‘फेरी हङकङको सेरोफेरो’ एक फन्को

- कृष्ण बजगाईं

‘तपाईं जहाँ जानु हुन्छ, आफ्नो सारा हृदयसाथ जानुहोस् ।’ –कन्फुसियस

कन्फुसियसको देशलाई हृदयदेखि नै माया गरेर कर्मथलो बनाएका सुमलकुमार गुरुङको यात्रा संस्मरण हो ‘फेरी हङकङको सेरोफेरो’ । यस यात्रा संस्मरणमा उनले हङकङको बसाई अनि मकाउ र सेन्जेनको भ्रमणमा देखेका भोगेका कुरालाई कलात्मक तरिकाले उतारेका छन् । स्मृतिका रुपमा भारत, नेपाल र बेलायतको केही प्रसंग आए पनि मुख्य रुपमा चीनको तीन सहरको सेरोफेरोमा रहेको छ यात्रा संस्मरण ।
वि.सं. २०१०, माघ ४ पर्वतमा जन्मिएका गुरुङ पेशाले सेवानिवृत्त सैनिक अधिकृत हुन् । आफनो पेशागत अनुभव दक्षतालाई अवकाश पश्चात हङकङ र बेलायतमा वरिष्ठ सुरक्षा अधिकारीको रुपमा जारी राखेका छन् । साहित्य लेखनको अलवा संगठनको नेतृत्व गर्दै आएका गुरुङ समाजसेवामा पनि उतिकै सक्रिय छन् ।
युरोप यात्राका अनुभूतिहरु(२०६८) नियात्रासङ्ग्रहबाट यात्रा साहित्यमा ख्याती कमाएका गुरुङका मेजर अर्जुनको औंठी (२०६९)कथासङ्ग्रह र अतीतको आँखिझ्यालभित्र नियाँल्दा (२०७१)संस्मरण प्रकाशित भएका छन् । आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशनको क्रममा छन् । विभिन्न साहित्यिक पुरस्कारद्धारा पुरस्कृत गुरुङ समाज सेवामा उल्लेखनिय योगदानको गरे बापत सम्मानित भएका छन् ।
जीवनको अधिकांश समय भारत, हङकङ र बेलायतमा बिताएका गुरुङको तन विदेशमा भए पनि हरपल मन स्वदेशको फन्को मारिरहेको कुरा उनका कृतिको अध्ययन पश्चात पाठकले थाहा पाउँदछन् ।
मातृभूमि र परिवार छाडेर विदेशीनु कसैको रहर हैन बाध्यता हो । विदेशिने आम नेपालीहरुको जस्तै पीडा उनले पनि भोगेका छन् । अहिले पनि हरेक दिन हजार भन्दा बढी नेपाली युवाहरु विमानस्थलबाट कामको खोजीमा विदेश लाग्दछन् । विदेशिने क्रमले तिब्रता पाएको खास गरी माओवादी द्धन्द्धको समयमा हो । अधिकांश मानिसहरु आफू र आफ्ना सन्ततीको सुरक्षित भविष्यका लागि विदेश पलायन भएको तितो यथार्थ हाम्रो सामु छ ।
भारतीय सैनिक सेवाबाट सेवानिवृत लगत्तै स्वदेश फर्केको चार वर्षपछिको दोस्रो पटकको विदेश पलायनले यो कृतिको सिर्जना भएको छ । आफ्नो पलायनको कारण ‘परिवर्तनको नाममा हतियार उठाएर चलाएको युद्ध’ भनेर लेखेका छन् । वास्तवमा उनी आफै हतियारसँग खेलेर सेवा निवृत्त भएका भारतीय सैनिक अधिकृत हुन् । हतियारले मात्र परिवर्तन हुँदैन, आफ्नै दाजुभाइसँग हतियारले लड्ने युद्ध ठीक होइन भन्ने उनको अभिमत छ ।
उनी लेख्छन्–‘मलाई अनुभूति भएको कुरा त्यसबेला नेपालमा जे भईरहेको थियो त्यो गलत भईरहेको थियो । रक्तपातबाट परिवर्तन ल्याउन खोज्दा अनाहाकमा निर्दोष मानिसहरुको संहार हुन्छ जस्ले एउटा अपूरणिय क्षति पीडितले भोग्नु पर्छ । यो अकाट्य सत्य हो । यसको जिम्मेवारी कस्ले बोक्ने ? अनि मैले म विदेशमा बसेर पनि देश सेवा गर्न सक्छु भन्ने विचार लिएर फेरी यस्तै चारवर्षको नेपाल बसाई पछि विदेश लाग्ने अन्तिम सोंच बनाए ।’
एउटा युवा उमेर अर्काको देशको सेवामा बिताई सेवानिवृत भए पश्चात स्वदेशमा केही गर्छु भनेर फर्की आए पनि देशको अवस्थाको कारण विदेशीन बाध्य भएको मन छुने पीडादायी शब्दचित्रले शासकहरुलाई झक्झकाएको छ ।
भारतीय सैनिक सेवाबाट अवकास पाएपछि लुम्ले कृषि फर्ममा जागिर सुरु गरेको चार वर्ष मात्र हुन्छ । फेरी सन् १९९६को अगस्त २६ मा हङकङ लाग्छन् । यो उनको दोस्रो पटकको विदेश पलायन थियो ।
हङकङमा पहिलोपटक पाइला टेकदा झिलिमिली सहर देखेर एकछिन रमाए पनि वाध्यतावश अन्जान ठाउँलाई कर्मभूमि बनाउन बाध्य भएकोमा दुःखी हुन्छन् । कहिलेसम्म हामी नेपालीहरुले यसरी विदेशिनु पर्ने हो ? यो प्रश्न शासकहरुलाई तेस्र्याएका छन् ।
सैनिक सेवाकालमा विदा बाहेक अधिकांश समयमा जवान श्रीमतीसँग छुटेर बस्नु पर्ने सैनिकको वाध्यताको र त्यसले उत्पन्न गरेको पीडालाई ईमान्दारितासाथ उतारेका छन् । पहिले आफू विदेशिएका थिए अहिले श्रीमतीको पालो आएको छ । फेरी श्रीमतीसँग छुट्टिनुको उही एक्लोपन दोहरिन्छ । तर हङकङमा छ महिनापछि श्रीमतीसँगको मिलन हुन्छ । त्यो मिलनमा रोमान्टिक बन्दै मनमा उठेका भाव यसरी व्यक्त गर्दछन् –‘आजको मिलनमा हामी मदहोस भएर मीठो सपनाको दुनियाँमा हरायौं ।’ हुन त गुरुङ एक कवि पनि हुन् । त्यसैले उनको कवि मन रोमान्टिक भएर यात्रासंस्मरणमा जताततै पोखिएको छ ।
‘कहाँको राजा कहाँको गंगुतेली ।’ हङकङमा पाइला टेकेपछि काठमाण्डौंसँग तुलना गर्दछन् । उनले गरेको तुलना बाटाघाटा र अग्ला भवनसँग होइन । उनी त्यहाँको चुस्त ट्राफिक प्रहरी र ट्राफिक कन्ट्रोलसँग प्रभावित भएका छन् । नेपालको ट्राफिक अनि प्रहरीको ताल देखेका जो कोहीको मनमा गुनासाका खात मात्र छन् ।
कहिल्यै नसुत्ने सहर हङकङको विकाश र निर्माणको तिब्रता देखेर छक्क पर्छन् । समुद्र पुर्दै त्यसमाथि गगनचुम्बी महलहरु बनिरहेका छन् । निर्माणका काम चौविसै घण्टा भइरहेछन् । त्यहाँको विकाश निर्माणले छलाङ मारेको देखेर लेख्छन्– ‘मानौ हङकङ अहिले हतारमा छ ।’
हाम्रो विकाशको चाल चिप्ले किराको गतिमा छ । यो सबै खराब राजनीतिका कारण भएको हो भन्ने कुरा आम जनताले पनि बुझ्न थालेका छन् । नेपालको त्यही फोहरी राजनीतिको छायाँले हङकङलाई पनि गाँजेकोमा लेखक दुःखी हुँदै भन्छन्– ‘हङकङको प्रवासी जीवनमा पनि नेपालको राजनैतिक दलहरुले फूटको विष घोलेका छन् । नेपाली एकताको सपना कहिल्यै पुरा हुन्छ र ? जब कुनै समुदायमा एकता हुँदैन त्यो समुदाय बलियो हुँदैन, त्यो कमजोर हुन्छ ।’
वास्तवमा नेपालको राजनैतिक पार्टीको प्रवाश शाखा र तिनका भातृ संगठनको कृयाकलापले विदेशमा नेपालीहरुलाई विभाजित गरेको छ । झुण्ड झुण्ड र गुट उपगुटमा विभाजित मनहरुलाई नेपाली भाषा साहित्य र सांस्कृतिक कार्यक्रम र चाडपर्वले मात्र जोड्ने गरेको छ ।
कुनै पनि समाजको अंग बन्नका लागि त्यस समाजसँग घुलमिल हुनु पर्दछ । त्यसका लागि एक त भित्री मन चाहिन्छ भने अर्को तर्फ कला पनि । उनी छोटो समयमा हङकङमा भिजेका छन् । भन्छन् ‘केही महिना भित्र नै मलाई आफ्नै देश र आफन्तहरुबीच नै रहेको महशुस हुन थालेको थियो ।’ नभन्दै केही समयपछि उनी विभिन्न संघसंस्थामा सक्रिय भएर समाजसेवामा लागेका देखिन्छन् । नेपाल र नेपालीको लागि भन्ने मूल नारा लिएको एनआरएन हङकङको संस्थापक उपाध्यक्ष भएर समाज सेवामा समर्पित भए । अन्य नेपाली जस्तो पैसाको लागि मरिहत्ते गर्दै ओभर टाईम नगरी फुर्सदको समयमा अरु संघसंस्थामा सक्रिय भएर समाजसेवामा बिताएको प्रसंगहरु अनुकरणिय छन् ।
हङकङमा स्थाई बसोवासका लागि पुगेका नेपालीहरको बस्ने आधार भनेको बेलायती सैनिकका त्यही जन्मेका वा तीनका आश्रित परिवार हुन् । तर २०० वर्ष अगिदेखि पराय देशको रक्षार्थ सैनिक सेवामा जानु पर्ने बाध्यता देशमा मौलाएको अभाव, भ्रष्टचार र नेतृत्व पक्षको स्वार्थ हो भनेर भनेका छन् । त्यस मध्यको एक पात्र आफू बन्नु परेकोमा उनी खुशी देखिदैनन् ।
हङकङको सेरोफेरामा पाठकलाई घुमाउनु अगि लेखकले बेलायती सेनामा नेपालीहरुको प्रवेश र हङकङको इतिहास खोतलेका छन् । निकै खोजी अनुसन्धान गरेर लेखिएको सूचनामूलक जानकारीले पाठकलाई ज्ञानको सागरमा पौडी खेलाउँछ । कसरी बेलायत र भारतमा नेपाली गोर्खा सैनिक जाने प्रचलन सुरु भयो भन्ने सैनिक इतिहास सम्बन्धी जानकारी भरपर्दोे छ । एक सैनिक भएको नाताले सैनिक जीवनका अनुभूति जीवन्तरुपमा प्रस्तुत गरेका छन् यस सङ्ग्रहमा ।
उनी भाग्यमानी पूर्व सैनिक हुन् । हङकङ मात्र होइन विदेशमा अधिकांश नेपाली गर्ने काम भनेको ‘थ्री डी’ अर्थात डर्टी, डेन्जर र डिफिकल्ट काम हो । तर पराया मुलुकमा आफ्नो अनुभव र पेशागत दक्षताको सुरक्षा सम्बन्धी काम पाएर लेखक रमाएका छन् । प्रतिस्पर्धाको जमानामा आफ्नो योग्यता, कुशलता र नेतृत्व गर्ने क्षमताको कारण माथिल्लो पदमा पुगको वृतान्त शिक्षाप्रद छ ।
जीवनको ऊर्जाशील केही समयम बिताएको हङकङ शहर र त्यसको सेरोफेरो उनलाई खुब मन परेको छ । हङकङबाटै उनले जीवनमा आर्थिक उपार्जन गर्ने र सामाजिक सेवामा लाग्ने अवसर प्राप्त गरेका छन् । उनको साहित्य सिर्जनाले यहीँबाट निकै राम्रो गति लिएको देखिन्छ । यस कुरामा लेखक हङकङप्रति कृतज्ञ छन् ।
भिन्नै परिवेश र भाषा संस्कृति भएको मुलुकमा आएपछि समाजमा घुलमिल गर्न अप्ठ्यारो हुन्छ । त्यसमा सबै भन्दा पहिले भाषा तगारो भएर आउँछ । लेखकको अनुभवमा चिनियाँ भाषा बोल्नु पर्ने बाध्यताले नेपालीहरु विभिन्न क्षेत्रमा पछि परेका छन् । अनुभवि र समाजप्रति जिम्मेबार लेखक भएको नाताले अल्पसंख्यक नेपालीहरुले आफ्ना सन्तानका लागि सोच्नु पर्ने बेला आएको बताउँदै केही उपयोगी सुझाव पनि दिएका छन् ।
विदेशमा नेपालीहरुको इमान्दारिता उच्च छ । तर नेताहरु बदनाम छन् । हङकङ मै कतिपय कम्पनीमा स्थानियलाई भन्दा नेपालीहरुलाई बढी तलब दिएर काममा लगाएको कुरा लेखकले जानकारी गराउँदा नेपाली हुनुको गर्वानुभूति गराउँदछ । इमान्दारिता र मेहनतले कतिपय नेपालीहरु विभिन्न कम्पनी खोलेर खरबपति भएको दृष्टान्त दिन्छन् । यस्ता प्रगतिका कुराहरु निश्चय पनि अरुका लागि उत्प्रेरणा हुनसक्दछ ।
हङकङको प्रविधि, निर्माण र विकाशको बयान गरि साध्य छैन । लेखकले त्यसको अलावा अन्य महत्वपूर्ण जानकारी दिएका छन् । त्यहाँको राज्यले आफ्ना नागरिकहरुको स्वास्थ्य, शिक्षा, आवासका लागि कल्याणकारी योजना ल्याएर सुविधा दिएको कुराको उल्लेख गर्दा हाम्रो देशमा चाहीँ किन हुँदैन भनेर सोच्न बाध्य बनाउँछ ।
समुद्रलाई पुरेर ठडिएका गगनचुम्बी भवन देखेका लेखक हङकङको अकल्पनिय विकाश देखेर छक्क पर्छन् । पर्यटकलाई आकर्षित गर्ने कैयौं ठाउँहरुको बर्णनमा पाठकलाई सँगसँगै लैजान्छन् । हङकङ शहरको चारैतिर समुन्द्र र ससाना द्वीपहरु छन् । कतिपय समुन्द्र किनारहरुमा सुन्दर सुन्दर बीचहरु (बालुवाले भरेका तटहरु) छन् जहाँ प्रायः मानिसहरु पौडीको आनन्द लिन जान्छन । सेतो रंगमा अलि गुलाबी रंगमिश्रित प्रजातीका डल्फिन यहाँको समुन्द्रमा देखिने आकर्षक समुन्द्री जीव हुन । साउथ चाईना समुन्द्रमा पाईने यस प्रजातीका डल्फिन हेर्न बोटमा चढेर पर्यटकहरु जाने गर्छन ।
ऐतिहासिक ठाउँ, म्युजियम र हेर्ने लायक राम्रा पार्कहरुको जानकारी दिँदै लेख्छन् –हङकङको हेर्नैपर्ने स्थलहरुमा पिकट्राम चढेर हङकङपिकबाट हङकङ शहर, ओसियन पार्क, लान्ताउको बिगबुद्ध, तुङचुङदेखि केबलकार राईड र वरिपरिका दृष्याहरु, डिज्नील्याण्ड, साईकुङ, लाम्मा आइल्याण्ड, ताईमोशान र मंकीहिलका दृष्यहरु, विभिन्न बीचहरु र साउथ चाईना समुन्द्रमा पाईने पिंक कलरको डल्फिन, शातीन र ह्याप्पीभेलीका रेसकोर्सहरु मुख्य हुन् ।
यात्रा र बसाईको क्रममा हङकङमा परिवारसँगको खुशीमा रमाएका छन् लेखक । उनी भन्छन्– ‘खुशी बटुल्न आफैले प्रयास गर्नुपर्दो रहेछ । समयको प्रत्येक पललाई कसरी आनन्दमय बनाउने भन्नेकुरा त्यो आप्mनै जीवन जिउने शैलीमा निहीत रहन्छ । मेरो बुझाईमा सकारात्मक सोच राख्ने र आफन्तलाई नजिक ल्याउने प्रयास गरेमा समयमा खुशीका यस्ताक्षणहरु बिताउन पाउँदोरहेछ ।’
विदेशमा सुख छ तर खुशी छैन । खुशी रहने उनको यो गुरुमन्त्रले विदेशमा रहेका नेपालीहरुलाई रामवाण औषधीको काम गर्ने छ ।
नोबल पुरस्कार विजेता प्रसिद्ध लेखक अर्नेस्ट हेमिङ्वेले भनेका छन्– ‘जसलाई प्रेम गर्दैनौं उसँग कहिल्यै यात्रा नगर ।’
परिवारसहित उनी हङकङबाट मकाउ र सेन्जेन तर्फ लागेका छन् । संसारमा परिवारलाई भन्दा बढी माया कसलाई गरिन्छ होला र ? उनका यात्राका हरेक पल रमाइला छन् ।
मकाउ पुगेपछि पाठकलाई अर्कै संसारमा पुर्याउँदछन् । युरोपेली राष्ट्रहरुमा पर्तुगालले उपनिवेश जमाएको सबैभन्दा पहिलो राष्ट्र र सबैभन्दा अन्तमा आप्mनो अधिनबाट स्वतन्त्र गरेको भुभाग नै मकाउ हो । सौह्रौ शताब्दिमा पर्तुगालीहरु पहिलोचोटि व्यापारका लागि मकाउमा स्थापित भएका थिए । त्यसपछि कालान्तरमा त्यसलाई आप्mनो उपनिवेश कायम गरेर अधिपत्य जमाए ।
जुवाको लागि अमेरिकाको लासभेगास भन्दा पनि ख्याती कमाई रहेको छ मकाउले । खासमा चिनीयाहरु पहिले जुवा र लागू पदार्थका दुब्र्यसनी थिए । माओको क्रान्तिपछि त्यसमा प्रतिबन्ध लागकोले चिनमा त्यसको खासै प्रभाव देखिदैन । तर मकाउ पर्तुगलको अधिनमा रहेकोले क्यासिनोको लागि विकाश गरियो । पछि मकाउ चिनमा फिर्ता आए पनि पहिले कै अवस्थामा संचालन गर्न छुट दिइएको छ ।
पर्यटकको आकर्षणको केन्द्र ‘सिटी अफ ड्रिम्स’ भित्र पुगेपछि लेखक प्रभावित हुन्छन् । थिएटर भित्र गोलाकार दर्शकहरु बस्ने सीटमा जल नृत्य हेर्न पुगेका लेखकले त्यसको सजिब वर्णन गर्दछन् । ‘पंक्तिबद्ध तलबाट माथितिर फैलिदै गएको थिएटरमा एकातिर प्रवेशद्वारमाथि पर्दामा कथाको पृष्ठभूमि र कथालाई दर्शाउनकालागि फिल्मका क्लिपहरु देखाउने रहेछ र बीचमा प्रदर्शन मञ्चन गर्ने पानीको गहिरो तलाउ रहेछ । यो पानीको मञ्चरुपी तलाउमा तीन करोड सत्तरीलाख ग्यालन पानी अर्थात पाँचवटा ओलिम्पिक स्विमिङपुल बराबरको पानीले भरिएको छ भनिन्छ । ठ्याक्कै आठबजे शो शुरुभयो । हेर्दा दहजस्तो देखिने मञ्चमा प्रकाश र ध्वनीका विशेष प्रभावको प्रस्तुती गर्दै एउटा समयलाई सार मानेर प्रेमकथाको आधारमा विभिन्न नृत्य र सर्कसका करतबहरु प्रस्तुती हुन्छ । शुरुमा तलाउमा एकजना मानिस चोयाबाट बनेको भियतनामी टोपी ओढेर निकै लामो डुंगा खियाउँदै बिहानको कुँवासो लागेको बेलाको वातावरणमा मञ्चको द्वारबाट तलाउमा प्रवेश हुन्छ र डुँगा खियाउँदैगर्दा एकजना विहोश भएको व्यक्ति (कथाको नायक) लाई तलाउको पानीबाट उद्वार गर्छ । यहाँबाट नै शो प्रारम्भ हुन्छ । राज्यसत्ता माथि प्रभुत्व जमाएर खलनायकरुपी जत्थाले एकदमै सुन्दरी अप्सराजस्ती युवती राजकुमारीलाई कैद गरेर राखेको हुन्छ, आप्mनो प्रेयसीलाई ती पापीहरुका हातबाट मुक्त गर्न एकजना युवक, राजकुमारका साथी र ऊ उनिहरुसंग लडेर अन्तमा मुक्तगर्ने कथावस्तुमा अधारित यस कहानीलाई विभिन्न सर्कसका करतब, आकर्षक अभुषण र कपडाहरु पहिरेर पानीभित्र गरिने युद्धशैलीका नृत्य र संगीतले दर्शकहरुलाई यति खिँचेर राख्छकि एकनिमेषका लागिपनि आँखा नझिम्काई प्रदर्शनको मजा दर्शकहरुले लिन्छन् ।’
कैयौं सर्कसहरु र नृत्यहरु हेरेका, सैनिक जीवनमा कैयौं शाहसीक कलाबाजी देखेका गुरुङ चारदर्जनभन्दा बढी कलाकारहरुले भाग लिएको अदभुत शो हेरेर रमाइलो अनुभूति गर्दछन् । ‘छिन् छिनमा् मञ्च परिवर्तन हुँदैगर्छ । एकैछिनमा पानीको दह लुप्त भएर त्यहाँ सुन्दर मन्दिर र सतह प्रकट हुन्छ जहाँ सर्कसका करतब देखाउने एउटा समुहले राजकुमारीलाई विरोधी शैतान समुहबाट छुडाउने प्रयास गरिन्छ । फेरि एकैछिनमा त्यो सतह र मन्दिर लुप्त भएर जान्छ र धुँवाले भरिएको समुन्द्रमा मध्यकालीन जहाजमा कैयौ मानिसहरु प्रकट हुन्छ । अङ नै जिरिङ गर्ने खालको नृत्य र करतबहरु देखाउँदै माथि उँचाईबाट उफ्रदै पानीमा उल्टोसुल्टोहुँदै हामफाल्ने करतबहरुले अचम्भित र रोमञ्चित बनाउँछ । यो सिलसिला डेढघण्टासम्म अनवरत् चल्छ । यसैबीच मोटर साईकलको पत्यार नलाग्ने करतब देखाउँदै हावामा कलाबाजी गर्दै उड्ने साहसी चालकहरुका खेल साँच्चै नै अझ रोमाञ्चक हुन्छ । मैले बीचबीचमा लुक्दै भिडियोमा मुख्य मुख्य शोका भागहरु रेकर्ड गरे, तर, शुरुमा नै रेकर्ड नगर्ने उद्घोषन गरेपनि मैले केहि रेकर्ड गर्न भ्याएको थिएँ । बेला बेलामा चेकगर्दै आउँदा भिडियो रेकर्ड नगर्नलाई भन्थे, तर, रोमाञ्चित भएका दर्शकहरुलाई कति रोकेर सकिन्थ्यो र ।’
आठ किलोमिटरको परिधिभित्र फैलिएको मकाउको भेनीस शहर हेरेको सम्झनामा लेखक चुर्लुम्म डुबेका छन् । भेनीसलाई झझल्को दिने गरि तीनतल्लामा नहर, गोण्डोला, आकाश र त्यहाँका भवनहरुका स्याम्पल हेरेर पाठकलाई भेनिस पुर्याउदछन् ।
सेन्जेन शहरको पश्चिमी भागमा अवस्थित घुम्नलाई पुरै एकदिन लाग्ने ‘विन्डो अफ द वाल्र्ड’को लेखकले चक्कर लगाउँदछन् ।
संसार भरीका एकसय तीसवटा जति विख्यात पर्यटकीय आकर्षणका विषयवस्तु अर्थात निर्माणहरु नमूना (रेप्लिका) बनाएर राखेको त्यस पार्कको भ्रमणमा सम्बन्धीत ठाउँमा पाठकलाई पनि पुर्याउँदछन् । एफिल टावर, ताजमहल, पिरामिडहरु, साउदी अरबको मक्का मस्जिद, बेलायतको वेस्टमिनिस्टर, टावरब्रिज, नेपालको स्वयम्भूनाथ लगायतका सबै विख्यात ठाउँहरुमा निर्माण भएका स–साना नमुनाहरु देखेर लेखक दंग पर्दछन् ।
मरुभूमीको छनक दिनेगरि बनाइएका पिरामिडहरु, रहस्यमयी अफ्रिकी झोपडीहरुका बस्ति, कम्बोडियाको आङकोरभाट, प्राचीन एथेन्स, रोमन कोलोजियम, अस्ट्रियाई छनक दिने समुन्द्र र सिडनी ओपेरा हाउस, युरोपेली संस्कृतिको झलकदिने घरहरु र डचहरुका मध्यकालिन विण्डमिलहरु, अमेरिकाको न्युयोर्क स्थित मनहाट्टान र नियाग्रा छाँङ्गोलाई एउटै पार्कमा देखेर लेखक चकित पर्दछन् ।
समय कम भएको कारण त्यसपार्कको सानो आकाशे रेललाईनको डिब्बा चढेर माथिबाटै पार्कलाई परिक्रमा गर्दछन् ।
पार्कको द्वार अघिल्तिर रोमन कोलोजियम, माईकल एन्जलो कृत डेभिडको मुर्ति र अन्य मुर्तिहरुका रेप्लिका हेर्दै विस्तारै उनी नेपालको स्वयम्भूनाथको नमुना भएको ठाउँमा पुगेर फोटाहरु खिँच्छन् । अहो नेपालको स्वयंभूनाथको विदेशमा कत्रो महत्व दिएर राखेको रहेछ त !
चिनियाँहरुको बडी मसाज संसारमा प्रसिद्ध छ । थकाईले चुर भएका लेखक र परिवारका सदस्यहरुसँग मसाज सेन्टर पुग्दछन् । मसाज गराउँदाको अनुभव सजिवरुपमा प्रस्तुत गरेका छन् । ‘खुट्टा मालिश गर्ने मानिसहरुबाट खुट्टा मालिशगर्दा शुरु शुरुमा हुरुक्कै दुख्नेगरि दबाउँदा खप्नै नसक्ने गरि मालिशगर्दा पीँडामा जुवाई राजा एैया भन्दै कराउन थाले । लहरै बसेका परिवारका सदस्याहरु सबै हाँस्न थाले, तर, मालिशको पीँडा सबैलाई भईरहेको थियो करै खपेर मालिश गर्न दिएका थिए ।’
वास्तवमा खुट्टाका मूल नशाहरुलाई अचेट्दा खुम्चेका सबै नशालाई तन्काउने हिसाबले मालिश गर्दा ठुलो पीँडाको अनुभूति हुँदोरहेछ । हामीले सोच्यौ यसरी मालिश गरेपछि शरीर हल्का हुन्छ । त्यसैले जति दुखेपनि खपेर मालिश गर्न दियौ । आधा घण्टाजतिको सहनै नसकिने मालिशको दुःखाई विस्तारै आनन्दमा परिवर्तन हुँदै गयो ।
शरीर मालिशगर्दा झनै खुट्टाको भन्दा बढी पीँडादायी थियो । शरीर मालिश गर्दा मालिशको आनन्दमा मस्त निँदाउँछु भन्ने सोच मालिशको पीँडामा कता उडेर गयो कता । जराक मराक गर्दै शरीरको भित्री नशालाई छिचोल्दै गरेको मालिशले शायद रक्त प्रवाह र खुम्चेका नशाहरुलाई सहिठाउँमा पुर्याउने ध्येयले सिफुहरुले मालिश गरेका होलान र सधैभरि मालिश गरिरहनेलाई सञ्चो लाग्दो हो ।
संसारभर चिनियाँ खाना प्रसिद्ध छ । चिनियाँ खानाका लागि उनी कैयौं पटक रेष्टुरेण्ट पुगेका छन् । उनीहरुको खाना र संस्कार बारेमा पाठकलाई जानकारी दिँदै लेख्छन् –‘चिनीयाँहरुले रेस्टुरेन्टमा अर्डर दिँदा प्रत्येक आईटमका खानाहरु एकैचोटी ल्याउँदैनन । विस्तारै खाँदै जान्छन र अर्को आईटम, वाफ उठ्ने गरि तातो खाना ल्याएर पस्कन्छन् । टेबलमा बसेर खाने चिनीयाँहरुका आप्mनै पराम्परा छ । मानिसहरुको चोपस्टिक चलाउँने तरिका हेरेर उनिहरुले घराने र संस्कारको पहिचान गर्दाछन् । शिलस्वाभावलाई टेबलमा बसेर खाँदा राम्रोसंग विचार गर्ने गर्छन् । तर, नेपालीहरुका संस्कारमा टेबलमा बसेर खाने परम्परा धेरै भएको छैन । यद्यपि हाम्रोपनि आप्mनै संस्कार र परम्परा छ ।’
खानाको प्रसंगमा एकपटक हङकङमा नयाँ नेपालीहरुले खोलेको रेष्टुरेन्टमा लेखक पुग्दाको अनुभव सबैलाई उपयोगी हुने खालको छ । उनीहरुको पेशागत ज्ञानको अभावमा खाना खेर फालेकोमा चिन्ता व्यक्त गर्दै भन्छन् –‘खानाको डङ्गुर पस्काएर पाहुनाको स्वागत हुँदैन । पाहुनालाई सेवाको साथसाथै सत्कारको शैली पनि चाहिन्छ ।’ वास्तवमा ब्यापार ब्यावसाय राम्ररी चलाउन ग्राहकलाई दिने सेवालाई मुख्य मानिन्छ । हो यही कुरा हामीले सिक्नु पर्दछ ।
उनलाई घुम्नु र त्यतै बस्नु अझै मन छ । तर समय र कामले साथ दिएन । हुन पनि हो, अहिलेको आधुनिक जीवनशैलीले मानिसलाई काम गर्न वाध्य पारेको छ । कामपछि पनि मानिसहरु आफूलाई विभिन्न बहानामा व्यस्त राख्न बाध्य छन् । अधिकांशको भोगाईलाई यसरी व्यक्त गर्दछन् । ‘काममा व्यस्त रहने जीवनको अविरल सिलसिला अहिलेसम्म सिद्धिएको छैन । कहिलेकहिँ अब बच्चाहरु कामगर्ने भएपछि अराम लिएर सेवा निवृत्त हुनु पर्यो भन्ने सोच आउँछ, तर, जीवनको वास्तविकता अर्कै हुन्छ । मनका चाहनाहरु कहिल्यै मर्र्दैनन र आफु कामैकामको जञ्जालबाट मुक्त हुनसक्दैन । एउटा जिम्मेवारीबाट मुक्त हुने बित्तिकै अर्को जिम्मेवारीको सिलसिला शुरु हुन्छ ।’
सुमलकुमार गुरुङ नेपाली डायोस्पोराका प्रतिभावान लेखक हुन् । उनले यसलाई यात्रा संस्मरण भने पनि थुप्रै महत्वपूर्ण सूचनाहरु सम्प्रेषण गरेका छन् । यात्रासंस्मरणमा यस्ता सूचनाहरु बोझिलो लागे पनि विदेशमा नेपालीहरुको अवस्था, गोर्खा सैनिक बारे जानकारी, चिनियाँ भाषा, संस्कृति र संस्कारका बारेमा यथार्थ जानकारी प्राप्त हुन्छ । त्यस्ता जानकारीहरु गम्भिर पाठकका लागि धेरै उपयोगी हुन्छन् ।
यस यात्रासंस्मरणको लेखनमा उनी अति इमान्दर देखिएका छन् । जे देखे र भोगे जस्ताको तस्तै लेखेका छन् । उनको भाषा शैली सरल र मिठासपूर्ण छन् । यात्रामा पाठकलाई पनि आफू सँगसँगै हिँडाउन सफल भएका छन् । यो उनको लेखनको विशेषता हो ।
यस धरामा छ दशक भन्दा बढी उमेर बिताएका गुरुङको यो कृति पढेपछि पाठकले लेखन, समाजसेवा र सांगठानिक कार्यमा उनलाई तन्नेरी मान्न बाध्य हुन्छन् । नेपाली डायोस्पोराका लेखक गुरुङको यस कृतिले यात्रा साहित्यमा महत्वपूर्ण स्थान बनाउने आशा गरेको छु । नयाँ कृतिको लागि लेखकलाई बधाई तथा कृतिको सफलताको लागि शुभकामना !
बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु