मताने साइँलो

- पुण्य खरेल

मताने साइँलो । यो नाम ‘मताने साइँलो’ले हाम्रा गाउँलेकै सबैजसो मान्छेहरूका मनमा एउटा छाप बसाएको थियो । मताने साइँलो जस्तो भन्ने बितिकै हामी– धेरै भात खाने खाइदेउ, धेरै गरुङ भारी बोक्न सक्ने बलियो, धेरै लामो समय भोकभोकै काम गर्न सक्ने ज्याद्रो, बसेपछि हत्तपत्त नउठ्ने र उठेर काम गर्न थालेपछि ठुलठुला काम गर्ने जोधाहा, अग्लो, मोटो, भारी भरकम शरीरको कसैसँग नडराउने मान्छेको रुपमा हामी बुझ्थ्यौं । एउटा लामो सधैंजसो फाटेको पिठ्यूँ, टालेको कुम र टालेको कुहिनु भएको मैलो दौरा र ठुटे सुरुवाल लगाएको, मैलो घेरा फाटिसकेको नीलो या कालो टोपी लगाएको, ठुल्ठुला फ्याउरी जस्ता खुट्टामा असाधारण ठुला पैताला खिइसकेका चप्पल लगाएको मान्छे, दाँतभरि सधैं पहेँलो दाँतेगुहू तथा खानेकुरा अड्किएको मताने साइँलो साँच्चै केटाकेटी तर्साउने किसिमकै थियो । ऊ नुहाउँदैन थियो कि ! सनक्क नुहाइधोइ गर्दैन थियो कि ! जहिले पनि तर्साउने जस्तो भएर, लामालामा नङ, झुप्प दारी, घुँडामुनि सधैं हिलामा या धुलामा डुबाइ राखेका जस्ता खुट्टा लिएर ऊ हिड्थ्यो । ऊ सुर्ती खान्थ्यो । लामालामा खोसेलामा सुर्तीका डाँक्ला खुर्किएर ठुलो ठुलो बेथ्र्यो र अघुल्टामा झोसेर सल्काउँथ्यो । काम गर्दैगर्दा सुर्ती खान बस्यो भने छिट्टै गर्दा पनि ऊ आधा घण्टा लाउँथ्यो लाउँथ्यो ।
मताने साइँलो । हामी डराउँथ्यौं उदेखि । केटाकेटीहरू डराउँथ्यौं उदेखि । तर कहिल्यै उसले कसैलाई केही गरेको भने देखेनौं, सुनेनौं । तर उसलाई हेपेको होच्याएको देखेका थियौं । काम गर्न घरमा आउँदा बरु उसलाई चाहिँ बासीभात खान दिएको, दालमा पानी थपेर दिएको देखेका थियौं । काम गर्दा यो भएन र ऊ भएन भनेर उसलाई खुप् अप्जस दिएको, गाली दिएको सुनेका थियौं । ऊ देखेर दिदीबहिनीहरू डराएको देखेनौं बरु दिदीबहिनीले उसलाई घिचुवा भन्दै, हात्ती भन्दै गाली गरेको सुन्थ्यौं । उसले कहिल्यै कसैलाई हप्काएको कुटेको देखेनौं । बरु उसलाई जति हप्काए पनि, गाली गलोज गरे पनि उसले मुख फर्काएको सुनेनौं, उ डराएको पनि सुनेनौं ।
मलाई राम्ररी सम्झना छ, गाउँमा जब कसैको घर बनाउने बेला भयो, निदाल बोक्नु प¥यो, मताने साइँलाको सम्झना सबले गर्थे । ढिकीको ओखली जब एक ठाउँबाट अर्को ठाउँ लैजानु प¥यो तब सबले मताने साइँलो सम्झनु पथ्र्यो । ठुलाठुला गरुङ बाकस जब बसाइँ ओसार्नु पथ्र्यो तब मताने साइँलाको नाम आउने गथ्र्यो । त्यसैले गाउँका केटाकेटी डरलाग्दो काम गर्न सक्ने व्यक्तिको रुपमा समेत मताने साइँलाको कुरा उठाउँथे ।
“यो त मताने साइँलाले पनि सक्तैन !... त्यो चुचे ढुङ्गो पल्टाउन त मताने साइँलो पनि सक्तैन ! ... त्यो रुख उखेल्न त मताने साइँलाले पनि ...” भन्थे । अर्थात् केटाकेटीमा सर्वशक्तिमान् राजाको ठाउँमा हामीबिच मताने साइँलो स्थापित हुन खोज्दै थियो ।
मताने साइँलो एक दिन बेलुका साँझपख लमक लमक हाम्रो आँगनको छेउबाट हाम्रो पिँढीतिर आयो । सिकुवा उक्लेर खाटमा घ्याच्च बस्यो । म किताब पढ्दै थिएँ ।
“ठुले ! जेठाबा छैनन् घरमा ?” उसले मलाई चिनेको रहेछ । म दङ्ग परेँ ।
“बुबा भैंसी दुहुन जानुभएको छ घरपछाडि ! आइहाल्नुहुन्छ !” मैले भनेँ ।
“मताने साइँलो’, ठुलो टाउको, घेरो फाटेको टोपी, सुरुवाल फाटेपछि घुँडामुनि काटेर बनेको पुरानो ठुटे सुरुवाल तल ठुलठुला, लामालामा नङयुक्त खुट्टा, धुलैधुलो भएका खुट्टामा लगाएका टायरका बढेमानका फ्याट्फ्याटे । झुस्स नसुहाउँदा काला दारी, कति माया नलाग्दो, डरलाग्दो !’ म उसलाई हेरेको हेरेइ भएँ । मैले पढ्ने काम बिर्सेँ ।
“के हेरेको ठुले ? ... मान्छे देखेको थिनस् कि ?” उसले मैले उसलाई एक टकलाएर हेरिरहेको थाहा पाएछ । मलाई चोर पव्रmे जस्तै गरी उसले सोध्यो । के भन्ने के नभन्नेमा परेँ म ।
बुबा ढुङ्ग्रामा दुध लिएर आउनुभयो र भित्र पस्नुभयो । दुधको ढुङ्ग्रो सिँगौरामा झुण्ड्याएर थपक्क बाहिर निस्कनुभयो ।
“ए !ऽ साइँलो ! कताबाट आइस् त साँझ परेको बेला ? बस्तै गर् है ! म पाडो बाँधेर भैंसीलाई छ्यास्स घाँस फ्याँकी दिएर आउँछु” बोल्दै बोल्दै फेरि बुबा घरपछाडितिर लाग्नुभयो । किताबका अक्षर देखिन छाडे । मैले पनि किताब बन्द गरेँ ।
बुबा पनि आएर खाटको अर्को छेउमा बस्नुभयो र सोध्नुभयो– “के प¥यो साइँला यस्तो साँझ पख ? निक्कै दिन पो भयो यतातिर तँ नआएको पनि !”
“जेठा बा !” मताने साइँलो बोल्यो । म मताने साइँलाको बोली मन्त्रमुग्ध भएर सुन्न थालेँ । मलाई उसको बोल्ने पारा, उसको स्वर अनौठो लागिरह्यो । मैले उसलाई अप्ठ्यारो सजिलो जस्तो भए पनि सुमुसुमु काम गरेको र मिठो नमिठो जे भएपनि सुपुसुपु खाएको देखेको मात्र हुँ । मैले त उसलाई बक्क लाटो ठानेको हुँ । तर आज उसको बोली नौलो ठानेर सुनिरहेको छु । ऊ बुबासँग बोल्दै छ– “जेठा बा ! मैले अब जीउ छाडेँ ! म अर्काको बनीबुतो गरेर, पसिना पोखेर बाँचेको मान्छे हुँ ! मैले भातका गाँसगाँसमा सिता जति नै गाली खाएको छु । पानीका घुड्की घुड्कीसँग हेप्याइँ निलेको छु । जेठा बा ! मैले कसैको खाइबिगारेको छैन । गरिब छु ! कसैलाई चार पैसो दिन नसके पनि कसैको चार पैसा त्यस्सै लिएको पनि छैन ।”
“के भो साइँला ? कसले के ग¥यो ? मैले केही बुझिन । कि अन्तरेले केही भन्यो ? त्यो कता के बक्दै हिन्थ्यो अरे ! कि त्यसले तँलाई सोझो ठानेर केही ग¥यो ? हँ साइँला ?” बुबाले सोध्नुभयो ।
यस्तो घिनलाग्दो, लाटो जस्तो मान्छेको पनि चित्त रहेछ । यस्तालाई पनि पिर र नपिरको कुरा ! म छक्क परेँ । तर यो छक्क भन्दापनि यस्तो गौप्राणीलाई कसले दुःख दियो ? अर्काको काम गरिदिन मात्र जान्ने, अर्काको गाली र अब्जस खान मात्र जान्ने मताने साइँलो जस्तो मान्छेलाई कसले के दुःख दियो ? त्यस दुःख दिनेप्रति भित्रभित्र मलाई रिस उठ्यो ।
“हो जेठा बा ! अन्तरे बाउले मेरो जुठेल्नो जोते । आज ... मैले कसैलाई देखिन ! अघि नै केही हुन्थ्यो ! अघि नै केही भैसकेको हुन्थ्यो ! मेरो बाबु, मेरी आमा, मेरा दाजुभाइ जे भनेपनि त्यही मेरो जुठेल्नो हो ! सिस्नो होस् कान्लाभरि मेरो जुठेल्नामा, जुका लागून् मेरो करेँसामा, बलेँसीमा ! के भो त मेरो त्यही हो । त्यही झुप्रो हो ! मेरा बाबुको लास त्यही झुप्राबाट निस्क्यो । मेरी आमाको कोरो ढिकुरो मैले त्यही झुप्रोमा गरेँ । मैले त्यो तिम्री बुहारी त्यही झुप्रामा भित्र्याएँ । आज काँही नभएको त्यो अन्तरे बाउ भनाउँदो, तिम्रो भाइ, मेरो जुठेल्नो जोत्ने ? ... ” ऊ अति भावुक बन्यो– “गाउँका मान्छे भन्थे, ‘जेठा बा सज्जन छन्, जेठा बाले न्याय गर्छन्’ त्यसैले, त्यसमाथि तिम्रै भाइ ! एक वचन तिमीलाई भनूँ, सम्झाइ मागूँ भनेर, जेठा बा !” मताने साइँलाले निकै कुरा बिसायो । मलाई मताने साइँलाले त्यस्सै अन्तरे काकाको शत्रु बनायो । यस्तो सोझो मान्छेको जुठेल्नो जोत्ने, कतिले पनि नपुग्ने शोषक, जाली, झेली अन्तरे काकाप्रति मेरा मनमा त्यस्सै रिस र घिन पलायो ।
“मैले के गर्नु प¥यो त साइँला ? अन्तरे जब्बर छ । घमण्डी छ । भनेको के मान्ला र !” बुबाले भन्नुभयो ।
“जेठा बा ! तिमी एक वचन भन्देऊ ! सम्झाइ देऊ ! माने छन् भने ठिकै छ । मानेन छन् भने त्यस्सै बनिवास उस्सै वनिवास ! छोराछोरी भएका छैनन् । त्यो तिम्री बुहारी पनि भर्खरकै छे ! देखाजाला ! जन्मेको ठाउँ माया लाग्दो रहेछ ।” मताने साइँलाका अनुहारभरि कालो बादल पोतियो । “म भोलि आऊँ, जेठा बा ? कि के गरुँ ?”
“हुन्छ साइँला ! म त्यसलाई भोलि बोलाउन लाएर सम्झाइ हेर्छु ! साइँला ! रात प¥यो ! भात खाएर जा ! पर्खी ! तेरी जेठ्यामाले भात पकाइ होली ! तैंले यो पिँढी टेकिस् कि उसले तेरालेखि भात पकाएकै हुन्छे !” बुबाले भन्नुभयो । तर मताने साइँलो मानेन– “काम न काज ! त्यस्सै खानु हुन्न जेठा बा ! खाकै त हुँ नि भात ! त्यसमाथि घरमा पकाएर पर्खिरहन्छे !” भन्दै मताने साइँलो उठ्यो । ऊ आँगनबाट लमक लमक बाहिरियो । उज्यालो गैसकेकाले, अँध्यारोले पालो बुझिसकेकाले आँगनभरि उभिएको अँध्यारोले मताने साइँलाको सग्लो प्रस्थान मेरा आँखामा पस्न पाएन । उसका टायरका चप्पल आँगनमा बजेका आधारमा उसका लामालामा फड्का ठुलाठुला पैतालाको आवाजले उसले हाम्रो तघारो नाघेको मैले सहजै बुझें ।
आमाले भित्र टुकी बालिसक्नु भएको थियो । बुबा पनि भित्र पस्नुभयो । म पनि भित्र पसेँ ।
अर्को दिन राम्ररी उज्यालोले अँध्यारो सँग पालो साटिसक्न पाएकै थिएन, बुबाले मलाई ठुलठुलो स्वरमा अराउनुभयो– “जेठा ! ए जेठा ! जा जा ! अन्तरेलाई एक छिन् ‘बाबुले बोलाएका छन्’ भनेर बोला !”
मेरो मनमा हिजो मताने साइँलाले गरेका सबै कुरा आए । मलाई आफ्नै काकासँग धेरै रिस उठेको थियो । तैपनि म अन्तरे काकाकहाँ फुलको थुँगो जस्तो भएर पुगेँ । अन्तरेकाका भर्खर उठेर अङ्खोराको पानीले मुख धोएर जनैले हात बाँधेर जम्लाहात गर्दै हुनुहुन्थ्यो । मैले बुबाको कुरा बताएँ । केटाकेटी मान्छे– “हिजो मताने साइँलो आएको थियो” पनि उम्काएँ मुखबाट ।
अन्तरे काका दसथरी गाली बक्न थाले मताने साइँलालाई । “त्यो घिचुवा, भुसको धोव्रmाका दाजुले खाएको ... त्यस भैंसीखुट्टेले नतिरे कसले तिर्छ ? दाजुलाई, तेरा बाउलाई के चासो प¥यो ? के खोजि चाहियो उनलाई ? भाइले सम्पत्ति कमाउन लागेको देखेर डाइ लागेको होला ? ... दाजुभाइको जिन्दगी थुक्क ऽऽ कौरव र पाण्डवकै हो ! शत्रुशत्रुकै हो ! आफू र ! दाजु भनेर कति मान सम्मान ग¥यो ! उनलाई चाहिँ डाइ मात्रै छ !” मतिर फर्केर भन्नुभयो– “जाँदै गर् ठुले ! म आउँदैछु भन्नु बाबुलाई ! ...म आई हाल्छु !”
आखिर दुतै न ठहरेँ । रिठ्ठो नबिराई सुनाएँ घर पुगेर बुबालाई । बुबा अर्कातिर गम्भीर बन्नुभयो– “कहिल्यै मान्छे नहुने भो बज्या ! बाबुको अलिकति बचेखुचेको इज्जत के थियो, समाप्तै पारेर छाड्ने भयो ! बाबु मर्ने बेलासम्म पनि त्यस्कै चिन्ता गर्नुहुन्थ्यो ! ‘मूर्ख छ यो, काँचो छ यो, जेठा ! मैले तँ जस्तो पनि छोरो पाएर ढुक्क छु ! भाइलाई कुबाटोबाट उसको मूख्र्याइँबाट भाइ सम्झेर होइन छोरो सम्झेर जोगाउनू, जेठा !” बुबाका यी भनाइहरू सधैं मेरा कानमा गुन्जिरहन्छन् । फेरि अब अर्को रडाको निकाल्यो ।” बुबा बर्बराउनुभयो ।
अन्तरे काका पनि टोपीले मुख पुछ्दै, टोपी हातैमा लिएर आइपुग्नुभयो । मेरो मनमा कौरव र पाण्डवको यो कुरुक्षेत्र हुने हो कि भन्ने डर पनि लाग्यो । अन्तरेकाका आएर आज बुबालाई ढोगेनन् । त्यस्सै रातोरातो मुख पारेर मुढामा बसे । बुबा सुर्ती खाँदै काकालाई हेर्दै गर्नुभयो । काका आँगनतिर हेरेर बसिरहनुभयो । निक्कै वेरको चुपचाप र हेराहेर पछि बुबाले मुख फोर्नुभयो– “कति दिँदैछ अन्तरे, भैंसीले ? भैंसी त राम्रै निस्कियो भन्ने सुनेँ !”
“भैंसी कस्ताको सन्तान हो नि !” अन्तरेकाका बोल्दा अलिक आवेश आएकै बुझिन्थ्यो “र त ठटाएर ल्याएँ ! अधियाँ दिएको भन्दैमा त्यो गोब्रे त्यस्सै टुपीमा पुग्छ ! भैंसी पाँच हजारको भयो अरे, अनि एक हजार कटाएर उसलाई दुई हजार कि दुई हजार भन्छ !ऽ मेरो पालो पाँच सय रुपियाँ फ्याँकि दिएर ठटाएर ल्याएँ ! खालो सारोस् त्यस गोब्रेले के सार्छ ?” अर्को अन्यायी कुरा गरे अन्तरेकाकाले ।
“भैंसी त अहिले तैंले सुफत बेच्ने विचार गरिस् भने ६ हजार पैंसठ्ठी सयमा बिव्रmी हुन्छ अन्तरे ! त्यस गोबरधनले पनि त दुःख गरेरै पाल्यो । धेरै त मागेको पनि रैन छ ।” बुबाले बिस्तारो यो कुरा भन्नुभयो ।
“होइन दाजु !” काका अलिक आवेशमा आउनु भैहाल्यो– “तिमी किन मेरो सप्पै काममा आग्ला हाल्छौ ? सबै दाजुहरू यस्तै भाइलाई सेप्ने मात्रै हुन्छन् ? अरुअरुका त यस्तो देख्तिनँ ! दाजुभाइ मिलेर गर्छन् । हाम्रा चाहिँ मैले चार पैसा नाफा गरेँ कि ठुलेलाई कुदाइ हाल्छौ मलाई हप्काउन ! मैले तिम्रो कुरा बुझिनँ ।”
“हेर् अन्तरे !” बुबाले सम्झाउने सुरले भन्नुभयो “यी गरिब गुर्बाहरू भनेका फलफुलका बोट हुन् । फल लागेका बेलामा बोटै उखेलिस् भने अर्का साल के खान्छस् ? फल मात्रै टिपिस् भने त अर्का साल अर्का साल फल खान पाइन्छ ! त्यो गोबरधनले पनि त बाँच्नु पर्ला नि ! उसले पनि छोराछोरी पाल्नु पर्ला ! त्यस्तो निठुरी भएर, त्यस्का जहानैलाई धुरुधुरु रुवाएर तैंले अलिक ठिक गरिनस् ! दुई जना मान्छे राखेर, उसलाई पनि चित्त बुझ्दो गर्दा भैहाल्थ्यो !”
“तिमी गएर पुछिदेऊ तिनेर्का आँसु ! तिमी पालिदेऊ त्यस गोब्रेका स्वास्नी छोराछोरी ! तिमीलाई माया लागेछ । मभन्दा वरको भयो त्यो गोब्रे ? सहोदर भाइभन्दा नजिकको भयो त्यो ?” काका जङ्गिए । मुढाबाट उठेर आँगनमा ओर्लिए ।
“तिमी जैले पनि मेरो चार पैसा फलिफाप भएको रिस गर्छौ दाजु ! किन यस्तो डाइ गरेको ?” काकाले पेट फर्काएर मुख चलाउनुभयो । काका जङ्गिएको आमाले पनि सुन्नुभएछ । दैलामा आएर उभिनुभयो । काका सासारो कराउँदा बुबाकै गल्ती भएछ झै लागेछ कि, बुबातिर फर्केर भन्नु पनि भयो– “तिमेर्लाइ के पिर प¥यो त ? गोब्रेलाई पाँच पाँच सय रुपियाँ देकै रछ नानीले ! आफ्नो बेबहार गर्न नानीले पनि जानेकै छ ! ... बित्थामा दाजुभाइ बिच तात्तातो ! सुन्नेले देख्नेले के भन्छन् ? एका बिहानै !”
“अरु कुरा जे सुकै गर् हेर् अन्तरे !” आमाको कुरा भने सुनेको नसुन्यै झैं गर्दै बुबाले फेरि भन्न थाल्नुभयो– “तेरो दाजु हुँ ! बाबु बाँचिरहेका भए केही थेन । अहिले तँसँग चित्त नबुझ्ने जति मसँग आएर कोही रुने, कोही दङ्ग्याउने, कोही दागाधर्ने गर्छन् ! मैले जानेबुझेसम्म सम्झाउने बुझाउने गर्नु कि रमिता हेर्नू ? तैँ भन् ! तैंले कमाएको डाहा छ कि, तेरो माया छ ? अब हनुमानले झैं छाती खोल्न नसकेपछि बुझ्ने तेरै जिम्मा ! हिजो त्यो मताने साइँलो आएर अनेकन कुरा भनेर गयो । अहिले म चुपै लागुँला । त्यस्तो सोझो, एकोहोरो मान्छे छ ! जिउ छाडे जस्तो छ त्यस्ले । भरे केही भैहाल्यो भने अनि ‘ज्या है ऽ!’ भनेर मात्र हुन्छ भने म चुपै लागुँला !”
“के भन्न म¥याथ्यो त्यो घिचुवा, हात्ती ?” अन्तरे काका फेरि मुढामा बसे ।
“के भन्थ्यो र ! ‘जेठा बाले सम्झाइ दिनू ! सम्झे सम्झिन्छन्, नसम्झे यसै वनिवास उसै वनिवास !’ भन्थ्यो । तैं भन् त ! त्यही झुप्रो पनि तैंले दखल गरेपछि ऊ कहाँ बस्छ ? कोठाभित्र थुनेर बिरालो खेद्नु हुँदैन अन्तरे ! भन्दा तँ उल्टै मलाई दस थोक बक्छस् ! मलाई जति जे भन् ! दाजु हँु खप्छु ! अरु सबै म जस्तै हुँदैनन् !” बुबाले अन्तरे काकाको आवेशको पारो खसाउनु भएजस्तो त लाग्यो ।
“हेर दाजु ! अरु जे भन्छौ मानेकै हुँ ! त्यस मतानेले चाहिँ त्यो जग्गा छाड्नै पर्छ ! त्यस्ले जस्तो जिउ छाड्न जस्ले पनि जानेको छ ! ठिकै छ म पनि छाड्छु जिउ ! जे जे पर्छ ! त्यस मुलाको हप्काइसँग लत्रिएर ! तिमी लत्रेऊ ! मलाई मतलब छैन । मैले हिजो जोतिदिएँ ती सुर्कासुर्की उसको जुठेल्नो ! त्यसका पाखुरामा दम भए हिजै छाड्थ्यो उसको सस्तो जिउ !” काकाले सम्झिने सुर ल्याएनन् । एकोहोरो ढिपी कसे ।
बुबाले भन्नुभयो– “हेर् अन्तरे ! तैंले त्यसलाई रिन दिएको पनि होइन । अर्कैबाट त्यसका थाप्लामा सारिस् । मताने मानेकै थिएन । त्यो झेली पौडेलले त्यो पाप तेरामा सा¥यो । त्यसले साउँ कति दिएको हो ? कति पत्र व्याज र स्याज दोब्¥यायो ! त्यो मतानेले खाएको पनि होइन । उसका दाजुले खाएर आसाम पसेको छ अरे । तैंले कसरी उसको पुरै जग्गा जोतिस् ? न्याय निसाप पनि त एउटा कुरा हो !”
आफू नछोड्ने, नटेर्ने घम्मर गर्दै गए अन्तरे काका । बेलुकीपख मताने साइँलो फेरि हाम्रो घर आयो । सधैंभन्दा बेगल कुरा केही थियो भने मताने साइँलाले खुकुरी भिरेको थियो । उसका अनुहारभरि मडारिइ रहेको बादल हेरेर मेरो केटाकेटी दिमागले केही अनुमान लगाउन सकिरहेको थिएन । क्लेश मडारिएको हो कि उसको अनुहारमा या घरबार छाड्नु परेको व्यथा ! अन्तरे काकाप्रतिको बदलाको विष छरिएको हो उसको अनुहारमा वा यो अन्यायी समाजबिरुद्धको विद्रोह ! उसको अनुहारमा खुसी थिएन, तर ऊ गम्भीर भने देखिन्थ्यो । बुबासँग एक छिन गफ भैसकेपछि भने आव्रmोसित देखिन्थ्यो । त्यसबेला उसले भन्यो– “मेरो अडिने ठाउँ त्यही एउटा झुप्रो थियो । त्यही पनि अन्तरे ...ले अन्याय गरेर लुटेपछि, अझ मैले धेरैसँग हारगुहार गरेँ कसैले मलाई बचायौन ! अब मैले बिदेशीनै परेपछि ...” उसको बोलि रोकिन खोज्यो । एक छिनपछि भन्यो– “जेठा बा ! पछि कुनै दिन तपाईंलाई मन नपर्ने काम मबाट भयो भने मलाई परेको यो अन्याय सम्झेर माफ दिनुहोला । मलाई अन्याय भ’को छ ।” बोल्दै, आँसु झार्दै, मुठी कस्तै मताने साइँलो निस्केर गयो ।
× × × × × × × × ×
मेरो स्मृतिका उपरोक्त अक्षरहरू कहिल्यै धुमिल हुन पाएनन् । आज पनि मताने साइँलाले खुकुरी भिरेको त्यो भीमकाय आकृति मेरा आँखामा झलझल्ती छ । पेरुका साइनिङपाथका गुरिल्लाको कुरा गर्दा मेरा आँखामा त्यही मताने साइँलाको आकृति आउँछ । दक्षिण बिहारका नक्सलपन्थीहरूको चर्चा चल्दा होस् या रुकुम रोल्पाका माओवादीको कुरा गर्दा होस्, केटाकेटी बेलामा लेखिएको मताने साइँलाको आकृति परिपरिको भएर मलाई प्रभावित गरिरहन्छ ।
यता मैले त्यतिबेलै सुनेको हुँ कि मताने साइँलो हरायो । मताने साइँलोसँगै अन्तरेकाकाको निद्रा पनि हरायो । अन्तरेकाकाको निद्रा सँगै अहिले यस क्षेत्रका पुलिसको, सरकारकै निद्रा हरायो । एउटा अमानवीय अन्यायमा परेको मान्छे, पीडित युवक हराउँदा के हुन्छ ? कति गम्भीर कुरा रहेछ यो ! अचम्म लाग्छ मलाई अहिले । अन्यायको कठोर भावरमा पिल्सिएको त्यो सुधो मतानेलाई सङ्गीन अपराधीलाई झैं राइफलमा गोली चढाएर खोजिँदै छ भने अन्यायको ज्यूँदो मूर्ति मेरो काका अन्तरेलाई पुलिसले सुरक्षा गरेको छ ।
सुनिन्छन् अनेक अनेक कुराहरू अचेल– “समाजको यही कलङ्क मेट्छौं भन्ने नारा बोक्न लागेको छ अरे त्यो मताने साइँलो ! त्यस्तै नारा घोक्न थालेकी छ अरे उसकी स्वास्नी ।” अझ गाउँलेहरू कथा हाल्न, नारा हाल्न थालेका छन्– “रातसाँझ मताने साइँलो हरिया लुगा लगाएर गोली गठ्ठासँग हिड्छ अरे यही गाउँमा !” कोही भन्छन्– “मताने साइँलाकी स्वास्नी त पेन्टसर्ट पो लाएर राती राती घरघर गाउँ गाउँ चाहार्छे अरे !”

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु