब्दकोशलाई प्रचलनमा ल्याउनुको अर्काे विकल्प छैन । नेपाल प्रज्ञा प्रतिष्ठानले अब पनि यसतर्फ ध्यान नदिए परिणाम भयानक हुने निश्चित छ र जुनसुकै दिन नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले त्यहाँबाट हट्नुपर्ने कुरा पक्का छ । आफ्नो जागिर जोगाउने हो भने नेपाली बृहत् शब्दकोश (२०७२) लाई तत्काल खारेज गरी नेपाली बृहत् शब्दकोश (२०५८) को पुनर्मुद्रण गर्नु अपरिहार्य छ ।

(लेखक मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु