प्रगतिशील साहित्यको औचित्य र आवश्यकता

- विजयकुमार सुब्बा

दशजना कवि भेला भयो, एकार्कालाई कविता सुनायो, ताली बजायो, कार्यक्रम सक्यो। फेरि दशजना भेला भयो, एकार्कालाई सर्कायो, ताली बजायो, कार्यक्रम सक्यो। फेरि आठजना भेला भयो, कविता सुनायो, थपडी पड्कायो, कार्यक्रम सक्यो। अर्को कम्रामा दशजना भेला भयो, आ-आफ्नो विद्वता देखायो, ताली बजायो, कार्यक्रम सक्यो। फेरि दशजना भेला भयो, एकार्कालाई सर्कायो, थपडी बजायो, कार्यक्रम सक्यो। अनि कहिलेकाहीँ त्यस्ता कार्यक्रमहरूमा कविभन्दा उद्घोषक ठूलो भइदिन्छ-भन्छ-‘अब म फलानोलाई आफ्नो कविता वाचन गर्ने मौका दिन्छु।’ जस्तो कवि सधैं आफ्नो कविता प्रस्तुत गर्ने मौका खोजिरहेको हुन्छ। एकथरी साहित्य-सर्जकहरूको भीड यस्तो छ, जहाँ कसैले कसैको कृतिको चर्चा गर्दैन। ‘मेरो सबैले पढुन् मैले अरूको किन पढ्नु?’ अनि त्यो हल्लालाई हामी साहित्यिक गतिविधि मान्न विवश छौं। त्यो थारा जमघटलाई हामी साहित्य सेवा मान्न बाध्य छौं। त्यो भीडमा आपसी सहयोगभन्दा ठेलाठेल बेसी छ। त्यो भीडमा समालोचनाको ठाउँ छैन। ‘सबै ठीक छ...एकदम राम्रो छ।’ प्रशंसा थाप्न बोराहरू बोकिएका हुन्छन्; मान, सम्मान, अभ्यर्थना र पुरस्कारका लागि झोलाहरू बोकिएका हुन्छन्। समाज एकातिर साहित्यकारहरू अर्कातिर। तर स्थितिको विश्लेषण र चिन्तन गर्नु कोही मान्दैनन्।
जीवनले सधैं अघि बढ्नु चाहन्छ। जस्तै सुतुवा मान्छे पनि सधैंभरि सुतिरहनु सक्दैन। बस्नु र सुत्नु फेरि क्रियाशील हुनलाई आरामको खाँचोले मात्र सकिन्छ नत्र जिउँदो रहनलाई निष्क्रियता घातक हुन्छ। सुत्नु नै त मरेपछि जति सुतिन्छ...। जीवनको यही क्रियाशीलताले नै परिवर्तन र प्रगति ल्याउँछ। किनभने जिउनुको अर्को नाम संघर्ष पनि हो।
परिवर्तन र महत्वाकांक्षाका कुरा होइनन् तर मानव समाजको अस्तित्वको निम्ति बुनियादी आवश्यकता हुन्। समय-समयमा कतिवटा समाज जड बनिन्छ र विलुप्त हुन्छ। कतिवटा समाज निष्क्रिय, थोत्रो र कुरूप बनिन लाग्छन् अनि त्यो समाज मान्छेको लागि बाँच्नलायक रहँदैन। त्यस्तो स्थितिमा कि त त्यो समाजले त्यस्तो परिवेशलाई प्रतिकार गरी नयाँ समाज निर्माणको निम्ति संघर्ष गर्दै आफ्नो अस्तित्व बचाउने प्रयास गर्छ कि त पलायन अँगालेर विकृति र विसंगतिसित सम्झौता गरी विध्वंश स्वीकार गर्छ।
जब तपाईं देख्नुहुन्छ-मान्छेभन्दा आलु र प्याज महँगो हुन्छ, मान्छे मान्छेकै वस्तीमा डरसरी बाँच्छ अनि स्याल, ब्वाँसो र साँपहरू स्वर्गको सुख भोग्न थाल्छन्। जब तपाईं देख्नुहुन्छ-मान्छेको संस्कृति मर्दै जान्छ-मानवता रोइरहन्छ अनि ढोंगी र स्वार्थीहरू तपाईंका दार्शनिक गुरु बन्दछन्... तपाईं मान्नुहोस् तब तपाईंको समाज पनि थोत्रो बन्दै गइरहेछ। जब तपाईं देख्नुहुन्छ-पैसा, कागज र फलामका कीराहरू बुरूक्क-बुरूक्क उफ्रिन्छन् तब तपाईं मान्नुहोस् तपाईं बाँचेको समाज स्वस्थ छैन। यस्तो समाजमा प्रगतिशील साहित्यले निर्णायक भूमिका निर्वाह गरिरहेको हुन्छ। साहित्य समाजका लागि साहित्य जीवनका लागि मान्छौं भने त्यो साहित्य प्रगतिशील साहित्य हो। प्रगतिशील साहित्यले मान्छेको प्रगतिमा बाधा दिने जम्मै मान्यता, दस्तुर, संस्कृति, विचार र व्यवहारको सट्टा मान्छेको हितमा सुविधाजनक मान्यता, दस्तुर, संस्कृति, विचार र व्यवहारको परिकल्पना गर्छ।
अनेकौं जीवनदायी दर्शन, हजारौं हितकारी ग्रन्थ, गौरवशाली इतिहास, वैज्ञानिक प्रगति, समृद्ध प्रगति, आधुनिक संविधान र सुन्दर जीवनको बीच पनि मान्छेले शिर झुकाएर बाँच्नुपर्ने, सत्य पनि डराएर बोल्नुपर्ने, आफ्नै बाटो पनि जोगिएर हिँड्नुपर्ने, परिश्रम र इमानदारी अँगाले पनि घुँडा टेकेर खुशी हुनुपर्ने अथवा आफ्नै जीवनमा पनि आधा मात्र हाँस्नुपर्ने परिवेश छ भने तपाईंको समु दिईवटा मात्र उपाय छन् कि परिवेश परिवर्तन गर्न उठ्नुहोस् कि मानवताको विनाश पर्खेर बस्नुहोस्। तपाईं बीचमा सुरक्षित हुनुहुन्न। तटस्थ र निष्क्रिय बस्नु विनाशलाई नै स्वीकार गर्नु हो। यदि तपाईं परिवेश बद्ली गर्न चाहनुहुन्छ भने प्रगतिशील साहित्य तपाईंको पक्षमा उभिन्छ।
पहिले ‘कला कलाका लागि’ अथवा ‘साहित्य साहित्यका लागि’ भन्नेहरूको भीड थियो। अहिले पनि छ। त्यसले साहित्यलाई एउटा विशेष वर्गको मनोरञ्जन र विनाशको निम्ति सिर्जना गरिने थोक बनायो अहिले ‘साहित्य मेरो लागि’ भन्नेहरूको भीड बढ्दै गइरहेछ। त्यसरी अहिले कहीँ कहीँ साहित्य आफै पनि महत्वाकांक्षावाद र व्यक्तिवादबाट मुक्ति खोजिरहेको आभास हुन्छ।
प्रगतिशील साहित्य प्रगतिशील विचार, चरित्र र संस्कृतिको निम्ति हुन्छ अर्थात् प्रगतिशील साहित्य नवीन चिन्तनधाराको संवाहक बनिन्छ। प्रगतिशील साहित्यले वैज्ञानिक चिन्तनसित प्रगतिशील दृष्टिकोण, मान्यता र दस्तुरहरूको आग्रह गर्दछ। स्वस्थ र थोत्रो परिवेश अस्वीकार गर्दै स्वस्थ र नयाँ परिवेश निर्माण यसको उद्देश्य रहन्छ। साहित्यलाई समाज उद्धारको औजार बनाइ विनाशबाट बचाउने प्रतिबद्धता प्रगतिशील साहित्यको हुन्छ। प्रगतिशील साहित्यको विकास नभइ नयाँ समाजको निर्माण असम्भव छ।
प्रश्नबिनाको समाज आधामरो समाज हुन्छ। सामाजिक जडता मसाउने मूल हतियार प्रश्न भएकोले प्रगतिशील साहित्य प्रश्नमा विश्वास राख्छ। जिउँदो समाजले निरन्तर प्रगतिको निम्ति स्वस्थ प्रश्नहरू गरिरहन्छ। अतः प्रगतिशील समाजले प्रश्नहरू गर्नैपर्छ। दास, कमारा र नोकरहरूको प्रश्न गर्ने अधिकार हुँदैन। भिखारीहरू प्रश्न गर्दैनन् अनि चोरहरूले पनि प्रश्न गर्ने खाँचो पर्दैन। तसर्थ, प्रगतिशील साहित्य मानव जातिलाई दासत्वबाट, कमारावादबाट र नोकर चरित्रबाट मुक्त गर्नुचाहन्छ। प्रगतिशील साहित्यले मान्छेको आवाज खोल्नु चाहन्छ। दबिकाएका र दबाइएका आवाजहरू सुन्नु चाहन्छ। इतिहासका पन्नाहरूमा कोरिएका छन्-शोषक, सामन्ती र तानाशाहीहरू मान्छेको आवाज दबाएर, प्रश्नहरू छोपेर अनि पीडितहरूको आकांक्षा निमोठेर आफूलाई सुरक्षित राख्थे। त्यस्तो बेला प्रगतिशील विचार र सोचले नै त्यस्तो स्थितिलाई अस्वीकार गरी आवाजहरू खुल्ला गर्ने साहस गरेका थिए र मानव जीवनलाई एक कदम अघि सारेका थिए। प्रश्नहरूसित रिसाउने र आवाजहरू मननपराउनेवर्ग मानवताप्रति इमानदार हुँदैनन्। त्यसकार प्रगतिशील साहित्य दबिएका आवाजहरूको निकास चाहन्छ।
हाम्रो वर्तमान समाजमा मान्छेको सम्मान र मर्यादाको कुरा टाढाको कुरा भयो। लेखक, कवि र साहित्यकारहरूको मूल समाजमा कुन स्थान छ र कुन थान्कोमा राखिन्छ भन्ने कुरा चिन्तन र प्रश्नको विषय बन्दैछ। कहिलेकाहीँ कति ठाउँमा साहित्य-सर्जक वा लेखकहरूलाई गाइने, जोगी, गल्ली-नर्तक अथवा मदारीलाई हेर्ने आँखाले हेरिएको पनि पाइन्छ। लेखकहरू कृपापात्र, क्षुद्र प्राणी अथवा असहाय अस्तित्व झैं उभिएका देखिन्छन्। कहिलेकाहीँ निकम्मा मान्छेहरूले साहित्य-सर्जकहरूलाई तल धेरै तल हेरेका र व्यवहार गरेका देख्दा छाती चिरिएर आउँछ तर साहित्य-सर्जकहरू किन शिर झुकाएर बस्छन् यो रहस्यको कुरा भएको छ। वास्तवमा प्रतिबद्ध लेखक र साहित्य-सर्जकहरू समाज निर्माणका इञ्जीनियरहरू हुन्। जुवाडे, आवारा, समयमाराहरू होइनन्।
तर साहित्य-सर्जक र लेखकहरू माझमै एकार्कामा भेदभाव र कदरहीनताको प्रवृत्ति पनि नदेखिएको होइन। लेखक अथवा साहित्य-सर्जकहरूमाझ सहयोग र सद्भावनाको वातावरण बनिनपर्छ भन्ने कुरामा प्रगतिशील सोचले विश्वास राख्छ। एकजना साहित्य-सर्जकले अर्का साहित्य-सर्जकको महत्व नबुझ्ने र अस्तित्वलाई स्वीकार नगर्ने प्रवृत्ति र चरित्रको अन्त्य चाहन्छ प्रगतिशील साहित्य। सभ्य समाजमा लेखक र साहित्य-सर्जकहरूले शिर झुकाएर बाँच्नु पर्दैन। कसैबाट तिरस्कृत हुनुपर्दैन।
प्रगतिशील साहित्य प्रतिगामी साहित्यको विपरीत ध्रुवमा उभिन्छ। अग्रगामी साहित्यले समाजलाई अगि बढाउनु चाहन्छ भने प्रतिगामी साहित्यले समाजलाई पछि ठेल्नु चाहन्छ अथवा यथास्थितिमा प्रेरित गर्छ।
परिवर्तनबाहेक यो संसारमा केही पनि स्थायी छैन। गर्भको शिशु सधैंभरि गर्भमै बसिरहन चाहँदैन। त्यसो भएछ भने उसले आफ्नो र आमाको निम्ति पनि खतरा सिर्जना गर्छ। उ बढिरहन्छ बढिरहन्छ। पृथ्वीको गतिशीलताले जीवनलाई जन्माएको मानिन्छ। त्यसकारण गतिशीलता जीवनको आवश्यकता हो। जब-जब समाजमा विकृति, विसंगति तथा जीवनलाई हानिकारक दस्तुरहरू विकसित हुँदछन् तब बुझ्नुपर्छ-समाजले नवीकरण माग्दैछ। मान्छेको अस्तित्वलाई चाहिने तीन मुख्य कुरा सुरक्षा, सुख र शान्ति हुन्। यी तीन कुरामा नै मान्छे गतिशील रहन्छ। ती मान्यता र दस्तुरहरू जो मान्छेको अस्तित्वको निम्ति आवश्यक छैनन्-सिङको पनि आवश्यकता छैन। त्यसको सट्टा मान्छेलाई स्वस्थ विचार र चेतना चाहिन्छ।
प्रगतिशील साहित्य सिङ र पुच्छरमा होइन स्वस्थ विचार र चेतनामा विश्वास राख्छ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु