रुपक श्रेष्ठको पोख्तकमा नवरस

- दुर्गाप्रसाद पोख्रेल

श्रव्य काव्य पढ्दा वा सुन्दा तथा दृश्य काव्य हेर्दा वा सुन्दा जुन अलौकिक आनन्द वा आल्हादन प्राप्त हुन्छ , त्यसलाई काव्यको रस भनिन्छ। रसबाट जुन भावको अनुभूति हुन्छ त्यो रसको स्थायी भाव हुन्छ । काव्य रचनामा रस अपरिहार्य तत्त्व मानिएको छ ।'रसो वै स:' भनेर वेदले रसलाई नै ईश्वर मानेको र रस जीवनधारीका लागि प्रत्यक्ष वा परोक्ष लक्ष्य समेत मानिएको हुँदा रस सिद्धान्तवादीहरू काव्यबाट प्राप्त हुने रसलाई परमानन्द सदृश भन्न रुचाउँछन् ।

रसको सामान्य शाब्दिक अर्थ सारांश वा निचोड़ हो। काव्य लेख्दा पढ्दा वा सुन्दा जुन मजा आउँछ त्यो रस हो । साहित्यबाट पाइने आनन्द अर्थात् रस लौकिक नभएर अलौकिक हुन्छ। रस काव्यिक सिर्जनाको आत्मा हो र हरेक असल रचनामा रसको उपस्थिति आवश्यक छ । ईश्वी दोस्रो शताब्दीतिरका भरतमुनिले आफ्नो नाट्य शास्त्रमा काव्यमा आवश्यक तत्त्वका रूपमा रसको प्रतिष्ठापन गरे । उनका अनुसार काव्यिक रसका श्रृंगार, हास्य, रौद्र, करुण, वीर, अद्भुत, वीभत्स तथा भयानक गरी आठ भेद स्पष्ट छन् ।नवौ रसको रुपमा शान्त रसको समेत चर्चा गरेको पाइन्छ । भरतको सिद्धान्त अनुसार विभाव अनुभाव र संचारीभावको संयोगबाट यी रसको निष्पत्ति हुन्छ। प्रत्येक रसको आ-आफ्नै पृथक् स्थायीभाव छन् । श्रृंगारको स्थायी भाव रति, हास्यको हाँसो , रौद्रको क्रोध, करुणको शोक, वीरको उत्साह, अद्भुतको विस्मय, वीभत्सको जुगुप्सा वा घृणा, भयानकको भय तथा शान्तको स्थायी भाव शम वा निर्वेद हो। यस आलेखमा मुक्तककार रुपक श्रेष्ठको नवीनतम मुक्तक-काव्य 'पोख्तक'लाई रस सिद्धान्तको दृष्टिकोणले हेर्ने जमर्को गरिएको छ ।

मुक्तककार श्रेष्ठले रमणीय पोखरालाई केन्द्रविन्दु बनाएर आफ्ना एकसय पैतीस मुक्तकद्वारा पाठकसमुदायलाई रसमय बनाएका छन् । यद्यपि लेख्ने र पढ्ने दुबैमा समदूरीको काव्यिक अनुभूति बन्न सक्नु गाह्रो कुरा हो, तर पनि लेखक र पाठक दुवै रसमय बन्न सक्नु स्तरीय काव्यको लक्षण हो । आजको अति व्यस्त युगमा लामा लामा साहित्यिक सिर्जनाहरूमा पाठकहरूको रसमय मनोदशा धेरैबेर अडिएर रहन हम्मे हम्मे पर्दछ, किन्तु छोटा र बान्किला मुक्तकमा त्यो धेरै हदसम्म प्राप्त हुन सक्दछ । यसर्थ युगधर्म र पाठकहरूको मनोदशा बुझेर चल्न सक्नु लेखकीय बाध्यता मात्र होइन बरू त्यो समयको बोध र रसको उपस्थितिको सान्दर्भिक अन्वेषण भने अवश्य हो । आफ्नो जन्म थलो पोखरामाथि मुक्तक लेखनको चुनाई गर्नुले कवि श्रेष्ठ रसलाई अविरल चुम्न चाहन्छन् भन्ने नै पुष्टि हुन्छ :

हजार जन्म लिए पनि जन्मन पाइयोस् पोखरामै
छोरीको जन्म पाइयो भने अन्मन पाइयोस् पोखरामै
जननी जन्म भूमिंश्च स्वर्गादपि गरीयसी
हजार जन्म लिए पनि जन्मन पाइयोस् पोखरामै ।१३५।

मुक्तकमा पोखरामाथिको उनको आकर्षण भौतिक मात्र नभएर पराभूत र आध्यात्मिक बन्न पुग्छ । त्यो श्रद्धा र भावनामय बनेर मुक्तकमय भएर बग्दछ। रुपक श्रेष्ठ आफ्नो पहिलो मुक्तकमा शान्त रस अवगाहित गर्दछन् । भक्ति र श्रद्धाको भावले निमज्जित भएर उनको मंगलाचरण यसरी प्रस्फुटित भएको छ:

यो भक्तिको फूल हो मेरो पोखरालाई
यो प्रेमको फूल हो मेरो पोखरालाई
जननी जन्म भूमिंश्च स्वर्गादपि गरीयसी
यो श्रद्धाको फूल हो मेरो पोखरालाई ।१।

छोटो छरितो र चोटिलो हुनु मुक्तकको तन हो भने रसले बक्ता श्रोता दुवैलाई निमग्न गर्न सक्नु मुक्तकीय मन हो । मुक्तकको सफलता बक्ताको वाचकीय रसमा शुरु हुन्छ र श्रोताको श्रवण रसबाट बिस्तारित हुनपुग्दछ । काव्यिक रस वर्द्धनमा अलङ्कारको महत्त्वपूर्ण भूमिका रहन्छ । कवि श्रेष्ठ विशेष गरी उपमा अलङ्कार, उत्प्रेक्षा अलङ्कार, मिथक आरोपण, बिम्ब विधान र प्रतीक आदिको प्रयुक्तिद्वारा रसको उठान गर्दछन् । उदाहरणका लागि केही मुक्तकहरू हेरौँ-

उत्प्रेक्षा अलङ्कार:
पोखराको उत्पत्ति कसरी भयो भन्ने प्रसङ्गमा कवि विविध अनुमान र आफ्नो स्वकल्पना अनुस्यूत गर्दै भन्दछन् :

कोही भन्छन् हिमनदीले जन्मायो पोखरा
कोही भन्छन् समुद्रले उठायो पोखरा
हिमाल, पहाड, नदी र ताल कस्तो मिठो बान्की
म त भन्छु व्रह्माजीले बनायो पोखरा ।३।

भन्छन् कोही पखेराबाट बन्दै आयो पोखरा
भन्छन् कोही पोखराबाट बन्दै आयो पोखरा
जता टेक्यो पवित्र लाग्ने, सम्झेरै मन गदगद हुने
भन्छन् कोही स्वर्गबाट सोझै झर्यो पोखरा ।४।

उपमा अलङ्कार:

उपमा अलङ्कार कवि रुपकको सवल पक्ष हो भन्नुमा अत्युक्ति हुन्न । धेरैजसो मुक्तकमा उनी उपमाको संयोजनद्वारा मुक्तकीय रस उत्पन्न गर्दछन् । उदाहरणका लागि तलका निम्न मुक्तकहरू हेरौँ :

पोखरा अन्नपूर्ण हिमालको लहर हो
पोखरा सानो उपत्यका र सहर हो
जे सोच्यो त्यही फल्ने कल्पवृक्ष जस्तो
पोखरा कवि र कलाकारको रहर हो ।१०।

............
दुःखमा मल्हम नबन्ने सरकारले नै करोडौँ लुटेको सुन्दा
आँखा चिम्लेर ओक्लाहोमाको टोर्नाडो झैँ घुम्न मन लाग्छ ।६६।

माथिका मुक्तकमा प्रयुक्त कल्पवृक्ष र ओक्लाहोमाको टोर्नाडो सुन्दर उपमाहरू हुन् । रुपकको पोख्तकमा उपमा अलङ्कार सरल, सहज र भावपूर्ण भएर आएका छन् ।

प्रतीक अलङ्कार :

रुपक आफ्ना मुक्तकमा कतै व्यङ्ग्य त कतै समाज सुधारको सन्देश प्रवाहित गर्दछन् । उनले त्यस्ता मुक्तकमा सशक्त प्रतीक संयोजन गर्छन् र आफ्नो व्यङ्ग्य व्यापारलाई पठनीय बनाउँदछन् ।
उदाहरणका लागि एउटा मुक्तक हेरौँ :

हो यो सत्य हो समाजले परिवर्तन मागिरहेछ
हो यो सत्य हो देशले परिवर्तन मागिरहेछ
ए लाहुरे फूलको नाम परिवर्तन गर्छु भन्नेहरू हो !
तिम्रै घरको नाम परिवर्तन हुँदा कस्तो लागिरहेछ ?।५४।

यस मुक्तकमा प्रयुक्त 'लाहुरे फूल' प्रतीकात्मक अर्थ लिएर व्यङ्ग्यपूर्ण भएर आएको छ ।



बिम्ब विधान :

आफ्ना मुक्तकमा रुपक विम्बको समेत उपस्थिति गराउँदछन् जसबाट उनको काव्य सौष्ठव अझ तिख्खर बनेर देखा पर्दछ । उदाहरणका लागि निम्न मुक्तकहरू हेरौँ :

काँधमा देश बोकी हिड्छन् पोखरेलीहरू
रगतले देश लेखी हिड्छन् पोखरेलीहरू
देशले मागे कात्रो बाँधी आफ्नै शिरमा
छातीमा देश दुखी हिड्छन् पोखरेलीहरू ।५६।

देश उठाउने एउटा आधार पनि हो पोखरा
अचानोले भोगिरहने प्रहार पनि हो पोखरा
ती घुम्ने मेचमाथि बस्ने अन्धाहरूले सुनुन्
हरेक परिवर्तनको सूत्रधार पनि हो पोखरा ।५८।

माथिका मुक्तकमा प्रयुक्त 'रगतले देश लेखी, 'कात्रो बोकी आफ्नै शिरमा' घुम्ने मेचमाथि बस्ने अन्धाहरूले' आदि अभिव्यक्तिबाट समसामयिक सामाजिक परिस्थिति र पोखरा र पोखरेलीहरूको याथातथ्य बिम्बका माध्यमबाट कवि प्रस्तुत गर्न चाहन्छन् ।

मिथकीय आरोपण:

रुपकको अर्को महत्त्वपूर्ण चाख स्थानीय तथा पाश्चात्य मिथकमा पनि रहेको देखिन्छ । उदाहरणका लागि निम्न मुक्तकहरू हेरौँ :

किम्वदन्ती यो अन्नपूर्ण र गंगाजी भेट्नलाई
विन्ध्याचलबाट हिंडेकी देवी हिमाल जानलाई
स्वर्ग झैँ लाग्यो यो ठाउँ भनी पोखरा आइपुगी
सकिनन् अरे विन्ध्यवासिनीले पोखरा छोड्नलाई ।१२३।

प्रोमिथसले आगो चोरेर ल्याए स्वर्गबाट उनलाई पनि साधुवाद
मोतीले गजल खोजेर ल्याए वनारसबाट उनलाई पनि साधुवाद
धन्यवाद लोक कल्याणका लागि मह खोजेर ल्याउने सपूतहरूलाई
भूपिले मुक्तक रोजेर ल्याए वनारसबाट उनलाई पनि साधुवाद ।२५।

विन्ध्याचलबाट आएकी विन्ध्यवासिनीको पोखरामा अवस्थितिको किम्वदन्तीलाई उनले मुक्तकको स्वरूप दिएका छन् । काव्यिक गरिमालाई उनी सम्मान गर्दछन् त्यसैले भूपिले नेपाली साहित्यमा मुक्तक ल्याएको प्रसङ्गलाई प्रोमिथसले मानव कल्याणका लागि स्वर्गबाट आगो चोरेर ल्याएको मिथकसँग तुल्य र स्तुत्य मान्दछन् ।

अब पोख्तकमा नवरसको अन्वेषण र आस्वादन गरौं:

१) श्रृङ्गार रस: श्रृङ्गार रसको स्थायी भाव रति हो । रुपकको मुक्तकमा रति भाव हेरौँ :

सुन्दरी देखी कास्कीकै एउटी मस्किएँ म पनि
मुस्काए ओठ लजाए नयन हस्किएँ म पनि
दुई चुचुरा सुन्दर माछापुछ्रे हिऊँ झैँ डालमा
साँझमा सिन्दुर बेहुली घुम्टो झस्किएँ म पनि ।१०६।

यहाँ मुस्काएका ओठ र लजाएका नयनबाट श्रृङ्गार रसको उद्दीपन भएको छ । मनोरम सन्ध्याका बीच पोखरा मानौँ घुम्टोले छेलिएकी कुनै बेहुली झैँ भान हुन्छ कविलाई ।

२) हास्य रस: हास्य रस व्यक्तिको हाँसोसँग जोडिएको हुन्छ । कुनै उपहासयुक्त तत्व वा सन्दर्भको उपस्थिति गराएर कविले पाठक वा श्रोतामा हास्य संचार गराउँदछन् । कवि रुपकको एउटा मुक्तक हेरौ जहाँ उनले कुनै उपहासको पात्र र उसको हासउठ्दो क्रियाकलापको स्मरण गरेका छन्:
कतिले आफूलाई धरापमा राखेर उसलाई लुकायो
कतिले आफ्नो गाँस काटेर उसलाई खुवायो
कत्रो आसा थियो हेर पोखराको ऊ माथि
आखिर पोखरेली नाता उसैको भटटले टुटायो ।६७।

यस मुक्तकमा आएको 'भटट' शव्दले राजनैतिक वृत्तको कुनै एक पात्र सहजै स्मृतिमा ल्याउँदछ । दरवार हत्या काण्ड भए लगत्तै भएको त्यो भटट काण्ड नेपाली सामाजिक परिवेशमा अति नै चर्चित हुन पुग्यो । त्यसबाट पोखराले समेत आशा राखेको राजनीतिक व्यक्तित्व स्वयं उपहासयुक्त बन्दै पतन भएको कुरालाई कविले हास्य रसका माध्यमबाट प्रस्तुत गरेका हुन् ।

३) रौद्र रसः रौद्र रसको स्थायी भाव क्रोध हो । कवि आफ्ना समाजका विसङ्गतिको उद्घाटन मात्र गर्दैनन् बरू ती यदाकदा आफ्नो विद्रोही स्वभाव उजागर गर्दछन् । रुपक आफ्नो मुक्तकमा जनताको दुःखमा मल्हम नबन्ने बरु उल्टै लुट्ने सरकार देखेर यस्तो भाव प्रकट गर्दछन् :
.......
दुःखमा मल्हम नबन्ने सरकारले नै करोडौँ लुटेको सुन्दा
आँखा चिम्लेर ओक्लाहोमाको टोर्नाडो झैँ घुम्न मन लाग्छ ।६६।

यहाँ प्रस्तुत ओक्लाहोमाको टोर्नाडो विद्रोहको रौद्र रुप हो । जसरी टोर्नाडोले मानव वस्तीलाई तहस नहस पार्दछ, त्यसरी नै कवि विसङ्गत समाजलाई आफ्नो रौद्र रुपले भत्काउन चाहन्छन् । यसमा रौद्र रसको परिपुष्टि भएको छ ।
४) करुण रस: वियोगका माध्यमबाट करुण रसको जन्म हुन पुग्दछ । सांसारिक वियोगका अनगिन्ति रुप छन् ती मध्ये प्रिया वियोग र पुत्र वियोग अति नै संवेदनशील मानिएका छन् । पुत्र शोकले रुदै हिडेका सोतीलाई देखेर रुपकको कवि समेत भावुक हुनपुग्दछ:

कोही बिर्सन्छन् खाना खान कोही बिर्सन्छन् धोती
सबको पीडा पोखरामा पखाल्दिन्छिन् सेती
सुख दुःखको चौतारी हो साहित्यको बाटो
पुत्र शोकले पोखरामा रुदै हिड्छन् सोती ।३९।

लमजुङे कवि सोतीको शोकलाई समेत समाल्न सकेको छ पोखराले भन्ने भावबाट कविको मुक्तक घनीभूत बन्न पुगेको छ ।

५) वीर रस: कुनै वीरतापूर्ण वा उत्साहपूर्ण प्रसङ्गबाट वीर रस उत्पन्न हुनपुग्दछ । समाजमा भैरहेका विकास लहर, चेतनाको विस्तार आदिले समेत वीर रसको संचेतना ल्याउँदछन् । सामाजिक रुपमा सक्रिय समाजसेवी तथा देशका सपूतहरूको सम्झना मात्रैले पनि पाठक श्रोतामा उत्साहको अतिशय भाव अभिवृद्धि गर्दछ । रुपकको 'पोख्तक'मा पोखरालाई साच्चिकै पोखरा बनाउने कर्मवीरहरूको लामो फेहरिस्त नै देखिन्छ । भूपि, सरुभक्त जस्ता साहित्यका महान् साधकको मात्र चर्चा छैन त्यहाँ, त्यहाँ अमृत शेरचन जस्ता समाज सुधारका वीरहरू पनि समाविष्ट छन् :



विद्यालय अनि महाविद्यालय खोली चेतनाको दियो बाल्छन्
देशका लागि क्रान्तिका बिऊहरू आफ्नै घरभित्र हुर्काउँछन्
पोखरालाई उठाउन यस्ता यस्ता सपूतहरू जन्माए आमाहरूले
शिर सँधै ठाडो पारी सम्झने एक छोरा हुन् अमृत शेरचन ।८४।

६) अद्भूत रस: आश्चर्य अद्भूत रसको स्थायी भाव हो । कवि रुपक आफ्ना कतिपय मुक्तकमा आश्चर्य लाग्दो प्रसङ्गको उठान गर्दछन् । तलको मुक्तकमा हेरौं:

व्यङ्ग्य गर्छन् उपहास गर्छन् मान्दैनन् कहिल्यै भय
सत्तासँग मान्दैनन् डर छाड्दैनन् कहिल्यै लय
ह्विलचेयरमा पनि अग्ला देखिन्छन् उनी किनकि
पहाड जस्तै उचा छन् साहित्यमा विजय बजिमय ।८२।

ह्विलचेयरमा बसेका भएर पनि विजय बजिमयको उचाई पहाड जस्तै हुनुमा अद्भूत रसको प्राप्ति भएको छ । शारीरिक रुपले होचो देखिए पनि उनको साहित्यिक व्यक्तित्व ज्यादै उच्च रहेको कविको आशय तथा मूल्याङ्कन रहेको छ । यसबाट कविले व्यक्तिको व्यक्तित्व र उचाई शारीरिक अवस्थाबाट नभै उसको जीवन्त मानसिक वा बौद्धिक क्षमताबाट निर्माण हुने कुरा समेत व्यङ्ग्यका माध्यमबाट ध्वनित गरेका छन् ।

७) वीभत्स रस: घृणा वा जुगुप्सा वीभत्स रसको स्थायी भाव हो । घृणित मानव कृयाकलाप देख्दा कवि हृदयमा जुगुप्सा पैदा हुन पुग्दछ । नदीहरूमा विसर्जन गरिने ढल नेपाली समाजको सबैभन्दा लज्जित र घृणित अवस्था हो । राजधानीको वाग्मती हाम्रो अघि व्यङ्ग्य पस्किरहन्छ । कवि रुपक पोखराकी सेती नदीका बारे उस्तै चिन्ता र चासो व्यक्त गर्दछन् :

अर्मला र काहुँ हुँदै विजयपुर बग्छ पोखराको
सेती रुँदै हजारौँ पाप धुँदै लग्छ पोखराको
ब्युझन्छौ कहिले ? ए फोहरी कुम्भकर्ण हो !
लाजले भुतुक्क शिर यहीँ झुक्छ पोखराको ।७६।

यसरी कविले सेती नदीले रुदै पोखराको पाप धुनु र त्यो अवस्थाले पोखराले आफू सभ्य हुनुको अर्थ गुमाएकोमा कुम्भकर्ण जस्ता पोखरेलीले गर्दा सबैले घृणित हुनु परेको अनुभव शेयर गरेका छन् ।

८) भयानक रस: दृश्य वा अदृश्य भय नै भयानक रसको स्थायी भाव हो । पोख्तकको निम्न मुक्तकमा पोखरेलीहरू प्रकृतिप्रति उदाश बन्दै गए पोखराको प्रकृति कतै विनाश हुने त होइन भन्ने भय उपस्थित छ :

प्रकृतिलाई अनुकूल पार्न लौ सिकौं पोखरेली
प्रकृतिलाई मिचौंला भन्ने नसोचौं पोखरेली
पूजौं न माटो, हावा र पानी प्रकृति पूजारी
नरहे आफ्नै पोखरा कहाँ रहन्छौं पोखरेली ? ।७३।

प्रकृतिलाई मिच्दै जाने क्रमले अन्ततोगत्वा पोखरेलीलाई नै निमिट्यान्न पार्न सक्ने शंका कविले गरेका छन् । पोखरा नरहे पोखरेली पनि नरहने भय यहाँनेर उपस्थित छ । प्रकृतिको अनुकूलता भए मात्र प्रकृतिपूर्ण सुन्दर पोखरा रहने हुँदा तदनुरुप जीवन पद्धति चलाउन सिक्नु पर्ने कुरामा कवि प्रष्ट देखिन्छन् ।

९) शान्त रस: निर्वेद वा शम शान्त रसको स्थायी भाव हो । लोभ लालच सबै छोडेर विशुद्ध मनले तत्व चिन्तनमा रमेको प्रसङ्गबाट शान्त रसको निष्पत्ति हुन्छ । तलको मुक्तकमा हेरौं :

आकार भन्दा, प्रकार भन्दा कृतिलाई हेरियोस्
साधारण शब्द असाधारण विचार त्यो पनि गुनियोस्
छैन केही लोभ, छैन केही लालच, कर्म छ निरन्तर
बिखर्चीको जस्तो विशुद्ध मनले पोखरा भरियोस् ।७०।

यहाँनेर केही लोभ लालच नभएका बिखर्चीको प्रसङगले शान्त रसको उपस्थिति गराएको छ । आधुनिक भौतिक दौडधूप र लुछाचुँडीमा जीवनको रस गुमाइरहेका पोखरेलीहरूलाई कवि बिखर्चीको जस्तो विशुद्ध मन लिन र सादगी जीवन ज्यून प्रेरित समेत गर्दछन् ।

यी श्रृङ्गार आदि नव रसका अलावा कतिपय समालोचकहरू वात्सल्य र भक्तिलाई समेत अन्य थप दुई रसको स्थान दिन्छन् । आधुनिक समयमा प्रवासमा बसेर राष्ट्र प्रेमका भावहरू अभिव्यक्त गर्ने कवि साहित्यकारको राष्टप्रेमलाई छुट्टै रसको दर्जा दिन सकिने तर्क समालोचकहरूमाझ उठ्न थालेको छ । यी थप रसका दृष्टिकोणले समेत 'पोख्तक' आफ्ना विविध सटीक मुक्तकहरूद्वारा पाठक समुदायलाई रसान्वित गर्न पछि परेको देखिन्न ।

सारांशमा भन्नुपर्दा विषय वस्तुका आधारमा पोखराका विविध सामाजिक सांस्कृतिक भौगोलिक राजनैतिक साहित्यिक आदि पक्षहरूलाई समेटिएको कवि रुपक श्रेष्ठको मुक्तक संग्रह ''पोख्तक'' भिन्न भिन्न विभिन्न पोखरेली मुक्तकहरूद्वारा आफ्ना पाठकहरूलाई नव रसको काव्यिक आस्वादन गराउन सफल देखिन्छ ।

सन्दर्भ ग्रन्थ सूची:

1. ''नाट्यशास्त्र (अंग्रेजी अनुवाद सहित)'' भरतमुनि.
एसियाटिक सोसाइटी अफ बङ्गाल, कलकत्ता. 1951.

2. "पोख्तक". डा. रुपक श्रेष्ठ. मुक्तक मञ्च, पोखरा. 2014.

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु