भेरीको किनारै किनार

- भेषराज रिजाल

घामले सर्वत्र उज्यालो फैलाइसकेको थियो– छिन्चुबाट उकालो लाग्दा ।
पक्की सडकमा गाडी सरर गुडिदिनाले नयाँ परिवेशसँग चिनापर्ची गर्न पाएको थिएँ मैले । घरिघरि भने मेरो ध्यान तानिएको थियो अपरिचित अनुहारका भाउभङ्गिमा, बोलीचालीका लवज र हेराइतिर । तिनीहरुले कहिरहेथे एउटा अलिखित दर्दनाक कथा ।
पछि चढ्नेले अघिल्लो सिट खोज्छन् । महिला र केटीहरु पछाडि गएर बस्छन् । अपाङ्ग, असक्त, जेष्ठ नागरिक र महिला सिटको नामै छैन । चित्त बुझाएँ– दरिद्र मन भएका धनाढ्य र धनाढ्य प्रवृत्तिका गरिबहरु धेरै रहेछन् नेपालमा ।
नजिकै छ भेरी । मौकामा भूगोल नियाल्ने रहरले खेदिइरहेछु त्यसको किनारै किनार म ।
बाटो गाउँघर छिर्नाले व्यापार घटेको चिन्ताले ग्रस्त सहर सम्झेर विरक्त लाग्छ । निर्धोसरि भएको गाउँ र गाउँप्रति वक्र दृष्टि राख्ने सहर दुबैको भलो चाहन्छु म– आफ्नो पेरिफेरीका गाउँबस्तीको विकास गरेर समृद्ध बन्नसकोस् सहर ।
फेरि घोच्छ उही सियोले– पुरानो सोच, संस्कार र शैली रहेसम्म कसरी होला र विकास ?
जहरेको अमृततुल्य शितल हावा फोक्सोमा हुलेर मुन्टो घुमाउँछु वरपर । गुरुजीले भने एकफाँक जहरै (सुर्ती) च्याप्छ मुखभरि । तर, पर्पराउँछ मलाई । अरुले खाँदा मलाई किन पर्पराएको होला ? सोच्छु, स्वाद, रुप, गन्ध त केबल आफैभित्रको अनुभूति पो रहेछ ।
लोदेमा एकथान यात्रु लोड गर्छ बस तैपनि धेरै सीट खालि नै छन् ।
गोचेखोला पुल वारपार लस्कर लागेका गाडी देख्दा दिनहुँ जाम खुवाएर आफूलाई सम्पन्न ठान्ने काठमाडौंलाई सम्झन्छु मैले । जागिरे जिन्दगीमा धेरैकुरा सिक्ने अवसर दिएको काठमाडौंलाई सरापिहाल्न भने सक्दिनँ । तर, काठमाडौंले धेरै बेथिति पालेको प्रति कुँडिएको रहेछ मेरो मन ।
गरिब घरपरिवारको पहिचानसम्बन्धी प्रशिक्षण कार्यक्रममा हिँडेको म गाडीमा देखिएका गरिबहरुको निर्दोष नजरसँग पराजित हुन्छु हरक्षण । गरिबसम्बन्धी अडमा काम गरेकोमा आफूलाई ठूलै मान्छे देखाउन खोज्ने साथीलाई रोक्दै डुल्न हिँडेको बहाना बनाएर तर्कन खोज्छु पटकपटक । राज्यका क्रियाकलाप गरिबमैत्री नभएको ठम्याइ रहेछ मेरो अन्तरहृदयमा ।
मेहलकुनाले काठमाडौंको सिको गरेर आफ्नो छेउछाउमा बाटो विस्तार गर्न थालेछ । छिटोछरितो पुनर्निर्माण गर्न नसक्नेहरु किन अघि सर्छन् भत्काउन ? भत्केको मनसँग सोध्छु । भत्केको बाटोसँग टोलाउँछु ।
केही वर्ष पहिले मेहलकुनाको पुल भत्किँदा धेरै मान्छे मरेको सम्झनाले फेरि विष्मित बनाउँछ । अव्यवस्थाका असरहरु कहिले हेरिएला नेपालमा ? मनको सवालमा मनकै जवाफ पाइयो– जब होला असल सोच, संस्कार र व्यवस्थापनको विकास ।
भर्खरका तीनपाते मकैका बिरुवाहरु संसार हेर्ने चाहनाले हुर्किरहेथे हलहली । सल्लाघारी मुन्तिर कलिला मकैबारीले घेरिएका गाउँबस्तीहरु आइरहेथे झलझली । सोचेँ, यी गाउँबस्तीको मायामा रम्न नसक्नेहरु परदेशी भूमिमा बितारिइएका होलान् यतिबेला । गाउँघरका आफन्तहरु पिरोलिइरहेका होलान् ।
वीरेन्द्रनगरलाई निउरो पठाउने हरिया भित्ता हेरेर रमाउँछु । बाटेचौरमा झ्याल व्यापार गर्नेहरुले देखाउँछन्– फ्राइ अण्डा, काँक्रो, पानी र चना । भोकबिनाको भोजनप्रति तानिँदैन मन ।
भेरीसँगै दाँजिएर रमाउन चाहन्थेँ म त ।
भेरी असंख्य भीरमुन्तिर चेपिएको छ । म अनेक पीरले चेप्टिएको छु । भेरी अविरल प्रवाहित छ अजश्र धाराहरुसँग । लामो थकाइ पन्छाउँदै भेरीजस्तै प्रवाहित हुन चाहन्छु म पनि । हरिया पहाडको सम्झना साँचेर सागर भेट्न कुदिरहेछ ऊ । म पनि प्रकृतिका हरिया सियाँलहरु हेर्दै रमाएको छु ।
भित्तामा कठोर पहरो छ त्यसलाई बाटो देखाइरहेको । मेरो मनको भित्तो छ कमलो पीरहरुले कोपरेको । भेरी धमिलिएको छ । त्यसको धमिलो हेरेर रमाउँदै म सङ्लिएको छु ।
सल्यानी रैकर बजार छोडिएपछि सल्यान खलङ्गातिर छोडिन्छ बाटो । बालुवा संग्रहीको कुइनेटामा सल्ली बजारतिर सोझिएको छ गाडी ।
एकहुल विद्यार्थी गाडीमा चढ्दा तिनको कुरकुरे बैँसलाई प्रहार गर्ने छाडा गीत बजिरहेथ्यो । त्यस्ता गीत सुन्दै दिनहुँ यात्रा गर्ने विद्यार्थीका हुल हेर्छु । अपद्धतिले बाँधिएर केही गर्न नसके पनि सपना बाँड्ने लहडी नेता जस्तो मन बोल्छ– ‘म यी विद्यार्थी आवतजावत गर्ने छुट्टै स्कूल बसको व्यवस्था गरिदिन्छु ।’ ती विद्यार्थीले सुनेको भए पत्याउँदा हुन र गर्दा हुन् मेरो जयजयकार । म सोच्छु– आश्वासन नबाँडी सकिँदैन नेता बन्न । कति गाह्रो छ है नेपालमा नेता बन्न !
म निद्राले लठ्ठ पर्दा कमलो मनको फाँटमा बगरैबगर थुपारेर फैलिएछ भेरी । बिउँझिएपछि फेरि आँखा लगाउँछु त्यसमाथि– मानौँ त्यो मेरो आँखाको नानी हो । त्यो मेरो मनकी रानी हो । अन्त आँखा लगाए बिथोलिन्छ मेरो घरबार । अन्त मन लगाए भत्किन्छ मेरो प्रेमिल–संसार ।
सल्लीबजार आइपुग्यो रातो माटोको पाखोमुन्तिर । एकाध स्कूले ड्रेसले रङ्गिन खोज्छ सल्लीबजार । तर मैलिएका ड्रेसले झन् रुञ्चे देखिन्छ त्यसको मुहार ।
चौरजहारी जाने बाटो विछोडियो ।
एउटा राम्रो पक्की पुल तरेपछि आइपुग्यो सुर्खेतको राकम । स–सानो उपत्यका भएर फैलिएको रहेछ राकम । नजिकको भेरीको शितलता लिन नसकी नाङ्गा राता डाँडाको उदासी अनुहारमा लछप्पै पोतेर बसेको रहेछ त्यो । यस्तो चालले कहिले बन्ला समृद्ध ?
भेरी किनारमा डोको बोकेर गाग्रोमा पानी खेपिरहेका एकहुल महिला देखिए । तिनीहरुको मुहार भेरीले बगाइल्याएको धमिलो जलजस्तै देखेँ, झाडापखालाले खुइल्याएको रङजस्तै देखेँ, गरिबीले गालेको मनजस्तै देखेँ ।
पानी खेप्ने सानो बच्चो देखेर भने आफ्नै बाल्यकाल सम्झेँ मैले । पानी भर्ने भाँडो गहिरो कुवामै खसालिदिएथेँ मैले त । भरे कामबाट फर्केर आएपछि आमाले अर्को भाँडाले कुवाको सप्पै पानी फालेर निकाल्नुभएथ्यो त्यसलाई । सकीनसकी त्यही सिलोटे भाँडोमा पानी लिएर जाँदै थियो त्यो बच्चो । त्यो बच्चोलाई आफूमा प्रतिस्थापित गरेर धेरैबेरसम्म पिरोलिइरहेँ म ।
जामुने बजारको रात्माटे सुख्खा र झ्यालमा उदाएको सूर्यको टन्टलापुर तातो सहन सकिन मैले । सकिन सुन्न नाङ्गा डाँडाहरुको रोदन पनि । म फेरि भेरीका ताल र छालतिरै फर्कन्छु ।
काली खोला पारिपट्टिका लहलहाउँदा मकैबारीमा नजर राख्न चाहन्थेँ तर गाडीको गतिले दिएन स्थिर हुन । अस्थिर मनका धमिला छायाँसँग रमाउन सकिन म ।
बाखर्कमा सम्पन्न हुन लागेको पुल हेर्दै अलिकति डाइभर्स भएर समातिन्छ बाटो । मनमा सजिइरहेथे– बलियो बाटो, बनिरहेका संरचना र भेरी नदी ।
साँघुरिएर बग्दैन भेरी जसरी सधैँ जङ्घारसरि फैलिएर बग्न चाहन्छ मभित्रको भेरी ।
छेडा बजारको पहरे गल्छीमा बजेको हर्न छेडा बजारले सुन्यो सुनेन तर मैले कान थुनेँ । पहरोले हप्कायो त्यही आवाज सापट लिएर बेस्सरी ।
जाजरकोटको रग्दा जाँदै गरेका वीरेन्द्रनगरका लोकेन्द्र परियारले बताइरहेछन् जानेजति । म मुग्ध छु, नयाँ भूगोलबारे पाएर अनेक जानकारी ।
छेडाबजारमा माछाको झोल र भात खाए पनि सोचेजति सन्तुष्टि भएन । कसैका भागमा आलो माछा त कसैलाई परेछ सुकुटी सिध्रा । भेरीले फकाउँछ मलाई– अर्को बिसौनीमा खाउँला नि मिठो ।
छेउको भेरी र त्यसको झोलुङ्गे पुल मच्चिए मनभरि । भित्ताको अनुहारमा देखिए गुफा । थला रैकर जाने बाटो छोडियो । भेरीको किनारमा कुदिरहन पाएर म भने आह्लादित भएको छु ।
छेपागाड खोला तरियो बेलिब्रिजबाट । तल्लोपट्टि बन्दैरहेछ नयाँ पक्की पुल ।
बिलाउनै परेपछि किन ढिलो भने जसरी छेपागाड हाम्फाल्दै भेरीमा आत्मसमर्पण ग¥यो । त्यसको धमिलो स्वीकार गर्दै सेती स्वअस्तित्वमा रमाइरह्यो । इच्छा र अपेक्षाहरु एकातिर थन्क्याएर अनेक बाध्यता र सम्झौताले मरिचझैँ खुम्चिएको आफ्नो स्वअस्तित्वले घोच्यो मलाई भने । अनेक बेथिति देखेर पनि चुपचाप घिस्रिनुपर्दा प्वालैप्वाल त परेनन् मेरो मुटुमा, चिन्ताले खग्रास भएको छु ।
जल, जंगल र जमिनको उत्कृष्ट संयोजन भएकोले समृद्ध ठान्दछु प्रकृति । मनमा तिव्र अपेक्षाले च्वास्स घोच्छ, प्रकृति संरक्षण गर्दै यी गाउँबस्तीहरुलाई कहिले बनाउन सकिएला सुन्दर र समृद्ध ?
मेरो नजरभरि छ भेरी । मानौँ, वर्षौदेखि हृदयमा जमेको नदी आजैदेखि बग्न थालिरहेछ ।
भेरी तालिएजसरी बग्न थाल्यो । त्यसका मसिना तरङ्गसँग रमाउन थाल्छु म । नदीका बीचबीचमा देखिन्छन् माछा मारिरहेका माझीदाई । तिनको कोखामा झुण्डिएका माछिकाँडे फुर्लुङ देखेर भोक प्यास झन् बढेझैँ हुन्छ मलाई ।
सिम्ले खोलाको छिपछिपे बगरमा बगिरहेछ सङ्लो पानी । छुन नपाए पनि भरिन्छ आँत । आँप, कटहर, पिपल र सिसौका छहारीमा शितलिन्छ मन ।
थुप्रै खोल्सा हाम्फालेका छन् भेरीमा । धेरै पानी नबगे पनि पुल नहाली सुखै छैन तिनमा । जसरी मुलुकमा अनेक भुमरी पारेर स्वार्थसिद्ध गर्न माखेजाल विच्छ्याइरहेछन् पराइपरस्त्रहरु । मुलुकले ती भुमरी झेल्दै उचाल्नु छ जनताको जीवनस्तर ।
भुरचौर बजारका ख्याउटे अनुहारहरु रातो माटोको उर्बराहीन जमिनमा झन् विरुप देखिए । भेरी किनारमा जलवियोजन भएका खेत मरुभूमिभन्दा बढ्ता बिझाए ।
यस क्षेत्रको गरिबी सम्झँदै हेर्दै थिएँ पारिपारिका पातला बस्ती, भेरीले आँसुका छाल छचल्काउन थाल्यो । झाडापखालाको महामारी मच्चिँदा निकै रोएको रहेछ त्यसको मन । निकै दुखेको रहेछ त्यसको मन ।
तँ भाग्यमानी– तेरा आँसु दुनियाँले देख्छ । म अभागी– सबै दुःख आफन्तलाई समेत देखाउन सक्दिन म । तेरो किनारमा दुनियाँ गुड्छन् । मेरो मन ठिही जमाउने फोक्सुण्डो भएको छ ।
भेरीसँग पोख्नु थियो मनको वह । भेरीमा धुनु थियो मनको मैलो । भेरीमा बगाउनु थियो मनको पीर । र, हलुङ्गो हुनु थियो मलाई ।
फेरा खोला तरेर अर्को डाँडातिर फेरो मार्न थाल्यो बाटो ।
खोदा खोला किनारमा अल्लिडका कुकाठ हल्लिरहेथे । सोचिरहेथेँ, काम लाग्ला भनेर हिफाजत गर्नेहरुलाई कति धोका दिएको होला कुकाठले । एकछिनपछि आयो हरियो बेलघारी । त्यसको शिलत हावा मनका द्वारबाट हुलिरहेँ, हुलिरहेँ ।
कुदुका पाखामा केतुकीले केराको भ्रम पार्न खोज्यो मलाई । केटाकेटीमा फलेको केतुकीलाई ढुङ्गा हानेको सम्झेर आफैसँग हाँसे म । विश्वास र अन्धविश्वासको दोधारबाट गुज्रिरहेको आफ्नै जीवनपथ देखेर हाँसेँ म । ख्यालख्यालमा स्थापित भइरहेका मिथक र किंवदन्तिहरुसँग हाँसेँ म । असङ्गत विचारहरुसँग पनि हाँस्न सक्दोरहेछु भन्ने थाहा पाएर आफैँसँग फेरि हाँसेँ म ।
डोकोमा पानीका गाग्रा बोकेका महिलाहरु देखिए फेरि । शायद भेरीबाटै खेपिरहेथे पानी । भेरीको धमिलो सिधै पिउने त होइनन् तिनले ? मनमा छिरेको अमिलोले वाकवाकी पो लाग्न थाल्यो । उल्टी गर्न खोज्दा आन्द्रा भुँडी नै फर्कन थाल्यो । सासै फुस्किन थाल्यो ।
कथा भएर आइरहेका विरही दृश्यहरुलाई तस्वीरमा जडवत् गरिदिएँ र केही थाहा नपाएझैँ अन्तै मुन्टो फर्काएँ मैले । आफूले थेग्न नसक्ने विरह संगालेर दीर्घरोगी हुनु थिएन मलाई ।
भोलुङ्गे पुल पारिपट्टि देखिन्छ चौरजहारीको फाँट । भेरीको फन्काले बेरिँदा झन् सुन्दर देखियो त्यो ।
लामितराको डिलबाट भेरीलाई फेरि नजर लगाएँ मैले । सोचेँ– उज्यालो क्षितिजतिर बगिरहेको जलप्रवाह देखेर हरेक मान्छेले भोक प्यास बिर्सँदो हो । त्यसलाई हेरिरहन मन लाग्यो– उस्तै छ एकनासे प्रवाह, उस्तै छ दृश्यपट ।
खलङ्गाको फेदीको बेँसीले भने हरियो बिउ उमारेर पर्खेको रहेछ बर्षात् । केरा र आँप फलाएर आगन्तुकको स्वागत गरिरहेछ, जसरी बैँसालुले चोखो जोबन सुम्पेर गर्छे जीवन उत्सवको शुभारम्भ ।
सडकको नागबेली उक्लिरहेथ्यो । सडकले भनिरहेथ्यो उचाइ चुम्न उक्लिरहनुपर्दछ । र, सिकाइरहेथ्यो जीवन जिउने एउटा उत्कृष्ट कला ।
बोहरा गाउँमा सालको रुखका रोजा गिँडहरु लडेका देखिए । लाग्छ, सहरका लागि बेफ्वाँकमा सहिद भएछन् अनगिन्ति दीर्घजिवी बोटबिरुवा ।
जाजरकोटे खलङ्गा चुम्न कडा पसिना ननिकाली सुखै पाइएन । टुप्पैमा पो रहेछ दरबार त । त्यसमै रहेछ जिल्ला प्रशासन कार्यालय । छेउमै रहेछ जिल्ला विकास समितिको कार्यालय । कार्यालयको कामले भेटिए जनार्दन गौतम, गंगा आरसी, झलक रोकाय । मैले भेटेँ साथी हरि बुढाथोकीलाई ।
अर्कोदिन स्याँला हुँदै लाग्यौँ भेरी किनारतिरै । हाम्रो वर्तमान सुम्पेका थियौँ भक्तपुरे गुरु जगत बोहोराका हातमा । हरि बुढाथोकी, पदम शाही र कृष्ण शर्मा थिए आजका सहयात्री । निश्चिन्त रमाएका थियौँ हामी भेरी किनारका दृश्यहरुसँग ।
काले गाउँ भेटियो खलङ्गाको फेदीमा । समथर बनाबट देखेर सदरमुकाम बनाउनुपर्ने तर्क राख्छु आफ्नै मनसँग । कसैले सुनेको भए खलङ्गालाई उपेक्षा गरेको बात लाग्नसक्थ्यो मलाई । मनसँग सोध्छु, गाउँ, नगर, निर्वाचन क्षेत्र, जिल्ला, सदरमुकाम आदि राजनीतिक विभाजन किन साह्रै पेचिलो विषय बनेको होला नेपालमा ? मनले साउती ग¥यो– पद्धति नबसेको कमजोर राज्यमा जुनसुकै विषय पेचिलो मुद्धा हुन बेर लाग्दैन ।
पक्की पुल तरेर रावत गाउँ टेक्दा गाडीमा बजिरहेथ्यो डेउडा गीत–
त्यता रामरमितै छ– यता औँसी पसेर
फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौँ बेघरबार÷चरी लैजा समाचार, ... ।
गीतमा गाउँले भोगिरहेका अनेक दुखद कथा दोहरिइरहे । यता भेरीले बगाएर ल्याएको रगत, पसिना र आँसुको भेल मेरै छेउमा उर्लिरहेझैँ लाग्यो ।
सिञ्चाइको सम्भावना भएर पनि यहाँसम्म आइपुग्दा कहीँ कतै एकथोपा पानी छोएचलाएको देखिएन भेरीको । जलस्रोतको सम्पन्नता आँखामुन्तिरबाटै फुत्केर बगिरहेथ्यो नफर्कनेगरी । समय पनि भेरीको प्रवाहमै हेलिइरहेथ्यो । विक्षिप्त भएथ्यो मन– अनेक शताब्दी निरर्थक बगिसकेको भेरीमा अझ कति समय बग्ला यसरी नै ?
डोल्पातिरबाट आएको ठूलो भेरी र रुकुमतिरबाट आएको सानो भेरीको संगम देखियो । लाग्थ्यो, ठोक्किँदै थचारिँदै, उचालिँदै पछारिँदै हतारहतार कुदिरहेथे ती दुई एकअर्कामा एकाकार हुन । अनुमान गर्छु– दुबैका उस्तै कथा र व्यथा भए पनि, उस्तै पीडा र उस्तै मन दुखाइ भए पनि औधि खुसी भए होलान् मिलनले । अनि, खुसी भए होलान् सागर भेट्ने लक्ष्यको गठिलो एकबद्धताले ।
रिम्ना आइपुग्यो । भेरी नदी किनारको सुन्दर बेँसी रहेछ रिम्ना । केही पसलले निर्वाहको व्यापार गर्दै भविष्य पर्खिरहेथे । सहिद स्मृति भवन र त्यसको पछाडिपट्टिको जन्तु–कारागार हेरियो । छटपटिइरहेथे, थुनुवाकैदी दुम्सी, भालु र लाटोकोसेरोहरु । निर्वाह खोसिएको तिनको छटपटीमा रम्न सकेन मन ।
जनयुद्धताका जाजरकोटमा मारिएका करिब चारसयमध्ये एकसय छत्तीस जनाको फोटो रहेछ सहिद स्मृति भवनको भित्तामा छरपष्ट । समयले खुइल्याएको तस्वीरझैँ अवमूल्यन भएजस्तो लाग्यो तिनको बलिदानी पनि । मेटिन लागेको तिनीहरुको इतिहाससँग सोध्छु– किन गरिएको रहेछ नेपालमा जनयुद्ध ? आजसम्म सबैभन्दा बढी घाइते भएको छु म पनि– यही अनुत्तरित प्रश्नको प्रहारले ।
नजिकै सम्पन्न पक्की पुल चालु भइसकेको रहेनछ । झोलुङ्गे पुल तरेर रिम्नाबाट रुकुमको छेपारे पुगियो । दुधे मकै, दही र माछाको जोहो भयो । गाउँको केराले जिब्रोको स्वाद फेरियो, भुँडीको आगो निभाइयो ।
डोल्पा जाने जीप लागिरहेथ्यो छेपारेमा । त्यसको पर्वाह नगरी कुदिरहेथे खच्चरहरु । बाल्यकालमा पहिलोपटक भारी बोकेर हिँडेका खच्चर देखेर विरक्तिएको सम्झन्छु । अचेल जता दुर्गम छ उतै खटिएका छन् बिचराहरु । दुर्गम बचाउन भारी खेपिरहेका खच्चरको पीडा भक्कानिन्छ छातीमा । तिनको घाँटीमा बजिरहेको घाँडोले रुञ्चे स्वरमा मसँग गरिरहेथ्यो विलौना ।
साथीहरु भन्दै थिए– कतै जीपमा त कतै पैदल हिँडेर दल्ली, चौखा, त्रिपुरा हुँदै दुईदिनमा पुगिन्छ डोल्पा । भेरीको किनारै किनार हिँडेर डोल्पा जाने रहर भए पनि त्यतिबेला न मसँग योजना थियो न त समय नै ।
पारिपट्टिको ताछिएको पहरो हेर्दा रिङ्गटा लागेर आयो । तल हेर्दा मात्र लाग्ने डर त्यहाँ त आकासमै टाँगिएको रहेछ । जोडतोडले उफ्रिएको मुटुलाई बलै समातेर मनमनै भनेँ– सामना गर्न परेपछि बल्ल हराउला डर ।
डाँडागाउँको पहरोमा देखिएन कतै मान्छेको आकृति र पाइला टेकाउने डोरेटोको अखटो । यो बाटोविहिन बाटोमा हिँड्नेहरु यी अनकन्टार भीर हेरेर कति बनाउँदा हुन् बाटोका योजना । तिनीहरुसँग राज्यले कहिल्यै माग्दो हो कुनै योजना ? मन चिसिन्छ बेस्सरी ।
डोलीमा बोकेर दौडाउँदै ल्याएको बिरामी देखियो । स–साना भनाभनमा मारामृत्यु भएका कलह–किस्सा सुनियो । परदेश गएर रित्तो हात फर्केकाहरुले समेत ज्यान गुमाएर भेरीमा गुमनाम हुनुपरेको यथार्थ सुनियो । रोग, भोक, अशिक्षा, पछौटेपनको पृष्ठभूमिमा गरिबीले झन् ठूलो मुख बाएको रहेछ त्यहाँ ।
भेरीको पानीमा हातको मयल र अनुहारको उदासी पखाल्न चाहन्थेँ । तर– भेरीको धमिलो पानीमा आँसुको भेल देखेँ मैले । भेरीको किनारमा रगतको रह देखेँ मैले । भेरीको भुमरीमा पसिनाको खोलो देखेँ मैले । हजारौँ नेपाली सपुतहरुका आँसु, पसिना र रगतको खारले अजिर्ण, प्यासी र रोगी रहेछ भेरी ।
विकट भूगोल छिचोल्दै आइपुगेको भेरीमा दुःखका अनेक छालहरु उर्लिरहेथे ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु