सिर्फ मेरो छोरो

- भूधरा उपाध्याय

लक्ष्मीलाई आफू जन्मेको ठाउँ राम्रो लाग्छ। उसले हिडेका बाटा, पढेको स्कुल र खेलेकुदेका ठाउँ नै रमाइलो लाग्छ तर अहिले पशुलाई बेच्दा घाँटीमा दाम्लो लाएर डोहोर्याउँदै लगेजस्तो उसलाई पनि सिन्दूर अनि पोतेले डोर्याए झैँ लाग्न थालेको छ। पशुलाई लगेर जसको घरमा बाँधिदियो, त्यो नै‌ उसको घर र जसले खान दियो ऊ नै मालिक भएजस्तो लक्ष्मीले पनि आफ्नो ठानेको घर माइती र अर्काको घरलाई आफ्नो बनाउनु परेको छ। आफ्नो घरबाट अर्काको घरमा बसाई सर्दा कस्तो बुहार्तन र पीडा सहनु पर्छ भन्ने कुरा भोग्नेलाई मात्र थाह हुदो रहेछ। देख्नेले त सबै सुख नै देख्दो रहेछ।

परिस्थिति, बाध्यता वा रहर के हो उसलाई थाह छैन तर दुई सन्तानकी आमा बनेर पनि पेटमा अर्को गर्भ बोकेकी छ। कतिवटा सन्तानकी आमा बन्नु पर्ने हो त्यसको तय सासु ससुरा र पतिले नै गर्थे। लगातार दुई छोरी जन्मनु उसको कमजोरी भन्ने सासुको गन्थन मात्र बुझेकी छ। लक्ष्मी आफू छोरी भएर जन्मिएको र आफ्ना पनि छोरी मात्र भएकामा भगवानलाई भन्ने गर्थी_ 'हे भगवान यदि मेरो अर्को जन्म हुन्छ भने मलाई छोरो मान्छेको जन्म देउ।'

एकदिन अनिकेत यानी उसको पतिले खुबै माया गरेर सहर घुमाउन लैजाने भए। दङ्ग पर्दै पतिको पछिपछि लागी। उसलाई एउटा साडी रोजाएर किनिदिए। दुवैजना आमुन्ने सामुन्ने बसेर होटलमा चिया नास्ता पनि खाए। त्यसपछि लक्ष्मीको चेकजाँच गराउन दुबै जना एउटा क्लिनिकतिर लागे। पतिको साथमा घुम्न‌ पाएर मख्ख परेकी लक्ष्मीलाई नर्सले भित्र एउटा बेडमा सुत्न लगाइन्। पति र डाक्टर कुरा गरिरहे कै थिए।

डाक्टर आए पतिलाई छेउमै बसाए। उसको पेटमा मेसिन राखियो। फेरि पनि छोरी नै भएको ठहर्याइयो। अब फेरि तेस्री छोरी अनिकेतको लागि स्वीकार्य थिएन। उनले डाक्टरसँग गर्भ पतन गराउन सल्लाह गर्न थाले। लक्ष्मीका आँखा भरिए। गर्भमा भएको बच्चालाई बाहिरबाटै स्पर्श गरी। उसको मातृत्व सल्बलायो। छाती चरक्क भयो। उसको सासभन्दा छिटोछिटो पसिना बग्न थाल्यो।

अनिकेतलाई हात जोड्दै गर्भ पतन नगराउन अनुरोध गरी।दुबै हात जोडेर लाख बिन्ती गरी तर उसको केही सीप लागेन। न त गर्भ बोक्न उसलाई सोधियो, न त गर्भ पतन गराउन नै उसलाई सोध्न जरुरी ठानियो। उसको गर्भ त अरु कसैको मर्जीमा चल्ने भाँडो न थियो। आफ्नो भाँडो खाली गराएकोमा पसिना र पीडाले निथ्रुक्र भई। एउटा भ्रुणको अन्तसँगै एउटी निर्दोष चेलीको अन्त्य गरियो। मातृत्वले पतिको बिरोध गर्न उक्साइ रह्यो तर शारिरीक र मानसिक पीडाले उसको हातको साहारालाई स्वीकार्दैसँगै हिडायो।

घर सल्लाह नै भएको रहेछ, लक्ष्मीलाई बुझ्न समय लागेन।तीन तीनवटी बैसे के गर्नु र ? ठिकै गरिस् छोरा! एउटी आमा आफ्नै नातिनीको हत्यारालाई स्यावासी दिदै थिइन्। लक्ष्मीको शरीर छियाछिया भएको तथा बिछिप्त र दर्खरिएको मातृत्वको कुनै चिन्ता थिएन कसैलाई।

केही दिन बिते। लक्ष्मी उठेर घरधन्दा गर्न थाली। घरधन्दा सकेर अोछ्यानमा पल्टेकी मात्र थिई ,अनिकेत छेउमै आएर लक्ष्मीलाई हेर्दै मुस्कुराए। अनिकेतको अनुहार शान्त देखिन्थ्यो, ठूलै पुरुषार्थ गरेजस्तो। लक्ष्मीका आँखा भने ओभाना थिएनन्। एक निमेष उसका आँखामा हेर्दै अनिकेतले भने_" अर्कोपल्ट छोरो पाउलिस्। छोरोले हाम्रो बंश चलाउला। हाम्रो अंश खाने पनि त कोही चाहियो नि होइन? घरमा बुहारी ल्याउँला। घर उनीहरुलाई सुम्पिएर शान्तिले मरौँला। हामी मरेपछि दागबत्ती दिएर स्वर्गको बाटो देखाउने छोरो ........।"

लक्ष्मीको आँखाबाट अविरल आँसु बर्से। यतिञ्जेलसम्म आँसु पुछिदिदै गालामा चुम्न पनि भ्याइसकेको थियो । पति न ठहरियो, पत्नीको इच्छाको के नै मतलब थियो र ? उसलाई त केवल लक्ष्मीको शरीररुपी भाँडोको आवश्यकता थियो, मन लाग्यो प्रयोग गर्यो, मन नलागे फर्केर पनि नहेर्यो। चाहना पूरा नहुञ्जेलसम्म खेलिरह्यो उसको शरीरसँग।

लक्ष्मीले स्वाँ स्वाँ गर्दै मस्त निदाएको पतिप्रति घृणाले हेर्दै नाक खुम्च्याई। एक मनले सोची यही निदाएकै बेला घाँटी थिचेर मारिदिउँ। आफ्ना दुबै हात उसको घाँटीसम्म लगी।रिसले दाह्रा किटी। फेरि तुरुन्तै सम्झी आफ्नो शरीरमा सेतो साडी बेरिएको। चिमोटिएको मातृत्व र छटपटीका कारण निद्रादेवी उसँग रिसाएकी थिइन् सायद आँखा झिमिक्कै भएनन्।

लक्ष्मी दिउँसो घाँस काट्न डोको, नाम्लो र हँसिया बोकेर घरबाट निस्की। निशालाई भेटेर मनभरिका कुरा सुनाउनु थियो । सबै बेलिबिस्तार लाइसक्दा दुबैजना खूव रोएका‌ थिए। निशाको सल्लाहमा‌ दुबै स्वास्थ्य चौकी पुगे। लक्ष्मीले कसैलाई थाह नदिने शर्त गराई र गर्भ निरोधक चक्की लिएर आई।

एकदिन दुईदिन गर्दै वर्षदिन बिते। सासूससुराको नाति खेलाउने रहर ज्युँका त्युँ थिए। सासूका घोचपेचलाई लक्ष्मीले सहेकै थिई। लक्ष्मीलाई महिनावारी भएको थाहा पाएर सासू भन्दै थिइन् _'तेरो त सौता पाउने कर्म छ कि के हो लक्ष्मी?'

फेरि एकदिन अनिकेतले भने _' आमालाई जसरी भए पनि नाति चाहिएको छ। खोई तेरो गर्भ पनि रहेन। पल्ला गाउँमा केटीको कुरा चलाउनु भएको रहेछ । हेर्न जाने रे आज।'

'अनि तपाई नि केटी हेर्न जाने? तपाईलाई पनि छोरै चाहिएको हो ?' लक्ष्मीले सोधी ।

'म चाहिँ अपवाद हुन सक्छु र?' अनिकेतले ऊतिर नहेरी जवाफ दियो ।

छोरीले पनि दागबत्ती दिदाँ हुन्छ नि ! छोरै किन चाहियो र? छोरो पाउन धेरै परिश्रम गर्नु पर्ने र छोरी पाउदा कम त पक्कै होइन। नौ महिना पेटमा राख्दाको कष्ट, प्रसव बेदना र आमाको दसधारा दूध सबै उस्तै त हो तर यो घरका मान्छेका मनस्थिति कस्तो हो? सौता भित्र्याएर भए पनि छोरो चाहिएको छ । लक्ष्मी एकोहोरो बोलिरही। अनिकेत कतिबेला कोठाबाट निस्किसकेको थियो उसले पत्तै पाइन।

लक्ष्मी दिउँसो पिडित मन लिएर स्वास्थ्य चौकी गई। स्वास्थ्य चौकीकी दिदीलाई सबै कुरा बिस्तारमा बताई।

स्वास्थ्य चौकीकी दिदीले भनिन्-' तिम्रा पति पढेलेखे कै छन् होइन र? त्यही पनि स्वास्नीले छोरा पाइन भनेर अर्को बिहे गर्न खोज्ने मुर्ख पो रहेछन् त! छोरी वा छोरा जन्माउने एक मात्र कारक बाबु हो नि। तिमीलाई थाह छैन ?'

'कसरी नि दिदी ? त्यस्तो पनि हुन्छ?'_ लक्ष्मीले सोधी।

किन नहुनु ? ल सुन_' बाबुको गुणसूत्रमा x र y दुई प्रकारका गुणसूत्र हुन्छन् भने आमामा x गुणसूत्र मात्र हुन्छ‌। गर्भधारण हुँदाको समयमा बाबुको x गुणसूत्र र आमाको x गुणसूत्र मिले छोरी जन्मन्छ र बाबुको y गुणसूत्र आमाको x गुणसूत्रमा मिले छोरा जन्मन्छ।'

लक्ष्मीले धेरैबेर सोची। स्वास्थ्य चौकीकी दिदीले भनेको कति कुरा बुझी वा बुझिन ठम्याउन सकिन तर उसलाई आफ्नो पति नामर्दो झै लाग्यो । उसकै कारणबाट छोरो नजन्मेको चाहिँ पक्कै बुझी। मनमा एक तमासको एक्लोपन छायो। आँखाका आँसु गालाबाट बग्न थाले।

'किन पीर गरेकी? म भोलि सहर जाँदैछु। सहरमा नाम चलेको एउटा डाक्टर मैले चिनेको छु। हामी भोलि नै त्यहाँ गएर उनैसँग सल्लाह गरौँला हुन्न?

भोलिपल्ट दुबैजना डाक्टरकोमा पुगे। सबै कुरा बेलिबिस्तार लाए।

'डाक्टर साब मलाई जसरी भए पनि छोरो चाहिएको छ।'_ लक्ष्मीले दुबै हात जोडेर भनी।

डाक्टरले आश्वासन दिदै भनिन्_'ठिक छ, म कोशिश गर्छु तर तिमीले तिम्रो पतिलाई पनि ल्याउनु पर्छ।'

नाई डाक्टर साब म उसलाई ल्याउँदिन। ऊ त अर्को बिहे गर्न ठिक परेकोछ। मेरो लागि खर्च गरेर दबाई गराउँदैन। मेरा माइतीले दिएका केही गहना छन्। त्यही बेच्छु अनि दबाई गर्छु। अविरल आँसु झार्दै लक्ष्मी बोली।

'त्यसो भए के गर्ने त ? कि अर्कैको छोरो पाउने?' _ डाक्टरले सोधिन्।

''राम! राम!! राम!!!..... के भनेको डाक्टर साब त्यस्तो?'_ जिब्रो टोक्दै लक्ष्मीले रातो अनुहार बनाई।

'तिमीलाई अरु कसैसँग अनैतिक काम गरेर छोरो पाउ भनेको हो त? कस्ती लाटी रैछौ तिमी ! कसको छोरो हो भन्ने तिमीलाई पनि थाह हुदैन। म तिम्रो पाठेघरमा स्वस्थ्य वीर्य छानेर राखिदिन्छु। तीन महिनापछि फेरि यहीँ आउ। तिम्रो गर्भमा छोरा छ कि छोरी हेरौँला हुन्न?

कुरो बुझे झैँ लक्ष्मीले टाउको हल्लाई। केही दबाई लिएर सात दिनपछि आउने सल्लाह गरी ऊ घर फर्की। मनमा धेरै तर्कनाहरु आइरहे । छोरो अर्काको ? मनमनै प्रश्न गरी। उसले अर्की स्वास्नी बिहे गर्न केटी हेर्दै हिड्न हुने तर मैले (अरुको वीर्य) दबाइद्धारा छोरो पाउन नहुने? मेरो पाठेघरमा मेरो मर्जी किन नचल्ने? लक्ष्मी यस्तै प्रश्नै प्रश्नमा अबेरसम्म छटपटाइ रही।

सात दिन बित्यो लक्ष्मी स्वास्थ्य चौकीकी दिदीसँग सहर गई र गर्भवती हुने दबाइ राखी। उसको महिनावारी रोकियो। ऊ गर्भवती भई। तीन महिनापछि गर्भ जाँच गराई। छोरो नै रहेको पक्का भयो तर घरमा सुइकोसम्म दिइन।

पतिले पहिलेको जस्तै जचाउँन जान कर गरिरह्यो तर लक्ष्मी चुपचाप बसिरही। अहिले भनेको मान्दिन पछि फेरि छोरी जन्मी भने तँलाई घरबाट निकालिदिन्छु भन्दै अनिकेतले धम्क्याइ रह्यो ।

लक्ष्मी प्रसव वेदनाले छटपटाई। आँसु र पसिनाले भिजेर निथ्रुक्क भई। सासु भित्र र बाहिर गर्नथालिन्। अनिकेत र ससुरा बाहिर बसिरहे। सबैको अनुहार मलिन थियो। ससुरा के सोच्दै थिए थाह भएन। घरिघरि आकाशतिर हेर्दै थिए । लक्ष्मीको स्वास्थ्यको कामना गरेका त पक्कै होइनन्, नातिको माग गर्दैथे सायद। अनिकेतको अनुहारभरि चिटचिट पसिना देखिन्थ्यो। फेरि पनि छोरी नै जन्मे के गर्नेभन्ने चिन्ताले होला अनुहार मलिन थियो। लक्ष्मीको चिच्याहटसँगै बच्चा रोएको आवाज बाहिरसम्म आइपुग्यो। सासु हस्याङ्फस्याङ् गर्दै बाहिर आएर नाति जन्मिएको सूचना दिइन्। सबैको अनुहार अँध्यारोमा बिजुली चम्किदा देखिएको जस्तो चम्किलो देखियो। अनिकेत बुबालाई हेरेर फिसिक्क हाँस्यो र केही लजायो।

त्यो घरको रौनक नै बेग्लै भएको थियो। दिनरात कर्कश आवाजले गन्गन् गर्नै सासु नरम बोल्न थालेकी थिइन्।लक्ष्मीलाई खसीको झोलसँग मसिना चामलको भात दिन्थिन्। बाटो हिड्दै गरेका गाउँका मान्छेलाई पनि बोलाएर नाति देखाइन्थ्यो। सबै परिवारलाई स्वर्गको बाटो देखाउने नाति जन्मिएकोमा घर नै उज्ज्यालो भएको थियो।

केही महिनापछि नाति हाँस्न थाल्यो। ससुरा नाति खेलाउँदै घरमै बस्न थाले। अनिकेत पनि गाउँ डुल्न छोडेको थियो।जाडो महिना सासु, ससुरा र अनिकेत छोरो खेलाउँदै घाममा बसेका थिए। ससुराले नाति खेलाउँदै भन्दै थिए _' नाति त ठ्याक्कै अनिकेत कै अनुहार लिएर जन्मिएछ हेर् त बुढी ।'
सासुले दङ्ग पर्दै नातिलाई हेरिन्। अनिकेत चाहिँ मुसुमुसु हाँसिरहेको थियो।

लक्ष्मीले हजुरबुबा नातिलाई पुलुक्क हेरी अनि मनमनै भनी _'नाति जोसुकैको होस् तर छोरो चाहिँ मेरो मात्र हो। सिर्फ मेरो छोरो। दबाइ राखेर जन्मिएको मेरो छोरो।'

काठमाण्डाै

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु