पहिलो किस्ता

- टेकब कोइराला

(हास्यब्यंग्य कविता)
हाम्रा गाउँका कुइँकेल काका,
जिन्दगीभर, न मीठो खाए, न राम्रो लाए
न कहिल्यै तलव खाए, न चुनदाम भत्ता पाए
न कसैसंग घुस खाए, न केही सामानमा फाइदा उठाए ।
न कुनै नेताको गाना गाए, न कुनै बेइमानसंग मित लाए
यो धर्तीमा सिम्पल किसिमको खाल जमाए
त्यसैमा कुइँकेल काका काइदासंग रमाए ।

तर....... एकदिन अचानक,
जव हजार हजारको एक मुट्ठा पहिलो किस्ता पाए
कुँइकेल काका आफूलाई भुँइ न भाँडाको बनाए ।

पहिलाप्रथम टाउको धुन पनि सिलिक स्याम्पू लगाए
लकस साबुनले नुहाएर होला, पर-परसम्म मगमगाए
दोश्राप्रथम सिमेभुमे देउदेउतालाई धुपदीप नैवेद चढाए
मुख मिठ्याउनुस् हजुर ! भन्दै तीन किलो त लड्डु लडाए
जव हजार हजारको एक मुट्ठा पहिलो किस्ता पाए
कुँइकेल काका आफूलाई भुँइ न भाँडाको बनाए ।

पहिलो किस्ताबाटै नाडीमा एउटा झिल्के घडि लाए,
सेल्फी खिच्न मिल्ने एउटा मोबाइल बट्टा पनि समाए ।
सक्कली जस्तै देख्खिने गरगहनाले कुइँकेल्नी काकीलाई सजाए
एक-एक जोर खासाको कपडा र जुत्ता-मोजा भुराहरुले नि पाए।

पहिलो किस्ताबाटै बच्चाको इस्कुलको फिस बुझाउन पठाए
बल्ल इस्कूलले पनि कुइँकेलको नाम कालो सूचीबाट हटाए ।
केही दिनसम्म त बच्चालाई टिफिनखर्च नगदै दिइपठाए,
उता चनाचटपटे र पानीपुरीवाला पनि खुशीले तिघ्रा ठटाए ।

मालपोतमा तेह्र वर्षदेखि तिर्न बाँकी तिरो, तत्कालै तिर्न अह्राए
कार्की बुढासंग लिएको ऋण साँवाब्याजै चुक्ता गराए ।
भुँइकम्पे टहरो बनाउँदा ल्याएको कर्कटपाताको बील भराए ।
मैले तिर्न पर्ने अव कसैको बाँकी छ, छ, छ ? भनेर तीन पल्ट कराए
कसैले हात नउठाएपछि आफूलाई ‘ऋणमुक्त कुइँकेल’ घोषित गराए ।

पहिलो किस्ताबाटै दशैंका लागि चामल-च्यूरा कुटाए
नौ धार्नीको खसी र त्यसमा मिसाउने मिटमसला जुटाए
प्योर घरपाला कोदाको जुस, बिसमाने जर्किनै उठाए
टिकाको दिनमा दक्षिना दिन, कटकटी नोटको बण्डलै फुटाए ।

पचासवटा हात्तीको बिटो पाँचै दिनमा खल्तीखलास बनाए ।
सरकारले दिएको पहिलो किस्ताको अनुदान, दान जस्तै बनाए।

कुँइकेल काका आफूलाई भुँइ न भाँडाको बनाए ।
घरको जग उठाउनुपर्ने पहिलो किस्ताले
धुमधामसित दशैं पो मनाए ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु