कालिम्पोङबाट नेपाली गीत-गजल लेखन

- नवीन पौड्याल

१. आमुख - नेपाली साहित्यको मानचित्रमा कालिम्पोङ एउटा महत्त्वपूर्ण स्थान बनेको छ। यहाँबाट कथा, कविता, नाटक उपन्यास आदि धेरै मात्रामा प्रकाशित हुँदै आएको पाइन्छ। नेपाली संस्कृतिलाई कालिम्पोङले जोगाएर सुरक्षित राखेको छ। मानिसहरू आफ्नो कृषिकार्य गरेर आफ्नो भाषा, साहित्य, संस्कृतिक र आफ्ना परम्परागत सम्पदालाई कायम राखेका छन्। कालिम्पोङको नातिशीतोष्ण मौसम र प्राकृतिक सौन्दर्यअनुरूप सांगीतिक सिर्जना पनि उज्ज्वल देखिन्छ। नेपाली सांगीतिक फाँटमा कालिम्पोङका धेरै संगीतकार, गायक कलाकार र गीतकारहरूको योगदान रहेको छ। पारसमणि प्रधान, रामकृष्ण शर्मा, भाइचन्द प्रधान, महानन्द पौड्याल आदि जस्ता साहित्यिक हस्तीहरूले बसोबासो गरेको कालिम्पोङमा साहित्य पनि फले-फुलेको छ।
२. गीत : साहित्यिक उपविधाका रूपमा -
साहित्यमा कवितारूपी वंशको ठुलो परिवार देखिन्छ। साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, गजल आदि उपविधाका रूपमा रहेका छन्। कविता विधाभित्रको एउटा उपविधाका रूपमा रहेको गीत खुबै लोकप्रिय देखिन्छ। यो कोमल अनुभूतिहरूका लयात्मक अभिव्यक्ति हो। गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। यहाँ गीतको गायन र वाद्य-वादन पक्षलाई नछोई लेखन पक्षमाथि मात्र अध्ययन प्रस्तुत गरिन्छ।
गीत एउटा लयात्मक संरचना भएको उपविधा हो। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन संगीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट संगठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूहरूले त्यस स्थायीलाई पुष्टी गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा १) भाव वा विचार २) उद्देश्य ३) भाषा र ४) शैली। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ।
गीतको उद्गमस्थल नै हृदय हो। हृदयमा उब्जिएका रागभावहरूलाई शब्दमा अभिव्यक्ति दिनु नै गीतको निर्माण हो। यो हृदयमा नै सिर्जित हुन्छ भने यसलाई हृदयले नै ग्रहण गर्छ। आफ्ना हृदयका सुमधुर र सुकोमल भावनाहरू विभिन्न रागात्मक अनुभूतिले उद्दीपित ऊएर लयात्मक रूपमा प्रकट हुनु नै गीतको सिर्जना हुनु हो। यसमा व्यक्तिको तीब्र अनुभूतिको अभिव्यक्ति हुन्छ। यसमा एउटै भाव वा विचारको विशेष प्रस्तुति हुन्छ। यसैगरी गीतमा एकोन्मुखता, को निर्वाह हुनाले संक्षिप्तता, सांकेतिकता, हुन्छ। लयको सिर्जनाको लागि शब्द र ध्वनिको संयोजनमा निर्भर रहन्छ। यसमा एकजना सम्बोधक अर्को सम्बोधित र तेस्रो चाँहि अन्य विषय हुन्छ। गीतलाई एक्लै, युगल र समूह गरी तीन प्रकारले गाउन सकिन्छ। गम्भीर शब्द-रचना, मिठो संयोजन, सांगीतिक धून र सुमधुर स्वरद्वारा त्रिपक्षीय संयोजन भएका गीतहरू भने चिरस्थायी, शाश्वत, सर्वस्पर्शी र सदाबहार बन्दछन्।
३. समस्या कथन - नेपाली गीत लेखनका क्षेत्रमा भारतबाट धेरैजना रहेका छन्। यसो त प्रायः सबैजसो संगीतकारले गीत लेखेकै हुन्छन्। यहाँ कालिम्पोङका सबै गीतकारको नाम आउन सम्भव छैन। प्रस्तुत पत्र तयार गर्ने क्रममा निम्नलिखित समस्या देखा परेका छन् -
१. गीत त धेरैले लेख्छन् तर सबैलाई गीतकार मान्न कि नमान्नु?
२. दुइ-चारवटा गीत लेख्नेलाई गीतकार मान्नु कि नमान्नु?
३. कतिपय व्यक्तिले आफ्ना गीतको रेकर्डिङ गरेका हुँदैनन्,
४. कतिले गीतलाई बाहिर प्रकाशित गरेका हुँदैनन्।
यसका निम्ति निम्न उपायको अवलम्बन गरिएको छ -
१. एक दुइवटा गीतको रेकर्डिङ गर्नेलाई गीतकार मानिएको छैन।
२. गीत लेखनको गुणात्मकतालाई महत्त्व दिइएको छ।
३. जतिसक्दो गीतको रेकर्डिङ र प्रकाशनलाई महत्त्व दिइएको छ।
४. यसका निम्ति जतिसक्दो कतिजना गीतकारलाई नै प्रश्नावली, अन्तर्वार्ता लिइएको छ।

५. कालिम्पोङका केही गीतकारहरू -
नेपाली गीत लेखनका क्षेत्रमा भारतबाट धेरैजना रहेका छन्। यसो त प्रायः सबैजसो संगीतकारले गीत लेखेकै हुन्छन्। कालिम्पोङको नेपाली गीत लेखन परम्परालाई दुई चरणमा विभाजन गर्न सकिन्छ - अघिल्लो चरण र पछिल्लो चरण। अघिल्ला चरणका गीतकारका गीतमा शास्त्रीय रागपरक, पीडाबोध, जातीयता बोध इत्यादि पक्ष बढी पाइन्छन्। अघिल्ला चरणका केही उल्लेखनीय र गीतकारहरू हुन्- मास्टर पूर्णमान शाक्य, एम. एम. गुरूङ, गंगामाया परियार, हर्क परियार, चन्द्र परियार, सी. के श्रेष्ठ, हेमानन्द खाती आदि। पछिल्ला चरणका कालिम्पोङका धेरै गीतकार रहेका छन् ती सबैको नाम आउन सम्भव छैन। यद्यपि उपलब्ध र उल्लेखनीय केही गीतकारहरूमा अमर रसाइली, मधुसूदन लामा, योगेन्द्र घतानी, सरोज कार्थक, अनिल राई, सिलभेस्टर सितलिङ, ब्रायन मोक्तान, दिलीप भुजेल, दीनदयाल अगरवाल, प्रशान्त धमाला दोषी, जय क्याक्टस, सरिता समदर्शी, प्रदीप लोहागुण, अल्बर्ट गुरूङ, मपन परियार, मोहन हिङमाङ, भवानी बागदास, विमल गजमेर, पेमा वाङदी, आनन्दराज प्रधान, सरिता प्रधान, रामलाल त्रिखत्री, दोर्जी लेप्चा, तुलसी गजमेर, तुलसी घिमिरे, शशि सुनाम, डेनिश कार्थक, रोबर्ट सुब्बा, राजेन घिमिरे, राजु घिमिरे, दावा पाखरिन, अनुराधा गजमेर, गञ्जवीर गुरूङ, अरूणप्रकाश राई, विलियम योन्जन, मणिकुमार रसाइली, उज्ज्वल बमजन, कमल रेग्मी, पुरण थापा, दिपेन राई, सुमन प्रधान, अजय राई, सुवास सोताङ, सूरज रोसूरी, अनिल तैलेजा, अरूण साङपाङ आदिको नाम स्मरणीय छ।
कालिम्पोङका केही उल्लेखनीय गीतकारहरूका बारेमा संक्षिप्त रूपमा चर्चा गरिनेछ-
१. मास्टर पूर्णमान शाक्य- कालिम्पोङका सबैभन्दा अघिल्ला र उल्लेखनीय गीतकारको रूपमा मास्टर पूर्णमान शाक्यलाई मान्नुपर्छ। उनी आफ्नो जमानाका गीतकार, संगीतकार र गायक सबै थिए। उनका अधिकांश गीतहरू भद्रकाली रेकर्ड्स् काठमाडौंबाट रेकर्डिङ भएका थिए।
२. सी. के श्रेष्ठ – नेपाली गीत लेखनका क्षेत्रमा श्री सी. के. श्रेष्ठको नाम पनि उल्लेखनीय छ। उनका केही गीतहरू चलचित्र र नाटकतिर गाइँदै आएको पाइन्छ। उनको छुट्टै रूपमा गीतसङ्ग्रह नभए तापनि बनमारा (जनवरी, २०१५) नामक कवितात्मक पुस्तकमा उनका जम्मा पैतालिसवटा जति गीतहरू पनि समावेश छन्। उनका गीतहरूमा देशप्रेम, जातीय आस्तित्विक चेतना, चियाबारीको श्रमिकहरूका समस्या उठान, जीवन दर्शन, प्रेम-प्रितीका विभिन्न पक्ष, राजनैतिक व्यङ्ग्य चेतना, जीवनका अनेक पाटाहरूका अङ्कन, पर्यावरण चेतना आदि कुरा पाइन्छन्। हाम्रो देशमा गोर्खाहरूको आफ्नै इतिहास र अस्तित्व छ तर राष्ट्रको मूलधारामा नअँगालिएको स्थिति देखेर उनी क्षुब्ध बनेको छन्। यस्तो व्यवहारबाट एकप्रकारले आक्रोश व्यक्त गरेका छन्। उनका गीतहरूमा आशाका भावहरू नै बढी मात्रामा पाइन्छन्। देशको राजनैतिक व्यवस्थाले हाम्रो अस्तित्वमा शङ्का गरे उनी यसरी हाँक दिन्छन -
हाम्रो भाग्य भावीले लेखेन त के भयो
हाम्रो व्यथा विश्वले देखेन त के भयो
आफ्नो भाग्यरेखा आफ्नै हातले कोर्नेछौं
बाधा बनी उभिए चट्टान पनि फोर्नेछौं। (बनमारा पृष्ठ १८२)
उनका गीतहरूमा मानवको असीम सिर्जना शक्तिमाथि आस्था छ। उनका गीतहरूमा शाब्दिक कोमलता, गेयात्मकता, ठेट शब्द प्रयोग, आनुप्रासिक आनुषाङ्गिकता, आवृतिगत सौष्ठव, विषयगत एकोन्मुखता जस्ता गुण र विशेषता पाइन्छन्। यद्यपि यसमा गीतमा हुनुपर्ने रागात्कता, कलात्मकताभन्दा व्यङ्ग्यात्मकता बढी झल्किन्छ।
३. मधुसूदन लामा – कालिम्पोङका एक चर्चित गीतकार हुन् मधुसूदन लामा। उनी आफैं संगीतकार हुनाले गीत लेखनमा चाहिने विशेषता र लक्षणप्रति पूर्ण सचेतता पाइन्छ। उनले लेखेका सयभन्दा धेरै गीत विभिन्न गायक गायिकाहरूले गाएका छन्। उनका गीतमा प्रेम-प्रीतिका मिलन विछोड, राग-विराग सबैलाई समेटिएका हुन्छन्। यीबाहेक सार्वभौमिक शाश्वतता, जातीय जागरण चेतना, जस्ता विषय पनि उनका गीतका खथ्यका रूपमा पाइन्छन्। गीतमा हुनुपर्ने विषयगत एकोन्मुखता, रागात्मकता, गेयात्मकता, वैयक्तिकता, कोमल अनुभूति तथा सुमधुर वर्ण प्रयोग, ताल-मात्रासित शब्दको कुशल तालमेल र आनुषांगिक आनुप्रासिकता आदिले उनका गीतहरू सफल छन्। हालसम्म उनको एउटा गीतसङ्ग्रह तरल आकार (२०१४) प्रकाशित देखिन्छ।
४. कमल रेग्मी - अहिलेका एक चर्चित र सफल गीतकार हुन् कमल रेग्मी। उनी पनि गीत सिर्जनामा एकनिष्ठ भएर अनवरत लागिरहेका छन्। गीतबाहेक उनको सिर्जना र अभीष्ट कवितासंग्रह पनि प्रकाशित छ। यद्यपि उनको अभीष्ट गीत नै हो। उनले पनि कविता कोर्दा स्वतः गीत नै निस्कन्छ। अहिलेसम्म उनको एउटै गीतसंग्रह काँडाफूल सन् २००७ मा प्रकाशित छ जसमा नब्बे-बयानब्बेवटा गीतहरू संग्रहीत छन्। उनका पनि धेरैवटा गीतहरू गायनभित्र परेका छन्। उनका गीतहरू अजनिश राई, प्रसाद ऱणपहेंली, कुमार ऱणपहेंली, थुपदेन भोटिया, रामकृष्ण ढकाल, लासिमित गाई, यम बराल, हिरा रसाइली, गौतम गजमेर, अनुपमा प्रधान आदिले गाइसकेका छन्। उनी युगसचेत र शैली सचेक गीतकार पुन्। उनले वर्तमान युग देखेका र भोगेका छन्। उनले गाउँ देखेका छन् र शहर पनि। यी दुवैबाट उब्जेका संवेदना उनका गीतका विषय हुन्। उनका गीतमा पनि जातीय चेतनाको प्रखर स्वर, प्रकृतिका सुन्दर विम्बद्वारा मानवीय संवेदनाको प्रतीकीकरण, प्रेमका यावत् पक्षको उद्घाटन्, देशप्रेम, माटाको माया, विकृत राजनितीबाट उब्जेका विसंगतिप्रति व्यङ्ग्य, दार्जीलिङ प्रेम, आफ्नो जन्मथलो प्रेम, एकोन्मुखी भावतरङ्ग जस्ता विशेषता र गुणहरू हामी पाउँछौं। उनले गीतमा कल्पना र यथार्थको मिश्रण गरी कलात्मकता दिएका छन्। गीतका शब्दहरू एकार्का पूरक बनी आबद्ध छन्। उनी सौन्दर्यप्रेमी युवा हुन्। प्रकृतिमा सौन्दर्यको अजस्र स्रोत पाउँछन्।
५. उज्ज्वल बमजन – हालमा एकजना चर्चित गीतकारहरूमा उज्ज्वल बमजन पनि एकजना हुन्। उनका गीतका अल्बमहरूमा मायाको मात, सेन्तेरेम आदि लोकप्रिय बनेका छन्। युवा पुस्ताका निम्ति रूचिकर लाग्ने उनका गीतहरूमा जातीयता बोध, मर्म वेदना, वैयक्तिकता एकोन्मुखता पाइन्छ। उनले गीतमा हुनुपर्ने केही तत्वलाई जतिसक्दो समावेश गेका छन्। यथार्थता, गेयात्मकता, प्राकृतिक सौन्दर्य वर्णन्, स्थानीय रङ्ग चित्रण, रागात्मक अनुभूतिको प्रस्तुति जस्ता गुणहरू उनका गीतमा पाइन्छन्।
६. योगेन्द्र घतानी – कालिम्पोङका संगीत शिक्षक र वरिष्ठ संगीतकार श्री योगेन्द्र घतानी आफैं पनि एक कुशल गीतकार हुन्। उनका अनेक गीतहरू धेरै गायक-गायिकाहरूले गाएका छन्।
७. तुलसी घिमिरे – नेपाली चलचित्र जगतका ख्यातिप्राप्त निर्देशक र अभिनेता कालिम्पोङका तुलसी घिमिरे एक अब्बल गीतकार पनि हुन्। उनका गीतहरू विभिन्न चलचित्रमा गायन भएको पाइन्छ। उनका गीतहरू चलचित्रको कथाअनुसार पनि उपयुक्त हुन्छन्। जातीय स्वाभिमान र अस्मिताको स्वर, संस्कृतिप्रेम, स्थानीयताको वर्णनबाट सार्वभौमिकताको खोज, गेयात्मकता, संवेदनशीलता आदि उनका गीत लेखनका विशेषता हुन्। उनले रचेका गीतहरू नारायण गोपाल, आशा भोंसले, सचिन सिंह, उदितनारायण झा आदिले गाएका छन्। उनको गीतको एउटा नमूना-
वीरताको चिनो वीरको सन्तान
शहीदको रगत लाहुरेको निसानी।

८. अमर रसाइली – नेपाली चलचित्र जगतका एक ख्यातिप्राप्त निर्देशक श्री अमर रसाइली पनि एक कुशल गीतकार हुन्। कतिपय चलचित्रमा समेत उनका गीतहरू गुञ्जिएको सुन्न पाइन्छ।
दावा पाखरिन - कालिम्पोङका एक राजनेताका रूपमा रहेका दावा पाखरिनका पनि राम्रा राम्रा गीतहरू समाजमा लोकप्रिय छन्। जातीय चेतनाका अनेक गीत रचना गरेका छन्।
अरूण साङपाङ – कालिम्पोङ अलगडाका एक जोसिला युवा अरूण साङ्पाङ एक असल गीतकार हुन्। उनका गीतमा प्रेम-प्रीतिका विभिन्न पक्षका साथै जातीय जागरण, नैतिक सन्देश आदि पक्ष पाइन्छन्। उनका बीस-पच्चीसवटा गीतहरू दैनिक नेपाली पत्रतिर प्रकाशित भएका पाइन्छन्। उनी आफैं गाउँदै र गीत लेख्दै गर्ने हुनाले उनका गीतमा शाब्दिक माधुर्य पाइनुका साथै अनुभूतिगत कोमलता, वैयक्तिकता आदि पनि पाइन्छन्। यसबाहेक कालिम्पोङकै उपजका रूपमा रहेका सरोज कार्थकका पनि धेरै गीतहरू रेडियो नेपाललगायत नेपालका विभिन्न गायक गायिकाले गाएका छन्।
कालिम्पोङबाट प्रकाशित गीतहरूको सामान्य प्रवृत्ति-
क) कालिम्पोङका गीतकारहरूका गीतमा प्रेम प्रीतिका सामान्य राग-भाव हर्ष, प्रेम पीडा, प्रेमानुराग, रूप सौन्दर्यपरक वर्णन नै प्रमुख रूपमा पाइन्छ।
ख) प्रेमानुरागबाहेक जीवन र जगतका विभिन्न अनुभूति, जातीय अस्मिता र जाति प्रेम, देश प्रेम, स्थानीय रङ्ग चित्रण, सांस्कृतिक भावपरक आदि पाइन्छन्।
ग) कालिम्पोङबाट पनि चलचित्रका निम्ति गीत लेखिएका छन्। तुलसी घिमिरे, अमर रसाइली आदि यसतर्फ अग्रणी रहेका छन्। सि. के. श्रेष्ठले पनि चलचित्रका निम्ति केही गीत लेखेका छन्।
घ) कालिम्पोङबाट नारी गीतकारको संख्या न्यून देखिन्छ।
ङ) कालिम्पोङका गीतकारमध्ये एक-दुईजनाबाहेक कसैको पनि गीत-संग्रह पुस्तक प्रकाशित भएको पाइन्न।
६. कालिम्पोङमा गजल लेखनको परम्परा –
'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कलासँग अति घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध, सरल र प्रतिकात्मक रुपमा मतला, शेर, काफिया, रदिफ, मकता, तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै लेखिन्छ। गजल शव्दको अर्थ र इतिहासको बारेमा विभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भए तापनि गजलमा हुनुपर्ने मूलभूत तत्वहरुमा भने त्यति धेरै मत भिन्नता पाइन्न। गजलमा मूल रूपमा प्रेम – प्रितीका विभिन्न भावलाई व्यक्त गर्ने माध्यम मात्र नभई सबै विषयमा लेखिने गरिन्छ। कविता लेखनका क्रममा गजल फस्टाउनका निम्ति केही कारण छन्। सर्वप्रथम त वर्तमान समय र अवस्थामा देश र समाजमा आएको सामाजिक, आर्थिक, राजनैतिक विकृतिलाई तेजधारले व्यङ्ग्य कस्नका निम्ति सबैभन्दा बलियो साधन गजल बनेको छ। दोस्रो कुरा, गजलमा जस्तो अभिव्यक्तिगत सम्प्रेषण दिन अरू विधाले सक्दैनन्। वर्तमान स्थितिको विकृति र विसङ्गतिमाथि सोझै व्यङ्ग्य प्रहार गरी पाठक र स्रोतासमुदायलाई प्रभावित पारी सन्तुष्टी दिनसक्ने विधा गजल बनेको छ। तेस्रो कुरा, गजलमा भाव र शिल्प माधुर्य, लयात्मकता दिन सकिने हुनाले पनि यो लोकप्रिय बन्दैआएको छ। समाजमा चेपाराहरू, साह्रा-गाह्रा अवस्था, राजनैतिक वितण्डा र अपठ्यारा स्थितिहरूलाई सबैभन्दा प्रभावकारी ढङ्गमा अभिव्यक्ति दिने साधन अब गजल भएको छ। सामाजिक विकृतिमाथि व्यङ्ग्य व्यक्त गर्न घुमाउरो पाराले खासै असर पर्दैन वा प्रभावकारी हुँदैन। सामाजिक, राजनैतिक स्थिति थेत्तरो बनेको छ। यसका निम्ति गजल नै सबैभन्दा सशक्त माध्यम बन्दै गएको छ।
गजल लेखनका निम्ति विभिन्न तकनिकीगत कुराहरू ख्याल गर्नु पर्दछ। यी कुराहरूका अभावमा गजल बेकारका फजुल बनेका हुन्छन्। गजलमा चाहिने विभिन्न शिल्प-संरचनाको तत्वहरूबारे गजलकारले राम्रो जानकारी लिएको हुनुपर्छ। यसका बाह्य संरचना र आन्तरिक संरचनाबारे ज्ञान र प्रतिभा हासिल गरेर मात्र राम्रो गजलको सिर्जना हुनसक्छ।
७. भारतमा नेपाली गजल लेखनको शुरूआत्
भारतमा नेपाली गजल लेखन परम्परा शुरू गर्ने हाम्रै कालिम्पोङका पारसमणि प्रधान हुन् भनेर तोक्न सकिन्छ। यद्यपि उनका गजलमा गजलका लेखन ढाँचा र शिल्प नपुगे पनि प्राथमिक प्रयास थियो। जे भए पनि उनले गजलको ढोका खोलेका हुन्। उनले आफ्ना अग्रज नेपाली गजलकार शम्भुप्रसाद ढुङ्गेल, पहलमानसिंह स्वार आदिका गजल-लेखनबाट प्रभावित भई शुरू गरेका हुन् भनी अनुमान गर्न सकिन्छ। उनको एउटा गजल १ अक्टोबर, १9१६ मा गोर्खे खबर कागजमा प्रकाशित देखिन्छ। उक्त पत्रिकामा प्रकाशित उक्त गजल भनिएको कविताको चार पंक्ति यस्तो छ-
हरे गोर्खाली तिमी नींदमा छौ।
अरू जाति भन्दा पछाडी छौ।।
भयो नींद आलस्य सब् त्यागि देऊ
सबै मिलमीली स्वभाषा बढाऊ।
(सन्दर्भ साहित्य कालिम्पोङ, दयारत्न शाभि, कालिम्पोङ, उपासक प्र. १9८३, पृष्ठ)
गजलकार शम्भुप्रसाद ढुङ्गेलले ‘पारसमणिका गजल साह्रै असल’ भनी टिप्पणी गरेको पाइन्छ। यस्तैगरि सन् १९३८ सालमा देहरादूनका बहादुरसिंह बराल र अन्य कविहरूका संयुक्त कविता सङ्ग्रह प्रकाशित हुन्छ जसमा त्रिचालीसवटा गजल समावेश छन्। बरालका गजलमा एकाक्षरी काफियाको प्रयोग पाइन्छ भने केहीमा आंशिक अनुप्रास र केहीमा पूर्ण अनुप्रासमा आधारित काफियाको प्रयोग पाइन्छ। उनले जातिधर्म जोगाउनु पर्ने सन्देश धेरै गजलमा दिएको पाइन्छ। उनले भगवानसँग गोर्खालीको नामअनुसार काम भए हुन्थ्यो भन्ने आग्रह गर्नका साथै मद-मदिराको सेवनले सबैको विनास गर्छ भनी उपदेश पनि दिन्छन्। यसमा माया-प्रीतिका भाव साथै केही नैतिक उपदेश पनि दिन्छन्। उनका गजलमा आक्षरिक लयमा आधारित छन्दको प्रयोग पाइन्छ। उनीबाहेक त्यस बरालको आँसु संग्रहमा दुर्गा मल्ल, गङ्गावती, मैतराम, पवित्रादेवी, शमसेरसिंह, मित्रसेन थापाका पनि एउटादेखि चारवटासम्म गजल छन।
यसपछि भारतमा नेपाली गजलको परम्परा निकै वर्ष बाँझो रह्यो। बेला बेलामा पत्र-पत्रिकातिर गजलका नाममा सीप र ढङ्ग नपुर्‍याका रचनाहरू प्रकाशित हुँदैआएका देखिन्छन्। यता भारतबाट सम्भवत् पहिलो गजल-संग्रह २००१ सालमा प्रकाशित सञ्जीव छेत्री र सन्तोष गुप्ताको तरल मुटुहरू हो। त्यसपछि भने दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर आदिबाट हालसम्म लगभग तीसवटा जति गजलसङ्ग्रह प्रकाशित भएका देखिन्छन्।
कालिम्पोङबाट पुस्तकाकार रूपमा र विभिन्न पत्र-पत्रिका फाट्ट-फुट्ट रूपमा गजल लेखिएका पाइन्छन्। यसरी गजल लेख्ने केही गजलकारहरूमा असीम सागर, अनिलकुमार छेत्री, सुवास श्रेष्ठ, वीरेन्द्र खँड्का, मनोज बोगटी, कमल रेग्मी, लीलाबहादुर छेत्री गोठाले, प्रदीप लोहागुन, सरिता समदर्शी, नवीन पौड्याल, सपन प्रधान, सूरज रेसूरी, सूरज सुब्बा, धिरेन छेत्री, अरूण साङपाङ, छुदेन काविमो, योगेन छेत्री, दीपेन्द्र आचार्य सुमी, बुद्ध राई, बलराम राई, दीपेन्द्र आचार्य सुमी, सुरज सुब्बा, सुष्मा (निर्दोषिका) तामाङ, सुनील गुरूङ तमु आदि प्रमुख हुन्।
१. जून पोखिएको रात- असीम सागर (२००७)
२. अस्तित्वका आवाजहरू- असीम सागर (२००८)
३. गजल जल- वीरेन्द्र खँड्का, अनिल छेत्री र सुवास श्रेष्ठ (२००८)
४. गजल दीप- वीरेन्द्र खँड्का र सुवास श्रेष्ठ (२००९)
५. गजल महक- लीलाबहादुर छेत्री,बलराम सापकोटा र बुद्ध राई (२००९)
६. केही घाउ केही मलम- छुदेन काविमु (२००९)
७. समुद्र रोएको साँझ- सुवास श्रेष्ठ (२०१०)
८. कालो गुलाब- अरूण साङपाङ र सुरज सुब्बा (२०१०)
९. मनोराग- धिरेन संघर्ष (२०१०)
१०. ऋतुगीत- कमल रेग्मी (२०१०)
११. फूलबारी - सुवास श्रेष्ठ (२०११)
११. कमलकोठी- कमल रेग्मी (२०११)
१२. स्वर्ग पुग्ने सपनाहरू(गजल सिडी अल्बम)- असीम सागर र अन्य (२००९)
१३. स्मृतिका सौगातहरू सुष्मा (निर्दोषिका) तामाङ (२०१२)
१४. समुद्र रोएको साँझ सुवास श्रेष्ठ (२०१२)
१५. तिमी नै भनन सुवास श्रेष्ठ (२०१२)
१७. रानी चरी सुवास श्रेष्ठ (२०१३)
१४. पहिलो किरण स्वर्णिम लिम्बू (२०१४)
१५. मनको मझेरीमा धीरेन संघर्ष (२०१४)
१६. अर्पण सोङदेन पतझडका पातहरू (२०१५)
यी गजल-सङ्ग्रहबाहेक गजलसम्बन्धी कालिम्पोङमा असीम सागरको संयोजकत्वमा सम्पन्न भएको गजल लेखनको एकदिने कार्यशाला, २००७ मा आयोजना भएको थियो।
८. केही गजलकारहरूको संक्षिप्त प्रवृतिगत अध्ययन-
१. असीम सागरः(वास्तविक नाम फत्तेमान श्रेष्ठ)- नेपालका असीम सागर केही वर्ष कालिम्पोङ बस्ता गजल-लेखनलाई अघि बढाउन निकै सहयोग दिएका छन्। गजल लेख्नु, अरूलाई लेख्न सिकाउनु, प्रेरणा दिनु जस्ता काम गरी कालिम्पोङलाई गजलमय परिवेश बनाउन उत्प्रेरक बनेका हुन्। असीम सागरका दुईवटा गजलसङ्ग्रह प्रकाशित छन्- जून पोखिएको रात(२००७) र अस्तित्वका आवाजहरू (२००८)। यसका साथै उनको एउटा गजल-वाचन सिडी स्वर्ग पुग्ने सपनाहरू पनि पाइन्छ। कालिम्पोङको बसिबियाँलो भेला, साझा साहित्य मञ्च भेला र अन्यत्रका साहित्यिक समागममा उनको मिठो र रसिलो गजल-वाचनले सबैलाई मन्त्रमुग्ध पार्ने गर्थे। जून पोखिएको रात सङ्ग्रहमा जम्मा अठासीवटा गजल समावेश छन्। यसमा प्रेम प्रीतिका रागात्मक अनुभूति, जीवनमा आइपर्ने आशा,-निराशा, सङ्घर्ष, जातीय स्वाभिमान, नैतिक सन्देश, सामाजिक चिन्तन आदिलाई उनले प्रस्तुत गरेका छन्। अस्तित्वका आवाजहरू गजलसङ्ग्रहमा दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको समर्थन र भावनात्मक सहयोगका निम्ति रचिएको पाइन्छ। पाठक र श्रोतामा पर्ने सम्प्रेषणका पक्षमा उनका गजल सफल छन्। गजलमा हुनपर्ने काफिया र सबै पक्षलाई उनले पक्रन सकेका छन्।
२. कमल रेग्मी (जन्मः ११ नोभेम्बर,१९७८, गैरीबास)- एकजना प्रतिभाशाली गजलकार हुन् कमल रेग्मी। अहिलेसम्म उनका दुईवटा गजल-सङ्ग्रह ऋतुगीत(१९१०) र कमलकोठी(२०११) प्रकाशित छन्। ऋतुगीतमा बहत्तरवटा र कमलकोठीमा अड्सठ्टीवटा गरी जम्मा एक शय चालिसवटा गजलहरू पाइसकेका छौँ। उनको ऋतुगीतका गजलहरू प्रेमपरक वा शृङ्गारिक चेतनाबाहेक युगीन विषयवस्तु, सांस्कृतिक, धार्मिक आस्था, राष्ट्रिय विडम्बना, उपभोक्तावादी संस्कृति, राजनैतिक विसंगति, विद्रूपता, अव्यवस्था, अराजकता, बेइमानी, सन्त्रास र समयका आवाजलाई वाणी दिन सक्षम छन् (भूमिकामा बासुदेव पुलामी)। यसरी उनी विषयवस्तु चयनमा कुशल देखिन्छन्। विश्व शान्तिको चाहना, मान्छेको पाखण्डीपनप्रति ठुङ मार्नु, जातीय स्वाभिमान पनि उनका गजलका विषय हुन्। जीवनका उकाली-ओराली, मोड-उपमोडलाई रेग्मीले मिठा अभिव्यक्तिमा स्वर दिएका छन्। कमलकोठी अझ तिख्खर बनेको छ। उनका गजलमा भावसचेतता र शैली सचेतताको सन्तुलन पाइन्छ। गजलमा आक्षरिक तय र सामान्य नियमहरूको पालन गरिएकै छ बहरको प्रयोग भने पाइन्न। जे होस्, कमल रेग्मी एक सचेत, सशक्त र उम्दा गजलकार हुन् र उनको गजल-लेखन भविष्य उज्ज्वल छ।
आँधी चलेकै छ, दीयो बलेकै छ
घोच्न वा सिलाउन सियो चलेकै छ।
····· ····· ····· ·····
बेघर भई तिम्रो घरमा बास माग्न आ'को होइन
भोकै बस्न परेर गाँस खोस्न आ'को होइन।

३. सुबास श्रेष्ठ(जन्म- १२ डि. १९८५, अलगडा)- नेपाली गजल क्षेत्रमा सुबास श्रेष्ठ एक उदीय नाम हो। अहिलेसम्म हामीले उनका एकल र संयुक्त गरी जम्मा तीनवटा गजल-जल, गजल-दीप र समुद्र रोएको साँझ र फूलबारी (बालगजल संग्रह) गजलसङ्ग्रह पाइसकेका छौँ। खासमा भन्नु नै भने यता भारतको अहिलेको युवा पुस्ताका गजलकारहरूमा सुबास मात्र बहरमा लेख्न सकेका छन्। उनका प्रायः गजल नै बहरबद्ध छन्। समुद्र रोएको साँझ उनको सबैभन्दा उत्कृष्ठ सङ्ग्रह हो। य़समा बाउन्नवटा, गजल-दीपमा चालिसवटा र गजल-जलमा तेइसवटा गरी जम्मा एकशय पन्ध्रवटा गजल सङ्ग्रहीत रूपमा पाइसकेका छौं। उनले वार्णिक तथा आक्षरिक दुवै लय र कतै कतै लोक लयमा गजल रचना गरेका छन्। उनका फूलबारी, र बालगजल सङ्ग्रह रानी चरी पनि प्रकाशित छन्। उनको समुद्र रोएको साँझ गजलसङ्ग्रहका पन्ध्रवटा जति रचनामा हजज, मुतकारिब, मुतकारिब मुरब्बा सोलिम, मतदारिक, वाफिर, मुजारे, रमल इत्यादि तथा चौधवटा रचनामा संस्कृतका भुजङ्गप्रयात, स्रग्विणी, शशिवदना, तोटक,चम्पकमाला पञ्चचामर इत्यादि छन्द तथा नौवटा गजलमा बहर र छन्दको मिश्रित प्रयोग गरी आफ्नो रचना-कौशल र सशक्त कवित्व दर्साएका छन्। छन्द र बहरको निर्वाह मात्र नभई भाव पक्ष पनि प्रबल छन्। उनका गजलमा यौवनका मिठा भाव-तरङ्ग, जीवनका विविध अनुभव, आध्यात्मिक चेतना, मनका विरह, व्यथा, प्रेमका अनुभूति इत्यादि कुराहरू विषय-वस्तुका रूपमा पाइन्छन्। उनका अधिकाङ्श गजलमा काफिया-प्रयोगमा सचेतता पाइन्छ। बहर भएका बाहेक उनका अन्य गजलमा आक्षरिक लयलाई ध्यान राखिएको पाइन्छ।
जब चित्त शुद्ध हुन्छन् सब थान एक हुन्छन्
जब कर्म धर्म हुन्छन् सब मान एक हुन्छन्।
उनको अर्को गजल संग्रह तिमी नै भनन मा पनि ---वटा गजल समावेश छन्।

४. अनिल छेत्री (जन्मः२ अक्टोबर,१९८६,निम्बोङ,कालिम्पोङ)- संयुक्त गजलसङ्ग्रह गजल-जल (प्र.२००७)मा अनिल कुमार छेत्रीका तेइसवटा गजल समावेश छन्। उनका गजलहरूमा माटोप्रेम, जातिप्रेम, जीवनमा आइपरेका सुख-दुःखका अनेक भाव, नारीलाई जागरणको निम्ति प्रेरणा, माया-प्रीतिका अन्तरङ भावना, राष्ट्रप्रेम जस्ता विषयलाई कथ्य बनाएका छऩ्। उनको गजल-लेखन परिमार्जित, सबल र सशक्त छ। बहरको प्रयोग नपाइए तापनि आक्षरिक लयात्मकता, मिठा सूक्तिमयता पाइन्छ। उनले प्राय़ः गजलमा पूर्ण काफियाको प्रयोग गरेका छन्।
पुरूषप्रधान समाजभित्र झुक्नु हुन्न चेली तिमी
घरभित्र आगो मात्र फुक्नु हुन्न चेली तिमी।

५. वीरेन्द्र खँड्का(जन्म ७ मार्च,१९८६,कालिम्पोङ)- वीरेन्द्र खँड्का पनि नय़ाँ पींढीका एक सशक्त राम्रा गजलकार हुन्। उनका गजल-जल मा तेइसवटा र गजल-दीप-मा चालिसवटा गरी जम्मा त्रिसट्ठीवटा गजल सङ्ग्रहीत छन्। उनका गजल पनि आक्षरिक लयमा आबद्ध छन्। गाँउ प्रेम, जीवनका उकाली ओरालीको अनुभव र अनुभूति, जातीय भावनाका राग, जवानीका भाव-तरङ्ग, सांस्कृतिक चेतना, राजनैतिक चेतना,वर्गीय चेतना र माया-पिरतीका भाव नै उनका गजलका विषय हुन्। उनले बहर प्रयोग नगरे तापनि गजलका सामान्य काफिया र लयलाई समात्न सक्षम छन्।
पर्दैन जरै खोल्नु हातमा आरा दिए पुग्छ
बैरा ती कानलाई ठुलो नारा दिए पुग्छ।

६. सरिता समदर्शी - कालिम्पोङकी सरिता समदर्शीको गजलसंग्रह नभए तापनि उनका गजलहरू लछेप्रै प्रकाशित देखिन्छन्। उनका गजलमा वर्तमानमा विद्यमान राजनैतिक वितण्डामाथि व्यङ्ग्य, शोषण-दोहनप्रति विद्रोह भाव, नारी जागरण, प्रकृति चित्रण, मान्छेका विभिन्न चरित्रका चित्रण, जातीय चेतना इत्यादि जस्ता विषयवस्तु पाइन्छन्। अझ विशेषगरी समाजमा शिक्षा चेतना भारतीय समाजको एउटा विकृतिको रूपमा रहेको कन्या भ्रुणहत्यालाई गजलको विषयवस्तु बनाएकी छन्।
७. धिरेन संघर्षः (जन्मः ११ नोभेम्बर,१९८९, पत्थरझोडा, गोरूबथान)- २००९ सालमा नै यो व्यथा नामक गीत-गजल सङ्ग्रह प्रकाशित गरिसक्ने धिरेनको गत वर्ष २०१० सालमा मनोराग गजलसङ्ग्रह प्रकाशित भएको छ। यसमा जम्मा अस्सीवटा गजल सङ्ग्रहीत छन् औ प्रत्येक गजल नै चार-चार शेरका छन्। उनी गजल-लेखनमा दक्ष देखिन्छन्। भाव पक्ष र शिल्प पक्षतर्फ पनि निकै सचेत र सिपालु छन्। मान्छेका नैतिकता, ईश्वरप्रति आस्था, प्रेममा धोका, मान्छेका यान्त्रिक व्यवहारदेखि लिएर राजनैतिक व्यङ्ग्य इत्यादि कुराहरू पाइन्छन्। कतै स्वार्थी नेताप्रति ठुङ मारेका छन् भने कतै जीवन-दर्शनका अभिव्यक्ति र कतै क्रान्तिको विगुल छ। गजलका ठाँउ-ठाँउमा मिठा सूक्तिमय अभिव्यक्ति पनि छन्-
भाग्यमानी बन्छौ भने भाग्य आफै लेख्नुपर्छ
भविष्यका खुशी सारा आफैले देख्नुपर्छ।।
उनका गजलका एकाध ठाँउमा भाव खज्मजिएको,भाव मिलाउँदा शैली खस्किएको जस्ता केही कमजोरी नपाइने होइनन् यद्यपि आक्षरिक लय-विधानतर्फ भने उनी निकै सचेत देखिन्छन्। जे होस्, कलिलै उमेरमा पनि धिरेनले गजल-लेखनमा परिपक्वताको मार्ग पक्रेका छन् र उनको लेखनगत भविष्य उज्ज्वल नै देखिन्छ।
८. छुदेन काबिमोः कालिम्पोङका पत्रकार छुदेन काबिमो एक दक्ष गजलकार हुन्। उनको केही घाउ कोही मलम नामक एउटा गजलसङग्रह प्रकाशित छ। यसमा जम्मा चालीसवटा गजलहरू समावेश छन्। उनका गजलहरू रूप र भावपक्षमा सबल र सफल छन्। जातीय अस्मिताका कुरा, जनअधिकार, प्रेमका अनेक पक्षका अनुभूति, सामाजिक विसंगतिप्रति व्यङ्ग्य जस्ता विविध कुरालाई विषयवस्तु बनाएका छन्। उनले पूर्ण काफिया र आङ्शिक काफियाको प्रयोग गरेका छन्। बहर चाँहि उनले पनि प्रयोग गरेका छैनन्।
९. अरूण साङपाङ (जन्मः३० अगस्ट,१९८८, अलगडा)- साङपाङ एक होनहार प्रतिभाशाली गजलकार हुन्। सूरज सुब्बासित मिली उनले कालो गुलाब गजलसङ्ग्रह प्रकाशित गरेका छन्।यसमा उनका पचासवटा गजल छन्। उनका गजलमा आत्माभिव्यञ्जना, जीवनप्रति सकारात्मक दृष्टिकोण, प्रेम अनुराग, नैतिक सन्देश, माटो-प्रेम, सत्कर्मप्रति आग्रह, जाति-प्रेम, वर्तमानको माटाको आन्दोलन-प्रति समर्थन र सुझाउ, जीवनका विविध अनुभव इत्यादि विषयहरू सहज, सरल र कुशलतासँग अभिव्यक्त गरेका छन्। बहरको पालन नगरे तापनि आक्षरिक लयविधान र काफियाको सामान्य प्रयोग गरेका छन्।
१०. सुष्मा निर्दोषिका तामाङ (जन्म १९९२, गोरूबथान) - नारी गजलकारहरूको न्यूनतालाई केही हदसम्म भएपनि पहिलो गजलसङ्ग्रह 'स्मृतिका सौगातहरू' यस वर्ष (२०१२) मा लिएर देखा परेकी छन् निर्दोषिका तामाङ। यस सङ्ग्रहमा जम्मा ६२ वटा गजल सङ्ग्रहीत छन्। यसमा गाँउ प्रेम, जातीय चेतना, मातृप्रेम, युग चेतना, प्रेमानुराग र प्रेमपीड़ा, बेरोजगारी चेतना, जीवन-दर्शनका केही अनुभव, नशालु पदार्थ सेवन गर्ने युवापीँढ़ीप्रति विरोधजन्य व्यङ्ग जस्ता विषयवस्तु समेटिएका छन्। संरचना पक्षमा उनका गजल सशक्त छन्। उनले आफ्नो हृदयका रागात्मक अनुभूतिलाई सहजै र स्वाभाविक रूपमा अभिव्यक्ति दिएकी छन्। गजलका शब्द-शय्या, शब्द छनोटमा कुशलता, भाव कुँदाइमा सघनता र अर्थगत अभिव्यक्तिमा सशक्तता उनका गजलका वैशिष्ट्य हुन्। गजलमा नियम पनि पूर्ण रूपले परिपालन छैन तर गजलमा मुख्य गरी हुनुपर्ने काफिया पालन भने गरिएको देखिन्छ।
११. स्वर्णिम लिम्बू- कालिम्पोङ गोरूबथानका स्वर्णिम लिम्बू पनि आफ्नो पहिलो गजलसंग्रह 'पहिलो किरण' (२०१४) लिएर झुल्किएका छन्।
१२. सुरज सुब्बा - अरूण साङ्पाङसित मिलेर सुरज सुब्बाले पनि 'कालो गुलाब' गजलसंङ्ग्रह प्रकाशित गरेका छन्।
बलराम राई- धीरेन संघर्षसित मिलेर बलराम राई पनि मनको मझेरीमा नामक गजल संग्रह प्रकाशित गरेका छन्।
१३. अमर सोङदेन- पेदोङका अर्पण सोङदेन पनि आफ्नो गजल सङ्ग्रह लिएर देखा परेका छन्।
९. कालिम्पोङका गजलहरूको सामान्य प्रवृत्ति र विशेषताहरू
(क) कालिम्पोङबाट प्रकाशित गजलहरू विषयगत विविधता, शैलीगत सचेतता र विविधता, सरलता, स्पष्टता जस्ता विशेषता देखिन्छन्।
(ख) कालिम्पोङका सुवास श्रेष्ठ मात्र गजलका वास्तविक बहर, ढाँचा र लयलाई समातेर लेख्न सक्ने गजलगो हुन्।
(ग) यहाँ गजल समालोचना पनि फस्टिन लागेको देखिन्छ। गजल पुस्तकको भूमिकाका रूपमा भए पनि यस दिशातर्फ फस्टाउँदो अवस्था देखिन्छ। यस दिशातिर सुवास श्रेष्ठ, नवीन पौड्याल आदि देखिन्छन्।
(घ) यहाँबाट पनि बालगजल फस्टिदो अवस्था देखिन्छ। यस दिशातर्फ सुवास श्रेष्ठ नै अग्रणी र उल्लेखनीय छन्। उनका दुइवटा बालगजल सङ्ग्रह फूलबारी र रानी प्रकाशित छन्। यी गजलका माध्यमले उनले ससाना बालक-बालिकाहरूलाई नैतिक पाठ, उपदेश दिने काम गरेका छन्।
९. उपसंहार –
यसरी हेर्दा नेपाली गीत र गजलको लेखन र प्रकाशनमै कालिम्पोङ पनि अग्रिम पंक्तिमा रहेको छ। यहाँबाट दिनानुदिन गीत र गजलको लेखन क्रम बढ्दो छ। पुराना पुस्ताको बिँडो थाम्न नयाँ पुस्ताका युवाहरू पनि अगाडि बढेकै देखिन्छ।
प्रमुख सन्दर्भ ग्रन्थ –
१. कृष्णहरि बराल, गीत सिद्धान्त र इतिहास, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, २०६०।
२. दिलकुमार प्रधान (सम्पा.), भारेतली नेपाली कविता, वीरपाडा, वीरपाडा कलेज, २०१२।
३. शैलेन्द्र समदर्शी, गजल सिद्धान्त र सिर्जनावलोकन, खरसाङ. दो.सं.२०१४।
४. सहदेव गिरी (सम्पा.), चरित्र- समालोचना विशेषाङ्क, कालिम्पोङ, चरित्र प्रकाशन, २०११।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु