रामेको खोजी हुनपरेको छ

- पशुपति पराजुली सालघारी

एक दिन हातमा खुकुरी बोकेर
निरङ्कुशताको समाधि गर्न
रामबहादुर सहर पस्छ ।
रामे शान्तिसेनाको योद्धा होइन
रामे लालसेनाको बहादुर पनि होइन
तैपनि
कहिले रगतसँगै सडकमा पोखिएर
कहिले गोली सबै छातीमै थापेर
देशका थुप्रै उडुस उपियाँ मा¥यो उसले
कैयौँ लामखुट्टेहरू पछा¥यो उसले
अनि ऊ लड्दै जाँदा
देश रुपान्तर भयो प्रजातन्त्रमा ।
तर आजभोलि
रामेका आँखाहरू कहिल्यै ओभानो छैनन्
र ऊ एक्लै पिँढीमा बसेर
खाटा बस्दै गरेका डाम र खतहरू सुम्सुम्याउँदै रुन्छ ।

कसैबाट वास्ता भएन उसको
उसको वास्ता हुनुपरेको छ ।
कहिले ऊ पशुपतिमा बटुको थापेर इज्जत फाल्न खोज्छ
कहिले बाग्मतीका किनारमा बालुवा चाल्न खोज्छ ।
आज यहाँ थुप्रै रामे निराश भएका छन्
र कैयौँ रामे हताश भएका छन्
अझै खोजी भएन रामेको
उसको आजै खोजी हुनुपरेको छ ।

रामेका शुभेच्छुकहरूमध्ये
तपाइँहरूमा कोही भए
कहिलेकाहीँ पशुपति जाँदा
मगन्तेहरूको लस्करमा
रामे छ कि भनेर हेर्ने गर्नू
कहिलेकाहीँ खोलाका किनारहरू घुम्न जाँदा
बालुवा चाल्दै छ कि रामे
भनेर खोज्ने गर्नू
उसको बहादुरी
आज घर न थरको भएको छ ।

उसलाई अलिकति
जीविकाको बन्दोबस्त गरिदिनुपरेको छ
उसको परिवारलाई अलिकति
राहतको अनुभूति मागिदिनुपरेको छ
किनभने उसले
प्रजातन्त्रका लागि ठूलो ‘गुन’ लगाएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु