पदयोग र पदवियोग लहडबाजीको विषय होइन

- प्रा. डा. देवीप्रसाद गौतम

सामान्यतया उच्चारण गर्दा हुने समयको अन्तराल र लेख्दा छोडिने ठाउँका आधारमा पदहरू छुट्टिन्छन् । मोटामोटी रूपमा एउटा पद र अर्को पदका बिचमा लेखाइमा छोडिएको ठाउँ र बोलाइमा हुने समयको अन्तराल पदविभाजनको आधार हो । पद आर्थी एकाइ हो र प्रकार्यपरक एकाइ पनि हो ।
रामनाथ, ज्ञानमणि, हरिराज, विश्वकान्त, विश्वदेव जस्ता नाम र थरका बिचमा जोडिन आउने नाथ, मणि, राज, कान्त, देवजस्ता संरचना भिन्न पदका रूपमा रहँदैनन् । यिनको फरक आर्थी सम्बन्ध छैन । यस आधारमा राममणि र कमलमणि, हरिराज र कमलराज, ताराकान्त र विजयकान्त, नरनाथ र गणेशनाथ, विष्णुदेव र मदनदेवको पदगत प्रकार्य एकै छ । यस सन्दर्भमा राममणि जोड्ने, कमलमणि नजोड्ने, हरिराज जोड्ने, कमलराज नजोड्ने, ताराकान्त जोड्ने विजयकान्त नजोड्ने नरनाथ जोड्ने, गणेशनाथ नजोड्ने, विष्णुदेव जोड्ने, मदनदेव नजोड्ने कुरो कति वैज्ञानिक छ र यसको सान्दर्भिकता के कति छ ?
देवनागरीको विशेषता डिको हुनुमा छ र एकै डिकोमा लेख्ने वा फरक डिकोमा लेख्ने भन्ने कुरासँग पदयोग र पदवियोग अभिन्न रूपमा जोडिएको छ । यो परम्परा पनि हो, परम्पराको निर्वाह पनि हो र योग गरेर एउटा संरचनात्मक पद बनाउने कि वियोग गरेर दुई वटा संरचनात्मक पद बनाउने भन्ने कुरा भाषावैज्ञानिक विषयभन्दा बढी सामाजिक सम्झौता (स्वीकार्य लेख्य प्रचलन वा परम्परा) मा आधारित विषय हो । लेख्य प्रचलन वा परम्पराका आधारहरू अघोषित रूपमै पनि नियमन प्रक्रिया अनुकूल हुन सक्छन् । सहज रूपमा प्रवाहित हुँदै गरेको लेख्यपरम्पराको गम्भीर रूपमा अध्ययन, मनन र विश्लेषण नगरी आधारहीन छ भनिहाल्न सकिँदैन । पदयोग पदवियोगलाई आर्थी रुढताको वास्तै नगरी ध्वनिलमाइका आधारमा गरिने योग र वियोगको निक्र्यौल आधारहीन विषय हो । उदाहरणका लागि केटाकेटी, छोराछोरी, दाजुभाइ जस्ता दुई शब्द मिलेर बनेका समस्त शब्दहरूमा आर्थी एकत्व रहेको छ । केटाकेटीको अर्थ केटा र केटी मात्र नभई बालबच्चा हो, छोराछोरीको अर्थ छोरा र छोरी मात्र नभई सन्तति हो र दाजुभाइको अर्थ दाजु र भाइ मात्र नभई बन्धुबान्धव र इष्टमित्रसमेत हो । यस्ता शब्दमा जुन तहको आर्थी एकत्व छ र यिनीहरूमा जे जस्तो रुढ अर्थ स्थापित छ त्यही स्थिति दिदीबहिनी तथा सासूबुहारीमा छ । एकै प्रकृतिका त्यस्ता समस्त शब्दलाई ध्वनिमापन गरी दाजुभाइलाई जोड्ने तर दिदीबहिनीलाई नजोड्ने कुराको तार्किक आधार छैन । घरज्वाइँ, फुपूसासू, नन्देभाइ बाहुनबा, बाहुनदाजु जस्ता शब्दहरू दुई वटा शब्दबाट मिलेर पनि तिनले एकै व्यक्तिलाई बुझाउँछन्, दुई शब्दको एकात्मक अर्थ छ र नेपाली प्रयोग परम्परामा यस्ता शब्द रुढ रूपमा स्थापित भइसकेका छन् । यही स्थिति बहिनीज्वाइँ, नातिनीज्वाइँ, पनातिनीज्वाइँ, आमाजुदाजु, माइजूसासू, फुपाजुससुरा, मामाससुरा जस्ता शब्दहरूमा पनि लागू हुन्छ । यी शब्दहरूमा पनि आर्थी एकत्व छ र यिनीहरू रुढ रूपमा स्थापित छन् । अतः फुपुसासू जस्ता शब्दलाई जोड्ने तर फुपाजुससुरा जस्ता शब्दलाई नजोड्ने कुनै आधार छैन ।
कतिपय शब्दहरू समास भइसकेपछि तिनले आफ्नो पूर्व अर्थवत्तालाई पूरै गुमाएर नयाँ अर्थसन्दर्भलाई वहन गर्दछन् । यसको सन्दर्भ कुनै ऐतिहासिक कालखण्डसँग जोडिएको पनि हुन सक्छ । उदाहरणका लागि भद्रपुरको भद्र र पुरमा भद्रत्व र पुरत्व अर्थ छैन, कीर्तिपुरको कीर्ति र पुरमा कीर्तित्व र पुरत्व अर्थ छैन । यही स्थिति वीरगञ्जको वीर र गन्जमा छ । यिनीहरू पूरै रुढ रूपमा स्थापित भइसकेका छन् । कुनै कालखण्डमा समासपूर्वको अर्थगत सम्बन्ध सोही स्तरमा रहिरहे पनि वर्तमानमा यिनीहरूले पूर्णतः एकात्मक अर्थलाई नै बुझाएका छन्, झन्डै झन्डै समस्ततालाई गुमाएका पनि छन् (हिन्दुस्थान, पाकिस्तान जस्ता शब्दहरूमा अर्थसम्बन्ध रहिरहेको स्थिति पनि पाइन्छ) । यही स्थिति ललितपुर,नेपालगञ्ज, कपिलवस्तु, नवलपरासी, विराटनगर, अफगानिस्तान आदि शब्दमा देखिन्छ । वीरगञ्ज, भद्रपुर, तातोपानी जस्तालाई जोड्ने तर विराटनगर, ललितपुर, सगरमाथा, दूधपोखरी, सुन्दरीजल शब्दलाई नजोड्ने, कालीकोटलाई जोड्ने नगरकोटलाई नजोड्ने कुरा तर्कसम्मत छैन ।
यसैगरी विद्यापति, धनपति, प्रजापति, पुँजीपति, चक्रव्यूहलाई जोड्ने तर कैलाशपति, व्यूहरचना, उद्योगपतिलाई नजोड्ने, विधिविज्ञ, स्वर्णयुग, स्वर्णधनलाई जोड्ने तर संस्कृतिविज्ञ, र स्वर्णकमललाई नजोड्ने, बाढीग्रस्त, दसपन्ध्र, सुखदुख, आत्मकथा, आत्महत्यालाई जोड्ने तर बाढीपीडित, बिसपच्चिस, आपत्विपत् र आत्मनिवेदनलाई नजोड्ने, गिरिधर, विद्याधर, नवरत्न, नवग्रह, नीलकण्ठ, भाग्यरेखा र यज्ञशालालाई जोड्ने मुरलीधर, यज्ञमण्डप, भाग्यविधाता र नीलगगनलाई नजोड्ने, जन्ममृत्यु, पूजाकोठा र लोकप्रियलाई जोड्ने, जन्ममरण, पूजासामान लोकमान्यता, लोकविश्वास, लोककल्याणलाई नजोड्ने, द्वितीया तत्पुरुष समासबाट बनेको भाइमारालाई जोड्ने तर द्वितीया तत्पुरुष समासबाटै बनेको तिहुनचखुवा, (तिहुन (लाई) चखुवा = तिहुनचखुवा) पानीमरुवा, लुगाधुलाइलाई नजोड्ने, लोकगीत, लोककथा, लोकगाथा, लोकनृत्यलाई जोड्ने तर लोकनाटक, लोकदोहोरीलाई नजोड्ने, धुलीखेल, टँुडिखेल जोड्ने तर जाउलाखेल, लगनखेल नजोड्ने, मरुहिटी जोड्ने नारायणहिटी नजोड्ने, कृषियोग्य जोड्ने तर विचारयोग्य नजोड्ने, गोरुगाडा जोड्ने बयलगाडा नजोड्ने, बसभाडा जोड्ने तर हवाइभाडा नजोड्ने, कोसीपूर्व जोड्ने तर कोसीपश्चिम नजोड्ने, नदीवारि जोड्ने, नदीपारि पनि जोड्ने, नदीयता जोड्ने, नदीउता पनि जोड्ने तर नदीउत्तर र नदीदक्खिन नजोड्ने, सप्तकोसी जोड्ने सप्तगण्डकी नजोड्ने, देवीस्थान जोड्ने नारायणस्थान नजोड्ने, नरनारी जोड्ने नरनारायण नजोड्ने, अष्टदल जोड्ने, आठपहरिया नजोड्ने, मालीगाउँ जोड्ने सुनारगाउँ नजोड्ने, देशवासी जोड्ने नगरवासी नजोड्ने, द्विवर्षीय जोड्ने त्रिवर्षीय पनि जोड्ने तर पञ्चवर्षीय नजोड्ने, स्तुतिगान जोड्ने तर महिमागान नजोड्ने, भाइटीका जोड्ने तर भाइतिहार नजोड्ने, लक्ष्मीपूजा र गोपूजा जोड्ने, गाईपूजा पनि जोड्ने तर कुकुरपूजा, कुकुरतिहार र कागतिहार नजोड्ने, गोलीगाँठो जोड्ने लगनगाँठो नजोड्ने, गोडधुवा जोड्ने, टुप्पीकट्टा पनि जोड्ने तर घरकुरुवा नजोड्ने, हिम्मतहारा जोड्ने इज्जतफाला नजोड्ने, मूलघर जोड्ने, मूलपुरुष नजोड्ने, कन्यादान, वनवास, ऋणमुक्त जोड्ने न्यायसम्मत, पूजासामान, घरझगडा, जीवनस्तर नजोड्ने, डाँडाखेत, भिरगाउँ, तिनपाने, बाबाधाम जोड्ने, सतासीधाम, बराहक्षेत्र, नगरकोट नजोड्ने अल्पकाल जोड्ने अल्पविराम र अल्पकालीन नजोड्ने, आत्मरक्षा जोड्ने, आत्मवाचक नजोड्ने, देवदूत जोड्ने देवनागरी नजोड्ने, श्रमजीवी जोड्ने, कलमजीवी कपडछान, मनगढन्त, हस्तलिखित, युक्तिसंगत नजोड्ने, सुविधाजनक जोड्ने अन्यायजनित नजोड्ने र हिँड्दा हिँड्दा, खाँदा खाँदा, आउँदा आउँदा, भन्दा भन्दा नजोड्ने तर हिँड्दाहिँड्दै, खाँदाखाँदै, आउँदाआउँदै, भन्दाभन्दै जोड्ने गरिएको देखिन्छ । यसो गर्ने भाषाको कुनै पनि प्रवृत्तिगत आधार छैन ।
क प्रत्यय लागेर बनेको कर्मक शब्दमा एक, द्वि शब्द जोडिँदा एककर्मक, द्विकर्मक शब्द बन्दछन् । यसै गरी बोध् र वाच्मा अक प्रत्यय लागेर बोधक र वाचक बन्दछन् । प्रयोगका आधारमा हेर्दा कर्मकबाट कर्मकत्व, कर्मकता शब्द बन्दछन् भने बोधक र वाचकबाट पनि बोधकत्व, बोधकता, वाचकत्व, वाचकता शब्द बन्दछन् । यसरी कर्मक, वाचक तथा बोधक शब्दको प्रयोगात्मक हैसियत एकै देखिन्छ । तर एक, द्वि शब्दसित जोडिएको कर्मकलाई पदयोग गरी एककर्मक, द्विकर्मक लेख्ने तर व्यक्ति, ज्ञान आदिमा वाचक तथा बोधक जोडिएर बन्ने व्यक्तिवाचक, व्यक्तिबोधक, ज्ञानबोधक जस्ता शब्दलाई बेग्ल्याएर व्यक्ति वाचक, ज्ञान बोधक लेख्ने, एकवचन, बहुवचनलाई बेग्ल्याएर एक वचन, बहु वचन मात्र नबनाई त्यसमा बोधक थप्दा बन्ने एकवचनबोधक, बहुवचकनबोधक शब्दलाई एक वचन बोधक, बहु वचन बोधक बनाउने ? यस्ता एकात्मक रूपमा सँगै मरौं सँगैं बाँचौं भनी संकल्प लिएर, राम्ररी घरजम गरेर बसेका शब्दलाई जबर्जस्ती पारपाचुके गराउन खोज्ने काम कसरी अग्रगामी कदम हुनसक्छ ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु