गरिमाले भरिएकी राधिका राया

- नरेन्द्रराज प्रसाई

राधिका राया नेपाली साहित्यमा कविता, कथा, निबन्ध, एकाङ्की लेखनमा समर्पित नाउँ हो । 'शारदा' पत्रिकामा समेत आफ्नो जोसिलो हस्ताक्षर समर्पित गर्ने रायाले नेपालमा मात्र होइन भारतको दार्जिलिङ, सिक्किम र आसाममा पनि प्रसिद्धि कमाएकी थिइन् । उनका कृति यताभन्दा उता पर्याप्त मात्रामा चर्चामा आएका थिए । नेपालकै कुरा गर्ने हो भने खास गरेर झापातिर चाहिँ उनको प्रशस्तै महिमा गाइन्थ्यो । उनी झापामा नै बसिन्, त्यहीँ गरिन् र त्यहीँ लेखिन् । उनको जीवनको आधा शताब्दी झापाकै सेरोफेरोमा बितेको थियो ।

राया स्रष्टा, शिक्षिका र समाजसेवीका अतिरिक्त झापामा चाहिँ राजनैतिक व्यक्तित्वका रूपमा समेत परिचित थिइन् । त्यतिमात्र होइन कुनै बेला राधिका राया भन्नेबित्तिकै दार्जिलिङ र सिक्किमका कलाप्रेमीहरू करतलध्वनिले स्वागत गर्थे । किनभने उनले त्यस भेकमा नायिकाका रूपमा पनि आफ्नो परिचय दिएकी थिइन् । बाल्यकालदेखि नै उनी अभिनयकलामा जागरुक थिइन् । किशोरावस्थामा उनले धेरै नाटकमा नायिकाको भूमिका निर्वाह गरिन् । युवावस्थामा पनि उनले आफ्नो अभिनयकलालाई जीवन्तता दिएकी थिइन् ।

रायाको जन्म १९८८ साल पुस १४ गते झापाको अनारमनिमा भएको थियो । उनका बुबा नन्दलालसिंह रायमाझी भारतको दार्जिलिङ र विहारको कटियारस्थित रेलसेवाको काममा थिए भने आमा लक्ष्मी रायमाझी गृहिणी थिइन् । अनि यिनको बाल्यकाल खरसाङ र दार्जिलिङमा बितेको थियो । साथै शैक्षिक योग्यताका हकमा रायाले दार्जिलिङको सेन्टजोसेफ कलेजबाट आईए पास गरेकी थिइन् ।

राया २०२३ सालमा कोलकाता पुगिन् । त्यहाँ ब्रिटिस ट्रान्जिट क्याम्पमा नै उनी बस्थिन् । उनी त्यहाँ शिक्षिका भएताका त्यहीँका क्याप्टेनसँग उनले प्रेम गरेकी थिइन् । त्यही प्रेम झाङ्िगएपछि उनले २०२५ सालमा विवाह गरेकी थिइन् । बैंसले फक्रेका बेलामा नै कप्तान बुद्धिमान लेप्चाले रायासँग वैवाहिक जीवन गाँसेका थिए । यी दम्पतीबाट एउटी छोरी रविना लेप्चा जन्मिन् । अनि त्यसपछि यी दम्पती एकअर्कामा प्रायः टाढाटाढा हुन थाले । २०५८ चैत २९ गते कप्तान लेप्चा पृथ्वीबाट ओझेल परे ।

रायाले आफ्नी आमाको प्रेरणाले लेखिन् । आफू सात कक्षा पढिरहेका बेलादेखि नै उनको अच्छा राई रसिक र अगमसिंह गिरीसँग गहिरो हेलमेल थियो । त्यतिबेला ती दुई भाइसँगको संसर्गले उनलाई साहित्यसृजना गर्ने रहर, इच्छा र आकाङ्क्षा जाग्यो । अनि उनले २००४ सालमा आफ्नो साहित्यसृजना जनसमक्ष ल्याइन् । त्यसपछि उनलाई लैनसिंह बाङ्देलले 'प्रभात' मा लेख्न आग्रह गरे; त्यहाँ उनले लेखिन् । 'प्रभात' को रचना मन पराएर पारसमणि प्रधानले पनि उनलाई आफ्नो 'भारती' मा लेख्न अनुरोध गरे; त्यहाँ पनि उनले लेखिन् । त्यसपछि उनी बिस्तारै चर्चामा आउन थालिन् । उनको लेखनस्तर परिपक्व पनि थियो । त्यसैले काजीमान कन्दङवाले पनि आफ्नो हस्तलिखित 'सयपत्री' पत्रिकाका लागि रायासँग लेख माग्न थाले । पछि सोही हस्तलिखित पत्रिका तुलसी अपतनद्वारा सम्पादित हुँदा पनि रायाका लेखहरू आइरहे ।

रायाले अघिल्लो समयमा नै धेरै फुटकर रचनाहरूको निर्माण गरे तापनि त्यस ताका पुस्तकाकार रूपमा उनको एउटा कथासङ्ग्रह 'तिमी नभएकी भए' मात्र छापियो । उनका फुटकर लेखरचनाहरू नेपाल तथा भारत, मलेसिया र सिङ्गापुरबाट प्रकाशित हुने नेपाली साहित्यिक पत्रपत्रिकामा छापिन्थे । साथै मलेसिया बसेताका उनकै सम्पादनमा 'उषा' नामक साहित्यिक पत्रिका प्रकाशन भएको थियो । उनका अन्य प्रकाशित कृति हुन् 'तिमी नभएको भए' :कथासङ्ग्रह (२०२३) 'जीवनको इच्छा' : एकाङ्की सङ्ग्रह (२०५९), 'उनी गएको गोरेटो' :कथासङ्ग्रह (२०६०), 'आत्मकथ्य (विविध' :२०६०), राधिका रायाका रचना २०६४, कला उपन्यास २०६६ । वास्तवमा उनका कृतिहरू प्रकाशन गर्ने क्रममा चूडामणि रेग्मीले उनलाई बाँचुन्जेल साथ दिइरहे ।

राया सरल थिइन् । उनको कोमल हृदय भए तापनि उनी भक्कानो छुटाएर रोएको क्षण दर्लभै मानिन्थ्यो । रुन मन लागेपछि परेलीबाहिर हत्तपत्त आँसु आउन नदिने उनको विशेषता थियो । उनी सहनशील भएका कारण रिस उठेका बेला पनि धैर्यको डोरीमा बाँधिएर मौन बसिदिन्थिन् । उनी खुसी हुँदा त्योचाहिं सबैमा बाँड्दै हिंड्थिन् ।

रायाको अधिकांश जीवन शिक्षणपेसामा नै समाप्त भयो । उनले चालीस वर्ष स्कुलमा पढाइन् । जसअनुसार उनले धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा ३ वर्ष पढाइन्, कोलकाताको सैनिक ब्यारेकपुरमा ५ वर्ष पढाइन् । अनि उनले मलेसिया र हङकङका सैनिक स्कुलहरूमा पनि १२ वर्ष पढाइन् । त्यसपछि उनले झापाको भद्रपुर माध्यमिक विद्यालयमा २० वर्षपढाइन् । जीवनको अधिकांश समय निरन्तर शिक्षण पेसा समालेर उनले २०५० सालदेखि यस पेसाबाट आफूलाई अलग्याएकी थिइन् ।

रायाले राजनीतिका क्षेत्रमा पनि आफ्नो व्यक्तित्वको पहुँच देखाएकी थिइन् । अध्ययनकालमा उनी दार्जिलिङको डम्बरसिंह गुरुङले अगुवाइ गरेको गोर्खा लिगमा लागिन् । त्यसपछि उनी नेपाल पसिन् र २००६ सालदेखि राणा शासनको विरोध गर्दै तत्सम्बन्धी सक्रिय मोर्चामा बाँधिइन् । जसले गर्दा पछि मातृकाप्रसाद कोइरालाले उनलाई एउटा विशेष समारोहमा सम्मान पनि गरेका थिए ।

नेपाली भाषासाहित्यमा लागेर आफ्नो नारीव्यक्तित्वलाई अरू नारीहरूको प्रेरणास्रोतका रूपमा प्रस्तुत गर्न सफल रायाको व्यक्तित्व गरिमाशाली थियो । उनको लेखनमा पनि नारी र तत्सम्बन्धी विषयवस्तु हुने गथ्र्यो अथवा उनी नारीका विषयमा बढी आफ्नो कलम चलाउने गर्थिन् । उनी आफै भन्थिन् "बाटो बिराएका नारीहरूलाई सही बाटोमा हिँडाउने लेखन मेरो कलमको विशेषता हो ।"
राया अत्यन्तै नरम, अत्यन्तै भद्र र अत्यन्तै सौम्य व्यक्तित्वले सिँगारिएकी थिइन् । उनको जीवनपद्धति नै प्रेरक थियो । उनी बाहिरी रूपमा जेजसरी प्रस्तुत हुन्थिन्; उनको मन पनि त्यत्तिकै खुल्ला र स्पष्ट देखिन्थ्यो । उनी कहिले मान्छेमाथि टेकेर हिँडिनन् बरु फलले भरिएको वृक्षझैं सदा निहुरिएर नै हिँडिन् । अथवा भनूँ अरूको सम्मानमा नै उनले आफ्नो जीवनलाई अघि सारिरहने गर्थिन् ।

महाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित राया नेपाल भारतका कैयौ ठाँउबाट पुरस्कृत र सम्मानित थिइन् । जुही त्रैमासिकको ४५ अङ्कमा 'राधिका राया विशेषाङ्क' नै समेत प्रकाशित थियो । उनी त्रिमूर्ति निकेतनबाट गठित प्रथम अन्तराष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनकी पनि सदस्य थिइन् ।

राया लामो समयदेखि आन्द्राको क्यान्सरले पीडित थिइन् । भारतको सिलिगुडीस्थित गेटवेल अस्पतालमा उनलाई उपचार्रार्थ पुर्याइको थियो । अन्ततः उपचारकै क्रममा २०६९ चैत १२ गते उनको त्यही अस्पतालमा निधन भयो । अनि उनकै पूर्वइच्छा अनुसार भद्रपुरको मेची नदीमा उनको दाहसंस्कार गरिएको थियो । उनकी छोरी डा.रविना लेप्चाले उनलाई दागवत्ती दिएकी थिइन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु