एकपावा मिश्री

- गोपाल झापाली

विदेशी अतिथीहरु कार्यक्रम स्थल नजिकै आई पुगेको थाह पाए पछि कार्यक्रम स्थलमा हल्लि खल्लि बढ्यो । माईकको आवाज चर्को भयो । हेडसरका ओठ–मुख धपेडीले सुक्यो । कक्षा १ का साना ५ नानीलाई आमाका लुगा लगाएर सजिएर आउनुहै भनिएको थियो, पञ्चकन्या बनाउन । उनीहरुको संयोजक राधिका मिसले गरि रहेकी थिईन । स्वागतका लागि ल्याईएका माला उनले बोकिन । हेडसर र काका भनिने व्यवस्थापन समितिका पूर्व अध्यक्षले हातमा फूलको गुच्छा उचाले । टाठा बाठा अभिभावकहरुले पनि भेटे फूल र नभेटे पात बोकेर भए पनि स्वागतद्वारमा पुगे । यस बेला हेडसर कसैलाई केहि अह्राउन सक्ने अवस्थामा थिएनन्, छोडि दिए जसले जसरी गरोस भनेर ।
गाडी स्कुलको स्वागतद्वार नजिकै आएर झ्याप्पै रोकियो । शुरुमा देखिए धरणीधर । उनलाई धेरैले चिने । उनी यसै विद्यालयका पूर्व विद्यार्थी । गाविसका पूर्व अध्यक्षका छोरा । उनी विदेशमा अध्ययन सकेर उतै जागिरे छन् । उनलै चाँजो पाँजो मिलाएका हुन्, सहयोगदाता विद्यालय सम्म ल्याउने । उनका बुवा गाविसका पूर्व अध्यक्ष द्वारिकानाथ परिवार सहित काठमाण्डौ बसेको दशक नाघ्यो । माओवादी द्वन्द्वका बेला उनलाई खप्नु खानु भएन । युद्ध गर्नेहरुले सुराकी भने । छोरो बिदेश पठाएको भने । जमिन अँधिया दिएर कुत मात्र खाने सामान्ती भने । उनलाई खप्नु खानु भएन, जेथो सवै बेचेर काठमाण्डौ लागेका हुन् उनी । तिनैका छोरा धरणीधर, उनको पछि पछि उत्रिए प्रतिक्षाका प्रमुख पात्र, दाता मणिमुकुन्द शर्मा । अर्को ढोका बाट उत्रिए सवारी चालक र पछाडीबाट निकाले निक्कै गहु्रङ्गो झोला । सायद सवैले पर्खिएको धरणीधर, मणिमुकुन्द भन्दा पनि त्यहि झोला हो । सवैका आँखा झोला तिर गए । हेडसर र काका जम्लाहात गरेर अतिथीलाई स्वागत गर्न थाले । त्यसै बेला राधिका मिसले हेडसरलाई खुसुक्क कानमा भनिन्–‘सर माला ७ ओटा मात्र छ, पञ्चकन्याले दुवैलाई लगाई दिँदा तीन्टा नपुग्ने भो के गरौं ।’ धरणीधर तिर आँखा र मणिमुकुन्दसँग हात मिलाएका उनले छोटो उत्तर दिए–‘एक जनालाई मात्र माला लगाउन भन्नु, बाँकि राख्नु ।’ मिसले हतार हतार तीन कन्याको मालाको खोसिन् । उनीहरु छक्के परे । अतिथीलाई नमस्ते मात्र गरे । गजक्क पर्दै धरणीधर र मणिमुकुन्दले पुष्पगुच्छा थापे, माला भिरे । अतिथीलाई स्वागतसँगै लिएर हेडसर माईक समाउन पुगे, उनी कार्यक्रम सञ्चालक पनि थिए ।
पाहुनालाई मञ्च सम्म काकाले पु¥याए र आफु पनि छेउमा बसे । दुईटा सोफा उनकै घरबाट ल्याईएको थियो, पाहुना राख्न । उनीहरुलाई तेसैमा राखे र आफु स्कुलकै काठे कुर्सीमा बसे, उनीजस्तै पुरानो कुर्सीमा निस्किएको काँटीले उनको कमिज ध्वार्रर्रर्र पनि पा¥यो । सवैले थप्पडीको पर्रा छुटाई रहे । धन्न, कमिज च्यातिएको आवाज तालिका पर्रा विचमा हरायो । माईकमा बजेको यो नेपाली शिर उचाली संसारमा लम्किन्छ भन्ने गीत मधुरो पारे अपरेटरले अनि हेडसरले माईक समाते । माईकमा दह्रो गरि तीन पटक फु फु गरे, सोतेबाट आगो फुकेझैं । शुरुमा स्वागतका लागि विद्यालयका नानीहरुले तयार पारेको धिमाल नृत्य प्रस्तुत गर्न आग्रह गरे । माईकमा गीत छान्न एक छिन लाग्यो, नानीहरु तन्दाले बेरेर बनाएको स्टेजका अघि आए, दुई मिनेट गीत नभेटिंदा खुट्टाका औंलाले माटो कोट्याउँदै उभिए । जे होस, गीत बज्यो, नृत्य देखाई । पटङ्टङ्टङ् तालि पड्क्यो ।
कार्यक्रम सञ्चालनका क्रममा विद्यालय सम्म दाता ल्याउने धरणीधरको सक्दो देवत्वकरण गरे, हेडसरले । साक्षात भगवान, सवै पूर्व विद्यार्थीले उनीबाट सिक्न आवश्यक रहेको भने । कार्यक्रम चल्दै गयो । पालो आयो भाषणको प्रमुख अतिथी मणिमुकुन्दको । हेडसर मञ्चकै पछाडी उभिई रहे । उसले भाषण शुरु ग¥यो, विदेशमा रहँदा देश सम्झेर रात भरि सुत्न नसकेको बाट । अंग्रेजी ठाउँ कुठाउँ मिसाउँदै उसले देशका नेतालाई सक्दो गालि गर्दा सहभागी हो हो भन्दै पररररर तालि पिट्थे । आफुमा सानै देखि समाजसेवाको बानि बसेको भन्यो, आफ्नो घर पश्चिमको पडाही जिल्ला भएको, त्यहाँ यस अघि पनि धेरै सहयोग गरेको र यस पटक धरणीधरको कुरो काट्न नसकेर यो विद्यालयमा सहयोग गर्न आएको भन्दा माहोल स्तव्ध भयो । धेरैले साक्षात दयालू दधिचीको अनुहार देखे उसमा । बिदेशमा खुन पसिना बगाएर कमाएको पैसा काटेर सामाजीक सेवाका लागि सामाग्री लिएर आएको बतायो अनि धरणीधरलाई सहायता सामाग्री वितरणमा सहयोग गर्न आग्रह ग¥यो । विद्यालयको अवस्था देख्दा मन कुँडिएर आएको भन्दै यस्तो अवस्था हुँदा सम्म यहाँको समुदायले केहि नगरेको भन्दै उपस्थित सवैको उछितो काड्यो ।
हेडसरलाई विद्यार्थीहरु पालै पालो बोलाई दिन भनियो । उनले लुरुलुरु त्यसै गरे । अघिको गाडी चालकले गह्रुङ्गो झोला ल्याई दियो । धेरैको व्यघ्रताको घडी थियो यो । के होला सहयोग, बिदेशबाट ल्याएको जिनिस, भुराले चलाउन जान्ने हुन कि होईन । कौतुहलताको घडी टुङ्ग्याउँदै चालकले सहयोग सामाग्री मणिमुकुन्दका हातमा दियो, धरणीधरले सहयोग ग¥यो । कम्ति मेहनत गरेर तयार पारेको होईन नाम । आदिवासी, जनजाती, विपन्न, सिमान्तकृत सवैलाई समेटेर । हेडसरले नाम बोलाए पालै पालो । राजु धिमाल, सपना गुरुङ्, मन्जु तामाङ्, मोहन राई, सुजता लिम्बू, मन्दिरा पौडेल, बड्की हेमरम(सन्थाल), गीता राजवंशी, राजेश ताजपुरीया, मनकुमारी मगर...........। पालै पालो आए । धेरैका फाट्न थालेका लुगा, कसैका लोति छिनेर पाटाले गाँसेका चप्पल, नाकमा रहल पहल सिंगानका पाप्रा । केहि चाँहि चिटिक्क परेर सजिएका । बिदेशबाट आएको, यत्रो बिधी प्रतिक्षा गरिएको मान्छेबाट सहयोग थापे एक÷एक पेन्सिल र अभ्यास पुस्तिका । र पुरस्कार बितरण पछि भाषणको बिट मा¥यो–‘साह्रंै खुसी लाग्यो सहयोग गर्न पाउँदा र आग्रह गर्नु हुन्छ भने बिदेशका अन्य साथीहरुबाट पनि संकलन गरेर थप सहयोग गर्ने छु, सहयोग गर्न पाउँ, जीवन बिदेशमा बिताउँदिन, कमाई सकेर स्वदेशकै सेवा गर्ने बिचार छ........।’
हेडसरको अनुहारको चमक सस्तो सुतीको साडी पहिलो पटक धुँदा रङ्ग गएर खुलिईलिएको जस्तै भयो । धरणीधरले पनि उसै गरि भाषण ग¥यो–‘धन्य भएँ म, आफुले पढेको स्कुलमा बिदेशबाट पनि सहयोग जुटाउन सफल भँए, मैले सायद मेरा गुरुहरुको ऋण तिर्न सके होला, मेरो थप प्रयास जारी छ, मेरो बुबाले यो गाउँलाई लगाएको गुनबाट म पनि प्रेरित छु, मेरो मनमा यो गाउँ सधै जिवित रहने छ..........।’
कार्यक्रम सकियो । अरु विदा हुँदै गए । धरणीधर र मणिमुकुन्दलाई काका र हेडसरले विद्यालय पनि घुमाए । भत्किएको भवन देखाए, चुहिने छानो औंल्याए । यतिन्जेलमा राधिका मिस र वीरेन्द्रले अफिस कोठामा खाजा ठिक्क पारेका थिए । लोकल कुखुराको भुटुवा र चिउरा । हेडसर र काकाको अग्रह पछि दुवैले थपि थपि खाए । अन्त्यमा धरणीधरणले दाँतमा अड्एिको हाड कोट्याउँदै भन्यो–‘ ए वीरेन्द्र तिमिले बनाएको, साह्रै मिठो रहेछ ब्रदर ।’ के चाहिएको थियो, उ पनि दङ्ग प¥यो र मसक्क पर्दै भन्यो–‘खै दाइ, जिस्क्याको पो हो कि ।’ मणिमुकुन्दले पनि मिठै भएको भन्दै मुखको गाँस नसक्दै सहि थप्यो । वीरेन्द्र चाँहि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष काकाको एक्लो छोरो ।
अन्त्यमा काका, हेडसर र सवै सर–मिसहरु बिदा गर्न स्वागतद्वार सम्म पुगे । गाडी चढाए, आभार टक्र्याए र जम्लाहात गरे । धरणीधरलाई धेरै धेरै धन्यवाद भने । सवैले द्वारिकानाथलाई नमस्ते भनि दिनु भने अनि सहयोग जारी राख्न भने । उनीहरु गजक्कै पर्दै हात हल्लाए । गाडी घ्याररररर ग¥यो ।
बाटो लाग्यो । फुङ्ङ धुलो उडायो । सवै अनुहारको धुलो पुस्दै स्कुल तिर फर्किए, मनमा एउटा कौतुहल्ताले गुँड बनायो, अघि गहु्रङ्गो गरि उचालेको झोला कापी, पेन्सिल निकाल्दा पनि उस्तै गह्रौ थियो । के थियो होला त्यस भित्र ?
जे सोचेको थियो, त्यो नपाएको भन्दै हेडसरले अनुहार अमिलो बनाए । काका पनि खिन्न भए । स्कुलको अफिस कोठामा पुगे । विद्यार्थीलाई बाँढेको एक सेट विद्यालयका लागि उपहार भनेर दिएको थियो, अभ्यास पुस्तिका र पेन्सिल । प्रकाशसरले समाए र हेरे । उनको घरमा सानो किराना पसल पनि छ । ओल्टाई पल्टाई गरे र हेडसर र काकाका अनुहार तिर हर्दै भने–‘ए यो कापि त दमककै फ्याक्ट्रिको र छ, सर हामी यो पसलमा दश रुप्या गोटा बेच्छौं, पेन्सिल त उहि हो सवै ति ५ रुप्पे पर्छ ।’
हेडसरले खुईईई काडे र भने–‘काका यत्रो तामझाम गरेको, स्कुल छुट्टि गरेर कार्यक्रम गरेको जम्मा १५ रुपैयाँको कापि र पेन्सिल बाँडे र हिँडे । देशका सवैको उछितो काडे । समुदायले पनि सहयोग गर्नु पर्ने भनेर सवैलाई पढाए । फोटा खिचेर लगे अब कति सहयोग बाँढ्यौ भनेर बिदेशमा बेच्ने हुन ।’ काका बोल्नु अघिनैं लेखापाललै छोटो मौनता भङ्ग गरे–‘होईन सर, सवैलाई दोष दिनु हुँदैन । बिदेश गएका नेपालीले अस्ति भुईचालो गएका बेला कति धेरै सहयोग गरे । कति ठाउँमा अस्पतालनै बनाई दिएका छन्, कतै स्कुल चलाएका छन् । बिचराहरुले बिदेशमा बसेर पनि नाकाबन्दीका बेला गाउँ गाउँमा औषधी पु¥याएछन् । त्यसैले सवैलाई दोष चाँहि दिनु हुन्न है ।’ काका लेखापाल तिर फर्किए–‘खर्च चाँहि कति पुग्यो, जोड्नु भ्याउनु भयो ?’ पाईन्टको गोजीबाट खर्चको खेस्रा निकाल्दै लेखापालले जवाफ दिए–‘सवै यहिँ छ नि । माईकको १२ सय, तुल व्यानरको ७५०, फोटोकपि ३२०, नानीहरुलाई चिया बिस्कुट ख्वाईयो ९८०, चौरी पुराको चाँहि अलिक बढि छ, २२०० । तपाईको कुखुरा र चिउराको नजोड्दा ५ हजार ५ सय ४० ।’ काका बिदा माग्ने तरखरमा उठे र भने–‘ए भैगो त । दोष कसैलाई दिनु हुँदैन । तेति भानि गरे भन्नु परो नि । एउटा प्रवृति छ क्या समाजमा । एउटा छोराले बुढा भका बाउआमा साँझ बिहान छाद र छेर बोकेर भए पनि पाल्छ । गक्षे अनुसारको खुवाउँछ, लगाउन दिन्छ अनि तिनै बाउ आमा धेर देखेर टाढा गको अर्को चाँहि दशैंमा एकपावा मिश्रि लेर आउँछ र बाउ आमालाई हैट, के लाको यस्तो, के खाको यस्तो, अलिक नरम खान देउ भनेर माग्नु नि भनेर उराल्छ तर एक दिन लगेर पाल्छु भन्दैन । बिचरा बुढा भका बाउ आमा पनि त्यो पाहुना भर एक दिन आउने छोराले ल्याको मिश्रिको गुलियोमा लट्टठ भई दिन्छन् र हो त, त्यहि छोरोपो मजको भन्छन् । मिश्रि ल्याई दियो, दुःख देखो भनिदिन्छ । दिनरात आँटो–फाँडो खुवाउने, छाद–छेर ओसार्ने छोरा बुहारी अव्डेरा ठहरिन्छ । यस्तै हो क्या । यि एकपावा मिश्रि ल्याउनेहरु देखि फेरि फेरि जोगिनु पर्छ । तर अपसज चाँहि कसैलाई नदिउँ ।’ यति कुरा राखेर उनी हिड्ने तरखर गरे, धानको कुन्यु लगाउनु रहेछ । सवै मास्टरहरु उठे र धन्यवाद सहित काकाको बिदाई गरे । हेडसरले पनि अरुलाई हतार लगाए–चौर भरि सवै समान असरल्ल छन्, थन्क्याएर जान बेर हुन्छ भनेर । काका घर तिर लागे, शिक्षकहरु कार्यक्रमका समान थन्याउन थाले ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु