सिमकोटको सम्झना

- भेषराज रिजाल

बिग्रिरहने लेकाली मौसमको कुहिरो र अनिश्चित आकासको त्रास छिचोल्दै प्लेन अवरण भयो सिमकोटमा ।
हुम्ला कर्णालीको एकबुँद सरसता छोइयो छातीमा । हिमाली क्षितिजको एकधर्सो उज्यालोे झुल्कियो मनमा । रानी वनको एकसर्को सल्लेरी हरियाली छामियो अन्तस्करणमा । पञ्चमुखी हिमालको स्निग्धता टल्कियो हृदयको क्षितिजमा । विकटताको उत्पीडन सहेर पनि सिमकोटले गरेको स्वागतले आह्लादित भएँ, पुलकित भएँ । हलुङ्गिएको मन र उचालिका पाइला बोकेर दौडिएँ म पनि सिमकोटको आँगनमा ।
हरियो पछ्यौरी ओढेका चौरहरु देखिए । ढुङ्गाका चिटिक्कका घरहरु छोइए । आङमा गरिबीको छाँया भए पनि मुहारमा सम्पन्न हाँसो फुलाएका सिमकोटेहरु भेटिए । सिमकोट उपत्यकाको निधारमा कोरिएको एकधर्को सरल रेखाकै वरपर घुमिरहे आँखाहरु धेरैबेरसम्म । लाग्थ्यो, त्यतिबेला एअरपोर्टमा फुच्चे जहाज र हेलिकप्टरहरुको सम्मेलन भइरहेथ्यो ।
नुन, तेल, चामल, चाउचाउ आदि खाद्यान्नको गोदाम प्रतीत एअरपोर्ट छोड्दै थिएँ, हुम्लाको खाद्य संस्थान अगाडिको भीड देरेर अलमलिएँ । मेरो छेवैबाट एउटा आकृति सर्कियो दमित स्वर छोड्दै– ‘यो त कर्मचारीको लाइन हो, पब्लिकको लाइन भए देख्नुहुन्थ्यो ।’ पब्लिकको लाइन भए के देखिन्थ्यो म झन् अलमलमा परेँ । राज्यका आँखाले समेत कहिल्यै देख्न नसकेको कुरो म बबुरोले के देख्दो हुँ । म निराश भएँ ।
खाद्यान्न बोकेर हिँडेकाहरुसँग जम्काभेट भयो धेरैचोटी । मेरो मनमा भने घुमिरह्यो त्यही स्वर– ‘पब्लिकको लाइन भए देख्नुहुन्थ्यो ।’
मानसरोबर पुगेर फर्केका तीर्थ यात्रीहरु भेटिए । ताक्लाकोट पुगेपछि तीनदिन लगाएर कैलाश पर्वत र मानसरोबरको परिक्रमा गरेको एकजना भारतीयको उमङ्ग सुन्छु । मानसरोबर र कैलाश पर्वत पुग्न मौका मिल्ला नमिल्ला, मनमै मानसरोबर छचल्काएँ र मनमै उभ्याएँ कैलाश मैले । आहा मेरो मनको विशाल जलसंसार सामुन्ने उभियो– एउटा सुन्दर हिमाल ।
चाउरिएका अनुहार घिर्सिरहेथे । नाक कानमा सुनका ठूल्ठूला गहना भए पनि तिनको अनुहारको उदासीले झन् विरक्तिन्छु म । तिनले भोगेको दुरुह जिन्दगी छटपटिन्छ मभित्र । सिमकोटे परिवेश भत्किँदै, चुहिँदै, खुइलिँदै र पातलिँदै जानथाल्यो मेरो नजरमा ।
बारीमा चिनु गोडिरहेका महिलाहरु भेटिए । ‘चिनु कुल्चिएला’ स्वागतसरि स्वाभाविक मुस्कान भेटियो तिनका अनुहारमा । तर अहँ, एकजना पनि लोग्ने मान्छे छैनन् काममा । सहकर्मीबिनाका एक्ला योद्धाले कसरी थाम्छन् खोई यो सिङ्गो हिमाली आकास ?
‘पैला हिउँ पड्डो थ्यो, अ‍ैल त मंसिर पुसमा पनि पड्या नाइँ । कौनै बाली पनि रामडो भयान ।’ फागुने विक आँगनमा निस्केर नालीबेली लगाए । गाँज हाल्न नसकेको जौ र भर्खर गोड्दै गरेको चिनु हेरेर विरक्तिएँ । मनमनै सुस्केरा हालेँ– लेकालीको खेतिपाती मुरी छरे पन्ध्र पाथी ।
घोडालाई बोकाएर सामान लैजान सिमकोट आइपुगेका छिमेल तामाङ र उनका भतिजा दावा भेटिए । सिमकोट माथिका स्याला, डाँडाफामा, मुचु, खगालगाउँ, लिमी, हेप्का, हिल्सा आदि गाउँहरु टेक्न सुझाए उनले । मानसरोबर पाँचदिनमा पुगिने बताउँदै उनले पनि हिमाली सौन्दर्यको अलिकति राप र ताप हुलिदिए मभित्र ।
रानीवनको पाखोमा भेटिए ओखर, चुत्रो, पाती, उन्यू र लेकाली काँडाहरु । मानसरोबर पुग्न कति हण्डर खेप्नुपर्ला ? साहस भर्न खोजेँ आफैभित्र– साथी र समय मिले अवश्य पुग्नेछु मानसरोबर ।
भीमदाई भेटिए । वल्लोपल्लो घर भएर बसेको, सुखदुःखमा साथ रहेको आत्मीय विगत सम्झाए भीमदाईले । मलाई शिक्षक बन्न प्रेरणा दिएथे भीमदाईले नै । मैले शिक्षक पेशा छोडेर निजामतीमा पेन्सन पकाइसक्दा भीमदाईलाई दुर्गम भूगोलमा अझै शिक्षक देखेर विरक्तिएँ । दाईले नै सम्झाए मलाई, आफन्तहरुले पीर नगर, दशैँपछि जागिर छाड्छु ।
बजारको बीचोबीच खेल्दै थिए केही केटाकेटी । तिनको खेल, चाल र रुपरङ हेर्दा लाग्थ्यो, म आदिम इतिहासमा पुगेँ । बजारमै भेटिए केही युवा दल । तिनका गफ, इशारा र हस्सिमजाक सुन्दा लाग्थ्यो, म पश्चिमा दुनियाँमा पुगेँ । भेडाच्याङ्ग्रालाई सामान बोकाएर व्यापार गरिरहेका गोठालाहरु देख्दा लाग्थ्यो, म अभावै अभावको दुनियाँमा पुगेँ । मन बुझाएँ– उपाय नभए निर्वाह गरेर चलाउनुपर्छ गुजारा । तर एउटा प्रश्नको हसियाले कटकटी काटिरह्यो भित्रभित्र– हल्लिरहेका युवालाई काम गर्ने संस्कार कसले कहिले सिकाउँछ नेपालमा ।
दिन ढल्कन थाल्दा रामप्रसाद पौडेल, मीनबहादुर बानियाँ, कालीबहादुर सिं र म उकालियौँ सिमकोटमाथिको पाखपाखै ।
उकालोमा तारे चुकका बोट चिनाउँछन् रामप्रसाद । क्षितिजमा टाँगिएका नाङ्गा डाँडा देखाउँछन् उनी, चिमालको जंगल थियो रे त्यहाँ । कस्तुरी पाइन्थ्यो रे पहिले । अस्तित्वको लडाइँ हारिरहेका फुच्चे धुपीका बोट हेरेर विरह सुसेल्छु मैले ।
रलिङ गुम्बा जाँदाका अनुभूति सुनाउँछन् सहयात्री । बझाङ र हुम्लाको सिमानाको हिमाच्छादित पहाड सैनाको स्मरण गर्छन् सहयात्री । हिमाली सभ्यतासँग जोडिएका तिनका हरेक शब्द मच्चिन्छन् मेरो मनमा आनन्दको तौले पीङसरि ।
चर्को घाम लागिरहेथ्यो । पसिना पुछ्दै देउरालीबाट मज्जाले हेरियो सिमकोटे सेरोफेरो । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकामभन्दा माथिको देउरालीमा थियौँ हामी । लाग्थ्यो, बेँसीको सिम छोडेर लेकको कोटतिर उक्लँदै थियौँ हामी । देउराली पुगेर खुसीले मन रङ्ग्याएको पललाई स्मृतिको पानामा टिपोट गरेथेँ मैले– सम्बत् दुईहजार त्रिहत्तर सालको जेठको तेस्रो साता सिमकोटको छिमेकी बुराउसे गाउँ नजिकै थियौँ हामी ।
बुराउसेको सीमावर्ती गाउँ रहेछ लाङदुक । त्यसकै छेउमा रहेछ हिल्दुम खोलो । बुराउसे र लाङदुक गाउँको अनुहार धेरैचोटी धोइपखाली गरेँ मैले हिल्दुमे पानीले । र ठम्याएँ– हिउँदभर पञ्चमुखीको पाउडर घसेर यति सुन्दर देखिएका होलान् यी गाउँहरु ।
हामी बुराउसेको एउटा घरभित्र छिर्दा गाईवस्तु लिएर भर्खरै फर्केकी रहिछन् आमै । घरायसी तुनेलोमै अल्झिरहेथे बा । बचेरा उडिसकेको रित्तो गुँडझैँ लाग्ने ती वृद्ध जोडीको घरगृहस्थी देख्दा विरक्त लाग्थ्यो । तर, तिनीहरुको प्रेमपूर्ण व्यवहार देख्दा चित्त बुझ्थ्यो फेरि ।
आमैले काटिन भोटे चियापत्ति । खरानी खोस्रेर निकालेको आगोको फिलिङ्गो सुकेको धुपीमा झोसे बाले । छिमेकीको घरमा आगो लिन हिँड्दाका केटौले दिन सम्झेँ मैले । अनि कसैले भनेको सम्झेर झस्केँ– आगो र कलहको बीउ धेरै चाहिन्न ।
दोङ्मोमा चिया बनाउँछिन् आमै । चाँफा झिक्छन् बा । लकर पकाउँछिन् आमा । चोती, लसुन, टिमुर र नुन खुर्सानीको छोप बनाउँछन् बा । अगेनाको छेउमा सबैको सामुन्ने लुकिरहेछ भिल्याँ । म सिक्छु लेकाली जनजीवनमा घोलिएका केही शब्दावलीहरु; दोङ्मो– चिया बनाउने ढुङ्ग्रो, चाँफा– सातु, लकर– फापरको रोटी, चोती– मूला, भिल्याँ– बिरालो ।
‘दूध, घिउ र नुन हालेको भोटे चियाले फूर्तिलो बनाउँछ ।’ बाको कथन थियो ।
‘होइन छाङ छ तगडा ।’ मीन प्रतिक्रिया आयो ।
‘सुत्केरीलाई खुवाउने उवाको छ्याङ ।’ तामाङ्नी आमा बोल्छिन् ।
‘छ्याङ त कागुनी र चिनुको पनि बन्दोरहेछ नि ।’ सहयात्रीहरुको सामूहिक स्वर सुनेर मलाई मात्र हाँसो किन लागेको होला ।
निकै मिठो छ तिते फापरको रोटी । उसमाथि मेरा लागि सितन छ महको । बा भन्दैथिए– चिसो पानीले कम हुन्छ तिते फापरको तितो ।
लागिरहेथ्यो मन खोलेर गीत रन्काऊँ– तिते फापर छरौँला, कुनालाउँला केसरी खाउँला बेसरी ।
‘भान्ट्या झन् मिठो हुन्छ नि ।’ बा बोल्छन् ।
रामप्रसाद अथ्र्याउँछन्– कोदोको रोटी । भावसहितको शब्दप्रति तानिन्छु म । लेकाली लवाइखवाइ, रहनसहन र मिजासले बनाइरहेथ्यो लठ्ठ ।
खेतिपाती आफै गरिन्छ । शीर पाउ पुग्ने लुगा आफै बुनिन्छ । मर्दा पर्दा चाहिने जुनसुकै चिज हामी नै बनाउँछौँ । जातीय स्वाभिमानको अनेक कथा कहन थाले बाले ।
झोपा खोज्न गएको छोरो आइपुग्यो । लडे दह, दुधे दह हुँदै पञ्चमुखी हिमालकै छेउछाउ पुग्दाका फोटोहरु देखाएर मोहित पा¥यो उसले हामीलाई ।
‘कति समय लाग्छ त्यहाँ पुग्न ।’ जिज्ञासा मेरो थियो ।
‘उकालो छ निकै, थकाइ लाग्छ बेस्सरी । तपाईंहरुलाई गाह्रो छ ।’ उसले हामीहरु त पुग्नै नसक्ने तर्क पो तेर्सायो ।
हुम्लाका कुनाकन्दरा हिँडेका अनुभव सुनाउँछन् सहयात्रीहरु । म पनि थप्छु कथा एकाध यात्राका ।
तब ठिटो भन्छ– ‘याकसँग फोटो खिच्न नुन लिएर जानुपर्छ ।’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु