मौकावाज

- युवा बराल ‘अनन्त’

‘सब चोर ! यो पनि चोर ! त्यो पनि चोर ! सब चोर ! लाटा पनि चोर बाठा पनि चोर ! सब चोर ! हामी गरीब निमुखालाई लुट्ने ठग्ने सब चोर !’ मनको भड़ास ओकल्दै डम्बर बहादूर उर्फ डिबि उर्फ डमरु ओह्रालै लाग्यो। ऊ बर्बराउँदै गएको हेर्नेहरु ‘एम के’ ‘टि आर’हरु खित्का थुन्दै हाँस्दै थिए ।

मञ्चमा कुनै स्थानीय नेता हातको मुड़की बजाउँदै भाषण छाँटिरहेको छ । भाषण सुन्न भनेर भेला भएका जनताहरु सुझ न बुझ थपड़ी बजाइरहेका छन् । मञ्च पनि खचाखच छ, प्राङ्गण पनि भरिभराउ । दुई तीन घण्टाको समय चार-पाँच जना नेताले खाइसकेका छन् । घाम टन्टलापूर छ । दिन ढलिसकेको छ । तर मिटिङ्ग आधा बिच मै छोड़ेर नहिंड़ने निर्देश हुँदा प्रायजसो जनताहरु आधा मन घरमा राखेर त्यहाँ उपस्थित छन् । ‘ला…गाईलाई घाँस ! ला…बाख्रा पगाहा लगाएर हिंड़ेको… झुण्ड्यो होला ! …मेरो त सासु बिमारी… त्यतिकै निस्लोट ज्वरोमा छोड़ेर आएकी !’ जस्ता उच्छवासहरु त्यहाँ मन्द मन्द गुञ्जयमान छन् । खास खास खुस खुस मात्र छ त्यहाँ । कोही उठेर हिंड़न सक्नेवाला छैनन् । डर… हो डर लाग्छ तिनीहरुलाई । कस्तो होला यो ‘डर’ भन्ने चिज पनि जसको आड़मा त्यत्रो विशाल जमघट जुटेको छ…। मान्छेलाई लाग्ने डर ; एउटा शासनको – अर्को भाषणको अनि अझ अर्को राशनको !

डिबिलाई लागेन कि डर ! त्यो त त्यत्रो जनताहरु चुपचाप बसिरहेको माझबाट जुरुक्कै उठेर हिँड़ेको हो । अनि अलिक टाड़ा पुगेपछि व्यक्त गर्ननसकेको मनको औड़ाहा बोलिपठाएको हो । अर्कालाई स्वन्तत्र ‘चोर’ भन्न पाउँदा कति शान्त बनेको हो उसको छाती ! बाटो मास्तिर सुर्ति खान भनेर एकत्र बसेका एम के, टि आर, विर्खे र अन्यहरुले डिबि उर्फ डम्बर उर्फ डमरुको चर्तिकला देखेर छक्कै परेका हुन् । तर त्यस्को स्वभाव नै त्यस्तो । त्यो एकलै बोल्दै हिंड़छ । मन नपरेको कुरा बर्बराइरहन्छ । उ हल्का भैरहन्छ । उ बगिरहन्छ ।

झण्डी डाँड़ामा पार्टीको मिटिङ चलिराखेको छ । गाउँघरमा गाई बाख्रा कराइराखेको छ । बुड़ा-बुड़ी लाटा-लाटी र नानीहरु भोकाइरहेका छन् घरमा । गाउँको सुनसानलाई बिथोल्दै चर्को ध्वनी ओकल्दै घन्किरहेछ माइकको आवाज । भाषणको आगोले मान्छेको मन पगाल्ने काम चलिराखेको छ । कुराको जादुले जनताको विचार परिवर्तन गर्ने कोशिश भैराखेको छ । आवाज र हाव-भावको माध्यमबाट जनसाधारणको दिमागमा आफ्नो ‘पार्टी/संस्था/समुह/सङ्गठ्न’को नीति सिद्धान्त अनि कार्यक्रमको प्रचार प्रसार गर्ने काम भैराखेको छ ।

डरको खेती भैराखेको बारीको सिमाना मिचेर हिँड़ेको डिबि’ले घर पुग्ने बित्तिक्कै भर्खरै पञ्चेत बाउले घर छाउन भनेर सरकारबाट प्रदान गराइदिएको सहुलियत तीस पन्ना इस्पात च्यादरबाट छ: पन्ना अलग्गै छुट्यायो । त्यसपछि घर छेउको चप्लेटि ढुँङ्गामा टुक्सुक्क बसेर बिंड़ी सल्कायो । धुवाँ फुस्स हावामा छोड़ेर गोजीबाट नोकियाको ब्लाक एण्ड वाइट फोन निकाल्यो । नम्बर मिलायो । फोन कानमा टँसायो । केही क्षण पर्खेर बिस्तारै बोल्यो-‘ दुईजना मान्छे लिएर राति दश बजेदेखि उता आउनु ! एउटाको पाँच सौ हो ; पैसा चैं लिएरै आउनु होला !’

चट्ट फोन काटेपछि फेरि बिंड़ी मुखमा च्यापेर लामो चुस्यो । निकैबेर धुवाँ मुखभित्रै रुमलेर आकाशतिर एकैसाथ ह्वास्स छोड़यो । त्यो धुवाँ डल्लो पर्दै निकै माथीसम्म फैलिंदै ऊड़िरह्यो अनि पातलो बन्दै शुन्यमा विलिन भयो ।

OOO

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु