वर्तमानका संवेदना तरङ्गित कविता

- दीपक सुवेदी

सायद, जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहँदा हामी, कहिल्यै जंघार नाघिसकेका चाहिँ हुँदैन रहेछौँ । बरु निरन्तर अनुभूति मात्र संगालिरहेका हुँदारहेछौँ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौँ रीतहरुलाई ब्यहोर्दै पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ हामीलाई । जब हरपल मुटुमा भावनाहरु सजीव भएर पाहाड जस्तै उभिन थाल्दारहेछन् । तब भावनाहरु कल्पनामा मुछिएर कवितामा तरङ्गीत हुँदारहेछन् । प्रकाशन मञ्जु अनु इन्टरप्राइजेस् मतिगढा, सिलगढीको रहेकोछ ।
हरेक व्यक्ति समयको साक्षी हो । यो समय अँधेरी रातजस्तै छ । मानवतामा समयले दिलाएका अनुभूतिहरु मनका तलाउमा तैरिरहँदा चेतनाका सोच र शिल्पका एकएक इँटाको जग उठाएर मानवताको घर बनाउन सकिन्छ भन्ने अभिप्रायले काव्य जगतमा धैर्यताकै आँखाबाट कवि युवराज काफ्ले २० थान कविताहरुको संकलन भाव तरङ्ग (२०१६) लिएर आएकाछन् ।
उज्यालोमा भएर पनि हामीमा उज्यालो घाम त कहिले पो लाग्ला र ! कि लाटोकोसेराहरm छन् रात खोज्नेहरm । कि उज्यालोमा अँध्यारोमा जस्तै आँखा देख्दै नदेख्ने अन्धाहरm छन् । तरङ्गले तरङ्ग तर्काउँदो रहेछ । तर्क र तरङ्गको जीवन जगत्मा तर्क पनि तरङ्ग बन्छ । तरङ्ग तर्किन्छ । तरङ्गैतरङ्गमा कवि युवराज काफ्ले पनि मच्चिएकाछन् । फगत तर्कलाई अङ्कमाल गर्दै मनलाई परै राखेर शब्दलाई आँखाले सुमसुम्याएकाछन् ।
भाव तरङ्ग शीर्षक हेर्दा यस्तो लाग्छ, साँच्चै गद्य कवितामा शब्द, संगीत र अभिप्राय हुन्छ । यसको सम्बन्ध बुद्घिसँग भन्दा हृदयसँग रहन्छ । तर युवराजले संग्रहका अधिकांश कवितामा मनभन्दा पनि दिमाग चलाएकाछन् । हृदयभन्दा पनि आँखा चम्काएकाछन् । तैपनि एकाग्र मनले भावनाका तरङ्गहरुको अनुमानमात्र गर्न सकिन्छ । यस्तो समयलाई आँखाले हेर्दा कति भावका तरङ्ग अनुमान गरिएला ? के के गरिएला ? तर युवराजले यसैका माध्यमबाट पुस्तकमा समयलाई चिहाउने कोसिस गरेकाछन् । पीवी सेलीले भनेझैँ युवराज पनि अनुभवजन्य समकालीन कविताका विधायक नै हुन् । त्यसैले राजनीतिक परिवेशले धमिल्याएको वर्तमान परिस्थितिका परिदृश्यको संकेत गरेर समकालीन यथार्थलाई कविले व्यक्त गरेका छन् । भन्छन् ः
बाटोलाई उधार्दै च्यात्दै
छेऊ–छाऊमा रुख रोप्दै
रुख हिंड्नु पर्छ
यी नयाँ बाटो हिंड्नु छ ।
(च्यात्नुछ अँध्यारोलाई–४९)

कवि युवराजले गोर्खाल्यान्डका लागि न उठ्न, न त सुत्न नै सकेको पर्वतकी रानीप्रतिको मातृ प्रेम र रतिरागात्मक भावनाको घेरामा उभिएर रचेका कविता पनि यस संग्रहमा रहेका छन् । तर, उनी प्रेमिका र मायालुका कुरा गरे पनि उनीहरुसँग उन्मत्त यौनमा फसेका छैनन् । न त कैँचीले जस्तो जीवनलाई दुई किनारा नै बनाएका छन् । छ त केवल अनि हुनु पनि पर्छ आफ्नै जीवनको गीतमा सृजनशीलता र लय भर्ने जिम्मेवारीको कलम युवराजसँग ।
प्रजातान्त्रिक मुलुकमा जस्तै कवितामा पनि आफ्नै निजी र बैयक्तिक चरित्रहरुको स्वतन्त्र अभ्यास हुन्छ । स्थानिक बुनोटयुक्त तार्तिक संरचना मानिने कवितामा बुनोट तथा बनोट दुबै अपरिहार्य नै हुन्छन् । यिनैको संयोजनबाट कविताले स्वतन्त्र अस्तित्व प्राप्त गर्छ । कविले आफ्नै भूमिकामा आमा, सिपाही, रावण, शुक्राचार्य, नेपोलियन, प्रेमीका आदि चरित्रहरुका माध्यबाट असन्तुष्ट भावमा अँध्यारो पाटोका कथा कविताका माध्मबाट सुनाउँछन् । ती कविताभित्र परिवर्तनको भोक तीब्र छ ।
स्वाभाविक हो, हेरेर शान्त भइनसक्नुको र सिलाएर टाली नसक्नुको समयले घाउ दिएपछि केही कवितामा एकातिर शान्तिका सुस्केरा र अर्कोतिर विद्रोह आउनु । कविले कविता लेख्दा आफ्नो दृष्टि रहेको समय लेख्ने हो । युवराजले वर्तमान समयको संवेदनालाई सुक्ष्म रुपले हेरेकाछन् । भाव तरङ्ग वर्तमानलाई हेरिएको सग्लो हेराइ हो ।
कविता कलामा रङ्ग, रोगन, वस्तुको मात्रा प्रयोग होइन, ध्वनि समेत दिएर पूर्व वातावरणको प्रभावलाई देखाउने प्रयत्न गरिएको छ । रोशन वर्गले भनेका छन् कला आँगन, सडक, चोक, गल्ली, बगैँचामा पुग्नुपर्छ । जहाँ पाठकसँग यसको भेटघाट होस् । यसैका लागि साँच्चै ज्याँ फ्रान्सकोस् लियोटार्ड, युवराज काफ्ले पनि भाषामा खेलिरहेका छन् । यथार्थ अबको युगमा सम्भव छैन । मिथ्या नै यथार्थ बन्न पुग्दछ । मानवजीवनले पूर्ण सत्यता पाउन गाह्रो छ । हामी आज मूल्यको विघटनमा उभिएका छौँ । सम्पूर्णता ल्याउन कठिन छ । कला द्वन्दात्मक कार्यमा मात्र सीमित रहँदैन । आनन्दताको खोजीमा पनि क्रियाशील रहन्छ । लुकाचका शब्दमा कृतिको प्रयोगजनशीलता कृतिमा चित्रित भावको वस्तुपरक सन्दर्भमा अभिप्रेरित रहेको हुनुपर्छ । जुन भाव तरङ्गमा पाउन सकिन्छ ।
कवितामा व्यक्तिका रागात्मक भावहरुलाई सामाजिक रङ्गमा रङ्गाएर व्यक्त गरिएको हुन्छ । त्यसैले कविता वर्गीय हुन्छ भन्ने माक्सवादी सौन्दर्यशास्त्रीहरुको अवधारणाप्रति पनि युवराजले सहमति देखाएकाछन् । युवराज लेख्छन् ः
हामी दास तिमी नोकर
के भो यहाँ पसिना झराई
पिता र पुर्खाका हड्डी घोटाई
नूनको सोझो सिपाही बनी
तिमीले के पायौ ?
(हामी सिपाही–५८)

विगतका अनुभूतिहरुलाई वर्तमानको कलमा खुटेर समुन्नत समाजको कल्पना गर्नु युवराजको राम्रो पक्ष हो । समाजमा एकातिर केही जो उर्लंदो नाफाको मोजमा डुबेका छन् । अर्कातिर दिनभरि परिश्रम गर्ने जसको स्थिति अति दयनीय छ । जगत्ले ओढेको परिचितताको बर्की कविताले उघारिदिन्छ भन्ने शेलीको धारणाझैँ त्यही बिम्बलाई टिपेर असमानता विरुद्घ युवराज उभिएका छन् । यो उनका कविताको शक्ति हो । अपूर्णता, भ्रामिक यथार्थ, प्रतीक संयोजन जस्ता पक्ष युवराज काफ्लेमा सबल प्राप्ति बनेर देखापरेका छन् ।
स्रष्टाका मानसपटलमा रहेका भावहरुलाई अभिव्यञ्जित गर्ने चित्रात्मक भाषा नै बिम्ब हो । युवराजका कविताहरुमा समसामयिक यथार्थबाट अभिप्रेरित भएर सिर्जिएका बिम्बहरुको प्रयोग बढी पाइन्छन् । समकालीनता हुनमा परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि सन्दर्भहरुको प्रतिबिम्बन हुनुपर्छ । अनि कवितामा यस प्रविधिको प्रयोग गरी पाठकको मस्तिष्कमा एब्स्ट्रयक फोटोग्राफी वा तस्विरको बिम्ब निर्माण गरिन्छ । भाव तरङ्गमा यो पनि गरिएको छ ।
युवराजले विभिन्न चिन्ह, प्रतीक, साधनको प्रयोगबाट पाठकलाई आकर्षण तुल्याउन अभिव्यक्तिलाई विभिन्न शैलीमा व्यक्त गर्दै आफ्नो कलागत् चिन्तनलाई आस्वादपूर्ण शिल्पशैलीमा सजाउने कोसिस गरेको देखिन्छ । अझ कवितामा आफूले भोगेका पीडा, घटना आदिलाई गाथाको रुपमा व्यक्त गर्ने कार्यमा पनि युवराज देखा परेका छन् । अबको कविता पढ्ने मात्र नभई हेर्ने कला पनि हो भन्ने मान्यतालाई यस कृतिमा युवराजले जोड दिएकाछन् ।
भाषालाई संकुचन गरी दृश्यको माध्यमबाट ठोस कला सृजना गर्ने प्रविधिको विकास स्वीस कवि इमुन् गोविगरले गरेका थिए । वर्तमान स्थितिमा अध्यात्म र भौतिकवाद, यथार्थ र परायथार्थ, सङ्घर्ष र पलायन, भाषा–संस्कृतिको मिश्रण, पुँजीवादी सन्जालमा नयाँ यथार्थलाई प्रतिविम्बन गर्दै प्राचीन शिल्प शैलीमाथि अविश्वासका साथ भाव तरङ्गका टुक्रहरु हेर्दा नयाँ प्रविधिको खोजीमा कवि लागेका पो हुन् की भन्ने आभास पाठकलाई लाग्न सक्छ ।
लेविसले भनेजस्तै सबै कविताहरुमा बिम्ब देखिन्छ । हरेक कविता आफैँमा पनि बिम्ब हो । प्रवृत्तिहरु त आउँछन्, जान्छन् । शैलीहरु पनि फेसनझैँ परिवर्तन हुन सक्छन् । थाहै नपाउने गरी तात्विक विषयवस्तु पनि परिवर्तन हुन सक्छ । तर रुपक भने कविताको जीवनसिद्घान्त बनेर कविको मुख्य कसी र गौरवका रुपमा रहन्छ । भाव तरङ्गमा हेर्ने हो भने यो कसी युवराजको कसिलो गौरवका रुपमा रहेको पाइन्छ ।
कवितामा लय र अर्थलाई अलग पारेर छुट्टयाउन सकिन्न । लयले शब्दको अर्थलाई अनुकुल तुल्याउने एवं बढाउने काम गर्नुका साथै पङ्क्तिको यथार्थ अर्थलाई भरथेग गर्ने काम गर्छ । त्यसैले आन्तरिक संगीत चेतना गद्य कवितामा पनि चाहिन्छ । यसमा कवि युवराजले आफ्नै स्वाभाव देखाएकाछन् । युवराजको स्वभाव र कविताको स्वभाव उस्तै उस्तै छ । कविताको स्वाभाव मौन विद्रोह हो । यसको अर्थ शब्दहीनता होइन । वाचालता हो । अतः समकालीन समयलाई नेपाली कविताका माध्यमबाट हेरिएको भाव तरङ्ग एउटा परिपक्क दृष्टि चाहिँ हो ।
छोटा कविताहरुले सानो स्पेस लिएका हुन्छन् । यिनीहरुमा विषय वस्तुको छनोट, त्यसको वहस, तर्क, विचारको संयोजन, कला र सौन्दर्यको प्रयोग, पात्र र प्रवृत्तको उठान नियन्त्रित हुन्छन् । त्यसैले पनि यिनीहरुलाई कुनै शैली विशेष र काव्यिक अनुसाशनका आधारमा हेरिनु आवश्यक हुन्छ ।
भावनाको तरङ्ग नाप्ने कुन स्केलले हो ? रातको अन्धकारभित्र छिर्न लालटिनको उज्यालो पनि काफी छ तर जीवनको विराट अन्धकार भित्र छिर्ने ज्योतिको स्रोत कहाँ छ ? तर पनि शब्दान्त्रका माध्यबाट भावनाको तरङ्ग नाप्न युवराज तम्सिरहेछन् । यो प्रशंसनीय नै छ । तथापि तम्सिनु र आँटा हुनु फरक फरक कुरा हुन् । यतिको समयसँग जीवन साटिसकेका कविले अभिव्यक्तिमा चाहिँ जोखिम उठाउनु पर्ने हो । आफैँ बाटो बनाउँदै हिंड्न मन पराउनु पर्ने हो । आँट हुनु पर्ने हो । साहस हुनु पर्ने हो । दर्विला पाइलाहरु टेक्नु पर्ने हो । तर आँखाभरिको यात्रामा कवि युवराज यसका विपरित पाइन्छन् । जसरी पछिल्लो समयमा कविताको स्केच खिच्ने गरिएको छ । त्यस दृष्टिले चाहिँ कविताले भने क्षितिज पक्रन सकेको छैनन् ।
नशा नशामा तातो रगत बग्न थाल्छन् (अनि उनी आउँछिन्–३७)
उजाड उजाड बारीमा मालीले जन्माउँछ सुन्दर फूल (कराँसोबारी पछिको साँध–४१)
प्रत्येक दिनले रातलाई सुपुर्द गर्छ । (नतङ्ग्रई नसुम्प–५३)
विभिषण अझ पातकी हो । (रावण शोषित र श्रापित–६२)
यी सत्य हुन् । तर सत्य सुक्तीमा गएपछि मात्र कविता हुन्छ । युवराजको आख्यानात्मक अनुभवको रन्कोमा विम्बहरु कवितामा कतै कतै भीड लागेर आएका छन् । तिनीहरुले पाठकको गतिलाई तराईका फाँटमा पुगेका नदी जस्तै बनाइदिन्छन् । रोबर्ट फ्रस्टले भने जस्तै कविता जोसुकैका लागि गहन हुनुपर्छ । त्यसलाई सस्तो रुपमा लिइनु हुन्न । कसले कति लेख्यो भन्दा पनि कति मिहिनेत गरेर लेख्यो हेरिनु पर्छ । कविताको विषय, शिल्प, रुप, भाषा, भाव तथा यस्ता सम्पूर्ण औजारहरूले खनेको बाटो भनेको त्यो काव्यिक सरलता हो । तापनि लामो साहित्यिक जीवन पछि युवराजले लेखेका कविताहरु काहीँ काहीँ लेखिनु पर्छ अर्थिनु हुन्न भन्ने लेखनले ताकेको बाटोमा हिँडेकाछन् । जसले गर्दा कविताको आधार शिविरमा रहेका पाठकका लागि कविता हाडे ओखर हुनसक्छन् ।
कवितामा थालनी, बीचको प्रवाह, आरोह र अवरोहको अन्तर सम्बन्धमा तादत्म्यता स्थापित गर्न नसके गद्य कविताले एउटा बग्दो नदीलेझैँ आन्तरिक लयात्मक ध्वनीहरूको संगीत उत्पादन गर्न सक्दैन । जसले गर्दा कविताको लय समाउन पाठकलाई हम्मे हम्मे हुन्छ । जुन राम्रो होइन कवितामा । युवराजका कतिपय कवितामा उही भावका शब्दहरु दोहोरिएर आएका पाइन्छन्, एउटै संग्रहका कविताहरुमा यस्तो पाइनु कृतिको सबल पक्ष पनि होइन । कवितामा शब्दको अर्थमा नौलोपन नआएका एउटै सन्दर्भ र शब्दको पुनरावृत्ति केही कवितामा आएकाले कविताहरुले अर्थ दोषको भार बोक्नुपर्छ । यस कृतिले लिएको ७६ पृष्ठ मध्ये ३८ पृष्ठमा मात्र कविताहरु रहेकाछन् । यसो हुनु बजारशास्त्रको दृष्टिले कविताका पाठकलाई भाव तरङ्ग घाटाको सौदाझैँ पनि लाग्नसक्छ ।

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 कार्तिक, 2073

लेखकका अन्य रचनाहरु