हिन्दी प्रभावित वर्ण विन्यास र झर्रोवादी उग्रता

- प्रा.डा. शर्वराज आचार्य

अचेल परम्परागत र सुधारिएका दुईथरि वर्ण विन्यासको प्रचलन हुन थालेको छ । शिक्षण क्षेत्रमा चाँहि सुधारिएका वर्ण विन्यास नै शिक्षण हुन्छन् । यस्तो वर्ण विन्यास शिक्षण हुन थालेको ४० वर्ष भयो । परम्परागत वर्ण विन्यास प्रचलनतर्फ पनि सुधारिएका वर्ण विन्यासको मन्द प्रभाव देखिएको छ । विद्यालय तहमा त शैली पुस्तिका प्रकाशित गरेर वि.सं. २०५७ देखि पाठ्य पुस्तक प्रकाशनको सुरुआत भएको देखिन्छ । वर्ण विन्यास लेखनमा झर्रोवाद चाहिँ वि.सं. २०१३ तिर प्रवेश गरेको बुझिन्छ । यसले नेपाली शब्द निर्माण र वर्ण विन्यासमा संस्कृत र हिन्दी प्रभाव हटाएर नेपाली मौलिकपनलाई भित्र्याउन जमर्को गरेको हो । वर्ण विन्यासमा नेपाली मौलिकताको खोज झर्रोवादी आन्दोलनभन्दा अगाडि सोमनाथ सिग्द्याल (सकार प्रयोग), टर्नर (उच्चारण), ग्रियर्सन, शारदा पत्रिका, पुष्कर शमशेर (कथ्य,उच्चारण) हरुबाट भएको देखिन्छ । यही मौलिकताको खोजमा भाषा अधिगोष्ठीको निष्कर्षपछि (वि.संं २०३४) सुधारिएको वर्ण विन्यास सुरु भएको मानिन्छ । यसले तत्सम बाहेक नेपाली भाषाका तद्भव र आगन्तुक शब्दलाई परम्परागत संस्कृत र हिन्दी वर्ण विन्यासको प्रभावबाट मुक्त गर्न सुरुआत गरेको छ । अहिले संस्कृत र हिन्दी वर्ण विन्यासको प्रभावका पक्षमा लेख्ने र बोल्नेहरुले सुधारिएको वर्ण विन्यासलाई झर्रोवादी उग्रताको नाम दिएका छन् । नेपाली वर्ण विन्यासको अतीत हेर्ने हो भने सुधारिएको वर्ण विन्यास लेखनमा झर्रोवादको साइनो भेटिँदैन । किनभने तद्भव र आगन्तुक शब्दमा सकार र शब्दको अगाडि र बिचमा उच्चारण अनुसार ह्रस्व हुन्छ भन्ने झर्रोवादी चिन्तन होइन । यो चिन्तन हिन्दी प्रभावित नेपाली मानक वर्ण विन्यास प्रारम्भसँगै मुखरित भएको देखिन्छ । त्यसैले यस लेखमा परम्परागत वर्ण विन्यासको प्रारम्भ र संस्कृत र हिन्दी प्रभावित वर्ण विन्यासको विरोध सँगसँगै भएको थियो, झर्रोवादको (वि.सं.२०१३) उग्रताबाट सुरु भएको थिएन भनी इतिहासलाई कोट्याउन खोजिएको छ ।
नेपाली वर्ण विन्यासको थालनी चन्द्रिका व्याकरण (विसं.१९६९) देखि भएको मान्नु पर्छ । यसले नेपाली कसरी शुद्ध लेख्ने ? १९९२ देखि औपचारिक मान्यता पाएको छ । नरेन्द्र मणि प्रधानले डा. पारस मणिको जीवन यात्रा (सन् १९९१) भन्ने कृतिको पृष्ट नं. ७३—७४ मा सन् १९१८ मे महिनातिर कलकत्ता विश्व विद्यालयका प्रधान नेताले जबसम्म नेपाली भाषामा कुनै एउटा व्याकरणको आधारमा लेखग्रन्थ लेखिँदैन तबसम्म विश्व विद्यालयमा नेपाली भाषाले स्थान पाउन दुर्लभ छ भनेकाले यसलाई विश्व विद्यालयमा शिक्षण गराउन एउटा निश्चित व्याकरणको वर्ण विन्यासमा आबद्ध गर्ने प्रयास गरेको बुझिन्छ । तिनताका हलन्त बहिष्कारवादी दृष्किोण, चन्द्रिका र गोरखा व्याकरण बोध जस्ता व्याकरण आइ सकेका थिए । त्यसको लगत्तै मध्यचन्द्रिका र नेपाली कसरी शुद्ध लेख्ने ? जस्ता व्याकरण र वर्ण विन्यास पनि आए । यिनकै आधारमा नेपाली भाषाका लेख्यग्रन्थ देखिन थाले । यस समयमा हिन्दी भाषाको मानक वर्ण विन्यास लिएर वि.सं.१९५० तिर नागरिक प्रचारिणी सभा आइ सकेको थियो । वि.संं.१९७२।०७३ तिर राममणिले हमारी भाषा हिन्दी भाषाकै बहिनी हुन् । वर्ण विन्यासमा हिन्दी बमोजिम चल्दा हामीलाई धेरै कुरामा मद्दत हुन सक्छ भनेका थिए । उनले कम्पोजका लागि अक्षर, प्रविधि र वर्ण विन्यासको प्रभावका कारण हिन्दी वर्ण विन्यासको ग्रहण गरेको देखिन्छ । हाम्रा पूर्वजहरुले नेपाली वर्णको खोज र उच्चारण वा कथ्य हेरेर मानक वर्ण विन्यास प्रयोगमा ल्याएको देखिँदैन । पूर्वजहरुले त संस्कृत वर्ण, संस्कृत र हिन्दी वर्ण विन्यासबाट प्रभावित भएर नेपाली वर्ण विन्यासको मानक निर्धारण गरे । फलस्वरूप नेपाली कसरी शुद्ध लेख्ने ? १९९२ प्रकाशन भन्ने पुस्तिका प्रकाशित भयो । यसैलाई परम्परागत हिन्दी प्रभावित वर्ण विन्यासको थालनी भनिन्छ । सङ्क्षिप्त रूपमा भन्नु पर्दा नेपाली वर्ण र उच्चारणको पहिचान नहुँदै संस्कृत, हिन्दी प्रभावमा र त्यसको नक्कल गरेर नेपाली भाषामा प्रचलनमा ल्याइएको वर्ण र वर्ण विन्यास नै परम्परागत वर्ण विन्यास रहेछ भन्ने बुझिन्छ । अहिले सङ्क्षेपतः स्थूल रूपमा परम्परागत वर्ण विन्यास भनेर बुझाउँदा मुख्यतः निम्न नियम बुझिन्छ —
(क) तत्सम नेपाली शब्दको वर्ण विन्यास तत्समानुसारी ः पौष, विशेषण, कीर्ति, भाषा देश आदि
(ख) क्षतिपूर्ति दीर्घीभवनको वर्ण विन्यास पनि संस्कृतानुसारी ः पूmल, बूढो, मीत, मीठो ठूलो आदि
(ग) शिष्ट प्रचलनका वर्ण विन्यास संस्कृतानुसारी ः मूसो, मूला, कीरो कीलो, पीरो, जीरा आदि ।
(घ) द्वित्व, समस्त शब्द र सबै नामयोगी तथा संयुक्त क्रिया पदयोग ः घरघर, रामप्रसाद, महेन्द्र्रवीरविक्रम शाहदेव, ज्ञानेन्द्रवीरविक्रम शाहदेव, घरतर्फ, भनेअनुसार, अबउप्रान्त, पोखरापर्यन्त, देवीप्रसादमार्फत् आदि ।
(ङ) व्युत्पन्न तत्सम शब्दको वर्ण विन्यास संस्कृतानुसारी ः पोषिलो, पुष्ट्याइँ, शक्नु, मूख्र्याइँ, पूर्वेली, पश्चिमेली, शब्द्यौली स्वीकार्नु आदि ।
(च) आगन्तुक शब्दहरुको वर्ण विन्यास तत्तत् भाषा अनुसार ः तस्वीर, कानून, गरीब, शहीद,तालीका तालीम, ब्यूरो, झण्डा आदि ।
दार्जिलिङका केही तत्कालीन पत्रिकाले काठमाडौँमा प्रचलित लेखनलाई काशीभासे बोली भनेका थिए । काशीको नेपाली भाषामा अधिक संस्कृत र हिन्दीको प्रभाव हुनु स्वाभाविक थियो । काशीमा पढेर काठमाडौँ आएकाहरुले नेपाली भाषाको मानकीकरण अभियान सुरु गरेका थिए । यस काशीभासे बोलीको अभियानबाट मुक्त हुन गुरु वैयाकरण सोमनाथ सिग्द्यालले मध्य चन्द्रिकामा ( वि.संं.१९७६) नेपाली भाषाका सबै सलाई प्राकृत भाषाका नियमले सर्वत्र स लेखे हुन्छ भने । फेरि टर्नरले वि.संं.१९८८ तिर नेपाली भाषाको वर्ण विन्यासको आफ्नै पद्धतिको छ, यसको ह्रस्व इकार, उकार र दीर्घ ईकार र ऊकारमा फरक छैन तथा नेपाली तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा ह्रस्व हुन्छ भने । यसैमा पारस मणि प्रधानले नेपाली ध्वनि के कसरी उच्चारण हुन्छ भन्ने बारेमा दुई चार जना अनेपालीहरु मात्र देखा परेका छन् भन्दै नेपाली विद्वान्हरुले नेपाली वर्ण र उच्चारणको खोज नगरेको सङ्केत गरे । यसबाट के बुझिन्छ भने पूर्वज नेपाली विद्वान्हरुले नेपाली वर्ण र उच्चारणको खोज वा अनुसन्धान नगरी प्रारम्भमा संस्कृत र हिन्दीको नक्कल गरी मानक नेपाली वर्ण विन्यास सुरु गरेका रहेछन् ।
एकतिर हिन्दी शैलीको देवनारी लिपिमा नेपाली भाषा लेखिन्छ भने अर्कातिर वर्ण विन्यास र प्रविधिमा समेत हिन्दीकै प्रभाव भेटिन्छ । यसलाई सर्वप्रथम तत्कालीन शारदा पत्रिकाले स्पष्ट गरेको छ । वि.संं.२०५८ मा शिव रेग्मीद्वारा सम्पादित शारदा सम्पादकीयको पृष्ट १६२ मा भनिएको छ “नेपाली हिन्दीकै एक निकट नातेदार भाषा हुनाले यसमा हिन्दीकै छाप पर्दै जानु कुनै अनहोनी कुरा होइन, हिन्दी र नेपाली व्याकरणका नियममा उत्ति भेद पाइन्न, वाक्यशैलीमा पाइन्छ ।” हो, तत्कालीन नेपाली कसरी शुद्ध लेख्ने ? लाई समितिको व्याकरण भनिन्थ्यो । व्याकरणमा परेको हिन्दी प्रभावका कारण उक्त सम्पादनको पृ.नं. १६३ ले भनेको छ “एउटा भाषाको शब्द अर्र्कोमा गइ रहेपछि त्यो आफ्नो स्वाभाविक नियममा रहि रहन्न । अरू भाषाको तत्सम शब्द भन्दै ती ती भाषाका शुद्ध रूप खोजेर सच्याउनु पर्छ भन्ने कोही कोहीको विचार देखिन्छ तर त्यो ठिक होइन किनभने अरू भाषामा दीर्घ छ भन्दैमा हाम्रो भाषामा पनि दीर्घ लेख्नु पर्छ भन्ने कुनै प्रामाणिक कुरा होइन । बोल्दा हामी ह्रस्व उच्चारण गर्छौँ भने ह्रस्व नै हुनु पर्छ ।” शारदाको यस भनाइले के पुष्टि गर्छ भने शहीद, कानून, डीन, शहर, आदिको वर्ण विन्यास ती ती भाषाका उच्चारणमा नखोजौँ, हाम्रै उच्चारणमा खोजौँ र सहिद, कानुन, डिन, सहर र गरिब लेखौँ । वैयाकरण गोपाल निधि तिवारीले नेपाली भाषाको बनोट (वि.सं.२०३०) भन्ने व्याकरणको पृष्ट नं.१०० मा केही अपवाद बाहेक नेपालीका सबै शब्द आदि र मध्यमा ह्रस्व लेखिन्छन् भनेका छन् । पुष्कर शमशेरले पनि सजिलो व्याकरण भन्ने कृतिमा हिज्जे गर्दा अक्सर अगाडि र बिचमा उच्चारण अनुसार ह्रस्व हुन्छ भन्दै क्षतिपूर्ति दीर्घीभवन, शिष्ट प्रचलन र केही आगन्तुक शब्दलाई अपवाद मानेका छन् । उक्त भनाइका आधारमा माथिका नियम कको तत्सम यथावत् राख्ने चलनलाई स्वीकार गर्दा खदेखि चसम्मका नियमहरु नेपाली वा प्रकृत उच्चारण अनुसार वर्ण विन्यासमा सुधार हुनु पर्छ भन्ने देखिन्छ ।
दर्जिलिङ, टर्नर, ग्रियर्सन, सोमनाथ (सकार) शारदा पत्रिका, पारस मणि, पुष्कर शमशेर र गोपाल निधि तिवारीका दृष्टिकोणलाई हेर्दा नेपाली वर्ण विन्यासलाई प्राकृत भाषा वा यसको उच्चारण व्यवस्था अनुसार लेख्नु पर्ने हिन्दी वा संस्कृत अनुसार लेखाउन नहुने मान्यता भेटिन्छ । यस मान्यताले नेपाली उच्चारण अनुसार तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा ह्रस्व र शब्दमा सकार लेख भनेको छ । तत्सम बाहेक अन्य तद्भव व्युत्पादित शब्दमा पनि नेपाली उच्चारण नियम अनुसार वर्ण विन्यास लेख्ने सङ्केत र नेपाली उच्चार्य वर्णहरुको पहिचान गर्न आग्रह गरेको छ । तर तिनताका यिनीहरुका मान्यता गौण र संस्कृत र हिन्दी प्रभावित परम्परागत वर्ण विन्यास लेखन प्रमुख धार रह्यो । वर्ण विन्यासमा संस्कृत र हिन्दी प्रभावले गर्दा नेपाली भाषा लेखनमा बाजेवाद र बाजवादलाई जन्म दियो । जन्म दिएका कारण झर्रोवाद (वि.संं.२०१३) आयो । संस्कृत र हिन्दी शब्द प्रभावित नेपाली वाक्य रचनाको विरोध बाहेक आगन्तुक र तद्भव शब्दमा सकार लेखन, त्यस्ता शब्दको आदि र मध्यमा ह्रस्व लेखन एवं शब्दको उच्चारण अनुसरण गरी नेपाली वर्ण विन्यास लेखिनु पर्ने कुरा झर्रोवादभन्दा अगाडिकाले नै उठाएको देखिन्छ । उठाउनेहरुमा टर्नर, ग्रियर्सन, सोमनाथ, शारदा पत्रिका, पारस मणि, पुष्कर र गोपाल निधिहरु भेटिन्छन् । अहिले प्रविधि, अनुभव परम्परा, सिकाइ मनोविज्ञान र शोध विकसित हुँदै आएको वर्तमान समयमा हिन्दी भाषा प्रभावित वर्ण विन्यासको वकालत गर्नु राष्ट्रवादी चरित्र हो जस्तो लाग्दैन । किनभने वर्ष १ अङ्क ४ को प्रज्ञा प्रत्रिकामा रत्नध्वज जोशीले संस्कृत व्याकरणका आधारमा नेपाली उच्चारण वा ध्वनि बारे सोच्ने र धारणा बनाउन बानी परेका परम्परावादी नेपाली शिक्षितहरुबिच नेपाली कथ्य र लेख्यबिचको फेद र टुप्पो देखा पर्दैन भन्दै कथ्य र लेख्यबिचको अन्तर थाहा नपाई कलेजमा गुरु र गुरुबा भ्रममा परेका छन् भनी लेखेका छन् । सायद यस्तै भ्रमले हिन्दी र संस्कृत प्रभावित वर्ण विन्यास हटाएर नेपाली उच्चारण अनुसारको सुधारिएको वर्ण विन्यास नियम बनाउँदा झर्रोवादी उग्रता देखिएको हो कि ? यस्तै भ्रममा परेर गुरु र गुरुबाहरुले कलेज कलेजबाट हिन्दी र संस्कृत प्रभावित नेपाली वर्ण विन्यासको पक्षमा वक्तव्य निकालेका त होइनन् ?

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 18 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु