दार्जिलिङ कमेण्ट्रीमा चार विद्या चौध चतुर्याइँ

- दीपक सुवेदी

साँच्चै, हामी मन खोलेर हाँस्न त कहाँ सकेका छौँ र ! हाम्रो हाँसो वैलिएको डुकुको पातजस्तै भइसकेको छ । हामी जसो जसो बाहुन्, उसै उसै स्वाहा गर्दैछौँ । मादल जसरी बज्छ, त्यसरी नै नाच्दैछौँ । कृष्णलाई जस्तै समयले हामीलाई नचाई रहेछ । प्रकृतिले उफारिरहेछ । कलमको नीबवाट सभ्यताको विहानी ल्याउने उभार बोकी अहिलेसम्म चेतनाका भ्रुणरूपी हाँस्यव्यङ्ग्य निबन्ध संग्रहहरु आइमाईको रिस (१९९२), चारो (२००४), डरको हाउगुजी (२००९) बजरमा ल्याइसकेका कृष्ण प्रधानले पुनः दार्जिलिङ कमेण्ट्री (२०१६) लिएर आएकाछन् ।
कुरा सन् २००६ को हो । सिलगढीको उखरमाउलो गर्मीबाट कृष्ण प्रधानलाई दार्जिलिङको रमणीय चिसो वातावरणमा रिल्याक्स हुने मौका मिल्यो । त्यसमाथि पनि पन्ध्र दिने ससुराली बसाई भोटको देखाइ ! बस्नेको माटो, हिँड्नेको बाटो हो तर पनि कृष्णले भनेका छन् दार्जिलिङे राजनीति र परिस्थिति जे बुझँे सोही अनुसार नै दार्जिलिङ कमेण्ट्री लेखेँ । दार्जिलिङलाई हेर्ने उनका नितान्तै व्यक्तिगत आँखा हुन् । प्रकाशन चाहिँ नेसाप्रसको पक्षमा अनुराग प्रधान, मलाड वेष्ट बुम्बईको हो ।
पुस्तक भन्सारको हाकिम जस्तो छैन । अड्डाको पियन जस्तो पनि छैन । छ त केवल हुलाकी हल्गारा । कृष्णलाई हेर्दा मलाई लाग्छ, होचो–सुधो खालको शारिरिक अनुहारभित्र सामाजिक विसंगति र विकृति अनि दुर्बलता र अहङ्कारको यति सशक्त सजीव बोध कसरी प्राप्त भयो होला । तीन हाते मानिसको नौहाते जुँगा, हे अचम्म ! दार्जिलिङमा हुने पानीको हाहाकार र युवा–युवतीहरुको घरजमका प्रसङ्गमा छ पानीको हाहाकार ः जनतालाई मग्धमार पहिलो कमेण्ट्री ।
त्यसै पनि भनाइ छ दार्जिलिङ पहाडकी रानी । कृष्ण प्रधान अक्षरका माध्यमबाट कल्पना फिँजाएर चित्रकोर्न माहिर देखिन्छन् । दार्जिलिङबाट देखिने कञ्चनजङ्घाको दृश्यले पर्यटकहरुको आँखाको प्यास मार्ने मनोवृत्तिको तैलचित्र कालिगडलेझँै उतारेका छन् देख्बे किन्तु बादल छेक्वेमा । निजात्मकता र समाजको सामीप्यतामा छामछुम गर्दै मानवीय प्रवृत्तिको रेखाङ्कन गर्न पनि प्रधान निपुण देखिन्छन् । लेखक ङिच्च हाँस्दा अर्को अर्कैतिर फर्केको प्रसङ्गमा भन्छन् कृष्ण समुन्द्रमा उर्लेको छाललाई कसले रोक्न सक्छ र ?
किङ्ग क्यानुटले पनि उनका पूच्छरेहरुको लहैलहैमा लागेर समुन्द्रको छाल रोक्ने मूर्ख प्रयास नगरेका होइनन् । क्यानुट खै कहाँ सफल भए र ! यसकारण समुन्द्रको छाल आफैँ उर्लिन्छ अनि किनारमा आएर आफैँ स्याप्पै हुन्छ । लेखक दार्जिलिङको मोटर स्टयाण्डमा उभिएर केही प्रश्नका उत्तर खोजिरहेछन् । ७ सेप्टेम्बर १९८१ का दिन शहीद हुने देवराज शर्मादेखि कृष्ण सुब्वासम्म वेदी गर्भमा किन पुरिए ? यो कुन इन्साफ हो ? लेखक शहीदहरुको अपमान भएको अनुभूति गरिरहेका छन् ।
कमेण्ट्रीभरि चेतनाको राँकोमा विभिन्न अवतारहरु लिएका छन् कृष्णले । यी अवतारहरुमा दार्जिलिङको आधुनिक जीवनका सामाजिक विकृति र विसंगतिहरु नङ्ग्याएका छन् । भेटेको र देखेको लेखाइलाई घोडेटा बाटा जस्तै बनाएका छन् कृष्णले । उनलाई यो लेखाइ मकैको रोटीमा घिउ हाल्नु र माइतको सम्पतिमा जिउ हाल्नु जस्तै हुने त होइन भन्ने पनि लागेकोछ ।
भारतीय नेपाली साहित्यको हाँस्यव्यङ्ग्य क्षेत्रमा यसका तत्वहरुको धाक विस्तारै समकालीन समाजका लागि काउसो झँै हँुदैछन् । ढिकीले स्वर्ग गएनि धानै कुट्दो रहेछ । साँच्चै रामकुमार पाँडे, भैरव अर्याल अनि वासुदेव शर्मा आदिका लेखनको चर्तिकलाझैँ अब कृष्णका लीलाभएर कमेण्ट्रीहरु मेचीका बगरै बगरहुँदै टिस्टाका मनमोहक फाँटसम्म देखापर्न थालेका छन् ।
कहिले आलुदमको स्वादमा पाठकलाई कृष्णले भूलाएका छन् त कहिले इस्कुसको मोमो र अचारका लागि मस्तिष्क सर्र्काएका छन् । आलुदम मात्र किन प्रसिद्ध ? घरको कुखुरा सागै समान भनेझैँ मिरिक, सौरेनी, सिंगताम, पानदाम, डाली आदि ठाउँहरुमा राम्ररी फल्छ इस्कुस । यसको मोमोसँग यसकै अचार बनाएर बेचे थाङ्ग्रामा बाँचेको जिन्दगीले आलिशान आनन्दको महलमा पु¥याउँछ । पहाडवासीले घरकै आँगनमा दुबई, हङ्कङ, सिंगापुर, थाइल्याण्ड आदि पाउँछन् भन्छन् कृष्ण ।
सामान्यतः उज्यालोको अतिक्रमणको अनुभूतिबाट हास्यव्यङ्ग्यको शिखरको आरोहण सुरु हुन्छ । चेतनाको उज्यालोलाई आधुनिकताका हत्केलाहरुले छेक्दा यसको विजारोपण हुन्छ । यही समाजको यथार्थ छविप्रतिसँग कृष्णले दार्जिलिङ कमेण्ट्रीमा करुण र हाँस्य रुपमा एकोहोरो मितेरी लगाउन पुगेकाछन् । हिजो धोती र बाँदरे टोपी लगाएर यहाँ पस्नेहरु आज टाई सुटमा निस्कने भए । यहाँका भूमिपुत्रहरु लाजको भुँवरीमा परेर जीवनदेखि दिनानुदिन हराउँदै छन् । जसबाट दार्जिलिङ नै हराएको महसुस हुन्छ लेखकलाई । भँगेरो सजिलै मारी भुत्ल्याउन गाह्रो मान्ने दार्जिलिङेमा कृष्ण बिजिनेस माइण्ड देख्दैनन् । दार्जिलिङेका गाली, धम्की, कटाक्ष भोलाले सहन्छ । ढाका टोपीलाई शीरमा सजाएर मालश्रीको शोभा यात्रामा नाचिदिन्छ । रमाई रमाई, हसाउँदै व्यापार गर्छ । पैसा कमाउँछ । भोला पैसाले झोला भर्छ । एउटा परदेशी भोलाले झैँ यहाँका यूवा यूवतीहरुले आलुदम मात्रै पनि बेच्न सकेको भए बेरोजगार अहिलेको पुस्ता हुने थिएन । दार्जिलिङको प्रसिद्ध पकवान मध्येकै भोलाको आलुदम, काम गर्दा मानिस सानो हुने होइन । विचारले माहान हुने हो भन्छ । भोलाको माध्यमबाट लेखकले अल्छी तिघ्रो, स्वादे जिभ्रोको चरितार्थ गराउँदै उद्योगीले जोगी हुनुनपर्ने सन्देश दिएकाछन् ।
भारतीय दर्शनको प्रसङ्ग उठाउँदै राम्रो काम र कुराको जीत निश्चित छ भने नराम्रोको हार अवश्यंभावी देख्छन् । रावणले ता हार्नै प¥यो भन्दै कृष्ण आफूभित्रको रावणलाई नष्ट गर्नै पर्छ भन्छन् । कला, साहित्य र संस्कृतिको खानी दार्जिलिङलाई विकृतिको कुहिरोले छोपेको छ । कागजमा देउसी–भैलो खेल्ने र सांस्कृतिक महत्व नबुझ्ने नयाँ पिँढीसँग काहिँ काहिँ कृष्ण रिसाउँछन् । आफ्नो अस्तित्व याद नभएकोमा सुझनीमा के छ हजूर, बुझनीमा छ भन्दै पहाडको चर्तिकला पाठकलाई रमिते बनाइ देखाइदिन्छन् । कतै माटोको मन ढुङ्गाको भन्दा कठोर देखेर लेखक आफैँ छक्क परेकाछन् । त कतै पात्तिएको आधुनिकता र मकाएको परम्पराका अभागी कालखण्डबाट वर्तमानलाई सिस्नु पानी लगाउन पनि लागिपरेका छन्् ।
व्यङ्ग्य भनेको मनोरञ्जन गर्नु मात्र होइन न त कसैलाई घोचपेच वा कटाक्ष गर्नु नै हो । हास्य रस सुखात्मक रस हो । यसबाट मनोविनोदको अनुभूति हुनेहुँदा साहित्यमा यसको महत्व हुन्छ । व्यङ्ग्य हास्य रसको प्रमुख हतियार पनि हो । व्यङ्ग्यको आधारमा समाज र राष्ट्रलाई उपदेश अनि दिशानिर्देश दिन सकिन्छ । यहाँ बाह्र एपिसोडमा दार्जिलिङ कमेण्ट्री पुस्तकमा पढ्न पाइन्छ ।
आफ्ना कमेण्ट्रीहरुमा लेखक टुरिष्ट मात्र बनेका छ्रैनन् । अनि लेखक समाजको कमेण्टरमात्रै पनि बनेका छैनन् । समस्यका समाधानहरु पनि खोज्न लागेका छन् । लेखकले विसङ्गतिहरु औँल्याएर तेजाबी सुनी समाजलाई कसी लगाउन चाहेका पनि छन् । कृष्ण प्रधानको लेखनको मूल उद्देश्य फोहोरी स्वास्नीको जस्तो होइन । समाजिक जीवनका रहस्यहरु नङ्ग्राउनु पनि हो । हाँस्यब्यङ्ग्यमा शिल्प सशक्तता पनि उत्तिकै अपेक्षित रहन्छ । फ्रान्सेली ज्याक मारी एमिल लकाँले झैँ कृष्णले पनि लेखनमा काव्यात्मकता र अनेकार्थकतालाई महत्व दिएकाछन् ।
भव्यं भवनम् निर्माणम् शहीद वेदी बिल्लीगबाठम ः ।
नकोरती विरोधम् जनता जनार्दनम् खायो भाँडो मिल्कायम् ।।
यसरी प्रधानले पुस्तकमा चार विद्या चौध चतु¥याइँ देखाउन खोजेकाछन् । ठाउँ ठाउँमा हिन्दी, संस्कृत र अंग्रेजी भाषालाई डन्डी बियो बनाएकाछन् । कृष्णका लागि दार्जिलिङ अँध्याराको काम खोलाको गीत त होइन, तर पनि कतै कतै भाङ्ग्राको टोपीलाई गुहेलीको फूल सिउरिन रोजेका छन् । कमेण्ट्रीहरुमा अनौठा नयाँ शब्द निर्माण र तिनको प्रयोग, उपमा, उखान–टुक्का, कल्पनाशीलता अनि सुन्दर शैली त्यसमा अनुप्रास समेत कृष्णको प्रवृत्तिकै रुपमा प्रकट भएको पाइन्छ ।
उर्वरिलो भारतीय नेपाली हास्यव्यङ्ग्य साहित्यलाई परिष्कृत र समृद्धिको फराकिलो जनपथ बनाउँदै दगुराउनेहरुको त्यति लामो भिड पाइँदैन । यस मार्गमा मरिमेटेर कलम चलाउने अनि मनका सूक्ष्म ओठसम्म स्वतः चलमलाउने हीराकुमार सिंह, डा.त्रिलोक राई, मनबहादुर गुरुङ, हीरा क्षेत्री, एल बी मुखिया, सानुभाइ शर्मा, एल डी राई मिक्खोले, थीरुप्रसाद शर्मा, जी बी बल, सुरेश राई, समीरण प्रियदर्शी, सी के श्रेष्ठ, मोहन पुकार, मिङ लिवाङ, उपमान बस्नेत, परसात राई, सुदर्शन अम्बटो, दीप प्रधान ‘गान्तोके’, प्रदिप कणेल, अमित सुब्वा ‘बिकल्प’, रवि रसाइली, राजेन मोक्तान आदिकै पंक्तिमा दार्जिलिङ कमेण्ट्रीले कृष्ण प्रधानलाई दरिलो र तागतिलो पहिचान दिलाएर उभ्याएको छ ।
गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु