मुबायलगीता

- कोमलप्रसाद पोखरेल

(हास्यव्यङ्ग्य कविता)
हिंडी हिंडी बजाउँछन् मसक्क मस्किँदै कुनै
रमेर नित्य यादमा मधूप बन्दछन् कुनै,
लगेर सेट कानमा हलाे त नार्दछन् कुनै,
हवस् हजूर भन्दछन् यता त्यता घुमी कुनै ।

जता गयो मुबायलै त्यतै छ मान एसकाे,
गरीब होस् तथा धनी यही छ शान देशकाे ।
छ कक्षमा मुबायलै छ जाँचमा मुबायल,
कहीँ त चीट नै बनी सिकाउने मुबायल ।

छ सेट हातमा भने गराउँछ स्वयंवर,
विवाह हुन्छ झट्ट नै लमी छ यो मुबायल ।
न पढ्नुपर्छ कत्ति नै छ सीम साथमा भने,
असीम बन्छ इज्जतै भिर्यो मुबायलै भने

स्वतन्त्र प्रेममा सधैँ खुला छ यो मुबायल,
मिलिक्क देश नै धनी बनाउने मुबायल ।
गरीब खानले मरे त अन्न हो मुबायल,
असक्त रोगले मरे छ ओखती मुबायल ।

छ घूस ख्वाउनै भने गरेर हेर डायल,
छ देश मास्नुनै भने त अस्त्र हो मुबायल ।

अतीव जेष्ठ हाेस् बरू, छ साथमा मुबायल-
भने छछं गरी परी नचाउने मुबायल ।

विवाहिता सती त्यसै हटाउने मुबायल,
पराय कामिनी स्वयं फकाउने मुबायल ।
विभागमा पुग्यो भने रुँगाउने मुबायल,
दिएन दच्छिना भने रुवाउने मुबायल ।

कुनै कुनै असुन्दरी र जेष्ठ नै भए पनि,
छ सेट हातमा भने भनिन्छ च्वाँक हुन् तिनी ।
ठिटाहरू पिछा गरी घुटुक्क गर्दछन् जब,
यही नयाँ विकास हो भनी बुझे भयो अब ।

कहीँ त शोडषीहरू हँसाउने मुबायल,
कहीँ त एसमेसले फसाउने मुबायल ।
कि यौवना घरै भरी सजाउने मुबायल,
कि ता विदेशमा लगी भँजाउने मुबायल ।

छ भात थालमा भने त दाल हो मुबायल,
उता छ बास्मती भुजा यता ढिंडाे मुबायल ।
निदाउँदैन रातमा छ हातमा मुबायल,
उठेर भन्छ भाेकले मरें प्रिंये ! मुबायल !

यदाकदा घटी बढी भएछ भागमा भने
दलीय भावना स्वयं फुटाउने मुबायल ।
फुटे भनेर हर्ष क्यै नमान्नु रे‘छ बास्तब,
हुटेलमा पसेभने जुटाउने मुबायल ।

यता उता जताततै घनक्क घन्कने यही,
अनेक टोनमा बजी रनक्क रन्कने यही ।
कथा, पुराण आदिमा गई पसे भने जब,
टिटीँ टुटूँ गर्यो कि ता जुरुक्क उठ्दछन् तब ।

हदृश्य ठाउँमा लगी करोड, अर्ब माग्छ याे,

मिलेन दाम मागकाे भने लिंदैछ ज्यान याे ।
तथापि मानिसै न हो हुदैन कत्ति कायल,
रहेछ जादुको छडी समान यो मुबायल ।

धनी छ देश भेषमा ऋण प्रशस्त केशमा,
न खान लेश साथमा तथापि सेट हातमा ।
युवा पति प्रदेशमा विवाहिता विदेशमा
लगी स्वतन्त्रले चराउँदैछ यो मुबायल ।

कलेज जान्छ ठाँटमा लिएर सेट हातमा
तथापि ऊ गरीबझैँ कुरा कथुर्छ बातमा
यदाकदा त झुन्ड नै लिएर हिंड्छ साथमा,
पछि त्यही गरीव भै निशुल्क हुन्छ क्लासमा ।

चिठी बरा कता गइन् यहाँ त सौतिनी पसी
रजाइँ गर्दछे सदा सुटुक्क काखमा बसी
चिठी र प्रेमपत्रका सबै अमूल्य फायल

त्यसै सखाप गर्दिने रहेछ याे मुबायल ।

सुरुङ्गा, झापा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु