चाँदीको उँज्यालो घेरा

- मुक्ति गाैतम

बाहिर उँज्यालो थियो । समरको अन्त्य र फलको शुरुवात यस्तै रमाईलो हुन्छ यहाँ । माँथिल्लो तलामा रहेको अफिसको झ्यालबाट रङ्ग बदल्दै गरेका म्यापल ट्रिका रङ्गिन पातहरु उँज्यालो घाममा अत्यन्त शुन्दर देखिएका छन् । झ्यालबाट बिस्तारै मलाई छुँदै भित्र पसिरहेको हावाले मलाई आनन्द लागिरहेको छ। सडकमा हिडिरहेका मान्छेहरु, चराहरुको चहलपहलको मजा अर्कै हुन्छ यतिबेला । कुनैबेला त सब काम छोडेर गाडी लिएर पर पर प्रकृतीको शुन्दरतामा रम्न जान पनि मन नलाग्ने हैन, तर मन थामेर बस्नु पर्छ । निकट भबिष्यमै आउँने विन्टरको भने डर सधै हुन्छ यतिबेला । मलाइ भने अहिले केही नसोचेर बाहिरको शुन्दरतामै रमाउँन मन लागिरहेको छ ।

झ्यालबाट एक्कासी छिरेको हावा बलले भित्र पसेझै प्रतित हुन्छ, झोक्का सङ्गै अलि पर आकाशमा देखिएको कालो बादलको सानो थुम्कोले मेरो मन एकाएक तान्छ आफूतीर । म अलि केही बिथोलिन्छु, तरपनि आफूलाई संयम राख्ने प्रयत्न भने गरिरहन्छु । टेबलमा कागजहरु यत्रतत्र छरिइरहेका छन्, भित्र को- वर्कर हरुको एकोहोरो चहल पहल चलिरहेको छ । कहिले अफिसको फोनको घण्टी, कहिले सेलफोन र टक टक जुत्ताहरुको आवाजले त्यत्तीकै कोठाको मौनता र मेरो ध्यान भंग गरिराखेको छ। कहिलेकही हामी जति कुनै कुराबाट टाढिन खोजिरहेका हुन्छौ, त्यतीनै त्यतैतीर तानिईरहेका हुन्छौ । अहिले म ठिक त्यस्तै परिस्थितीबाट गुज्रिरहेकी छु ।

यताउती के के नमिले जस्तो भईरहेछ आजकल । केहीदिन अघि फुपूको फोन आएको थियो, के के गनगन गर्दै हुनुहुन्थ्यो । बाबा सङ्गै मिल्छ उहाँको स्वभाब पनि । “ यो नगर”, “ यसो गरे राम्रो हुन्छ” – त्यो त मलाई पनि थाहा छ नी । मलाई केही थाहा नै छैन जस्तो गर्नुहुन्छ । बाबा अलि बिरामी हुनु भा छ भनेर भनेपछि फोन गरें ।
“हेलो बाबा “
“हेलो”
“कस्तो छ हजुरलाई ?”
“ठिक छ”
यस्तै औपचारीक कुरा मात्र भयो । हुनत बाबा त्यो भन्दा बढी कुरा पनि गर्न चाहानुहुन्न आजकल । बिस्तारै दशैं नजिकीदै छ । एकशुरले बाबालाई गएर भेटेर आउँकी जस्तो पनि भैरहेको छ । नेपाली संघ संस्थाका लगातार आइरहने ईमेलहरुले बारम्बार दशैं नजीकिइरहेको आभाष गराइराखेका छन् । नेपालीहरु संगै भएर दशैं मनाउँनु राम्रो हो, बिदेशमा आफन्तहरु भनेकै यहीका अरु नेपालीहरु त हुन् । तर आफूलाई भने दशैं नआए पनि हुन्थ्यो जस्तै लाग्छ ।

बाबा दुब्लाउँनु भएको छ रे आजकल । कसैसंग राम्ररी कुरा पनि गर्नुहुन्न रे । एकोहोरो हुनुभएको छ भन्नुहुन्थ्यो फुपुले । के के लेखीराख्नु हुन्छ रे । लेख्नु त राम्रो कुरा हो । तर अरुसंग नबोल्ने कुराले भने मलाई अत्यन्त दुखी बनाएको छ । म संग कुरा गर्न साह्रै रमाउँनु हुन्थ्यो पहिले । म युनिभर्सिटी बाट घरमा आएको बेला हामी घण्टौसम्म कुरा गरीराख्थ्यौं । मामु सुन्नुमाँत्रै हुन्थ्यो । कुरा गर्दै पकाउँन बाबालाई खुब मन पर्थ्यो । हामी मीठा मीठा कल्पनाहरु गर्थ्यौं संगै, अत्यन्त मीठो लाग्थ्यो ।

अहिले भने अत्यन्त फरक भएको छ । मामुको मृत्यूले बाबा बिक्षिप्त हुनुभएको छ । अत्यन्त माया गर्नुहुन्थ्यो मामुलाई बाबाले । मामूलाई कहिल्यै छोड्न चाहानु हुन्नथ्यो, जहाँ पनि दुबै जना संगै जाने । एक अर्काको कुरा सधै मिल्थ्यो । च्वाईस पनि उस्तै थियो दुबैजनाको । बाबाले जे गरेपनि मामु खुसी । बाबाको एउटा माँत्रै मन नपर्ने बानी भनेको रक्सि खाने थियो मामुलाई । बाबालाई भने रक्सि एकदम मन पर्ने । अहिले झन धेरै रक्सि खाना थाल्नुभएको छ रे बाबाले ।

साँझ परिसकेको थियो कोठामा पुग्दा । मन अत्यन्त उदाश हुँदै गै राखेको थियो । आज मामुको सम्झनाले खुब सताईरहेको थियो । आकाशमा अलिअलि बादल देखें भने मलाई ऊनको सम्झना आउँछ । छोटो कद, हँसिलो अनुहार र उनको सधै ब्यस्त भइरहने जाँगर झल्झली मेरो आँखा अगाडि आईरहेको थियो आज । उनका हातहरुमा माया नै माया हुन्थ्यो । उन्को बोलाई, उनको स्पर्श र उनको मुस्कान अब कहिल्यै नहुने भयो हाम्रा लागी । हो, आँखा चिम्लेर एकछिन घोरीएपछि म महशुष त गर्छु उनीलाई तर नहुँदो रहेछ भौतिक उपस्थिती जस्तो ।


निदाउँने प्रयत्न गर्छु तर सकिरहेकी छैन । एकोहोरो याद आइरहेको छ आज उनको । सानो छँदा उनिसंग बिताएका हरेक क्षणहरु एकएक गरेर मेरो आँखा अगाडी आइरहेका छन् । उनको अंगालोको तातोपन म अहिले महशुष गरिरहेकी छु । लागिरहेछ उनका माया भरिएका आँखाले एकोहोरो मलाई हेरीरहेका छन् । उनको खुम्चिएको निधार, अलि पाक्दै गरेका कपालक रौंहरु , साना शुन्दर नथाक्ने हातका औलाहरु सबै सबै म देखिरहेकी छु । “नानु” भन्ने उनको मायालु शब्द बारम्बार मेरो कानमा ठोक्किईरहेको छ आज । आज किन किन कसैको काखमा टाउको लुकाएर आँशु नरित्तिउन्जेल रुन मन लागिरहेको छ मलाई ।
फोनको घण्टी बज्यो । म फोनतीर लागें ।

“हेलो” – सानी बहिनीको मधुरो स्वर सुनियो ।
“के छ नानु, सञ्चै छौ?”
“ठिकै छ, मामुको याद आएर फोन गरेको”
सानीले पनि धेरै दिनपछि फोन गरी आज । दुख सुखका धेरै कुराहरु भए । सानी बहिनीले झन धेरै अभाब महशुष गर्छे मामुको । भर्खरै ठूली हुँदैथिई, मामु गईहालीन् । सुत्न पनि मामु संगै सुत्नुपर्थ्यो उस्लाई । बिहान पानि छर्दै उठाउँने, तयार पार्ने, जबर्जस्ती ख्वाउँने र स्कुल धपाउँने – मामुको नित्य कर्म नै थियो । साँझमा मामु बेडमा नजाउन्जेल उ टि. भी. बाट यता उता चलमल पनि गर्दिनथी, मामुको हातको सिरानीमा सुत्ने बानी परेकी थिई । बाबाको एकोहोरो पन र मामुको मृत्यूको ठूलो मार सानीलाईनै परेको छ अहिले ।

सानीले बाबाको पनि कुरा गर्दैथिई । “भनेको मान्नु हुन्न”, “रक्सि पिउँने बानी बढेको छ” आदि आदि । उ संग पनि राम्रोसंग कुरा गर्नुहुन्न रे । “बाबु आमाको वास्ता नगर्नेहरु” र अरु के के पनि भन्नुहुन्छ रे । मेरो रिस अरु बहिनिहरुलाई पनि देखाउँनु हुन्छ । बोल्न चाहानुहुन्न मसंग, हेर्न चाहानु हुन्न मलाई । मामुको एक्सिडेन्टको सबै दोष मलाई दिनुहुन्छ । बारम्बार मलाइ त्यही भयानक दिनको जिम्मेवार ठहराउँनु हुन्छ । अहिले त म आफै पनि दोषी लाग्न थालेको छ ।

***

कुरा दुई बर्ष अघिको हो । युनिभर्सिटिको अन्तिमतिरका केही दिनहरु अत्यन्त तनाबपूर्ण रहे । ५,६ बर्षको त्यो एकोहोरो दिनचर्या देखी मलाइ दिक्क लाग्दै आइरहेको थियो । साथीहरु सङ्ग बोल्न र समय बिताउँन पनि त्यती जाँगर चल्दैनथ्यो मलाई । बाबा मामु सङ्ग पनि त्यती कुरा हुदैनथ्यो । कहिलेकहि उहाँहरुको फोन आएपनि मलाइ उठाउँन मन लाग्दैनथ्यो त्यती । “धेरै पढ्नुपर्छ”, “ठूलो मान्छे हुनुपर्छ”, “ यसो गर्नु”, “ढिस्कानो नगर्नु” – सानै देखि यस्तै कुराहरु सुन्दा सुन्दा म दिक्क भैसकेकि थिएँ । भेट्दा पनि त्यही, फोनमा पनि त्यही कति सुन्नु त्यही सधै । त्यसैले पनि फोन उठाउँन मन नलाग्ने हो ।

“तिमी तुरन्त घर आउँनु, इमर्जेन्सी छ”- बाबाको टेक्स्ट म्यासेज देखें । दुई तीन दिनदेखि लगातार फोन आईरहेको थियो बाबा मामुको, मैले फोन उठाएको थिइन । आफ्नै समस्याहरु एकातीर, अर्कोतिर उहाँहरुको यो नगर र त्यो नगरसङ्ग दिक्क भएको थियो मलाई । ईमर्जेन्सी भनेकाले मन नलागी नलागी धेरै पटक फोन गरें तर फोन उँठेन । अरु कसैसङ्ग पनि सम्पर्क हुन सकेन र घर जाने निश्चित गरेर बसपार्क तिर लागें ।

बस बिस्तारै हुईकियो आफ्नै गतीमा । म भने केहि नराम्रो खबर होकी भनेर अलि डराइरहेको थिएँ । यसरी कहिल्यै पनि समाचार आएको थिएन, त्यसैले पनि डर लागिरहेको थियो । पानी पर्न शुरु ग-यो, अँध्यारो हुँदै गयो वरिपरी । म भित्र चलिरहेको चिन्तालाई बाहिरको बाताबरणले झनझन बढाउँने काम गरिरहेको थियो । यतिबेला म आफूलाइनै पनि किन फोन नउठाएको होला भन्ने लागिरहेको थियो । बरु जे जे भने पनि एक कानले सुन्यो र अर्कोले उडाइदियो । हुन त नराम्रो पनि त केही भन्ने हैन । ऊही पुरानै खालको सोचाइ र कुरा त हो नी । यस्तै यस्तै कुराहरु मन भित्र खेल्दै थिए बाटो कटेको थाहा नै भएन । बसपार्कबाट ट्याक्सी लिएर म सिधै घरतिर लागें ।

किन किन आज बाहिर बाट नै घर शुन्यजस्तो महशुस भयो मलाई । लामो समय पछि आएकाले हो की खल्लो, उदास लागिरहेको थियो । मनमा पहिले पहिले घर आउँदाको जस्तो स्फुर्ती या खुशी पटक्कै लागिरहेको थिएन । भारी मन सङ्गै ढोकाको घण्टी बजाएँ-
“टिङ टिङ....”
सानी बहिनी देखिइ ढोकामा । एक्कासी मलाइ अंगालो हालेर रुन थाली ।
“मामु इज नो मोर” – उस्ले यस्तै केहि भनि । म भुँइमा थचक्क बसें ।
“व्हाट” सायद यही शब्द निस्कियो । म दौडिएँ झोला फालेर घरभरी । प्रत्येक ढोकाहरु खोल्दै हरेक कोठाहरुमा खोजें । जताततै उनको बासना थियो । घरभरी सबैतिर उनी नै उनी भएजस्तो महशुस भइरहेको थियो । मलाइ बोकेर यही कतै उनि दौडीरहेजस्तो, मलाइ लुकेको देखेर पनि नदेखेजस्तो गरिराखेको : उनको श्वास, उनको स्पर्ष, उनको गन्ध म सबै झन झन नजिकबाट महशुष गरिराखेको थिएँ । उनको अंगालो, उनको काख, ऊनको माया झन झन याद आइरहेको थियो । उनको हँसिलो अनुहार आज झन ऊँज्यालो भएर मेरो आखा अगाडी नाँचीरह्यो ।
“यो कसरी हुनसक्छ?”
“म संग न भेटेर कसरि जानसक्छिन् उनी?”
“साँचो भन् खै मामु बाबा?” रुदै चिथोर्दै म सानिलाई सोधिरहें – उ अनुत्तरित मलाई हेरिरहि । म भने आफूलाई नै फोन नउठाएकोमा दोषी महशुष गर्न थालिसकेकी थिएँ । दुई बहिनी अंगालो हालेर रोयौं र पछि लास राखेको हस्पिटल तिर गयौं ।

मामुले थुप्रैपटक “नानु खै, नानु खै” भन्नु भो रे । दुर्घटनापछि लगभग १२ घण्टाजती जीबित रहनुभयो
रे । फोन नउठाएको भनेर बाबा एकदमै दुखित हुनुहुन्छ भनेर सानुले भन्दैथिइ । हस्पिटलमा बाबा बोल्न पनि बोल्नु भएन ।

केहि दिन घरमा बसें । बाबा पटक्कै बोल्नुभएन, म झनै अपराधबोधले ग्रस्त भएँ । फोन उठाएको भए कमसेकम उनलाइ एकछिन भएपनि जीबित त देख्नपाउँथें भन्ने कुराले बारम्बार सताईरह्यो । जीबनमा कहिलेकही सानो गल्तीको यती ठूलो मूल्य पनि चुकाउँनु पर्दोरहेछ ।

उनको दुर्घटना भएको दिन आकाशमा धुम्म परेर बसेको कालो बादल उनको दुर्घटनाको कारण नभएपनि बादल त्यसपछि मेरो कहिल्यै प्रिय भएन । जब जब कालो बादल आकाशमा देखिन्छ मेरो मन भरिएर आउँछ । मेरी मामूको हँसिलो अनुहार त्यही बादलले छोपेझै महशुष हुन्छ । बादल वरिपरी देखिने चाँदीको जस्तो उँज्यालो घेरा उन्कै आभा जस्तो लाग्छ ।

टोरण्टो

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु