अमेरिका यात्राका केही सम्झनाहरू

- विक्रम सुब्बा

मन्टेरे:
मन्टेरे पुगियो । मन्टेरे सहर पहिले (स्पेनी र मेक्सीकन शासनका बेला) काउण्टीको राजधानी थिएछ । क्यालिफोर्निया अमेरिकाको अंगको रुपमा (सन् १८४६) बिलय हुँदा मन्टेरे पनि स्वत: यसकै अंगका रुपमा गाभिएर आयो । स्पेनी उपनिवेशवादीहरू आउँनु अघि मन्टेरे आदिवसि 'रुमसेन ओहलोन'हरूको मुलुक रहेछ । जहाँ उनीहरू मन्टेरे-प्रायद्वीपमा सिकार गरेर, माछा मारेर र कन्दमूल खोजेर जीवन निर्बाह गर्नेगर्दा रहेछन् । सन् १६०२ मा स्पेनी उपनिवेशवादी सेवाष्टीयन भिजकाइनोले सबैभन्दा पहिले यो ठाउँलाई "बाहिया डे मोन्टेर्रे" भन्ने नाम दिएकारहेछन् । कालान्तरमा त्यही शब्द 'मन्टेरे बे' हुन पुगेको रहेछ । जुलाई ७, १८४६ मा मन्टेरेमै मेक्सिकन-अमेरिकन युद्ध भयो र यही दिन मन्टेरेको कष्टम हाउसमा अमेरिकन झण्डा फहराईयो र क्यालिफोर्नियालाई पनि अमेरिकाकै अंगका रुपमा गाभिएको रहेछ । पछि सन् १८८९ मा आएर क्यलिफोर्निया कानुनी रुपमै अमेरिकाको एउटा राज्यका रुपमा स्थापित भएकोरहेछ । पहिले मन्टेरे माछा मार्ने स्थलका रुपमा प्रसिध्द रहेछ तर अत्यधिक माछा मार्ने काम गरेकोले १९५० मा त माछा नै सिद्धिएछन् । पछिल्लो समयमा आएर मन्टेरेलाई अंग्रेजी बाहेकका ‘भाषाहरूको अनुवाद-केन्द्र’का रुपमा बिकसित भएको रहेछ र सन् १९९५ मा आएर "सन्सार भरिका भाषाहरूको राजधानी" का रुपमा घोषितै भएकोरहेछ । कस्तो कस्तो विशेषतालाई भजाएर पनि आफ्नो आय आर्जन गर्ने बाटो खोलेका भनेर म छक्क परेँ । यो सहर सान एन्ड्रियास फल्ट (करीब ४२ किमि)को माथि अवस्थित भएकोले भुइँचालो गईरहने क्षेत्रमा पर्दोरहेछ ।

यहाँ लगभग करीब १०० वर्षमा एकपल्ट (९ फीट सम्म अग्लो) सुनामी आउँने रहेछ । यहाँ २७६ (४४४ किमि) लामो "मन्टेरे बे राष्ट्रिय सामुद्रिक सेंङ्कचुरी" स्थापना गरी पर्यटक आकर्षणको रुपमा बिकास गरिएकोरहेछ । सन् १९०० मा १,७४८ रहेको यो सहरको जनसंख्या सन् २०१२ मा २९,००३ पुगेको रहेछ जहाँ ९१.०% मानिस आफ्नै घरमा बस्दारहेछन् भने बाँकी भाडामा बस्दा रहेछन् । जातजातिका हिसाबले यहाँ गोरा, अफ्रिकन अमेरिकन, नेटीभ अमेरिकन, एशियन, प्यासिफिक आइस्लेण्डर्स, हिस्प्यानिक लेटिनो र अन्य रहेछन् । यहाँ श्रीमान बिनाका ७.४% महिलाहरूको (Female headed) अगुवाईमा चलेका परिवार रहेछन् भने ३.०% श्रीमतीबिनाका पुरुषहरूको अगुवाईमा चलेका परिवार रहरेछन् । ५.७% अबिबाहित तर बिपरितलिंगी पार्टनरशीप सम्बन्धमा रहेका परिवार रहेछन् । .९% होमो सेक्सुअल परिवार रहेछन् भने ११.८% मानिस एक्लै जीवन यापन गर्दारहेछन् । यहाँको परिवारको आकार प्रति घर २.८१ जना रहेछ ।

प्यासिफिक ग्रोभ जसलाई America's Last Hometown पनि भनिन्छ
मन्टेरे र प्वाईन्ट पिनोसको वीचमा 'प्यासिफिक ग्रोभ' नामक समुद्री तटको एक सुन्दर ठाउँ पनि रहेछ जसलाई "अमेरिकाको अन्तिम गृहनगर" (America's Last Hometown) र "अमेरिकी पुतली सहर" (Butterfly Town USA) पनि भनिँदोरहेछ । प्रसिद्ध गायक जोन डेनभर अक्टोबर १२, १९९७ का यहीँ आफ्नो नीजि हवाईजहाज दर्घटनामा परेर मरेका रहेछन् । यहाँ राज्यले नै ‘मेरिन कन्जर्भेशन’ गर्दै ‘प्यासिफिक ग्रोभ मेरिन बगैँचा’ स्थापना गरेको रहेछ जुन अत्यन्तै सुन्दर छ । यहाँ लभर्स प्वाइन्ट, एडवार्ड एफ रिक्केट्स मेरिन कन्जर्भेसन क्षेत्र, असिलोमार मेरिन रिजर्भ जस्ता संरक्षित क्षेत्रहरू अत्यन्तै सुन्दर किसिमले बिकसित गरिएकारहेछन् । यहाँको शान्त वातावरणमा करीब ८०० मानिस बसोबास गर्दारहेछन् । यहीँ अनेक राजनितिज्ञ, लेखक, फेशन आइकन, वैज्ञानिक, विज्ञान फिक्शन लेखक, फिल्म डाइरक्टर, फुटबल कोचहरू महंगो तर आरामदायी घर किनेर समयसमयमा रिल्याक्स गर्न आउँदारहेछन् ।

सन् २०१० को जनगणना अनुसार यहाँको जनसंख्या १५,०४१ रहेछ । गोराहरू ८४.५%, अमेरिकन अफ्रिकन १.३%, नेटीभ अमेरिकन ०.५%, एशियन ५.८%, प्यासिफिक आइसलेण्डर्स ०.३%, अन्य ३.१% र १०.७% हिस्प्यानिक लेटिन रहेछन् । यहाँको प्रति परिवार आय प्रतिवर्ष ५९,५६९ डलर रहेछ । यहाँका प्रति पुरुषको आय ४३,८९७ देखिन्छ भने महिलाको आय ३५,९२४ देखिन्छ । करीब ५.४% गरिबीको रेखा मुनि रहेर गुजारा गर्दारहेछन् भने ३.९% ६५ वर्षभन्दा धेरै उमेरका मानिस रहेछन् ।

बाई! बाई!! अमेरिका:
मन्टेरेमा "होटल एम्बेसेडर स्वीट्स"को ९ औँ तला, जहाँबाट समुद्र्को दृश्य गज्जब देखिन्छ, मा बसेर प्यासिफिक ग्रोभ, आक्वारियम घुमिसकेर जेठो छोरोको घरमा, हामी श्रीमान श्रीमती, माइलो छोरो र वुहारी ज्यास्मीन अनि नातिनि नुमा, आइपुग्दा बेलुकाको ७ बजिसकेको थियो । बाटोमा आउँदा आउँदै जेठी बुहारी लक्ष्मीले माइली बुहारी ज्यास्मीनलाई फोन गरेर के के खाने भनेर सोधेकी थिई । हामीले अमेरिकामा जेठी बुहारीको हातबाट नेपाली म:म: खाने भनेका थियौँ । लक्ष्मीले अरु केही बनाउँ कि? भनेर सोद्धा – म:म: मात्र खाने भनेका थियौँ । हामी घर पुग्दा कान्छो छोरो पनि आइसको रहेछ । माईलो छोरो दिनभर ड्राइभ गरेकोले थाकेको थियो एकछिन सुत्न पस्यो । हामीले ८ बजेतिर म:म: खान थाल्यौँ । यो वीचमा मेरी श्रीमती हरीले रहल-पहल प्याकिङ पनि गरिन् । म:म:सँग मैले जेठो र कान्छो छोरोसँग क्यालिफोर्नियाको रेड वाइन खायौँ । बुहारीहरूले पनि रेड वाईनसँग मःमः खाए ।

माइलो छोरो ९ बजेतिर उठ्यो । मं:म: खायो र हामी साढे ९ बजेतिर सान फ्रान्सिस्को एयरपोर्ट लाग्यौँ । यो २०१५ मे ७ तारिखको रात थियो । हाम्रो एयरपोर्ट पुग्ने समय १० बजे र उडान समय मे ८ तारिख १ बजे राती थियो । अमेरिकामा यस्तो अबेर रातीको उडानलाई Red eye flight भन्दारहेछन् । माइलो छोरो, माइली बुहारी, नातिनी र कान्छो छोरो हामीलाई पुर्‍यउँन एयरपोर्ट सम्म आए । नातिनीलाई समातेर माया गरेँ । छोरा बुहारीहरूको निधारमा चुमेर आशिर्वाद दिएँ र श्रीमतीलाई ह्विलचेयरमा गुडाउँनेसँगै म पछिपछि लागेर भित्र पसेँ । छोरा-बुहारी, नातिनी सबै छुटे । भित्र टोइलेटमा पसेर म निकैबेर रोएँ । जीउ थर्रर्रर्र काम्यो । रिंगटा लाग्यो ।

नातिनीसँग अब फेरि भेट होला नहोला? भेट भए पनि अहिलेको जस्तो उस्को वाल्य स्वरुप कहाँ पाइला र? बुध्दले भनेजस्तै हरेक कुरा अनित्य छ । नातिनीको रुप पनि हरेक दिन बदलिनेछ । उसको रुप, रंग र स्वाभाव फेरिनेछ भन्ने सम्झेर भक्कानियेँ । छोरा-बुहारीहरू सबै अमेरिकन नागरिक भइसके । मलाई पनि यतै बसौँ भनेर बोलाइरहेछन् । मैले "हुन्छ" वा "हुन्न" केही भनेको छैन । राती ठीक १ बजे हाम्रो जहाज उड्यो । मैले अमेरिकालाई मनमनै "बाई! बाई!!" भनेँ । म कुनै मानिससँग छुट्दा वा कुनै पनि ठाउँबाट विदा हुँदा अब भेट नहुन पनि सक्छ; अब फेरि यो ठाउँमा फर्केर नआउँन पनि सकिन्छ, जीवनको के भरोसा? भनेर मनमनै भन्ने गर्छु । तेसैले भेटघाटलाई गुणस्तरीय (Quality meeting) बनाउँन खोज्छु र नयाँ ठाउँको घुमघामलाई पनि समय लगानी गरेर ती ठाउँहरूका बारेमा बुझ्न, जान्न र केही सिक्न खोज्छु ।

एघार घण्टाको ट्रानजिटः
श्रीमती हरि विसन्चो भएकोले मैले केयर गर्ने जिम्मै लिएर आएको हो । नत्र माइलो छोरो द्रोणले 'मुवालाई पठाइदिउँ, किनभने उहाँको अफिस रहेछ । बुवा जुलाई सम्म बस्नु' भनेको थियो । उता यूकेबाट छोरी अदिती पनि, कोशी टप्पुमा 'माकिया माकारान्था'ले जंगल र समुदायमा पारेको असरबारे अनुसन्धान गर्न, मे १८ मा नेपाल आइपुग्ने तय थियो । छोरीको मास्टर्स कोर्शको डेजर्टेशन भएकोले छोरी नेपाल आउँदा हामी बा-आमा पनि सहयोग गर्न हाजिर हुनै पर्छ भन्ने हाम्रो सल्लाह भएको थियो । त्यो कारणले पनि म नैतिक रुपले आउँनै पर्ने भयो ।

हामीले टिटकमै हाम्रो खाना (मेरो लागी फलफुल मात्र र श्रीमतीको लागी नन-भेज रिक्वेष्ट गरेका थियौँ) त्यही अनुसार खाना र रेड वाईन खाँदै १४ घण्टा २० मिनेटको लामो न लामो हवाई यात्रा गरेर हामी हङकङ उत्रियौँ । ७ घण्टा ट्रान्जिटमा बिताउँनु थियो । कोर्सगोल्डमै घरमा कुरा हुँदा, जेठा छोरा बुहारी ट्रान्जिट धेरै बस्नु पर्दा हङकङ घुम्न गएको कुरा सुनाएका थिए । हामी पनि घुम्ने कि भनेर बुझ्दा नेपालीलाई भिसा चाहिने था'भो । कस्तो झ्याउ, नेपालीलाई हङकङले पनि हेपेको ।

माइलो छोरोले एयरपोर्ट होटल नेटमा सर्च गर्‍यो तर एयरपोर्ट होटल जान पनि नेपालीलाई भिसा चाहिने कुरा थाहा भएको थियो । हरि बिसन्चो भएकोले मैले एयरपोर्ट न्यू प्लाजा लाउन्जमै ८०-८० (अमेरिकी) डलरमा दुइटा कोठा लिएँ । किनभने कोठा स-साना १ जना मात्र सुत्न मिल्ने हुँदो रहेछ । हवाइजहाजको ईकोनोमी क्लासको सीटमा कुक्कुक्क कोच्चिएर राम्रो सुत्नै नपाएकोले नुहाई-धुवाई गरेर लाउन्जकै रेष्टुरेण्ट (कोठा लिएपछि खान फ्रि पाईने) को बुफेमा गएर केही खायौँ र ढोकामा DO NOT DISTURB झुण्ड्याएर सुत्यौँ । १ मिनेट पनि फरक नपारी Wake up call ले उठायो ।

एयरपोर्टको ड्युटी फ्रि दोकानहरूमा पसेर केही किनमेल गरेपछि नेपाल जाने ड्र्यागन एयरको तोकिएको गेट नम्बरको लउन्जमा बसेर अमेरिका, नेपाल फोन गर्ने प्रयास गरेको लग्दै लाग्दैन । बल्लबल्ल ड्र्यागन एयरको मानिसलाई पासवर्ड माँगेर हरिले अमेरिकामा बुहारी ज्यास्मिनसँग कुरा गरिन् । यो “कुरा गर्ने” पनि कस्तो गजबको कुरा? आफन्तहरूसँग बोले पछि तेसै तेसै फ्रेश हुने । मैले पनि छोरो द्रोणले किनि दिएको Toshiba laptop खोलेर केही डकुमेन्टहरू पढेँ । तर छोरा-बुहारीहरू र नातिनीलाइ अमेरिकामा छोडेर आएको, नेपालमा भुइँचालोले सत्यानास गरेको, लामो यात्रा र श्रीमती हरि बिसन्चो भएको आदि कुराले मन कत्ति थीर भएन ।

अभागी म:
हामी काठमाण्डु राती ११ बजे पुग्यौँ । नेपालको एयरपोर्टको ताल तेस्तै हो । सामान लिन १ घण्टा लाग्यो । घर पुग्दा घडीले १२ नघाइसकेको थियो । बहिनी र नातिनी ईत्ता घरमा थिए । घर हेरेको कतै चर्केको थिएन । पानीको ट्याङ्की निर राखेको फिल्टर एउटा ढलेछ र बैठक कोठाको शिसाको शोकेस झर्‍यामझुरुम्मै भएछ । सजाएर राखेका बस्तु छरपष्ट थिए ।

मेरो गाडी-ग्यारेजको पश्चिमतिर पर्खाल कमजोर छ त्यो ढलेर गाडी किच्यो कि भन्ने डर मनमा थियो । केही भएको रहेनछ । खाने पानी प्रणाली बिग्रेर Overhead बाट झर्न बन्द भएको । यस्तै कुराहरूको लेखजोखा गर्दै खाना खाएर भुइँ तलामै सुतियो । अमेरिका र नेपालको समय नमिलेकोले निद्रा परेन । उज्यालो भइसकेपछि निद्रा परेछ । ९ बजेसम्म सुतेछु ।

नेपाल आएपछि २ दिन पुरै सुतेँ मात्र । जेट ल्याग ठीक गर्नलाई सुतेँ । उठेर बेस्सरी पानी खाँदै क्यालिफोर्नियाका केहि स्थानहरूमा घुमेको कुराहरू झलझलि याद गरेँ । सबैभन्दा तडकारो गरी सम्झनामा मेरी नातिनी नुमा नै आईरहिन् । केही दिनपछि मैले ‘नुमा’ शिर्षकमा कविता लेखेः

नुमा

क्यालिफोर्नियाको एउटा सुन्दर डाँडामा
रुखहरूको बीचमा एउटा घर उम्रेको छ
सुख-दुःखको वतासमा सास फेर्ने
घर वरिपरि लोभलाग्दो बगैँचा छ,
र त्यहाँ मेरै रगत-रंगको ‘नुमा’ फुलेकोछ


हरियालीको बीचमा त्यहाँ
माली जस्तै मिहनेती पति-पत्नीका
हृदयमा शान्ति-माया-ममता फलेकाछन्,
र त्यहाँ मेरो निक्खुर जीन-बिउको
पछिल्लो ‘नुमा’ भर्खरै स-साना खुट्टाले
हिन्न थालेकोछ
हिसी-ओँठले आफ्नो गीत सन्सारमा भर्दैछ
साना-चम्किला आँखाले सन्सार हेर्दैछ

क्यालिफोर्नियाको एउटा सुन्दर डाँडामा
रुखहरूको बीचमा एउटा पवित्र गुम्बा खडा छ
त्यहाँ वुद्धजस्तै ज्ञानी-ध्यानी पति-पत्नी बस्छन्
घर माथि आकाशमाजस्तै त्यहाँ

मेरै नातिनी ‘नुमा’को अनुहारमा
शान्तिका लाखौँ जुन-तारा फलेकाछन्,
त्यहाँ रुखहरूको बीचमा
एउटा सुन्दर सन्सार बसेकोछ
जहाँ आँशु-हाँसो घाम-छाँया आउने-जाने गर्छ
तर त्यहाँ दुःखलाई पनि सुखमा फेरिरहने
गजबको साहाशले आफ्नो सन्सार चलाईरहेछ
त्यहाँ मेरै छोरा-बुहारीका स्वरमा विश्वशान्तिको निम्ती
‘नाम-म्योहो-रेङ्गे-क्यो’ मन्त्र गुन्जिरहेछ
र त्यहाँ मेरो सानो मुटु ‘नुमा’ले
तोते बोलीमा बाजे ! बाजे !!
भनेर मलाई बोलाईरहेछ…

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु