बेलायतको मन्दिरमा ड्रागनसँग जम्काभेट

- कृष्ण बजगाईं

बिहानै कारको सफाई सुरु भयो । तिर्थ यात्री बोक्ने गाडीले पनि स्नान गर्नु पर्दछ ? मन्दिर जाने भनेर विहानै स्नान गरेर आएको कान्छो छोरो सुयशको जिज्ञाशाले हँसायो । यतै जन्मेका बच्चाहरुलाई हाम्रो भाष, धर्म, संस्कृति र संस्कार राम्ररी बुझाउन नसक्नु मजस्ता धेरै अभिभावकको कमजोरी हो ।
बेलायतमा भर्खरै समर होलिडे सुरु भएको छ । यही मौका छोपेर घरबाट तीनसय साठी किलो मिटर टाढा हिन्दू मन्दिर भएको स्थान स्कन्दभेलको यात्राको तयारी छ । हामी श्रीमान्श्रीमतीको तिर्थयात्रा, छोराहरुको होलिडे । पाँच वर्ष अगिदेखि जान खोजरे पनि नमिलेको धार्मिक यात्रा यसपटक बल्ल जुरेको छ ।
कति खेर के हुन्छ थाहा नहुने बाटो एम–२५ को ट्राफिक जाममा फसि हालियो । झण्डै एक घण्टा कछुवाको चालमा रह्यो गाडी । हिथ्रो एयरपोर्ट कटेर अगाडि बढेपछि बल्ल मोटरवेमा गाडी चलाउनुको आनन्द आयो । त्यसपछि त गाडी बतासिदैँ गयो ।
सफा आकाशमा सूर्यको साम्राज्य अनन्तसम्म फैलिएको थियो । नेपालको भदौरे घाम सम्झदैं गर्मीलाई आफ्नै ठान्यौ । बाटाका दायाँबायाँ फराकिला खेतका फाँटहरु आँखाले अघाउन्जेल हेर्दै गयौं । निकैबेरको यात्रामा खेतका फाँट, भेडा र गाईहरु चरिरहेका चरन मात्र देखेपछि मेरो मनमा प्रश्न उठ्यो । बेलायत कृषि प्रधान देश हो कि औद्योगिक ? कुन ठाउँमा छन् हँ उद्योगहरु ?
दुई घण्टाको लगातार यात्रापछि ब्रेक लियौं । आआफ्नो रुची अनुसारको खाजा र ड्रिंक अर्डर भयो । मैले इटालियन कफि एस्प्रेसो लिएँ । युरोपमा कफि पिउने चलन खुब छ । उसै पनि रेडियोमा सरकारी विज्ञापन आउँछ–‘धेरै थाकेको बेला गाडी नचलाउनू । कतै पार्क गरेर आराम गर्नू र एक कप कफी पिउनू ।’ मोटरवेमा हुने अधिकांश दुर्घटनाको कारण थकानको बेला गाडी चलाउनु हो भनिन्छ । मैले एस्प्रेसोको अन्तिम घुट्को पिएँ । त्यसपछि हामी उठ्यौं ।
मोटरवेमा गाडीका ताँती छन् । अनुसाशित भएर आआफ्नो लेनमा दौडिरहेकाले हाम्रो गाडीले पनि बेलैमा गति पक्रियो । मोटरवेमा तोकिएको भन्दा तिब्र गतिमा गाडी चलाउँदा मात्र होइन कम गतिमा चलाउँदा पनि दुर्घटनाको कारण बन्छ । भनिन्छ मोटरवेमा दौडेका गाडीहरु मिसाइल जस्तै हुन्, एउटाको गल्तीले कम्तिमा दुईचार वटालाई दुर्घटनामा पारिहाल्छ । यस्तो बेला छैंठौं इन्द्रिय सक्रिय राख्नु पर्दछ ।
संयुक्त अधिराज्य बेलायतको इङ्ल्याण्ड राज्यबाट हामी वेल्स राज्यमा प्रवेश गरेको कुरा बाटामा राखिएको साइन बोर्डबाट थाहा पायौं । संसारका अधिकांशले इङ्ल्याण्ड भनेर देश बुझ्दछन् । वास्तवमा इङ्ल्याण्ड संयुक्त अधिराज्य बेलायतको चारवटा मध्य एउटा राज्य हो ।
अचम्म केमा लाग्यो भने मोटरवेका साइनबोर्डमा दुइटा भाषा थियो । एउटा अंग्रेजी र अर्को उच्चारण गर्न अप्ठ्यारो हुने भाषा । त्यो वेल्स भाषा हो भनेर जेठो छोरा कृतिसले बतायो ।
अहो ! बेलायत भित्र अंग्रेजी भाषा त जर्बजस्ती लादिएको पो रहेछ । सरकारी भाषा अंग्रेजी भए पनि उता स्कटल्याण्डमा स्कटिश भाषा बोलिन्छ, उत्तरी आयरल्याण्डमा आयरिश भाषा अनि वेल्स राज्यमा वेल्स । तर ती भाषालाई अंग्रेजी भाषाले विस्थापित गरिसक्न लाग्यो । सानो राज्य इङल्याण्डमा बोलिने अंगे्रजी भाषा संसारभर फैलिएर सबैभन्दा बढीले बोल्ने भाषाको रुपमा स्थापित भएको छ । यो कसरी सम्भव भयो ? यसका बारेमा अध्ययन गर्न मनलागेको छ ।
गाडीको कुदाइसँगै चार जोर आँखाले वेल्स राज्यको प्राकृतिक सुन्दरताको भरपुर मजा लिँदै थिए । दायाँबायाँ खेतका फाँटमा रमाउँदा रमाउँदै दायाँ पट्टीका अग्ला पहाडमा ठोकिए आँखा । अचानक कहाँबाट आए ती पहाड भेउ नै पाइएन । स्वदेशको सम्झना दिलाउने ती पहाड ठ्याक्कै उतैका जस्ता थिए । केही बेरको यात्रामा मन दौडेर नेपालको डाँडापाँखा घुम्न थाल्यो ।
पानीमा परेको सूर्यको किरण परावर्तन भएर आँखामा ठोक्कियो । पानीले स्पर्श गरिरहने बलौटे बगर परैबाट देखियो । त्यो त समुन्द्रको एक छेउ पो रहेछ । अहो ! प्रकृतिको कस्तो निर्माण ? त्यति छोटो दुरीमा तराईका जस्ता फराकिला फाँट, पहाड र समुद्र सबै छन् । समुद्रले मात्र हामीलाई ठगेको हो नि, अरु के कम छ र नेपालमा ? विदेशमा जन्मेका छोराहरुलाई नेपाली हुनुको गर्वबोध गराउँदछु ।
चार घण्टाको यात्रापछि होटलमा झोला बिसायौं । रात त्यहीँ बिताएर बिहानै मन्दिर निस्कनु छ । मन्दिर परिसरमा होटलकै स्तरको सुविधा सहित खान बस्न निःशुल्क ब्यवस्था भए पनि छोराहरुले मन्दिरमा बस्न नमानेका कारणले बाहिर बस्नु परेको हो । हुन पनि बेलाबेलामा यताका टेलिभिजनमा आउने नेपालको गरिबी तथा मन्दिर र धर्मशालामा आश्रय लिएका मानिसका कारुणीक दृष्य देखेकाले त्यही छाप परेको छ उनीहरुलाई ।
मन्दिर जान बिहानै स्नान पश्चात तयार भयौं । कहिले पहाडको काख त कहिले खोँच हुँदै चिल्ला र फराकिलो सडकमा गाडी दौडदै गयो । करिब पन्ध्र मिनेटपछि बाटो देखाउने स्टालाईट नाभिगेटरले मूल सडक छाडेर साँघुरो बाटोमा जान निर्देशन दियो ।
दाहिने पट्टी झाडी युक्त अग्लो भित्तो थियो भने देब्रे पट्टी तल भेडा चरिरहेको भिरालो जमिन । एउटा गाडीमात्र चलाउन मिल्ने साँघुरो बाटोले अत्यायो मलाई । ड्राइभर भएपछि डराउनु भएन ! म नडराए जस्तो गरे पनि बाटो देखेर छोराहरु डराए । गलत बाटो आयौं कि क्या हो भनेर जीवनसंगिनी सन्जुले आत्तिदै भनिन् । मैले गाडी रोकेर नाभिगेटरमा फेरी मन्दिरको ठेगाना हालेर हेरेँ । उही बाटो देखायो ।
जय काली भनेर गाडी अगाडि बढाएँ । हामी कालीकै पुजा गर्न जाँदै थियौ । आधीबाटोमा पुगेपछि विपरित दिशामा आएको गाडीलाई साइड दिनु पर्ने भयो । करिब पचास मिटर ब्याक गर्दै लगेर भित्तामा सेपेर गाडी रोकेँ । मलाई धन्यवाद भनेर उसले गाडी अगाडि बढायो । त्यसपछि सन्तोषको सास फेरेँ । गाडी ओहरदोहर गरिरहने बाटो किन चौंडा नबनाएको होला सरकारले ? कि हिन्दूको मन्दिर जाने बाटो भनेर भेदभाव गरेको हो ?
करिब बीस मिनेटको साँघुरो बाटोको यात्रामा भिरालो जमिनका दायाँबायाँ फाट्टफुट्ट घरहरु देखिए । के गरि खान्छन् होला त्यहाँका मानिसहरु ? हुन त वेल्स राज्य खेतिपाती र भेंडापालनको लागि प्रसिद्ध छ ।
दुबै तर्फ अग्ला अग्ला पहाडको बीचमा रहेको मन्दिर परिसरमा पुगेर कार पार्क गर्दा बिहानको पौने छ बजेको थियो ।
चलन चल्तीको भाषामा हिन्दू मन्दिर भनिए पनि सनातन धर्मको आधारमा विभिन्न आस्थामा विश्वास गर्नेहरुको आस्थाको केन्द्रको रुपमा स्थापित भएको छ त्यो मन्दिर ।
गोरा पुजारी भएको त्यो मन्दिर श्रीलंकामा जन्मिएका र दोस्रो विश्वयुद्धपछि बेलायतमा स्थायी बसोपास गरेका गुरु श्री सुब्रमण्यमले सन् १९७३ मा स्थापना गरेका हुन् । उनले दक्षिण–पश्चिम वेल्सको कमारथेनमा पशुपालन र खेतिपाती गरिराखेको एउटा फार्म किनेर क्रिश्चियनको देशमा हिन्दू धर्मको जरो गाडे । सहरको कोलाहाल भन्दा धेरै टाढा सुन्दर उपत्यकामा अवस्थित यो मन्दिर अलौकिक धाम जस्तो लाग्छ ।
मन्दिरको मुख्य पुजा सुरु हुन लागेकोले हामी काली मन्दिर लेखेको संकेत पाटी पछ्याउँदै उकालो लाग्यौं । सामान्य उकालो ठानेका थियौं । तर मन्दिर त निकै माथि डाँडामा पो रहेछ । करिब पन्ध्र मिनेट साँघुरो बाटो अनि ठाउँ ठाउँमा ढुंगा छापेर बनाइएको सिँढी उक्लिदै गयौं । समतल बाटोमा पाइलाले टेकेपछि बल्ल मन्दिर देखियो ।
‘ड्रागनदेखि सावधान’ लेखिएको फलामे गेट अगाडि पुग्दा सातो उड्यो । मन्दिरमा पनि ड्रागन ? ‘कुकुरदेखि सावधान’ लेखेको धेरैवटा घर नेपाल र युरोपमा देखेको थिएँ । तर ड्रागन लेखेको पहिलो पटक देख्दै थिएँ । किन कुकुर नराखेर ड्रागन राखेको भनेर अनेक तर्कना गरेँ । सायद मन्दिरको गेटमा कुकुर शब्द राख्दा नराम्रो र अशोभनिय देखिन्छ भनेर होला । फेरी पुजाआजामा कुकुरलाई अछुत नै मानिन्छ । त्यसैकारण कुकुरको सट्टा ड्रागन शब्द राखेका होलान् ।
हामी गलत बाटो गएकोले झण्डै ड्रागनसँग जम्का भेट भएको पो रहेछ । अर्को बाटो घुमेर काली मन्दिर पुग्यौं । हामी पुग्दा पुजा सुरु भइसको थियो । भित्र मन्दिरको कक्ष भरिएकोले बाहिर पट्टि अरु दर्शनार्थीहरुसँगै बस्यौं । भित्र गोरा जातिका पुजारीले गरेको पुजा बाहिर टिभि स्क्रीनमा प्रत्यक्ष प्रशारण भइरहेको थियो ।
संस्कृतका मन्त्रोच्चारण सहित निकैबेर गोरा पुजारीले कालीको पुजा गरेको श्रब्यदृष्य स्क्रिनमा हेरी रहेँ । नेपालमा विभिन्न प्रलोभनमा पारेर वा जोरजर्बजस्तीमा हिन्दूहरु क्रिश्चियन बनिरहेका छन् । यता स्वस्फूर्तरुपमा क्रिश्चियनहरु संस्कृतको अध्ययन गरेर मन्दिरको पुजारी बनेको दृष्य पत्याइ नसक्नुको थियो । मन उथलपुथल भयो ।
पुजा समाप्तीपछि भित्रका बसेका श्रद्धालुहरु निस्केपछि भित्र जाने पालो आयो । काली माताको दर्शन गर्यौ । गोरा पण्डितबाट टिका र प्रसाद गह्रण गरेर बाहिर निस्कियौं । ढोकामा टाँसिएको एउटा सूचना देखेर टक्क अडिएँ । लेखिएको थियो ‘यस मन्दिरभित्र दर्शन गर्न तीन दिन अगि माछामासु खान छाडेको हुनु पर्दछ ।’
युरोपमा हरिया सागसब्जी र तरकारी भन्दा मासु नै सस्तो र सहजै पाईन्छ । हामीले औला भाँचेर दिन गन्नै परेन । कालीमातासँग प्रायश्चित गरेर बाहिर निस्कियौं ।
मन्दिरमा जथाभावी फलफुल र भेटी चढाउन नपाईने रहेछ । प्रवेशद्धारमा रहेको पहेँलो दानपेटीकामा पाउण्डका केही नोट खसालेर अगि बढ्यौं ।
मनमा खुल्दुली लागि रह्यो । मैले नेपालमा देखेको काली मन्दिरमा पशु बली दिइन्थ्यो । यहाँ त दर्शन गर्न पनि तीनदिन अगि माछामासु छाड्नु पर्ने नियम ! एउटै धर्म तर परस्पर बिरोधी नियमको बारेमा थाहा पाउन मन लाग्यो । कुनै आधिकारीक ब्यक्तिलाई सोध्नु पर्ला भनेर हेर्दै थिएँ ।
निधारमा चन्दन र टिका लगाएका, लामो टुप्पी पालेका एक जना गोरा पुजारी भेटिए । पुजारीलाई सोँधे–‘यहाँ कालीमातालाई कहिल्यै पशु बली दिइँदैन त?’
‘अहँ दिइँदैन । कालीलाई नरिवल फुटाएको पानी र भित्रको गुदीमा रातो रंग लगाएर त्यही नरिवल चढाइन्छ ।’ पुजारीको वैज्ञानिक तर्क सुनेर सन्तुष्ट भएँ । वास्तवमा हाम्रो देशमा पनि शक्तिपीठमा चढाइने पशुबलीलाई यसरी नै विस्थापित गर्दै लैजानु आर्थिक दृष्टिले मात्र होइन स्वास्थ्यको हिसाबले पनि फाइदाजनक छ ।
श्रीलंकाका राष्ट्रपति त्यस मन्दिरमा दर्शनका लागि आएको बेला हात्ती उपहारमा दिएका रहेछन् । हात्ती, मयुर, भैंसी, राँगा आदि राखेको ठाउँमा जान समयले दिएन । बरु फर्कदा बाटा केही हरिणका बथान देख्यौं र त्यसैमा चित्त बुझायौं ।
बाटामा सुब्रमण्यम गुरुको प्रतिमा र उनलाई समाधिस्थ गरिएको ठाउँ देखियो । बडेमानको ढुंगा जसलाई शिवलिंगको रुपमा पुजा गर्ने गरिन्थ्यो त्यसै मुनि उनलाई समाधिस्थ गरिएको रहेछ । हुन त अधिकांश हिन्दू परम्परामा मृत शरिरलाई जलाउने चलन छ । तर ती हिन्दू गुरुलाई भने नजलाएर त्यहीँ समाधिस्थ गरी माथिबाट बडेमानको ढुंगा राखिएको थियो । पछि बुझ्दा थाहा भयो, ती गुरुमा भएको शक्ति उडेर नजाओस् भनेर त्यसो गरेको रे ।
त्यहाँबाट अगि आएको बाटो ओरालो झर्यौं । स्कन्दभेलमा तीनवटा भगवानको नाममा समर्पित मन्दिर मध्य दोस्रो श्री रंगनाथ मन्दिर परिसरमा पुग्यौ । कमलका पूmल फुलिरहेको एउटा सानो पोखरीमा फणा फिजाएको पंचमुखी नाग माथि विष्णु भगवान उत्तानो परेर सुतेको कलात्मक मुर्तिको दर्शन गर्यौं । त्यो दृष्यले एकैछिन भए पनि बुढानिलकण्ठ मन्दिरमा पुर्यायो । फोटो खिच्न मनाही भनेर ठाउँठाउँमा लेखिका सूचनालाई उल्लंघन गर्दै हतार हतार केही फोटो खिची भगवानसँग क्षमा मागेर तल झर्यौं ।
पालो आएको थियो तेस्रो मन्दिरमा भगवान मुरुगनको दर्शन गर्ने । त्यहाँ पुग्दा मन्दिरको ढोका बन्द थियो । साँझमा मात्र खुल्ने कुरा सूचनापाटीबाट थाहा लाग्यो । त्यती टाढाबाट आएकोले केही उपाय लाग्छ कि भनेर दायाँबायाँ हेर्दै थिएँ । निधारमा चन्दन टीका, गलामा रुद्राक्षको माला लगाएकि एक जना गोरेनी महिलालाई देखेँ । उनैलाई मन्दिर दर्शन गर्न चाहेको कुरा बताएँ । मन्दिर साँझमा मात्र खुल्ने बताइन । दर्शन गर्न नपाएपछि मन्दिरको बारेमा केही जिज्ञाशा राखेँ । उनले आश्चर्यजनक कुरा सुनाइन ।
हरेक आइतवार साँझ त्यस हिन्दू मन्दिर भित्र क्रिश्चियन धर्मको प्रार्थाना गरिदो रहेछ । हिन्दू देवताको मूर्तिलाई पर्दाले छोपेर अगाडि टेबलमा जिसस क्राइस्ट र मदर मेरीको तस्बिर राखेर करिब एक घण्टा पियानो, ढोल, झ्याम्टा आदि बजाएर प्रार्थना गर्दा रहेछन् । उक्त क्रममा दियो बाली, अगरबत्ती सल्काएर सुगन्धीत कपुर राखेको बत्तीले आरती गरिदो रहेछ । यस्तो कुरा थाहा पाउँदा अचम्म लाग्यो । त्यस हिन्दु मन्दिर भित्र ईशाई धर्मको ईश्वरलाई हिन्दु विधीद्धारा गरिने प्रार्थानाको अर्थ र उद्येश्यका बारेमा केही भेउ पाउन सकिन । हिन्दू र ईशाई धर्मको यो कस्तो फ्युजन हो ?
ठूल्ठूला रुखका जंगल र दुबै तर्फ पहाड भएको त्यस ठाउँलाई स्कन्दभेल भनिन्छ । हिन्दूहरुको ‘स्कन्द’ र अंगे्रजीको ‘भेली’ अर्थात उपत्यकाको छोटो रुप ‘भेल’ मिलाएर त्यस सानो उपत्यको नाम नै स्कन्दभेल बनेको रहेछ ।
मन्दिरको बारेमा उनले जानकारी दिँदा दिँदै हाम्रो अगाडि एउटा मिनी बसबाट एक हुल गोरा गोरीनीहरु उत्रिए । तिनीहरु मन्दिरमा पुजा गर्न र योग सिक्न आएका रहेछन् । हामीसँग कुरा टुङ्याएर तिनीहरुको स्वागार्थ लागिन ।
हामीले कार पार्क तिर पाईला चाल्यौं । ‘नो मोबाइल फोन’, ‘नो क्यामरा’ लेखेको साइन बोर्डले जता ततै पछ्याएको पछ्याई थियो । फेरि त्यहाँ पनि देखियो । किन यति धेरै सूचना पाटी राखेको होला भनेर मनमा कुरा खेल्यो । प्रकृति, परिवार प्रणतलाई बिर्सेर इलोक्ट्रोनिक्स दुनियाँमा रमाउने लत लागेका मानिसहरुलाई केही समयको लागि भए पनि प्रकृतिमा फर्काउन खोजेको होला भन्ने लाग्यो ।
त्यहाँको वातावरणले हामी सबैलाई मोहनी लगायो । समय निकै बितिसको थियो । प्रकृतिमा रमाएर केही दिन त्यहीँ बिताउँ जस्तो लाग्दै थियो । कम्प्युटरमा प्रोगामिङ गरेर राखे जस्तै यान्त्रिक जिन्दगीको कामका चाङ असरल्ल थिए । त्यसलाई छाडेर त्यहाँ भुल्न मिल्दैनथ्यो ।
मौसम चिसो हुँदै आएको थियो । भुईँ कुहिरोले हामीलाई स्पर्श गरेर डाँडा तिर लाग्यो । सिमसिम पानी पर्न सुरु भयो । हामी हतार हतार गाडी भित्र पस्यौं ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु