"नारी आभा" पाठकको आँखामा

- एम. एन. दाहाल

विशेष भारतीय समाजमा नारी शोषणलाई एउटा सामान्य संस्कृतिको रूपमा स्वीकार गर्दैआएका हुन् भारतीय नारीहरूले। जब राजनैतिक जगतमा बिस्तारै नारी मुक्तिका आवाजहरू मुखरित तबदेखि नारीवादी साहित्यको पनि शुरुवात भएको मान्न सकिन्छ। नारीलाई देवीको स्वरूप मान्दा-मान्दै भारतीय समाजले नारी शोषणविरुद्ध खासै ठोस कदम उठाउन सकेन। कहाँसम्म भने समानुपातिक प्रतिनिधित्वको वकालत गर्ने भारतीय संविधानले आजसम्म नारी जनसंख्याको आधारमा प्रतिनिधित्वको त के कुरा गर्नु लामो समयदेखि केवल 33 प्रतिशत प्रतिनिधित्वको सवालमा पुरुष बाहुल्य रहेको संसदले एक मत स्थापित गर्नसकेको छैन। पुरुष राजनेताहरूले जतिसुकै नारी मुक्तिका कुरा गरेपनि उनीहरूभित्र सुसुप्त अवस्थामा रहेको पुरुष बडप्पनले सम्झौता गर्नचाहेको छैन। नेपालमै पनि धेरैचोटि प्रगतिवादी/समाजवादी/वाम शक्तिको सरकार बन्यो तर त्यहाँको समाजमा नारी शोषण समाप्त हुनसकेन। आजसम्म धेरै सशक्त नारीवादी साहित्य लेखिए तर एउटै मञ्चमा उभिएर समाजको यो विषमतामाथि क्रान्तिकारी कदम भने थोरैमात्र चालेको पाइन्छ। यसपल्ट अर्जुन पीयूषको सम्पादनमा ‘प्रेमफूल प्रकाशन’-द्वारा प्रकाशित ‘नारी आभा’ (समकालीन नारीलेखन अध्ययनविशेष) लाई यस दिशामा समयोचित र एउटा दह्रिलो कदम मान्न सकिन्छ।
नारी आभाभित्र प्रवेश गर्नभन्दा अघि प्रेमफूल प्रकाशनकी संस्थापिका स्व. प्रेमफूल बराइलीलाई श्रद्धाञ्जलीका दुइ शब्द नचढाइ प्रवेश गर्नु उनको योगदानको अवमूल्यन हुनेछ भन्ने मलाई लागेको छ। उनको परिवारसँग उनी सशरीर रहँदै जोडिने सौभाग्य पाएको भए भन्ने थिएँ होला-हाम्रातिर पैसा हुनेहरू क्यासिनोमा जान्छन, नभए पब क्लब त्यसो होइन भने घरमै अलिकति रक्सी र जुवामा रम्छन्। किताब छापिदिने त होइन कसैको असल कृति किनिदिनु भनेको भीख दिएजस्तो ठान्छन्। कमानको साँघुरो आर्थिक परिवेशबाट आफ्नो र बाल बच्चाको न्युनतम आवश्यकतासित समेत सम्झौता गरेर आफ्नो समाजको बौद्धिक परिवेशलाई नयाँ फाँट र उँचाइ दिन तपाईंले गर्नुभएको प्रयासले समाजलाई अवश्य एउटा चेत दिनेछ। आमा तपाईं धन्य हुनुहुन्छ। मैले भेटिन। उनका परिवारका अरू सदस्यलाई म चिन्दिन। यति हो प्रा. तेजमान बराइलीलाई उनका कृतिहरूतिर भेटेको हुँ, नक्सा देखेको हुँ। नारी आभाको अंक पाएपछि लाग्यो त्यो परिवारले त आमाबाट राम्रा कामहरूको संस्कार पाएको रहेछ त्यसैले अब मेरो भेट हुन्न क्यारे किनभने म राजनीतिको घुरेन चाहर्दैछु। जे होस् प्रा. तेजमानले आमाको स्मरणमा प्रकाशित गरेको मेरो हातमा भएको ‘नारी आभा’ को यस अंकले नारीसाहित्य, नारीवादीसाहित्य, नारी हक-अधिकार, नारी शोषणविरुद्ध उठाइने कदमसमेत विश्व समाजमा हुँदैगरेका नारी विकासका क्रियाकलापको चर्चा उठाएको छ भने एउटै मञ्चमा बौद्धिक सोचको आदान-प्रदान गर्ने नयाँ परम्परा बसालेको छ। यस अंकका प्रकाशक र व्यवस्थापिकालाई अनुग्रह व्यक्त नगरी अंकभित्रका कुरा गरिहाल्नु मिल्दैन।
अर्जुन पीयूष ‘नारी आभा’-का यस अंकका सम्पादक, लेखक पनि हुन्। उनलाई सशक्त भन्न मिल्दैन किनभने आजकल सशक्त लेखक बन्नलाई लेखकीय क्षमताभन्दा गुटीय विज्ञापनको जरुरत पर्दछ, जो उनीसित छैन। अझै अर्को कुरा के हो भने उनी कथित बुद्धिजीवीका निम्ति भन्दा पाठकका निम्ति लेख्न चाहन्छन्, जसले गर्दा उनको साहित्यले उत्तर आधुनिकता होइन वर्तमान बोकेको हुन्छ। आजकल साहित्यमा उत्तर आधुनिकताको गफ नगरी आफूलाई साहित्यकार भन्दैनन् धेरैहरू तर चोइटिएको त्यो उत्तराधुनिक बौद्धिकतालाई पालिस दलेर टल्काउन जाँन्दैनन्, जस्तो देख्छन् त्यस्तै लेख्छन् पीयूष। साँघुरो आर्थिक परिवेशसित संघर्ष गर्न उनीसित रोगग्रस्त एउटा शरीर छ, जसलाई लगेर उनी पत्रकारिताको कठोर श्रममा पापड जस्तो बेल्छन्। राती सुतेको एकाध घण्टाबाहेक रहल समय उनी साहित्यलाई दिन्छन्। उनले दिएको त्यो समयको उपज हो ‘नारी आभा’-को यो अंक। नारी साहित्यको यो सशक्त अंकको सम्पादनका निम्ति बधाई र साहित्य सेवामा उनले दिएको त्यो कठोर श्रमका निम्ति धन्यवाद दिएपछि भने भित्रका कुरा लेख्दा हुन्छ।
‘नारी आभा’ नारीवादी साहित्यको एकमुष्ट दस्तावेज हो। यो श्रद्धाञ्जलीसमेत पाँच खण्डमा विभाजित छ। खण्ड 1 मा सैद्धान्तिक/विश्लेषणपरक आलेख छन्। सबै कृतिहरू सशक्त प्रगतिवादी सोचको मुहान फुटेजस्तो लाग्छ। विजयकुमार सुब्बाको आलेख ‘नारीवाद, नारीवादी चिन्तन र लेखनः सक्षिप्त चर्चा’ मा नारीसाहित्य र नारीवादी साहित्यको बीचमा रहेको अन्तरलाई लेखकले खुट्याउने प्रयास गरेका छन्। विजय कुमार सुब्बा एक प्रगतिवादी लेखकको रूपमा चिनिन्छन्। उनको त्यो लेख नारी हक-अधिकारको शशि मुन्दुम गाउनेहरूले पढ्न आवश्यक छ। साहित्य र व्यवहार बीचमा रहेको खाडल पुर्न समाजमा इच्छा शक्तिको कमी खट्किरहेको भए तापनि हामी सबै बोल्दा मीठो लाग्ने आधा आकाशका हकदार भनेर नारी मन जित्ने प्रयास गर्नेहरूले यो लेख पढ्न आवश्यक छ। आफ्नो रचनाको मूल पात्राको रूपमा कुनै नारी चरित्र राखेर नारी समस्याको जरो खोतल्नु एउटा कुरा हो भने उत्पीडन, दमन, अन्यायविरुद्ध संघर्षका व्यावहारिक उपायहरूको खोज एउटा कुरा हो। एउटी कुनै नारीमाथि भएको अन्यायको विरोध गर्न असंख्यौं चेतनाशून्य नारीहरूको राजनीति प्रेरित जुलूसले न त अन्यायमा परेकी नारीलाई न्याय दिलाउन सक्छ न त नारीवादी दृष्टिकोणको विकास नै गर्नसक्छ। ध्रुवचन्द्र गौतमको उपन्यास ‘कटेल सरको चोटपटक’ःमा कटेल सरकी गुरुआमाले नारी समूहभित्र नै तिरस्कार भोग्नपरेको जस्तो हाम्रो समाजमा अनेकौं यस्ता घटनाहरू छन्, जो नारीहरूद्वारा नै उत्पादित छन् अनि पीडा पनि नारीहरूले नै भोग्नुपर्दैछ। आजको यो परिस्थितिबाट मुक्तिको उपाय भनेको नारी चेतको विकास हो। सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर नारी मुक्तिका निम्ति नयाँ चेतको विकास सुझाएका छन् लेखकले तर हामी सबैले पढ्नुपर्छ।
‘नारी आभा’-को यो संकलनमा हामीले इन्द्रमणि दर्नालको लेख ‘भारतीय नेपाली नाटक साहित्य/नारी’, डा. दिवाकर प्रधानको ‘नारीवादका प्रेरक साहित्य’ डा. गोमा देवी शर्माको ‘भारतीय शास्त्र परम्परा र नारी चेतना’ जस्ता रचनाहरू पढ्न पाउनेछौं। यी तीनैवटा लेखले नारीवादी चिन्तन र साहित्यको अध्ययनका निम्ति थुप्रै बाटाहरू देखाएका छन्। नारीमुक्ति, चिन्तन, साहित्य र वादका गफ हाँक्नेहरूले ‘नारी आभा’-मा संकलित यी रचनाहरू सरसर्ती पढे पुग्छ। आजकल धेरै नामले जानिने साहित्यिक समूह र संगठन बजारभरि लछेप्रै पाइए तापनि केवल आफ्नो माल बिकाउने होडमा नारीसाहित्य र नारीवादी साहित्यको चर्चा भने कम्ती नै हुन्छ। ‘नेपाली साहित्य परिषद’, ‘चिया कविता’, ‘कफी कविता’, ‘प्रतिभा मिलन’, ‘बसीबियाँलो’, ‘सिक्किम साहित्य अकादमी’ कतै पनि नारी आभाको यो महत्वपूर्ण अंकमाथि चर्चा भएको छ यदि भने त्यसलाई एउटा महत्वपूर्ण घटना मान्नुपर्छ। नारी उत्पीडनका अनेकौं घटनाहरू सिक्किम र दार्जीलिङमा घटे तापनि गान्तोक वा दार्जीलिङमा जुलूस भएको छैन, मोम बालेर विरोध जनाइएको छैन। स्पष्ट छ पीडिता कि त गरीब होलिन् नभए उनले राजनीतिको दीयोमुनि पीडा भोगेकी हुन्। समाजमा रहेको यो लाचारी वास्तवमा चेतनाको कमीले गर्दा हो किनभने हामीलाई कसैले विरोध गर्न भन्नुपर्छ, हामी आफैमा अन्याय र समाजका विसंगतिविरुद्ध उभिन जान्दैनौं। हामी किन जान्दैनौं भने हामी पढ्दैनौं। हामी आफूले लेखेकोलाई विचार भन्छौं, कविता मेरो हो भन्छौं। हामी हाम्रो सुनाउँछौं र अर्को विचारको चर्चासम्म गर्दैनौं। ‘नारी आभा’-को प्रकाशनपछि एउटा आशा के जाग्छ भने अब आधा आकाशको कुरा गर्नेमात्र होइन सचेत नारी शक्तिको निर्माणका निम्ति ठोस पहलहरू हुनेछ।
नारी आभाको यस अंकमा रुपेश शर्माको लेख ‘नारीवादी लेखन र भारतीय नेपाली साहित्य’ शोधपरक लेख हो। आफूसित भएका त्यतिबिघ्न ज्ञान समाजमा पस्कन उनले लोभ गरका छैनन्। लेख आफैमा एउटा सम्पूर्ण कृति हो। उनले आफ्नो लेखको निष्कर्षमा बहसका निम्ति एउटा विषय छोडी दिएका भए तापनि कहीँ कतै चर्चा गरेको पाइएको छैन। विशेष गरी साहित्यमा उत्तर आधुनिकतावादका विश्लेषक पेम्पा तामाङजस्ता हस्तीहरू पनि जुर्मुराएको थाहा पाइएको छैन। शर्माले भनेका छन्, ‘अहिले उत्तर आधुनिकतावादमा नारीवादका जुन हाँगा-बिँगा झ्याङ्गिएका छन्, तिनले विचारको केन्द्र भत्काउने र नारीहरूलाई व्यक्ति व्यक्तिमा विभाजित गर्ने काम गर्दछन्। नारीमुक्ति आन्दोलनलाई विमर्शको मात्र विषय बनाउनु उनीहरूको उद्देश्य हो। पेम्पा तामाङ झैं विज्ञ साहित्यकार, जसले कुनै पनि बौद्धिक बहसका निम्ति आफूलाई तैयार राख्छन् उनीबाट समाजले धेरै आशा राख्दछ। केवल झमक घिमिरेको साहसिक साहित्य यात्रा मात्र नारीवादी साहित्यको विकास हो ठान्नु अथवा एउटा माइलखुट्टी भनेर मानिरहनु र अघि नसर्नुका कारण पनि सायद हामीले बहस गरेर टाउको दुखाउन नचाहेर पनि होला। कुमार नेपालीले आफ्नो लेख ‘भारतीय नेपाली नारी लेखनमा प्रगतिवादी चिन्तन’ मा अध्ययन, समीक्षा, चर्चा परिचर्चा निम्त्याएका छन्। हुन् पनि हो हामी अझै पनि प्रगतिशील र प्रगतिवादीको भ्रम पालेर बसेका छौं। हामी राजनीतिको भाषामा प्रतिक्रियावादी र प्रगतिवादीको अन्तर खुट्याउन नसकेका जनता जस्तै छौं। लेखकको बौद्धिक उँचाइका सामु पाठक बाउन्ने हुन्छन् सायद त्यो स्तरमा चर्चा हुँदैन। लेखकहरू भने आफ्नो पसलमा व्यस्त रहेकाले नेपाली साहित्य नै आजकल भ्रममा छ। दुर्घटनावश कुनै चर्चा परिचर्चाको अवस्था जुट्यो भने पनि स्वादको मानदण्डमा निम्त्याइन्छ र त्यहाँ बहस होइन नारा जन्मन्छ। नयाँ नाराहरू जन्मेका पनि छन्। बहसको निम्तो समेत उनको लेख पढेपछि नारीवादी साहित्य र चेतलाई लिएर एउटा पाठकले नयाँ स्फूर्ति अनुभव गर्नेछ।
यसै त यस संकलनमा सबै लेखकका लेख सशक्त छन् भन्ने होइन तर कुनै पनि लेखलाई फड्को हालेर पढ्न मिल्दैन। सबै लेखहरूको चर्चा गर्दा अर्को ‘नारी आभा’-को अंक बन्ने हुनाले यहाँ सबैको चर्चा गर्न सम्भव छैन। यति चाहिँ भन्नैपर्ने हुन्छ, यदि हामी नारी मुक्तिको कुरा गर्छौं भने, नारीलेखन र नारीवादी लेखनको कुरा गर्छौं भने ‘नारी आभा’ पढ्नुपर्छ। धेरै प्रेमफूलहरू जन्मनुपर्छ। दुइचार तेजमान बराइली र अर्जुन पीयूष जन्मनुपर्छ, जसले कुरा होइन काम गर्दछन्। भावना आफ्नो ठाउँमा छ, नारा र गफ आफ्नै ठाउँमा छन् तर अझ पनि भनिँदैआएको आधा आकाशमा घाम लागेको छैन। नारा र गफले भ्रम जन्माएको छ त्यो भ्रमबाट मुक्तिका निम्ति ‘नारी आभा’-को यो अंक एउटा माइलखुट्टी हो भन्नुपर्छ। त्यसो भए पारिजात, झमक, मलाला युसुफजाईहरू मिथकमात्र नबन्लान् भन्न सकिन्छ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु