गाउँदा गाउँदै कुनै सप्तकमा हराइरहेको आवाज हुँ म

- डा. मधु माधुर्य

समयको कालखण्डमा
स्पेसको अन्तरकुनाहरूमा
खोज्दै छु आफैलाई कुनै "फ्रीक्वेन्सी" मा
स्वरहरुको तरंगमा ...

हिजो गाउँमा बजिरहेको थिएँ
झरनाको आवाजसंग इर्ष्या हुन्थ्यो
नदीको सुसाइसंग इर्ष्या हुन्थ्यो
हुरीको सुसेलीसंग
जोरी खोज्थें -
आकासको गड्याङ्ग गुरुङसँग !


"म" को प्रतिध्वनी पहरामा ठोकिँदा
कुनै मेलाको कोलाहलजस्तो
आवाजहरुको गुञ्जन
रमाइलै थियो
त्यसैमा अभ्यस्त थिएँ म

चरा-चुरुँगीको चिरविरसँग प्रतिस्प्रधा हुन्थ्यो
झ्याउँकिरीसँग रत्यौली चल्थ्यो ...
प्रकृतिको रंगमंचमा
नैसर्गिक सिम्फोनी आवाजमा
म -
सिंगो
बाँचिरहेको थिएँ ...

सभ्यताको अनुहार हेर्न
जब म शहरमा आएँ -
निस्ससिएर
ध्वनी प्रदुषणमा
हराएँ ...

याद छ :
हराउनुअघि
कुनै दिन म त्यहाँको ओपेरा थिएटरमा छिरेको क्षण
कुनै कार्लोसको गलाबाट
जोड जोडले घन्किरहेको थिएँ
श्रोताहरुको मन उद्द्वेलित गराउँदै
बलिरहेका चिमहरु पट-पट फुटाल्दै...

जब
रातको आगमन भयो
शहरलाई हुचीलहरुले कब्जा गर्यो
बारहरुबाट छुटेको कर्कश ध्वनीको ऐठनले
म वेहोस वेहोस भएर
शुन्यतामा म हराउन थालें ...
गाउँको परिवेशमा रमाइरहेको
म -
शहरमा हराएँ |

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु