वर्णविन्यासको एकरूपता

- प्रा. मोहनराज शर्मा

नेपाली वर्णविन्यासका क्षेत्रमा मैले देखेको सर्वप्रमुख समस्या एउटा मात्र छ । त्यो समस्या के हो भने वर्णविन्यासका सम्बन्धमा देखापरेका मतमतान्तरको समन्वय गर्ने र त्यसको कार्यान्वयन एवं अनुगमनमा लाग्ने उच्च भाषिक निकाय वा केन्द्रीय एकाइको अभाव छ । यहाँ के स्पष्ट पार्न आवश्यक छ भने यस्तो निकाय नियन्त्रणकारी नभएर समन्वयकारी, कार्यान्वयनकारी र अनुगमनकारी हुनु जरुरी छ । हाल यस्तो कुनै निकाय नभएको हुँदा नेपाली वर्णविन्यासका क्षेत्रमा केही अतिवाद पलाएका छन् र ती ठुलै रडाको मच्चाएर उर्लेका छन् ।

'नेकशुले'पछि नेपाली वर्णविन्यासका क्षेत्रमा सुधारका जेजति प्रयास भएका छन् ती सबै एकप्रकारले वैयक्तिक वा सोसरह प्रयास हुन् । यस्ता केही प्रयास विभिन्न व्यक्ति (महानन्द, मुकुन्दशरण, चूडामणि, हेमाङ्गराज वा म स्वयं आदि) बाट र केही प्रयास विभिन्न संस्था (त्रिवि अनिवार्य विषय समिति, साझा प्रकाशन, प्रज्ञाप्रतिष्ठान, सरकारी पाविके र उच्चमाध्यमिक तह आदि) बाट गरिएको पाइन्छ, तर ती सबैको एकै ठाउँमा समन्वय गर्ने आधिकारिक सूत्र नहुँदा सम्पूर्ण प्रयासहरू व्यक्तिगत तहका बेग्लाबेग्लै डम्फु र बेथितिसंग छरिएको बिस्कुन बन्नपुगेका छन् । यस सन्दर्भमा स्मरणीय के छ भने व्यक्तिले गरेका प्रयासहरू त वैयक्तिक हुने नै भए, तर त्रिवि अनिवार्य विषय समिति, साझा प्रकाशन, प्रज्ञाप्रतिष्ठान, सरकारी पाविके आदिका प्रयास पनि वैयक्तिकजस्तै हुन पुगेका छन् । संस्थागत प्रयास पनि किन वैयक्तिक भएका छन् भने ती आफ्नाआफ्नै सेराफेरामा (त्रिविको प्रयास उसकै क्याम्पसमा, प्रज्ञाप्रतिष्ठानको प्रयास उसकै शब्दकोश र प्रकाशनमा, सरकारी पाविकेको प्रयास विद्यालय तहमा, उच्चमाध्यमिकको प्रयास एघार र बार कक्षामा) ठिंगुरिएर रहेका छन्, आम प्रयोक्तालाई समेट्ने दिशातर्फ कुनै उन्मुख छैनन् । संस्थागत सबै प्रयासको नियति स्थानीय तहको बनेर गुँडुल्किएका छ ।

आज मुलुकमा त्रिविजत्तिकै स्वायत्त विश्वविद्यालय अरू पनि थुप्रै खुलिसकेका छन्, जस्तै–पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय आदि । अन्य विश्वविद्यालय पनि उत्तिकै स्वायत्त संस्था भएका हुँदा तिनले त्रिवि वा अरू कुनै विश्वविद्यालयको वर्णविन्यास वा शब्दकोश मान्नु पर्ने बाध्यता देखिंदैंन । हो पनि, एउटा विश्वविद्यालय अर्को विश्वविद्यालयको हाकिम नभएको हुँदा सबै आफ्नाआफ्ना क्षेत्रमा स्वतन्त्र छन् । त्यस्तै साझा प्रकाशनले कुनै लेख्यनियम तयार पार्छ भने त्यसलाई अरू प्रकाशनले अँगाल्नै पर्ने कारण किन देखिंदैन भने ती साझाका अङ्ग नभएर स्वतन्त्र संस्था हुन् । त्यस्तै गोरखापत्रले कुनै वर्तनी प्रयोग गर्छ भने कान्तिपुर, नागरिक वा अन्य कुनै पत्रपत्रिकाले पनि त्यही अँगाल्नु पर्छ भन्ने कुनै विवशता छैन। अनि नेपाल प्रज्ञाप्रतिष्ठनको खिप्तीलाई अरूले मान्नु पर्ने कुनै आधार देखिंदैन, किनभने विश्विद्यालयहरू, प्रकाशनगृहहरू, सञ्चारका माध्यमहरू, विद्यालयहरू वा कुनै आम प्रयोक्ता उसको मातहत होइन ।

अझै के भने नेपाली भाषाको प्रसार सीमापारिका अन्य देशमा समेत भइसकेको छ । यस्तो अवस्थामा नेपाली वर्णविन्यासका अन्तर्राष्ट्रिय प्रयोक्तासंग पनि समन्वय र सामञ्जस्यका साथै तिनको सुझाउ र सहमति समेत चाहिन्छ । तसर्थ देशभित्र अहिलेसम्म भएका व्यक्तिगत एवं संस्थागत प्रयासमा समन्वय र एकरूपता स्थापित गरी देशबाहिरका प्रयोक्ताको सहमति समेत जुटाएर सर्वत्र कार्यान्वयन तथा अनुगमन गर्नसक्ने उच्चस्तरीय केन्द्रीय निकायको स्थापना अपरिहार्य भइसकेको छ । यस्तो निकायका अभावमा यो अन्योल रही नै रहने देखिन्छ । अहिले वर्णविन्यासका चाहिंदा र नचाहिंदा नियमहरू बोकेर जेजति धुरन्धरहरू देखिएका छन् ती सबै एक समयका बाइसी र चौबसीका भुरेटाकुरेजस्तै हुन्, जसलाई एकीकरण गर्ने दिगो निकाय चाहिएको छ ।

अब कुरो आउँछ नेपाली लेखन र वर्णविन्यासबारे । मैले नेपाली वर्णविन्यासमा त्यति धेरै र त्यति जटिल समस्या देखेको छैन । यस दृष्टिले अङ्ग्रेजी वा चिनियाँ लेखनतर्फ हेर्दा त्यहाँ कहालीलाग्दा समस्याहरूले ग्रस्त पारेको देखिन्छ, तर त्यस्तो स्थिति नेपाली लेखनको छैन । यसै पक्षसंग सन्दर्भित भई म नेपाली वर्ण, वर्णविन्यास र लेखनबारे आफ्ना विचार र सुझाउ यसै गरी क्रमशः प्रस्तुत गर्दै जानेछु, अहिलेलाई यत्ति नै ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु