भानुभक्तीय रामायणको प्रासाङ्गिक कथावस्तुको संक्षिप्त अध्ययन

- नवीन पौड्याल

१. आमुख-
भारतीय साहित्य र समाजमा रामकाव्य र रामकथाको ठुलो महत्त्व छ। हाम्रो भारतीय समाजमा रामलाई मर्यादा पुरूषोत्तम भनी सदैव श्रद्धा र भक्ति गरिन्छ। नेपाली साहित्यमा पनि रामकाव्य र रामकथाको उस्तै प्रसिद्धि, श्रद्धा- भक्ति छ। रामकथामाथि नेपालीमा लग्‌भग् बत्तीसवटा काव्य लेखिएका छन्। मूलमा यो कुनै अज्ञातको (व्यासको?) अध्यात्म रामायणबाट आधार लिएर संस्कृत र संस्कृतेतर भाषामा रामकथालाई अनूदित र स्वत़ञ्त्र रूपमा लेखिएको पाइन्छ। संस्कृत र उत्तरसंस्कृत भाषाका केही रामकाव्यहरूमा बाल्मिकीको रामायण, कालिदासको रघुवंश, माघको उत्तर रामचरित र तुलसीदासको रामचरित मानस, कीर्तिवासको बंगलाको रामायण मुख्य हुन्।
नेपाली कै प्रसङ्गमा हेर्नु हो भने पनि रामकथामाथि केही उपजीव्य र प्रकीर्ण काव्य लेखिएका छन्। यस्ता उपजीव्य र प्रकीर्ण काव्यका रूपमा महाकाव्य, खण्डकाव्य, गद्यकाव्य र नाट्यकाव्य आदि देखा पर्दछन्। कति कविले रामायणको हुबहु अनुवाद गरेका छन् भने कतिले आफ्नो ढङ्गले मौलिक रूपमा लेखेका छन्। नेपालीमा लिखित केही यस्ता रामकाव्यहरूमा भानुभक्त आचार्यको 'रामायण' काव्य, सोमनाथ सिग्द्यालको 'आदर्श राघव' महाकाव्य, लेखनाथ पौड्यालको 'मेरो राम' (खण्डकाव्य), लक्ष्मीप्रसाद देवकोटाका तीनवटा 'रावण जटायु युद्ध' (खण्डकाव्य), 'सीताहरण' (खण्डकाव्य), 'नेपाली रामायण' (खण्डकाव्य) सुन्दरानन्द बाँडाको अध्यात्म रामायण आदि देखिन्छन्। यसैगरी गद्यानुवादतर्फ चक्रपाणी चालिसेको 'संक्षिप्त रामायण' देखिन्छ। रामायणको हुबहु अनुवादतर्फ कालिदासको रघुवंश महाकाव्यको जीवनाथ अधिकारीको 'रघुवंश' काव्यानुवाद, सूर्यकला थापाद्वारा श्री सत्य साइ बाबाकृत 'रामकथा रसवाहिनी' गद्यानुवाद देखिन्छन्। यसैगरी नेपालीमा पनि 'आनन्द रामायण', 'अद्भूत रामायण' आदि रामायणका केही भाग-प्रभागको पनि अनुवाद र स्वतन्त्र लेखन पाइन्छन्। नेपाली साहित्यमा रामायण अझै पनि लेखिदै छन्। रमेशप्रसाद अधिकारीले यही कथालाई लिएर 'सीतायान' आठ-दश खण्डमा महाकाव्य लेखिसकेका छन्। यद्यपि यस लेखको मुख्य ध्येय भानुभक्तीय रामायणको प्रासाङ्गिक कथावस्तुको मात्र अध्ययन हुनाले यसतर्फ मात्र विषयवस्तु केन्द्रित गरिएको छ।
२. भानुभक्त आचार्य (वि. सं. १८७१-१९२५) र रामायण
'रामायण' नेपाली साहित्यमा एउटा विशिष्ट काव्यको रूपमा परिचित छ। भानुभक्तले आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट संस्कृतको अनौपचारिक रूपमा घरमै शिक्षा ग्रहण गरेका थिए। पछिबाट बाजे बुढेसकालमा काशीबास गर्न गएका बेला उनी पनि काशी पुगेका थिए। त्यहाँ उनले तुलसीदासको 'रामचरित मानस' पढेका वा चर्चा सुनेका थिए। बाजेको देहावसानपछि उनी आफ्नो घर फर्केर आई रामायणको अनुवादतर्फ कार्य आरम्भ गरेका हुन्। उनले सन् १८४१ तिर बालकाण्ड लेख्न थालेका थिए। त्यसपछि उनले अयोध्या काण्ड लेखेपछि सन् १८५२ मा उनी सरकारी लेनदेनमा गड्बडीको आरोप लागेर कुमारीचोक झ्यालखानामा थुनामा परेका थिए। उक्त थुनामा पाँच महिना बसेका बेला अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्ड लेखेका हुन्। यसैगरी सन् १८५३ मा युद्धकाण्ड र उत्तरकाण्ड पनि लेख्दै गएका थिए। यसरी भानुभक्तले यो रामायण जम्मा एघार वर्षमा लेखिसिद्ध्याएका थिए।
भानुभक्त आचार्यले रामायणका धेरै अङ्श, कथा र उपकथालाई छोडेर मुख्य मुख्य कथा- उपकथालाई समेटी कथावस्तु बुनेका हुन्। मूलमा अर्ती-उपदेश र विभिन्न देवी-देवताका महात्म्य खण्डलाई उनले छोडी सारांश जस्तो मात्र लिएका हुन्। उनको रामायणको बालकाण्डमा १३९ श्लोक, अयोध्याकाण्डमा १२३ श्लोक, अरण्यकाण्डमा १२२ श्लोक, किष्किन्धाकाण्डमा १४३ श्लोक, सुन्दरकाण्डमा १५४ श्लोक, युद्धकाण्डमा ३८१ श्लोक र उत्तरकाण्डमा २५७ श्लोक गरी जम्मा १३१९ वटा मात्र श्लोक लेखेका छन्। यस हिसाबले युद्धकाण्ड सबैभन्दा ठुलो र अरण्यकाण्ड सबैभन्दा सानो रहेको देखिन्छ। रामायणको कथावस्तुअनुसार देवगण, मनुष्यगण, राक्षसगण, वानरगण र पक्षीगण गरी पाँच प्रकारका पात्रवर्गको वर्गीकरण गर्न सकिन्छ। यद्यपि यसको मूल पात्र रामको मनुष्य अवतार हुनाले र अन्य ऋषिमुनिहरू पनि मनुष्य हुनाले मनुष्यवर्गकै गतिविधिको बढता वर्णन् पाइन्छ। पक्षीवर्गको उपस्थिति भने अत्यल्प देखिन्छ। यी पाँच वर्गका पात्रप्रयोगलाई यसरी केही प्रमुख पात्र-पात्रालाई यसरी देखाउन सकिन्छ-
देवतागण मनुष्यगण राक्षसगण वानरगण पक्षीगण
शिव, पार्वती, नारद, ब्रह्म, इन्द्र आदि। राम, सीता, दशरथ र उनका वंशका सबै, गुरूहरू वशिष्ठ, विश्वामित्र कुबेरलगायत सम्पूर्ण ऋषिगण, शबरी, गुहजी आदि। सुमाली, कैकसी, रावण र उसका सबै नातागोताका सदस्यगण, मय, त्रिजटा, सिंहिका, सुरसा, मायावी, मारीच, सुबाहु आदि। हनुमान, सुग्रीव, बालि, अङ्गद, जाम्बवान, सुशेन, नील, तारा आदि। भालुका रूपमा जाम्बवान जटायु, सम्पात्ति र काग।

३.कथावस्तु-
कुनै पनि आख्यानको मूल कथाको तन्तु नै कथावस्तु हो। पूर्वीय आचार्यहरूले कथावस्तुलाई आधिकारिक र प्रासाङ्गिक गरी दुईवटा वर्गीकरण गरेका छन्। जुन मूलकथा हो, त्यो आधिकारिक कथावस्तु हो भने मूलकथावस्तुलाई कार्य-कारणसम्बन्ध कायम राख्न, पृष्ठभूमि तयार पार्न, सहायता गर्न र अझै रोचक बनाई उत्कर्षता दिने प्रासाङ्गिक कथावस्तु हुन्छ। मूल कथाको बीचैमा प्रयोग हुने अन्य अन्य कथात्थव वा अङ्शलाई प्रासाङ्गिक कथावस्तु भन्न सकिन्छ। यसले मूल कथावस्तुलाई गतिशील पात्रलाई क्रियाशील र भावभूमिलाई संवेदनशील बनाउँछ। (हिमाङ्शु थापा, साहित्य परिचय,२०५०, चौ.सं., काठमाडौं, साझा प्रकाशन, प़ष्ठ ६८) यसले नायकसँग साक्षात् सम्बन्ध नराखेर आधिकारिक कथावस्तुलाई शक्ति र औचित्य प्रदान गरी नायकको क्रियाशीलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। प्रासाङ्गिक कथावस्तुलाई पनि पताका र प्रकरी गरी दुईवटा उपवर्गीकरण गरिएको छ। जुन प्रासाङ्गिक कथावस्तु प्रसङ्गवश् आरम्भ भई अन्त्यसम्म मूलकथासँगसँगै रहन्छ। अर्थात् बीचबाट शुरू भएर अन्तसम्म रहन्छ। यो मूल कथाको आधाउधि भाग रहेको हुन्छ। मूलकथाको बीचमा आई बीचैमा हराउने छोटा-छोटा कथालाई प्रकरी भनिन्छ। पताका केही लामो हुन्छ भने प्रकरी छोटो हुन्छ। मूलकथा यदि गंगा नदी हो भने जमुना, चम्बल, घाघरा, कोशी आदि गंगामा मिसिने नदीहरू पताका र ती नदीमा पनि मिसिने अन्य ससाना नदी, खोलाहरू चाँहि प्रकरी हुन्।
भानुभक्तको रामायणको सन्दर्भमा हेर्दा रघुदेखि राम-सीता हुँदै लवकुशसम्मको कथा मूल वा आधिकारिक कथावस्तु हो भने प्रासाङ्गिक कथावस्तुका अनेक दृष्टान्त छन्। यसमा रावण र हनुमानसित जोडिएको पताका र अन्य अनेक प्रकरी कथावस्तु मान्न सकिन्छ। रामायणमा प्रयुक्त प्रासाङ्गिक कथावस्तुलाई यसरी तालिकावद्ध गर्न सकिन्छ-
पताका प्रकरी
रावणको सम्पूर्ण जीवनी र सुग्रीव तथा हनुमानको सम्पूर्ण जीवनी कुम्भकर्ण, मेघनाथ, सुग्रीव र बालि, शबरी, जनक, शूपर्णखा,कुबेर, सुरसा, सिंहिका, लङ्किनी आदि प्रसङ्ग

३.१. रावणसँग सम्बद्ध पताका कथावस्तुको अध्ययन - रामायणको एउटा अति प्रभावशाली पात्र रावण हो। भानुभक्तले उसलाई एकापट्टि एक अन्यायी, अत्याचारी, दुराचारी, स्वेच्छाचारी, निरङ्कुश र राक्षस शासकका रूपमा प्रस्तुत गरेका छन् भने अर्कोपट्टि एक आत्मज्ञानी, तत्वज्ञानी, वीर, पराक्रमी, शौर्यपुरूष, उद्योगी राजाका रूपमा पनि देखाएका छन्। रावणले रामलाई जे जति सतायो, यो त रामद्रारा आफु मारिइ राक्षस कुलबाट मोक्ष पाउनका लागि गरेको हो। एकपल्ट सनतकुमार ऋषिसँग के गरी मोक्ष पाइन्छ भनी सोद्धा रामद्वरा मारिए मोक्ष प्राप्त हुने जानकारी पाएको थियो। रामकी प्यारी सीतालाई हरेर लगी बाहिरी रूपमा रूखो व्यवहार गरे तापनि सीतालाई नछोई स्वयम लक्ष्मी हुन् भन्ने ज्ञान मनमनमा राखी पुज्ने गर्थ्यो। रावण साँच्चै पराक्रमी, साहसी, वीर थियो। उसले देवलोक, भूलोक र पाताललोक सबैतिर लडाईं गरी पराक्रमले जितेर लिएको थियो।
रावण र उसको कूलको उत्पत्तिको उपकथा यस्तो छ- ब्रह्मका पुत्र पुलस्त्य ऋषिले कठोर तपस्याका निम्ति सुमेरू गएका थिए जो राजर्षि तृणविन्दुको राज्य थियो। केही देवकन्याहरू आई उनको तपोभङ्ग गर्नाले उनले जो मेरो पहिलो नजरमा पर्छे, त्यो नारी गर्भवती हुन्छे भन्ने श्राप दिन्छन्। केही दिनमा अज्ञानतावस् तृणविन्दुकै पुत्री उक्त आश्रामतिर घुम्दै आँउदा ऋषिको नजर परी गर्भ धारण गर्छिन्। केही दिनमा आफ्नी कन्याको गर्भाधारण बुझेर राजर्षिले अगस्त्य ऋषिलाई कन्या विवाह दान गरी दिन्छन्। तिनीहरूबाट विश्रवाको जन्म हुन्छ र पछिवाट विश्रवाको बिहे भारद्वाज ऋषिकी पुत्रीसँग सम्पन्न हुन्छ। उनीहरूबाट कुबेरको जन्म हुन्छ। ब्रह्मले कुबेरलाई धेरै धनदौलत र पुष्पक विमान दिन्छन्। पछिबाट ब्रह्मले इन्द्रद्वारा लडाईंमा धपाइएर राक्षसहरूबाट खाली भएको लङ्काको राजा बनाई कुबेरलाई राख्छन्। त्यसैबिचमा एकपल्ट लङ्काबाट खेदिएको सुमाली नामक राक्षस आफ्नी तरूणी छोरी कैकसीलाई लिएर लङ्का घुम्दा कुबेरले राज्य गरेको र उसको बाबु बिश्रवाबाट धेरै प्रतापिला सन्तान हुने कुरो थाहा पाउँछ। यसरी थाहा पाएपछि कैकसीलाई बिश्रवाबाट ऋतुदान (गर्भाधान) मागी पराक्रमी सन्तान जन्माउन लगाउँछ। कैकसीले पनि बाबुको आज्ञा मानेर बिश्रवालाई ऋतुदान मागी सन्तान जन्माउँछे। त्यसरी पाएका सन्तानहरूमा रावण, कुम्भकर्ण, सूपर्णखा र विभीषण हुन्। महत्वाकांक्षी, वीर, पराक्रमी र राक्षसी गुण भएको रावणले पछिबाट कुबेरबाट लङ्का खोसी आफै राजा भई विश्वविजेता बन्यो। उनका भाइहरू कुम्भकर्ण र विभीषणका पनि आ-आफ्नै विशेषता थिए। रामको हातबाट रावण र कुम्भकर्ण मारिन्छन्।
रावणसित सम्बन्धित पताका कथावस्तुलाई आदि, मध्य र अन्त्य गरी तीनवटा भागमा विभाजन गर्न सकिन्छ- तृणविन्दुदेखि विश्रवा र रावण र उसका भाइबन्धुको जन्मलाई आदिभाग, रावणादिको बाल्यकाल, तप, पराक्रम, राजशासन सम्हालेर विभिन्न देव-देवताहरूलाई जितेर अनेक उपद्रो आदि गरेको कथासम्मलाई मध्यभाग र मारीचलाई सुनको मृग बन्न लगाई आफुले सीता हरण गरेकोदेखि रामद्वारा उसको बध भएसम्मलाई अन्त्यभाग मान्न सकिन्छ। कथाको आदिभाग र मध्यभाग रामलाई अगस्त्य ऋषिले सुनाएको पूर्वद्वीप्ति र संक्षिप्त रूपमा प्रस्तुत छ भने अन्यभाग भने निकै वर्णन गरिएको दीर्घ रूपमा रहेको छ।
३.२ हनुमानसँगको पताका कथावस्तु- हनुमान रामायणको एक प्रभावशाली पात्र हो। रामायाणको किष्किन्धाकाण्डदेखि अन्त्यसम्म नै हनुमानको प्रसङ्ग पाइन्छ। वानर जातिका रामभक्त हनुमान ब्रह्मचारी, सदाचारी र पराक्रमी पात्र हो। उ शुरूमा वानरराज सुग्रीवको सहयोगीको रूपमा रही पछिबाट रामका अनुचर बनेका छन्। उनको जन्मकथा यस्तो छ- एकपल्ट अञ्जना नाम गरेकी वानरीको सूर्यसँग सहबास भई बालक जन्मियो- हनुमान। यसकारण हनुमानको अर्को नाम हो पवनपुत्र। एकपल्ट बालक हनुमान सूर्यलाई रोटी भनेर खान भनेर उडेर जाँदा देवराज इन्द्रबाट रोकिई अनुहारमा चोट खाई फर्किएका थिए। उनी सुग्रीवको सेवक भई किष्किन्धा नगरीमा सेवा गर्न बसेका थिए। रामसित सुग्रीवसित मित्यारी भएपछि रामको अनन्य भक्त बने। उनैले चारकोसको समुद्रलङ्घन गरेर लङ्का पुगी सीताको पत्तो लगाई, सीता र रावण भेटी, लङ्कामा उपद्रो गरी, वीरता देखाई सकुशल किष्किन्धा फर्किएका हुन्।
हनुमानसित सम्बन्धित विभिन्न उपकथा जोडिएका छन। उनी उडेर लङ्का गएर सीतालाई भेटिसकेपछि उनलाई अब रावणलाई पनि नभेटी फर्कनु व्यर्थ छ भन्ने विचार पलाउँछ। रावणलाई सोझै भेटन पाइन्न, त्यसका लागि केही जुक्ति गर्नुपर्छ भनी रावणको फलफूलले भरिएको सुन्दर बगैंचामा उपद्रो मचाउँछन्। त्यसको खबर रावणकामा पुगेपछि रावणले रिसले कान्छो छोरो अक्षयकुमारसित एउटा राक्षस पफौज पठाउँछ। हनुमानले अक्षयकुमार र फौजलाई मारिदिँदा भने रावणले आफै गई त्यो नाथे वानरलाई मार्छु भनी बाहिर निस्कन खोज्दा जेठो छोरो मेघनाथ (इन्द्रजीत) ले रावणलाई जानदेखि रोकी आफै हनुमान मार्न जान्छ। उसले भने ब्रह्मपासोमा हनुमानलाई पक्रेर दरवार लगी रावणको अघि हाजिर गराउँछ। रावणले हनुमानलाई मार्ने आदेश दिँदा विभीषण आई 'शत्रुको दूतलाई मार्नु उचित होइन, बरू यस्तोलाई कुनै शास्तीस्वरूप चिनु दिएर पठाएमा शत्रुलाई खबर पुर्‍याउँछ' भनी तर्क दिन्छ। यस कुराले रावणको चित्त बुझी हनुमानको पुच्छरमा कपडा बेह्री आगो लगाउने आदेश दिन्छ। हनुमान वायुपुत्र हुनाले अग्निले पनि पोल्दैन थियो। सल्केको पुच्छर लिएर उनी उड्दै गएर लंका शहर डढाउँछन्। विभीषणको महलबाहेक लंकाको सबै उच्च पदस्थ व्यक्तिहरूको घर डढाइदिन्छन् र समुद्रमा पुच्छर चोबलेर आगो निभाउँछन्।
३.३. सुग्रीवसँगको पताका कथावस्तु - रामायणमा सुग्रीवको भूमिका महत्त्वपूर्ण छ। भानुभक्तले उनलाई एक विशिष्ट पात्रका रूपमा प्रस्तुत गरेका छन्। उनी वानरराजका रूपमा परिचित छन्। रामायणको कथाअनुसार रावणले सीता हरेपछि विलाप गर्दै राम-लक्ष्मण ऋश्यमूक पर्वत पुगेका र त्यहाँ सुग्रीव र हनुमानसित भेट हुन्छ। सुग्रीवले आफु निर्वासित भई त्यहाँ बस्नुपरेको पूर्वकथा सुनाएपछि रामले उनीसित मित्यारी लाउँछन्। बाली र सुग्रीव दाजु-भाइ हुन्। दुईजनाको जन्मको पूर्वकथा यस्तो छ- एकपल्ट ब्रह्म सुमेरू पर्वतमाथि गई तप गर्न बसे। त्यस योग-तपमा उनी अति मग्न हुँदा उनको आँखाबाट आँसु खस्यो र त्यो आँसु एउटा बानर भयो। कालान्तरमा एकपल्ट त्यो बानर तलाउमा पानी खान खोज्दा आफुजस्तै स्वरूपको आफ्नो छाँया तलाउमा देख्दा त्यसमा फाल हान्यो। पानीबाट चोबल्लिएर बाहिर निस्कदा भने उसको स्वरूप एउटी स्त्रीमा परिणत भयो। त्यस बानर स्त्रीलाई इन्द्रले गर्भाधान गर्दा वीर्यचाँहि बाल (रौं) मा झर्छ। त्यसबाट बालीको जन्म हुन्छ। त्यसैगरी त्यस बानरस्त्रीलाई सूर्य आई गर्भाधान गर्दा वीर्य चाँहि ग्रीवा (फिला) मा खस्दा त्यहाँबाट अर्को बालक जन्म्यो- सुग्रीव।
त्यसपछि त्यो बानरी फेरि पुरूष भई। त्यो खबर ब्रह्मले सुनेपछि उसलाई ऋक्षाधिप नाम दिएर किष्किन्धाको राजा बनाए। त्यस ऋक्षाधिपले आफ्ना दुई छोराहरूलाई लिएर राजशासन चलाउन थाल्यो। पछिबाट बाबुको निधन भएपछि वीर र पराक्रमी बालीले राजशासन चलाउन थाल्यो। उ यति बलशाली र पराक्रमी थियो कि एकपल्ट रावणले मैमत्ता भएर बालीलाई आक्रमण गर्दा रावणलाई उसले काखीमा च्यापेर पृथिवी नै घुमाएर सेखी झारेको थियो। त्यस समयको एउटा शक्तिशाली राक्षस दुन्दुभीलाई मारेर टाउको गिडी फेंकिदिएको थियो। त्यसैगरी एकपल्ट मय भन्ने राक्षसले बालीलाई हाँक दिई आक्रमण गर्‍यो। बालीले उसलाई खेद्दै लग्यो र त्यो भागेर एउटा गुफाभित्र लुक्नपुग्यो। बालीले भाइ सुग्रीवलाई बाहिरै रूङ्न लगाई आफु गुफाभित्र गयो। एक महिनासम्म कोही पनि गुफाबाहिर आएन तर रगत भने बाहिर निस्कँदा सुग्रीवले राक्षसले बालीलाई मार्‍यो होला र आफुलाई पनि मार्छ भन्ठानी गुफामा ठुलो ढुङ्गाको बुचो लगाई आफु दरबार आई बालीलाई राक्षसले मारेको कुरा सुनाई राजा भयो। केही दिनपछि बालीले राक्षसलाई मारेर फर्केर आउँदा त भाइलाई राजा भएको देख्दा मार्नलाई खेद्छ। सुग्रीवकी पत्नीलाई समेत आफैंले खोसेर स्वास्नी बनाउँछ। सुग्रीवचाँहि हनुमानलाई लिई भागेर ऋश्यमूक पर्वतमा निर्वासित भई बस्न थाल्छ। त्यस पर्वतमा चाँहि बाली जान सक्दैन थियो। बालीले अघि दुन्दुभी राक्षसलाई मार्दा त्यस राक्षसको रगतको छिटा होम-यज्ञ गरिरहेको मातङ्ग ऋषिलाई लाग्दछ। ऋषिले बालीलाई देखेपछि क्रोधले यदि उ त्यहाँ गएमा मर्लास् भनी श्राप दिन्छन्। सुग्रीवसित रामको भेट भएपछि भने बालीबध हुन्छ र सुग्रीवको एकलौटी शासन कायम हुन्छ।
४. रामायणका केही प्रकरी कथावस्तुको अध्ययन-
प्रस्तुत काव्यमा ससाना प्रकरी कथावस्तुहरू पनि ससाना खोलाहरू ठुलो नदीमा मिसिएसरह रामसीताको कथासँग मिसिन आएका छन्। रामायणका प्रायजसो प्रमुख पात्रपात्रासँग यस्ता प्रकरी कथाहरू गाँसिएका छन्। सीताजन्म, राजा जनकसँग सम्बन्धित उपकथा, बालीको उपकथा, शबरी उपकथा, अगस्त्य मुनिको उपकथा, शुकको कथा, विद्याधर प्रसङ्ग, ताडका बध, अहल्याको उपकथा आदि जस्ता केही प्रकरी कथावस्तुहरू समावेश छन्।
४.१. सीता जन्म उपकथा- जगन्माताको रूपमा चर्चित सीता जनकपुरका राजा जनककी पुत्री हुन्। उनको जन्मको एउटा उपकथा छ- एकपल्ट राजा जनकले धरती पवित्र होस् भन्ने हेतूले यज्ञ अनुष्ठान गर्नलागेका थिए। त्यसका लागि धरतीमा हलो चलाई जोत्न लाग्दा हलाको फालीबाट एउटा हाँडी निस्क्यो। त्यस हाँडीमा हेर्दा त एउटा बालिका पो फेला परिन्। त्यस बालिकालाई राजा जनकले छोरीको रूपमा हुर्काई, बढाई गरी ठुली बनाए। तिनै सीताको रामसित बिहे भएको हो।
४.२. परशुरामको उपकथा - रामायणमा क्षत्रिय कुलका संहारकका रूपमा चिनिने परशुरामको पनि उपकथा छ। आफ्नो बाबु जमदग्निलाई कार्तवीर्यलगायतका क्षत्रियहरूले विनाअपराध मारेका हुनाले त्यसका प्रतिशोध लिने हेतु परशु (बञ्चरो) लिएर क्षत्रिय कुल संहार गर्न परशुरामले एक्काइसपल्ट पृथिवी घुमी घुमी भेटेजति क्षत्रियको संहार गरे। पछिबाट कोही नभेटेपछि क्रोधको वेग घटेपछि तपस्या गर्न बसे। यस्तैमा रामले धनु भाँचेको आदि पुरूषार्थ सुनी राम पनि क्षत्रिय नै हुन् भन्ने बुझी उनलाई पनि दण्ड दिन्छु भन्ने इरादाले रामलाई खोजी गरे। सीतालाई बिहे गरेर ल्याउँदै गर्दा बाटामा परशुरामले भेटी क्रोध व्यक्त गर्दा रामले परशुरामको ब्रह्माण्डको ताँदो पनि सहजै चडाउँदा भने उनी रामलाई चिनेर माफी माग्छन्।
४.३. ताडका बध प्रसङ्ग- ताडका नाम गरेकी एउटी यक्षी (स्त्री यक्ष) एउटा श्रापको कारणले राक्षस्नी बनेकी थिई। बालक रामले सर्वप्रथम त्यस राक्षस्नीलाई मारेर संसारमा दुष्ट नाश अभियानको प्रारम्भ गरेका हुन्। रामको वाण लागेर मरेपछि त्यो राक्षस्नीले श्रापबाट मुक्ति पाई फेरि यक्षी नै बन्नपुगी।
४.४. अहल्या प्रसङ्ग- बालकाण्डमा वर्णित एउटा उपकथामा अहल्याको उपकथा देखा पर्दछ। विश्वमित्र यज्ञ गर्न लाग्दा मारीच र सुबाहु राक्षसहरूले दुःख दिने गरेकाले उनले रामको सहायता लिने सन्दर्भमा राम विश्वमित्रको आश्रमतिर जान लाग्दा बाटामा एउटा फलफूलले लदिएको निर्जन बगैंचा देख्छन्। त्यसबारे रामले जिज्ञासा राख्दा विश्वमित्रले गौतम ऋषि र उनकी पत्नी अहल्याको उपकथा सुनाउँछन्। पूर्वकथा अनुसार ब्रह्मकी छोरी अहल्या गौतम ऋषिकी पत्नी थिइन्। एकपल्ट गौतम ऋषि कुनै काम लिएर कतै दुरदेश गए। त्यही मौका छोपेर देवराज इन्द्रले गौतम ऋषिकै रूप धारण गरी अहिल्यालाई छल गरी धेरै दिनसम्म सम्भोग गरे। यसरी इन्द्रले सम्भोग गरी त्यस आश्रमबाट फर्कन लाग्दा गौतम ऋषि आइपुगे। ऋषिले आफ्नै रूपको अर्को व्यक्तिलाई देख्छन् तथा आफ्नी स्वास्नीलाई समेत सम्भोग गरेको चाल पाउँछन्। 'तँ को होस्, छिटो बता, नत्र यहीं भष्म गरिदिन्छु' भनी ऋषिले तिरीखिरी पार्दा देवराज इन्द्रले डरले आफ्नो परिचय दिन्छन्। गौतम ऋषिले रिसले 'तँ त्यत्रो महान इन्द्र भइकन पनि मेरी पत्नीलाई भोग गर्ने कस्तो कामुक' भनी हजार योनी भएको प्राणी बन्नु र पत्नीलाई समेत कोही जन्तुसमेत नआउने बिरानो ठाउँमा पत्थर भएर बस्नु र रामको चरण पाएर मात्र तेरो मुक्ति हुनु भनी कठोर श्राप दिए। पछि विश्वमित्रले रामलाई आफ्नो आश्रम लिएर जाँदा उक्त पत्थर रामले टेकिदिएपछि भने फेरि अहल्याको जुनी पाई गौतम ऋषि आश्रम जान्छे।
४.५. शुक उपकथा- एकजना शुक नाम गरेका ब्राह्मण बडा धर्मात्मा थिए। एकपल्ट उनले धेरै खाने भनी प्रसिद्धि पाएका ऋषि अगस्तीलाई आफ्नो कुटीमा खाना खुवाउने निम्तो दिए। ऋषिले निम्तो स्वीकार गरी शुक ब्राह्मणकहाँ आए र स्नानादिका निम्ति केही परको नदीतिर घए। त्यही मौकामा शुक ब्राह्मणको कुटीमा बज्रदंष्ट्र नाम गरेको एउटा राक्षस आई अगस्तीकै रूप धारण गरी मलाई आज मासु खान मन लागेको छ। मलाई मासु देउ भनी छली कुरा गर्यो। अगस्ती ऋषि स्नानादि गरी फर्केर आउँदा शुककै स्वास्नी बनेर त्यस राक्षसले खानाको भागमा मान्छेकै मासु मिसाई ऋषिलाई खान दियो। त्यो देखेर ऋषिले रिसले शुकलाई 'मलाई मान्छेको मासु किन खान दिइस्? राक्षस बन्नू' भनी सराप दियो। यतिबेला शुक ऋषिले आफुमाथि छल पर्‍यो भनी जनाउँदा अगस्तीले सरापलाई मत्थर पारी 'तिमी रावणसित गई बस। केही दिनमा रावणलाई मार्न भनी राम लङ्का आउने छन् र रामको दर्शन पाएपछि सरापबाट मुक्ति पाई फेरि यही जुनी पाउनेछौ' भनी सान्त्वना दिए। रामहरू हनुमानादि वानरसेनाको सहायता पाएर समुद्रलङ्घन गरी लङ्का आइपुग्नेबित्तिकै रावणले शुकलाई 'बाहिर के को हल्लाखल्ला हो, गएर बुझ्नु' भनी अह्रायो। शुक राक्षस बाहिर निस्केर हेर्दा वानरहरूले पक्रेर उसलाई रामको सामुन्ने ल्याए। रामले पनि 'तेरो रावणलाई म मार्न आएको खबर सुनाउनू' भनी बन्धनमुक्त गरिपठाए। शुकले रामको उक्त सन्देश सनाएर रावणलाई सीता अहिले रामलाई फर्काएको असल हो भनी सम्झायो। रावण रिसाएर त्यहाँबाट लखेटेपछि सराप मुक्ति भई फेरि ब्रह्मण स्वरूप लियो।
४.६. विद्याधर प्रसङ्ग- विद्याधर (तुम्बुरू पनि भनिन्छ) (चक्रपाणि चालिसे, संक्षिप्त रामायण, काठमाडौं, साझा प्रका, चौधौं सं २०४९, पृष्ठ ५१) नाम गरेको एउटा गण (गन्धर्व) थियो। उसले केही अपराध गरेको हुनाले कुबेरले उसलाई 'तँ राक्षस भइहालेस्' भनी सराप दिए। पछिबाट उसले प्रार्थना गर्दा उनले 'तँ पछि रामबाट राक्षसयोनिदेखि मुक्त हुनेछस्' भने। त्यो सराप परेर एउटा विराध नाम भएको डरलाग्दो रूपको राक्षस बनेको थियो। राम बनवास गएका बेला त्यो विराध राक्षसले रामहरूलाई मार्न भनी आक्रमण गर्‍यो। रामले त्यसलाई मारेर सरापबाट मुक्ति दिलाएपछि त्यसले फेरि पुरानै जुनी पायो।
४.७. सुरसा प्रसङ्ग- रामायणमा हनुमान उडेर लङ्का जाँदै गर्दा उसको वल र बुद्धि जाँच्न इन्द्रले सुरसा नाम गरेकी ठुलो मुख बाउने राक्षसनीलाई पठाउँछन्। सुरसाले आई हुनमानलाई खाने कुरा गर्दा हनुमानले 'लु मलाई खा' भनी ठुलो रूप बनाउँछन्। सुरसा पनि अझ ठुलो मुख बाउँछे। दुईजनाले शरीर र मुख ठुलो देखाउँदै गर्दा हनुमान एक्कासी सानो आकारको भई मुखभित्र पसी उम्केर बाहिर निस्कन्छ।
४.८. कालनेमिको उपकथा- राम रावणको युद्धका सिलसिलामा एकपल्ट इन्द्रजीतको वाण प्रहारले लक्ष्मण गम्भीर रूपमा जमीनमा बेहोस् हुन्छन्। राम आत्तिएर हनुमानलाई लक्ष्मणलाई बचाउन औषधी लिएर आउने आदेश दिन्छन्। हनुमान लक्ष्मणलाई बचाउन जडीबुटी लिन कतै गएको चाल पाएर रावण राती नै कालनेमिकहाँ जान्छ र उसले कालनेमिलाई हनुमानलाई मार्गमा मायाजालले अल्मल्याइ राख्ने आदेश दिन्छ। पहिले त कालनेमिले रावणलाई आफ्नो हठ त्यागेर रामको शरणमा जानु भनी सुझाव दिँदा रावणले रिसले मार्छु भन्छ। कालनेमि हत्तपत्त उठेर गई आदेश पालन गर्ने तरखर गर्छ। हनुमानको मार्ग पारेर मायाको सहायताले फलफूल र प्राकृतिक सौन्दर्य भरिएको एउटा नक्कली तपोवन तयारी गरी आफु एक मुनिश्वर भइटोपलेर बस्तछ। हनुमान त्यही मार्ग भएर औषधी खोज्न जाँदा त एउटा सुन्दर उपवन देखेर बिसाउन आइपुग्छन्। उनलाई धेरै तिर्खा लागेको हुनाले मुनिश्वररूपी कालनेमिलाई पानी माग्छन्। कालनेमिले पानीसित फलफूल पनि ल्याएर सेवा गर्छ तर हनुमानलाई त्यति पानीले तिर्खा नमेटेर तलाउमै गएर पानी अझ पिउने कुरा गर्छन्। कालनेमिले एउटा सहायकलाई तलाउ देखाउन पठाउँछ। हनुमान तलाउ पुगेर पानी पिई तृप्त भएपछि एउटी मकरी नाम गरेकी राक्षस्नीले उनलाई तानेर खान ठुलो मुख बाउँछे। हनुमानले उसको च्यापु च्यातेर मारिदिन्छन्। मकरी मरेपछि भने एउटी परम सुन्दरी अप्सरामा परिणत भई र आफ्नो पूर्वकथा सुनाउन थाल्छे। उ पहिले स्वर्गकी अप्सरा थिई तर कुनै कारणवस् एउटा ब्राह्मणको सरापले मकरीको रूपमा त्यहाँ रहन थालेकी थिई। उ फर्केर जानुभन्दा पहिले हनुमानलाई यो मुनिश्वर होइन कालनेमि राक्षस हो, रावणको आदेशले यसो गरेको हो भन्ने सूचना दिन्छे। हनुमान तलावबाट फर्केर गएपछि कालनेमिले एउटा जन्तर दिन्छु तर पहिले दक्षिणा देउ भन्दा उनले लु तेरो दक्षिणा भनी एक मुक्काले हिर्काएर लडाइदिन्छन्। त्यसपछि वास्तविक रूपमा आएपछि उनीसँग लड्न आउँछ र उनले फेरि घुस्साले मारिदिन्छन्। त्यसपछि भने हनुमान द्रोणाचल पर्वत् गएर औषधीको पौधा नचिन्दा पहाडै उचालेर लङ्का फर्किन्छन् र लक्ष्मणलाई बचाउने काम गर्छन्।
४.९. युद्धमा कुम्भकर्ण-विभीषण सौहार्द भेट- लङ्काबाट रावणले बेइज्जत गरी देशनिकाला गरेपछि कान्छो भाइ विभीषण रामको शरणमा परी रामपक्षकै शिविरमा बस्नथाल्छन्। राम-रावणबीचको लडाईं तेज भएपछि सुतिरहेका महाबली कुम्भकर्णलाई जगाउने काम हुन्छ र रावणले उसलाई युद्धका निम्ति तयारी हुने आदेश दिन्छ। युद्ध लड्नका निम्ति कुम्भकर्ण अघि बढ्दा राम पक्षको आफ्नो प्यारो भाइ विभीषणसित भेट हुन्छ। दाजु-भाइमा स्नेह, भक्ति र प्रेम यथावत् रहेको सौहार्द्रपूर्ण कुरा हुन्छ र भाइलाई संग्रामका बेला आफुदेखि टाडा बस्न लगाई बचाउँछ।
४.१०. रावणको स्वेतद्वीपमा बेइज्जती भएको उपकथा- रामायणमा अझै यस्ता ससाना उपकथाहरू रहेका छन्। एकपल्ट महर्षी नारद घुम्दै लङ्का पुग्छन्। रावणले उनलाई सम्मान गरेर आफुबाहेक अरू वीर को छ भनी सोद्धा नारदले तिमीभन्दा अझ शक्तिशाली छन्, स्वेतद्वीप गएर बुझिहेर भन्छन्। रावण त्यतिखेरै आफ्नो पुष्पक विमान लिएर स्वेतद्वीप जान्छ। त्यहाँ पुग्नेबित्तिकै उसको विमान नै अचल हुन्छ। त्यहाँ त उभन्दा अझ शक्तिशाली नारीहरू थिए। उनीहरूले रावणलाई उल्लीबिल्ली पारेर बेइज्जत गरी फर्काएका थिए।
४.११. शबरीको रामभक्ति- भानुभक्तको रामायणमा वर्णित गरिए अनुसार एउटी हीन (दलित?) जातिकी एउटी शबरी नाम गरेकी कुरूपा र गरीब नारी रामकै आराधना गरी बसेकी हुन्छे। वनबासको समयमा सीता रावले हरेपछि सीताको खोजीमा रामलक्ष्मण निस्केका बेला अष्टवक्र ऋषिले शबरीलाई भेटी सीताको खोजखबर लिनु भन्ने बताएपछि रामहरू शबरीको कुटीमा जान्छन्। रामलाई पाएपछि शबरी अत्यन्त खुशी भई आफ्नो साधना पूरा भएको, जीवन सार्थक भएको कुरा गर्छे। राम पाएपछि उसले प्राण त्याग गरेर संसार सागर तर्दछे।
४.१२. कबन्धको उपकथा- एउटा कबन्ध नाम गरेको राक्षस थियो। उसको छातीमा मुख, चारचार कोससम्म पुग्ने लामालामा हात थिए। उसले बसी बसी टाडैबाट शिकारलाई पक्रेर खान्थ्यो। राम र लक्ष्मण पनि एकपल्ट पानी खान लाग्दा त्यस कबन्धको पञ्जामा पर्दछन्। दुईभाइले हात काटिदिएपछि रामहरूलाई परिचय माग्छ र राम भनेर चिनेपछि आफ्नो पूर्वकथा भन्नथाल्छ। उसको पूर्वकथाअनुसार उ सुन्दर रूप भएको गन्धर्व थियो। उ आफ्नो रूपको निकै गर्व गर्थ्यो। एकपल्ट आठ ठाउँ बाङ्गिएका कुरूप अष्टवक्र ऋषिलाई कुरूप देखेर हाँसिदिदाँ ऋषिले कुरूप राक्षस हुने सराप दिएका थिए तर यसको मुक्तिको पनि उपाय बताएका थिए। रामले हात खसालेपछि उसकै आग्रह अनुसार रामले त्यसलाई मारेर खाल्डामा हाली सरापबाट मुक्ति दिलाई फेरि पुरानै जुनी दिएका थिए।
प्रस्तुत लेखमा कैकेयीको पुरूषार्थको कथा, कागले सीताजीको गोडा ठुँगेको, रामको विभिन्न पुरूषार्थ, लवकुश प्रसङ्ग, रामहरूको स्वर्गारोहण आदि आधिकारिक कथावस्तु हुनाले उल्लेख गरिएन। यद्यपि भानुभक्तले केही अन्य रामायणमा वर्णित अहिरावण, मयरावणको उपकथाहरू छाडिदिएर रामचरित्रलाई सहयोग गर्ने प्रसङ्ग र उपकथालाई मात्र ठाँउ दिएका छन्।
५. उपसंहार-
यसरी हेर्दा भानुभक्तले आफुले अनुवाद गरेको रामायणमा रामका विभिन्न पराक्रम र धर्मकार्यको वर्णन गर्दा कतिपय अन्य पात्रसित सम्बन्धित उपकथाहरूलाई समेटेका छन्। उनले रामकथा र त्यसलाई पृष्ठभूमि र रोचक बनाउने मुख्य मुख्य प्रसङ्गलाई मात्र टिपेर लेखेका छन्। यस कार्यका निम्ति भानुभक्तलाई भाषामा उतार्न कुनै सकस परेको देखिन्न। रामकाव्यलाई उतार्ने क्रममा उनले रामको अति उदात्त चरित्र र उदात्तताको वर्णन गरेका छन्। प्रासाङ्गिक कथावस्तुको विस्तारक्रममा कतै निकै ध्यान दिएका छन् भने कतै सांकेतिक रूपमा मात्र उल्लेख गरेका छन्। वर्तमान परिप्रेक्ष्यबाट हेर्दा पनि रामायणको सान्दार्भिकता जीवन्त देखिन्छ। भानुभक्तले रामायणजस्तो भव्य कथावस्तु भएको काव्यलाई सरल, सुबोध्य भाषामा उतार्न सक्नु नै उनको विशेषता हो।
प्रमुख सन्दर्भ पुस्तक-
१. आचार्य, भानुभक्त, सं. २०६७, रामायण, छैटौं सं., काठमाडौं, साझा प्रकाशन ।
२. चालिसे, चक्रपाणि, सं. २०४९, संक्षिप्त रामायण, चौधौं सं, काठमाडौं, साझा प्र., ।
३. ज्ञवाली, सूर्यविक्रम (सम्पा.), सन् १९५४, भानुभक्त आचार्यको रामायण, कलकत्ता, प. बं सरकार।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु