इन्द्रसरोबरमा एक दिन

- ज्ञानेन्द्र विवश

त्रिभुवन राजपथ नेपालको सबैभन्दा पुरानो मार्गमात्र होइन, राजधानीलाई वैदेशिक व्यापारसित जोड्ने पहिलो राजपथ पनि हो । भारत सरकारको सहयोगमा वि.सं. २०१३ सालमा यो राजपथ निर्माण भएको हो । यस राजपथले सबैभन्दा पहिले राजधानी काठमाडौं र व्यापारिक केन्द्र वीरगञ्जलाई जोडेको थियो । यसरी भारत तथा तेस्रो मुलुकसँगको व्यापारलाई सहज तुल्याउने काम गरेको थियो । त्यसपछि बिस्तारै अन्य सडकमार्ग पनि निर्माण हुन थालेपछि यो राजपथको उपयोगिता ओझेलमा पर्न थालेको हो ।
काठमाडौं, नौबीसे हुँदै वीरगञ्जसम्म १८४ किलोमिटरको यो राजपथको उपादेयतालाई आज अन्य राजमार्गले कम गरिसकेको स्थिति छ । नौबीसेमा पृथ्वी राजमार्ग र हेटौंडाबाट पथलैयासम्म पूर्व–पश्चिम राजमार्गमा समाहित भएको त्रिभुवन राजपथबाट यात्रा गर्दा विगततिर पनि फर्किन पुगिन्छ । सुविधा र साधनको अभावमा काम गर्दा यो राजपथ निर्माणमा कैयौं नेपालीहरूको ज्यान गएको थियो ।
माघे जाडोको अन्तिम साता एक बिहानै कार्यालयको कामबाट पाएको फुर्सदको सदुपयोग गर्दै हामी घुम्न निस्कियौं । त्रिभुवन राजपथ हुँदै यात्रामा हामी प्रस्थान भएका थियौं । यस यात्रामा साथीहरू वीरेन्द्र पौडेल, दिनेश शर्मा, हरिशरण केसी र मोहन पौडेल सहभागी थियौं । काठमाडौंको थानकोट, नागढुङ्गा हुँदै हामीले नौबिसेबाट ठाडो उकालो पुरानो त्रिभुवन राजपथलाई आफ्नो यात्राको पहिलो गन्तव्य बनाएका थियौं ।
अघिल्लो दिन परेको पानीले हुन सक्छ सिमभञ्ज्याङ–दामनमा हिउँ परेको छ । हिउँ खेल्नुको मज्जाले कल्पनामा रमाउँदै हामीले यताको यात्रा रोजेका थियौं । तराईबाट राजधानी जोड्ने पुरानो यो राजपथ सुनसान थियो । सडकलाई राम्रैसँग मर्मत–सम्भार गरिएको रहेछ । तर बाटोभरि हामीले गाडीको आवत–जावत फिटिक्कै भेटेनौं । काठमाडौंबाट स्थानीय यात्रु बोकेर गुडेको एउटा बस बेला–बेला हामीसँग अगाडि–पछाडि हुन्थ्यो । उकालिँदै जाँदा पारिका डाँडा होचिँदै गइरहेका थिए । हिमाली लस्कर तुवाँलोले ढाकेर खासै खुल्न सकेका थिएनन् । तथापि नजिकका बनसम्पदा हराभरा देखिन्थे । तर गाउँघरको हालखबर सडक जस्तै सुनसान थियो । गाडी जस्तै मान्छेको चहलपहल पनि लगभग शून्य–शून्य थियो ।
बाटोमा भूकम्पले भत्किएका, चर्किएका र बाङ्गिएका घरहरू थुप्रै देखिए । नयाँ घरको निर्माण अझै भएको थिएन । भत्किएकैमा बसिरहेका र कति त्रिपालमै त्राण धानिरहेको बिजोग पनि देखियो । हिउँदे जाडोले कक्रिँदै न्यानो घाममा आङ तताउन थुप्रै गाउँले घरका आँगन र बारीका डिलमा बसिरहेका थिए । तिनका आङमा पनि बाक्लो लुगा थिएन । तिनका घर पनि न्यानो र बलियो थिएन । केटाकेटीहरूमा चञ्चलता पनि थिएन । तिनका अनुहारमा खुसी थिएन । ती पनि निन्याउँरो मुखमा मौन थिए ।
आरुबखडा फुल्दै गरेका बोट–बुट्यानहरू पनि भेटिए । बारी कान्लामा फुलेर तिनले अलिकति भए पनि फूलको सुगन्ध र सौन्दर्य गाउँलेलाई बाँडिरहेका थिए । तर गुराँसका बोटमा गुराँस फुलेका थिएनन् । जङ्गलभरि राताम्मे गुराँस फुल्ने समय फाल्गुणदेखि नै सुरु हुनुपर्ने हो । तर अझै गुराँसका बोटमा फुल फुल्ने सुरसार देख्न सकिएन । एक दशकअघि यता आउँदा यही बाटोमा हृष्टपुष्ट स्थानीय केटाकेटीहरू हातमा गुराँसका मुठा बोकेर यात्रीहरूलाई किन्न आग्रह गरिरहेका हुन्थे । कति काफलका पोको बोकेर हाँस्दै किन्नोस् न भनिरहेका हुन्थे । तर यसपटक गुराँस पनि थिएन । काफल बेच्ने बच्चाहरू पनि भेटिएनन् । अनि उनीहरूको निर्दोष हाँसो पनि अनायसै गायब थियो ।
उकालो सकिएर भञ्ज्याङ नाघी ओह्रालो झरेपछि थाहा नगरपालिकाको चित्लाङ बजार रमाइलो देखियो । यहाँ विभिन्न उन्नत जातका तरकारीहरू बढी मात्रामा राम्रो उत्पादन हुने रहेछ । चित्लाङस्थित बजार नाघेर ओह्रालो झर्दै गर्दा दोबाटो भेटियो । हामीले कुलेखानीको ड्याम जाने बाटो सोध्यौं । स्थानीयले ओरालो झर्नु १५ मिनेटमा ड्याम पुगिने जानकारी दिए । हामी हिँडेको कच्ची बाटो थियो । तर सोही दोबाटोबाट उत्तरतिर अर्को पक्की बाटो तन्किएको देखियो । हामीले थाहा पायौं त्यहाँबाट चन्द्रागिरी पुग्न सकिने रहेछ । जहाँ काठमाडौं जानका लागि अहिले केबुलकारको निर्माण कार्य धमाधम भइरहेको समेत जानकारी पायौं ।
केहीछिनको यात्रापछि चित्लाङबाट मार्खु हुँदै कुलेखानी जाने बाटो पूर्व–दक्षिणतिर झरिरहेको थियो । अर्को बाटो उत्तर पूर्वतिर टौखेल जाने रहेछ । अनि पश्चिम उत्तरतिरको बाटो सेरा जाने रहेछ । हामी ओह्रालो झर्दै इन्द्रसरोबर पुग्न हत्तारिदै थियौं । सरोबरकै माथि हेटौडा–काठमाडौं रोपवेको तार र सामान राख्ने भाँडो बर्षौंदेखि बेवारिसे बनेर तुर्लुङ्ग झुण्डिरहेको देखिन्थ्यो । ती तारले हिजोका नेतत्वलाई सराप्दै आजका पुस्तालाई बिउँझाउने कोसिस गरिरहे झै लाग्थ्यो । किनभने देशमा आएको परिवर्तनसँगै कतिपय यस्ता आवश्यक कुराहरूलाई निमिट्यान्न पारी अस्तित्व नै सखाप पारिएको थियो । त्यसैमध्येको यो रोपवे पनि थियो । ठाउँ–ठाउँमा तारमा झुण्डिएका अस्तव्यस्त यस्ता रोपवेका दृश्यले राज्यको बेवारिसे अवस्थालाई पनि इङ्गित गर्दथ्यो । यताको रोपवेसँगै राजधानीमा गुड्ने ट्रली बसको हालत पनि त्यस्तै भयो ।
नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यही सरोवरबाट निस्किँदो रहेछ– कुलेखानी जलविद्युत् । प्राकृतिक तालहरूबाहेक यति ठूलो ताल नेपालमा मान्छेले अरू बनाउन सकेका छैनन् । जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रूपमा विकसित भइरहेको प्रत्यक्ष देखियो । विद्युत आयोजनाले बिजुलीमात्रै होइन, पर्यटकीय एवम् प्राकृतिक सौन्दर्यलाई पनि यति सुन्दर बनाउँदोरहेछ भन्ने प्रमाण कुलेखानीमा हेर्न पाइयो । यहाँ वरिपरिका भीरपाखा र डाँडाकाँडा पनि मनमोहक छन् । पहाडी पाखो पाटोमा निर्मित ग्रामीण घरहरू र खेतबारीका लहलहाउँदा फाँटहरू देख्दा पनि मनमा आनन्दको अनुभूति हुन्छ । त्यस्तै रुखविरुवा, खोलाखहरे, भञ्ज्याङ र देउराली अनि पहाडी तरेलीका प्राकृतिक सुन्दरता नियाल्न पाइन्छ ।
यद्यपि इन्द्रसरोबर नपुग्दै र त्यहाँबाट राजधानी फर्किंदा केही गाउँघर शून्य देख्दा मन खिन्न नभएको होइन । खेतबारी बाँझै देखिन्थे । घर भत्किएका र सग्ला घरमा पनि मानिसको बसोबास थिएन । सायद उब्जनी नभएकोले मानिस अन्यत्रै पलायन भइसकेका थिए । त्यसैले गाउँघर खण्डहरमा परिणत हुँदै जग्गाजमिन जङ्गल बनिरहेका विरमाइलो दृश्य पनि देखियो । अधिकांश मानिस सहर केन्द्रित र सुविधाभोगी हुँदा अनि परिश्रम गर्न अल्छी गर्दा गाउँघरको सौन्दर्यमा धब्बा लागेको हो ।
मकवानपुरस्थित फाखेलचौरबाट हुमानेसम्म ६ कि।मि। बाटो कच्ची रहेछ । हिउँद याममा पनि मुस्किलले गाडी गुडाउन सकिने यो बाटो वर्षाद्मा त झनै जोखिम हुने पक्कै छ । त्यहाँबाट दक्षिणकालीसम्म १० कि।मी। पक्की सडकको बाटो चाहिँ एकदमै राम्रो बनाइएको रहेछ । फर्पिङ पुगुञ्ज्यालसम्म नास्पातिको कलमी गरिएको बोट देखिन्थ्यो । सबै बोटका टुप्पा–टुप्पा एकनाशले काटिएका थिए ।
काठमाडौं र हेटौडाबाट जलाशयमा डुङ्गा शयरका लागि पनि मानिसहरू इन्द्रसरोवरसम्म पुग्ने रहेछन् । राजधानीबाट करिब ५० किलोमिटर पार गरेर कुलेखानी क्षेत्र पुग्न सकिन्छ । हेटौडाबाट राजधानी आवत–जावत गर्ने क्रममा पनि यो रमणीय स्थलको रसस्वादन गर्न सकिन्छ ।
करिब ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको रहेछ इन्द्रसरोवर । ड्याम पुग्नुअघि कलङ्की भनिने भञ्ज्याङमा केही होटल र लजहरू रहेछन् । काठमाडौबाट आएका वा वीरगञ्ज, हेटौडा, दामनका यात्री यहीँ विश्राम लिएर कुलेखानीको माछा खाँदा रहेछन् । इन्द्रसरोवर मस्य व्यवसायी संघले सरकारसँग मिलेर इन्द्रसरोवरमा माछा पालन गरेको छ । माछाको व्यापार सञ्चालनमा सहयोगका लागि तालको बीचमा काठमा घरहरू निर्माण गरिएका देखिन्थे ।
माछाका लागि प्रसिद्ध क्षेत्र कुलेखानी पनि यहीं पर्ने हुँदा भ्रमणलाई थप मनमोहक बनाउन सकिन्छ । यो क्षेत्रलाई कुलेखानी जलाधार क्षेत्र घोषणा गरेर संरक्षणको प्रयास भएको रहेछ । पहिले जस्तो जथाभावी माछा पाल्ने, माछा मार्ने जस्ता काममा प्रतिबन्ध लगाइएकोले केही व्यवस्थित भएको पनि थाहा भयो । कुलेखानीमा मोटरबोटको व्यवस्था हुनुका साथै पर्यटकका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरिएपछि आन्तरिक पर्यटकहरूको आकर्षण बढेको अनुभव गर्न सकिन्छ । अर्को कुरा, नेपालमा दुर्लभ मानिने बाख्राको चीज चित्लाङमा पाइन्छ ।
इन्द्रसरोवरको उपल्लो क्षेत्र मार्खु बजारबाट वरपरका सहायक गाउँ जान झोलुङ्गे पुल प्रयोग गर्न सकिने सुविधा रहेछ । यो झोलुङ्गे पुल नबन्दा गाउँले र विद्यार्थीहरूलाई धेरै नै असुविधा थियो । इन्द्रसरोवरको भ्रमणपछि मार्खु बजारसँगै रहेको सरकारी भेंडा फार्म पनि हेर्न लायक रहेछ ।
नयाँ वर्ष २०७३ सालदेखि काठमाडौंको थानकोटबाट रमणीय डाँडा चन्द्रागिरीसम्म पुग्ने केबलकार सञ्चालनमा आउने भएको छ । यसले पनि इन्द्रसरोवर वरपरको पर्यटन प्रवद्र्धनमा सकारात्मक टेवा पु¥याउने देखिन्छ । चन्द्रगिरीडाँडामा काठमाडौं उपत्यका, मकवानपुरको चित्लाङ, सगरमाथासहित हिमश्रृङ्खला हेर्न मिल्ने भ्यू टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको थाहा भयो । आकाश खुलेका बेला यहाँबाट हिमालदेखि तराईसम्म देख्न पाइने रहेछ । थानकोटबाट केबलकार चढेर चन्द्रागिरी पुग्दा सबैभन्दा पहिले भालेश्वर अर्थात् इच्छापुरेश्वरम् महादेवको दर्शन गर्न पाइने छ ।
पृथ्वीनारायण शाहले सर्वप्रथम यही इच्छापुरेश्वर महादेवको दर्शन गरी काठमाडौं उपत्यकामा विजयी गरेको किंबदन्तीअनुसार पशुपतिनाथको जस्तै झल्को दिने गरी मन्दिर बनाइएको रहेछ । त्यसैले पनि यो स्थान धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको रहेको सहजै अनुमान गर्न सकिन्छ ।
नेपालको मध्यभागमा अवस्थित मकवानपुरको नाम सेनवंशी राजा मुकुन्द सेनको नामबाट राखिएको भनाइ छ । त्रिभुवन राजपथको निर्माणसँगै मकवानपुरको विकास एवम् विस्तार भएको देखिन्छ ।
काठमाडांैबाट करिब ३ घण्टामा पुग्न सकिने दामन–पालुङ क्षेत्रमा पर्यटकीय आकर्षणका क्षेत्रहरू प्रशस्त छन् । त्रिभुवन राजपथ र दक्षिणकाली, फर्पिङबाट टौखेल कुलेखानी हुँदै वा थानकोटको चन्द्रागिरी हुँदै यो क्षेत्र पुग्न सकिन्छ ।
मकवानपुरको उत्तरी भेग दामन, पालुङ, बज्रबाराही तथा चित्लाङलाई पर्यटकीय दृष्टिले नमुना क्षेत्रका रूपमा लिन सकिन्छ । यहाँका ऐतिहासिक अभिलेख तथा संस्कृतिले इतिहासको अध्ययनमा समेत ठूलो भूमिका खेलेका छन् । दामनको भ्यू टावरदेखि सिमभन्ज्याङको वातावरणले प्रकृतिप्रेमी बाहेकलाई पनि मोहनी लगाउँछ ।
ऋषेश्वर मेला तथा इन्दायणी जात्रामा तीर्थालुहरूको यहाँ घुइँचो लाग्छ । हिउँ परेको समयमा पनि यहाँ काठमाडौं, हेटौंडादेखिका मानिस ओइरिने गर्दछन् । यहाँबाट नेपालका अधिकांश हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकीय क्षेत्र दामनको आफ्नै महत्व छ । दामन–पालुङमा अहिले होमस्टे कार्यक्रम पनि लागू भइसकेको रहेछ । काठमाडौंबाट नजिक भएकाले पनि यो क्षेत्र लोकप्रिय हुनसक्छ ।
दामन, पालुङकै आधारमा अवस्थित बज्रबाराहीमा विभिन्न ऐतिहासिक तथ्य फेला परेका छन् । यसलाई एउटा सानो उपत्यकाका रूपमा समेत लिइन्छ । यहाँका अवशेषहरूलाई संरक्षण एवं उचित प्रवर्दधन गर्ने हो भने इतिहासको नयाँ पाटोलाई आत्मसात् गर्न सकिने छ । तीन वर्षमा एकपटक तीन दिन मेला लाग्ने बज्रबाराही मन्दिरमा विभिन्न क्षेत्रबाट भक्तजनहरू आउने गरेका छन् । त्यस्तै यहाँ मनकामना, गणेश आदिका थुप्र्रै मठमन्दिर तथा गुम्बाहरू पनि यहाँ रहेछन् ।
स्थानीय संस्कृति, रीतिरिवाज अन्य क्षेत्रभन्दा अलग भएकाले विद्यार्थीहरूका लागि पनि उक्त क्षेत्र उपयुक्त हुनसक्छ । परम्परागत वेशभूषा, बाजा, पेसाजस्ता अनेक कुरा यहाँ देख्न सकिन्छ । विशेषतः नेवारी र तामाङ समुदायका मानिसहरू धेरै भएकाले उनीहरूको मौलिक पहिचान बुझ्न पनि यो क्षेत्र महत्वपूर्ण स्थान हो ।
काठमाडौंको दक्षिण पश्चिम तथा मकवानपुरको उत्तरी सीमास्थित २ हजार मिटर उचाइमा रहेको महाभारत पर्वत श्रृङ्खलामा पर्ने चित्लाङ प्राकृतिक सम्पदाले सम्पन्न ऐतिहासिक गाउँ हो । यस क्षेत्रबाट कुलेखानी जलविद्युत परियोजनाका लागि निर्मित इन्द्रसरोबार, पालुङ, दामन तथा सीमभञ्ज्याङका दृश्यहरू देख्न सकिन्छ ।
चित्लाङबाट यी स्थानहरूमा जानको लागि दुईदेखि चार घण्टा पैदल यात्रा गर्नुपर्छ । त्रिभुवन राजपथ निर्माण हुनुपूर्व तराई र भारत पुग्नको लागि यही गाउँको बाटो प्रयोग हुने गर्दथ्यो । विशेषगरी नेवार समुदायको बाहुल्यता रहेको यस ग्रामीण बस्तीमा अहिले पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । राजधानीबाट नजिकै रहेको कारणले गर्दा पनि चित्लाङमा होमस्टे सञ्चालनमा आएको छ । राजधानीबाट करिब ५० किलोमिटर दूरीमा रहेको चित्लाङमा अहिले दुईदेखि चार दिनको प्याकेज बनाएर आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
सफा र सुन्दर गाउँ ट्राउट माछा फर्म, नेपालकै सबै भन्दा ठूलो बाख्रा फर्म, बाख्राको दूधबाट बनेको चिज र छुप्री, जैतुन खेतीलगायतको अध्ययन तथा अनुसन्धानको लागि चित्लाङमा अहिले दैनिक सयौंको सङ्ख्यामा मानिसहरू पुग्ने गरेका छन् । ऐतिहासिक र सांस्कृतिक विविधताले भरिपूर्ण थाहा नगरपालिकाका विभिन्न स्थानहरूमा पाँच सय बर्ष पुरानो कार्तिक नाच, १२ बर्षे भैरवनाथ जात्रा, महादेव जात्रा, गोदावरी मेला लाग्ने गरेको छ ।
विद्युत् उत्पादन गर्न आफ्ना खेतबारी तथा घरआँगनमा ड्याम निर्माण भएपछि विस्थापित भएका मार्खुबासीलाई आर्थिक रूपमा स्थापित गराउने ध्येयले विसं २०४५ देखि नै यहाँ माछापालन सुरु गरिएको हो । तर हालसम्म पनि माछापालनले तिनको जीवनस्तर उकास्न सकिरहेको छैन ।
प्राकृतिक रूपमा वैभव र उत्कृष्ट रहेको जलाशयलाई पर्यटकीय रूपमा पनि विकास गर्न सकिएमा स्थानीय जनताको आयमा वृद्धि हुनेछ । साथै माछापालन व्यवसायलाई थप विस्तार गर्न स्थानीय कृषक समुदायलाई सीप र ज्ञान दिन आवश्यक रहेको छ । केरा, बेसार, अदुवा, दूध, कुखुरा पालन, फलफूल र अग्र्यानिक तरकारी खेतीका लागि प्रख्यात गढी गाविस प्राकृतिक रूपमा अत्यन्त मनोरम रहेको छ ।
ऐतिहासिक मकवानपुर गढी दरबार सेन वंशको पालामा निर्माण भएकोले र त्यसको जीर्णोद्धार हुनुपर्ने, त्यहाँको खानेपानी समस्या समाधान गर्नुपर्ने तथा हेटौंडा बजारदेखि गढी दरबारसम्मको सडक कालोपत्रे हुनुपर्ने आवश्यकता उनले औंल्याएका थिए । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको मनकामना र पाथिभरा मन्दिर केवलकारले जोड्न सके हेटौंडाको स्वरूप बदलिने उनको भनाइ छ । १० वटा होमस्टे दर्ता भएपनि हाल ६ वटा होमस्टे सञ्चालनमा आएको र ती स्थानमा नेपाली, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिका, इटाली, इजरायली, पाकिस्तानी, भारत र श्रीलङ्काबाट पर्यटकहरू आइरहेको पनि जानकारी पाइयो ।
मकवानपुर जिल्लामा कुलेखानी जलविद्युत आयोजनाको जलाशय–इन्द्रसरोवर, चित्लाङको अशोक स्तुप, सिमभञ्ज्याङको हिउँ, दामनको टावर, चिसापानी गढी, लालीगुराँस, अर्किड, बाख्राको चिज फ्याक्ट्री, मनकामना मन्दिर, मकवानपुर गढी दरबार, पुष्पलाल पार्क, सहिद स्मारक, भुटनदेवी मन्दिर, चिसापानी गढी, पाथिभरा मन्दिर र गढी गाउँजस्ता अत्यन्त प्रख्यात र प्राकृतिक रुपमा सुन्दर स्थानहरू रहेका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु